१५ चैत्र २०७८, मंगलवार १९:३७ – Page 2 – Nagarikabhiyan : National News

दलितहरूको नेतृत्व सुनिश्चित गर्ने प्रतिवद्धता

सुनसरीको सदरमुकाम इनरुवामा आयोजित एक कार्यक्रममा सहभागी प्रमुख राजनीतिक दलहरुले दलितहरूको स्थानीय तह निवार्चतमा नेतृत्व तहमा उम्मेदबार बनाउने प्रतिवद्धता जनाएका छन् । मंगलबार समता फाउण्डेसनले आयोजना गरेको स्थानीय तहको निर्वाचनमा दलितको सवाल विषयक अन्तरकृया कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्जित समाजवादी पार्टीका जिल्ला अध्यक्षहरुले वडा तथा पालिकाको नेतृत्व तहमा दलित समूदायका उम्मेदबार बनाउने प्रतिवद्धता जनाएका हुन् । दलित समुदायहरूको राजनैतिक सचेतना र पहुचको वृद्धि तथा नेतृत्व तहमा प्रतिनिधित्व गराउने बारेमा प्रतिवद्ध रहेको बताउदै नेतृत्व तहमा उम्मेदबार बनाउने समेत प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा नेपाली कांग्रेस सभापती केदार भण्डारी, नेकपा एमालेका नेता देवनन्द मेहता, नेकपा माओवादी केन्द्रका संयोजक योगेन्द्र मण्डल(पप्पु), जनता समाजवादी पार्टीका बरिष्ठ उपाध्यक्ष रघुनाथ मेहता, लोकतान्जित समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनारायण यादव सहितकाले आफूहरु दलित समुदायको उत्थान, विकास र प्रवद्धनमा प्रतिवद्ध रहेको प्रतिवद्धा जनाउनुभयो । वहाँहरुले वडा तथा पालिकाको नेतृत्व तहमा दलित जनप्रतिनिधि बनाउने गरी उम्मेदबार बताउने समेत बताएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा निर्णायक पद तथा नेतृत्वमा दलितको प्रतिनिधित्व सुनिश्चितताको माग गैरसरकारी संस्था महासघ र विभिन्न संस्था सहित समता फाउण्डेसनले गरेपछि दलहरुले सो प्रतिवद्धता जनाएका हुन् । गैरसरकारी संस्था महासघका उपमहासचिव तथा समाता पाउण्डेसनका उमेश विश्वकर्माले आगामी ३० वैशाखमा हुने निर्वाचनमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिकाको प्रमुख र वडाध्यक्षमा दलित समुदायले स्थान पाउनुपर्नेमा जोड दिनुभयो । वहाँले विगतदेखी नै दलित अगुवाहरुले राखेको माग सम्बोधन गर्न जरुरी रहेको बताएका थिए । कार्यक्रम गैरसरकारी संस्था महासघ सुनसरी अध्यक्ष मेघराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अधिकारकर्मी रमेश भट्टराई, सपना परियार, कमला खत्वे, डिसी चौधरी, ओके दाहाल सहितकाले दलितको सबालमा बोल्नुभएको थियो । हालसम्म स्थानीय तहको प्रमुख पदमा गैरदैलितलाई मात्र अवसर दिने र कोटामा त्यो पनि सदस्यमा मात्र दलित उठाउने परिपाटीको अन्त्य गर्दै दलितलाई निर्णायक पद तथा नेतृत्व तहमा प्रतिनिधित्व गर्ने सुनिश्चितताको माग उठेको थियो ।

 

