१३ श्रावण २०८०, शनिबार ०७:२३ – Page 3 – Nagarikabhiyan : National News

यौन शोषण र घरजग्गा कब्जा गर्ने मिटरब्याजी पक्राउ

काठमाण्डाै – महिलालाई यौन शोषण गर्दै घरजग्गा हडपेको आरोपमा मिटरब्याजी ललितपुर ठेचोका सुर्जमान मालीलाई प्रहरीले पक्राउ गरेको छ

पाँच लाख रुपैयाँ ऋणको साँवा र ब्याज एकमुष्ट तिर्न नसक्दा उनले ३४ वर्षीया एक महिलालाई यौन शोषणसँगै घरजग्गा समेत कब्जा गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । पीडित महिलाले २०७५ सालमा श्रीमान् बिरामी हुँदा उपचारका लागि सुर्जमानबाट ऋण लिनुभएको थियो । सुर्जमानले पाँच लाख रुपैयाँ ऋणको मासिक ब्याजमात्रै ५० हजार रुपैयाँ तिर्नुपर्ने भनेपछि पीडित महिलाले पाँच लाख रुपैयाँको मासिक ५० हजार रुपैयाँका दरले दुई पटक ब्याज तिर्नुभएको थियो ।

ऋणको साँवा घटाउने उद्देश्यले उहाँले स्वावलम्बन लघुवित्तबाट ऋण लिएर दुई लाख रुपैयाँ सुर्जमानलाई दिनुभएको थियो । तर सुर्जमानले भने साँवाको सट्टा ब्याजमात्रै कटाएर ऋण र ब्याज एकमुष्ट तिर्न ताकेता गरिरहन्थे । पैसा तिर्न नसकिरहेको बेलामा ऋणब्याज मिनाहा गरिदिने भन्दै सुर्जमान र उनका साथीहरुले पीडित महिलालाई बलात्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

प्रहरीका अनुसार महिलाले माइतीबाट पाएको घरजग्गा नै सुर्जमानले हडपेका थिए । पीडित महिलाले आफूमाथि भएको ज्यादतीबारे हिजो दिउँसो गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर सुनाएपछि प्रहरीले सुर्जमानलाई पक्राउ गरेको हो ।

विश्व बाघ दिवस स् बाघको सङ्ख्या बढेसँगै चुनौती पनि थपिंदै

काठमाण्डाै –आज विश्वभर बाघ दिवस मनाइँदैछ । बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्षको जुलाई २९ तारिखमा विश्व बाघ दिवस मनाउने गरिन्छ ।

आजका दिन बाघको संरक्षणका लागि उनीहरुको बासस्थानको संरक्षण, बाघको संख्यामा आएको वृद्धि र ह्रासबारे जानकारीका साथै बाघ संरक्षणमा भएका प्रयासबारे चर्चा हुने गर्छ । विश्व बाघ दिवसका अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जसहित देशभर विभिन्न कार्यक्रम गरिन्छ । नेपालमा सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८, सन् २०१८ मा २३५ र सन् २०२२ मा ३५५ वटा बाघ रहेको तथ्याङ्क छ ।

सन् २०१० यता १२ वर्षमा नेपालमा २३४ वटा बाघ बढेको देखिन्छ । बाघको संख्या बढेसँगै चुनौती पनि थपिएको छ । १२ वर्षको अवधिमा बाघको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन् । नेपालमा भित्रिने पर्यटकमध्ये ६० प्रतिशतभन्दा धेरैले प्राकृतिक सुन्दरता, बाघ, गैँडालगायत वन्यजन्तुको अवलोकन गर्न संरक्षण क्षेत्र घुम्ने गरेको पाइन्छ ।

चालकसहित कालीगण्डकीमा बोलेरो बेपत्ता

१२ श्रावण    देवानगंज :  बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भीरकाटेबाट चालकसहित गाडी बेपत्ता भएको छ।
अन्नपूर्ण–३ दानाबाट बेनीतर्फ आउँदै गरेको बेनीको सुमन किराना स्टोर्सको ग २ च १०३१ नम्बरको बोलेरो जीप कालीगण्डकीमा बेपत्ता भएको हो। सो गाडीसँगै म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थान घर भएका चालक कमलेश परियार बेपत्ता भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए।

‘भीरकाटेको कालीगण्डकी किनारमा जीपको सिसा भेटिएको छ,’ उनले भने, ‘जीप र चालकको अवस्था अज्ञात छ।’ प्रहरी, स्थानीयवासी र व्यवसायीको टोली गाडी र चालकको खोजीमा जुटेका छन्।
सुमन किराना स्टोर्सका सञ्चालक सुमन श्रेष्ठका अनुसार दानामा सामान पुुर्‍याएर फर्कंदै गरेको जीपका चालकसँग शुक्रबार दिउँसो ३ बजेसम्म सम्पर्क भएको थियो। ३ बजेपछि सम्पर्क नभएको उनले बताए।

सुडानको शान्ति मिसनमा रहेका सैनिक बाँठा मृत फेला

काठमाण्डाै –  सुडानमा शान्ति सेनाको रुपमा खटिएका एक जना नेपाली सैनिक मृत भेटिएका छन्

दक्षिण सुडानमा तैनाथ श्री शेर गण बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठा मृत भेटिनुभएको हो ।

जाजरकोटको खलङ्गा घर भएका बाँठा सुडानको रम्बेक गण हेडक्वार्टरमा रहेको वर्कशपमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका नेपाली सेनाले जनाएको छ । घटनाको अनुसन्धान गरेर पोष्टमार्टमपछि उहाँको शव नेपाल ल्याइने सेनाले जनाएको छ ।

चन्द्रागिरिमा गाडी भीरबाट खस्यो, दुई जनाको मृत्यु

काठमाडौं :काठमाडौंको चन्द्रागिरि नगरपालिकामा गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

चन्द्रागिरिको पानीघाटमा मारुती भ्यान दुर्घटना हुँदा चालक सिन्धुलीका २० वर्षीय नवराज थोकर र यात्रु काभ्रेका ४५ वर्षका अनिल तामाङको मृत्यु भएको जिल्ला प्रहरी परीसर काठमाडौंका डिएसपी नारायण अधिकारीले जानकारी दिए। उनका अनुसार गाडी भीरबाट तल खसेको थियो।

काठमाडौंको थानकोटबाट मकवानपुरको चित्लाङ जाँदै गरेको बा १० च ३५४६ नम्बरको सुजुकी भ्यानमा सवार अन्य तीन जना यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।

बलात्कारको आरोपमा निर्देशक तथा इञ्जिनियर हरिकुमार पोखरेल पक्राउ

काठमाण्डौ (एक किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक तथा इञ्जिनियर हरिकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरेललाई काठमाण्डौको त्रिपुरेश्वरबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

एक युवतीले पोखरेलविरुद्ध बलात्कारको आरोपसहित उजुरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो।

सप्तरीमा एक युवकको शव भेटियो, अर्का एक घाइते

सप्तरी – सप्तरीमा एक युवकको शव भेटिएको छ । अर्का एक गम्भीर घाइते भएको अवस्थामा भेटिएका छन् ।
हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर १० इनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको शव आज शुक्रवार बिहान घर नजिकै हिलोमा भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० नरेशकुमार सिंहका अनुसार मण्डलको हत्या भएको हुन सक्ने आशङ्का गरिएको छ । स्थानीयवासीले बिहान ६ बजेतिर शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीका अनुसार घाइते अवस्थामा भेटिएका अजय मण्डलको राजविराजमा रहेको छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

सेती नदीमा डुबेर पाँच वर्षीय बालक बेपत्ता

दिपायल :डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्। दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा नदीमा डुबेका हुन्। उनीसँगै डुबेका चार वर्षीय मिलन साउदलाई स्थानीयले उद्धार गरेका थिए। उद्धार गरिएका उनको डडेल्धुरामा उपचार भइरहेको छ।

बेपत्ता सुशान्तको खोजीका लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन्। दुवैजना खेल्दाखेल्दै सेती नदीमा पुगेको प्रहरीले जनाएको छ।

आज रक्तसञ्चार दिवस

काठमाडौं : ५८औँ रक्तसञ्चार दिवस मनाइँदैछ। २०२३ साउन १२ गते नेपाल रक्तसञ्चार सेवा स्थापना भएको दिनको सम्झनामा रक्तसञ्चार दिवस मनाइँदै आएको छ।

रक्तसञ्चार केन्द्रहरूले दिवसका अवसरमा रगत सङ्कलनदेखि वितरणसम्मका कार्य गर्दै आएका छन्। केन्द्रीय रक्तसञ्चार केन्द्रले दिवसका अवसरमा रक्तदान, रक्तदाता सम्मान कार्यक्रम तथा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।

यस वर्ष पनि रगत दानका लागि उत्प्रेरणाका कार्यक्रम आयोजना गरिएको केन्द्रका निर्देशक दिव्यराज पौडेलले बताए। केन्द्रको गत वर्षको तथ्याङ्कअनुसार नेपालमा वार्षिक चार लाख ५० हजार युनिट रगत आवश्यक पर्छ। मागको ९० प्रतिशतभन्दा बढी रगत नेपाल रेडक्रसको नेटवर्कबाट वितरण हुने निर्देशक पौडेलले जानकारी दिए।

सुलभ, गुणस्तरीय र मर्यादित सेवा, नेपालको रक्तसञ्चार सेवा’ नाराका साथ केन्द्रले सेवा उपलब्ध गराउँदै आएको छ। अहिले देशभर एक सय १९ रक्तसञ्चार केन्द्र छन्। त्यसमा रेडक्रसका प्रमुख निकाय केन्द्रीय रक्तसञ्चार सेवासँगै पाँच प्रदेशमा प्रादेशिक रक्तसञ्चार सेवा र २४ जिल्लामा जिल्लास्तरीय रक्तसञ्चार सेवा छन्।

 

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

विराटनगर  ःखोटाङ र तेह्रथुमा भएका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बिहीबार दिउँसो १ बजे खोटाङको खोटेहाङ गाउपालिका–६ कच्चि सडक खण्ड स्थितमा खोटाङ बजारबाट रसुवातर्फ जाँदै गरेको ना ६ त २४६६ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल झरी दुर्घटना हुँदा घाइते भएका ट्याक्टर चालक खोटेहाङ–३ का २३ वर्षीय पवन तामाङको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। ​

त्यसैगरी तेह्रथुमको आठराइ गाउँपालिका–६ स्थित बा ६८ प ५८३८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका पछाडि सवार आठराई–३ का २५ वर्षीय नबिन थिङलावुको फिदिम अस्पतालतर्फ लाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

घाइते भएका मोटरसाइकल चालक धरान–१५ का २६ वर्षीय सुरेन्द्र राईको धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आठराइले जनाएको छ।

 

रामेछापमा लम्पी स्किनले मरे ३८१ चौपाया, २१ हजार सङ्क्रमित

रामेछाप :जिल्लामा लम्पी स्किन सङ्क्रमणबाट हालसम्म ३८१ पशुचौपाया मरेका छन्। २१ हजारभन्दा बढी पशुचौपाया सङ्क्रमित भएका छन् ।

लम्पी स्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगङ्गा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा पाँच, लिखु तामाकोशी गाउँपालिकामा १५०, सुनापती गाउँपालिकामा ३६ र उमाकुण्ड गाउँपालिकामा ४० गाईगोरु मरेको सम्बन्धित पालिकाका पशु सेवा शाखाले जनाएका हुन्।

रामेछाप नगरपालिकामा हालसम्म दुई हजार १९०, मन्थलीमा चार हजार, लिखु तामाकोशीमा पाँच हजार २००, गोकुलगङ्गामा चार हजार, खाँडादेवीमा दुई हजार, उमाकुण्डमा दुई हजार र सुनापतीमा एक हजार ६३५ पशुमा लम्पी स्किन सङ्क्रमण फैलिएको पशु प्राविधिक रोहिणी चापागाईँले जानकारी दिए।।

