नेतृत्व तहमा महिला र दलित महिलाको प्रतिनिधित्व सुनिश्चितताको माग – Nagarikabhiyan : National News

नेतृत्व तहमा महिला र दलित महिलाको प्रतिनिधित्व सुनिश्चितताको माग

सुनसरीका महिला जनप्रतिनिधिले आसन्न स्थानीय तहको निर्वाचनमा निर्णायक पद तथा नेतृत्वमा महिला र दलित महिलाको प्रतिनिधित्व सुनिश्चितताको माग गरेका छन् । जिल्लाको इटहरीमा जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाका निर्वाचित महिला तथा दलित महिला जनप्रतिनिधिले सनिबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा समाजवादीका जिल्ला कमिटीलाई ज्ञापन–पत्र बुझाउँदै उक्त माग गरेका हुन् ।  
दलित महिला केन्द्र नेपालको आयोजनामा आयोजित स्थानीय तहका निर्वाचित महिला जनप्रतिनिधिहरुको सहभागिता सुनिश्चित गर्न राजनीतिक दलका नेताहरुसंगको अन्तरकृया कार्यक्रममा प्रमुख पाँच राजनीतिक दलका नेताहरुलाई ज्ञापन पत्र बुझाएको इनरुवा १ की वडा सदस्य महेश्वरी गुरागाईले जनाकारी दिनुभयो ।
गुरागाईका अनुसार आफूहरूले आगामी ३० वैशाखमा हुने निर्वाचनमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिकाको प्रमुख र वडाध्यक्षमा महिला तथा दलित महिलाले स्थान पाउनुपर्ने माग राखेको हो । हालसम्म स्थानीय तहको प्रमुख पदमा पुरुषलाई मात्र अवसर दिने र महिलालाई उपप्रमुख वा सदस्यमा मात्र उठाउने परिपाटीको अन्त्य गर्दै महिला र दलित महिलालाई निर्णायक पद तथा नेतृत्व तहमा प्रतिनिधित्व गर्ने सुनिश्चितताको माग राखेको दुहवी नगरपालिकाकी वडा सदस्य ललिता चौधरीले बताउनुभयो ।
शी–लीड्स– स्थानीय तहका निर्वाचित महिला जनप्रतिनिधिहरुको सहभागिता सुनिश्चित गर्न राजनीतिक दलका नेताहरुसंगको अन्तरकृया समापन कार्यक्रमको अवसरमा ज्ञापन–पत्र बुझाउँदै धरान उपमहानगरपालिका–१५ का वडा सदस्य निरमाया विश्वकर्माले वडा सदस्यमा निर्वाचित दलित र खुला महिला सदस्यलाई पाँच वर्षे अनुभवबाट प्राप्त सिकाई कार्यान्वयनका लागि वडाध्यक्ष, पालिका प्रमुख तथा उप–प्रमुखमा उम्मेदवारी वा सोही पदमा पुनःउम्मेदवार बन्ने वातावरण मिलाउन माग गर्नुभयो ।
महिला तथा दलित महिला जनप्रतिधिले महिलाको राजनीतिक सहभागीता बढाउन तथा नेतृत्व तहमा स्थापित गर्नका लागि दलकातर्फबाट पहल गर्न, निर्वाचित भएका महिलाको राजनैतिक क्षमता विकासका लागि सम्बन्धित पार्टीबाट क्षमता विकास र मुलप्रवाहीकरणका कार्यक्रम ल्याउन, लैंगिक आधारमा जनप्रतिनिधिमाथि हुने हिंसा÷विभेद रोक्नका लागि नीतिगत पहल तथा अभियानमूलक कार्यक्रम सञ्चालन गर्न ज्ञापन पत्रमा माग गरिएको छ । त्यसैगरी निर्वाचनमा सहभागी हुँदा महिला उम्मेदवारमाथि कुनै पनि किसिमको जातीय विभेद नहुने सुनिश्चितता गर्न ध्यानाकर्षण समेत गराएको रामधुनी १ की सदस्य पार्वती देवी सरदारले बताउनुभयो ।
यस्तै, ज्ञापन पत्रमा निर्वाचित महिलाको आर्थिक विकासका लागि स्थानीय तहबाट विशेष कार्यक्रम ल्याउन, निर्वाचित महिला जनप्रतिनिधिको क्षमता विकासका लागि राज्यका तीनवटै तहको समन्वय र सहकार्यमा विशेष कार्यक्रम घोषणा गरी कार्यान्वयन गर्न, महिलामैत्री नीति नियमको निर्माण तथा परिमार्जन गरी अविलम्ब कार्यान्वयन गर्न, स्थानीय सरकारबाट पर्याप्त मात्रामा बजेट विनियोजन गरी महिला लक्षित कार्यक्रम लागू गर्न, संविधानले सुनिश्चित गरेका महिलाको हक अधिकार अविलम्ब कार्यान्वयन गर्न माग गरेका छन् ।
‘स्थानीय तहमा महिलाको प्रतिनिधित्व उल्लेख्य मात्रामा भए पनि मूख्य पदमा भने अत्यन्तै न्यून छ । दलित महिलाको प्रतिनिधित्व पनि वडा सदस्यमा सीमित बन्न पुगेको छ,’ रामधुनी ९ की वडा सदस्य रीना कुमारी शर्माले भन्नुभयो, ‘त्यसैले स्थानीय सरकारमा महिलालाई केबल उपाध्यक्ष वा उप–प्रमुखको भूमिकामा मात्रै सीमित नगरेर वडाध्यक्ष र स्थानीय तहको प्रमुख पदमा प्रतिनिधित्व गराउन जरुरी छ ।’
निर्वाचन मिति नजिकिँदै गर्दा धरान उपमहानगरपालिकाका महिला तथा दलित महिला जनप्रतिनिधिले पनि पार्टीलाई ज्ञापन–पत्र बुझाउँदै निर्णायक पदमा महिलालाई अघि सार्न माग गरेको छन् ।
निर्वाचित महिला तथा दलित महिला जनप्रतिनिधिले सनिबार नेपाली कांग्रेसका प्रतिनिधि, नेकपा एमालेका उप सचिब राम कोईराला, नेकपा माओवादी केन्द्रका संयोजक योगेन्द्र मण्डल(पप्प), जनता समाजवादी पार्टीका कार्यवाह अध्यक्ष रविन्द्र राई र नेकपा समाजवादीका जिल्ला कमिटी सदस्यलाई ज्ञापन–पत्र बुझाएका थिए । सबै दलका नेताहरुले यथासम्भव भएसम्म सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा महिला सदस्य परिवारका तर्फबाट संवेद तिमिल्सिना, आयोजक दलित महिला केन्द्रका अध्यक्ष पावर्ती विशुखें, महासचिव गौरा नेपाली, रामशुन्दर मेहता, पूर्व मन्त्री मिन बहादुर विश्वकर्मा, नेकपा माओवादी केन्द्रका सपना परियार, पत्रकार जयकृष्ण यादव, रणध्वज लोहार, अधिकारकर्मी विनोद विश्वकर्मा, कमला खठिवडा सहितका सरोकारबालाहरुले बोल्नुभएको थियो ।