मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री, बोलाए सत्ता साझेदार दलको बैठक – Nagarikabhiyan : National News

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री, बोलाए सत्ता साझेदार दलको बैठक

काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ ।

बैठकमा मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । संविधानमा २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था छ ।

प्रधानमन्त्री प्रचण्ड छिट्टै मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । त्यही विषयमा उनले बुधबार बेलुका उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए ।

 

स्रोतका अनुसार सो छलफलमा मन्त्रिपरिषद् विस्तारका साथै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदको भागबन्डाबारे पनि कुराकानी भएको थियो । प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने भन्ने थियो, अहिले त्यसकै गृहकार्य भइरहेको छ ।’ प्रधानमन्त्री प्रचण्डलाई यही पुस २६ गते ९९ प्रतिशत सांसदले विश्वासको मत दिएका थिए ।