११ आश्विन २०८०, बिहीबार १७:५८ – Page 6 – Nagarikabhiyan : National News

अन्धाधुन्ध मूल्यवृद्धि भइरहेको छ सरकारले नियन्त्रण गर्न सकेन माधव नेपाल

काठमाण्डाै –नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले सरकारले मुल्यवृद्धि नियन्त्रण गर्ने कोसिस नगरेको बताउनुभएको छ ।
आज बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले कोसिस नगरेको बताउनुभएको हो । उहाँले दैनिक उपभोग्य वस्तुको अन्धाधुन्ध रूपमा मूल्यवृद्धि भइरहेको बताउनुभयो । मूल्यवृद्धि हुनुपर्ने कुनै औचित्य नहुँदा पनि मूल्यवृद्धि भइरहेको भन्दै उहाँले यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । मूल्यवृद्धि नियन्त्रणको सम्बन्धमा आफ्नो पार्टीले संसद् चल्दा संसदमा आवाज उठाइरहेको र संसद् नहुँदा पनि विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अन्धाधुन्ध रूपमा मूल्यवृद्धि भइरहेको छ, त्यसलाई नियन्त्रण गर्ने सरकारको राम्रो प्रयत्न भइरहेको देखिँदैन । अन्धाधुन्ध भाउ एकैचोटि बढाउने । कुनै औचित्य छैन त्यसमा । थोरै थोरै बढाउनु त एउटा कुरा होला । त्यो बढाउँदा पनि कहीँ छलफल गर्नुपर्ने होला । तर जसरी आफ्नो हिसाबले बढाउने काम भइरहेको छ, यस सन्दर्भमा सरकारको ध्यान हामी पनि आकर्षित गराउन चाहन्छौँ ।’

अध्यक्ष नेपालले माइतीघर मण्डलामा आन्दोलनरत शिक्षकहरूको न्यायोचित र जायज माग पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले आवश्यक कुराहरू विधेयक संशोधन गरेर वा नीतिमा मिलाएर शिक्षकहरूलाई न्याय दिनुपर्ने बताउनुभयो ।

प्राधिकरणलाई मुख्यमन्त्रीको सुझाव दावी भुक्तानी प्रक्रिया सुधार्नुस

कास्की :गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमा दावी भुक्तानीलाई सहज बनाउन बीमा प्राधिकरणलाई सुझाव दिएका छन् ।
बिहिवार नेपाल बीमा प्राधिकरणसँगको छलफलमा मुख्यमन्त्री पाण्डेले भने ‘बीमा गराउँदा कम्पनीले जति सजिलो गरी गराउँछ, दावी भुक्तानीमा त्यती सजिलो देखिँदैन, दावी भुक्तानी भएन भनेर सर्वसाधारण नागरिकले गुनासो गर्नुहुन्छ, बीमा प्राधिकरणले यो सुधारर्नुपर्छ ।’

उनले बीमा गराउँदा दिएको आश्वासन दावी भुक्तानीमा नपाएपछि बीमित निराश हुन सक्नेतर्फ ध्यान दिन आग्रह गरे। मुख्यमन्त्री पाण्डेले बीमाका बारेमा अहिले पनि सर्वसाधारण सबैलाई जानकारी नभएको उल्लेख गर्दै सचेतनामा पनि ध्यान दिनुपर्ने बताए। कृषि, पशु, व्यवसाय बीमामा पनि प्राथमिकता दिन उनले अनुरोध गरे।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेशले नीति बनाउँदा बीमासम्बन्धी व्यवस्थालाई प्राथमिकता दिन अनुरोध गरे। गण्डकी प्रदेश भित्र २७ दशमलव ४३ प्रतिशत मानिस बीमाको पहुँचमा छन् । देशभर भने ४४ दशमलव ३८ प्रतिशत मानिस बीमाको पहुँचमा छन् ।

हवाई सुरक्षामा लापरबाही गरेको भन्दै प्राधिकरणले लगायो तीन हेलिकप्टरलाई उडानमा प्रतिबन्ध

नेपाल नागरिक उड्डयन प्राधिकरणले फिस्टेल एयरका दुईवटा र श्री एयरको एउटा हेलिकप्टरलाई उडानमा प्रतिबन्ध लगाएको छ । हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै प्राधिकरणले दुईवटा वायुसेवा कम्पनीका तीनवटा हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो ।

प्राधिकरणका अनुसार भीएफआर उडानको नियम उल्लंघन गरेपछि श्री र फिस्टेल एयरका ‘एएस ३५० बी ३ ई’ प्रकृतिका हेलिकप्टर उडानमा प्रतिबन्ध लगाइएको हो ।

यी दुई कम्पनीले एउटा मात्रै हेलिकप्टर ल्यान्ड गर्न मिल्ने हेलिप्याडमा जबरजस्ती दुईवटा हेलिकप्टर राखेको र एकसय मिटर पनि भिजिबिलिटी नभएको अवस्थामा हेलिकप्टर उडान गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अर्को निर्णय नहुँदासम्मका लागि उडानमा प्रतिबन्ध लगाएको हो ।

सुन तस्करीका आरोपी ३ लाई म्याद थपी अनुसन्धान अघि बढाईंदै

दोलखा —चारकिलो अवैध सुनसहित पक्राउ परेका दोलखाका ३ जनालाई प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चीनबाट अवैध रुपमा ल्याएको ४ किलो सुनसहित३ जनालाई पक्राउ गरेको थियो ।

सुन तस्करीका आरोपी ३ लाई म्याद थपी अनुसन्धान अघि बढाईंदै
पक्राउ पर्नेमा विगु गाउँपालिका–१ का २८ बर्षिय केशर तामाङ, १८ बर्षिय पेम्बा तामाङ र २० बर्षिय माधव मगर रहेका छन् । ईलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको टोलीले उनीहरुलाई बुधबार राती उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई बिहिबारै दोलखा जिल्ला अदालतबाट म्याद थपगरी अनुसन्धन अघि बढाई बढाईएको प्रहरी नायव उपरिक्षक दिपक खड्काले बताए ।

सुन तस्करमा संलग्न अन्य भने फरार रहेको प्रहरी स्रोतले जनाएको छ । फरार रहेकाहरुसँग तस्करीगरी ल्याएको सुन हुनसक्ने अनुमानमा प्रहरीले खोजी जारी राखेको छ । आईतबारबाट चीनको रोङजिया र कोल्दुम नाका चीनले एक साताका लागि खोलिदिएको छ । रोङजिया नाकाबाट चीनको फलाक पुगिने भएकाले यहि नाकाबाट अवैध सुन नेपालतर्फ भित्रिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस

अछामःअछामको पर्यटकीय स्थल रामारोशन विभिन्न ४६ देशका पर्यटकले भरिएको छ। उनीहरु वर्ल्ड रेन्बो फेमली नामक समूह अन्तर्गत रामारोशन आएका हुन्। ती पर्यटकहरु तीन महिनासम्म रामरोशन घुम्ने उद्देश्यले जम्मा भएका छन्।

विश्व पर्यटन दिवसका अवसरमा पर्यटन क्षेत्र विकास समितिले आयोजना गरेको देउडा तथा सास्कृतिक कार्यक्रममा ती पर्यटक पनि सहभागी भए। रामारोशन घुम्न आएका ती पर्यटकलाई गाउँपालिकाले स्वागत गर्ने गरेको गाउँपालिका अध्यक्ष मानबहादुर साउदले बताए। पर्यटकको आगमनले रामारोशनको चर्चा बढ्न थालेको उनको भनाइ छ।

पर्यटकहरुलाई रामरोशन घुम्नका लागि विभिन्न सर्तसहित अनुमति दिने गरिएको उनले बताए । रामारोशन आएका विदेशी पर्यटकहरु खुला चौरमा टेन्ट टाँगेर बसेका छन्।

रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट यस क्षेत्रको नाम रामारोशन रहेको किम्बदन्ती छ। कतिपयले यो क्षेत्रमा शिव–पार्वती बस्ने गरेकाले नै रामारोशन नामकरण भएको बताउँछन्।

रामारोशन गाउँपालिका–६ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ। बाह्र बण्ड भनेको यहाँका १२ वटा ताल र अठार खण्डले यहाँका १८ वटा चौरलाई जनाउँछ।

रामारोशनमा दर्जनौँ समथर फाँटहरु र यहाँ फूल्ने फूल यहाँका आकर्षण हुन् । पाटनमा डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल पनि देख्न सकिन्छ ।

बलात्कारको आरोप लागेका श्रीलङ्काका क्रिकेटर दनुष्काले पाए सफाइ

काठमाण्डाै –बलात्कारको आरोप लागेका श्रीलङ्काका क्रिकेटर दनुष्का गुनाथिलाकालाई अदालतले सफाइ दिएको छ ।

गएको वर्षको नोभेम्बरमा अस्ट्रेलियामा भएको टी–२० विश्वकपका क्रममा एक जना महिलालाई बलात्कार गरेको आरोप लागेपछि उनी पक्राउ परेका थिए । एक महिलालाई उनकै घरमा पुगेर बलात्कार गरेको भन्दै उजुरी परेपछि उनी विश्वकप चलिरहेकै बेला पक्राउ परेका थिए ।

३२ वर्षीय दनुष्कामाथि शुरुमा बलात्कारको आरोप लागेको थियो, पछि भने पीडित भनिएकी महिलाले यौनसम्पर्ककै बखत कण्डम निकालेर सम्बन्धलाई असुरक्षित बनाएको आरोप लगाएकी थिइन् । अस्ट्रेलियाको न्यु

साउथ वेल्स जिल्ला अदालतमा चार दिने सुनुवाइका क्रममा उजुरी गर्ने महिलाले आफूले क्रिकेटरसँग सुरक्षित सम्बन्ध राख्न सहमति दिए पनि पछि असुरक्षित बनाएको बताएकी बीबीसीले जनाएको छ । यस्तै दनुष्काले जबरजस्ती चुम्बन गर्दा आफू निसासिएको र ज्यान जोखिममा परेको पनि महिलाको आरोप थियो । आरोपी महिलाले पटक–पटक बयान फेरेको तर दनुष्काले भने घटनाका विषयमा साँचो बयान दिएको अदालतले जनाएको छ ।

श्रीलङ्काका लागि ८ टेस्टसहित १०० खेल खेलेका दनुष्काले फेरि क्रिकेटमा फर्किने बताएका छन् । अदालतबाहिर उनले भने, ‘यो फैसलाले सबै कुरा बताउँछ । मेरो जीवन फेरि सामान्य हुनेमा म खुशी छु । अब म फेरि क्रिकेट खेल्ने प्रतीक्षा गरिरहेको छु ।’

असोज १२ मा उराव समुदायलाई सार्वजनिक बिदा दिने सरकारको निर्णय

विराटनगर :कोशी प्रदेश सरकारले उराव तथा झाँगड समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले असोज १२ गते हुने करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा उराव तथा झाँगड समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो।

यस्तै झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सासबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्वस्वीकृति लिन सिफारिस गर्ने निर्णयसमेत गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री लिला बल्लभ अधिकारीले जानकारी दिए।

उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८० सार्वजनिककरण गर्ने निर्णय समेत भएका जानकारी दिँदै उनले कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चितकोषमा दाखिला गर्ने व्यवस्थाको लागि नेपाल सरकार, अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णयसमेत भएको उनले बताए।

प्रदेश सामयिक कर असुल सम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति लिने निर्णय भएको बताउदै उनले भने,‘सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानून मन्त्रीलाई तोक्ने निर्णय भएको छ।’

 

एमाले बागमती प्रदेश अध्यक्षको उम्मेदवारीबाट केशव पाण्डेको नाम फिर्ता

काठमाडौं :नेकपा एमाले बागमती प्रदेश अध्यक्ष पदबाट केशव पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन्।

केन्द्रीय नेताहरुले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास गरेपछि पाण्डेले आफूले उम्मेदवारी फिर्ता गरेर मार्ग प्रशस्त गरेको जानकारी दिए। योसँगै अध्यक्ष पदको लागि ४ जना उम्मेदवार रहेका छन्।

पाण्डेले अन्यले पनि उम्मेदवारी फिर्ता लिने र सर्वसम्मत रूपमा नेतृत्व चयन हुने वातावरण निर्माण आफू लागेको बताए। ‘अध्यक्ष पदमा अब मेरो उम्मेदवारी छैन। अरूलाई उम्मेदवारी फिर्ता गर्न लगाएर सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने पक्षमा म लागेको छु’,पाण्डेले भने।

२४ महिना २४ बाचाुसहित एनआरएनए अध्यक्षमा आरकेको उम्मेदवारी घोषणा

काठमाडौँ : गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि कर्मभूमि कतारबाट राजेन्द्रकुमार आरके शर्माले २४ महिना २४ बाचा’ सार्वजनिक गर्दै आज अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

मध्यपूर्वका एनआरएनएका प्रतिनिधि र पत्रकारबीच शर्माले कतारबाट औपचारिकरूपमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। “गैरआवासीय नेपालीको अभियान स् स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मुल नारा समेटेर शर्माले २४ महिने कार्यकालमा आफ्ना २४ कार्ययोजना समेटी बाचापत्र सार्वजनिक गरेका छन्।

संघका वर्तमान उपाध्यक्षसमेत रहेका शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावका आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको बताए। बाचापत्र सार्वजनिक गर्दै उनले भने, “मैले आइसिसीको उपाध्यक्ष भई कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइसकेको छु। त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु। तपाईं हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेको हुँ।”

सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजानुपर्ने खाँचो औँल्याउँदै उनले आफ्नो कार्यकालमा फुटेको होइन, जुटेको एनआरएन बन्ने दावी गरे। आफूले सार्वजनिक गरेका कार्य र त्यसमा भएका प्रगतिको समीक्षात्मक टिप्पणी त्रैमासिकरुपमा सावजनिक गर्ने उनले प्रतिबद्धता जनाए।

शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकहरुको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने बताए। गैरआवासीय नेपाली अभियानलाई मानवीय सहयोगमा मात्र सीमित नराखी नेपालको आर्थिक क्रान्तिका लागि एकजुट भएर लाग्नुपर्ने बेला भइसकेको उनले बताए।

शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन्। उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसिसी सदस्य, मध्यपूर्व संयोजक र आइसिसी सचिव भएर काम गरिसकेका छन्। हाल उनी संघको आइसिसी उपाध्यक्ष छन्।

अष्ट्रेलियासँग भारत ६६ रनले पराजित

काठमाडौं-भारतीय क्रिकेट टिमले अष्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम वान डे म्याच गुमाएको छ । राजकोटमा खेलिएको तेस्रो वान डे म्याचमा भारत ६६ रनले पराजित बनेको हो ।
सुरुआती दुई खेल जितेको भारतले सिरिज भने २–१ ले आफ्नो पक्षमा पारेको छ ।

अष्ट्रेलियाले प्रस्तुत गरेको ३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत २ बल बाँकी छदाँ २ सय ८६ रनमा अलआउट हुन पुग्यो ।
कप्तान रोहित शर्माले ८१ रन बनाएको इनिङ्समा विराट कोहलीले ५६ रनको योगदान दिएका थिए । वासिङ्टन सुन्दर १८ रनमा आउट भएको खेलमा श्रेयस एयरले ४८, रविन्द्र जडेजाले ३५, केएल राहुल २६ रन बनाएर आउट भए । सुर्यकुमार यादव ८, कुलदिप यादव २, जसप्रीत बुम्राहा ५ र मोहमद सेराज १ रनमा आउट भएका थिए ।

अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ४, जोस हेजलउडले २ तथा मिचेर स्टार्स, प्याट कुमिन्स, तानवीर संघले समान एक विकेट हात पारे ।
सुरुआती ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ५२ रन बनाएको थियो । मिचेर स्टार्सले सर्वाधिक ९६ रन बनाएको इनिङ्समा स्टेभन स्मिथले ७४ र मार्नस लाबुसचेनले ७२ रन बनाएका थिए । ओपनर डेभिड वार्नरले ५६ रनको योगदान गरेका थिए ।

भारतका जसप्रीत बुम्राहाले सर्वाधिक ३ तथा कुलदिप यादवले २ विकेट हात पारेका थिए । मोहमद सिराज, प्रसिद्ध कृष्ण समान एक विकेट हात पारे ।
भारतले सिरिजको पहिलो खेल ५ विकेट र दोस्रो खेल ९९ रनले जितेको थियो । अब भारत भ्रमणमा रहेको अष्ट्रेलियाले घरेलु टोलीसँग ५ म्याचको टी ट्वान्टी सिरिज खेल्नेछ ।

जुद्ध सालिकबाट हिँडेरै वसन्तपुर पुगे राष्ट्रपतिसहित भिभिआइपीहरू

काठमाडौं –राष्ट्रपति रामचन्द्र पौडेलसहित सबै भिभिआइपीहरू इन्द्रजात्राको अवसरमा जुद्ध सालिकबाट हिँडेर वसन्तपुर गएका छन् ।
ईन्द्रजात्रा हेर्न जुद्धशम्शेरको शालिकदेखि उनीहरू बसन्तपुरसम्म हिँडेर गएका हुन् ।

सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत ईन्द्रजात्रा हेर्न पुगेका हुन् ।

उनीहरूलाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्वागत गरेकी थिइन् ।
जुद्ध सालिकबाट वसन्तपुर–हनुमानढोका क्षेत्रमा सार्वजनिक सवारीसाधन लैजान सामान्यतया रोक लगाइएको छ ।

 

अछाममा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

अछाम ।अछाममा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
ढकारी गाउँपालिका वडा नम्बर–७ निवासी २५ वर्षिय मंगली थापाको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

थापालाई लगातार ज्वरो आएको, ब्लड प्रेसर कम भएपछि थप उपचारका लागि महिला बालबालिका तथा राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

संविधानले व्यवस्था गरेको कुरा पूर्ण कार्यान्वयनमा आउन सकेका छैनन् सभामुख घिमिरे

काठमाण्डाै –सभामुख देवराज घिमिरेले सूचनाको सही सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । आज बिहीवार काठमाण्डौमा आयोजित सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले संविधानले व्यवस्था गरेको कुरा कार्यान्वयनमा ल्याउन अझै धेरै बाँकी रहेको बताउनुभयो । उहाँले कानुनमा प्रबन्ध भएका कुराहरूको सदुपयोग नभएर दुरुपयोग भएका घटनाहरू देखिरहेको भन्दै सूचनाको सही सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कानुनमा रहेका कमी कमजोरीलाई पूरा गर्ने कुरामा ध्यान आकृष्ट गराउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो संविधानले व्यवस्था गरेको कुरा, कानुन प्रबन्ध गर्ने कुराहरू थुप्रै बाँकी छन् । कानुनमा प्रबन्ध भएका कुराहरूको सदुपयोग नभएर दुरुपयोग भएका घटनाहरू पनि केही देखिएका छन् । सूचनाको हकलाई असर पार्ने ढङ्गबाट यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने प्रचारबाजी भएका छन् । विधेयकमा सूचनासम्बन्धीका हकलाई व्यवस्थित गर्ने र कमजोरीलाई सच्याउन ध्यान आकृष्ट गर्ने, तिनीहरूलाई कार्यान्वयन गर्नका लागि बाध्य बनाउने काम यस्ता सम्मेलनले गर्न सक्छन् ।

सभामुख घिमिरेले प्रजातन्त्रको स्थिरता, समृद्धि, जवाफदेही बनाउनका लागि, विधिसम्मत ढङ्गबाट काम गर्ने वातावरण मिलाउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

दोलखामा ४ किलो सुनसहित ३ जना पक्राउ

दाेलखा – दोलखाको सिङ्गटीमा चार किलो सुनसहित तीन जना पक्राउ परेका छन् । अवैध तरिकाबाट ल्याएको चार किलो सुनसहित गए राति तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

पक्राउ परेकाहरुको नाम प्रहरीले खुलाएको छैन । उनीहरूले भरियाको रूपमा काम गरेको प्रारम्भिक बयानमा बताएका छन् ।

बिगु गाउँपालिका–१ लामाबगर तर्फको नाका चीन सरकारले गएको हप्ता मात्रै खुलाएको थियो । चीनतर्फका नाकाबाट सुन तस्करी हुने क्रम बढिरहेको छ । अघिल्लो महिना पनि केरुङ नाकाबाट तस्करी गरेर ल्याएको दुई किलो सुन रसुवाबाट बरामद भएको थियो ।

 

तीन महिनादेखि एक कर्मचारीको भरमा चलिरहेको स्वास्थ्य बीमा बोर्ड

बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा छ । पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एक जना कर्मचारीको भरमा छ ।
बिहान ९ बजेदेखि सेवाग्राही कार्यालयमा पुग्छन् । कार्यालयमा कर्मचारीको नाममा कार्यालय सहयोगीसमेत नुहँदा स्वास्थ्य बीमा बोर्ड बागलुङको कार्यालय अस्तव्यस्त भएको बोर्ड स्थापनादेखि काम गर्दै आएका दर्ता अधिकारी नारायण शर्माले बताए ।

स्वास्थ्य बीमा गर्ने संख्या दिनानुदिन बढ्दै गएको जनाउँदै उनले तीन महिना अघि एकसाथ तीन कर्मचारीले बोर्ड छोड्दा समस्या भएको बताए ।

स्वास्थ्य बीमाको जानकारी लिन, हराएको कार्ड बनाउन सेवाग्राही आउँछन्। कार्यालयमा जिल्लाभर छरिएका दर्ता सहयोगीले फोन गरिरहन्छन् । एक जनाले सेवाग्राहीसँग कुरा गर्ने की फोनमा दर्ता सहयोगीसँग कुरा गर्ने शर्माले भने ।

उनका अनुसार बीमामा आबद्ध नागरिकको फर्म दर्ता सहयोगीबाट सङ्कलन गर्न समस्या भइरहेको छ । शर्माले बीमा गर्ने सङ्ख्यामा वृद्धि भएकाले एक्लै फर्म अपडेट गर्न समस्या भइरहेको बताए ।

सुरुमा दुई जना कर्मचारी थियौं, बीमा कर्ता थोरै हुनुहुन्थ्यो, अहिले बीमा गर्नेको संख्या वृद्धि भइरहेको छ दर्ता सहयागीबाट आएको फर्म संकलन गर्न नै नभ्याउने अवस्था आइसक्यो, अपडेटका लागि रातिको समय व्यवस्थापन गरेको छु,’ उनले भने, ‘यो हाम्रो मात्रै समस्या हैन गण्डकी प्रदेशभर यस्तै छ भन्ने सुनेको छु, बीमा गर्नेको संख्या बढ्ने कर्मचारी घट्ने भएको छ । तीन महिना अघि तीन जना स्वास्थ्यका कर्मचारी थिए, मन्त्रालयको पत्र आएपछि जानुभयो ।

जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या ४३ प्रतिशत पुगिसकेको दर्ता अधिकारी शर्माले जानकारी दिए । उनका अनुसार जिल्लामा हाल एकलाख १० हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन् ।

कलकत्तामा स्थानीय सडकको नाम भानुभक्त सरणी राखियो

हावडा म्युनिसिपल कर्पोरेसन, हावडा, कलकत्ताले नेपालका आदिकवि भानुभक्त आचार्यका नामबाट स्थानीय सडकको नामकरण गरेको छ ।
पश्चिम बङ्गालका कृषिमन्त्री अरुप रायका पहलमा सेन्ट थोमस हाइस्कुल, चपलादेवी रोडदेखि मनसातला हुँदै नरसिंह दत्तो रोडसम्मको आधा किलोमिटर सडकलाई पहिलेको ‘डब्ल्यु रोड’ का स्थानमा ‘भानुभक्त सरणी’ नाम राखिएको हो ।

नेपाली जनकल्याण समिति, दासनगर हावडाले करिब २५ वर्षदेखि भानुभक्त जयन्ती मनाउँदै आएको र आठ वर्षदेखि सो नाम राख्न माग गर्दै आएको थियो ।
समितिका अध्यक्ष बद्रीविक्रम थापाले आफ्नो संस्थाको अनुरोध ढिलै भए पनि स्वीकार गरेकामा पश्चिम बंगाल सरकार र नगरपालिकालाई धन्यवाद दिए ।

संयुक्त नेपाली केन्द्रीय सेवा संघका अध्यक्ष समेत रहेका थापाका अनुसार उपयुक्त समयमा भानुभक्त मार्गको उद्घाटन गरिने छ ।
गंगासागर मेला, दुर्गापूजा, रक्तदान शिविर, बुद्धजयन्ती, मोतीराम जयन्तीलगायत विभिन्न स्वयंसेवी काम गर्दै आएको केन्द्रीय सेवा संघअन्तर्गत संघअन्तर्गत पर्ने सात समितिमध्ये जनकल्याण समितिले भानुजयन्तीका अवसरमा हरेक वर्ष ‘बिहानी’ नामक साहित्यिक पत्रिका पनि प्रकाशन गर्दै आएको र सोका सम्पादकमा नरविक्रम थापा रहेको समितिका सचिव रामबहादुर कार्कीले जानकारी दिए ।

भारत नेपाल जनमैत्री मञ्च कोलकातालगायत सङ्घसंस्था पनि साहित्यिक कार्यक्रम आदिमा संलग्न रहेको जनाइएको छ ।