१२ पुष २०८०, बिहीबार १५:३७ – Page 4 – Nagarikabhiyan : National News

पोखरा विमान दुर्घटना मानवीय त्रुटिकै कारण भएको निष्कर्ष

गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ। विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ।

पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको छ।

पोखरामा गत वर्ष माघ १ गते विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मतसम्भार विषयका इन्जिनियर एकराज जंग थापा र आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने थिए।

प्रतिवेदन बुझ्दै मन्त्री किरातीले आयोगले दिएको सुझाव कडाइका साथ कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिए।

 

राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारको मनोनयन तयारी

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरेको छ ।
आयोगबाट स्वीकृत निर्वाचन कार्यतालिकाबमोजिम मनोनयनपत्र दर्ताका लागि उम्मेदवारले संलग्न गराउनुपर्ने कागजातबारे आयोगले स्पष्ट गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर पेस गर्नुपर्ने छ ।

महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । आर्थिकरूपमा विपन्न भएको भनी सम्बन्धित स्थानीय तहको सिफारिसपत्र संलग्न हुनुपर्नेछ ।

मनोनयनका लागि दलको उम्मेदवारको हकमा उम्मेदवार मनोनयनको औपचारिक पत्र, दलित समूहबाट उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानुनबमोजिम अधिकारप्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा आवश्यक पर्नेछ ।

अपांगता भएका वा अल्पसंख्यक समुदायबाट उम्मेदवारी दिने व्यक्तिले नेपाल सरकारको अधिकारप्राप्त निकायले दिएको अपांगताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ । साथै अल्पसंख्यक समुदायको व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानुनबमोजिम अधिकारप्राप्त निकायले दिएको अल्पसंख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा संलग्न हुनुपर्नेछ ।

यस्तै प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचकमण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण, मतदाता नम्बर पनि उल्लेख गर्नुपर्नेछ ।

साथै, घर सङ्ख्या, घर रहेको स्थान तथा जग्गाको विवरण खुलाइएको उम्मेदवारको सम्पत्ति विवरण, कुनै संघीय कानुनले अयोग्य नभएको भनी गरेको स्वघोषणापत्र, निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदबाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने कुनै लाभको पदमा बहाल नरहेको भनी गरेको स्वघोषणापत्र पनि आवश्यक पर्ने आयोगले जनाएको छ ।

उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा बहालवाला पदाधिकारी भए निजले बहाल रहेको पदबाट राजीनामा दिएको दर्ताको निस्सा, गत प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम फिर्ता लिएको आयोगको पत्रको प्रतिलिपि पनि संलग्न गर्नुपर्ने आयोगले जनाएको छ ।

आगामी फागुन २० गते राष्ट्रियसभामा निर्वाचित १९ र राष्ट्रपतिबाट मनोनित एक सदस्यको कार्यकाल सकिँदैछ ।

इभर्टनमाथि म्यानचेस्टर सिटीको सानदार जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ। नेपाली समयानुसार बुधबार राति भएको खेलमा सिटीले इभर्टनमाथि ३–१ गोल अन्तरको जित निकाल्यो।
खेलको सुरुवाती अग्रता इभर्टनले लिए पनि जोगाउन सकेन। २९ औं मिनेटमा हरिसनको गोलबाट इभर्टनले अग्रता लिएको थियो। तर दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै सिटीले जित निकाल्यो।

५३औं मिनेटमा बर्नाडो सिल्भाको पासमा फिल फोडेनले गोल गर्दै सिटीलाई बराबरीमा ल्याएका थिए।
६४ औं मिनेटमा पेनाल्टीमार्फत् अल्भारेजले गोल गरेपछि सिटीले २–१ को अग्रता बनायो। ६४औं मिनेटमा सिल्भाले गोल गरेपछि सिटीले ३–१ को जित निकाल्यो।

जितसँगै १८ खेलबाट ३७ अंकका साथ सिटी चौथो स्थानमा उक्लिएको छ। प्रिमियर लिगकै अर्को खेलमा वुल्भ्सले ब्रेनफोर्डलाई ४–१ गोल अन्तरले हरायो।

सुदूरपश्चिमले कोशी प्रदेशलाई ११९ रनको चुनौति दियो

प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोसी प्रदेशलाई जीतका लागि एक सय १९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट गुमाउदै एक सय १८ रनको योगफल बनायो । सुदुरपश्चिमका लागि बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन । उनले ३९ बल खेल्दै पाँच चौका प्रहार गरिन् । त्यसैगरी सम्झना खड्काले २७ रन जोडिन भने कविता जोशीले २६ रन बनाइन । रेवती धामीले २० तथा रुबी पोडारले २ रन बनाइन ।

कोसी प्रदेशका लागि सबनम राई र अपसरी बेगमले समान एकरएक विकेट लिए । अहिले कोशी प्रदेश जवाफी ब्याटिङमा उत्रेको छ ।

 

अहिले नै निरास भइहाल्नुपर्ने स्थिति छैन पोखरेल

नेकपा एमाले की नेत्री एवं प्रतिनिधिसभा सदस्य मेनका पोखरेललाई सरकारको नेतृत्व गरिरहेका पहुँचवाला नेताहरूले आ–आफ्नो जिल्लामा बढी बजेट छुट्याउने तर विकासको प्रतीक्षामा बसेका र कतै पहुँच नभएका भुइँमान्छेलाई बेवास्ता गर्ने परिपाटी गलत लाग्छ ।

यो प्रवृत्ति सही होइन भन्नेमा देशभित्र निरन्तर बहस हुँदै आएको छ । सरकारको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएलगत्तै हरेक वर्ष यो विषय सर्वत्र उठ्ने र आलोचना हुने गरेको पाइन्छ । पहुँचवाला सांसदका जिल्ला र निर्वाचन क्षेत्रमा हचुवाका भरमा बजेटको ठूलै हिस्सा लैजाने होड चलेको हुन्छ । राज्यका निकायमा पहुँच नपुग्ने जनप्रतिनिधिका जिल्लामा विकासको आशामा जनता बस्नुपर्ने अवस्था अहिले पनि विद्यमान छ ।

शक्तिको आडमा यसरी आ–आफ्नो जिल्लामा बजेट लैजाने अभ्यास प्राकृतिक न्यायको हिसाबले पनि ठीक होइन सांसदसँग रासस संवाद’मा नेत्री पोखरेलले भनिन् विकासको आधारभूत आवश्यकता भएको स्थानमा विकास बजेट छुट्याउनुपर्छ, तर विडम्बना पहुँच र शक्तिका आधारमा बजेट छुुट्याएको पाइन्छ ।

मुलुकमा सङ्घीयता आएर संविधान जारी भएको यतिका वर्ष बितिसक्दा पनि प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्ने ठाउँमा स–साना टुक्रे योजनाका फाइल बोेकेर सङ्घीय सांसद मन्त्रालय–मन्त्रालय धाउनु सांसद पोखरेललाई सही लाग्दैन । यही मनोदशा प्रदेश सांसदको पनि सुनिएको छ ।

सैद्धान्तिकरुपमा भन्नुपर्दा सङ्घका सांसदले कानुन निर्माण गर्ने र त्यसको कार्यान्वयन भए–नभएको अनुगमनमा ध्यान दिने हो, स्थानीय तहको विकासका लागि उनीहरूलाई नै जिम्मा दिनुुपर्ने हो उनले थपिन् राष्ट्रिय सरोकारका विषयलाई मात्रै सङ्घका सांसदले जिम्मेवारी बहन गर्नुपर्ने हो

सङ्घीय सरकारले प्रदेश र स्थानीय निकायमा योजना कार्यान्वयन गर्ने जनाउँदै हचुवाका भरमा आफूखुसी रकम विनियोजन गरेको देखिएको छ । निर्वाचित जनप्रतिनिधिमार्फत आफ्ना गाउँठाउँको विकासको कुरा केन्द्रमा पनि पुगोस् भन्ने स्थानीयको माग हुन्छ जुन स्वभाविक पनि हो, नेत्री पोखरेलले भनिन् ।

हुनतः सांसद भनेको विकास निर्माणमा पनि ध्यान दिने जनताको दुःखसुखमा हातेमालो गर्ने प्रतिनिधि पनि हुन्, उनले थपिन्, देशमा सुशासन, विकास र समृद्धिका लागि कानुन बनाउने, नीति तर्जुमा गर्ने र निगरानी गर्ने प्रतिनिधि नै सांसद हुन् ।

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौँ – आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन २ सय रुपैयाँले बढेर १ लाख २० हजार ७ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार १ सय रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १४ सय ७५ रुपैयाँ कायम भएको छ ।

भिरबाट ट्याक्टर खस्दा चालकको मृत्यु

संखुवासभाको मकालु गाउँपालिका ५ स्थित ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु भएको छ ।
बुधबार दिउँसो ४ बजे को. २ त ८२३९ नम्बरको ट्रयाक्टर मकालु- १ मा निर्माण भईरहेको पर्खालको लागि सिमेन्ट बोकी जाने क्रममा वालुङको दिङसुमा भन्ने ठाँउमा अचानक भिरबाट अन्दाजि ३५ मिटर तल खसि दुर्घटना हुँदा ट्रयाक्टर चालक स्थानीय २७ बर्षीय तिर्थ बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

घटना स्थलमा प्रहरीको टोली खटिगई उक्त शवलाई सम्पूर्ण कानुनी प्रकृया पश्चात पोष्टमाटमको लागि जिल्ला अस्पताल खाँदबारी पठाईएको थियो।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि

प्रधानमन्त्रीले मन्त्रीहरु हेरफेर गर्ने सङ्केत गरिरहेका बेला सत्तारुढ मुख्य दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बस्ने बैठकमा मुख्यगरी मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने कांग्रेसको तयारी छ । बैठकमा पार्टीबाट मन्त्री भएकाहरुले आफूले गरेका कामबारे जानकारी गराउँदैछन् ।

साथै महासमिति बैठकको तयारी र राष्ट्रिय सभा चुनावलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुने कांग्रेसले जनाएको छ ।

परशुराम तिर्थमा आध्यात्मिक प्रवचन तथा सास्कृतिक कार्यक्रम हुने

सुदूरपश्चिमकै प्रसिद्द धार्मीक स्थल परशुराम तिर्थमा आध्यात्मिक प्रवचन तथा सास्कृतिक कार्यक्रम हुने भएको छ ।
डडेल्धुराको परशुराम नगरपालीका ५ परीगाउँमा अवस्थित भगवान परशुरामको जन्मस्थल परशुराम तिर्थमा मकर संक्रान्तिका दिन आध्यात्मिक प्रवचन तथा सास्कृतिक कार्यक्रम हुने भएको हो ।

विश्व हिन्दु युवा संघ डडेल्धुराको आयोजनामा यहि पौष २९ गते र माघ १ गतेका दिन मकर महास्नानको अवसरमा मकर मेलालाई उत्सवका रूपमा मनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको विश्व हिन्दु युवा संघ डडेल्धुराका अध्यक्ष मोहन ऐर रोहन ले बताए ।

आज बुधबार बसेको विश्व हिन्द युवा संघको बैठकले उक्त कार्यक्रम गर्ने सम्बन्धमा निर्णय गरेको हो । सास्कृतिक कार्यक्रमका लागि विभिन्न निकायसंग आर्थिक, भूौतिक, नैतिक सहयोगका लागी पनी अनुरोध गरीएको छ।

परशुराम तिर्थमा आयोजना हुने आध्यात्मिक प्रवचन तथा सास्कृतिक कार्यक्रममा विभिन्न व्यक्तीहरुबाट आध्यात्मिक प्रवचन, परशुराम तिर्थमा अखण्ड ध्वनी भजन कृतन रहने पनी अध्यक्ष ऐरले बताए।

साथै आज बसेको बैठकमा केही दिन अगाडि भारतको पिथौरागढबाट एकलभव्यको देश कविता भन्ने कृति कविताबाट सम्मानित हुनुभएका विश्व हिन्दू युवा सङ्घका केन्द्रीय सदस्य कैलाश कुमार पाण्डेय र विश्व हिन्दु युवा संघ डडेल्धुरा का सल्लाहकार जनक बिस्ट लाई विश्व हिन्दु युवा संघ जिल्ला कार्यसमिति डडेल्धुराद्वारा प्रशंसा पत्र र खादामाला लगाई सम्मान गरिएको छ ।

पुस २६ गतेदेखि अत्तरियामा महोत्सव सञ्चालन हुने

कैलालीको अत्तरियामा पुस २६ गतेदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सञ्चालन हुने भएको छ । अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा पुस २६ गतेदेखि माघ ७ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो ।

बुधबार अत्तरिया उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गर्दै पुस २६ गतेदेखि महोत्सव सञ्चालन गर्ने जानकारी दिइएको छ । अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले महोत्सव अत्तरियाको लामिताल परिसरमा आयोजना गरिने बताए ।

महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकट तोकिएको छ भने अपाङ्गता भएका व्यक्तिलाई प्रवेश निस्शुल्क छ । आयोजकका अनुसार महोत्सवमा १५० ओटा स्टल रहनेछन् । ८० लाख लगानीमा सञ्चालन गरिने महोत्सवलाई दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको छ ।

चिसोले सुत्केरीको मृत्यु

जाजरकोटको कुशे गाउँपालिका (९ घर्ती गाउँकी २४ वर्षीया कल्पना नेपालीको त्रिपालमा मृत्यु भएको छ।

२४ दिनअघि जुम्ल्याहा छोरा जन्माएकी नेपाली त्रिपालभित्र मृत भेटिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए।

मंसिर १७ गते दुई छोरा जन्माएकी नेपालीको मृत्युको खबर पाएलगत्तै प्रहरी घटनास्थलतर्फ हिँडेको छ। अध्यक्ष बस्नेतका अनुसार सुत्केरीको चिसोका कारण ज्यान गएको हो।

प्रधानमन्त्री कप एपीएफको लगातार पाँचौँ जित कोशीले गण्डकीलाई ५५ रनले हरायो

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब लगातार पाँचौँ खेलमा विजयी भएको छ ।

आज बुधवार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनको फराकिलो अन्तरले हरायो । एपीएफले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६८ रनमात्र बनाउन सक्यो । कर्णालीका लागि तृसना विश्वकर्माले सर्वाधिक १९ रन बनाइन् । बलिङतर्फ एपीएफकी करुणा भण्डारीले ४ विकेट लिइन् ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय ६० रन बनायो । एपीएफका लागि राजमती ऐरीले ६७ र ममता चौधरीले ६२ रन बनाइन् । बलिङतर्फ कर्णालीकी तृसना विश्वकर्माले १ विकेट लिइन् ।

यो जितसँगै एपीएफ ५ खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । लगातार ५ खेल हारेको कर्णाली तालिकाको पुछारमा छ ।

आजै मूलपानी क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ५५ रनले हरायो । कोशीले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको गण्डकी १५ ओभरमा ४८ रन बनाउँदा अल आउट भयो । गण्डकीका लागि सुमन खतिवडाले नट आउट २१ रन बनाइन् । बलिङतर्फ कोशीकी कप्तान रुबिना क्षेत्रीले ३ तथा सङ्गीता राई र एलिशा खडियाले समान २ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३ रन बनायो । कोशीका लागि बिमला मलहाले २५, सङ्गीता राईले नट आउट २३ र लकिता राजवंशीले २२ रन बनाइन् । बलिङतर्फ गण्डकीकी कुसुम गोदार सृष्टि जैसीले समान २ विकेट लिइन् ।

यो जितसँगै ५ खेलमा ८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । गण्डकी ५ खेलमा २ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ ।

कारबाही हुन्छ भने भोग्न तयार छु- रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रविलामिछानेले ग्यालेक्सी टिभीले कुनै सहकारीबाट ऋण लिनु वैधानिक नभएको र त्यसबापत तत्कालीन सेयर सदस्यका रूपमा आफूलाई पनि कारबाही हुन्छ भने भोग्न तयार रहेको बताएका छन् ।

विद्यमान कानुन आफूलाई कारबाही गर्न अपर्याप्त भएमा संशोधन गरेर भए पनि अभियोग लगाउँदा हुने उनको भनाइ छ । तर, उनले आफूमाथि प्रश्न उठाउने सञ्चारमाध्यमलाई कैयन प्रश्न भने राखेका छन् ।यहाँ मेरो एउटा प्रश्न चाहिँ छ– मदिराको विज्ञापन गर्न हुँदैन भन्ने कानूनी व्यवस्था सञ्चारमाध्यमलाई थाहा छ कि छैन रु छ भने २०७५ सालमै बनेको यस्तो व्यवस्थाको वर्षौँसम्म किन बर्खिलाप गरी मदिराको विज्ञापन गरी नै रहे रु कानुन त तिनी पनि बुझ्थे–बुझ्छन् होला रु मैले कानुन जान्नु–बुझ्नुपर्छ भन्ने कुनै सञ्चारमाध्यम वा पत्रकारलाई लाग्छ भने उसले पनि जान्नु–बुझ्नुपर्छ कि पर्दैन रु उनको प्रश्न छ ।

उनले सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमले गर्ने ‘आलोचना’ सकारात्मक दिशानिर्देश र निन्दा’ कुत्सित उद्देश्य प्राप्तिका लागि हो भन्ने आफूले बुझेको बताएका छन् । नियत नै खराव राख्नेसँग सही नियतले प्रतिवाद गर्नुको अर्थ नहुने भएपनि आफूले सत्य स्थापित गर्ने प्रयास मात्रै गरेको भन्दै उनले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नताको विषयमा लामो प्रष्टीकरण दिएका छन् ।

वायु सेवा निगम र नेपाल एअर लाइन्सका १० जनाविरुद्ध मुद्दा दर्ता

नक्कली कागजात बनाएर भिजिट भिसाका नाममा हुने गरेको मानव तस्करीमा संलग्न भएको आरोपमा थप १० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा थप १० जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ।

पछिल्लो पटक वायु सेवा निगमका कर्मचारीदेखि नेपाल एअर लाइन्सका कर्मचारीसम्म गरी १० जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरिएको छ। पछिल्लो पटक मुद्दा दर्ता गरिएका १० जना मध्ये २ जना भने फरार प्रतिवादी छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजातको आधारमा भिजिट भिसामा विभिन्न देशमा मान्छे पठाउने गरको आरोपमा सरकारी कर्मचारीदेखि विभिन्न ट्राभल एजेन्सीका सञ्चालकसम्मलाई पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको थियो। परिसर काठमाडौंले थप अनुसन्धान गरेर मुद्दा चलाउन सिफारिस गरेसँगै सरकारी वकिल कार्यालयहरु उनीहरुविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ।

पछिल्लो पटक मुद्दा दर्ता हुनेहरुमा नेपाल एअर लाइन्सको छैटौं तहमा कार्यरत कर्मचारी होमनाथ पोख्रेल, नेपाल वायु सेवा निगमको वरिष्ठ सहायक पदमा कार्यरत कर्मचारी अरबिन्द यादव, बत्तिसपुतलीको ओन्टा ट्रिप अनलाइन ट्राभल्स एजेन्सी प्रालिका सञ्चालक मनुराज चौधरी, एटभिका ट्राभल्स एण्ड टुर्सका सञ्चालक बुद्धबहादुर बल, एटभिकाका अर्का सञ्चालक तथा गुण एअर लाइन्सको सिमरा एअरपोर्ट बाराका स्टेशन म्यानेजर कमलराज हमाल, रोलेक्स ट्राभल्स एण्ड टुर्सका सञ्चालक देवराज खनाल, सोही ट्राभल्सका कर्मचारी राजकिशोर साह, अर्का कर्मचारी सञ्जय तामाङलाई पक्राउ गरी अनुसन्धान गरेर मुद्दा दायर गरिएको छ।

सुशील तामाङ र सोनु तामाङ नाम गरेका व्यक्तिलाई भने फरार प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। योसँगै नक्कली कागजताको आधारमा भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्न भएको आरोपमा मुद्दा दर्ता हुनेको संख्या २२ पुगेको छ। यसअघि ९ जना पक्राउ प्रतिवादी र ३ जना फरार प्रतिवादी गरी १२ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो।

सुन्दरहरैँचाकी दिपाले जितिन वर्ल्ड स्ट्रोङगेस्ट वुमन उपाधि

मोरङको सुन्दरहरैँचा नगरपालिका ११ कि दिपा विष्टले भारतको हैदरावादमा सम्पन्न भएको १०औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस आइबीपी च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन टाइटल जित्नु भएको छ।

भारतको हैदरावाद स्थित लालबहादुर शास्त्री रंगशालामा आयोजित च्याम्पियनसिपमा दिपाले युरोप, अमेरिका र एसियाका १६ वटा देशका महिला प्रतिष्पर्धीहरूलाई पछि पार्दै उक्त टाइटल जित्न सफल हुनु भएको हो । उहाँले महिलातर्फ अहिलेसम्म कुनै पनि देशका प्रतिष्पर्धीले उचाल्न नसकेको ९० केजी तौल उठाएर नेपाललाई यो उपाधि दिलाउँनु भएको हो । दिपाले च्याम्पियनसिपका ठुला तीन वटा तौल समूहका सबै प्रतिष्पर्धामा आफ्ना अघिल्ला रेकर्डहरू समेत तोड्न सफल हुनु भएको छ।

नेपालमा स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस ९आइबीपी० भर्खरै अघि बढेको खेलका रूपमा चिनिन्छ । खेलाडीहरूले यस खेलमा नेपालको झण्डा फहराएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मार्फत पदक भित्र्याइरहेका छन् ।

दीपाले २०७९ भदौ २० मा किर्गिस्तानमा सम्पन्न भएको अन्तर्राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस९आईबीपी० च्याम्पियनमा पनि आईबीपीतर्फ सिनियर समूह अन्तर्गत ७२ केजी उचालेर स्वर्ण पदक दिलाउँनु भएको थियो । सोही प्रतियोगितामा उहाँले स्ट्रेन्थलिफ्टिङमा रजत पदक जित्नु भएको थियो। दीपाले यस पटक पनि आइबीपीतर्फ सबैभन्दा ठुलो उपाधि हात पार्नुभयो।

आइबीपीमा अहिलेसम्म ७२ दशमलव ५ केजी माथिको तौलमा अन्तर्राष्ट्रिय रेकर्ड नरहेको दिपाले जानकारी दिनुभयो । उहाँले आफ्नो सफलताका लागि सवैभन्दा बढि मेहनत र सहयोग गुरू रूजेश शाहीबाट पाएको साथै शाहीले संचालन गरेको काठमाडौंस्थित डिभाइन फिटनेश कालिमाटीबाट नै यस खेलका लागि आफुलाई तयार पारेकी उल्लेख गर्नुभयो।

दीपाले यस पटक पनि नेपाललाई विश्वभर चिनाउने गरी आफूले च्याम्पियनसिपमा प्रतिष्पर्धामा उत्रिएर सफलता हात पारेको बताउँनु भयो । नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा लगातार गोल्ड मेडल प्राप्त गरे पनि संघ र प्रदेश सरकारबाट भने अहिले सम्म प्रोत्साहन नपाएको दिपाले बताउँनु भयो । उहाँले अघिल्लो वर्ष सुन्दरहरैंचा नगरपालिकाले केही खेल सामग्रीहरू उपलब्ध गराएको भए पनि नगद रकम दिएर सहयोग गर्ने भनिएमा सहयोग नगरेको जानकारी दिनुभयो ।

ब्राउन सुगरसहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर महानगरपालिका १५ ढाट स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री दिप्रुङ चुइचुम्मा गाउँपालिका(४ खोटाङका २५ बर्षीय मिलन राईलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर ८६ मिलिग्राम फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।