२८ पुष २०७९, बिहीबार १४:२६ – Page 6 – Nagarikabhiyan : National News

जाडोमा हृदयाघातको उच्च जोखिम, बच्नका लागि के-के गर्नुपछ ?

काठमाडौँ । नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयाघात र मस्तिस्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ । यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भएकाले यी नसर्ने रोगहरूको प्रमुख कारण अस्वस्थ जीवनशैली हो भन्ने सबैले बुझ्न आवश्यक छ ।

अस्वस्थ जीवनशैली नै मुटसम्बन्धी रोगको प्रमुख कारण भएकाले आवश्यक उपाय अहिलेदेखि नै अवलम्बन गर्नुपर्ने हुन्छ । नभए भोलि प्रत्येक परिवारमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, हृदयाघात वा अन्य मुटुरोगका बिरामी हुनेछन् ।

नेपालले स्वास्थ्य क्षेत्रमा निकै प्रगति गर्न सके पनि नसर्ने रोगको समस्या दिनप्रतिदिन बढ्दै गएको छ । उपचार सेवा र चिकित्सकहरू सहरी क्षेत्रमा नै केन्द्रित हुँदा ग्रामीण क्षेत्रका जनता आधारभूत जानकारी र अवसरबाट बञ्चित छन् ।

बालबालिका र युवाहरूमा बढ्दै गइरहेको अस्वस्थ आहारको सेवन, शारिरीक गतिविधिमा कमी, धुमपान, मदिरापानले भोलिको नेपाललाई अस्वस्थ बनाउने देखिन्छ । निम्न र मध्यम वर्गीय नेपालीहरूका लागि मुटुरोगको उपचार महँगो र असहज भएका कारणले यसको रोकथाम तथा नियन्त्रण नै एकमात्र विकल्प रहेको छ ।

यतिबेला चिसो मौसमका कारण मुटुको समस्या भएका बिरामीको सङ्ख्या धेरै रहेको पाइन्छ । चिसो समयमा अस्पताल वा क्लिनिकहरूमा बिरामीको सङ्ख्या ह्वात्तै बढ्ने गर्दछ । उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोलजस्ता रोगहरूको समयमै उचित उपचार भएमा मुटुरोगको प्रकोपलाई घटाउन सकिने बरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल बताछन् ।

खासगरी चिसो याममा मुटुरोगबाट कसरी स्वस्थ रहन सकिन्छ भन्ने विषयमा डा अनिलसँग गरिएको कुराकानी संक्षेपमा यहाँ प्रस्तुत गरिएको छ ।

हाल डा अनिल ग्राण्डी इन्टरनेशनल अस्पतालमा मुटुको शल्यक्रियामा संलग्न हुनुहुन्छ भने बसुन्धरामा उनको आफ्नै नेशनल कार्डियाटिक सेन्टरमा कार्यरत छन् ।

चिसो बढेसँगै जनजीवन नराम्ररी प्रभावित भएको छ । जाडो मौसममा विभिन्न प्रकारका रोगहरू लाग्ने गर्छन् ।

चिसोले निम्त्याउने स्वास्थ्य समस्याहरूमा मुटुसम्बन्धी समस्या मुख्य रहेको छ । चिसोले रक्तनली र शरीरमा सिधा प्रभाव पार्दछ । चिसोका कारण शरीरमा उत्पन्न हुने रसायन वा हर्मोनहरूले मुटुको चाल वा धड्कन बढाउन मद्दत गर्ने हुँदा मुटुभित्रका नलीमा रक्त सञ्चार अवरुद्ध गर्ने र रगत जम्ने सम्भावना बढ्न जान्छ ।

गर्मीको तुलनामा जाडो मौसममा मानिसमा मुटुरोगसम्बन्धी जोखिम बढी रहने गर्दछ । यस्तो अवस्थामा बिरामी र वृद्धहरूलाई हृदयाघात हुने सम्भावना बढी हुने गर्दछ ।

रक्तचापको नियन्त्रण नगरेमा हृदयाघातको खतरा दुई गुणा बढी हुन्छ । मधुमेहले पनि हृदयाघातको जोखिमलाई दुईदेखि तीन गुना बढाउँछ । लामो समयसम्म मधुमेह भएको व्यक्तिलाई यसको खतरा झन् बढी हुन्छ ।

मधुमेहका रोगीमा रक्तचाप र कोलस्ट्रोलको राम्रो नियन्त्रण नभएमा हृदयाघातको खतरा झन् बढी हुन्छ । संसारभरि नै हेर्ने हो भने सबैभन्दा बढी मानिसको मृत्यु मुटु र रक्तनलीसम्बन्धी रोगहरूले हुने गर्छ ।

हृदयाघात र मस्तिष्कघात नै मुटु र रक्तनलीसम्बन्धी प्रमुख रोगहरू हुन् । हृदयाघातपछि सबैभन्दा बढी मानिसको मृत्यु मस्तिस्कघातले हुने गर्दछ ।

गर्मीको तुलनामा जाडो मौसममा मानिसमा मुटुरोगसम्बन्धी जोखिममा बढी हुने हुँदा संसारभर नै चिसोको बेला मुटुका रोगीको सङ्ख्या बढ्ने गर्दछ ।

मुटुको रोगको जटिलता बढ्दा मृत्युको सङ्ख्या पनि बढ्न जाने अनुसन्धानबाट पुष्टि भएको छ । चिसोको समयमा हृदयाघातमात्र होइन, मस्तिष्कघात पनि बढी हुने गर्दछ । चिसोमा रक्तसञ्चार प्रणालीमा बढी समस्या आउने गर्दछ । यसले गर्दा व्यक्तिको उच्च रक्तचाप बढ्ने, रक्त प्रवाहमा गडबडी गर्दछ । जसले गर्दा मुटुमा रक्तसञ्चार कमी हुन्छ । छाती दुख्ने, मुटु ढुकढुक हुने हुन्छ भने कतिपयलाई हृदयाघात पनि हुन्छ । जाडोमा कोलस्ट्रोलको मात्रा पनि बढी हुन्छ ।

जाडो मौसममा चिसोका कारणले हाम्रो शरीरमा विभिन्न रसायन वा हार्मोनहरू बढ्न जान्छ । शरीरमा उत्पन्न हुने हर्मोनहरू हुन् जसले मुटुको चाल वा धड्कन बढाउन मद्दत गर्छन् । ती हार्मोनहरूले हाम्रो रक्तनलीलाई साँघुरो बनाउँछ ।

चिसोका कारण मुटुभित्रका नलीमा रक्तसञ्चार अवरुद्ध गर्ने र रगत जम्ने सम्भावना बढाइदिन्छ । यसले गर्दा रगतको नशामा जम्ने हुन्छ । मुटुको रक्तनलीमा भयो भने हृदयाघात हुन्छ भने यदि मस्तिष्कको नलीमा भयो भने मस्तिष्कघात हुन्छ ।

यस्तै वायु प्रदूषण, शारीरिक व्यायाममा कमी, मानसिक दबाब, खानपानमा खराबी र मौसमका कारण पनि ह्दयाघातको खतरा बढ्छ । जो व्यक्तिहरूको मुटु कमजोर हुन्छ, उनीहरूमा रोग लाग्ने सम्भावना बढी हुन्छ । मौसम खराब हुने कारण सबैभन्दा बढी समस्या श्वासप्रश्वासमा पर्छ । यसका साथै, फ्लु र निमोनियाजस्ता रोगहरू हुने सम्भावना जाडो मौसममा धेरै हुन्छ । यसैले जाडो मौसममा हाम्रो शरीर र मुटुलाई शरीरको तापमान सन्तुलनमा राख्न विशेष ध्यान दिनुपर्छ ।

जोखिममा रहने वर्ग

उमेरले ६० नाघेका मानिसहरू मधुमेह वा दमका रोगी, अन्य रोग लागेका वा पहिल्यैदेखि मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा पर्दछन् । मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरूमा मुटुको अनियमित चाल, उच्च वा न्यून रक्तचाप, बाइपास सर्जरी गरेका वा मुटुको काम गर्ने शैलीमा समस्या भोगेका बिरामीहरूलाई लिन सकिन्छ ।

यस्ता जोखिम वर्गमा रहेका व्यक्तिले विशेष सतर्कता अपनाउनुपर्छ । मुटुको परीक्षण गर्नुपर्छ । चिसोमा हिँड्न भएन, चुरोट मदिरा सेवन गर्नु भएन । कुनै औषधि नियमित सेवन गरिरहेका व्यक्तिले अझ बढी सचेत भई औषधि नछुटाइ खानुपर्छ । जोखिममा रहेका व्यक्तिमा मुटुरोगी, दमका रोगी र अन्य दीर्घरोगी (मिर्गौला, कलेजो र मस्तिष्क)का बिरामी पर्दछन् ।

