११ पुष २०८०, बुधबार १३:०८ – Page 5 – Nagarikabhiyan : National News

भारतमा रहेको इजरायली दूतावास नजिक विस्फोट इजरायलद्वारा ट्राभल एडभाइजरीु जारी

इजरायलले भारतमा रहेको इजरायली दूतावास नजिक भएको विस्फोटलाई ‘सम्भावित आतङ्कवादी हमला’ को संज्ञा दिँदै ट्राभल एडभाइजरी निकालेको छ ।
इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा रहेका आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी निकालेको हो । हिजो नयाँ दिल्लीको चाणक्यपुरीमा रहेको इजरायली दूतावास नजिकै विस्फोट भएको थियो ।

इजरायली दूतावासका प्रवक्ता गाय नीरले दिल्ली पुलिस र सुरक्षा टोलीहरूले विस्फोटको घटनाबारे अनुसन्धान गरिरहेको बताउनुभएको छ । यस्ता घटना फेरि हुने सम्भावना व्यक्त गर्दै इजरायलले ट्राभल एडभाइजरी निकालेको बीबीसीको खबरमा उल्लेख छ ।

सुरक्षा परिषद्ले इजरायली नागरिकहरूलाई भिडभाड हुने ठाउँहरू र विशेषगरी विदेशीहरू, इजरायलीहरू र यहूदीहरूको भ्रमण गर्ने ठाउँहरूमा नजान चेतावनी दिएको छ । इजरायली नागरिकहरूलाई रेस्टुरेन्ट, होटल, पबजस्ता सार्वजनिक ठाउँमा सतर्क रहन पनि अपिल गरिएको छ ।

यस्तै, उनीहरुलाई सकेसम्म आफ्नो पहिचान नखुलाउन र सामाजिक सञ्जालमा आफ्ना यात्राका योजनाहरू आदानप्रदान नगर्न पनि भनिएको छ ।

खेती गर्ने शैली बदलेपछि अलैँचीबाट मनग्य आम्दानी

आधुनिक खेतीप्रणालीको प्रयोगसँगै अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन्। प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियो। मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन। सूर्योदय नगरपालिका–१ बाङ्गिनका बिरेन शेरेङले करिब १०० रोपनी क्षेत्रफलमा अलैँची लगाएका छन्। ‘वर्षमा २७ देखि ३१ मन सम्म उत्पादन हुन्छ, सबै खर्च कटाएर वार्षिक आठ–दश लाख बचत हुन्छ’, उनले भने। अलैँची मासिएर निराश भएको समयमा तालिम लिएर खेती गर्दा पुनः अलैँचीबाट आम्दानी लिन थालेको उनले बताए।जिल्लामा यो वर्ष एक हजार ३२०।५ मेट्रिक टन अलैँची उत्पादन भएको छ। यो अघिल्लो वर्षको तुलनामा ७।९६ प्रतिशतले धेरै हो।

एक हजार ७५३ हेक्टर जमिनमा सो बराबरको अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिए।उनका अनुसार गत आवमा एक हजार २१५।२६ मेट्रिक टनमात्र अलैँची उत्पादन भएको थियो। ‘पोहोर एक हजार ७५५ हेक्टर जमिनमा अलैँचीखेती गरिएको थियोँ, उनले भने, ‘अलैँचीको बगान घटे पनि यस वर्ष उत्पादन र उत्पादकत्व वृद्धि भएको छ। ‘गत वर्ष प्रतिहेक्टर ०।६९ उत्पादकत्व रहेकामा चालु आवमा वृद्धि भएर प्रतिहेक्टर ०।७५ पुगेको उनले बताए।दशकअघि इलामका किसानको मुख्य आम्दानीको स्रोत नै अलैँची थियो। अलैँचीकै आम्दानीले घर खर्च चलाउन मात्र होइन जग्गा–जमिन जोड्नसमेत सहयोग पुगेको थियो। तर अचानक अलैँचीमा रोग देखिएपछि जिल्लाका अधिकांश किसानको रोजीरोटी हरायो। धेरैको आम्दानी ठप्प भयो। विस्तारै अलैँची मासियो तर यसको भाउ भने एकाएक आकाशिएर प्रतिमन एक लाखसम्म पनि पुग्यो।

आवश्यक तालिम र विज्ञको सल्लाह लिएर यहाँका किसानले अलैँचीलाई सुधार गरेर उत्पादन पुरानै अवस्थामा पुर्‍याउने प्रयास थालेका छन्। ‘पाखामा गाडेर मात्र नहुँदोरहेछ, स्याहार गर्न र मलजल गर्न थालेपछि अलैँची सुधार भएको छ’,

हिंसाको भुमरीमा बलात्कृत बालिका र उनीहरुका सन्तान

पोखराको सडकमा एक्लै भौंतारिंदै थिइन् सपना नेपाली। गर्भवती जस्ती देखिने बालिका रुग्ण अवस्थामा देखेपछि स्थानीय एक दम्पतीले उनलाई सहारा दिए। १४ वर्ष नपुगेकी बालिकाले त्यो घरमा खान र बस्न पाइन्।

व्यथा लागेपछि उनलाई अस्पताल लगियो। अस्पतालमा दर्ता गरिएको सपनाको उमेरले उनलाई बालिग देखाउँथ्यो। तर, उनको शारीरिक अवस्था नाबालिग देखिएपछि अस्पतालका कर्मचारीले केरकार गरे। त्यसपछि थाहा भयो, उनी १३ वर्ष नपुग्दै बलात्कारमा परेकी रहिछन्।

अस्पतालले प्रहरीलाई खबर गर्‍यो। बलात्कारका अभियुक्त पक्राउ परे। सपनाको मुद्दा अहिले जिल्ला अदालत कास्कीमा विचाराधीन छ। अदालतको फैसला नआउञ्जेलसम्म उनलाई एउटा गैरसरकारी संस्थाले आश्रय दिएको छ। फैसला आएपछि उनी कहाँ जाने, के गर्ने केही थाहा छैन।

बलात्कार पीडितलाई समाजमा पुनस्र्थापनाको प्रयास गर्नु परिवार, समाज र राज्यको दायित्व हो। न्यूनतम मानवीय संवेदना पनि यही हो। तर, नेपालमा न कसैले यो दायित्व निर्वाह गरिरहेको छ न त सपनाको अभिभावकत्व ग्रहण गर्ने नै कोही छ।

पुस महिनाको पहिलो साता संरक्षण गृहको आँगनमा उदास देखिएकी सपनाले काखको छोरातर्फ संकेत गर्दै भनिन्, “म यत्रै छँदा आमाले छाडेकी हुन्। सधैं रक्सी खाएर घर आउने बुवाले पिट्थे।

तीनै बुवाले पनि घरमा अर्की महिला भित्र्याएपछि सपनाले गाउँ छाडिन्। हातमा एक पैसा थिएन, सोधखोज गर्ने कोही भएन। काम खोज्ने क्रममा शहरको सडकमा कैयौं रात बिताएपछि उनले होटलमा काम पाइन्। तर, तीनै होटल साहुबाट बलात्कृत हुनुपर्‍यो।

१४ वर्ष पनि नपुगेकी बालिका यति त्रासमा थिइन् कि, न भाग्न सकिन्, न त प्रतिकार गर्न नै। अलिक हिम्मत जुटाएर एक दिन साहुनीलाई सबै कुरा सुनाइन्। तर, साहुनीले उल्टै होटलबाट निकालिदिइन्। एकातिर खाने–बस्ने ठाउँ छैन, अर्कोतिर पेटको आकार बढ्दैछ। निराश, हतास उनी आफन्त खोज्दै मावली पुगिन्।

मामाले उनको पेटमा लात्ती बजारे। त्यसपछि फेरि उनी सडकमा पुगेकी हुन्– पेटभित्र बच्चा बोकेरै। त्यसैबेला हो– पोखराका दम्पतीले उनलाई घर लगेको।

सपनालाई घरमा ल्याएका पोखराका ती दम्पतीका एक मात्र सन्तान अपाङ्गता भएका छन्। उनीहरूमा सपना सुत्केरी भएपछि शिशुलाई आफैंले लिने चाहना थियो। त्यसैले उनीहरू सपनाको उमेर बढाएरै विना कुनै झन्झट शिशु आफूसँग राख्न चाहन्थे। त्यसो हुन नसकेपछि उनीहरूले पनि पिठ्यूँ फर्काए।

संरक्षण गृहमा रहेकी सपना असाध्यै न्यास्रो लाग्दा मावली हजुरआमालाई फोन गर्छिन्। वृद्धावस्थाकी हजुरआमा उनलाई भेट्न आउन सक्दिनन्, उनी मावली जान पाउँदिनन्।

सपनाकै उमेरका बालिकाहरू विद्यालय गइरहेका छन्। तर उनलाई आफ्नो नाम समेत राम्रोसँग लेख्न आउँदैन।

बालुवाटारमा समाजवादीको मोर्चाको बैठक

समाजवादी मोर्चाको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलीय समाजवादी मोर्चाको बैठक सुरू भएको हो ।
केही बेरअघि सुरू भएको बैठकमा समाजवादी मोर्चाको संरचना विस्तार आगामी कार्ययोजनाबारे छलफल भइरहेको बताइएको छ ।

पछिल्लो समय निष्क्रिय रहेको मोर्चालाई क्रियाशील तुल्याउन घटक दलहरू सक्रिय भएको छन् ।

२०८० असार ४ गते नेकपा माओवादी केन्द्र जसपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले समाजवादी मोर्चा गठन गरेका थिए । मोर्चाको पहिलो बैठक असार २३ गते बसेको थियो ।
मोर्चाले यसअघि सातै प्रदेशमा सभा आयोजना गरेर मोर्चा गठनको औचित्य बताइसकेको छ । त्यस्तै जिल्ला–जिल्ला र पालिका तहसम्म संगठन विस्तार गर्ने उसको लक्ष्य छ ।

चिउरी र चमेरो संरक्षण गर्दै बाग्मती प्रदेश ५० लाख रुपैयाँ बजेट विनियोजन

चेपाङ समुदायको उत्थानका लागि बाग्मती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ । प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङका छ पालिकामा यो कार्यक्रम लागू गर्ने तयारी गरेको छ ।

चेपाङ समुदायको बसोबास रहेको चितवनको राप्ती र कालिका नगरपालिका, चितवनको इच्छाकामना, मकवानपुरको राक्सिराङ तथा धादिङको गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा कार्यक्रम लागू गर्न लागिएको सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख गोपालप्रसाद कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले कार्यविधि निर्माण गरेर अर्थ मन्त्रालयमा पठाएको छ । मन्त्रिपरिषदबाट कार्यविधि पारित भएपछि कार्यान्वयनका लागि पालिकामा बजेट पठाइने उहाँले बताउनुभयो ।

प्रदेश सरकारले यस वर्ष चिउरी र चमेरो संरक्षणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो कार्यक्रम आर्थिक तथा सामाजिकरूपमा विपन्न तथा पिछडिएका सीमान्तकृत चेपाङ समुदायको जीविकोपार्जनका साथै आर्थिक तथा सामाजिक क्षेत्रमा जीवनस्तर सुधार गर्नका लागि महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो । कार्यक्रमले चेपाङ समुदायको आर्थिक तथा सामाजिक क्षेत्रमा सशक्तीकरण गर्नुका साथै परम्परादेखि जोडिएको चेपाङ चिउरी र चमेरोबीचको पारिस्थितिक प्रणाली सुदृढ पार्न सहयोग पुर्याउने विश्वास लिइएको छ ।

कार्यक्रम पालिकाको २० प्रतिशत साझेदारीमा लागू गरिने सामाजिक विकासमन्त्री कुमारी मोक्तानले बताउनुभयो । चिउरीको नर्सरी स्थापना, वृक्षरोपण, सचेतनामूलक कार्यक्रम, मौरीपालन व्यवसायको प्रवर्द्धन, चिउरीको मह र दानाको बजारीकरण यस कार्यक्रममार्फत हुने उहाँको भनाइ छ । चेपाङ समुदायलाई कार्यक्रममार्फत दिगो अर्थोपार्जनको स्रोतको व्यवस्था गरिने उहाँले बताउनुभयो । उहाँले कार्यक्रम कार्यान्वयनका लागि चार चरणमा छलफल भएको भन्दै सबैको सुझाव र सल्लाहका आधारमा कार्यान्वयनमा लैजाने बताउनुभयो ।

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चेपाङ समुदायको संरक्षणसँगै चिउरी र चमेराको समेत संरक्षण गरिने बताउनुभयो । प्रदेश सरकारले ल्याएको यो कार्यक्रम नमूना कार्यक्रम भएकाले सबै पालिकासँग समन्वय गरेर काम गरिने उहाँले बताउनुभयो । ुराज्यले सबै जातजाति, कला र संस्कृतिको संरक्षण गर्ने भनेको छ चेपाङ समुदाय त यसै पनि पछाडि परेकाले हाम्रो विशेष प्राथमिकता हुनुपर्छु, उहाँले भन्नुभयो । स्थानीय सरकार र समुदायको सहभागिताबिना कार्यक्रम सफल नबन्ने भन्दै उहाँले लक्षित क्षेत्रका बासिन्दालाई लाभ हुनेगरी योजना निर्माण गरिने बताउनुभयो ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले प्रदेश सरकारले लागू गर्न खोजेको कार्यक्रम महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले चेपाङ समुदायको संस्कार, संस्कृति र आयआर्जनसँग जोडेर यो कार्यक्रम लागू गरिनुपर्ने बताउनुभयो ।

श्रम र रोजगारीको क्षेत्रमा सरकारको एक वर्ष र प्रधानमन्त्रीको नयाँ घोषणा

काठमाण्डाै –प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउने घोषणा गर्नुभएको छ ।
आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा मङ्गलवार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उहाँले यस्तो घोषणा गर्नुभएको हो ।

यस्तै, उहाँले माघ मसान्तभित्र सबै जिल्ला प्रशासन कार्यालयमा थप जनशक्तिको व्यवस्था गरी राष्ट्रिय परिचयपत्र र राहदानी प्राप्त गर्ने समयावधि छोट्याइने पनि बताउनुभएको छ । प्रधानमन्त्रीको नयाँ घोषणामा अनलाइनबाटै राहदानी वितरण गर्ने र वैदेशिक रोजगारीको प्रक्रियालाई पूर्ण अनलाइन गरी बैंकिङ प्रणालीसँग जोड्ने उल्लेख छ ।

यस्तै, प्रधानमन्त्रीले चैतभित्र सबै सरकारी कार्यालय, संस्थान र प्रतिष्ठानमा कार्यरत करार र ज्यालादारी कर्मचारीलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गरिसक्ने दाबी गर्नुभएको छ । रेमिट्यान्सँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउनेतर्फ केन्द्रित हुने प्रधानमन्त्रीको भनाइ छ । वैदेशिक रोजगारीको क्षेत्रमा धेरै सुधारका काम गरेको दाबी गर्दै उहाँले अबको ध्यान यसतर्फ केन्द्रित हुने पनि बताउनुभएको छ ।

श्रम स्वीकृति र पुनःश्रम स्वीकृति कार्यलाई पूर्णरूपमा अनलाइन गरिएको, २ वर्षे सीमालाई परिमार्जन गरी करार अवधि बमोजिम नै श्रम स्वीकृति दिने व्यवस्था भएको, विदेशमा रहेका नियोगबाटै पुनःश्रम स्वीकृति प्रदान गर्ने व्यवस्थादेखि टेलिमेडिसिन सेवासम्म उपलब्ध गराएको, वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रण एवम् राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन मार्सल टिम, शीघ्र प्रत्युत्तर टोली, चौबीसै घण्टा गुनासो सुन्नेगरी श्रम कल सेन्टर सञ्चालनमा ल्याएर यस क्षेत्रको केही सुधार गरेको प्रधानमन्त्रीको दाबी छ ।

प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख भएका श्रम र रोजगारी क्षेत्रमा भएका काम यस्ता छन् स्

श्रम अदालत नियमावली, २०८०स श्रम पहिलो संशोधन नियमावली, २०८०स श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको पाँच वर्षे, रणनीतिक योजना तथा एकीकृत श्रम र रोजगार सेवा सञ्‍चालन र व्यवस्थापन कार्यविधि, २०८० र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन आदेश, २०८० स्वीकृत गरी लागू गरिएको।

विदेशी श्रमिकहरूलाई श्रम इजाजत दिने कार्यलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आधारित बनाइएको।

वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई दिइने श्रम स्वीकृति, पुनस् श्रम स्वीकृति सेवा र वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने सेवाहरू पूर्णरूपमा अनलाइन प्रणालीबाट दिने कार्यलाई प्रभावकारी बनाइएको।
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई दिइँदै आएको २ वर्षे श्रम स्वीकृतिको सीमालाई परिमार्जन गरी करार अवधि बमोजिम नै श्रम स्वीकृति दिने व्यवस्था गरिएको। पुनःश्रम स्वीकृति लिन नेपाल आउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न विदेशस्थित नियोगबाटै पुनःश्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरिएको।

शिक्षकको हत्यामा संलग्न रहेको आरोपमा भारतीय एक युवक पक्राउ

बाराको एक निजी विद्यालयका प्रधानाध्यापकको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय युवालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको मोतिहारी सुकलहियाका २५ वर्षीय सुजितकुमार सिंह रहेका प्रहरीले जनाएको छ । सिंहलाई विश्रामपुर गाउँपालिका–३ सीमा नजिकैबाट दुई राउन्ड गोली हानेर पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।

सिंहको दुईवटै खुट्टामा गोली लागेको छ । उनको कलैया अस्पतालमा उपचार भैरहेको छ । सिंहको साथबाट एक थान पेस्तोल र तीन राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । गएको असोज १३ गते कलैयाको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको गोली हानी हत्या भएको थियो ।

बारामा गोली हानेर भारतीय सार्प सुटर पक्राउ

बारा प्रहरीले गएराति एकजना भारतीय सार्प सुटर लाई गोली हानेर नियन्त्रणमा लिएको छ ।
भारतको मोतिहारी घर भएका २५ वर्षीय सुजितकुमार सिंहलाई बाराको बिश्रामपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मंगलबार राति आठ बजे विश्रामपुर गाँउपालिका(३ मा खुट्टामा गोली हानेर प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ गर्न लाग्दा भागेपछि गोली प्रहार गर्नुपरेको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

उनका साथबाट प्रहरीले एक थान पेस्तोल र २ राउण्ड गोलीसमेत बरामद गरेको छ ।
गएको कात्तिक दोस्रो साता सिंह सहितको समूहले बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्या गरेको प्रहरीले जनाएको छ । यसका अतिरिक्त बारामा भएका अरू घटनामा पनि संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको प्रवक्ता न्यौपानेले बताए ।

क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ अन्तिम फैसला आज

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आजका लागि पेसी तोकिएको छ।

जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो। आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो।

यसअघि गत मङ्सिर २४ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए। सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नु पर्नेछ।

भिर बाट लडेर एकजनाको मृत्यु

डोल्पामा लडेर एक जनाको मृत्यु भएको छ।
दुनै सदरमुकामदेखि नजिकै रहेको तिप्ला गाउँमा गएराति करिब साढे ८ बजे भिरालो बाटोबाट खसेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी शिव बुढाथोकीले जानकारी दिए।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ स्थायी घर भई डोल्पाको सदरमुकाममा बस्दै आएका २८ वर्षीय काबिर अन्सारीको मृत्यु भएको बुढाथोकीले बताए। अन्सारी दुनै र आसपासका गाउँघरमा सिकर्मीको काम गर्दै आएको प्रारम्भिक अनुसन्धानमा थाहा भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

तीन प्रदेशमा आज हिमपातको सम्भावना

कोशी बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली अहिले छ। बाँकी भूभागको मौसम सामान्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि यी तीन प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ। राति कोशी र बागमती प्रदेशको पहाडी भू९भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सुझाव दिएको छ।

भत्ता वितरणको सम्झनामा आज जेष्ठ नागरिक दिवस मनाइँदै

आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस। नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने दिनको अवसरमा जेष्ठ नागरिक दिवस मनाउन थालिएको हो।
राष्ट्रिय ज्येष्ठ नागरिक कोषको पहलमा २०७८ सालदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो। विसं २०५१ साल पुस ११ गते नेकपा एमाले नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ।

२०५१ सालमा मनमोहन अधिकारी सरकारले ७५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई प्रतिमहिना १ सय रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिन सुरू गरेको थियो। एक सयबाट सुरु भएको मासिक भत्ता सरकारले अहिले ४ हजार पुर्‍याएको छ।

तत्कालीन भरतमोहन अर्थमन्त्री अधिकारीले २०५१९५२ को बजेटमा सुरु गर्दा मासिक बृद्धभत्ता सय रुपैयाँ थियो। २०६० सालमा अधिकारीले वृद्धभत्ता वृद्धि गरि मासिक १७५ रुपैयाँ पुर्‍याएका थिए। २०६५ सालमा बाबुराम भट्टराईले भत्तामा भारी वृद्धि गरि मासिक ५ सय रुपैयाँ पुर्‍याए।

२०७१ सालमा कांग्रेसका अर्थमन्त्री डाक्टर रामशरण महतले एक हजार पुर्‍याएका थिए। अर्को वर्ष २०७२ सालमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक हजार रुपैयाँ वृद्धिगरि मासिक दुई हजार पुर्‍याए।

उक्त रकमलाई २०७६ सालमा अर्थमन्त्री डाक्टर युवराज खतिवडा अर्थमन्त्री हुँदा भत्ता तीन हजार बनाएका थिए। आर्थिक वर्ष २०७८ मा तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएर ४ हजार पुर्‍याएका थिए। त्यसपछिको सरकारले भने भत्ता बढाएको छैन।

विश्वमा भने संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ लाई अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको रुपमा मनाउने गरिन्छ।

विश्वमा प्रत्येक सेकेण्डमा दुई जना ६० वर्षे ज्येष्ठ नागरिकमा प्रवेश गर्ने तथ्यांक छ। अहिले विश्वमा ९० करोडको हाराहारीमा ज्येष्ठ नागरिक रहेका छन्।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि शुरु

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज शुरु हुँदै छ। बैठक पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे शुरु हुनेछ।

शुक्रबारसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने महासचिव घनश्याम भुसालले जानकारी दिए। उनका अनुसार देशभर पार्टी संगठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल हुनेछ ।

बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने भुसालले बताए। आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्ने, संगठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापना गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्ने उनले जानकारी दिए।

अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांगठनिक प्रतिवेदन पेश गर्नेछन्। विधान संशोधन गर्न आगामी माघ १४ र १५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्न लागिएको पार्टी कार्यालयले जनाएको छ।

लिभरपुल प्रियिमर लिगको शीर्षस्थानमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई हरायो

लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बर्नलीलाई २–० गोलले हराउँदै लिभरपुल शीर्ष स्थानमा पुगेको हो । उसका डार्विन नुनेजले खेलको शुरुवाती छैटौँ मिनेटमा नै गोल गरी अग्रता दिलाए ।

त्यस्तै, खेलको अन्तिम समयमा डिएगो जोटाले गोल थपे । जितसँगै लिभरपुलले १९ खेलमा ४२ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको आर्सनलको १८ खेलमा ४० अङ्क छ । लिभरपुलसँग पराजित बर्नली १९ खेलमा ११ अङ्ककासाथ पुछारबाट दोस्रोमा छ ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एस्टनभिल्लालाई ३–२ गोलले हराएको छ । युनाइटेडसँग हारेको एस्टन १९ खेलमा ३९ अङ्ककासाथ तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा ३१ अङ्क रहेको युनाइटेड छैटौँ स्थानमा छ ।

त्यस्तै, गएराति भएका अरु खेलमा बर्नमाउथले फुलहमलाई ३–० गोलले, लुटन टाउनले सेफिल्ड युनाइटेडलाई ३–२ गोलले र नटिङ्घम फरेस्टले न्युक्यासललाई ३–१ गोलले हराएको छ ।

कारागारमा कैदीको मृत्यु प्रकरण मिटरब्याजले व्यवहार खायो कारागारले ज्यान

विराटनगर–१० का ४८ वर्षीय चण्डेश्वर सहनी दश महिना २२ दिनको कैद भुक्तान गरेर सोमबार घर फर्कने दिन थियो । मिटरब्याजीको जालमा परेर उनी मोरङ कारागार पुगेका थिए । उनको अपराध भनेको ठेला छोडेर सिटी किन्न ऋण लिनु थियो ।
सहनी विरुद्ध लेनदेन ठगी मुद्दा थियो । मोरङ जिल्ला अदालतको २०७८ मंसिर २० गतेको फैसला अनुसार उनलाई दोषी ठहर गरिदिएको थियो । त्यहि आधारमा उनलाई प्रहरीले २०७९ माघ १७ गते पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो । फैसला अनुसार उनी कारागार चलान भएका थिए । कैद भुक्तानपछि सोमबार घर फर्कन्थे ।

अपसोच १ घर फर्कने दिन नै कोशी अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको खबर परिवारलाई दिईयो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको दावी कारागार प्रशासनले गर्दै आएको छ । तर, आफन्तले भने शुक्रबारसम्म राम्रो अवस्था रहेको व्यक्ति एक्कासी सोमबार बिहान ‘मृत्यु भयो’ भनेर घरमा फोन गरिनुलाई शंकास्पद रुपमा लिएका छन् ।

मृतक सहनीकी छोरी पुजाका अनुसार ठेला चलाएर परिवार पालिरहेका बुबालाई विराटनगर–१० का दुर्गीनारायण साहले टेम्पो किन्न सुझाव दिएका थिए । दुईलाख पैसा पनि साहले नै दिए । तर, ऋण भुक्तानको प्रणालीमा मिटरब्याज जडान भएपछि सहनीले साहसँग घुँडा टेक्नु परेको थियो । त्यहि कारणले उनको व्यवहार डुब्यो, दैनिकी कारागार पुग्यो र ज्यान गयो ।

पुजाका अनुसार दुई लाख रुपैयाँ लिएको ऋण चार लाख बुझाउँदा समेत साहले टेम्पो जफत गरेर लिएका थिए । एउटा एलसिडी टिभी समेत उनले लगेका थिए । बारम्बार पैसा बुझाएर सकार गर्दा समेत नसकिएपछि उनले मुद्दा हाले । दोषी ठहर भएपनि सहनी कारागार चलान भए ।
छोरी पुजाले मंगलबार मुख्यमन्त्री केदार कार्कीको हात समाएर भनिने–‘हामीलाई न्याय दिनु, पहिले बिचल्ली बनायो, अहिले ज्यान लियो ।’ उनले बुबाको मृत्यु नभई हत्या भएको दावी गरिन् । कारागार प्रशासनले समेत बिरामी भएर अस्पताल भर्ना गरेको जानकारी नदिएको र मृत्यु भएपछि मात्रै फोन गरेको उनको आरोप छ ।

बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट श्रीमानसहित ७ जना पक्राउ

सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ । लेनदेनको विषयलाई लिएर कमलामाई नगरपालिका–४, मा स्थानीय शारदा थापामाथि कुटपिट भएको हो । उनलाई बिजुलीको पोलमा बाँधेर कुटपिट भइरहेको भन्ने जानकारी प्रहरीले आइतबार पाएको थियो। उक्त खबर पाएपछि जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी राजकुमार सिलवाल नेतृत्वको टोली खटिएको थियो।

बाँधेर राखेकै अवस्थामा हामीले उद्दार गरेर ल्याएर सेफ होममा राखेका छौं, गाउँबाट उनका श्रीमानसहित ७ जनालाई पक्राउ गरेका छौं’, सिलवालले अ भने, ‘उद्दार गरेर ल्याउँदा उहाँ बेहोस अवस्थामा हुनुहुन्थ्यो, शरीरमा निलडामहरु थिए ।

आइतबार अपराह्न साढे ४ बजे प्रहरी घटनास्थलमा पुगेर प्रहरीले शारदाको उद्धार गरेको हो। उद्धार गरेपछि प्रहरीले उनलाई सेफ हाउसमा राखेको छ। प्रहरी पुग्दा भने शारदा अचेत अवस्थामै फेला परेको एसपी सिलवालले बताए । त्यसपछि उनको उपचारको लागि सिन्धुली अस्पताल पुर्‍याइएको थियो ।

प्रहरीका अनुसार, उनका श्रीमान् सन्तोष थापाले गाउँका केही व्यक्तिहरुसँग ऋण लिएका थिए । पहिले जग्गाको कारोबार गर्ने उनको पछिल्लो समय कारोबारमा समस्या आएको थियो । त्यहीबेला श्रीमती शारदाले पनि डिभोर्स गर्नलाई अदालतसम्म पुगेकी थिइन् ।

त्यसपछि श्रीमान् सन्तोष समेत भएर गाउँका अन्य व्यक्तिहरुले उनलाई बाँधेर कुटपिट गरेको पाइएको एसपी सिलवालको भनाइ छ । केही दिनअघि पनि शारदाले आफूलाई श्रीमानले अपहरण गरेको भन्दै प्रहरी कहाँ जानकारी गराएकी थिइन् । आफूलाई सिस्नु पानीले हान्ने गरेको समेत उनले प्रहरीलाई बताएकी थिइन् । तर, त्यसपछि उनको मोबाइल समेत अफ भएको थियो ।

यस घटनापछि प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। शारदाका श्रीमान सन्तोष थापासहित अन्य स्थानीयहरू पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरीले मंगलबार म्याद थप गर्ने तयारी गरिरहेको छ। शारदा आफ्ना छोरासँग काठमाडौंमै बस्दै आएकी थिइन्।