दलितहरूको नेतृत्व सुनिश्चित गर्ने प्रतिवद्धता

कोशीमा महिला सहकारी हस्तान्तरण

सुनसरीको कोशी गाउँपालिकाका विभिन्न वडामा रहेका महिलाहरु आवद्ध भएको कोशी महिला बचत तथा ऋण सहकारी संस्था डिमिटेडले आफ्नो कार्यालय उद्घाटन गरेको छ । चार वर्षदेखी नागरिक सचेतना केन्द्रको नाममा आवद्ध रहेका महिलाहरुलाई बचत तथा ऋणको कारोबार गर्ने गरी कोशी गाउँपालिकाको सहजीकरण र पहलमा कोशी महिला बचत तथा ऋण सहकारी संस्था डिमिटेडको दर्ता सहित कार्यालयको उद्घाटन गरेको हो । गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले एक कार्यक्रमका बीच मंगलबार सहकारीको कार्यालय उद्घाटन तथा संस्थागत हस्तान्तरण गर्नुभएको छ । कोशी गाउँपालिकाका अध्यक्ष अंसारीले गाउँपालिकाबाट प्रवद्धित कोशी महिला बचत तथा ऋण सहकारी संस्था लि.कोशी ७ हरीपुरमा संस्थागत हस्तान्तरण कार्यक्रम मार्फत कार्यालय उद्घाटन र संस्था हस्तान्तरण गर्नुभयो । अध्यक्ष अंसारीले कोशी गाउँपालिकाबाट प्रवद्धित कोशी महिला बचत तथा ऋण सहकारी संस्था लि.मा आठ सय ७१ महिलाहरुलाई एकसाथ लाभ पुग्ने र एउटै छाता मुनी अट्ने गरि नमुना काम भएको बताउनुभयो । वहाँले तत्कालि सामूदायिक विकास कार्यक्रम(सीडीपी)को सहयोगमा निर्माण भएको महिला समूहहरुलाई सहकारीमा परिणत गरेर कोशी गाउँपालिकाले अभिभागत्वको भुमिका निर्वाह गरेको बताउनुभयो । वहाँले कोशी ७ हरीपुर संस्थागत हस्तान्तरण कार्यक्रममा तत्काल हरिपुर स्थित कोशी ७ को वडा कार्यालयमा छुट्टै कोठा, कार्यालय, फर्निचर,कम्यूटर सहितको उपकरण, सेयर सदस्यहरुलाई एकै खालको सारी पोसाक हस्तान्तरण गरेको जानकारी दिनुभयो । वहाँले आफू महिलामैत्री काम गर्ने र विकासमा महिलाको सहभागिता र साझेदारीमा थप योगदान गर्नका लागि गाउँपालिका दुई हजार बढी महिलाहरुलाई सहकारीमा आवद्ध गराएको स्मरण गराउनुभयो । महिलाहरुको विकास भएको खण्डमा आर्थिक विकास र परिवारमा समेत सार्थक विकास हुने भएकाले सहकारी हस्तान्तरण गरेको बताउनुभयो । वहाँले कोशी १ लौकहीमा निर्माण भएको सप्तकोशी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पनि हस्तान्तरण केही दिनमै गर्ने बताउनुभयो ।  
कोशी महिला बचत तथा ऋण सहकारीमा कोशी गाउँपालिकाका ३ वटा वडा र सप्तकोशी सहकारीमा ५ वटा वडाका महिला, समूह संस्थाका सदस्यहरु आवद्ध रहेका छन् । हस्तान्तरण कार्यक्रममा कोशी गाउँपालिकाका विभिन्न वडाका महिला, सहकारी संस्थाका सदस्यहरु, वडाबासी तथा गाउँटोलबासीहरुको उत्साहजनक सहभागीता रहेको संस्थाका अध्यक्ष गिता पौडेलले जानकारी दिनुभयो । सहकारीले कोशी गाउँपालिकाको महिलाहरुलाई संगठित र एतिकृत गरेको बताउदै अध्यक्ष पौडेलले संस्था खोल्न देखी कार्यालय संचालनसम्म कोशी अध्यक्ष ऐयुव अंसारी, उपाध्यक्ष अनितादेवी यादवको महत्पूर्ण सहयोग रहेको बताउनुभयो । वहाँले सहकारीको कार्यमा सहयोग गर्न मधेसी तथा थारू समुदायका महिलाले मनाउने आस्था, निष्ठा र कठोर उपबासको पर्व जितियामा जितिया महोत्सव, तीजमा तिज महोत्सव सहितका कार्यक्रममा पनि सहयोग गरेको बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अनितादेवी यादवले विपन्न, सीमान्तकृत देखी सम्पन्न परिवारलाई समेत समेटीएर सहकारी बनाएको बताउनुभयो । यादवले स्थानीयहरुले आफ्नै बचत गर्ने र आफ्नै बचतबाट सहुलियतमा ऋण समेत लिन पाउने भएकाले सहकारीको विकासमा योगदान गरेको बताउनुभयो । कोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चोलाराज दंगालले गाउँपाकिलाभरीका दुई हजार बढी महिलालाई सहकारीमा जोड्ने काम गरेकोमा पालिकाको प्रशंसा गर्नुभयो । वहाँले महिलाहरुको उत्थान, विकास र सहभागितामा पनि सहकारीले योगदान गर्ने बताउनुभयो । कोशीका निवर्तमान प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र गिरीले नेपालभरी नै यो संस्था नमुना र ख्याती कमाउने सहकारी बन्ने दावी गर्नुभयो । वहाँले महिलाहरु मात्रै भएकोले यो इमान्दार सहकारीको रुपमा स्थापीत हुने बताउनुभयो ।
कोशी गाउँपालिका सहकारी समन्वय समितिका अध्यक्ष तजमुल हुसेनले महिलाहरुको मात्रै सहभागिता रहेको कोशीको नमुना सहकारी कोशी महिला बचत तथा ऋण सहकारी संस्था हुने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष विन्देशवर यादव, साह जमाल, सुलेमान मंसुरी, सहकारीकर्मीहरुले महिला सहकारी स्थापना भएकोमा शुभकामना दिनुभयो ।
कार्यक्रममा अथिति अमृता सुब्बाले देश विकासको मेरुदण्डको रुपमा सहकारी स्थापीत भईहरेको बेला कोशीमा महिलाको सहभागितामा निर्माण भएको संस्थाको प्रसंसा गर्नुभयो ।
यसैबीच महिलाहरुको बचत र व्याज वापतको जम्मा भएको दुई लाख ५० हजार रुपियाँको चेक समेत हस्तान्तरण गरिएको अध्यक्ष ऐयुव अंसारीले बताउनुभयो । सोही कार्यक्रममा २९ वटा साविक महिला सचेतना केन्द्रका सहजकर्ताहरुलाई सम्मान गरेको जनाएको छ । सम्मानित हुनेहरुमा चन्द्रकला नेपाल, गिता पौडेल, कल्पना यादव, जानकप् शिवाकोटी, मुन्नी मेहता, अनुखा मण्डल, सिमल सरदार, सुधादेव सरदार, सन्ध्या यादव, रुपा यादव, राधादेवी मोची, सागर चौधरी, सुलेखा झा, मिना यादव, सविता यादव, सर्मिला चौलागाई, सुनिता यादव सहित रहनुभएको छ । त्यसैगरी ममता कुमारी मेहता, बन्दना कुमारी झा, चन्दादेवी यादव, सरिता सुतिहार, मिना झा, अनिला खहरखेर सहित रहनुभएको छ ।

इनरुवामा जसपाबाट साहको उम्मेदबारी घोषणा

सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको प्रमुखका लागि जनता समाजवादी पार्टीका तर्फबाट दिलिप साहलाई उम्मेबार बनाउने पार्टीले निर्णय गरेको छ । पार्टीको नगर तथा जिल्ला नेतृत्वको बैठकले केन्द्रिय निर्देशन अनुसार इनरुवा नगरपालिकाको प्रमुखका लागि दिलिप साहलाई उम्मेबार बनाउने निर्णय गरेको हो । पार्टीको आधिकारीक निणर्य सार्वजनिक गर्दै पार्टीका इनरुवा अध्यक्ष गुलाव शर्माले नगरमा आगामी वैशाख ३० गतेको निर्वाचनमा मेयर पदको उम्मेदबार साह हुने जानकारी दिनुभयो ।
शर्माले सात सामुदायिक विद्यालयलाई कक्षा १२ सम्मको पढाई हुने व्यवस्था मिलाउने, अस्पताललाई थप वेवस्थित गर्ने, नगरबाटै थप पाँच जना डााक्टरको व्यवस्था गर्ने, ५० किलोमिटर बाटो कालोपत्रे गर्ने, स्वरोजगार सृजना गर्ने कार्यक्रम सहितका ३५ वुदे महत्वकाक्षी घोषणा पत्र पनि तयार गरेको जानकारी दिनुभयो ।
सोमबार आयोजना गरेको उम्मेदबार घोषणा सहितको पत्रकार सम्मेलनमा मेयरका उम्मेदबार साहले इनरुवा नगरपालिकामा वर्तमान निर्वाचित जनप्रतिनिधिहरुको रवैया देखेर आफू जनता समाजवादी पार्टी ( जसपा) नेपालबाट आउने बैशाख ११ गते नगर प्रमुखको रूपमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो । साहले आफ्नो जसपाको चुनाव चिन्ह ढल्केको छाता छापमा मतदान गर्न आग्रह गर्दै घरदैलो थालेको बताउनुभयो ।
साहले जनतालाई जनार्दन मानी इनरुवा अस्पतालमा नगरपालिकाले तलब खुवाउने गरि कम्तीमा ५ जना विशेषज्ञ डाक्टर नियुक्ति गर्ने, स्वास्थ्य बिमाबाट पाउने औसधीको व्यवस्था गर्ने र अस्पताललाई ५ बर्ष भित्र निजि अस्पताल भन्दा राम्रो बनाउने, नगरभित्रको सबै हेल्थ पोस्टहरुमा सरकारले उपलब्ध गराउने ३६ किसिमको औषधी सहित सबै सेवा सुबिधा दिने, इनरुवानगर भित्रको ३५ वटै सरकारी स्कुलहरुमा अंग्रेजी माध्यम, अयmउगतभच शिक्षा सहित बोर्डिङ भन्दा राम्रो गुणस्तरीय शिक्षाको व्यवस्था मिलाउने दावी गर्नुभयो ।
साहले नगर भित्रको सबै माध्यमिक स्कुलहरुमा +२ संचालन गर्ने, सुनसरी बहुमुखी क्याम्पसलाई जिल्ला कै नमुना क्याम्पसमा स्तरोन्नति गर्ने, इनरुवालाई सदरमुकाम बनाउनका निम्ति योगदान दिनु भएको दिल बहादुर श्रेष्ठ, बाबा श्याम लाल मिश्रा, बाबा मैनकी दास पण्डितको उपयुक्त ठाउँमा शालिक निर्माण गर्ने, इनरुवामा आधुनिक पुस्तकालय निर्माण गर्नै, बबिया बजार, बजारको गौल चौक, महेन्द्र चौक,संखुवागाछी, बलाहा बजार, पोखरी चौक, बर्छवा चौकमा सार्वजनिक शौंचालय निर्माण गर्ने घोषणा पत्र ल्याउनुभएको छ । यात्रुलाई ध्यानमा राखेर धरान र विराटनगर सम्मको लागि इनरुवा नगर बस संचालन गर्ने, साबिकको जि.बि.स. मा यातायात कार्यालयको सेवा केन्द्र स्थापनाको लागि हर सम्भव प्रयास गर्ने, इनरुवा बसपार्क र जेल फिल्ड संचालनमा ल्याउने,इनरुवा –४ गणेशपुरमा रहेको राम जानकी मन्दिरलाई पर्यटकिय क्षेत्रको रूपमा बिकास गर्ने, इनरुवा भित्र पर्ने शंकरपुर शाखा नहरको बाटो, इनरुवा दुहबी सडकलाई ४ लेन बनाउन पहल गर्ने, नयाँ बसपार्क देखी दक्षिण एलानी जमिनमा गल पार्क छेउ हुँदै बबिया बजारको संजय श्रेष्ठ सम्मको घरसम्म कृषि सडक बनाउने सहित बबिया बजारदेखि जल्पापुर सिमाना सम्मको, महेन्द्र चौक देखि गणेशपुर भलुवाइ सम्मको, संखुवागाछी देखि कंसमरान सम्मको, झकक्नझोरा देखि अबादी मधेसासम्मको बाटो सहित पाँच बर्षमा कम्तीमा ५० किलोमीटर बाटो कालोपत्रे गर्ने, सुनसरी खोला छेउमा रहेको उद्योग बाणिज्य संघको जमीनमा आधुनिक कृषि बजारको संरचना तयार गर्ने, विभिन्न आन्दोलनको सहिद, घाइते, अपांग, पीडित तथा अति बिपन्न परिवारलाई रोजगारको व्यवस्था गर्ने र जनताबाट लिने करहरु छुट गर्ने जनाएको छ । संघीय र प्रदेश सरकारको सहयोगमा इनरुवा रिङ रोड निर्माण गर्ने, इनरुवामा सबै जातजातिहरुको पहिचान झल्किने हिसाबले जातिय संग्रालय बनाउने , सुकुम्बासीहरुको तथ्यांक संकलन गरि उपयुक्त ठाउँमा सुकुम्बासी बस्ती निर्माण गर्नै, नगर भित्रको गरिब अति बिपन्न किसानहरुलाई कुटि काटने मेसिन, स्पेयर मेसिन, सिंचाइको लागि बोर्डिङ, नहर कुलो बनाउने, इनरुवा–२ को लक्ष्मीनारायण मन्दिरको रंगरोगन तथा टायलमार्बलको कार्य पूरा गर्ने, बजारको शिव मन्दिर, बजारकै सत्यनारायण मन्दीरको निर्माणाधिन सभाहल, बिहीबारे हाटको दुर्गा मन्दीर सहित अन्य मठ मन्दिर अधुरो निर्माण कार्यलाई पूरा गर्ने, नगर भित्र ५ ठाउँमा आधुनिक पार्क बनाउने जनाएको छ । त्यसैगरी घोषणा पत्रमा साहले नगरभित्र दर्ता नभइ संचालनमा रहेका मदिरा पसलहरूलाई बन्द गर्ने । दर्ता भएकालाई व्यवस्थित गर्ने र राती ९ बजे पछी खुलाउन नदिने, ईनरूवा बजार र आसपास लाग्ने दैनिक एवं साप्ताहि हाटियाहरूको ट्राफिक व्यवस्थालाई व्यवस्थित गराउने, विभिन्न चाँडबाँडको बेला अनवाश्यक रूपमा दिनभर र रातरातभर म्युजिक बजाई ध्वनि प्रदुषण गर्ने र अरूको दिनचर्यालाई डिस्टर्ब गर्नेलाई परिपाटीलाई कानुनी रूपमै रोक्ने, नगर भित्र आवश्यक ठाँउहरुमा सामुदायिक भवन निर्माण गर्ने लगायतका कुरा उल्लेख गरेका छन् । त्यसैगरी नेपाली काग्रेंसमा जिल्ला सभापती केदार भण्डारी, वर्तमान मेयर राजन मेहता र नेता संजय श्रेष्ठ मेयरको आकांक्षीका रुपमा रहेको पार्टीका नेताहरुले बताएका छन ।
उता नेकपा एमालेका तर्फबाट खेमराज पोखरेल, पोष्टकुमार नेपाल, इन्द्र पोखरेल, सरोज पोखरेल, पर्शुराम यादव केही दिन अघि एमाले प्रवेश गरेका नवप्रवेश मनोज कुमार मेहता मेयरको आकांक्षीका रुपमा रहेका छन ।
यसअघि २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा इनरुवा नगर प्रमुख तर्फ नेपाली काँग्रेसका राजन मेहताले १०९८७ मत ल्याएर बिजयी बन्नुभएको थियो । उहाँका प्रत्यासी एमालेका पोष्टकुमार नेपालले ९८१३ मत ल्याउँदा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का उम्मेदबार मनोज कुमार मेहताले तेस्रो स्थानमा रहँदै २६१५ मत प्राप्त गर्नुभएको थियो ।