बच्ने उपाय

मुटु बचाउन चिसोबाट बच्नु पहिलो र महत्वपूर्ण उपाय हो । सबै व्यक्तिले चिसोबाट बच्नु पर्छ । घरभित्र बस्दा र घर बाहिर जाँदा पनि न्यानो कपडा लगाउनुपर्छ । बिहानै अति चिसोमा गरिने हिँडडुल कम गर्ने वा बन्दै गर्नुपर्छ । चिसो समयमा उच्च रक्तचाप, मधुमेह र कोलस्ट्रोललाई राम्रो अवस्थामा राख्नुपर्छ ।

सामान्यतः साठी वर्ष माथिका व्यक्ति बढी जोखिममा रहेका हुन्छन् । उच्च कोलस्ट्रोलले हृदयाघातको खतरा तीन गुना बढाउँछ । कोलस्ट्रोलको मात्रा रगतमा जति धेरै हुन्छ, हृदयाघातको खतरा पनि त्यति नै बढी हुन्छ ।

चिसो समयमा प्रायः रक्तचाप, मधुमेह र कोलस्ट्रोलको मात्रा बढ्ने गर्छ । यतिबेला कतिपय बिरामीलाई औषधि परिवर्तन गर्नु हुनसक्छ ।

त्यसैले त्यस्ता रोगीहरूले समय–समयमा चिकित्सकसँग स्वास्थ्य परीक्षण गर्नुपर्छ । स्वास्थ्यसम्बन्धी कुनै पनि प्रकारको समस्या आएमा चिकित्सकको सल्लाह लिनुपर्छ । आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी राख्नुपर्छ ।

स्वस्थ मुटुका लागि खानपानमा समेत विशेष ख्याल गर्नुपर्छ । चिसोको महिना धेरै चिल्लो कुरा खानु हुँदैन । चुरोट सेवन, मदिरा सेवन गर्नु हुँदैन । त्यस्तै बोसोयुक्त खाना बढी खाने गरिन्छ, जुन मुटुका रोगीहरूका लागि राम्रो होइन ।

विशेषगरी जाडो छल्न भन्दै बढ्ने चुरोट र मदिरापानमा नियन्त्रण गुमाउँदा धेरै मानिसहरूमा मुटुको जोखिम बढ्ने र कसै–कसैको यही बेला हृदयाघात भइ मृत्यु पनि हुने गर्दछन् । धुमपानले हृदयाघातको खतरा दुईदेखि चार गुणा बढाउँछ ।

जाडोमा व्यायाम पनि कमै गरिन्छ । यसले गर्दा थप जोखिम बढ्न जान्छ । योग, ध्यान, शारीरिक व्यायाम आदिलाई बढाउनुपर्छ । मोटोपन घटाउनुपर्छ । निद्रा पुग्ने गरी सुत्नुपर्छ । स्वास्थ्य व्यक्तिले पनि दैनिक व्यायाम, बिहानको हिँडाइ गर्न छाड्न हुँदैन ।

काठमाडौँ उपत्यकामा साँझको समय बढी हावा चल्ने हुँदा यस्तो बेला हिँड्नु थप जोखिमपूर्ण हुनेछ ।

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु बुद्धिमानी हुने भएकाले यसतर्फ सबै सचेत हुन आवश्यक छ । स्वस्थ आहार र व्यायामले नै शरीरका अङ्गहरूलाई स्वास्थ राख्न मद्दत गर्दछ । वनस्पतिहरूबाट प्राप्त हुने प्राकृतिक खानेकुराहरूलाई स्वस्थ आहार भनिन्छ । फलफूल र सागसब्जीमा भएको भिटामिन, मिनरल्स, फाइबर र अन्य पदार्थहरूले रक्तनली, मुटु र मस्तिष्कलाई स्वस्थ राख्छ ।

फलफूल र सागसब्जीमा पाइने भिटामिनहरूले हाम्रो रोग निरोधक क्षमतालाई बढाउँछ र सङ्क्रमण हुनबाट बचाउँछ । त्यसैले बजारमा पाइने तयारी खानेकुरा, विलासी जीवनशैली र मानसिक तनाबबाट मुक्त हुनु नै निरोगी र दीर्घजीवी बन्ने उपाय हो ।

मोवाइल स्वास्थ्य कार्यक्रमले गर्भवतीलाई राहत

गलकोट । गर्भवती भएर समेत स्वास्थ्य चौकीको पहुँचमा पुग्न नसक्नुभएकी बडिगाड गाउँपालिका–१ दगातुन्डाँडास्थित गरङधारा निवासी तारा भुजेलको घरमा गत शनिबार बडिगाड स्वास्थ्य शाखाको समूह पुग्यो ।

स्वास्थ्य चौकीको पहुँच बाहिर रहेका गर्भवतीहरुलाई वडा कार्यालयको सहयोगमा पहिचान गर्दा उनले गर्भवती भएर स्वास्थ्यचौकी आउन नसकेकीले घरमै पुगेर उक्त समूहले जाँच गरी आवश्यक औषधि उपलब्ध गराउनका साथै स्वास्थ्य संस्थामा सुत्केरी हुने परिपाटी बसाल्न आग्रह ग¥यो । सो समूहले स्वास्थ्य परीक्षण, परामर्श, भिडियो एक्सरे, डिटि खोप, रगत जाँच र आइरन चक्कीलगायत औषधि उपलब्ध गराएपछि ओइलाएको उनको अनुहार उज्यालो भयो ।

भौगोलिकरूपमा विकट रहेको उक्त गाउँपालिकामा स्वास्थ्यचौकीमा नपुगेर घरमै सुत्केरी हुनेको सङ्ख्या बढी छ । गाउँपालिकाले शिशु मृत्युदर घटाउँदै शून्य ‘होम डेलिभरी’ गराउने

लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले चालु आर्थिक वर्षदेखि गाउँपालिकाभर एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रम ल्याएको पालिकाअध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए।

“बडिगाडमा धेरै महिला सुत्केरी हुन नसक्दा हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने, शिशु मृत्युदर बढी हुने, भौगोलिक जटिलता र गरिबीका कारण सम्बद्ध व्यक्तिले समस्या भोग्दै आएकाले गाउँपालिकाले पाँचवर्षे स्वास्थ्य रणनीतिक कार्यक्रममाअन्तर्गत चालु आर्थिक वर्षदेखि एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा प्रदान गर्न लागेको हो”, उनले भने, “प्रत्येक महिना स्वास्थ्यचौकी, गाउँघर क्लिनिक, खोप केन्द्रलगायत स्वास्थ्य संस्थाबाट पालैपालो गाउँपालिकाभर उक्त स्वास्थ्य सेवा दिइरहेका छौँ, पालिकाका स्वास्थ्यकर्मी साथीहरू महिनामा १० दिन नियमित कामबाहेक मोबाइल सेवामा खटिनुहुन्छ, पायक पर्ने स्थानमा समेत सम्बन्धित गर्भवती महिला उपस्थिति नभए तिनका घरमै पुगेर स्वास्थ्य सेवा र परामर्श दिन्छौँ ।”

स्वास्थ्य शाखाले समय–समयमा वडा कार्यालय, स्वास्थ्यचौकी र गाउँघर क्लिनिकमार्फत गर्भवती महिलाको तथ्याङ्कसमेत सङकलन गर्ने र त्यसैका आधारमा एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्ने गरिएकोे स्वास्थ्य शाखाले जनाएको छ ।

सोही कार्यक्रमसँगै जनतासँग पालिका अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रमसमेत सञ्चालन गरिएको स्वास्थ्य शाखा संयोजक विपेन्द्र केसीले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मनका राजदूत डा थोमस प्रिन्जले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा दुई देशको सम्बन्ध र द्विपक्षीय हित तथा साझा चासोका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसअवसरमा जर्मन राजदूतले नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा प्रधानमन्त्री दाहाललाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए।

माघ १ गते विद्यालयमा योग दिवस मनाउन निर्देशन

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाईलाई सबै विद्यालयमा माघ १ गते राष्ट्रिय योग दिवस मनाउन समन्वय गर्न निर्देशन दिएको छ ।

केन्द्रले आगामी माघ १ गते ‘स्वस्थ्य जीवनको चाहना : योग शिक्षा र साधना’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउनका लागि शिक्षा विकास तथा समन्वय इकाइलाई समन्वय गर्न निर्देशन दिएको हो ।

केन्द्रले योग दिवशमा विभिन्न कार्यक्रम गर्न र विद्यालयहरुमा योगसँग सम्बन्धि क्रियाकलाप गराउन निर्देशन दिएको हो ।

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा बोलाएका छन् ।

बिहीबार दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा सभापति देउवाले बैठक बोलाएको कांग्रेसका मुख्‍य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार पदाधिकारी बैठकमा शीर्ष तहका नेतालाई पनि बोलाइएको छ ।

मन्त्रालय टुंगो नलागेपछि माओवादी नेता महराले शपथ नलिने

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लगायत अन्य मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहणमा ढिलाई भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजेका लागि शपथग्रहणको समय दिएका थिए । सत्ता साझेदार माओवादी केन्द्रबाट दलका नेता जोखबहादुर महराले विना विभागीय मन्त्री बन्न इन्कार गरेपछि शपथ ग्रहणमा ढिलाइ भएको हो ।

महराले शपथ नलिने भएपछि बाँकेबाट निर्वाचित कृष्णा केसीलाई शपथका लागि पठाउने निर्णय गरेको माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

महराले अर्थ वा शहरी विकास मन्त्रालयको दाबी गरेका छन् । ‘मन्त्रालयको टुंगो नलागी दलको नेताले विना विभागीय मन्त्रीको सपथ लिँदा राम्रो म्यासेज जाँदैन भनेर कृष्णा केसीलाई पठाउने निर्णय भएको छ’, बरालले अनलाइनखबरसँग भने ।

लक्ष्मी बैंकको नाफा १ अर्ब ५१ करोड

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

काठमाडौंमा बिहीबार सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष ९आव० २०७८र७९ को वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७९र८० का लागि लेखापरीक्षक नियुक्ति समेत गरेको छ ।

आव २०७८र७९ मा १ खर्ब ३९ अर्ब निक्षेप र १ खर्ब ३२ अर्ब कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार १ खर्ब ७३ अर्ब रहेको छ । आव २०७८र७९ मा १ अर्ब ५१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।

आदेश होइन कानुनको पालना गर्न गृहमन्त्री लामिछानेको निर्देशन

चितवन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन् । बिहीबार भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको बताए ।

‘सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु,’ उनले भने, ‘कानुनको पालना गर्न र गल्ती काम नगर्न सचेत गराएको छु ।’ उनले जे सही हो त्यही मात्र काम गर्न र आदेश होइन कानुन पालना गर्नुहोस् भनि सुरक्षा संयन्त्रलाई निर्देशन दिएको जानकारी दिए ।

पत्रकारहरुसँग कुरा गर्दै उनले कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्नु समेत निर्देशन दिएको स्पष्ट पारे । ‘अपराध अनुसन्धानमा राजनीतिक दलले बाधा पुर्‍याउने वा मेरो मान्छे छोडिदेउ जस्ता कुरा नसुन्नुहोस्, त्यसरी दबाब दिएको प्रमाण ल्याएमा त्यस्ता मानिसलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छु,’ उनले भने ।

उनले आफू सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा झन बढी निर्मम भएर काम गर्न निर्देशन दिएको उनको भनाइ छ । नेपाल प्रहरीलाई बलियो बनाउन र प्रहरी संगठनभित्र देखिएका समस्या समाधान गर्दै विधिको शासन कायम गर्नका निमित्त काम आफूले गरिरहेको बताए । यसका लागि योजना बनाइरहेको उनले जानकारी दिए ।

उनले सरकारले छिट्टै पूर्णता पाउने भन्दै आफ्नो पार्टीले विज्ञताका आधारमा सरकारमा सहभागी हुने स्पष्ट पारे । सबै निकायसँग समन्वय गरेर मुलुको विकासका काम गरिने उनको भनाइ छ ।

देशभर बन्द भएका अवैध क्रसर उद्योग सञ्चालनका विषयमा सचिवस्तरीय छलफल भइरहेको भन्दै उनले कानुनको पालना गर्ने विषयमा आफू कटिबद्ध रहेको स्पष्ट पारे ।

प्रधानमन्त्रीसँग बाग्मती प्रदेशका मुख्यमन्त्री जमकट्टेलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्रीमा नियुक्त हुनुभएकामा जमकट्टेललाई बधाई तथा शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नवनियुक्त मुख्यमन्त्री जमकट्टेल नेकपा (माओवादी केन्द्र)का नेता छन् । नेकपा (एमाले)लगायत सत्ता साझेदार दलको सहयोगमा उनी सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

बिराटनगर । प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् ।

बिहीबार बसेको बैठकमा सभाका जेष्ठ सदस्यले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

सभामुखका लागि गौतमको मात्र उम्मेदवारी परेको थियो । सत्ता गठबन्धनमा भएको भागवण्डामा मुख्यमन्त्री एमालेले लिएपछि सभामुख माओवादी केन्द्रले पाएको थियो । माओवादीले ओखलढुंगाको प्रदेश सभा २ बाट निर्वाचित गौतमलाई सभामुख बनाएको हो ।

नेकपा एमालेका रेवतिरमण भण्डारी प्रस्तावक र नारायणबहादुर मगर लगायत समर्थक थिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नै दिएन ।

प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए । प्रदेशसभाको दोस्रो कार्यकालमा गौतम सभामुख बनेका हुन् ।

प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ । एमालेबाट उदयपुरकी सिर्जना दनुवार, भोजपुरकी सिर्जना राई, मोरङकी मालती सुब्बा उपसभामुखको दाबेदार छन् ।

उपसभामुखको निर्वाचनका लागि मनोनयन दर्ता आज हुँदैछ ।

जसपा र एकीकृत समाजवादीबीच एकताका लागि वार्ता हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपाल र नेकपा एकीकृत समाजवादीबीच एकता वार्ता हुन लागेको छ ।

एकताका लागि गठित दुई पक्षको कार्यदलबीच छलफल हुन लागेको कार्यदलका सदस्य प्रकाश ज्वालाले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीले महासचिव वेदुराम भसालसहित नेताहरु डा। विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेको कार्यदल बनाएको थियो ।

यस्तै जसपाले पनि नेताहरू राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी रहेको कार्यदल बनाएको छ ।

नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो । गत मंसिर ४ मा भएको निर्वाचनमा एकीकृत समाजवादीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १० सिट जिते पनि थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन । उपेन्द्र यादव नेतृत्वको जसपाका १२ सांसद छन् । सो पार्टीले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ सिट जितेको थियो ।

एकीकृत समाजवादी र जसपाबीच पार्टी एकता भए सो पार्टीका २२ सांसद पुग्नेछन् । उक्त पार्टी संसदमा चौथो ठूलो दल बन्ने छ । हाल २० सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल छ ।

‘मानव अधिकार उल्लंघनका घटनामा नेपाल सरकारले न्यायको पहल गरेन’

काठमाडौं । मानव अधिकारको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था ह्युमन राइट्स वाचले मानव अधिकार उल्लंघनका घटनामा नेपाल सरकारले अझैसम्म पनि न्यायको पहल नगरेको जनाएको छ ।

विश्वभरको मानव अधिकारको अवस्थाबारे रिपोर्ट प्रकाशित गर्दै उसले द्वन्द्वकाल र अहिलेको समयमा भएका मानव अधिकार उल्लंघनका घटनामा नेपाल सरकारले न्यायका लागि पहल नगरेको जनाएको हो ।

ह्युमन राइट्स वाचको विश्व रिपोर्टमा लेखिएको छ, ‘नेपाल सरकारले यातना, जबरजस्ती बेपत्ता र गैरन्यायीक हत्याका घटनाबारे छानबिन गरेको छैन, उसले द्वन्द्वसम्बन्धी मुद्दाहरूलाई नियमित अदालतमा सम्बोधन हुनबाट रोकेको छ र सुरक्षाकर्मीहरूद्वारा हाल पनि अधिकार उल्लंघनका घटना भइरहेका छन् भन्नेबारे आरोपमाथि विश्वसनीय तवरले छानबिन गर्न वा अपराधका लागि सजाय दिलाउन सकेको छैन ।’

अरुको दाँजोमा महिला र दलित तथा अन्य सीमान्तकृत समुदायका मानिसहरू अधिकार उल्लंघनका घटनाबाट पीडित  हुने गरेको रिपोर्टमा उल्लेख छ ।

‘द्वन्द्वकालीन अपराधका लागि न्यायको अभावले द्वन्द्वपश्चातको नेपालमा दण्डहीनताको वातावरण बनाउन सघाएका कारण देशका सबै क्षेत्रमा मानव अधिकार तथा सुशासनको अवमूल्यन भएको छ,’ हृयुमन राइट्स वाचकी दक्षिण एशिया निर्देशक मीनाक्षी गांगुलीले भनेकी छन् ।

नवनिर्वाचित सरकारले संक्रमणकालिन न्याय विधेयकमा रहेका कमिकमजोरीलाई सच्च्याउन त्यसलाई संशोधन गर्नुपर्ने, त्यसलाई संसदमा फिर्ता ल्याउनु पर्ने र सत्य निरुपण, क्षतिपूर्ति, न्याय तथा यस्ता दुर्व्यवहार दोहरिने छैनन् भन्ने प्रत्याभूति दिनुपर्ने उनको भनाइ छ ।

हृयुमन राइट्स वाचले आˆनो ७१२ पृष्ठको ३३ औं विश्व प्रतिवेदनमा करिब १०० देशमा मानव अधिकार अभ्यासबारे समीक्षा गरिएको छ ।

रिपोर्टमा गत जेठ ४ गते कारागार अधिकारीहरूको भ्रष्टाचारका कारण रोल्पा कारागारमा अर्कै व्यक्तिको नाममा सजाय काटिरहेका २० वर्षीय दलित युवा सुन्दर हरिजनको शंकास्पद मृत्यु भएको र जेठ २३ गते बर्दियामा राजमार्ग बन्द गरिरहेका प्रदर्शनकारीलाई हटाउन प्रहरीले गोली चलायँदा १८ वर्षीया नवीना थारुको मृत्यु भएको लगायतका घटना विवरण समेटिएका छन् ।

बाघले स्थानीयलाई आक्रमण गरेपछि सुरक्षाको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाउँदा नवीनाको मृत्यु भएको थियो ।

नेपालको अवस्थाबारे रिपोर्टमा लेखिएको छ, ‘द्वन्द्वकालमा भएका अपराधका लागि दण्डहीनताकै दाँजोमा सुरक्षाकर्मीहरूद्वारा दण्डहीनता कायम छ ।

विरोध प्रदर्शन व्यवस्थापनका क्रममा अत्यधिक वा अनावश्यक शक्ति प्रयोगका कारण भएका मृत्यु र हिरासतमा यातनाका कारण मृत्यु भएको आरोपमाथि प्रायः अनुसन्धान नै हुँदैनन् वा भएका अनुसन्धान विश्वसनीय हुँदैनन् ।’

नेपालमा अभिलेख भएका बलात्कारका घटनामा संख्यात्मक वृद्धि भएको, बलात्कारसम्बन्धी नेपालको तत्कालिन कानुनको हदम्यादलाई एक वर्षबाट दुई वर्ष (पीडित नाबालिग भएको खण्डमा तीन वर्ष) मा बढाए पनि हदम्याद प्रावधानले अझै पनि न्यायसम्म पहुँचमा अवरोध कायमै राखेको, यस्ता घटनाका पीडितमा दलित तथा अन्य सीमान्तकृत समुदायका महिलाहरू धेरै हुने गरेको र कोभिड १९ महाव्याधीका कारण बाल श्रम बढेको पनि रिपोर्टमा उल्लेख छ ।

चिसो बढेपछि इटहरी ६ नं वडाद्वारा दाउरा तथा ड्रम वितरण

इटहरी । केही दिनयता ह्वात्तै चिसो बढेपछि इटहरी उपमहानगरपालिका वडा नं ६ द्वारा दाउरा तथा ड्रम वितरण वितरण सुरु गरेको छ । इटहरी वडा न.६ को तर्फबाट वडा न.६ भित्र का आवश्यकता अनुसार स्थानीयहरू र देशका विभिन्न ठाउँ बाट आउने यात्री हरूको लागि आगो ताप्ने ड्रम सहित दाउरा वितरण गरिएको हो ।

सुनसरी जिल्ला वन कार्यालय सुनसरीबाट खरिद गरी २ ट्रिफर दाउराका साथ आगो ताप्ने ड्रम इटहरी पूर्व बस स्टेण्ड , नगरपालिका अगाडि, गोल्डेन चोक(हटिया लाइन), बिपी चोक, विशालबजार(पश्चिम लाइन), म्याजिक स्टेण्ड, धरान रोड, सङ्गीत चोक, चोक(रेयुकाइ चौतारी), अनामनगर चोक लगायतका क्षेत्रमा वृद्धवृद्धा, यात्रु, ज्येष्ठ नागरिक तथा साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरेको वडाअध्यक्ष दिवस पोखरेलले बताए ।

माओवादीको पहिलो प्राथमिकता बाबुराम र माधव, अनिमात्रै एमालेसँग एकता

काठमाडौं । नेकपा माओवादी केन्द्रले वाम एकता अभियानअन्तर्गत बाबुराम भट्टराईसँगै माधव कुमार नेपालसँग पनि सम्बाद गर्ने भएको छ।

वाम एकता अपरिहार्य रहेको भन्दै माओवादीले नेकपा एकीकृत समाजवादीसँग पनि पार्टी एकता लागि सम्बाद गर्ने भएको हो।

माओवादीका उपमहासचिव एवं कार्यदल सदस्य गिरिराजमणि पोखरेलले माधव नेपालसँग अनौपचारिक छलफल सुरु भएको बताए। उनले माओवादी र एकीकृत समाजवादीका नेताहरूबीच अनौपचारिक सम्बाद भइरहेको पुष्टि गरे।

‘पार्टीले कार्यदल बनाए पनि सत्ता समीकरणको व्यस्तताले कार्यदलको बैठक बस्न सकेको छैन। तर कार्यदलका भएका साथीहरूले बाबुराम भट्टराई र माधव कुमार नेपालसँग अनौपचारिक सम्बाद गरिरहनु भएको छ,’ पोखरेलले भने।

उनले चुनावअघि वाम शक्तिहरूबीच ध्रुवीकरण भएको भन्दै स्थायित्वका निम्ति वाम एकता अपरिहार्य रहेको बताए। ‘वाम एकताका लागि एउटा प्रयोग सुरु गरिसकेका छौं। वाम शक्तिहरू एकअर्कासँग नमिलिकन अगाडि बढ्ने स्थिति छैन,’ उनले भने।

उनले नेकपा एमालेसँग भने तत्काल पार्टी एकता सम्बन्धमा सम्बाद नहुने प्रस्ट पारे। सम्बादका लागि नेकपा विभाजन र विगतका राजनीतिक घटनाहरूबारे गम्भीर छलफल हुनुपर्ने उनले बताए।

‘सबैसँग गर्ने भनिए पनि एमाले तयार नभइकन सम्बाद र छलफल गर्दैनौं। नेकपा विभाजको समीक्षा र विगतका राजनीतिक घटनाका विषयमा छलफल नगरी एमालेसँग एकता प्रारम्भ हुँदैन,’ उनले भने।

 

अन्नपुर्ण पोष्ट बाट

तीव्र गतिमा द्रुतमार्ग बनाउँदै नेपाली सेना

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाडौं, तराई मधेस फाष्टट्रयाक अथवा द्रुतमार्गको जिम्मेवारी लिएको नेपाली सेनाले निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको छ ।

बाराको निजगढबाट काठमाडौंको खोकना जोड्ने ७२ दशमलभ ०६ किलोमिटरको यो बाटो निर्माणको जिम्मा भने नेपाली सेनालाई २०७४ सालमा दिइएको हो ।

२०७४ सालमा सेनाले जिम्मा लिएको भए पनि काम भने २०७५ सालबाट मात्रै शुरु भएको नेपाली सेनाको द्रुतमार्ग निर्माण आयोजना समितिले जनाएको छ । मकवानपुर जिल्लाको लेनडाँडासहित विभिन्न्न स्थानमा अस्थायी क्याम्प नै खडा गरेर सेनाले यो बाटो बनाइ रहेको हो ।

सेनाले हालसम्म २१ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । लेनडाँडा अस्थायी क्याम्पका प्रमुख सेनानी रामसागर यादवले यो मार्ग निर्माणका लागि बिभिन्न तीन स्थानमा सुरुंग बनाउनुपर्ने भएकाले यसै अनुसार काम भइरहेको जानकारी दिए ।

उहाँले २०८१ मंसिर सम्ममा सेनाले यो मार्ग सम्पन्न गराउने लक्ष्य लिएको र त्यसै अनुसार अहिले काम भइरहेको बताए । यो मार्ग निर्माणका लागि आवश्यक पर्ने र जटिल कार्य सुरुंग मार्ग निर्माणको काम चिनियाँ प्राबिधिकहरुको सहयोगमा तीव्र रूपमा काम अगाडि बढाइएका कारण निकै प्रगति भएको जानकारी दिए ।

नेपाल समाचारपत्र दैनिक बाट

लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका तीन मुख्यमन्त्रीको शपथग्रहण आज

काठमाडौं । आज एकै दिन तीनवटा प्रदेशका मुख्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिँदैछन् ।

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिने तयारी भइरहेको हो ।

बुधबार लुम्बिनीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी, कर्णाली प्रदेशमा माओवादीका राजकुमार शर्मा र सुदूपश्चिम प्रदेशमा एमालेका राजेन्द्र रावल मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

उनीहरुले शपथपछि आजै सानो आकारको मन्त्रिमण्डलसमेत विस्तार गर्ने तयारी गरेका छन् ।

लुम्बिनीका मुख्यमन्त्रीमा नियुक्त हुँदा लिला गिरीले माओवादीसहितका सत्तापक्षका दलहरुले समर्थन गरेका थिए । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजे प्रदेश राजधानी राप्ती उपत्यकामा शपथ गराउने भएका हुन् ।

त्यस्तै कर्णलीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा पनि माओवादीसहित सत्तारुढ गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन ।

उनले पनि आजै पद तथा गोपनियताको शपथ लिँदैछन् । दिउँसो ३ बजे प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ गराउनेछन् ।

त्यस्तैगरी सुदूपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले पनि दिउँसो ४ बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

उनी माओवादीसहति नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।