१४ फाल्गुन २०७७, शुक्रबार ०७:२३ – Page 7 – Nagarikabhiyan : National News

नेपाल र भारत : सीमा सुरक्षा समन्वय समिति बैठक सम्पन्न !

काठमाडौ : नेपाल र भारतको जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठकले अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रणसम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्थागायत विषयमा दुवै पक्षबीच सहमतिमा बिहिवार सम्पन्न भएको छ।

सीमामा हुने अपराध नियन्त्रणका लागि दुवै देशले समन्वय गर्ने, विपद्पूर्व तथा विपद्का बेला सूचना आदानप्रदान गर्ने, राजश्व चुहावट नियन्त्रण, सीमामा आवतजावत गर्दा हेल्थ डेस्कमा जाँच गर्नेलगायतका विषयमा सहमति भएको बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

नेपालका तर्फबाट बैतडीका प्रहरी नायब उपरीक्षक अधिकारी, सशस्त्र प्रहरीका बैतडी प्रमुख गणेश शाह, भन्सार कार्यालयका प्रतिनिधि र भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका भाइस कमाण्डर आर के राजेश्वरी, भारतीय प्रहरीका प्रतिनिधि तथा भन्सार कार्यालयका प्रतिनिधिको सहभागितामा समन्वय समितिको बैठक समापन भएको बताए ।

तीन–तीन महिनामा बस्ने बैठक कोरोना कहरले एक वर्षपछि बैठक बसेको हो । यसअघि अघिल्लो वर्षको फागुनमा बसेको थियो ।

आज २०७७ फागुन १४ गते शुक्रबारको राशिफल

मेष राशी– व्यापारलगायत आर्थिक लाभ हुने काममा मन्दी आउन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।

बृष राशी– चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।

मिथुन राशी– विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भोगविलासमा खर्च बढ्ने सम्भावना छ। पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको फाइदा नहुन सक्छ।

कर्कट राशी– आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य कमजोर बन्नाले काममा अग्रसर बन्न नसकिएला। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।

सिंह राशी– शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने पक्रिया अघि बढ्न सक्छ

कन्या राशी– अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन् । आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

तुला राशी– चुनौती चिर्दै काम बनाउन सकिनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। केही लगानी गर्नुपरे पनि दिगो काम प्रारम्भ गर्ने समय छ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

बृश्चिक राशी– प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। काममा साथीभाइको सहयोगले उत्साह मिल्नेछ। प्रतिस्पर्धामा पछि परिने भयले सताउनेछ। तापनि द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्।

धनु राशी– काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

मकर राशी– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गरे पनि लक्ष्य प्राप्त गर्न सफल भइनेछ। हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। तापनि, समस्या दर्साउँदा सहयोगीहरू भेटिनेछन्।

कुम्भ राशी– नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।

मीन राशी– स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। फाइदाका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ। समस्या दर्साउँदा सहयोगी भने फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ ।

नेकपा विवादको अन्तिम टुंगो नलागे सम्म काङ्ग्रेसले कुनै पक्षसँग सहकार्य नगर्ने !

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलागे सम्म नेपाली कांग्रेसले
कुनै पक्षसँग सहकार्य नगर्ने जनाएको छ ।

आज बिहिवार बसेको काङ्ग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको भन्दै राय मागेका थिए । नेकपा विभाजन भएर सरकार बन्नै नसक्ने अवस्था आए मात्र यसबारे पार्टीमा छलफल गर्नु उपयुक्त हुने नेताहरुले राय दिएका थिए ।
संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे नेकपाको विवाद अन्तिम टुंगो नलागेसम्म कांग्रेस कसैको पक्ष वा विपक्षमा उभिन सक्दैन बताए ।

नेकपा–आधिकारिताको फैसला फागुन २० गते

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामको दल कसको भन्ने विवादको निर्णय यही फागुन २० गते दिने भएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा आज नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएको विवादमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनको सुनुवाइ सकिएपछि फैसला सुनाउने मिति तोकिएको हो ।

नेकपाका अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ साल जेठ ३ मा एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नाममा निर्वाचन आयोगमा दल दर्ता भएकाविरुद्ध रिट निवेदन दायर गर्नुभएको थियो ।

अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा उतिबेलै त्यसविरुद्ध उजुरी दिए पनि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पक्षमा निर्णय गरेको थियो ।

हाल ओली र दाहाल पक्षबीचमा पनि विवाद देखिएका बेला आयोगको यस मुद्धाको फैसला अर्थपूर्ण हुन सक्नेछ । आयोगको उक्त निर्णयविरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते रिट दायर गर्नुभएको थियो ।

मानव अधिकार गोष्टी सम्पन्न

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ शिवगञ्जमा मानव अधिकार विषयक गोष्टी फागुन १२ गते सम्पन्न भएको छ । मानव अधिकार समूह भोक्राहा नरसिंहको आयोजना, ३ नम्बर वडा कार्यालयको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको सहयोगमा मानव अधिकार गोष्टी सम्पन्न भएको हो । वडा स्तरिय मानव अधिकार गोष्टी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), को सहयोग तथा मानव अधिकार समुहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा छलफल गर्दै सम्पन्न भएको छ ।
स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गरिने परियोजना अन्तर्गत सो कार्यक्रम गरिएको परियोजनाका जिल्ला सहजकर्ता जयकृष्ण यादवले बताउनुभयो ।


कार्यक्रममा सहभागितहरुले जनप्रतिनिधि आएपनि गाउँपालिका र वडामा रहेका विद्यालयहरुमा निकै सुधार भएको र वडाबाटै स्वास्थ्य चौकीको सेवा पाएको बताएका छन् । सहभागी दिपेन कुमार यादवले चिरौली क्षेत्रका अधिकांश पसलहरुमा म्याद नाघी आएका खाद्य पदार्थ पाइने गरेको गुनासो गर्नुभयो ।

मान्ती देवी रामले सुकुम्बासी समस्या विकराल रहेकाले उनीहरुको आबाश अधिकारको ग्यारेण्टी गर्नुपर्ने माग गर्नुभयो । कार्यक्रमा रामपृतकुमार यादवले किसानहरुले समयमा सूचना नपाएको र सरकारी अनुदान तथा राहतबाट बन्चित हुनुका साथै उत्पादन गर्ने समयमा मलखाद र विउँको अभाव अनि उत्पादन जसोतसो गरेको भएपनि बजार भाउँको समस्या रहेको बताउनुभयो । यादवले किसानका लागि स्यालो वा विधुतिय भुमीगत सिंचाईका लागि सहयोग गर्नुपर्ने माग गर्नुभयो । सहभागीहरुको गुनासोलाई समाधानका लागि आफूले सक्दो पहल गर्ने भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष सुकदेव यादवले बताउनुभयो ।


वडामा विगतमा देखिएको स्वास्थ्य क्षेत्रको समस्या र चुनौतीहरुलाई समाधान गर्न वडामा स्वास्थ्य केन्द्र स्थापना गरेको, वडामा आधारभुत तहको जनता स्कूललाई दुई वर्ष अघि मात्रै माविमा स्तोरोन्नती गरेको र थप दुई वटा आधारभुत विद्यालयलाई नियमित गरेको, सुकुम्बासी र दलित बालबालिकाहरुलाई विद्यालयमा आकर्षण गर्न खाजा कार्यक्रममा खाजा नै खुवाएको बताउनुभयो । मानव अधिकार समूहसँग समन्वय गरेर थप मानव अधिकारमैत्री, कृषिमैत्री, बालमैत्री र महिलामैत्री विकासको काम गर्नेमा भूमिका खेल्ने बताउनुभयो ।
सहभागी रोहित मुखियाले आवासको अधिकारबाट वन्चित रहेका नागरिकहरुको समस्यालाई सम्बोधन गराउनका लागि दवाबमूलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा पशुराम यादवले मानव अधिकार समुहले मानव अधिकारका सवालमा सम्बन्धित पक्षलाई सचेत पार्दै आएको बताउँदै मानव अधिकारका सवालहरुलाई सम्बोधन गर्न स्थानीय तह र वडा सक्रिय हुनुपर्ने बताउनुभयो ।
स्थानीय जयप्रकाश यादवले पालिकाको शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र तथा खाद्य क्षेत्रको विकासको लागि प्रभावकारी र थप बिभिन्न प्रकारका कार्यक्रमहरु सञ्चाल गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सत्य नारायण यादवले मानव अधिकार र हरेक मानिसले् पाउने अधिकारका साथै बिकासको कसतो हुनु पर्छ त भन्ने बिषयमा जानकारि दिने उद्धश्यले यो गोष्टिको आयोजना गरिएकोमा सहयोगि संस्थालाई धन्यवाद दिनुभएको छ ।

कार्यक्रममा कृष्ण कुमार यादव र देवकृष्ण यादवले हरेक ब्यक्तिले जन्मे पछि गाँस वाँस र कपासको ब्यवस्थाको सहज महसुस गर्न पाउनुपर्छ भन्ने कुरा रहेकाले त्यसको अनुभुती राज्यले गराउन जरुरी रहेको बताउनुभयो । पुनमकुमारी यादवले समेत मानव अधिकारको महसुस गर्न पाउने ब्यवस्थाको लागि राज्यको कानुन र प्रणलि रहेको भएपनि त्यसको कार्यान्वय गर्नुपर्नेमा जोड दिनुभयो । राज्यको प्रणालिबाट हरेक नागरिकले आफूले पाउनु पर्ने अधिकार र सेवा सुबिधा पाउने गर्दछन तर त्यसको अनुभुतीका बारेका गोष्टी कार्यक्रम निकै प्रभावकारी भएको रामसिता आधारभुत विद्यालयका प्रधानाध्यापक बलरामकुमार यादवले बताउनुभयो ।

समाजमा भएको बिकास र त्यसमा नागरिकले सकारात्मक रुपमा खेल्नुपर्ने भुमिकाको बिषयमा पहिले आफु वा ब्यक्तिको सोच सकारात्मक र परिवर्तनशिल हुनुपर्ने त्यस पछि आफैबाट परिवर्तन गरि ब्यवाहारमा लागु गरेमा बिकास र अधिकार सबैले पाउनेमा गोष्टिका सहभागी आनन्द यादवलले बताउनु भयो ।

शिक्षा,स्वास्थय,लगायत दैनिक रुपमा नँभैनहुने मानिसका आवास्यक्ताहरु अकार ब्यक्तिको अधिकार हनन नहुने गरि क्रमिक बिकासमा लागेमा सकारात्मक बिकास हुने सहभागी रन्जित यादवको भनाई थियो । सहभागी अभिषेक यादवले जव ब्यक्तिमा सकारात्मक सोचको बिकास हुदैन तव सम्म समाजमा रहेका जातिय, समाजिक, धार्मिक बिभेदको अन्त्य नहुने र त्यो परिर्वतन ब्यक्तिले स्वयम आफैबाट सूरु गर्नु पर्नेमा जोड दिनुभयोे ।

गोष्टिमा पत्रकार अजमल अंसारी सहितका सँचारकर्मिहरु, मानवअधिकारकर्मि, बिभिन्न गैरसरकारी सँस्थाका प्रतिनिधि लगायत सरकारका सेवाप्रदायक सरकारी निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा जितेन्द्र यादव, बेचन यादव र बलराम कुमार यादव सहितका ३० बढी सरोकारबालाहरुले गोष्टिको उद्धेश्य राम्रो भएको र यसले सकारात्मक सोचको बिकास गरि कार्यान्वयनमा लगाउनु र समाजमा मानव अधिकारको बिकासमा योगदान गर्ने बताए ।

आवास अधिकार विषयक अन्तरकृया सम्पन्न

सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा इन्सेक प्रदेश कार्यालय विराटनगरको सहयोग, मानव अधिकार समूह कोशीको आयोजना र गाउँपालिकाको समन्वयमा फागुन १३ गते आवासको अधिकार विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । आवास अधिकार कार्यान्वयनमा सरोकारवालाको भुमिका र कोशीको सुकुम्बासीहरुको समस्याका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अथिति भूमी सम्बन्धी समाधान आयोगका सुनसरी अध्यक्ष खेमराज पोखरेलले सुकुम्बासी समस्या, अव्यवस्थित बसोबास र विगतका आयोगले गरेको काममा बाकी रहेको कार्य आफूहरुले गर्ने बताउनुभयो । वहाँले प्रमुख तीन कामका लागि गठन गठन भएकाले त्यसको पक्षमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।


कोशी बाढीपीडित र भूमिहीनहरूको आवासको अधिकार सुनिश्चित गर्ने तथा अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग समन्वय गर्ने काम समेत आयोगले गर्ने बताउनुभयो । भूमिहीन र बाढीपीडितहरूको आवासको अधिकार सुनिश्चित नभएसम्म मुलुकमा दिगो विकास हुन नसक्ने हुँदा यसतर्फ सबै पक्ष सचेत हुनुपर्ने उल्लेख गर्नुभयो । वहाँले सुकुम्बासी समस्या, अव्यवस्थित बसोबास र विगतका आयोगले गरेको काममा बाकी रहेको कार्यलाई पुरा गर्नका लागि स्थानीय तहले समेत पहल र चासो देखाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूले सुकुम्बासी समस्या समाधान गर्नुपर्ने, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्नुपर्ने र विगतका आयोगले दिएको लालपुर्जा, श्रेस्तेदारमा भएको र कागजात भएकाहरुलाई सोही अनुसारको जग्गा छुट्याई दिनुपर्ने माग गर्नुभयो । सहभागी विद्यानन्द यादवले चार सय बढी सुकुम्बासीको हातमा लालपुर्जा भएपनि जग्गा एकिन नभएकोले छुट्याई दिन माग गर्नुभयो । यादवले विगतको आयोगले गरेको काममा बाँकी रहेको कार्य पुरा गरी वास्तविक भूमिहीनहरूको पहिचान गरी उनीहरूलाई मात्र आवासको व्यवस्थापन गरिनु पर्ने चर्चा गर्दै नक्कली भूमिहीनहरूको कारण सक्कली भूमिहीनहरूको उचित व्यवस्थापन हुन नसकेको गुनासो गरेका थिए ।


कार्यक्रममा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले कोशी कटान पछि जग्गा पाएका सुकुम्बासीहरुले आफूहरु जग्गा छुट्याई दिन भनेर पाँच ÷सात जनाले सामूहिक रुपमा निवेदन दिए गाउँपालिकाका अमिनले जमिन छुट्याई दिने बताउनुभयो । नपाएकाहरुको हकमा भुमि सम्बन्धी समस्या समाधान आयोगले गर्ने काममा उनीहरुलाई सम्बोधन गर्ने अंसारीले बताउनुभयो ।


विगतमा राजनीतिक नियुक्तिको आधारमा नियुक्त भएका सुकुम्वासी आयोगले आफ्ना कार्यकर्ताहरूको आवासको अधिकार तर्फ अग्रसर हुने हुँदा वास्तविक भूमिहीनहरूको आवासको अधिकार खोसिएको सहभागीहरूको भनाई थियो ।
कोशीको विनासकारी बाढी पीडित कोशी गाउँपालिका ३, ४, ५, ६ र ७ को सुकुम्बासीका लागि अझैसम्म समस्या सामाधन नभएकाले कष्टपुर्ण जीवन बिताइरहेको १२ वर्ष बितिसक्दा समेत राज्यले सुकुम्बासी बाढीपीडितहरूको उचित व्यवस्थापन गर्न नसकेको गुनासो गरेका थिए ।
सदा, उराँव र अन्य दलित समुदायलाई सुकुम्वासी आयोग लगायतका आयोगहरूमा समावेश गर्नुपर्ने उनीहरूको माग थियो । कार्यक्रममा कोशी बाढीपीडित, भूमिहीन, विभिन्न नागरिक संस्थाका प्रतिनिधी, जनप्रतिनिधिहरु र सञ्चारकर्मीहरूको सहभागिता रहेको कार्यक्रममा इन्सेक विराटनगरकी वागमती कट्टेलले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो ।


कार्यक्रममा काशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारी, उपाध्यक्ष अनिता देवी यादव, प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र गिरी, कोशी गापा–१ का वडा अध्यक्ष राजकुमार साह, ४ का वडा अध्यक्ष अमिन नेपाली मियाँ, ६ का वडा सदस्य चन्द्रीदेवी सदा लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण इन्सेक सुनसरीका सहजकर्ता जयकृष्ण यादवले गर्नु भएको थियो भने अध्यक्षता समूहका राजकुमार शर्माले गर्नुभएको थियो ।


कार्यक्रममा मानव अधिकार समूहका सहसचिव रिना मण्डल, कोषाध्यक्ष चन्द्रकला नेपाल, सदस्य अन्जुम आरा, मुस्ताक आलम, गिता पौडेल, व्रजेश यादव, आरतीकुमारी सदा, आयोगका सदस्य बद्री घिमिरे, नागरिक समाजका अरुन उराँव, दिनेश राम, अनितादेवी सदा, कविता देवी सदा, पुजा साह, बबिता साह, सोनी साह, लालोदेवी मलाहा, परासी सदा, रीता सदा, मो. ताहिर मंसुरी, अर्सद अलि, धर्मेन्द्र विश्वास, इन्सेकका प्रलेख अधिकृत पूण्य अधिकारी, अजमल अंसारी सहितका ४५ बढी सरोकारवालाहरुले आबास अधिकार, माग र मुद्धाका बारेमा बोल्नुभएको थियो ।


१, सुनसरीको कोशीमा आयोजित आवास अधिकार सम्बन्धी कार्यक्रममा सम्बोधन गर्नुहुदै भूमी सम्बन्धी समाधान आयोगका सुनसरी अध्यक्ष खेमराज पोखरेल ।
तस्बिर : जयकृष्ण यादव । इनरुवा

सफल इङलिस बोर्डिङ स्कुलको पहिलो वार्षिक साधारणसभा सम्पन्न !

काठमाडौँ। देवानगञ्ज गाउँपालिका वडा नम्बर – २ स्थित रहेको सफल इङलिस बोर्डिङ स्कुलको पहिलो वार्षिक साधारणसभा सु-सम्पन्न भएको छ।

वार्षिक साधारणसभा कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथिमा देवानगञ्ज गा .पा वडा नम्बर २ का वडा अध्यक्ष मजलुम अन्सारी मियाँ र विशिस्ट अतिथिमा देवानगञ्ज ई. प्र. का प्रहरी नायब निरिक्षक गजेन्द्र श्रेष्ठकाे उपस्थितिमा दीप प्रज्वलन गरेर कार्यक्रमको सुरुवात भएको थियो ।

आजको यस सभा कार्यक्रममा संस्कृत कार्यक्रम समेत भएको छ भने साथै विद्यालयका विद्यार्थीहरुलाई पुरस्कार दिने भएका छन । देवानगञ्ज गा .पा वडा नम्बर २ का वडा अध्यक्षले विद्यालयमा नगद रु. ५५०० पुरस्कार गरेको छ । लकडाउनको बेला विद्यार्थीहरुले पुरस्कार नपाएकाले आजको वार्षिक साधारणसभा मा दिइएको नागरिक अभियानको सम्बादाता जुगेश दास ले जानकारी गराए ।­

औषधि व्यवस्था विभागका मेडिकल सुपरभाइजर दुई लाख घुषसहित पक्राउ

विराटनगर । औषधि व्यवस्था विभाग कार्यालय विराटनगरमा कार्यारत मेडिकल सुपरभाइजर सरोज सुवेदी सेवाग्राहीसँग घुस लिदालिदै विराटनगरमा पक्राउ परेका छन् ।

उहाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो । उहाँलाइलाई विराटनगर ३ दूधफारमको भट्टराई होटलबाट घुस लिदै गरेको अबस्थामा नगद रु दुई लाखसहित रंगेहात पक्राउ परेको हो ।नवराज कट्टेल

बिहिबार एकैदिन कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३

काठमाडौं । कोरोना संक्रमणबाट आज थप ८३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २ हजार ७ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित १ सय १२ थपिएका छन् । आज ८४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७३ हजार ७ सय ७२ संक्रमित भएपनि २ लाख ७० हजार २ सय २३ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने  ८ सय ८२ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

नव निर्वाचित अमेरिकाको राष्ट्रपति जो बाइडेनले भने नेपालसँगको सम्बन्ध थप बलियो हुने !

काठमाडौ ।
नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसँगको सम्बन्ध थप बलियो बनाउन आफू इच्छुक रहेको जनाए ।

नेपालका राजदूत डा.युवराज खतिवडाले बुझाएको ओहोदाको प्रमाणपत्र स्वीकृत गर्ने क्रममा बाइडेनले भने दुई देशबीचको सम्बन्ध थप बलियो बनाउन र साझा कार्यसूचीमा एक साथ काम गर्न इच्छुक रहेको बताएका हुन्। खतिवडाले बुझाएको ओहोदाको प्रमाणपत्र राष्ट्रपति बाइडेनले स्वीकृत गरेका छन् ।
अमेरिकी सरकारले आगामी दिनमा बहुपक्षीय क्षेत्रमा सम्बन्ध विस्तार गरेर दुई देशबीच गहिरो र फराकिलो सम्बन्ध बनाउन सहकार्य गर्ने नेपाली राजदूतावासले जनाएको छ ।

घुस लिदै गर्दा सशस्त्र प्रहरी निरीक्षकसहित दुई पक्राउ

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख समेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी बिहीबार पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । काठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा गैडहवा–३ बाट नियन्त्रण्मा लिएर थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

समयमै सडक निर्माण भएन : स्थानीयद्वारा मुख्य सडक अवरुद्ध !

काठमाडौ ।
सुर्खेत जिल्लाको वीरेन्द्रनगर–६ स्थित समयमै सडक निर्माणको काम सम्पन्न नगरेको भन्दै स्थानीयले मुख्य सडक अवरुद्ध गरेका छन् ।

लामो समय बितिसक्दा पनि निर्माणका लागि ठेक्का प्रक्रियामा सारेको काम सम्पन्न नगरेकोमा आज बिहीबार स्थानीयले सडक अवरुद्ध गरेका हुन् । वीरेन्द्रनगर नगरपालिका–६, आईएमई चोकदेखि उत्तर नेकपा पार्टी कार्यालयसम्मको बाटो लामो समयसम्म कालोपत्रे नहुँदा धुलोधुवाँ धेरै उड्ने र गाडी गुड्दा गिट्टी उछिट्टिएर बालबालिका समेत घाइते हुने गर्छन् । जसका कारण स्थानीयले नै मुख्य सडक अवरुद्ध गर्न बाध्य भएका छन ।

मेस्सीको दुई गोलमा बार्सिलोनाको जित

काठमाडौं । लियोनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले एल्कमाथि जित हात पारेको छ । स्पेनिस ला लिगा अन्तगर्त गए राति अबेर सम्पन्न खेलमा बार्सिलोनाले एल्कमाथि ३–० को जित हात पारेको हो ।

बार्सिलोनाले तीनै गोल दोस्रो हाफमा नै गर्यो । आर्जेन्टाइन फरवार्ड लियोनल मेस्सीले ४८ औं मिनेटमा मार्टिन ब्रैथवेटले दिनुभएको पासलाई गोलको दिशा दिनुभयो । २० मिनेटपछि ३३ वर्षीय मेस्सीले फ्रयाङ्की डे जङ्गको पासलाई गोलमा परिणत गर्दा बार्सिलोनाले २–० को अग्रता बनाउन सफल भयो । दुई गोल गरेपछि स्पेनिस ला लिगाको जारी संस्करणमा लियोनल मेस्सी सबैभन्दा बढी गोलकत्र्ता बन्नुभएको हो । उहाँले १८ गोल गर्नुभएको छ । लुइस सौरेजले १६ गोल गर्नुभएको छ ।

जोर्डि अल्बाले ७३ औं मिनेटमा मार्टिन ब्रैथवैटको हेडरलाई गोलको दिशा दिनुभयो ।
जितसँगै बार्सिलोना स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लेको छ । २४ खेलबाट उसले ५० अङ्क बटुलेको छ । शीर्ष स्थानको एटलेटिको मड्रिडले २३ खेलबाट ५५ अङ्क र दोस्रो स्थानको रियल मड्रिडले २४ खेलबाट ५२ अङ्क जोडेको छ ।(गोरखापत्र अनलाइन)

सिंहका हत्या आरोपी पुर्पक्षका लागि कारागार चलान

बझाङ  । बझाङका अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई जिल्ला अदालत बझाङले मङ्गलबार पुर्पक्षका लागि कारागार चलान गरेको हो । पुर्पक्षका लागि कारागार चलान गर्नेमा छबिसपाथिभेरा गाउँपालिका–३ का विकास ऐडी, प्रकाश ऐडी, केदारमान ऐडी र ज्ञानबहादुर कठायत रहेका छन् ।

घटनामा संलग्न मानिएका प्रतिवादी अर्का जयाबहादुर रोकायालाई भने रु एक लाख धरौटीमा रिहा गर्ने आदेश भएको तर सो रकम तिर्न नसकेपछि उहाँलाई पनि कारागार चलान गरिएको अदालतका कर्मचारी अक्कल रावलले जानकारी दिनुभयो ।

हत्याको अभियोग लागेका पाँचै जना यस अगाडि प्रहरी हिरासतमा थिए । गएको माघ १३ गते बान्नीचौर माविको विद्यालय व्यवस्थापन समितिको विषयलाई लिएर उनीहरूबीच विवाद भएको थियो । सोही विषयलाई लिएर वडाध्यक्ष विकास ऐडी र उनका भाइसहितको टोलीले सिंहलाई खुणा प्रहार गरी हत्या गरेको बताइएको छ ।

भारतमा कोरोनाबाट एक करोड १० लाख संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड १० लाख ४६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ७३८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ४६ हजार ९१४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १३८ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार ७०५ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड ७ लाख ३८ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ५१ हजार ७०८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबारसम्म देशभर २१ करोड ३८ लाख २९ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बिहीबार एकै दिनमा मात्र सात लाख ९३ हजारभन्दा बढी व्यक्तिलाई कोभिड¬–१९ परीक्षण गरेको जनाइएको छ ।

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म एक करोड २३ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।

भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरूलाई खोप लगाइने भएको छ । त्यसैगरी दिर्घरोगी छन् भने ४५ वर्ष माथीकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप दिइने अधिकारीहरूको भनाइ छ ।

केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूसँगको कुराकानीका क्रममा केन्द्रीय मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानका बारेमा बुधबार जानकारी दिएका हुन् । सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिए पनि निजी स्वास्थ्य संस्थामा खोप लगाउनेहरूले भने आफैँले रकम तिर्नु पर्ने व्यवस्था गरिएको उनले बताए ।

लन्डनको सडकमा नाङगो मान्छे दौडिए, पछिपछि प्रहरीको दौडादौड

एजेन्सी। लण्डनकाे सडकमा एक जना सर्वाङ्ग नाङगो मान्छे दौडिएपछि उनलाई समात्नको लागि पुलिस पछिपछि दौडिएको रोचक घटना अहिले चर्चामा छन् । सडकमा ती व्यक्ति नाङ्गै दौडिइरहेको देखेपछि स्थानीयले पुलिसलाई बोलाएका थिए । पुलिस आएपछि २९ वर्षका रस स्प्रङहाम अघिअघि र पुलिस पछिपछि दौडिएका थिए । तीन जना पुलिस अधिकारीहरुले रसलाई लखेटिरहेका थिए । द सनका अनुसार पश्चिम लण्डनको नटिङ हिलमा भएको यो अनौठो खेदाइलाई ३९ वर्षीय डेलिभरी साइकल चालक पेड्रो लुलाले भिडियो खिचेका थिए। उनले भने– ‘म बाइकमा थिएँ, मैले माथि हेरें र एक जना नाङ्गो मानिस दौडिरहेको देखें ।’ मेट पुलिसका एक प्रवक्ताले भने ‘एक जना मानिस सडकमा नाङ्गै हिँडिरहेको रिपोर्ट आएपछि आइतबार, फेब्रुअरी २१ का दिन वेस्टवे बीटुमा प्रहरीलाई बोलाइएको थियो । अफिसरहरू र लण्डन एम्बुलेन्स सेवा पनि त्यहाँ पुगेका थिए ।’

लण्डन एम्बुलेन्स सर्भिसले उनलाई समातेपछि ती व्यक्तिलाई गिरफ्तार गरियो र मध्य लण्डनको प्रहरी चौकीमा हिरासतमा राखिएको छ । कुनै निश्चित ठेगाना नभएका स्प्रिङहामलाई वेस्टमिनिस्टर मजिस्ट्रेट अदालतमा अभद्र व्यवहार गरेको अभियोगमा दोषी ठहर गरिएको छ । उनलाई पुलिस हिरासतमा पठाइएको छ र अर्को महिना सजाय सुनाइनेछ ।