नयाँ मतदातालाई हँसिया हथौँडा र कलममा होइन रुखमै भोट हाल्न लगाउने हो : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सोमबार बसेको केन्द्रीय कमिटीको बैठकमा नयाँ मतदातालाई हसियाँ हथौँडा र कलममा नभई रुखमै भोट हाल्न लगाउनुपर्ने बताएका छन् ।

पहिलो पटक नै रुखभन्दा अन्त्रय भोट हाल्न लगाएमा पछिल्लो चुनावमा ती नयाँ मतदाताले रुखमा भोट नहाल्ने महामन्त्री थापाले बताए ।

उनले भने, ‘देशभर लाखौ नयाँ मतदाता छन् उनीहरुलाई पहिलो पटक नै रुखमा भोट हाल्न लगाउने हो । तर, अहिले नै रूख बाहेकमा भोट हाल्न लगाउने हो भने उनीहरुले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ? अहिले हँसिया हथौँडा र कलममा भोट हालेका मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्लान् त ?’

महामन्त्री थापाले कसैगरी नयाँ मतदातालाई पहिलोपटक रुखमै भोट हाल्न लगाउनुपर्ने बताए । यसअघि केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि गठबन्धन गरेर चुनावमा जानुको औचित्य खोजेका थिए ।

तर, सभापति शेरबहादुर देउवाले २०७४ सालको निर्वाचनमा गठबन्धन नगरी जाँदा आफू बल्लतल्ल चुनाव जितेको उल्लेख गर्दै जसरी हुन्छ गठबन्धन गर्नुपर्ने बताएका थिए । सभापति देउवाले आगामी चुनावमा गठबन्धन गरेर गएको खण्डमा पार्टीले सबै ठाउँमा चुनाव जित्ने ठोकुवा पनि गरेका थिए ।

प्रधानमन्त्री देउवाको भारत भ्रमण : १९ चैतमा मोदीसँग भेट्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा भारत भ्रमणमा जाने भएका छन् । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले सोमबार दिउँसो एकै समयमा विज्ञप्ति जारी गर्दै भ्रमणको औपचारिक जानकारी दिएको हो ।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच १९ चैतमा भेटवार्ता हुनेछ । भ्रमणका क्रममा देउवाले भारतका उपराष्ट्रपति वैन्कैया नायडु, विदेश मामिलामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्नेछन् । भारतीय व्यवसायीहरुलाई पनि सम्बोधन गर्ने प्रधानमन्त्री देउवाले २० चैतमा नेपाल फर्किनुअघि वाराणासीको पनि भ्रमण गर्नेछन् ।

भ्रमणमा प्रधानमन्त्रीसँगै उनकी पत्नी आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, अरु मन्त्री र सचिवहरु पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राजेन्द्र लिङ्गदेनले बनाए राप्रपाको ‘हाइ कमाण्ड’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्य सम्पादन समिति (हाइ कमाण्ड) गठन गरेको छ । सोमबार अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम २० सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गरेका हुन् ।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार कार्यसम्पादन समितिमा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष बिक्रम पाण्डे, महामन्त्री राजेन्द्र गुरुङ्ग, उपाध्यक्ष ध्रुबबहादुर प्रधान, उपाध्यक्ष रोशन कार्की , उपाध्यक्ष हेमजङ्ग गुरुङ्ग, उपाध्यक्ष मुकुन्द श्याम गिरी छन् ।

यस्तै महामन्त्री डा.धवल शमशेर राणा, महामन्त्री भुवन पाठक, महामन्त्री प्रल्हाद प्रसाद साह, महामन्त्री कुन्ती कुमारी शाही, केन्द्रीय सदस्य दीपक बोहोरा, केन्द्रीय सदस्य नवराज सुवेदी, केन्द्रीय सदस्य हरि बहादुर बस्नेत , केन्द्रीय सदस्य बालाराम घर्तीमगर , केन्द्रीय सदस्य जयन्त चन्द, केन्द्रीय सदस्य टंक ढकाल , केन्द्रीय सदस्य ठाकुर प्रसाद शर्मा, केन्द्रीय सदस्य ऋषि बाबु परियार छन् ।

न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलन राष्ट्रपतिद्वारा उद्घाटन

पाेखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ । पोखराको सभागृहमा आयोजित सम्मेलनको उहाँले डिजिटल प्रविधिबाट उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य लगायतको उपस्थिति छ ।

पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित सम्मेलनमा देशका ७५३ वटै पालिकाका न्यायिक समितिका प्रमुख एवम् सदस्यको उपस्थिति छ । महानगर, उपमहानगर, नगर, गाउँपालिकाका उपप्रमुखको नेतृत्वमा न्यायिक समिति रहने संवैधानिक व्यवस्था छ । संविधानको भाग १७ स्थानीय कार्यपालिकाअन्तर्गत धारा २१७ मा न्यायिक समितिको व्यवस्था गरिएको छ ।

 

कानुनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न नगरपालिका वा गाउँपालिकाका उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय समिति रहने व्यवस्था गरिएको छ । बाँकी दुई सदस्य नगर वा गाउँ सभाबाट निर्वाचितमध्येबाट रहने व्यवस्था छ । आम सर्वसाधारणलाई न्यायको पहुँच सहज र सरल बनाउने उद्देश्यका साथ न्यायिक समिति बनाइएको हो ।

सम्मेलनमा सातवटै प्रदेशबाट प्रतिनिधिमूलक रुपमा न्यायिक समितिमार्फत न्याय सम्पादन गर्दा आइपरेका कठिनाइ, चुनौती एवं उपलब्धिलगायतका प्रस्तुति भई छलफल गरिने जनाइएको छ । सम्मेलनले पोखरा घोषणापत्र जारी गर्ने पोखरा महानगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका प्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो ।

मतपत्र छपाइको सुरक्षा जिम्मा सेनालाई

काठमाडौं । स्थानीय तह निर्वाचनमा मतपत्र छपाइको सुरक्षा जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको छ । गृह मन्त्रालयका एक जना उच्च अधिकृतका अनुसार केन्द्रीय सुरक्षा समितिले पारित गरेको स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार मतपत्र छपाइसम्बन्धी सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको हो ।

शुक्रवार गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले ४ वटा सुरक्षा अङ्गले प्रस्ताव गरेको योजनालाई परिमार्जन सहित स्वीकृत गर्ने निर्णय गरेको थियो । २०७९ वैशाख ३० मा हुने निर्वाचनको सुरक्षाका लागी सरकारले महत्त्वपूर्ण प्रतिष्ठान, संरचनाहरू (कारागार र विमानस्थल) समेतको सुरक्षामा खटिएका प्रहरी र सशस्त्र प्रहरी बललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

स्रोतका अनुसार एकीकृत सुरक्षा योजना अनुसार निर्वाचन अवधिभर त्रिभुवन विमानस्थल सहितका देशभरका विमानस्थल, कारागार, महत्त्वपूर्ण प्रतिष्ठान र संरचनाहरूको सुरक्षामा नेपाली सेनालाई परिचालन गर्ने निर्णय गरिएको छ ।

विकट क्षेत्रमा मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री ढुवानी गर्ने जिम्मा पनि सेनालाई दिने निर्णय गरिएको छ । निर्वाचनको ३० दिन अघिदेखि सेनाले निर्वाचन क्षेत्रमा पट्रोलिङ गर्नेछ । निर्वाचनमा सेनाको बम डिस्पोजल टोली परिचालन गरिने र मतदानको दिन मतदान केन्द्रबाट बढीमा ३० मिनेटको दुरीमा सेनाका फौज तैनाथ राख्ने गरी एकीकृत सुरक्षा योजना तयार गरिएको छ ।

सुकुमबासीका छाप्रामा निकुञ्जले लगाइदियो आगो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका वडा नं। ९ कुसुमखोलाका सुकुमबासीका १० छाप्रामा आगो लगाइदिएको छ ।

निकुञ्जको क्षेत्र अतिक्रमण गरेर बसेको भन्दै १० परिवार बस्दै आएका छाप्रामा आइतवार दिउँसो निकुञ्जले आगो लगाएको हो । आगलागीबाट सबैजसो छाप्रा जलेर नष्ट भएका छन् ।

 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोविन्द तिवारीका अनुसार कुमुसखोलाका सुकुमबासीहरूलाई अन्यत्रै स्थानान्तरण गरिसकेपछि पनि केही व्यक्तिहरू आएर पुनः छाप्रा हाल्न थालेपछि हटाउने प्रयास गरिएको तर नटेरेपछि आगो लगाइएको बताए ।

त्यहाँ आगो लगाएको फोटो नखिच्न निकुञ्जका अधिकारीहरुले चेतावनी दिएका थिए । हात्तीसहित गएका निकुञ्जका कर्मचारीहरुले कसैले फोटो र भिडियो खिचे कारर्वाही गर्ने बताएका थिए ।

 

गत वर्ष साउन ६ गते यही ठाउँका १० सुकुम्वासीका छाप्रामा निकुञ्जले आगो लगाएर नष्ट गर्दा त्यसले देशभर चर्चा पाएको थियो । कुसुमखोलामा कुनै समय दुई सय घर थिए । यीमध्ये अधिकांश चेपाङहरु छन् ।

नगरपालिकाको योजनाअनुरूप यहाँबाट उनीहरुको बस्ती अन्यत्र सार्ने काम भैरहेको थियो । यहाँका सुकुम्वासीहरुलाई नगरपालिकाले वडा नम्बर ९ कै राईडाँडामा र वडा नं।७ को परुईमा सार्ने प्रयास गरिरहेको छ ।

राईगाउँ र परुईमा सोचे अनुसारको नभएपछि केही सुकुम्वासीहरु कुसुमखोलामा नै फर्किन थालेका थिए । कसुम खोलाका चेपाङ समुदायका लागि बनाइएको एकीकृत वस्तीको हालै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उदघाटन गरेका थिए ।

यसअघि २०५८ सालमा पनि बाँदरझुला र कुसुमखोला बस्तीमा निकुञ्जका कर्मचारीले यसैगरी हात्ती लगाएर घर भत्काउने र आगो लगाउने काम गरेका थिए । सोही बाँदरझुलामा अहिले करिब ५ सय सुकुम्वासीको बस्ती छ ।

माडीको भोट बैंकका रुपमा यसलाई लिइन्छ । यहाँको वस्तीलाई लिएर निकै दाउपेच पनि चल्छ । बाँदरझुलामा नगरपालिकाले नै विभिन्न संरचना बनाउन थालिसकेको छ ।

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्न लागेको हो ।

शुक्रबारदेखि सुरु भएको बैठकको मुल एजेन्डा स्थानीय तह निर्वाचन रहेको छ । कांग्रेसले ‘घर घर जाऔँ, नेपाली काँग्रेस जिताऔँ’ अभियान चलाएको थियो । सो अभियानबाट फर्किएका केन्द्रीय प्रतिनिधिको ब्रिफिङ केन्द्रीय बैठकमा जारी रहेको छ । आगामी निर्वाचनमा कांग्रेस गठबन्धन गर्ने या नगर्ने भन्नेमा समेत छलफल चलाइरहेको छ ।

बैठकको पहिलो दिन शुक्रबार २० जना केन्द्रीय प्रतिनिधिले अभियानमा आफू खटेको जिल्लाको वस्तुस्थितिबारे बैठकमा बिफ्रिङ गरेका थिए । शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अन्य ६ वटा प्रदेशका कांग्रेस सभापतिहरुले आफ्नो धारणा राखेका थिए ।

तात्याे चुनावी माहाैल : मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नाम सार्वजनिक

काठमाडाैँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा खटिने प्रयोजनका लागि छनोट भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको छ ।

उक्त निर्वाचनका लागि जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई यही चैत २९ देखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिने सूचनामा उल्लेख छ ।

आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा छनोट भएकालाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गर्ने छ । निर्वाचन अधिकृत भन्नाले निर्वाचनको कामका लागि आयोगले नियुक्ति गरेको मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत समेतलाई जनाउँछ ।

स्थानीय तह निर्वाचनका लागि न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने व्यवस्था छ ।

स्थानीय तह निर्वाचनका हकमा न्यायाधीश र न्याय सेवाका राजपत्राङ्कित अधिकृतलाई मात्र नियुक्ति गर्न नसकिएमा निजामती सेवाभित्रका अन्य सेवाका अधिकृतलाई समेत निर्वाचन अधिकृतमा खटाउन सकिने छ । निर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी निर्वाचन अधिकृतको हुनेछ ।

निर्वाचन कार्यक्रमअनुरुप उम्मेदवारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी हो ।

नेतृत्व तहमा महिला र दलित महिलाको प्रतिनिधित्व सुनिश्चितताको माग

सुनसरीका महिला जनप्रतिनिधिले आसन्न स्थानीय तहको निर्वाचनमा निर्णायक पद तथा नेतृत्वमा महिला र दलित महिलाको प्रतिनिधित्व सुनिश्चितताको माग गरेका छन् । जिल्लाको इटहरीमा जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाका निर्वाचित महिला तथा दलित महिला जनप्रतिनिधिले सनिबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा समाजवादीका जिल्ला कमिटीलाई ज्ञापन–पत्र बुझाउँदै उक्त माग गरेका हुन् ।  
दलित महिला केन्द्र नेपालको आयोजनामा आयोजित स्थानीय तहका निर्वाचित महिला जनप्रतिनिधिहरुको सहभागिता सुनिश्चित गर्न राजनीतिक दलका नेताहरुसंगको अन्तरकृया कार्यक्रममा प्रमुख पाँच राजनीतिक दलका नेताहरुलाई ज्ञापन पत्र बुझाएको इनरुवा १ की वडा सदस्य महेश्वरी गुरागाईले जनाकारी दिनुभयो ।
गुरागाईका अनुसार आफूहरूले आगामी ३० वैशाखमा हुने निर्वाचनमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिकाको प्रमुख र वडाध्यक्षमा महिला तथा दलित महिलाले स्थान पाउनुपर्ने माग राखेको हो । हालसम्म स्थानीय तहको प्रमुख पदमा पुरुषलाई मात्र अवसर दिने र महिलालाई उपप्रमुख वा सदस्यमा मात्र उठाउने परिपाटीको अन्त्य गर्दै महिला र दलित महिलालाई निर्णायक पद तथा नेतृत्व तहमा प्रतिनिधित्व गर्ने सुनिश्चितताको माग राखेको दुहवी नगरपालिकाकी वडा सदस्य ललिता चौधरीले बताउनुभयो ।
शी–लीड्स– स्थानीय तहका निर्वाचित महिला जनप्रतिनिधिहरुको सहभागिता सुनिश्चित गर्न राजनीतिक दलका नेताहरुसंगको अन्तरकृया समापन कार्यक्रमको अवसरमा ज्ञापन–पत्र बुझाउँदै धरान उपमहानगरपालिका–१५ का वडा सदस्य निरमाया विश्वकर्माले वडा सदस्यमा निर्वाचित दलित र खुला महिला सदस्यलाई पाँच वर्षे अनुभवबाट प्राप्त सिकाई कार्यान्वयनका लागि वडाध्यक्ष, पालिका प्रमुख तथा उप–प्रमुखमा उम्मेदवारी वा सोही पदमा पुनःउम्मेदवार बन्ने वातावरण मिलाउन माग गर्नुभयो ।
महिला तथा दलित महिला जनप्रतिधिले महिलाको राजनीतिक सहभागीता बढाउन तथा नेतृत्व तहमा स्थापित गर्नका लागि दलकातर्फबाट पहल गर्न, निर्वाचित भएका महिलाको राजनैतिक क्षमता विकासका लागि सम्बन्धित पार्टीबाट क्षमता विकास र मुलप्रवाहीकरणका कार्यक्रम ल्याउन, लैंगिक आधारमा जनप्रतिनिधिमाथि हुने हिंसा÷विभेद रोक्नका लागि नीतिगत पहल तथा अभियानमूलक कार्यक्रम सञ्चालन गर्न ज्ञापन पत्रमा माग गरिएको छ । त्यसैगरी निर्वाचनमा सहभागी हुँदा महिला उम्मेदवारमाथि कुनै पनि किसिमको जातीय विभेद नहुने सुनिश्चितता गर्न ध्यानाकर्षण समेत गराएको रामधुनी १ की सदस्य पार्वती देवी सरदारले बताउनुभयो ।
यस्तै, ज्ञापन पत्रमा निर्वाचित महिलाको आर्थिक विकासका लागि स्थानीय तहबाट विशेष कार्यक्रम ल्याउन, निर्वाचित महिला जनप्रतिनिधिको क्षमता विकासका लागि राज्यका तीनवटै तहको समन्वय र सहकार्यमा विशेष कार्यक्रम घोषणा गरी कार्यान्वयन गर्न, महिलामैत्री नीति नियमको निर्माण तथा परिमार्जन गरी अविलम्ब कार्यान्वयन गर्न, स्थानीय सरकारबाट पर्याप्त मात्रामा बजेट विनियोजन गरी महिला लक्षित कार्यक्रम लागू गर्न, संविधानले सुनिश्चित गरेका महिलाको हक अधिकार अविलम्ब कार्यान्वयन गर्न माग गरेका छन् ।
‘स्थानीय तहमा महिलाको प्रतिनिधित्व उल्लेख्य मात्रामा भए पनि मूख्य पदमा भने अत्यन्तै न्यून छ । दलित महिलाको प्रतिनिधित्व पनि वडा सदस्यमा सीमित बन्न पुगेको छ,’ रामधुनी ९ की वडा सदस्य रीना कुमारी शर्माले भन्नुभयो, ‘त्यसैले स्थानीय सरकारमा महिलालाई केबल उपाध्यक्ष वा उप–प्रमुखको भूमिकामा मात्रै सीमित नगरेर वडाध्यक्ष र स्थानीय तहको प्रमुख पदमा प्रतिनिधित्व गराउन जरुरी छ ।’
निर्वाचन मिति नजिकिँदै गर्दा धरान उपमहानगरपालिकाका महिला तथा दलित महिला जनप्रतिनिधिले पनि पार्टीलाई ज्ञापन–पत्र बुझाउँदै निर्णायक पदमा महिलालाई अघि सार्न माग गरेको छन् ।
निर्वाचित महिला तथा दलित महिला जनप्रतिनिधिले सनिबार नेपाली कांग्रेसका प्रतिनिधि, नेकपा एमालेका उप सचिब राम कोईराला, नेकपा माओवादी केन्द्रका संयोजक योगेन्द्र मण्डल(पप्प), जनता समाजवादी पार्टीका कार्यवाह अध्यक्ष रविन्द्र राई र नेकपा समाजवादीका जिल्ला कमिटी सदस्यलाई ज्ञापन–पत्र बुझाएका थिए । सबै दलका नेताहरुले यथासम्भव भएसम्म सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा महिला सदस्य परिवारका तर्फबाट संवेद तिमिल्सिना, आयोजक दलित महिला केन्द्रका अध्यक्ष पावर्ती विशुखें, महासचिव गौरा नेपाली, रामशुन्दर मेहता, पूर्व मन्त्री मिन बहादुर विश्वकर्मा, नेकपा माओवादी केन्द्रका सपना परियार, पत्रकार जयकृष्ण यादव, रणध्वज लोहार, अधिकारकर्मी विनोद विश्वकर्मा, कमला खठिवडा सहितका सरोकारबालाहरुले बोल्नुभएको थियो ।

 

दलित महिलाहरूका लागि सचेतना कार्यक्रम

सुनसरीको सदरमुकाम इनरुवामा दलित महिलाहरूका लागि राजनैतिक सचेतना कार्यक्रम सनिबार सम्पन्न भएको छ । आवर मिसन इनरुवा सुनसरीको आयोजनामा दलित महिलाहरूका लागि सचेतना कार्यक्रम सनिबार सम्पन्न भएको हो । प्रदेश नम्बर १ को संसद विकास कोष सहयोगमा र प्रदेश उपसभामुख पसरस्वती पोखरेलको प्रमुख अतिथित्य र उमिता बराईलीको विशिष्ट अतिथ्यतामा दलित महिलाहरूको लागि राजनैतिक सचेतना कार्यक्रम सम्पन्न भएको सहभागी विमला पोखरेलले जानकारी दिनुभयो । आयोजक संस्थाका अध्यक्ष तोया गिरी पोदारको अध्यक्षतामा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको पोखरेलले जानकारी दिनुभयो । उक्त कार्यक्रममा महिला मानव अधिकार रक्षक संजाल सुनसरीका अध्यक्ष सरस्वती के.सी.,प्रगतिशील लेखक संघ सुनसरीका उपाध्यक्ष विमला पोख्रेल सहितको उपस्थिति रहेको थियो । यसैबीचमा कार्यक्रममा विमला पोख्रेलद्वारा रचित दोस्रो पुस्तक व्यथा र विमलता हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा दलित महिलाको सवाल, स्थानीय तह, प्रदेश र संघ सहितको २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकालको अवस्थाको बारेमा चर्चा गरिएको थियो । पहिलो कार्य परीक्षणकालमा दलित महिला जनप्रतिनिधिहरूले सँगालेका अनुभवबाट यो अगामी चुनावमा नेतृत्व दिनुपर्नेमा जोड दिएका छन् । सबै पार्टीबाट मेयर, उपमेयर, अध्यक्ष , उपाध्यक्ष र वडा अध्यक्षसम्ममा दलित महिला अन्य महिलालाई उम्मेबार बनाउनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् । विगतको दलित महिला समुदायका अनुभवले भावी जनप्रतिनिधिको भूमिका अझै प्रभावकारी बनाउन र विगतका समस्या दोहोरिन नदिन सहयोगी हुने भएकाले दलित महिलालाई नेतृत्व दिनुपर्नेमा जोड दिएका छन् । राज्यले नै विगतमा विभेदकारी नीति–नियम बनाएर दलित समुदायप्रति पीडा दिएका कारण आगामी दिनमा दलित महिलाप्रति विशेष नीति र विधि बनाएर अघि बढ्नुुपर्ने र भएका नितीलाई टेकेर अवसर दिनुपर्नेमा महिलाको जोड थियो ।
कार्यक्रममा सांसद अनिता बराईलीले पहिलो, जातीय छुवाछूतका कारण कतिपय दलित महिलाहरूले कार्यक्षेत्रमै विभेद भोगेको र उनीहरूको मनोविज्ञानमा गहिरो चोट पुग्नुका साथै नेतृत्व विकासमा पनि धक्का पुगेको अर्को अवसर नै नपाएर विभेदमा परेको बताउनुभयो । त्यसैले उनीहरूको नेतृत्व, व्यक्तित्व र क्षमता विकासमा विशेष ध्यान दिनुपर्ने बेला आएको बताउनुभयो । पार्टीबाट टिकट लिएर चुनावमा जाने हुनाले यस विषयमा दल र दल सम्बद्ध जनसंगठनहरूले पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सवाल जसको हुन्छ, पहिलो आवाज उसकै हुनुपर्छ बराईलीले भन्नुभयो । यो हिसाबले विभेदकारी जन्जीर तोड्न पहिलो अग्रसरता दलित समुदायका महिला जनप्रतिनिधिकै हुनुपर्नेमा जोड दिनुभयो ।
तालीम तथा क्षमता विकासका कार्यक्रममा दलित महिला जनप्रतिनिधिलाई सहभागी नगराउने अनि कुनै जिम्मेवारी दिनुपरे सक्दैनन् भनेर पन्छाउने परिपाटी अन्त्य हुनुपर्नेमा पनि जोड दिनुभयो । यस्तै, दलित महिलाको शिक्षा र सशक्तीकरणमा विशेष जोड दिनुपर्छ। दलित महिलालाई हेर्ने परम्परागत दृष्टिकोणका कारण उनीहरू जतिसुकै सक्षम भए पनि नेतृत्वमा नस्विकार्ने र सफल हुन नदिने प्रवृत्ति पनि हट्नुपर्छ भन्ने सहभागीको तर्क थियो ।
सहभागीहरुले कार्यक्षेत्र र त्यहाँको वातावरण महिला र दलित समुदायमैत्री बनाउनुपर्छ। जसले स्वाभिमानपूर्वक काम गर्ने अवस्था बनोस ्।

 

वरिष्ठ नेता पौडेलले बोलाए छुट्टै भेला, केन्द्रीय कार्यसमिति बैठकमा साझा धारणा बनाइने

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहको छुट्टै भेला बोलाएका छन् । काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि वरिष्ठ नेता पौडेलले आफू निकट नेताहरुलाई बोलाएर भेला गरेका हुन् ।

यतिबेला पौडेल निकट नेताहरु पौडेल निवास बोहराटार भेलामा छन् । बैठकमा दिउँसो बस्ने काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा साझा धारणा बनाउनेबारे कुराकानी हुने जनाइएको छ ।

भेलामा पूर्वमहामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यसमेत रहेका कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य दीपक गिरी, पूर्वकेन्द्रीय सदस्य दिलबहादुर घर्ती लगायत वर्तमान तथा निवर्तमान जिल्ला सभापतिहरुसमेतको उपस्थिति रहेको छ ।

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो २ बजे सानेपामा बस्दै छ । बैठकमा आगामी निर्वाचन र गठबन्धनका बारेमा छलफल हुने जनाइएको छ ।

आज चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदै, के-के छन् भ्रमणका एजेन्डा ?

काठमाडौं । चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज (शुक्रबार) काठमाडौं आउँदै छन् । उनी भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् ।

नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उनी पहिलो उच्चस्तरीय पाहुना हुन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने छन् ।

भेटवार्ताको क्रममा चीनले अघि सारेको पूर्वाधार विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गत सहयोगका परियोजना कार्यान्वयनका विषयमा केन्द्रित रहेर विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग नेपालले छलफल गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेपछि चीनबाट नेपालको भ्रमण गर्ने उनी विशिष्ट व्यक्ति हुन् । त्यसैले नेपालको राष्ट्रिय हित र विकासका आवश्यकता र प्राथमिकतालाई विश्वको उदीयमान प्रमुख शक्ति राष्ट्र चीनसँग साझेदारी र सहयोग अभिवृद्धिलाई नै सरकारले छलफलको कार्यसूची बनाएको छ ।

नेपाल र चीनका विदेशमन्त्रीबीच शनिबार हुने वार्तामा नेपाली पक्षले एक दशकभन्दा लामो समयदेखि रोकिएको सीमानाको संयुक्त निरीक्षण, रसुवागढी र तातोपानी नाका पूर्णरूपमा सन्चालन, २०७६ सालमा चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणको बेला भएका सम्झौता कार्यान्वयनलगायत विषयलाई नेपालले उठाउने तयारी गरेको छ । चिनियाँ विदेशमन्त्रीको भ्रमणका बेला नेपालबाट घाँस निर्यात गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर गर्ने तयारी समेत छ ।

चीनको राज्य परिषद्का सदस्य समेत रहेका विदेशमन्त्री वाङ यीको औपचारिक भ्रमणले दुई देशबीचको शताब्दीऔं पुरानो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ । वाङ यीको शुक्रबारदेखि हुने नेपाल भ्रमणका क्रममा १० वटा सहमतिरसम्झौता हस्ताक्षर गर्ने तयारी भइरहेको भ्रमण तयारीमा संलग्न परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताए । तीमध्ये दुई देशबीच आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता अन्तर्गत चीनले नेपाललाई वार्षिक अनुदान सहयोग बढाउन लागेको हो ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार चीनले नेपाललाई वार्षिक अनुदान सहायता करिब १५ अर्ब रुपैयाँ पुर्‍याउने भएको छ । चीनले अहिले नेपाललाई वार्षिक करिब १३ अर्ब रुपैयाँ दिँदै आएको छ । यससम्बन्धी सम्झौता पत्रमा अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र एक चिनियाँ उपमन्त्री तहका अधिकारीबीच हस्ताक्षर हुने भएको छ । उक्त अनुदान सहयोग नेपालको पूर्वाधार विकासका परियोजनामा खर्च हुनेछ ।

राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा घोषणा भएको ५६ अर्ब अनुदान सहयोग कार्यान्वयनको विषय पनि यो भ्रमणमा छलफल हुने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा मर्यादाक्रममा उपप्रधानमन्त्रीभन्दा माथिको ओहोदामा रहेका विदेशमन्त्री वाङ पेशेवर कूटनीतिज्ञ हुन् । उनी यसअघि २०७६ साल भदौ महिनामा पनि नेपाल भ्रमणमा आएका थिए ।

स्थानीय निर्वाचनका लागि चितवन कांग्रेसले सबै वडामा प्रतिनिधि खटायो

चितवन । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले स्थानीय निर्वाचन २०७९ लक्षित गरी सबै वडामा प्रतिनिधि खटाएको छ । कांग्रेसले जिल्लाका सात पालिकाका ९८ वडामा प्रतिनिधि खटाएको हो ।

जिल्ला सभापति राजेश्वर खनालका अनुसार खटिएका प्रतिनिधिलाई बिहीबार अभिमुखीकरण गरिएको छ । खनालको भनाइमा ती प्रतिनिधि यही चैत १२ गते बिहानदेखि आ–आफ्नो वडामा खटिने छन् ।

‘घर जाऔँ, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत वडा कमिटी र कार्यकर्तालाई परिचालन गरेर उनीहरुले घरदैलो कार्यक्रम गर्नेछन् । पाँच दिनसम्म वडामा रहेर प्रतिनिधिले काम गर्ने खनालले जानकारी दिनुभयो ।

पार्टीका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला कार्यसमितिका सदस्य, प्रदेश प्रतिनिधि र केही बौद्धिक क्षमता भएका पार्टीका बुद्धिजीवीलाई खटाइएको छ ।

उनीहरुले घरदैलोसँगै वडामा पार्टीको अवस्थाबारेमा पनि अध्ययन गर्ने छन् । अधिकांश वडामा टोल समितिसमेत गठन भइसकेको छ । शनिबार बिहान ११ः३० बजे एकैसाथ जिल्लाका ९८ वडामा अभियान सुरु गरिने छ ।

पार्टीले फागुन २९ गते जिल्लामा अभियान सुरु गरेको थियो । चैत १ गते सङ्घीय क्षेत्रमा र चैत ७ गते पालिकामा चुनावी अभियान सुरु गरिएको छ । जिल्लामा नेपाली कांग्रेसको क्रियाशील सदस्य सङ्ख्या २८ हजार रहेको छ ।

सात पालिकाका ९८ वडामध्ये गत निर्वाचनमा कांग्रेसले ३५ वडा जितेको थियो । इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एवं भरतपुर महानगरपालिकामा उपप्रमुखबाहेक अन्यत्र नेतृत्व कांग्रेसले गुमाएको थियो । खनालले भन्नुभयो, “जिल्लाको स्थानीय तहमा बर्चश्व कायम हुने गरी अभियान थालेका छौँ ।”