१३ पुष २०८०, शुक्रबार १४:३८ – Page 3 – Nagarikabhiyan : National News

बालकुमारीको आन्दोलनमा प्रहरीको गोली लागेर २२ वर्षीय युवकको मृत्यु

ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका २२ वर्षीय युवक सुजन राउतको मृत्यु भएको हो । उनको किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । अर्का एक जना गम्भीर घाइते छन् ।

रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । भौतिक पूर्वाधार मन्त्रालयको गाडी जलाइएपछि अवस्था तनावग्रस्त भएको थियो। प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो ।

हेटौंडामा ७ मुख्यमन्त्रीको बैठक संविधानले नै दिएको अधिकार किन नदिएको

प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्नुअघि मुख्यमन्त्रीहरू एकठाउँमा भेला भएका छन् । शुक्रबार हेटौंडामा अन्तरप्रदेश मुख्यमन्त्री बैठक बसेर प्रधानमन्त्रीसँग राखिने मागहरूका बारेमा छलफल भएको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बताए ।

बैठकबाट निस्कँदै गर्दा मुख्यमन्त्री यादवले संविधान बनेको ८ वर्षसम्म पनि संघीयता कार्यान्वयनमा आउन नसकेको बारे छलफल भएको बताए । उनले भने संविधान बनेको ८ वर्ष भइसक्यो । संघ सरकारले स्थानीय तह र प्रदेशलाई संविधानमै दिएको अधिकार पनि कार्यान्वयन नगरेको विषयमा हामीले छलफल गरेका छौँ ।

शनिबार बिहान मुख्यमन्त्रीहरूले काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्दैछन् । उनीहरूले प्रधानमन्त्रीलाई संघीयता कार्यान्वयनका लागि जतिसक्दो चाँडो पहल गर्न पनि आग्रह गर्ने मुख्यमन्त्री यादवले बताए । अहिले पनि संघ सरकारको नियत राम्रो नदेखिएको उनको आरोप छ । संघ सरकारको नियत नै राम्रो देखिएन । अहिलेसम्म प्रदेश प्रहरी समायोजनलगायतका कुराहरूमा सरकारले ध्यान दिएको छैन मुख्यमन्त्री यादवले भने मैले भोलि प्रधानमन्त्रीज्यूलाई नै सोध्नेछु कति दिनभित्रमा अधिकार प्रत्यायोजित हुन्छ

३० लाख धरौटीमा छुटेका खाँण एक वर्षपछि पार्टी कार्यालय सानेपा पुगे

नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण पार्टी केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् । खाँण एक वर्षपछि पार्टी कार्यालय सानेपा पुगेका हुन् ।

उनी गत वर्ष वैशाख २७ गते पक्राउ परेर मंसिर २९ धरौटीमा रिहा भएका थिए । खाण भुटानी शरणार्थी प्रकरणमा ३० लाख धरौटीमा छुटेका थिए।

यसअघि साउन २ र असोज ४ को केन्द्रीय समिति बैठकमा खाँणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्ने–नगर्नेबारे चर्को बहस भएको थियो । संस्थापन इतर पक्षले निलम्बन गर्नुपर्ने माग राखेपनि सभापति शेरबहादुर देउवाले मानेका थिएनन्।

मन्त्री ज्वालाले प्रयोग गर्ने गाडिमाथि आगजनि बालकुमारी क्षेत्र तनावग्रस्त

ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ । रोजगार अनुमति प्रणाली ईपीएस परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगो लगाएका हुन् ।

बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो । उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका हुन् ।
प्रदर्शनकारीले सडक पनि अबरुद्ध पारेका छन् । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ ।

नेपालगञ्जका विभिन्न धार्मिकस्थलमा सफाई

नेपालगञ्जमा रहेका विभिन्न धार्मिकस्थलहरुको सरफाई गरिएको छ । आज विहान यहाँ कार्यरत सुरक्षाकर्मीहरुको टोलीले विभिन्न धार्मिकस्थल वरपर सरसफाई गरेका हुन् ।
सर्व धर्म स्थान सरसफाई अभियान भन्ने मूल नाराका साथ शुक्रबार नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले वागेश्वरी मन्दिर मस्जिद चर्चलगायत यहाँका विभिन्न धार्मिकस्थल सफाई गरेका हुन् ।

सरसफाई अभियानमा सहभागी बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सदभावलाई जीवन्त राख्नका लागि सामूहिक सरसफाई अभियानको शुरुवात गरिएको बताउनुभयो । नेपालगञ्ज भन्नका लागि मात्रै सदभावको सहर भनिएको होइन । यहाँ एकले अर्काको धर्मलाई सम्मान गर्ने परम्परा रहेको र त्यही परम्परालाई जीवन्त राख्नका लागि सामूहिक सरसफाई अभियानको शुरुवात गरेका हौँ उहाँले भन्नुभयो ।

सो अवसरमा राँझाको इमामनगर ब्यारेकस्थित श्री बज्रदलको गणमा कार्यरत नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल नं। ३० गणमा कार्यरत सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलगायतका कर्मचारीहरुले सामूहिक रुपमा सरसफाई गरेका थिए । रासस

महसुल नतिरेका कारण एनसेलका ६ वटा टावरको लाइन काटियो

हेटौँडा,-मकवानपुरको थाहा नगरपालिकास्थित नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले वक्यौता विद्युत महसुल नतिरेका कारण एनसेलका ६ वटा टावरको लाइन काटेको छ । पालुङ प्राधिकरणले बढी वक्यौता भएका सिमभन्ज्याङ्ग, कुलेखानी देउराली र सल्ले, फाखेल, मार्खु तथा कुन्छालमा रहेका टावरहरुको लाइन काटेको हो ।

उत्तरी मकवानपुरका विभिन्न स्थानमा रहेका टावरहरुमा जडित विद्युत् लाइनको बक्यौता लगातार ४ महिनादेखिको महसुल नबुझाएको कारण एनसेलका टावरहरुको प्राधिकरणले लाइन काटेको हो । पालुङ वितरण केन्द्र अन्तर्गत थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका विभिन्न स्थानमा एनसेलका १३ वटा टावर जडित छन् । उक्त टावरहरुको ७ लाख ४३ हजार बक्यौता बुझाउन बाँकी रहेको कारण बढी बक्यौता भएका ६ वटा टावरको लाइन काटिएको पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताउनुभयो ।

एनसेललाई पनि बक्यौता बुझाउन पटकपटक भनिएको भए पनि बक्यौता महसुल नबुझाएकोले लाइन काटिएको र सबै टावरको महसुल नबुझाए क्रमशः सबै टावरको लाइन काटिने पनि प्रमुख न्यौपानेले बताउनुभयो ।

बक्यौता महसुल उठाउन विगत ३ महिनामा मात्रै पालुङ प्राधिकरणले २ सयभन्दा बढी ग्राहकको लाइन काटेको छ भने लाइन काटिएका ग्राहकहरुमा ९० लाख भन्दा बढी बक्यौता रकम उठाइसकेको छ ।

विद्यार्थीको प्रश्न विश्वविद्यालयबाट उत्पादित जनशक्ति नेपालका लागि कि विदेश

विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थीहरूले विश्वविद्यालय सडक बहस शुरु गरेका छन् ।आज शुक्रवार काठमाण्डौमा नेपाल ल क्याम्पस अगाडि विद्यार्थीहरूले विश्वविद्यालय सुधारको माग राख्दै विश्वविद्यालय सडक बहस शुरु गरेका हुन् । उनीहरूले विश्वविद्यालयमा राजनीतिक भागबन्डा अन्त्य हुनुपर्ने, शिक्षा प्रणाली गुणस्तरीय बनाउनुपर्ने, विश्वविद्यालयलाई डिजिटलाइजेशन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

विश्वविद्यालय सडक बहस कार्यक्रममा बोल्दै नेपाल ल क्याम्पसका विद्यार्थी ओमप्रकाश सुनारले विश्वविद्यालयहरूमा पठनपाठनको अवस्था निराशाजनक रहेको बताउनुभयो । उहाँले विद्यार्थीलाई रोजगार र गुणस्तरसँग जोड्न नसके उनीहरू अझै धेरै विदेश जाने सम्भावना रहेको बताउनुभयो । विश्वविद्यालयहरूमा राजनीतिका कारण शिक्षक र कर्मचारी नियुक्त हुन नसकेको समस्यालाई हटाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने मागसहित विश्वविद्यालय सडक बहस शुरु गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो विश्वविद्यालयहरूमा विद्यार्थीहरूले आशा गरेअनुसारको पढाइ भइरहेको छैन । समयमै परीक्षा नहुने, परीक्षा भइसकेपछिको नतिजा समयमै प्रकाशित नहुने समस्या छ । नेपाली समाजले खोजेको शिक्षा प्रणालीअनुसार पढाइ हुन जरुरी छ । त्यो सुधारका लागि हाम्रो आन्दोलन हो । पछिल्लो आठ महिनामा ७१ हजार छ सय जना विद्यार्थी अध्ययनका लागि बाहिरिएका छन् । यो तथ्याङ्क हेर्दा नेपालमा विश्वविद्यालयहरूको अवस्था डरलाग्दो छ । यही गतिमा गयो भने हाम्रो विश्वविद्यालयहरूमा अबको पाँच वर्षमा विद्यार्थीहरू टर्च बालेर खोज्नुपर्छ । विद्यार्थीहरूलाई रोजगार र गुणस्तरसँग जोड्न सकिएन भने पढ्नका लागि बाहिर जाने सम्भावना हुन्छ ।’

कार्यक्रममा सहभागी विद्यार्थीहरूले विश्वविद्यालय सुधारको बहस सडक र सदनमा पनि उठाउनुपर्ने आवश्यकता रहेको बताए । उनीहरूले विश्वविद्यालयहरूलाई छाता ऐन चाहिएको र अबको विश्वविद्यालयहरू विषयगत हुनुपर्ने बताए । उनीहरूले विश्वविद्यालयबाट उत्पादित जनशक्ति नेपालका लागि कि विदेश पठाउन भन्दै प्रश्न पनि गरेका छन् ।

भ्यानको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

चितवनमा इलेक्ट्रिक भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–१, सिमपानीका ६१ वर्षीय गणेश थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गए राति करिब ११ बजे भरतपुर महानगरपालिका–१२, मिलनचोकमा बा प्र ०३–००१ज ४५८ नम्बरको भ्यानले पैदलयात्री उनलाई ठक्कर दिएको थियो । उनी भरतपुर–११, घोलबजारमा बस्दै आएका थिए ।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका निम्ति जिल्ला अस्पतालमा लगिएको थियो । उपचारका क्रममा राति नै उनको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।
सो भ्यान नियन्त्रणमा लिइएको र चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।ृ

पुस १६ देखि राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन्।

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम ७ जिल्लाका जिल्ला न्यायाधीशलाई यही पुस १६ गतेदेखि लागू हुने गरी बिहीबार निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको थियो। ती अधिकृतले सम्बन्धित प्रदेशमा प्रदेश निर्वाचन कार्यालयअन्तर्गत निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए।

आयोगले कोशी प्रदेशमा मोरङका दुर्गाप्रसाद ढुङ्गेल, मधेसमा धनुषाका नारायणप्रसाद सुवेदी, बागमतीमा मकवानपुरका महेन्द्रबहादुर कार्की, गण्डकीमा कास्कीका केशवप्रसाद बास्तोला, लुम्बिनीमा दाङका कृपासुर कार्की, कर्णालीमा सुर्खेतका विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशमा कैलालीका जिल्ला न्यायाधीश ओमप्रसाद अर्याललाई निर्वाचन अधिकृत नियुक्त गरेको छ।

राष्ट्रिय सभा निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको छ। आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका निर्वाचित १९ र मनोनीत १ गरी २० सदस्यको कार्यकाल सकिँदैछ। कार्यकाल सकिने १ महिनाअघि निर्वाचन भइसक्नुपर्ने कानुनी व्यवस्था छ।

७० वर्षको उमेर हद नलगाउने

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दैछ । गत बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक आज बसेर औपचारिक निर्णय गर्दै सकिने भएको हो ।
बैठकमा ४० जनाले केन्द्रीय सदस्यले विधान संशोधन र उमेर हद ७० राख्नेका कि नराख्ने भन्नेलगायतका विषयमा आ(आफनो धारणा राखिसकेका छन् । केन्द्रीय सदस्यले धारणा राख्ने जुन क्रम आज पनि जारी रहनेछ । धारणा राखिसकेका अधिकांश केन्द्रीय सदस्यले ५० वर्षमुनिका ५० प्रतिशत नेतालाई पार्टीको केन्द्रीय कमिटीमा समेटिनुपर्ने माग गरेका छन् ।

उनीहरूले ७० वर्षको उमेर हद लगाउन नहुने, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने, केन्द्रीय नेतृत्व केन्द्रीय कमिटीले चयन गर्नुपर्ने, अध्यक्षले मनोमानी गरेमा हटाउन सक्ने व्यवस्था हुनुपर्ने माग गरेका हुन् । बैठकमा ७५ जिल्लाका प्रमुख, ३२ वटा विभाग, प्रदेश अध्यक्षलगायत तीन सय एक सदस्यीय केन्द्रीय कमिटी बनाउनुपर्ने, प्रदेश कमिटी एक सय ५० सदस्यीय हुनुपर्ने, क्रियाशीलता भूगोल समुदायलाई समेटेर केन्द्रीय कमिटी बनाउनुपर्ने सुझाव दिइएको थियो ।

विधानलगायत अन्य प्रस्तावहरूमाथि छलफल गर्नका लागि ११ वटा प्रश्नावली बनाइएको र प्रत्येक सदस्यलाई सो विषयहरूमाथि टिप्पणी गर्नका लागि ३र३ मिनेटको समय छुटाइएको छ । आजको बैठक पनि बिहान ११ बजेदेखि सुरु हुने सो पार्टीले जनाएको छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्नेलगायत विषयमा निर्णय गर्दै बैठक शुक्रबार सम्पन्न हुनेछ ।

 

ट्राफिक दुर्घटनामा ११ जनाको मृत्यु ५७ घाइते

एजेन्सी –टर्कीमा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । बिहीवार टर्कीको राजमार्गमा भएको चेन ट्राफिक दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ५७ जना घाइते भएका छन्
राज्य सञ्चालित टीआरटी प्रशारककाअनुसार उक्त दुर्घटना उत्तरी मारमारा राजमार्गमा उत्तरपश्चिमी साकार्या प्रान्त नजिकै भएको थियो ।

राजमार्गको इस्तानबुल दिशाको दग्दिबी क्षेत्रमा बाक्लो हुस्सुका कारण भएको चेन दुर्घटनामा तीनवटा बस र एउटा ट्रकसहित सातवटा सवारीसाधन एकआपसमा ठोक्किएका थिए । दुर्घटनापछि राजमार्गको इस्तानबुल दिशामा यातायात ठप्प भएको थियो ।

साकारियाका गभर्नर यासर करादेनिजले घाइतेहरूको १० वटा विभिन्न अस्पतालमा उपचार भइरहेको बताए । टर्कीका न्यायमन्त्री यिलमाज टुन्कले दुर्घटनामा तीन जना सरकारी वकिललाई उपप्रमुख सरकारी वकिलको समन्वयमा खटाइएको बताए ।

 

के होला त सन्दीपविरुद्धको मुद्दामा फैसला

काठमाडौं –क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा शुक्रबार सुनुवाइ हुने भएको हो ।

बिहीबार सन्दीप लामिछाने पक्षका वकिलहरूको बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालले मुद्दा हेर्दाहेर्दैमा राखेका थिए । लामिछानेका वकिलहरू अधिवक्ता मुरारी सापकोटा, रोशनी पौडेल, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सविता भण्डारी र रमण श्रेष्ठले बहस गरेका थिए ।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्दागर्दै कार्यालय समय सकिएपछि न्यायाधीश ढकालले बहस सारेका थिए । आज लामिछानेका वकिलहरूको बहस सकिएपछि सरकारी वकिल र जाहेरवालाका वकिलले जवाफी बहस गर्ने छन् । दुवै पक्षको बहस सकिएपछि यो मुद्दामा न्यायाधीशले फैसला सुनाउने छन् । न्यायाधीश ढकालले आजै फैसला सुनाउन सक्ने सम्भावना छ ।

यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । लामिछानेले विदेशका प्रतियोगितामा भाग लिन जान अनुमतिसमेत पाएका छन् ।

के हो सन्दीपविरुद्धको मुद्दा रु
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए । घटनापछि नेपाल क्रिकेट संघ९क्यान०ले सन्दीपलाई निलम्बन गरेको थियो ।

वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए । मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए । पुस १८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत सर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए। क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो ।

सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ राखेर सुनुवाइ थालेको सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश केही उल्ट्याएर अर्को आदेश दियो । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले राष्ट्रिय खेलाडी भएको भन्दै सन्दीपलाई विदेश जाने अनुमति दिएको थियो ।

आरोप पुष्टि भए १० देखि १२ वर्ष कैद सजाय हुने
राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछानेमाथि लागेको आरोप पुष्टि भएमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनेछ ।

पोखरा मुग्लिन सडक खण्ड जामुनेदेखि पोखरासम्म कालोपत्र गर्ने तयारी

तनहुँ – मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि कास्कीको पोखरासम्म आउँदो माघको तेस्रो हप्तादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका लागि अहिले यस खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।

केही समयदेखि निकै सुस्त काम भइरहेको यो खण्डमा अहिले कामको गतिले तीव्रता पाएको छ । अहिलेसम्म यो खण्डको प्रगति १४ प्रतिशत मात्रै छ । सडक कालोपत्रका लागि झन्डै दुई किलोमिटर बेसको काम सकिएको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुसको अन्तिम वा माघको शुरुदेखि कालोपत्र शुरु हुनेछ । त्यहीअनुसार अहिले काम भइरहेको छ ।’ उहाँका अनुसार अहिले चिनियाँ ५० र नेपाली ६० इन्जिनियर यो खण्डमा खटिएका छन् । त्यस्तै आयोजनास्थलमा चार सयभन्दा बढी नेपाली कामदार परिचालन गरिएको छ ।

सडक आयोजनासँग अहिले २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा छ । यो खण्डअन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुनेछ ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम शुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्शनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । यो खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको थियो ।

पूर्वी खण्डमा भने काम तीव्र गतिमा अगाडि बढेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा झन्डै ४५ प्रतिशत काम सकिएको छ । पूर्वी खण्डमा १२ दशमलव ५ किलोमिटर एकतर्फी र दुई किलोमिटर दुईतर्फी कालोपत्र सकिएको छ । यसअघि एकतर्फी कालोपत्र सकिएको ठाउँमा दुईतर्फी कालोपत्र गर्ने काम भइरहेको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

यसअघि आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट शुरु गरेर मार्किचोकसम्म ३ दशमलव ५ र बन्दीपुर गाउँपालिका–१ नाहालदेखि छिर्कनेसम्म ५ दशमलव ५ किलोमिटर खण्ड एकतर्फी कालोपत्र भइसकेको छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम शुरु भएको थियो । ४१ दशमलव ४५ किलोमिटर यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्शनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा गाडीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडीबी० को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका ठाउँमा ४१ मिटर चौडाइको सडक बन्नेछ । ढाँचाअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान्‌लाई कास्की प्रहरीले पक्राउ गरेको छ
पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका–७ ताकम घर भइ पोखराको नौबिसे बस्दै आएका ३६ वर्षीय रत्नबहादुर घर्ती रहेका छन्।

इलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाकबाट उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।
बिहीबार दिउँसो साढे १ बजेतिर घर्तीले आफ्नो श्रीमती २८ वर्षीया रेखाको हत्या गरेको खबर पाएपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

मोटरसाइकल दुर्घटना हुँदा कमलको मृत्यु

रामेछापको लिखु तामाकोशी गाउँपालिकाबाट सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२(०४३ प ४१८० नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा चालक लिखुु तामाकोशी गाउँपालिका(४ कोटगाउँका ५७ वर्षीय कमलबहादुर तामाङको मृत्यु भएको हो ।

बुधबार दिउँसो घरबाट सदरमुकाम मन्थलीतर्फ जाँदै गर्दा लिखु तामाकोशी(७ तिल्पुङस्थित मोडमा मोटरसाइकल अनियन्त्रित भई तल्लो मोडमा झरेको थियो । दुर्घटनामा परी गम्भीर घाइते तामाङलाई घटनास्थलबाट उपचारको लागि सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा ल्याइएको थियो । उपचारको क्रममा नै उनको मृत्यु भएको हो ।

मृतक तामाङको शव पोस्टमार्टमको लागि हाल मन्थली अस्पतालमा राखिएको छ । उनका छोराहरू रोजगारीको सिलसिलामा जिल्लाबाहिर रहेकाले छोराहरू आएपछि शव पोस्टमार्टम गरिने र दाहसंस्कारको लागि परिवारलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

टायर बालेर प्रदर्शन गर्न थालेपछि सर्लाहीमा मिटरब्याज पीडित र प्रहरीबीच झडप

सर्लाहीको मलङ्गवा मिटरब्याज सङ्घर्ष समिति र प्रहरीबीच झडप भएको छ । मिटरब्याज पीडितले आज बिहीवार दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रदर्शन गर्न थालेपछि झडप भएको हो ।

प्रहरीले आफूहरूको गुनासो नसुनी जिल्ला प्रशासन कार्यालय परिसरबाटै सङ्घर्ष समितिका सदस्य फतमा खातुनलाई पक्राउ गरेको समितिले जनाएको छ । प्रहरीले भीड नियन्त्रण गर्न केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

मिटरब्याजमा ऋण लगाउने व्यक्ति र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालत सर्लाहीबाट केही महिनाअघि पक्राउ पुर्जी जारी भएपछि खातुन फरार रहेका थिए । उनलाई आज पक्राउ गरिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० दीपेन्द्र पंजियारले जानकारी दिनुभयो ।