मोवाइल स्वास्थ्य कार्यक्रमले गर्भवतीलाई राहत – Nagarikabhiyan : National News

मोवाइल स्वास्थ्य कार्यक्रमले गर्भवतीलाई राहत

गलकोट । गर्भवती भएर समेत स्वास्थ्य चौकीको पहुँचमा पुग्न नसक्नुभएकी बडिगाड गाउँपालिका–१ दगातुन्डाँडास्थित गरङधारा निवासी तारा भुजेलको घरमा गत शनिबार बडिगाड स्वास्थ्य शाखाको समूह पुग्यो ।

स्वास्थ्य चौकीको पहुँच बाहिर रहेका गर्भवतीहरुलाई वडा कार्यालयको सहयोगमा पहिचान गर्दा उनले गर्भवती भएर स्वास्थ्यचौकी आउन नसकेकीले घरमै पुगेर उक्त समूहले जाँच गरी आवश्यक औषधि उपलब्ध गराउनका साथै स्वास्थ्य संस्थामा सुत्केरी हुने परिपाटी बसाल्न आग्रह ग¥यो । सो समूहले स्वास्थ्य परीक्षण, परामर्श, भिडियो एक्सरे, डिटि खोप, रगत जाँच र आइरन चक्कीलगायत औषधि उपलब्ध गराएपछि ओइलाएको उनको अनुहार उज्यालो भयो ।

भौगोलिकरूपमा विकट रहेको उक्त गाउँपालिकामा स्वास्थ्यचौकीमा नपुगेर घरमै सुत्केरी हुनेको सङ्ख्या बढी छ । गाउँपालिकाले शिशु मृत्युदर घटाउँदै शून्य ‘होम डेलिभरी’ गराउने

लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले चालु आर्थिक वर्षदेखि गाउँपालिकाभर एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रम ल्याएको पालिकाअध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए।

“बडिगाडमा धेरै महिला सुत्केरी हुन नसक्दा हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने, शिशु मृत्युदर बढी हुने, भौगोलिक जटिलता र गरिबीका कारण सम्बद्ध व्यक्तिले समस्या भोग्दै आएकाले गाउँपालिकाले पाँचवर्षे स्वास्थ्य रणनीतिक कार्यक्रममाअन्तर्गत चालु आर्थिक वर्षदेखि एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा प्रदान गर्न लागेको हो”, उनले भने, “प्रत्येक महिना स्वास्थ्यचौकी, गाउँघर क्लिनिक, खोप केन्द्रलगायत स्वास्थ्य संस्थाबाट पालैपालो गाउँपालिकाभर उक्त स्वास्थ्य सेवा दिइरहेका छौँ, पालिकाका स्वास्थ्यकर्मी साथीहरू महिनामा १० दिन नियमित कामबाहेक मोबाइल सेवामा खटिनुहुन्छ, पायक पर्ने स्थानमा समेत सम्बन्धित गर्भवती महिला उपस्थिति नभए तिनका घरमै पुगेर स्वास्थ्य सेवा र परामर्श दिन्छौँ ।”

स्वास्थ्य शाखाले समय–समयमा वडा कार्यालय, स्वास्थ्यचौकी र गाउँघर क्लिनिकमार्फत गर्भवती महिलाको तथ्याङ्कसमेत सङकलन गर्ने र त्यसैका आधारमा एकीकृत ग्रामीण मोबाइल स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्ने गरिएकोे स्वास्थ्य शाखाले जनाएको छ ।

सोही कार्यक्रमसँगै जनतासँग पालिका अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रमसमेत सञ्चालन गरिएको स्वास्थ्य शाखा संयोजक विपेन्द्र केसीले जानकारी दिए ।