हिंसाको भुमरीमा बलात्कृत बालिका र उनीहरुका सन्तान
११ पुष २०८०, बुधबार १२:५७
पोखराको सडकमा एक्लै भौंतारिंदै थिइन् सपना नेपाली। गर्भवती जस्ती देखिने बालिका रुग्ण अवस्थामा देखेपछि स्थानीय एक दम्पतीले उनलाई सहारा दिए। १४ वर्ष नपुगेकी बालिकाले त्यो घरमा खान र बस्न पाइन्।
व्यथा लागेपछि उनलाई अस्पताल लगियो। अस्पतालमा दर्ता गरिएको सपनाको उमेरले उनलाई बालिग देखाउँथ्यो। तर, उनको शारीरिक अवस्था नाबालिग देखिएपछि अस्पतालका कर्मचारीले केरकार गरे। त्यसपछि थाहा भयो, उनी १३ वर्ष नपुग्दै बलात्कारमा परेकी रहिछन्।
अस्पतालले प्रहरीलाई खबर गर्यो। बलात्कारका अभियुक्त पक्राउ परे। सपनाको मुद्दा अहिले जिल्ला अदालत कास्कीमा विचाराधीन छ। अदालतको फैसला नआउञ्जेलसम्म उनलाई एउटा गैरसरकारी संस्थाले आश्रय दिएको छ। फैसला आएपछि उनी कहाँ जाने, के गर्ने केही थाहा छैन।
बलात्कार पीडितलाई समाजमा पुनस्र्थापनाको प्रयास गर्नु परिवार, समाज र राज्यको दायित्व हो। न्यूनतम मानवीय संवेदना पनि यही हो। तर, नेपालमा न कसैले यो दायित्व निर्वाह गरिरहेको छ न त सपनाको अभिभावकत्व ग्रहण गर्ने नै कोही छ।
पुस महिनाको पहिलो साता संरक्षण गृहको आँगनमा उदास देखिएकी सपनाले काखको छोरातर्फ संकेत गर्दै भनिन्, “म यत्रै छँदा आमाले छाडेकी हुन्। सधैं रक्सी खाएर घर आउने बुवाले पिट्थे।
तीनै बुवाले पनि घरमा अर्की महिला भित्र्याएपछि सपनाले गाउँ छाडिन्। हातमा एक पैसा थिएन, सोधखोज गर्ने कोही भएन। काम खोज्ने क्रममा शहरको सडकमा कैयौं रात बिताएपछि उनले होटलमा काम पाइन्। तर, तीनै होटल साहुबाट बलात्कृत हुनुपर्यो।
१४ वर्ष पनि नपुगेकी बालिका यति त्रासमा थिइन् कि, न भाग्न सकिन्, न त प्रतिकार गर्न नै। अलिक हिम्मत जुटाएर एक दिन साहुनीलाई सबै कुरा सुनाइन्। तर, साहुनीले उल्टै होटलबाट निकालिदिइन्। एकातिर खाने–बस्ने ठाउँ छैन, अर्कोतिर पेटको आकार बढ्दैछ। निराश, हतास उनी आफन्त खोज्दै मावली पुगिन्।
मामाले उनको पेटमा लात्ती बजारे। त्यसपछि फेरि उनी सडकमा पुगेकी हुन्– पेटभित्र बच्चा बोकेरै। त्यसैबेला हो– पोखराका दम्पतीले उनलाई घर लगेको।
सपनालाई घरमा ल्याएका पोखराका ती दम्पतीका एक मात्र सन्तान अपाङ्गता भएका छन्। उनीहरूमा सपना सुत्केरी भएपछि शिशुलाई आफैंले लिने चाहना थियो। त्यसैले उनीहरू सपनाको उमेर बढाएरै विना कुनै झन्झट शिशु आफूसँग राख्न चाहन्थे। त्यसो हुन नसकेपछि उनीहरूले पनि पिठ्यूँ फर्काए।
संरक्षण गृहमा रहेकी सपना असाध्यै न्यास्रो लाग्दा मावली हजुरआमालाई फोन गर्छिन्। वृद्धावस्थाकी हजुरआमा उनलाई भेट्न आउन सक्दिनन्, उनी मावली जान पाउँदिनन्।
सपनाकै उमेरका बालिकाहरू विद्यालय गइरहेका छन्। तर उनलाई आफ्नो नाम समेत राम्रोसँग लेख्न आउँदैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया