रामेछापमा लम्पी स्किनले मरे ३८१ चौपाया, २१ हजार सङ्क्रमित
१२ श्रावण २०८०, शुक्रबार ०९:३३
रामेछाप :जिल्लामा लम्पी स्किन सङ्क्रमणबाट हालसम्म ३८१ पशुचौपाया मरेका छन्। २१ हजारभन्दा बढी पशुचौपाया सङ्क्रमित भएका छन् ।
लम्पी स्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगङ्गा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा पाँच, लिखु तामाकोशी गाउँपालिकामा १५०, सुनापती गाउँपालिकामा ३६ र उमाकुण्ड गाउँपालिकामा ४० गाईगोरु मरेको सम्बन्धित पालिकाका पशु सेवा शाखाले जनाएका हुन्।
रामेछाप नगरपालिकामा हालसम्म दुई हजार १९०, मन्थलीमा चार हजार, लिखु तामाकोशीमा पाँच हजार २००, गोकुलगङ्गामा चार हजार, खाँडादेवीमा दुई हजार, उमाकुण्डमा दुई हजार र सुनापतीमा एक हजार ६३५ पशुमा लम्पी स्किन सङ्क्रमण फैलिएको पशु प्राविधिक रोहिणी चापागाईँले जानकारी दिए।।
दोरम्बा सैलुङ्ग गाउँपालिकामा भने लम्पी स्किनबाट भएको क्षतिबारेको तथ्याङ्क छैन । त्यहाँका पशु सेवा शाखाका प्रमुख राजेन्द्र ढुङ्गेलले तथ्याङ्क सङ्कलनको तयारी गरेको बताए।
लम्पी स्किन रोकथाम तथा नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप प्रदान गरिरहेका छन् । निश्चित छुटसहित केही शुल्क लिएर अन्य औषधि वितरण गरिएको स्थानीय पालिकाका पशु सेवा केन्द्रका प्राविधिकले बताएका छन् ।
रोगका कारण किसानले लाखौँ रुपैयाँको क्षति व्यहोर्नुपरेको गोकुलगङ्गा गाउँपालिका पशु सेवा शाखाका पशु सेवा प्राविधिक लोकप्रसाद फुँयालले बताए। रोगको सङ्क्रमणका कारण दूध उत्पादनमा ह्रास आएको छ । गोरु मरेका कारण तथा बिरामी पर्दा रोपाइँमा समस्या भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया