२८ पुष २०७९, बिहीबार ०९:५९ – Page 7 – Nagarikabhiyan : National News

पाकिस्तानसँगको दोस्रो एक दिवसीयमा न्युजिल्यान्ड ७९ रनले विजयी

काठमाण्डाै । घरेलु टोली पाकिस्तानसँगको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड ७९ रनले विजयी भएको छ ।

न्युजिल्यान्डले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४३ ओभरमा अलआउट हुँदै १ सय ८२ रन मात्रै बनाउन सक्यो ।

पाकिस्तानका कप्तान बाबर आजामले ७९ तथा मोहम्मद रिजवानले २८ रन बनाए । न्युजिल्यान्डका टिम साउथी र ईश सोधीले २/२ विकेट लिए । कराचीमा टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ६१ रन बनाएको थियो ।

न्युजिल्यान्डका लागि देवन कनवेले १ सय १ र कप्तान केन विलियम्सनले ८५ रन बनाए । पाकिस्तानका मोहम्मद नवाजले ४ र नसीम शाहले ३ विकेट लिए । जितसँगै तीन खेलको शृङ्खला एक/एकको बराबरी भएको छ । पहिलो खेलमा पाकिस्तान ६ विकेटले विजयी भएको थियो । तेस्रो तथा निर्णायक खेल भोलि हुनेछ ।

म्यानमारको सेनाद्वारा भारतको सीमा नजिक जातीय विद्रोही समूहको शिविरमा हवाई आक्रमण

म्यानमारको सैनिक सरकार (जुन्ता) ले भारतसँगको सीमा नजिक एक जातीय विद्रोही समूहको शिविरमा हवाई आक्रमण गरेको विद्रोही समूह र स्थानीय सञ्चार माध्यमले दाबी गरेका छन् ।

पश्चिमी क्षेत्रमा क्रिश्चियन चिन अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्ने दाबी गर्ने ‘चिन नेसनल फ्रन्ट (सीएनएफ) को मुख्यालयमा भएको आक्रमणमा पाँच लडाकु मारिएका सीएनएफका प्रवक्तालाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

सीएनएफका प्रवक्ता सलाई तेतनीले सरकार पक्षले गरेको हवाई आक्रमणमा सात वटा विस्फोटक पदार्थ खसालेको दाबी समेत गर्नुभएको छ । सीएनएफले गएको वर्ष मे मा आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) को छायाँ सरकारसँग सहकार्यका लागि सम्झौतामा हस्ताक्षर गरेको थियो ।

म्यानमारमा सन् २०२१ को फेब्रुअरीमा सेनाले ‘कु’ गरी सत्ता हातमा लिएपछि विरोध हुँदै आएको छ । सेनाले जननिर्वाचित नेत्री सुकीसहित अन्य नेता तथा सयौँ नागरिकलाई पक्राउ गरेको थियो ।

नेपाल टेलिकमकाे ‘विन्टर अफर’ आजदेखि

काठमाण्डाै । नेपाल टेलिकमले आजदेखि लागू हुने गरी विन्टर अफर ल्याएकाे छ । कम्पनीले पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’लाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर ‘विन्टर अफर’ उपलब्ध गराउन लागेको हो ।

विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ । यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई एक सय ९९ देखि छ सय ९९ रुपैयाँसम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याक उपलब्ध छन् ।

यस अफरअन्तर्गत छ सय ९९ रुपैयाँमा २८ दिनका लागि कुल २८ जीबी डाटा (दैनिक एक जीबी), दैनिक एक सय मिनेट कुराकानी गर्ने र दैनिक सय सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यीबाहेक पहिलादेखि नै उपलब्ध अफरलाई निरन्तरता दिइएको छ ।

अफर प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिनेछ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ ।

राष्ट्रिय सभा उप–चुनावका लागि आयोगले दिएको दल दर्ताकाे समयसीमा आज सकिँदै

काठमाण्डाै । राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उप–चुनावमा भाग लिन अहिलेसम्म दुईवटा दलले मात्रै निवेदन दिएका छन् ।

दल दर्ताका लागि निर्वाचन आयोगले निवेदन दिन आजसम्मको समयसीमा दिएको छ । अहिलेसम्म नेकपा (एकीकृत समाजवादी) र बहुजन शक्ति पार्टीले निवेदन दिएको आयोगले जनाएको छ । लुम्बिनी प्रदेशबाट अन्य समूहको    रिक्त राष्ट्रिय सभाको एक जना सदस्य पदका लागि आउँदो माघ २५ गते उप–चुनाव हुँदैछ ।

लुम्बिनी प्रदेशको अन्य समूहबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि पद रिक्त हुन गएको हो । आयोगले गएको २४ गते सूचना निकालेर संविधानको धारा २७१ अनुसार दल दर्ताका लागि आह्वान गरेको थियो । निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुले उप–चुनावका लागि आयोगमा निवेदन दिन सक्नेछन् ।

बाग्मती प्रदेश : सभामुखमा आज उम्मेदवारी दर्ता

मकवानपुर । बाग्मती प्रदेशमा आज सभामुखको उम्मेदवारी दर्ता हुँदैछ । सत्ता गठबन्धनका तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठकले उम्मेदवार दिने तयारी छ । नेपाली कांग्रेसले पनि सभामुखका लागि दाबी गरेको छ ।

नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलले सभामुख आफूहरुलाई दिए प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने बताएको छ । तर, कांग्रेसलाई सभामुख दिने तयारीमा सत्ता गठबन्धनका दलहरु तयार छैनन् । बुधवार बसेको राप्रपा संसदीय दलको बैठकले महामन्त्री पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्तारुढ दलहरुबीच मुख्य पद भागबण्डा हुँदा बाग्मतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो । सातदलीय गठबन्धनको सत्ता भागबण्डामा बाग्मती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठक सभामुख बन्ने निश्चितजस्तै छ । सत्तारुढ गठबन्धनले बाग्मती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्र र नेकपा एमालेलाई आलोपालो, सभामुख राप्रपा तथा उप सभामुख एमालेलाई भाग लगाएको थियो ।

एमालेले भने बिहीवार मात्र दलको बैठक बसेर उप सभामुखकाे उम्मेदवार चयन गर्ने जनाएको छ । सभामुखमा राप्रपाले पुरुषलाई उम्मेदवार बनाउने भएपछि उप सभामुखमा एमालेले महिला सांसदलाई उम्मेदवार बनाउनुपर्ने संवैधानिक बाध्यता छ ।

संविधानअनुसार सभामुख र उप सभामुख एउटै दल र लिङ्गको हुनुहुँदैन । सभामुख चयनका लागि भोलि शुक्रवार चुनाव हुनेछ । नेपालको संविधानको धारा १८२ को उपधारा १ बमोजिम प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेश सभाका सदस्यमध्येबाट सभामुख निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

प्रदेश सभा सचिवालयले आज बिहान साढे १० बजेदेखि २ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकेको छ। यस्तै, दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म मनोनयन फिर्ता गर्ने र ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तालिका सार्वजनिक गरेको छ। सभामुखको निर्वाचन पुस २९ गते बिहान ११ बजे हुने सचिवालयले जनाएको छ।

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री, बोलाए सत्ता साझेदार दलको बैठक

काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ ।

बैठकमा मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । संविधानमा २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था छ ।

प्रधानमन्त्री प्रचण्ड छिट्टै मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । त्यही विषयमा उनले बुधबार बेलुका उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए ।

 

स्रोतका अनुसार सो छलफलमा मन्त्रिपरिषद् विस्तारका साथै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदको भागबन्डाबारे पनि कुराकानी भएको थियो । प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने भन्ने थियो, अहिले त्यसकै गृहकार्य भइरहेको छ ।’ प्रधानमन्त्री प्रचण्डलाई यही पुस २६ गते ९९ प्रतिशत सांसदले विश्वासको मत दिएका थिए ।

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमा छलफल हुने बताइएको छ ।

पुस ११ गते पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । त्यसपछि बसेको मन्त्रिपरिषद बैठकले सचिव सरुवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना लगायतका निर्णय गरेको थियो ।

पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए ।

प्रदेश १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयलाई जानकारी गराइएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले जानकारी दिए ।

६० जना सांसदको समर्थनसहित आइतबार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक जना सांसदको समर्थन छ । सरकारलाई समर्थन जनाएपनि भागवण्डामा असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा गएको छैन ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच भागवण्डा हुँदा प्रदेश १ को नेतृत्व पाँच वर्षका लागि एमालेले पाउने सहमति भएको थियो । तर माओवादी केन्द्र प्रदेश संसदीय दलले प्रदेशको नेतृत्व आधा–आधा कार्यकाल हुनुपर्ने दाबी गर्दै सरकारमा सहभागी नभएको हो । माओवादी सरकारमा सहभागी नभए पनि मुख्यमन्त्री कार्कीले राप्रपा र जसपालाई सरकारमा सहभागी गराएर बहुमत सुरक्षित गरेका छन् ।

सरकारमा सहभागिताका लागि आलोपालोको अड्को थापिरहेको माओवादी केन्द्रलाई अफठ्यारोमा पार्नका लागि कार्कीले सपथग्रहणका लागि हतार गरेको मुख्यमन्त्री निकट स्रोत बताउँछ । ‘माओवादीले थापेको अड्कोलाई चिर्न सुरुमै विश्वासको मत लिन खोजिएको हो’, स्रोतले भन्यो, ‘भागवण्डाको समस्याा पनि सामधान भइहाल्छ ।’

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी भने सरकारलाई सहज रुपमा काम गर्नका लागि बेलैमा विश्वासको मत लिने तयारी भएको बताउँछन् । ‘विश्वासको मत लिने विषय संसदको बिजनेश हो,’ उनले भने, ‘संसदको विजनेश चाडै सके सरकारले आफ्नो विजनेशका लागि समय पाउँछ ।’ संसदको विजनेस सकेपछि केही दिन प्रदेशसभा बैठक स्थगित हुने उनले बताए । प्रदेशसभाका लागि चाडै विजनेश दिन विश्वासको अगाडि नै लिन खोजिएको उनले बताए ।

प्रदेश १ को सभामुखको निर्वाचन बिहीबार हुँदैछ । सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतमको मात्रै उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् । शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने र शनिबार उपसभामुखको निर्वाचन गर्ने तयारी छ ।

उपसभामुखको निर्वाचनका लागि बिहीबार मनोनयन दर्ता गर्ने कार्यसूची छ । सत्तारुढ गठबन्धनबीच भागवण्डा गर्दा सभामुख माओवादी केन्द्र र उपसभामुख नेकपा एमालेले लिने सहमति भएको थियो ।

सभामुख पुरुष भएका कारण उपसभामुख नेकपा एमालेले महिलालाई बनाउनेछ । एमालेबाट उदयपुरकी सिर्जना दनुवार, भोजपुरकी सिर्जना राई, मोरङकी मालती सुब्बा उपसभामुखको आकाक्षी हुन् ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका १ जना सांसद छन् ।

नेपाल टी–२० लिगमा को-को बने उत्कृष्ट ?

काठमाडौं । नेपाल टी–२० लिग क्रिकेटमा विराटनगर सुपर किंग्सका मोहमद हुसेन तलत सर्वोत्कृष्ट खेलाडी भएका छन् ।

पाकिस्तानका तलतले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुँदै ५ लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर फारवेष्ट युनाइटेटका हस्मतुल्लाह शाहिदी भए भने काठमाडौं नाइट्सका अभिनास बोहोरा उत्कृष्ट बलर बने ।

बोहराले ११ खेलमा १९ विकेट लिएका थिए ।

उनीहरुले जनही साढे २ लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

विराटनगरका सूर्य तामाङ उदीयमान खेलाडी बने । उनले १ लाख ८० हजार रुपैयाँ हात पारे । प्रतियोगिताको उपाधि भने विराटनगरले जितेको छ ।

नेपाललाई भारतीय आँखाबाट हेर्दैनौँ : अमेरिकी राजदूत थम्प्सन

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले नेपाललाई भारतीय आँखाबाट नहेर्ने भएका छन् । बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजदूत थम्प्सनले एमसिसी परियोजनाहरूको गतिविधि को विषयमा जानकारी दिने क्रममा यस्तो बताएका हुन् ।

नेपालसँगको सम्बन्धलाई अमेरिकाले द्वीपक्षीय सम्बन्धका रूपमा महत्व दिएको उल्लेख गर्दै उनले भारतको आँखाबाट नेपाललाई नहेर्ने बताए।

राजदूत थम्सनले एमसिसी सम्झौताअनुसार अघि बढिरहेको भए पनि अनावश्यक हल्ला र चर्चा भएको बताए।

अमेरिकी सहयोग परियोजना (एमसिसी) अन्तर्गत निर्माणाधीन स्थानहरुमा भएको घटनाहरुमा आफूले नियाली रहेको बताएका छन् । नुवाकोट र दाङमा निर्माणाधीन सबस्टेशन र सडक विस्तारमा हालै भएका घटनाबारे बुझिरहेको उनले बताएका छन्।

‘हालै नुवाकोटको रातमाटेमा निर्माण गर्न लागिएको सबस्टेशनबारे स्थानीयले विरोध गरेको र दाङमा एमसिसीअन्तर्गत बन्न लागेको सडकमा स्थानीय प्रशासनको जानकारीबिनै सयौं रूख काटिएको भन्ने खबरहरू आएका छन्। ती घटनाबारे बुझ्न तत्कालै सम्बन्धित ठाउँमा एमसिए नेपालका अधिकारीहरू पुगेर सत्यतथ्य बुझिरहनु भएको छ।’ थप्सनले भने ।

केही दिनअघि पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको देउखुरी क्षेत्रमा रूख काटिएको थियो। एमसिसीअन्तर्गत बनिरहेको सडकमा पूर्वजानकारीबिना रूख काटिएको भन्दै जिल्ला प्रशासन कार्यालयले चासो राखेपछि रूख काट्न रोकिएको छ।

एमसिसीबारे अहिले पनि अफवाह र गलत सूचनाहरू प्रवाह भइरहेको राजदूत थम्प्सनले बताए।

‘एमसिसीका परियोजनामा काम गर्न आउने अमेरिकीहरूको सुरक्षाका लागि अमेरिकी सेना आउँछजस्तो भ्रामक सूचना पनि मानिसहरूलाई पुर्‍याइएको रहेछ,’ राजदूत थम्प्सनले भने,‘म स्पष्ट पार्न चाहन्छु, जसरी नेपालस्थित हाम्रा दूतावासका कर्मचारीको सुरक्षा नेपाल सरकारले गरिरहेको छ त्यसरी नै अरू अमेरिकी नागरिकको सुरक्षा नेपाल सरकारले नै गर्छ।’

राजदूत थम्प्सनले मंसिर ४ को चुनावपछि बनेको नयाँ सरकारसँग मिलेर काम गर्न अमेरिका तत्पर रहेको बताए।

‘काठमाडौँमा मैले पनि धेरै कन्स्पिरेसी थ्यौरीका कुरा सुनें। अमेरिका प्रजातान्त्रिक प्रक्रियाबाट बनेको सरकारसँग काम गर्न तत्पर छ,’ उनले भने,‘हिजो मात्र प्रधानमन्त्री प्रचण्डले भारी विश्वासको मत पाउनु भएको छ। म बधाई भन्न चाहन्छु।’

नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागी नहुने भनी गरेको निर्णयलाई सम्मान गर्दै रक्षा क्षेत्रमा भावी दिनमा नेपाल–अमेरिकाबीच सहकार्य जारी रहने उनले बताए। द नेपालटपबाट

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन्।

गिरीले बुधबार मात्र ५८ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियिक्तिका लागि दाबी पेश गरेका थिए। गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन छ।

८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ सांसद भए बहुमत पुग्छ।

आलोपालो मुख्यमन्त्री बन्नु पर्ने कर्णालीमा एमालेको शर्त

काठमाडौँ। नेकपा एमालेले कर्णाली प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने शर्त राखेको छ । सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार कर्णाली प्रदेशमा ५ वर्ष नै माओवादीको मुख्यमन्त्री हुने सहमति छ।

प्रदेश सरकारको नेतृत्व पाँचै वर्ष नेकपा माओवादी केन्द्रलाई दिने शीर्ष नेतृत्वको निर्णयप्रति नेकपा एमाले प्रदेश कमिटी सन्तुष्ट छैन।

नेकपा माओवादी केन्द्र र एमालेका नेताहरु एमाले पार्टी कार्यालय वीरेन्द्रनगरमा बिहानैदेखि छलफलमा जुटेका छन्। तर अझै सहमति भने जुट्न सकेको छैन्।

प्रदेश सरकारको नेतृत्व एमालेले पनि गर्न पाउनुपर्ने शर्तसहित अघि बढ्ने अडान रहेको एमालेका एक नेताले बताए ।

प्रदेश प्रमुख तिलक परियारले सरकार गठनका लागि आज ५ बजे भित्र दावी पेश गर्ने समय दिएका छन्।

माओवादी केन्द्रका नेताहरूका अनुसार एमालेसँग संवाद गरेर सहमित जुटाइ निर्धारित समयभित्रै दलका नेता राजकुमार शर्माले मुख्यमन्त्रीमा दाबी पेस गर्ने छन्।

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। जसपाको मधेस प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हु्न्।

उनी यो प्रदेशका लागि दोस्रो मुख्यमन्त्री बनेका छन्। प्रदेशको पहिलो पाँच वर्षे कार्यकालमा जसपाकै लालबाबु राउत मुख्यमन्त्री भएका थिए। उनले अनेक विवादबीच पूरा ५ वर्ष शासन गरे। प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए। त्यहीअनुसार यादवले बुधबार दाबी पेश गरेका थिए।

यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघिय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुको समर्थन थियो। यसका साथै स्वतन्त्र प्रदेससभा सदस्यहरु सुरिता साह र अनिरुद्द सिंहकोसमेत यादवलाइ समर्थन छ।

सरकार गठनका लागि मधेश प्रदेशमा १६ जना प्रदेशसभा सदस्यसहित तेस्रो वरीयतामा रहेको जसपालाई नेकपा एमालेको २३, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघिय समाजवादी पार्टीको १-१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित ६३ प्रदेशसभा सदस्यहरुको समर्थन छ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि कम्तिमा ५४ जना प्रदेशसभा सदस्यहरुको समर्थन चाहिन्छ। मुख्यमन्त्रीको शपथग्रहण पुस २९ गते हुनेछ। नयाँ मुख्यमन्त्रीको शपथ ग्रहणका लागि तयारी भइसकेको छ।

उपराष्ट्रपतिसहित जसपाले ४ वटा मन्त्रालय दाबी गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपालले उपराष्ट्रपतिसहित ४ वटा मन्त्रालय दाबी गर्ने भएको छ । पार्टी सरकारमा जाने भएपछि अहिले उक्त पार्टीका नेताहरु आन्तरिक छलफलमा छन् ।

२ वटा मन्त्रालयसहित उपराष्ट्रपति वा ३ देखि ४ वटा मन्त्रालयमा जसपाले दाबी गर्ने जसपाका एक नेताले जानकारी दिए । सरकारलाई समर्थन र विश्वासको मत पार्टीले दिइसकेको छ।

प्रत्यक्षमा ७ र समानुपातिकका ५ जना गरी १२ जना सांसद रहेका जसपाले २ वटा मन्त्रालय पाउने निश्चित जस्तै भएपनि उनीहरुको दाबी भने उपराष्टपतिसहित ४ वटा मन्त्रालयमा गर्ने तयारी छ । १२ जना सांसद भएका कारण हामीले ३–४ वटा मन्त्रालय माग गर्नु जायज भएको जसपाले जनाएको छ । जसपाले मन्त्रालयका साथै उपराष्ट्रपतिमा पनि प्रधानमन्त्री समक्ष दाबी गरिसकेको जसपा स्रोतले जनाएको छ ।

साथै जसपाले यसअघि पाएको मन्त्रालय नै यो पटक पनि दिन आग्रह गरेका छन् । यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपाले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन मन्त्रालय र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय सम्हालेको थियो।

अर्थतन्त्रको विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न नीजि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेको गोरखा महोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई गति दिन सार्वजनिक-नीजि क्षेत्रको सहकार्य अनिवार्य रहेको जोड दिए ।

प्रधानमन्त्री भएपछि क्याबिनेटको पहिलो बैठकबाट नै अर्थतन्त्रमा सुधारका निम्ति लिनुपर्ने नीति र उपायका बारेमा गम्भीर छलफल भएको बताउँदै उनले अर्थतन्त्रको विकासका लागि नीजि क्षेत्रको प्रगति र योगदान आवश्यक भएको बताए । आर्थिक विकासका चुनौती हल गर्दै सामाजिक न्यायको प्रत्याभूति, सुशासन र समृद्धि हासिल गर्न सम्मानित संसदमा समेत प्रतिबद्धता व्यक्त गरेको उनले स्मरण गरे ।

गोरखाका जनताले दिएको मतले प्रधानमन्त्री बन्न सफल भएकोमा आभार व्यक्त गर्दैै प्रधानमन्त्री प्रचण्डले चुनावी प्रतिबद्धताअनुरूप जिल्लाको विकासका लागि प्रतिबद्ध रहनेसमेत बताए । कृषिको आधुनिकीकरण, भौतिक पूर्वाधारको विकास, पर्यटन, कला संस्कृतिको संरक्षण, साना घरेलु उद्योगको प्रवद्र्धन र ठूला उद्योग निर्माण र बुढीगण्डकी जलविद्युत आयोजना, बेनीघाट-आरुघाट-लार्के सडक, पालुङटार विमानस्थललगायतका ठूला आयोजना अघि बढाउँदै रोजगारी सिर्जनामार्फत गोरखा जिल्लालाई सिंगो देशको समृद्धिका लागि नमुना जिल्ला बनाउने प्रतिबद्धता पूरा गर्न आफू लागिपर्ने उनको भनाइ छ ।

सिंगो संसदको विश्वास पाएर प्रधानमन्त्री बन्न सफल भएको बताउँदै उनले संसदमा प्राप्त विश्वासले नेपाल राष्ट्रको नेपाली जनताको र गोर्खाली जनताको समेत सम्मान भएको उल्लेख गरे ।

नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका चरा भेटिए

काठमाडौँ । यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिए।

‘गत वर्षको पक्षी गणनामा ३८ प्रजातिका पक्षी भेटिएका थिए, यसपालिको गणनामा नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका पक्षी भेटिए”, उनले भने । चरा गणनाका क्रममा अहिलेसम्म नारायणी क्षेत्रमा नभेटिएको ‘राज सुड सुडिया’ नामको पक्षी पनि अहिले भेटिएको चौधरीले बताए।

गतवर्ष नदेखिएका विभिन्न ४ प्रजातिका चरा यसवर्ष देखा परेको संयोजक चौधरीले बताए। ‘यस वर्षको गणनामा जुरे हुटिट्याउ, बेल्चा ठुडे हाँस, जुरे हाँस र लाल खुट्टे टिम टिया प्रजातिका चरा फेला पारेका छन्’, उनले भने, ‘चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा गत वर्ष यी प्रजातिका चरा गणना भएका थिएनन्।’

नेपालको जल क्षेत्रमा एक सय ६२ प्रजातीका चरा पाइने गरेका छन्। ती मध्ये नारायणी नदी क्षेत्रमा यसवर्ष उक्त प्रजाती फेला परेको जनाइएको छ। नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो।

सिघ्रौलीदेखि अमलटारी, सिघ्रौलीदेखि पिठौली, पिठौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक ब्यारेजसम्म गरी ४ समूहमा चरा गणना गरिएको हो। गत वर्षको तुलनामा यसवर्ष चराको समग्र सङ्ख्या घटेको प्रारम्भिक अनुमान गरिएको छ।

‘यस वर्ष पनि समग्रमा चराको सङ्ख्या घटेको पायौँ”, चौधरीले भने ‘प्रत्येक वर्ष नेपालमा क्रमिक रुपमा चराको सङ्ख्या घटिरहेको छ।’ साइबेरियालगायत उत्तरी गोलार्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा धेरै सङ्ख्यामा खोया हाँस देखिएका उनले बताए।

‘कुनै प्रजातिका चरा गत वर्षभन्दा बढी र कुनै प्रजातिका चरा गत वर्षको तुलनामा न्यून देखिएका छन्’, ‘चौधरीले भने, ‘यस क्षेत्रमा चखेवा, खोया हाँस, जलेवा र पानी गौथली चरा धेरै पाइने गरेका छन्।’ निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको सङ्ख्यामा भने खासै फरक नदेखिए पनि आगन्तुक चराको सङ्ख्यामा धेरै नै कमी आएको चौधरीले बताए।