प्राधिकरणलाई मुख्यमन्त्रीको सुझाव दावी भुक्तानी प्रक्रिया सुधार्नुस – Nagarikabhiyan : National News

प्राधिकरणलाई मुख्यमन्त्रीको सुझाव दावी भुक्तानी प्रक्रिया सुधार्नुस

कास्की :गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमा दावी भुक्तानीलाई सहज बनाउन बीमा प्राधिकरणलाई सुझाव दिएका छन् ।
बिहिवार नेपाल बीमा प्राधिकरणसँगको छलफलमा मुख्यमन्त्री पाण्डेले भने ‘बीमा गराउँदा कम्पनीले जति सजिलो गरी गराउँछ, दावी भुक्तानीमा त्यती सजिलो देखिँदैन, दावी भुक्तानी भएन भनेर सर्वसाधारण नागरिकले गुनासो गर्नुहुन्छ, बीमा प्राधिकरणले यो सुधारर्नुपर्छ ।’

उनले बीमा गराउँदा दिएको आश्वासन दावी भुक्तानीमा नपाएपछि बीमित निराश हुन सक्नेतर्फ ध्यान दिन आग्रह गरे। मुख्यमन्त्री पाण्डेले बीमाका बारेमा अहिले पनि सर्वसाधारण सबैलाई जानकारी नभएको उल्लेख गर्दै सचेतनामा पनि ध्यान दिनुपर्ने बताए। कृषि, पशु, व्यवसाय बीमामा पनि प्राथमिकता दिन उनले अनुरोध गरे।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेशले नीति बनाउँदा बीमासम्बन्धी व्यवस्थालाई प्राथमिकता दिन अनुरोध गरे। गण्डकी प्रदेश भित्र २७ दशमलव ४३ प्रतिशत मानिस बीमाको पहुँचमा छन् । देशभर भने ४४ दशमलव ३८ प्रतिशत मानिस बीमाको पहुँचमा छन् ।