५ माघ २०८०, शुक्रबार १४:४६ – Page 6 – Nagarikabhiyan : National News

कोशी अस्पताल विराटनगरमा एकै पटक ५० जना कर्मचारीका लागि दरखास्त आह्वान

कोशी अस्पताल विराटनगरले एकै पटक ५० जना कर्मचारी आवश्यकता सम्बन्धित सुचना प्रकाशित गरेको छ । अस्पतालले १० जना मेडिकल अधिकृत, एकजना नर्सिङ्ग अफिसर ३० जना स्टाफ नर्स वायोमेडिकल इन्जिनियरिङ्ग २ जना र फार्मेसी सहायक सात जना माग गरिएको हो ।

अस्पतालले आठौं तहका मेडिकल अफिसर, सातौं तह नर्सिङ्ग अफिसर, पाँचौं तहमा स्वास्थ्य जनरल नर्सिङ्ग पाँचौं तहमा बायोमेडिकल टेक्निसियन र पाँचौं तहमा फार्मेसीको माग गरेको हो ।
लिखित र अन्तवार्ताबाट करार सेवाका लागि परीक्षा लिईने सुचनामा उल्लेख गरिएको छ । सुचना प्रकाशित भएको मितिले २१ दिन भित्र ईच्छुकले दरखास्त दिन सक्ने उल्लेख छ ।

बस दुर्घटना हुँदा १५ यात्रु घाइते

दार्चुला जिल्ला सदरमुकाम खलङ्गाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु प प्र ०२ ००१ ख १०३१ नम्बरको बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्।

बस दार्चुलाको महाकाली नगरपालिका–५ स्थित डम्पिङ साइड नजिकै शुक्रबार बिहान दुर्घटना भएको थियो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार घाइतेमध्ये एक जना गम्भीर, दुई जना मध्यम र अन्यको सामान्य अवस्था छ।

घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। बस सडकबाट करिब २० मिटर तल खसेको जनाइएको छ।

 

तालमा डुङ्गा डुब्दा गुजरातमा १४ जनाको मृत्यु

भारतको गुजरात बडोदरास्थित हरनी तालमा डुङ्गा डुब्दा १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये १२ जना बालबालिका छन्।

डुङ्गा खचाखच भरिएको थियो। ती बालबालिका आफ्ना शिक्षकसँग हरनी ताल पुगेका थिए। बोटिङ गर्दा बच्चाहरूको सुरक्षा सुनिश्चित गर्न लाइफ ज्याकेटहरू पूर्ण रूपमा फिट गरिएको थिएन। यस विषयमा अनुसन्धान सुरु गरिएको जानकारी समाचार एजेन्सीहरुले दिएका छन्।

घटना लगत्तै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल घटनास्थल पुगेर खोजी तथा उद्धार कार्यको जानकारी लिएका थिए।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका आफन्तलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ प्रदान गरिने भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले पनि राज्यका मुख्यमन्त्रीसँग कुरा गरेर घटनाबारे जानकारी लिएका छन्।

भेरीको अस्थायी पुलबाट रकम तिरेर सवारीसाधन वारपार गराइँदै

जाजरकोटको नलगाड नगरपालिकाको तल्लुस्थित भेरी नदीमा पुल निर्माण नहुँदा ह्युमपाइप निर्माण गरेर यातायातका साधन सञ्चालन गरिएको छ । गत वर्षदेखि भेरी नदीमा हिउँद याममा पानीको मात्रा घटेसँगै ह्युमपाइप प्रयोग गरेर अस्थायी पुलमार्फत यातायातका साधन तार्ने काम हुँदै आएको छ ।

भेरी करिडोरअन्तर्गत पर्ने यो ठाउँमा तीन वर्ष अघि बेलिब्रिज निर्माण थालिए पनि निर्माण व्यवसायीले समयमा काम नगर्दा पुल अलपत्र बनेको छ । यहाँ निर्माणाधीन बेलिब्रिज भत्किएपछि काममा थप ढिलाइ भएसँगै ह्युमपाइप प्रयोग गरी यातायातका साधन तार्ने काम सुरु गरिएको थियो ।

उक्त अस्थायी पुलबाट यातायातका साधन वारपार गरेबापत युवाले रकम असुल गरिरहेका गुनासो आएको छ । डोल्पा जोड्ने मुख्य पुलका रूपमा रहेको नलगाड–१२ तल्नु बगर र रुकुम पश्चिम आठबिसकोट–५ को बीचमा रहेको भेरी नदीमा सवारीसाधन आवतजावत गर्ने पुल नन्दा स्थानीय युवाले गैरकानुनी रूपमा शुल्क उठाउन थालेका हुन् ।

निर्माण पूरा हुनै लाग्दा बेलिब्रिज भाँचिएपछि अहिले उक्त स्थानमा पुनः बेलिब्रिज निर्माण भइरहेको स्थानीय युवा खिम मल्लले बताए । बुधबार मात्रै भेरी नदीमा ह्युमपाइप राखेर बनाइएको फड्काको काम सकिएको भन्दै व्यक्तिगत लगानीमा निर्माण गरिएकाले चारपाङ्ग्रे सवारीसाधन तारेबापत शुल्क उठाइएको उनको भनाइ थियो ।

‘फड्को निर्माण गर्दा करिब रू ४० लाख खर्च भएको छ । उक्त रकममध्ये रू २० लाख बराबर डोल्पामा विद्युत्को ठेक्का लिएका व्यवसायीले आफ्ना सामान सार्नुपर्ने भएकाले ह्युमपाइप किन्दिए मल्लले भने, ‘हाम्रो मात्रै रू २० लाख खर्च भएकाले उक्त लगानी उठाउन शुल्क उठाउन थलिएका हौँ ।’ निर्माणका क्रममा स्काभेटर, टिपर, कामदारलगायतमा व्यक्तिगत खर्च भएकाले शुल्क उठाउनु परेको उनको भनाइ थियो ।

यसरी शुल्क उठाउन त नमिल्ने हो, तर व्यक्तिगत लगानी भएको छ । निर्माणका क्रममा लागेको खर्च रुकुम र डोल्पाका स्थानीय तहले गरेका भए, हामीले पैसा उठाउने थिएनौँ’, मल्लले भने । अहिले बोलेरो जीपको पाँच हजार, मिनीट्रकको रू १० हजार र ठूलो ट्रकको रू १५ हजार उठाउन थालिएको उनले जानकारी दिए ।
यात्रुबाहक गाडी आएमा तिनलाई पाँच हजार लगाइने उनको भनाइ छ । आठबिसकोट नगरपालिकाको स्वास्थ्य सामग्री बोकेको जीपलाई रू पाँच हजार उठाइएको मल्लले बताए ।

आफूले एउटा मालबाहक ट्रक तारेबापत १० हजार तिरेको डोल्पाका व्यापारी खिमबहादुर सिंहले बताए । ‘केही स्थानीय युवाले पैसा नदिउञ्जेल डोल्पाका लागि सामान बोकेको मालबाहक ट्रक तार्न दिएनन् । पछि १० हजार जम्मा गरिसकेपछि मात्र तार्न दिएका थिए । पैसा तिरेको प्रमाण भने केही दिएनन्, उनले भने ।

व्यापारी सिंहले यसरी प्रत्येक पटक सवारी पास गराउँदा पैसा तिर्नु परेपछि व्यापारी मारमा परेसँगै यसको असर व्यापारमा परेको बताए । सामान तार्दा थप रकम दिनुपरेकाले आयात गरिएका सामानमा महँगी बढेर डोल्पाली उपभोक्ता मारमा परेका उनको भनाइ थियो ।

भेरी करिडोर कार्यालय जाजरकोटका प्रमुख सुजन अधिकारीले यसरी व्यक्तिगत रुपमा सवारीसाधन तारेबापत शुल्क उठाउन नमिल्ने बताए । ’ह्युमपाइपको पुलमा व्यक्तिगत लगानी भएको भन्ने सूचना आएको थियो । त्यसमा विद्युत्का निर्माण व्यवसायी र स्थानीय युवाले लगानी गरेका रहेछन् । यसरी लगानी भएको ठाउँमा सरकारी कार्यालयले लागेको खर्च व्यहोर्नु पर्ने हुन्छ’, उनले भने । पश्चिम रुकुम र डोल्पाका स्थानीय तहले समन्वय गरी केही पैसा उठाएर सवारी साधन आवतजावतमा सहजीकरण गराउनुपर्ने अधिकारीको भनाइ थियो ।

डोल्पाका छ स्थानीय तहमा केन्द्रीय प्रसारण लाइन विस्तारको जिम्मा लिएका निर्माण कम्पनीका प्रमुख नरेन्द्र काफ्लेले ह्युमपाइपको पुल निर्माणका लागि आफूले २० लाख लगानी गरेको बताए । ‘डोल्पामा केन्द्रीय प्रसारण लाइन विस्तारको जिम्मा लिइसकेपछि हामीलाई सयौँ टन पोल, तारलगायतका सामान लिनुपर्ने हुन्छ । त्यसका लागि सिधै गाडी लैजानका लागि ह्युमपाइप हामीले किनिदिएका हौँ’, उनले भने ।

दुई सय मालबाहक ट्रक लैजाने र त्यसपछि ह्युमपाइप निकालिने काफ्लेको भनाइ थियो । डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले सवारीसाधन तारेबापत पैसा उठाउनु कानुनविपरीत भएको बताए । आफूसँग पैसा उठाएका विषयमा कुनै लिखित उजुरी नआएको भन्दै यदि आएमा तुरुन्तै कारबाही गरिने उनले जानकारी दिए ।

सहजरुपमा सवारीसाधन वारपार गर्ने व्यवस्था मिलाउनका लागि रुकुम पश्चिम र जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय भइरहेको दाहालले बताए । डोल्पाका स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्ने उनको भनाइ थियो । उनले यस कार्यमा सम्बन्धित सबै स्थानीय तहले सहयोग गर्ने अपेक्षा गरिएको धारणा राखे ।

अस्थायी पुलबाट स्थानीय युवाले पैसा उठाउन थाले पनि यातायात व्यवसायीले लिखित उजुरी भने दिन सकेका छैनन् । पश्चिम रुकुम, जाजरकोट र डोल्पाको गृह प्रशासन मौखिक उजुरीलाई बेवास्ता गर्दै लिखित उजुरी कुरेर बसेको डोल्पाका सरोकारवालाले बताएका छन् । यो समस्या तत्काल समाधान गरेर सहजरुपमा सवारीसाधन वारपार गर्ने व्यवस्था मिलाउन उनीहरूले आग्रह गरेका छन् ।

 

मधेस प्रदेशमा छैटौँ बलिदानी दिवस मनाइँदै प्रदेशभर आज सार्वजनिक बिदा

मधेस प्रदेशमा आज छैटौँ बलिदानी दिवस मनाइँदैछ ।
अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस आन्दोलनको १७ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ ।

मधेस आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते आजकै दिन सिरहाको लहानमा स्थानीय रमेश महतोले सहादत दिएको सम्झनामा मधेस केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रुपमा मनाउँछन् ।

विसं २०६२र०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा सङ्घीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेसी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन गरिएको थियो ।

माघ २ गतेदेखि शुरु भएको आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानमा रहेको विद्यालयमा अध्ययनरत सिरहा मझौराका विद्यार्थी रमेश महतोको निधन भएको थियो । यसपछि मधेसभर आन्दोलन भएको थियो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग अन्तरिम संविधान संशोधन गरेर माग सम्बोधन गर्ने सम्झौतापछि पहिलो चरणको २१ दिने आन्दोलन स्थगित भएको थियो ।
बलिदानी दिवसका अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

विद्युत सर्ट भई आगलागी हुँदा ४१ वर्षीया सन्तमायाको मृत्यु

मर्स्यांङ्दी गाउँपालिका–४ स्यागे बस्ने ४५ वर्षीय राजेन्द्र श्रेष्ठको कच्ची घरमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा उनकी श्रीमती ४१ वर्षीया सन्तमाया श्रेष्ठको जलेर मृत्यु भएको छ ।

साथै आगलागीबाट घर पसल, मोटरसाइकल १ थान नगद १० लाख ३५ हजार २ सय रूपैयाँ समेत जलेर करिब १ करोड ४४ लाख ७५ हजार २ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