दोरम्बा सैलुङ्ग गाउँपालिकामा भने लम्पी स्किनबाट भएको क्षतिबारेको तथ्याङ्क छैन । त्यहाँका पशु सेवा शाखाका प्रमुख राजेन्द्र ढुङ्गेलले तथ्याङ्क सङ्कलनको तयारी गरेको बताए।

लम्पी स्किन रोकथाम तथा नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप प्रदान गरिरहेका छन् । निश्चित छुटसहित केही शुल्क लिएर अन्य औषधि वितरण गरिएको स्थानीय पालिकाका पशु सेवा केन्द्रका प्राविधिकले बताएका छन् ।

रोगका कारण किसानले लाखौँ रुपैयाँको क्षति व्यहोर्नुपरेको गोकुलगङ्गा गाउँपालिका पशु सेवा शाखाका पशु सेवा प्राविधिक लोकप्रसाद फुँयालले बताए। रोगको सङ्क्रमणका कारण दूध उत्पादनमा ह्रास आएको छ । गोरु मरेका कारण तथा बिरामी पर्दा रोपाइँमा समस्या भएको छ।

 

दमास्कसस्थित मस्जिदमा विस्फोट, ६ जना मारिए, २० घाइते

सिरियाको राजधानी दमास्कसस्थित एउटा मस्जिदमा भएको विस्फोटमा कम्तीमा ६ जना मारिएका छन्। विस्फोटमा परी २० जना घाइते भएका छन् ।​

सिया मुस्लिमले मनाउने ‘आसुरा’को अघिल्लो दिन उक्त घटना भएको सिरियाको गृह मन्त्रालयले जनाएको छ।

सिरियामा सिया मुस्लिम सवैभन्दा बढी भीड हुने शैयदा जैनाब मस्जिद अगाडि रोकेर राखिएको ट्याक्सीभीत्र अपरिचित व्यक्तिले बम राखी विस्फोट गराएको प्रहरीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ ।

यस्तै, सिरियाली राष्ट्रपति बसार अल असादको मूख्य सहयोगी इरानी मिलिसिया समूहका लडाकुहरु रहेको स्थान नजिकै विस्फोट भएको अधिकारीहरूले जनाएका छन्।

 

प्रधानमन्त्री आज स्वदेश फर्किँदै

काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटलीको सातदिने भ्रमण सकेर शुक्रबार बिहान स्वदेश फर्किँदै छन्।
संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टू’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड यही साउन ६ गते त्यसतर्फ गएका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गरेका थिए। रोममा रहँदा उनले बङ्गलादेशी समकक्षी शेख हसिनासँग भेटेका थिए।
यो क्रममा उनीहरूबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको थियो। उनीहरूबीच कृषि, जलविद्युत् क्षेत्रमा सहकार्य तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको थियो।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको थियो। भेटका क्रममा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्रसंघबीचको सम्बन्धलाई मजबुत बनाउनेबारे छलफल भएको थियो।

सो अवसरमा प्रधानमन्त्री प्रचण्ड र विश्व खाद्य कार्यक्रमका कार्यकारी सिण्डेम्याकनबीच भेटवार्ता भएको थियो। सो भेटमा खाद्य सुरक्षा, गरिबी निवारण, महिला तथा मानवीय जीवनको स्तरोन्नतिलगायत विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री प्रचण्डसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यू तथा इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट आईएफएडी का प्रमुख एल्भारो लाइरोले बेग्ला–बेग्लै भेटवार्ता गरेका थिए।

रोममा रहँदा प्रधानमन्त्री प्रचण्ड गैरआवासीय नेपाली संघ इटालीले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए। कार्यक्रममा उनले सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका थिए।

भ्रमणका दौरान प्रधानमन्त्री प्रचण्डले नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्याण्डका प्रतिनिधिसँग छलफल गरेका थिए। सो अवसरमा उनले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा दृढताका साथ अगाडि बढेको बताएका थिए।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण दलमा उनका स्वकीय सचिव एवं छोरी गंगा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा। बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा। जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीलगायत सहभागी छन्।

बैतडीको श्रीकोटमा मध्यराति जीप दुर्घटना, दुईजना घाइते

बैतडी : महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित तारलमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।
बैतडीको गन्नाबाट बझाङ जाँदै गरेको सुपप्र ०१–००१ ज १३५२ नम्बर जीप गएराति पौने १२ बजे तारलमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

दुर्घटनामा परि जिप चालक बैतडीको डिलाशैनी गाउँपालिका १ का हेमन्त राना र सोही ठाउँका सहचालक उमेश राना घाइते भएका छन्।
घाइते चालकको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेलधुरा ‘रेफर’ गरिएको छ भने सहचालकको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।
जीपमा चालक र सहचालक मात्रै सवार थिए। जीप सडकबाट १०० मिटर तल खसेको थियो। जीप दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

वैदेशिक रोजगारीका क्रममा तीन वर्षमा रोल्पाका ३९ जनाले गुमाए ज्यान

रोल्पा –रोल्पाका ३९ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेखअनुसार तीन वर्षको अवधिमा ३९ जनाले ज्यान गुमाएको हो ।

सूचना केन्द्रमा प्राप्त निवेदनका आधारमा ज्यान गुमाउनेको सङ्ख्या अद्यावधिक गरिए पनि वास्तविक ज्यान गुमाउनेको संख्या यो भन्दा धेरै हुनसक्ने सूचना केन्द्रका कर्मचारी स्मृति रोकामगरले बताउनुभयो । यस अवधिमा सबैभन्दा धेरै ज्यान गुमाउने परिवर्तन गाउँपालिकाका छन् । कम ज्यान गुमाउनेको सङ्ख्या थवाङ र माडी गाउँपालिकामा छ ।

परिवर्तन गाउँपालिकाबाट यस अवधिमा आठ जनाले ज्यान गुमाएको अभिलेखमा उल्लेख छ । यसैगरी थवाङ र माडी गाउँपालिकाबाट यस अवधिमा एकरएक जनाले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने अन्य पालिकामा रोल्पा नगरपालिका र रुन्टीगढी गाउँपालिकाबाट छरछ जना, सुनिलस्मृति गाउँपालिकाबाट पाँच, लुङ्ग्री गाउँपालिकाबाट चार जनाले ज्यान गुमाएका छन् । यसैगरी त्रिवेणी र गङ्गोदव गाउँपालिकाबाट तीनरतीन जना र सुनछहरी गाउँपालिकाबाट दुई जनाले ज्यान गुमाएका छन् ।

रोजगारदाता राष्ट्रका आधारमा सबैभन्दा धेरै साउदी अरबमा २० जनाले ज्यान गुमाएका छन् । यसैगरी मलेसियामा सात, कतार र यूएईमा तीनरतीन, कुवेतमा दुई तथा अल्जेरिया, क्रोसिया, शिसालिसलगायत देशमा एकरएक जनाले ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगारीमा जानेका लागि परामर्श सेवा दिन जिल्ला प्रशासन कार्यालयमा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । हेल्भेटासको सहयोगमा स्थानीय गैरसरकारी संस्था विकास सरोकार समाजले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी स्रोतकेन्द्र स्थापना गरेको हो ।

करेन्ट लागेर सप्तरीमा एक जनाको ज्यान गयो

सप्तरी –करेन्ट लागेर सप्तरीमा एक जनाको ज्यान गएको छ । गए राति करेन्ट लागेर अग्निसाइर कृष्णसावरण गाउँपालिका–४ बनौली बस्ने २५ वर्षीय मुकेशकुमार यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।

खेतमा सिँचाइका लागि पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेका यादवलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लगिएको थियो । यादवको उपचारमा क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डीएसपी नरेशकुमार सिंहले जानकारी दिनुभयो ।