१० पुष २०८०, मंगलवार १५:२६ – Page 6 – Nagarikabhiyan : National News

सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु साझा जिम्मेवारी प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु साझा जिम्मेवारी भएको बताउनुभएको छ ।
आज मङ्गलवार ज्यापु संस्कृति विकास कोषले २० औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहको परम्परागत मौलिक सांस्कृति नै नेपालीको पहिचान र गौरव रहेको बताउनुभयो । सरकार भौतिक तथा अभौतिक संस्कृतिलाई संरक्षण र संवर्द्धन गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो नेपाल विभिन्न जातजाति भाषाभाषी धर्म र सांस्कृतिक समूहको साझा देश हो । विभिन्न जातजाति भाषाभाषी र सांस्कृतिक समूहको परम्परागत मौलिक सांस्कृति नै नेपालीको पहिचान र गौरव हो । यो सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु हामी सबैको साझा जिम्मेवारी हो । नेपालका चाडबाड, जात्रापर्व सांस्कृतिक सम्पदा र गतिविधि हाम्रा अमूल्य निधि हुन् । यसै कुरालाई मनन गरी नेपाल सरकार भौतिक तथा अभौतिक संस्कृतिलाई संरक्षण र संवर्द्धन गर्न प्रतिबद्ध छ ।

प्रधानमन्त्री प्रचण्डले ज्यापु संस्कृति कोषलाई सरकारले आर्थिक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

कारको ठक्करबाट पोखरामा दुई जना पैदलयात्रीको ज्यान गयो

पोखरामा गएराति कारको ठक्करबाट दुई जना पैदलयात्रीको ज्यान गएको छ । पोखरा ५ पर्स्याङमा बा १३ च ३७२१ नम्बरको कारको ठक्करबाट उनीहरुको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा बाग्लुङ ढोरपाटन घर भइ पोखरा ३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र पहिचान खुल्न बाँकी रहेका अन्दाजी ३५ पुरुष रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते दुवैजनाको अस्पतालमा ज्यान गएको हो । दुर्घटनापछि कार चालक फरार रहेका छन् । कार भने नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्ट पत्ता लगाउन सीमा नाकामा जिन सिक्वेन्सिङु

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउनका सीमा नाकाबाट आउने सङ्क्रमितको नमुना सङ्कलन गरेर अणुवाङ्शिक अध्ययन जिन सिक्वेन्सिङ गरेको छ । प्रयोगशालाले सीमा नाकामा सङ्क्रमितबाट सङ्कलन गरिएका नमुनाको जिन सिक्वेन्सिङ गरेको हो ।

प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले १४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट भेरिएन्ट अफ इन्टरेस्ट फेला नपरेको बताउनुभयो ।
उहाँले ती नमुनामा जिन सिक्वेन्सिङ गर्दा कोरोना भाइरसको पुरानो भेरियन्ट ओमिक्रोनको भेरियन्ट देखिएको बताउनुभयो । भारतबाट नेपाल प्रवेश गर्ने सीमा नाकामा नोभेम्बर महिनामा सङ्कलन गरिएका नमुनाको जिन सिक्वेन्सिङ गरिएको हो ।

सीमा नाकाबाट फेरि पनि जिन सिक्वेन्सिङका नमुना पठाउन भनेका छौँ उहाँले भन्नुभयो,डिसेम्बर महिनाका पनि हामीले जिन सिक्वेन्सिङ गर्ने छौँ । सरकारले भारतको केरला राज्यमा देखिएको सङ्क्रमणको रोकथाम र उपचारका लागि तयारी अवस्था रहेकाले नडराउन सबैलाई आग्रह गरेको छ ।

प्रयोगशालाले चीनमा बालबालिकामा देखिएको कडा खालको निमोनियाको जिन सिक्वेन्सिङ गर्ने तयारी गरेको छ । प्रयोगशालाका निर्देशक डा भट्टले जिन सिक्वेन्सिङका लागि किट रहेकोले नमुना सङ्कलन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

कोरियन भाषा परीक्षा १ लाख ४३ हजार भन्दा बढीको आवेदन

दक्षिण कोरियामा सन् २०२४ का लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा इपिएस मा अहिलेसम्मकै धेरैले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागका इपिएस शाखाका अनुसार पुस २ देखि ६ सम्म आवेदन माग गरेकामा अहिलेसम्मकै धेरै एक लाख ४३ हजार ८१२ जना युवाले आवेदन दिएका हुन् ।

सो शाखाका प्रमुख गुरुदत्त सुवेदीले अनलाइन प्रणालीबाट आवेदन दिने माग गरेयताको उच्च आवेदन परेको जानकारी दिनुभयो । तीन वर्षयता अनलाइनमार्फत इपिएसको आवेदन दिन सकिने व्यवस्था रहेको छ । सो शाखाका अनुसार गत साउनमा परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने भएका छन् । त्यसले गर्दा पनि आवेदन दिनेको सङ्ख्या बढेको हो ।

गत साउनमा पानीजहाज निर्माणसम्बन्धी कामका लागि इपिएसले कोरिया भाषाको परीक्षा लिएको थियो । यसमा आवेदन दिएर अनुत्तीर्ण भएकालाई यस पटकको परीक्षामा सामेल नगर्ने गरी आवेदन खुलाइएको थियो । त्यसबेला अनुत्तीर्ण भएका १८ जना उच्च अदालतमा यो निर्णयविरुद्ध गएका थिए । अदालतले सो समय अनुत्तीर्ण भएकाले पनि यस पटकको भाषा परीक्षामा सहभागिता जनाउन पाउने निर्णय गरेको थियो ।

रोजगारीका लागि कोरिया जान सबैभन्दा पहिले भाषा परीक्षा उत्तीर्ण गर्नु पर्छ । दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८४८ नेपाली रोजगारीका लागि लैजाने छ । जसमा उत्पादनमूलक क्षेत्रमा मात्रै सो सङ्ख्यामा आवेदन खुलाएको हो । यो क्षेत्रका लागि हाल खोलिएको आवेदनको परीक्षा मिति भने तोकिएको छैन ।

सन् २०२४ का लागि दक्षिण कोरिया सरकारले नेपाललाई १६ हजारको कोटा उपलब्ध गराएको छ । आवेदन दिएका परीक्षार्थीको परीक्षा ढिलोमा फागुनसम्म हुने इपिएस कोरिया शाखाले जनाएको छ ।

कोरिया सरकारले सन् २००८ देखि सरकारी तवरमा श्रमिक लैजान थालेको हो । अहिलेसम्म एक लाख १० हजार युवाले कोरियामा रोजगारीको अवसर पाएको इपिएस कोरिया शाखाले जनाएको छ । अहिले करिब ५० हजार नेपाली युवा कोरियामा कार्यरत छन् ।अदालतको आदेशपछि यसअघिको परीक्षामा अनुत्तीर्णले आवेदन दिन पाए ।

दक्षिण कोरियाको पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षामा अनुत्तीर्ण भएकाले पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन् । उच्च अदालत पाटनले पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन अन्तरिम आदेश दिएको हो ।

यसअघि रोजगार अनुमति प्रणाली इपिएस ले पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने भनेको थियो । यो निर्णयविरुद्ध १८ जनाले उच्च अदालत पाटनमा रिट दिएका थिए । सो रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन आदेश दिएको हो । उच्च अदालतले पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुत्तीर्णलाई फाराम भर्न रोक नलगाउन र आवेदन फाराम भर्न दिन आदेश दिएको छ ।

क्रिसमस डेले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउँछ राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व क्रिसमस डेका अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना दिएका छन् ।
क्रिसमस डे का अवसरमा उनले पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका हुन् ।

राष्ट्रपति पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको लिएको बताएका छन् ।

यो पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सक्ने उनको भनाइ छ ।

छात्रा बलात्कारको आरोपमा प्रधानाध्यापक र शिक्षक पक्राउ

छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा काभ्रेको पाँचखाल जोरपाटी माविका प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन्। दुई शिक्षकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ।

पाँचखाल नगरपालिका–६ मा रहेको जोरपाटी माविको कक्षा ९ मा पढ्ने छात्रामाथि शिक्षकले होटेलमा लगेर गत कात्तिक ११ गते करणी भएको घटना बाहिरिएपछि उनीहरु पक्राउ परेका हुन्। प्रधानाध्यापक गणेशमान गुरुङ र शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख भाग्येन्द्र पुरुष ढकालले जनाकारी दिए।

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले विद्यालय अनुगमन गर्ने क्रममा सो घटनाको रहस्य खुलेको हो। विद्यालयका प्रधानाध्यापकले घटना लुकाउन भूमिका खेलेको र छात्रालाई अश्लील सन्देशसमेत पठाएको खुलेको छ। करिब २ महिना अगाडि घटेको घटना बाहिरिएसँगै मेयरले शिक्षक र प्रधानाध्यापकलाई प्रहरीको जिम्मा लगाएका हुन्।

खरेलकै रोहवरमा विद्यालय व्यवस्थापन समितिको बैठक बसी प्रधानाध्यापकलाई बर्खास्त गरी विद्यालयमा कार्यवाहक प्रधानाध्यापकसमेत तोकिएको छ।

लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । कोइरीमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेको थियो ।

अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार कोइरीले अघिल्लो वर्ष महोत्तरी क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए ।

फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निर्णय गरेपछि उनी सांसद् पदबाट निलम्बनमा थिए ।

हात्ती देखाएर पर्यटकसँग नोट लिनु पर्छ मुख्यमन्त्री -केदार कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समस्याको रुपमा रहेको हात्तीलाई मनोरन्जनको रुपमा रुपान्तरण गरेर मनग्ये आम्दानी गर्न सकिने बताएका छन् ।

हात्ती प्रभावित बाहुनडाँगी क्षेत्रको स्थलगत भ्रमणपछि आइतबार मुख्यमन्त्री कार्कीले हात्तीलाई समस्याको रुपमा मात्रै नलिएर आर्थिक आम्दानीको दरिलो स्रोतको रुपमा पनि लिन सकिने बताए । विगतमा हात्ती देखाएर जनतासँग भोट लिइयो होला’, मुख्यमन्त्री कार्कीले भने अब हात्ती देखाएर पर्यटकसँग नोट लिनु पर्छ ।

मुख्यमन्त्रीले वर्षौंदेखि जारी मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सरकारी र गैरसकारी रुपमा भएका प्रयत्नबारे पनि जानकारी लिएका थिए । उनले मेचीबगरमा लगाइएको विद्युतीय अफसेट फेन्सिङको पनि अवलोकन गरे ।

मानव बस्ती विकाससँगै हात्तीको कोरिडोर पनि मासिँदै गएको प्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बाहुनडाँगीदेखि उदयपुरसम्म पुनः कोरिडोर निर्माण गर्न सकिने बताए । उनले बाहुनडाँगीदेखि जोगीदहसँग हात्तीको बाटो पहिल्याउँदै यात्रा गर्ने प्रदेश सरकारले योजना बनाइरहेको सुनाए ।

उनले हात्ती हिँड्ने बाटोमा बसेका बस्तीहरुलाई उचित मुआब्जासहित स्थानान्तरणका लागि सरकारले पहल गर्नु पर्ने बताउँदै भने,‘जंगलको मानव बस्ती अन्तै सारेर सरकारले घर बनाइदिने प्रस्ताव ल्याउन सक्दा मान्छे र हात्ती दुवैको सहअस्तित्व कायम हुन सक्ने छ ।’

हात्ती संरक्षणसँगै बालीनाली, घरसहित मान्छेको जीवन बीमाका लागि प्रदेश सरकारले काम अघि बढाइसकेको उनले जनाए । ‘ज्यान जोगाउनुस्, बालीनाली सरकारले जोगाइदिन्छ’, कार्कीले थपे ।

 

समयमा विद्युत् महसुल नतिर्ने विराटनगरका एक हजार ६ सय ३२ ग्राहकको लाइन काटियो

नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने विराटनगरका एक हजार ६ सय ३२ ग्राहकको लाइन काटेको छ ।
प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत साउन महिनायता विराटनगरमा उक्त सङ्ख्याका ग्राहकको लाइन काटिएको हो ।

लाइन काटेर चालु आर्थिक वर्ष २०८०र८१ को पाँच महिनामा रु २ करोड ७६ लाख ८१ हजार ८ सय ५३ रुपैयाँ २१ पैसा बक्यौता असुल गरिएको नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रले जनाएको छ।

लाइन काटिएका एक हजार ६ सय ३२ जना ग्राहकबाट रु ३ करोड ९६ लाख ९१ हजार ५ सय ७२ रुपैयाँ ४५ पैसा महसुल बक्यौता उठाउनुपर्ने थियो।

लाइन काटेपछि रु २ करोड ७६ लाख ८१ हजार ८ सय ५३ रुपैयाँ २१ पैसा उठाई एक हजार ५४ जना ग्राहकको पुनस्लाइन जडान गरिएको विराटनगर वितरण केन्द्रले जनाएको छ। केन्द्रअन्तर्गतका ग्राहकबाट रु ६१ करोड ५८ लाख ८३ हजार ८ सय ५८ रुपैयाँ ६१ पैसा बक्यौता असुल गर्न बाँकी छ । नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रअन्तर्गत हाल ८३ हजार ७ सय ३२ जना ग्राहक रहेका छन् ।

विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औँ दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औँ दिनदेखि ३० औँ दिनसम्म पाँच प्रतिशतका दरले र ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औँ दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ । २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था रहेको छ ।

नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन

नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड नारायणगढ मुग्लिनले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो ।

तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक चार घण्टा सवारीसाधन रोकिएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोक्ने भनिए पनि सो समय तालिका परिवर्तन गरिएको हो । परिवर्तित समयअनुसार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गरिने भएको छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि सवारीसाधन नै रोकेर काम गर्न लागिएको आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार चितवन र तनहुँतर्फका विभिन्न छ स्थानमा सवारीसाधन रोकिनेछ ।

नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छ भने मालबहाक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिनेछ । काठमाडौँबाट आउने यात्रुवाहक सवारीसाधन मुग्लिन बजारदेखि मनकामना केबलकारसम्म र मालवाहक सवारीसधान लेवाटारमा रोकिने उनले जानकारी दिए ।

यसैगरी पोखराबाट आउने यात्रुवाहक सवारी साधनलाई बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई सत्रसय फाँटमा रोकिनेछ ।

सूचना अधिकारी आचार्यका अनुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक रोकेर भित्तो काटिनेछ । गत वर्ष भित्तो काटिए पनि कडा चट्टानका कारण काम कठिन भएकाले विस्फोट गराउनका लागि रोकिएको थियो । विस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनःएकपटक सडक रोकेर काट्ने तयारी गरिएको हो ।

राजधानी काठमाडौँबाट तराईको जिल्ला बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा रहेको यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले चार घण्टा सवारीसाधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । कार्यालयले चार घण्टासम्म रोकिएका सवारीसाधन पठाउन लामो समयसम्म ट्राफिक जाम हुनसक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोे प्रयोग गर्न अनुरोध गरेको हो ।

स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु एक घाइते

पनौती नगरपलिका १ स्थित बुढापोखरीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा परी स्थानीय ४५ वर्षीय मंगलबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
आइतबार दिउँसो १२ बजे बुढापोखरीबाट पर्खालचौरतर्फ जाँदै गरेको बा ४१ प २५३२ नं। को स्कुटर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५र२० फिट तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले स्कुटर चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार, सोही स्कुटरमा सवार वर्ष ३० का कुमार श्रेष्ठ भने घाइते भएका छन् ।
उनको अवस्था गम्भीर रहेको र उनको टाउकोमा चोट लागेको बताइएको छ । उनलाई उपचारका लागि शिर मेमोरियल अस्पताल पठाइएको छ ।

१४ किलो सुन तस्करी प्रकरणमा मीन घले समूहले १ सय ३८ किलो सुन ल्याएको छानबिन समितिको निष्कर्ष

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको १४ किलो सुन तस्करी प्रकरणको छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । भन्सार प्रमुख मणिराम पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले आज आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा मीनबहादुर घले नेतृत्वको समूहले पटक–पटक गरी एक सय ३८ किलो सुन ल्याएको र त्यसमध्ये मङ्सिर २२ गते १४ किलो सुन बरामद भएको निष्कर्ष निकालिएको छ । मीनबहादुर घलेले दुबईमा बस्ने गरेका भारतीयसँग मिलेर सुन तस्करी गर्ने गरेका प्रतिवेदनमा उल्लेख छ । प्रहरीले मङ्सिर २१ गते १४ किलो सुनसहित गोरखाका चन्द्र घलेलाई विमानस्थलबाट पक्राउ गरेको थियो ।

प्रतिवेदनमा मीनबहादुर घलेले विमानस्थलमा ुसेटिङु मिलाउन दानबहादुर गुरुङलाई प्रयोग गर्ने गरेका र विमानस्थलबाट सुन बाहिर निकाल्न नागरिक उड्डयन प्राधिकरणका कर्मचारी राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, अवकाश प्राप्त भई करारमा कार्यरत रमेश देउला, पलम्बर शेरबहादुर बस्नेत र कार्यालय सहयोगी अनिल श्रेष्ठको भूमिका रहेको उल्लेख छ । सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सफाइ, शौचालय, प्लम्बर, एसी लगायतमा सफाइ र मर्मतको काम गर्नेहरूले भन्सार जाँच छलेर बाहिर निकाल्ने गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

प्रधानमन्त्री कप महिला क्रिकेटमा कोशीको लगातार तेस्रो जित

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश लगातार तेस्रो खेलमा विजयी भएको छ ।

आज आइतवार भएको खेलमा कोशीले मधेस प्रदेशलाई ६० रनले हरायो । कोशीले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको मधेसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६९ रनमात्र बनाउन सक्यो । मधेसका लागि साना प्रवीनले सर्वाधिक २७ रन बनाइन् । बलिङतर्फ कोशीकी सबनम राई र एलिशा खडियाले समान २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कोशीले २० ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन बनायो । कोशीका लागि कप्तान रुबिना क्षेत्रीले ५७ र अप्सरी बेगमले ३९ रन बनाइन् । बलिङतर्फ मधेसकी मिना महतोले २ विकेट लिइन् ।

यो जितसँगै कोशी ३ खेलमा ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । मधेस लगातार तेस्रो हारसहित तालिकाको सातौँ स्थानमा छ ।

उच्च अदालत र इजलासहरूमा आजदेखि स्वचालित पेसी शुरु

देशभरका उच्च अदालत र उच्च अदालतका इजलासहरूमा आज आइतवारदेखि स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली शुरु भएको छ ।

उच्च अदालत पाटनमा आयोजित एक कार्यक्रमबीच प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वचालित पेसी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्नुभएको हो । उहाँले सबै उच्च अदालतमा पनि मानवको हस्तक्षेपविहीन ढङ्गले पेसी तारेख व्यवस्थापन प्रणाली शुरु गरिएको भन्दै यो न्यायिक इतिहासकै एक सुखद क्षण भएको बताउनुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले यो प्रविधिले उच्च अदालतमा पनि सेवाग्राहीलाई विना भेदभाव पेसी तारेख लिन पाउने र अदालतमा अनियमितता नहुने कुराको सुनिश्चित भएको दाबी गर्नुभयो । उहाँले प्रणालीसँगै पेसी तारेखका लागि अब कसैको भनसुन वा आग्रहमा हुने कुराको पनि अन्त्य भएको बताउनुभयो । उहाँले यो प्रविधि सर्वोच्च अदालतकै सूचना प्रविधि विभागले तयार गरेको भन्दै त्यसमा कुनै समस्या आए तत्काल समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

ट्राफिक प्रहरीको हेल्मेट चोरी गर्ने टिप्पर चालक पक्राउ

दाङको तुलसीपुरमा ट्राफिक प्रहरीको हेल्मेट चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले रा १ ख २२५८ नम्बरको टिप्पर चालक तुलसीपुर ९ बेलुवाका ३५ बर्षीय शेरबहादुर बुढालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बुढाले तुलसीपुरको बसपार्क स्थित सडक छेउमा मोटरसाइकलसँगै राखेको ट्राफिक प्रहरीको हेल्मेन्ट चोरी गरेका हुन् ।
ट्राफिक प्रहरीले वसपार्कमा जेब्राक्रसिङ बनाउदै गरेको अवस्थामा हेल्मेट चोरेर भागेका उनलाई अटोभिलेजबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विराटनगरबाट एक जना लागुऔषधसहित पक्राउ

विराटनगर महानगरपालिका १६ हुलास चौक स्थितबाट लागुऔषध ब्राउन सुगर र औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउँसो १२ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री ईटहरी उपमहानगरपालिका  ५ का २७ बर्षीय प्रकाश मादेन लिम्बुलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित औषधी ४ एम्पुल र ५७ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।