सुनको मूल्य बढ्यो कतिमा भइरहेको छ कारोबार

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार शुक्रबार छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन एक लाख १७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १३९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी धादिङ मेत्रावती गाउँपालिका–२ स्थायी वतन भएका ५७ वर्षीय वीर बहादुर तामाङलाई बुधवार प्रहरीले पक्राउ गरेको छ ।
पीडितलाई ब्रुनाई पठाईदिने भन्दै झुक्क्याई २०४७ चैत ३ गते काठमाडौँबाट काकरभिट्टा हुँदै पश्चिम बंगालको बागडोग्रा भन्ने स्थानमा पुर्याएका थिए ।

भारतीय नागरिकलाई बेचबिखन गरेको कसुरमा संलग्न रही फरार रहेका उनलाई मानव बेचबिखन अनुसन्धान
व्यरो बबरमहलबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–१४ तिखेदेवलबाट पक्राउ गरेको हो ।

उनले पीडितको श्रीमान् ब्रुनाईमा रोजगारीमा रहेको बेलामा श्रीमानले ब्रुनाई ल्याइदिनु भनी मलाई चिठ्ठी पठाएका छन भनी झुक्क्याई काठमाडौंबाट काकरभिट्टा हुँदै भारतको पश्चिम बंगालस्थित बागडोग्रा भन्ने सहरमा पुर्याएका थिए ।

उनले त्यसपछि भारतीय नागरिकहरूबाट भारतीय रुपैयाँ १० हजार लिई पीडितलाई अनजान व्यक्तिको घरमा अपरिचित भारतीय नागरिकहरूको जिम्मामा छोडी बेचबिखन गरेका थिए ।

भारतीय नागरिकहरूले पीडितलाई रिक्सामा राखी लैजाने क्रममा पीडित रिक्साबाट हाम फाली भारतीय प्रहरीको सम्पर्कमा गएपश्चात् उनीहरुले काकरभिट्टा ल्याई छोड्दिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्नुका साथै प्रहरीले उनी उपर जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सङ्घीय राजधानी काठमाण्डौ जोड्ने सबैजसो सडक खण्डको यात्रा कष्टकर

समयमा मर्मत नहुँदा काठमाण्डौ उपत्यका जोडिने सबैजसो सडक जीर्ण बनेको छ । नागढुङ्गा नाका हुँदै ओहोरदोहोर गर्नुपर्दा नागढुङ्गा–मुग्लिन, मुग्लिन–नारायणगढ, बुुटवल–नारायणगढ तथा पोखरा–मुग्लिन सडक खण्डमा सबैभन्दा धेरै समस्या छ ।

यस्तै, हेटौँडा–काठमाण्डौ जोड्ने सडकखण्ड, काठमाण्डौ–सिन्धुली जोड्ने वीपी राजमार्ग र बालाजुुबाट नुवाकोट निस्कने पासाङ ल्हामू राजमार्गमा पनि ठाउँठाउँमा सडक भत्किएका र बिग्रिएका छन् । सडकमा कतै मर्मत गर्न भन्दै भत्काएर असरल्ल छोडिएका ढुङ्गामाटा र बालुवागिट्टी छन् ।

छिटो मर्मत सकिने ठाउँमा पनि उस्तै ढिलासुस्ती भएको छ । यसबाट यात्रु, चालक र सहचालक पनि हैरान छन् । काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गा हुँदै दैनिक झण्डै ७ हजार गाडी आउजाउ गर्छन् । यो नाका हुँदै काठमाण्डौ छिर्न त्यति सजिलो छैन ।

पृथ्वी राजमार्गमा पर्ने पोखरा–मुग्लिन सडक खण्डको बाटो हुँदै आउनेले झण्डै ८० किलोमिटर बिग्रेको बाटोमा यात्रा गर्नुपर्छ । पूर्व पश्चिम राजमार्गमा पर्ने बुटवल नारायणगढ सडकखण्डको बाटो हुँदै ओहोरदोहोर गर्नेले १ सय १३ किलोमिटर लामो बिग्रेको बाटोमा यात्रा गर्नुपर्छ ।

यस्तै,धादिङको सिस्ने खोलामा बनिरहेको सुरुङ मार्गको कारण सडकमा खाल्डाखुल्डी भएकाले घण्टौँ जाम हुन्छ । यस्तो सडकमा यात्रा गर्दा बिरामीलाई झन् गाल्ने र सद्दे मान्छे पनि बिरामी हुने अवस्था रहेको सुर्खेतबाट काठमाण्डौ आउनुभएकी विनादेवी जैशीले बताउनुभयो ।

यस्तै, भीमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाण्डौ जोड्ने सडक र हेटौँडाबाट र भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ हुँदै काठमाण्डौ जोड्ने सडक निर्माण थालिएकाले दुवै बाटो बन्द गरिएको छ । काठमाण्डौ र हेटौँडा जोड्ने कान्तिलोकपथमा अहिले दैनिक ६ सय वटा गाडी आउजाउ गर्छन् ।

कान्ति लोकपथबाट नै आउजाउ गरिरहेका सुमो चालक आशीष लामाले यो सडक तुलनात्मक रुपमा सहज भए पनि ठाउँठाउँमा भत्किएको बताउनुुभयो । यात्रा गरुन्जेल चट्टानसहितको पहिरो खस्ने डर रहेको उहाँको भनाइ छ । तुलनात्मक रुपमा वीपी राजमार्ग अरु सडकभन्दा केही राम्रो भए पनि ठाउँठाउँमा भत्केको छ ।

काठमाण्डौ जोडिने, पासाङल्हामू राजमार्गमा पर्ने नुवाकोट बालाजु सडक खण्डमा पाँच वर्षदेखि सडक विस्तार र मर्मतको काममा भएको ढिलासुस्तीले गाडी चलाउन पनि समस्या हुने गरेको त्यही क्षेत्रका चालक देवेन्द्र श्रेष्ठले बताउनुभयो ।

काठमाण्डौ र देशका अरु मुख्य सहर जोड्ने धेरै राजमार्गहरु यस्तै, भद्रगोल र अस्तव्यस्त छन् । अन्तर्राष्ट्रिय मान्यता अनुसार हरेक राजमार्गलाई ७ देखि दश वर्षमा पुनर्निर्माण गर्नुपर्छ । तर नेपालमा सडकमा खाल्डा पुर्ने र भित्ता टाल्ने काम मात्रै हुने गरेको छ ।

पछिल्लो समय सडक सुरक्षा, गुणस्तर र सहजतालाई प्राथमिकतामा राखेर काम अघि बढाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागका सूचना अधिकारी अमित शर्माले दाबी गर्नुभयो । उहाँले अबको दुईदेखि चार वर्षभित्र अहिले भइरहेका सडक मर्मत तथा स्तरोन्नतीका काम सक्ने योजना रहेको बताउनुभएको छ ।

वाइडबडी जहाज मर्मतपछि नियमित उडानमा

नेपाल वायुुसेवा निगमको वाइड बडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ । चार दिनदेखि बिग्रिएर बसेको जहाजको प्राविधिक मर्मतपछि हिजोदेखि नियमित उडान हुन थालेको निगमले जनाएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार जहाजको आवश्यक पार्टपुर्जा बेलायतबाट ल्याएर मर्मत गरिएको हो । वाइडबडी जहाज मर्मतपछि हिजो दिउँसो ४ बजे दुई सय ६७ यात्रु लिएर दुबईका लागि उडेको निगमका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

निगमको अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी र दुई थान वाइड बडी जहाज छन् । तीमध्ये एक न्यारो बडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ ।

टिपर दुर्घटनामा सहचालकको मृत्यु

बैतडीको मेलौली नगरपालिका वडा नम्बर ६ हतरंगास्थित सडकमा सुपप्र ०१००१ क २३९४ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा सहचालक मेलौली नगरपालिका वडा नम्बर १ नोर्खादेही बस्ने २० वर्षीय रोहित दयालको मृत्यु भएको छ ।

टिपर चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

दार्चुलाबाट कञ्चनपुरका लागि छुटेको बस दुर्घटना

दार्चुलाबाट कञ्चनपुरका लागि छुटेको बस दुर्घटना हुँदा चालक सहित १४ जना घाइते भएका छन् । महाकाली यातायातको सुपप्र ००१ ख १०३१ नम्बरको बस शुक्रबार बिहान महाकाली नगरपालिका वडा नम्बर ५ किम्तडीस्थित फोहोर सङ्कलन केन्द्र नजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम छ । उनीहरूको दार्चुलास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको दार्चुला प्रहरीले जनाएको छ ।

वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन

वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ । बिरामी रहेका वैद्यलाई राति अझ चापेपछि अस्पताल लाने क्रममै बिहीबार राति साढे १२ बजे निधन भएको हो ।

उनलाई भ्याली अस्पताल लगिएको थियो । ७७ वर्षका गायक वैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् । नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ ‘मेरो आँसुमा नहाँसे र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन् । यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान र जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन् ।

वैद्यले हालै गंकी बसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित धुंस्वां साय्मि सिरपा प्राप्त गरेका थिए । १२ वर्ष ९ महिनामै एसएलसी गरी त्रिचन्द्र कलेजबाट बीएस्सी डिग्री पाएका योगेश थाहै नपाई रेडियो नेपाल पुगेका थिए । इन्द्रनारायण मानन्धरले मोटरसाइकलमा रेडियो नेपाल पुर्‍याए । वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि लोकसेवा आयोग दिएर प्रथम भएका थिए योगेश ।

करिब ३३ वर्ष सरकारी जागिर खाएका योगेश ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए । उनले बेल्जियमको गेन्टको स्टेट युनिभर्सिटीबाट पनि फुड एन्ड न्युट्रेसनमा स्नातकोत्तर गरेका थिए । शुक्रबार पशुपतिमा उनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । उनका दुई छोरी र एक छोरा छन् ।

युगाण्डामा रहेका नेपालीहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया

असंलग्न राष्ट्रहरूको आन्दोलन नाम को उन्नाइसौँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डाको कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युगाण्डामा रहेका नेपालीहरूसँग भेट गरेका छन् ।

भेटघाटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको बताउँदै यहाँ रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताए ।प्रधानमन्त्रीले भने युगाण्डामा मेरो पहिलो भ्रमण हो। तपाईहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ। यहाँ तपाईहरूले केही कुरा उठाउनुभयो। ती महत्वपूर्ण छन्। हिजोमात्रै मैले भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरिएको छ। केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदुतहरू बोलाएर कुरा गरिएको छ। विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन सक्दैन। विदेशमा रहेका नेपालीहरूका दुखकष्ट बुझ्ने अवसर पनि पाएँ ।

कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले युगाण्डामा रहेका नेपालीहरूले देशको अवैतनिक राजदुतका रूपमा काम गरिरहेको बताउँदै नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको विम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न अपील गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युगाण्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्री लगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभावकत्व महसुस भएको बताए ।

सो कार्यक्रममा गैरआवासीय संघका युगाण्डाका संरक्षक रमेश कंडेलले युगाण्डामा ३५० जनाभन्दा बढी नेपाली रहेको, विगत ३० वर्षदेखि नेपालीहरूले युगाण्डाको विकास निर्माण र व्यापार व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको बताउँदै युगाण्डामा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी गराएका थिए ।

उक्त भेटघाटमा प्रधानमन्त्री प्रचण्डसँगै छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। रूपक सापकोटा, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायत उपस्थित थिए ।

एसियन कप फुटबल उज्वेकिस्तानले भारतलाई हरायो अस्ट्रेलिया अन्तिम १६ मा

एएफसी एसियन कप फुटबलमा उज्वेकिस्तानले भारतलाई हराएको छ ।
कतारको अहमेद बीन अलि स्टेडियममा गएराति भएको समूहबीु को खेलमा उज्वेकिस्तानले भारतलाई ३–० गोलले हराएको हो।

जारी प्रतियोगितामा भारतको यो दास्रो हार हो । पहिलो खेलमा अस्ट्रेलियासँग भारत २–० गोलले हारेको थियो ।

यसअघि हिजै भएको समूह बीु को अर्को खेलमा अस्ट्रेलियाले सिरियालाई १–० गोलले हराएको थियो । योसँगै अस्ट्रेलिया एसिया कप फुटबलको अन्तिम १६ मा परेको छ । गएराति भएको समूह सीु को खेलमा भने प्यालेस्टाइन र युनाइटेड अरब इमिरेट्स, यूएईले १–१ गोलको बराबरी खेलेका छन् ।

भारतको गुजरातमा डुङ्गा डुब्दा १४ जनाको ज्यान गयो

भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा डुङ्गा डुब्दा १४ जनाको ज्यान गएको छ । छ जना बेपत्ता भएका छन् ।
हिजो भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ ।

डुङ्गामा २७ जना रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ । हराएकाहरुको खोजी भइरहेको खबरमा उल्लेख छ । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

उहाँले मृतकका आफन्तलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ।