१२ आश्विन २०८०, शुक्रबार १७:२३ – Page 3 – Nagarikabhiyan : National News

सरकार र राहत शिक्षकबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता

आन्दोलनरत राहत शिक्षकहरू र सरकारबीच सहमति भएको छ । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा सहमति भएसँगै राहत शिक्षकहरूले आन्दोलन फिर्ता लिएका छन् ।
वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र राज्यमन्त्री प्रमिला कुमारी, नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत सहभागी थि ए।

शिक्षा मन्त्री राईले आन्दोलनरत राहत शिक्षकहरूसँग सहमति गरिएको बताए । शिक्षा विधेयकलाई संशोधन गर्ने गरी सहमति गरिएको उनको भनाइ छ ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष अधिकारीले ५ बुँदामा सहमति गरिएको बताए ।

देशभरका सामुदायिक विद्यालयका शिक्षकहरुले काठमाडौंमा केन्द्रीत भएर गत बुधबारदेखि आन्दोलनमा उत्रेका थिए । शुक्रबार सरकारले आन्दोलनको आह्रान गर्ने नेपाल शिक्षक महासंघसँग ७ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित गरेको थियो ।

तर महासंघ र सरकारबीच भएको सहमतिमा असन्तुष्टि जनाउँदै राहतका शिक्षकहरुले आन्दोलन जारी राख्ने घोषणा गरेका थिए । उनीहरुले शनिबारदेखि माइतीघरमा आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका थिए ।

आन्दोलनकै क्रममा राहतका शिक्षक ,बालविकासका शिक्षकहरु घाइते समेत भएका थिए । सरकारले आन्दोलन जारी राखेको एक सातापछि वार्ता गरेको हो ।

मालपोत कार्यलाय सुनसरीकाे दुई कर्मचारी घुसरकम सहित पक्राउ

इनरुवा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सुनसरी मालपोत कार्यालयका दुई कर्मचारीलाई घुससहित रँगेहात पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ईटहरीबाट खटेको टोलीले सुनसरीस्थित भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा र अन्य एक कर्मचारीलाई घुससहित रँगेहात पक्राउ गरेको हो ।शुक्रबार दिउँसो सेवाग्राहीसँग घुस मागेको सूचना तथा उजुरीको आधारमा टोलीले मालपोत कार्यालयका नासु सुदिप कटुवाल र रमेश अधिकारीलाई पक्राउ गरेको हो । मालपोत कार्यालयको रजिष्टरेश शाखा ख मा कार्यरत दुवै जनालाई एक होटेलबाट पक्राउ गरेको हो ।

दुवै जना के कति घुस लिएर पक्राउ गरेको बारे टोलीले खुलाउन मानेनन भने थप जानकारी अख्तियारको केन्द्रीय कार्यालयले केही बरेमा सार्वजनिक गर्ने बताईएको छ ।उता कर्मचारी पक्राउ परेपछि अहिले भुमि सुधार तथा मालपोत कार्यालयमा सेवाग्राहीहरूको कामकाज ठप्प परेको एक सेवाग्राही तजमुल अंसारीले बताए । उनले बताएअनुसार फाँटका कर्मचारीले आज काम हुदैन अख्तियार आएको छ तपाईं अब अर्को दिन सबेरै आउनु तपाईंको काम गर्दिन्छु भनेर घर फर्काएको बताए ।

सभापतिको गुनासो( अर्थ समितिले सरकारलाई दिएको ८० प्रतिशत निर्देशन कार्यान्वयन भएन

अर्थ समिति सभापति सन्तोष चालिसेले अर्थसमितिले सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन नभएको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिले समितिको बैठकमा बोल्दै सभापति चालिसेले यस्तो बताएका हुन् । उनले सरकारले समितिले दिएका निर्देशन पालना नगरे बैठक नै नबस्ने बताए ।

बैठकको भत्ता मात्रै लिनको लागि बैठक बसेर निर्देशन दिने तर सरकारले कार्यान्वयन नगर्दा नकारात्मक सन्देश गएको उनको भनाइ छ । समितिले अहिलेसम्म दिएका निर्देशन पालना नभएको र सरकारले गरेका निर्णय कार्यान्वयनको विषयमा समितिले व्यापक छलफल गरी अनुगमन गर्न आवश्यक रहेको चालिसेले बताए । ठूलो रकमको विदेशी मदिराहरू वीरगञ्ज भन्सारमा रहेको र आयात गर्ने मानिस सम्र्पकविहीन भएको कुरा आएको छ ।

सरकारको राजस्व नउठेर समिति राजस्वको कुरामा चिन्तित छौं । भन्सारमा राजस्व उठ्ने कुरामा त्यतिकै थन्किएर बसेका छन्,’ उनले भने, ‘अर्थमन्त्रीले दुई महिनाभित्र भन्सारमा रोकिएका सवारी साधन लगायतका वस्तुहरू भन्सारबाट निकाल्न निर्देशन दिएको कति महिना भयो। काम भयो भएन भन्नेकुरा छ । यति धेरै राजस्व आउने कुरामा हामी सुतेर बसेको छौं ।’

भन्सार कार्यालयहरूमा सामान आयात गरेर भन्सारमा नै थन्काउने र आयातकर्ता सम्पर्कमा नपाउदाँ भन्सारमा अर्बौंको सामान थन्किएर बसेको उनले बताए ।

साथै, उनले भन्सार प्रमुखहरुले अर्थ समितिलाई फोन गरेर भन्सार अनुगमनको लागि आग्रह गरेको पनि जानकारी समितिमा गराएका छन् ।

विदेशमा पढ्न जानेको कथा पर्दामा

चलचित्रको प्रचारप्रसारका लागि ‘परदेशी २’ को टोली बिहीबार पोखरा आइपुगेको छ । विदेशमा पढ्न जाने नेपाली विद्यार्थीको कथावस्तुमा यो फिल्म बनेको छ ।
चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा लोकगायक तथा फिल्मका निर्माता, निर्देशक नारायण रायमाझीले यो फिल्म सामाजिक कथामा बनेको उल्लेख गरे । परदेशी र परदेशी २ को कथा भन्ने शैली एकै भएता पनि कथावस्तु विल्कुलै फरक भएको उनको जिकिर छ ।

विदेशिनु नेपालीका लागि बाध्यता बनेको छ । उच्च शिक्षाका लागि परदेशिने नेपालीको विदेश भोगाइमा दुरुस्तै उतारिएको छ,’’ उनले भने ।

लोकप्रिय गायक तथा फिल्मका नायक प्रकाश सपुतले चलचित्रको कथा भन्ने शैली र कथावस्तुका कारण आफू यसमा जोडिएको जनाए । पोखरासँग आफ्नो भावनात्मक सम्बन्ध भएकाले पोखराबाट माया पाउने उनको अपेक्षा छ ।

अभिनेत्री केकी अधिकारीले फिल्मको सबैभन्दा बलियो पक्ष गीत र कथा रहेको टिप्पणी गरिन् । सपुतको प्रशंसा गर्दै अधिकारीले भनिन्, “उहाँको अभिनय कौशलतालाई हेर्दा नयाँ जस्तै लागेन । पहिलेदेखि नै फिल्म क्षेत्रमा लागेजस्तो देखियो ।”

फिल्ममा वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, प्रशान्त तामाङ, दिलीप रायमाझी, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । राजेश बंशल अग्रवाल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा मानकृष्ण महर्जनको छायाँकन, बीबी अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी छ ।

अष्ट महर्जनको द्वन्द्व, श्यामश्वेत रसाइलीको साउन्ड डिजाइन र मिक्सिङ, दीर्घ खड्काको सम्पादन रहेको फिल्म युनिटले बिहीबार केही कलेजमा पुगेर प्रचारसमेत गरेको छ ।

अर्जुनधाराका स्वास्थ्य शाखा प्रमुखको जंगलमा डेटिङ

जिल्लाको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत एकजना महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले फेला पारेको घटना सार्वजनिक भएको छ। नगरमा कार्यरत सिनियर अहेब अधिकृत बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले जंगलमा भेटेपछि घटना सार्वजनिक भएको हो।

बस्नेतकी श्रीमतीले ती महिला कर्मचारी लिएर हिँडेको थाह पाएसँगै पछ्याएको र उनीहरुलाई जंगलमा भेटेपछि घटना सार्वजनिक भएको थियो। स्वास्थ्य शाखामा कार्यरत महिला कर्मचारीसँग बस्नेत कार्यालयको पोशाकमै देखिएको भिडियो सार्वजनिक भएको छ। भिडियोमा बस्नेतकी श्रीमतीले गालीगलौज गर्दै लछारेको देख्न सकिन्छ। यो विषय अहिले सामाजिक सञ्चालमा समेत भाइरल भइरहेको छ।

विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा अनैतिक क्रियाकलापमा संलग्न भएको सार्वजनिक भएका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई शनिश्चरे अस्पतालले निलम्बन गरेको छ। भिडियो सार्वजनिक भएपछि बसेको अस्पताल व्यवस्थापन समितिको आकस्मिक बैठकले बस्नेतलाई निलम्बन गरेको हो।

बैठकले बस्नेतसँग स्पष्टीकरण माग गर्ने र अर्को व्यवस्था नहुञ्जेल उनलाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारीबाट अलग गर्नका लागि कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको हो। शनिश्चरे अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहेका बस्नेतलाई लिखित स्पष्टीकरणका लागि ३ दिनको म्याद पनि दिइएको छ।त्यस्तै, घटनामा संलग्न भनिएकी महिला स्वास्थ्यकर्मीलाई पनि स्पष्टीकरणका लागि ४८ घण्टाको समय दिएको अस्पताल व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ। घटना सार्वजनिक भएपछि अर्जुनधारा नगरप्रमुख बलदेवसिंह गोम्देनको निर्देशनमा अस्पताल व्यवस्थापन समितिको बैठक बोलाइएको थियो। यता बस्नेतले भने सडकको किनारमा बसिरहेको समयमा कसैले आफ्नी श्रीमतीलाई उकासेर घटना भएको बताएका छन्।

इनरुवामा उराँव समुदायको करम पूर्व सन्ध्या कार्यक्रम इनरुवाका लागि एतिहासिक भएको प्रमुख केदार भण्डारी भनाई

इनरुवा-सुनसरी सदरमुकाम इनरुवामा ऐतिहासिक रुपमा छैठौ करम पुजा पूर्व सन्ध्या कार्यक्रम सुरु भएको छ । सुनसरीमा अन्य जिल्लाको तुलनामा बढी बाहुल्य रहेको उराँव समुदायको महान पर्व करम पुजा पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम शुरु भएको हो ।

उहाँ बसोबास गर्ने उराँव समुदायले आफ्नो महान पर्व करम पूजाको अवसरमा पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम शुरु गरेका हुन् ।
नेपाल उराव आदिवासी जनजाति प्रतिष्ठान सुनसरी इनरुवाको आयोजनामा कार्यक्रम पूर्व इनरुवाको विहीबारे हाटबाट जातिय पहिरण र पोसाक तथा बाजागाजा सहित उराँवहरूले जातीय पहिरनमा ¥याली निकालेका छन । उराँवको महान पर्वको बारेमा जानकारी दिन, संस्कृति , संस्कार तथा मौलिक भाषाको संरक्षण गर्ने र मौलिकता प्रदर्शन गर्ने उद्देश्यका साथ कार्यक्रम शुरु गरेको प्रतिष्ठानका अध्यक्ष बेचन उरावले बताउनुभयो ।

कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले उरावहरूको हरेक कार्यक्रमरु इनवाका लागि एतिहासिक भएको उहाँहरुको सहभागीता र आरक्षणका लागि पहल गरिने प्रतिवद्धता जनाउनुभयो । उहाँले उराँवहरूको हक, अधिकार र पहिचानका लागि नगरपालिकाको तर्फबाट हुने सबै खालका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो हप्ता समग्रमा सुनको भाउ ३ हजार ४ सय रुपैयाँले घट्यो

काठमाण्डाै –सुनको भाउ आज पनि घटेको छ । केही दिनयता सुनको भाउ लगातार घटिरहेको छ ।
हिजो सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँले घटेको थियो । आज फेरि तोलामा आठ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हप्ता समग्रमा सुनको भाउ तोलामा तीन हजार चार सय रुपैयाँले घट्यो ।

हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा एक लाख १२ हजार दुई सय रुपैयाँ थियो ।
चाँदीको भाउ भने आज बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

१५ वर्षीया किशोरी ६ जनाबाट सामुहिक बलात्कारमा २ जना पक्राउ

मोरङ १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका ३ जहदा बस्ने २० वर्षीय दिपेन्द्र कुमार मण्डल समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मण्डल लगायत ६ जनाले ती किशोरीलाई जहदा जयरामपुर धान खेतमा बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

ठगी गरेको आरोपमा तनहुँको एक सहकारीका प्रबन्धक पक्राउ

तनहुँ ।भिमाद नगरपालिका–९ सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ ।
सोही वडा निवासी ५२ वर्षीय प्रबन्धक चुत्रबहादुर थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो ।

उनले विभिन्न मितिमा संस्थाको शेयर रकम, बचत रकम र एक सय तीस शेयर सदस्यको नाममा काल्पनिक ऋण लगानी गरेको देखाई रकम हिनामिना गरेका थिए ।
उक्त सहकारी संस्थाको दुई करोड ६९ लाख ७१ हजार नौ सय ६६ हिनामिना गरेको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

रकम हिनामिना गरेको जाहेरी परेपछि तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

विद्युत् खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु

पश्चिम नवलपरासीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। विद्युतको खम्बामा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो।

आज बिहान करिब ६ बजेको समयमा रामग्राम नगरपालिका–७ बस्ने जयप्रकाश यादव सोही वडाको उजैनीमा रहेको खम्बाको बत्ती निभाउन गएका थिए। सोही क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए।

करेन्ट लागेका यादवलाई उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो। उनलाई अस्पतालका डाक्टरले उपचारका क्रममा ६स्४० बजे मृत्यु भएको घोषणा गरेका थिए। यादवलाई करेन्ट लागेको स्थानमा वाइफाई तथा अन्य तार भुइँसम्म लत्रिएको अवस्थामा रहेको स्थानीयको भनाइ छ।

१७ दिन संसद् रोकेर प्रधानमन्त्री विदेश घुम्न निस्कनु शोभनीय भएनः केपी ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् रोकेर प्रधानमन्त्री विदेश भ्रमणमा निस्किनु अशोभनीय रहेको बताएका छन् ।

शुक्रबारबाट सुरु हुन लागेका एमाले कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटनका लागि विराटनगर आइपुगेका ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै १७ दिन संसद बैठक रोकेर प्रधानमन्त्री लामो विदेश घुम्न निस्कनु कुनै पनि हिसाबले सोभनीय हुन नसक्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देशको समस्यालाई असरल्ल छाडेर लामो विदेश भ्रमणमा रमाएको भन्दै आलोचना गरेका छन् ।

‘संसद १७ दिनसम्म स्थगित गरेर प्रधानमन्त्री घुम्न निस्कनु भएको छ । दुई साताको प्रधानमन्त्रीको भ्रमण भनेको यो साधारण होइन, कार्यकारी सरकार प्रमुख त्यस्तो फुर्सदिलो हुने शोभनीय कुरै होइन’,ओलीले भने । उनले सत्ता साझेदार दल नेपाली कांग्रेसमा देशप्रतिको चिन्ता नभएको भन्दै तत्काल सरकार परिवर्तनको सम्भावना आफूले नदेखेको पनि बताए । ‘कांग्रेसमा देशप्रतिको चिन्ता छैन । उ बेग्लै संसारमा छ’, ओलीले भने ।

बालबालिका र विद्यार्थीलाई मदिरा तथा सुर्तीजन्य पर्दाथ बिक्री गर्न रोक

गोरखाको सिरानचोक गाउँपालिका वडा ३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक लगाइएको छ ।
हर्मीमा १६ वर्षमुनिका बालबालिकालाई चुरोट, सुर्ती, खैनीलगायत मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने गरी रोक लगाइएको हो । वडाभित्र विद्यालय पोसाक रहेका विद्यार्थीलाई पनि व्यापारीले धुम्रपान र मध्यपानजन्य बस्तु बिक्री वितरण गर्न नपाउने निर्णय कार्यान्वयन गरिएको वडाध्यक्ष जगदिश्वर ढकालले जानकारी दिए । “वडामा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म कसैले पनि मदिरा बिक्री वितरण गर्नसमेत नपाउने व्यवस्था गरिएको छ”, उनले भने,“बिक्री वितरणका लागि छुट भएको समयमा पनि बालबालिका र विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई भने बिक्री गर्न नपाइने नियम लागू गरिएको छ

वडाध्यक्ष ढकालले वडा कार्यालयको बैठक नै बसेर निर्णय गरी वडाभित्र मदिरा बिक्री वितरणमा कडाई गरेको बताए । वडा कार्यालयले लागू गरेको नियम कडाइका साथ कार्यान्वयन गरिने उनको भनाइ छ । निर्णयविपरीत कसैले मदिरा तथा सुर्तीजन्य सामग्री बिक्री वितरण गरेको पाइए पाँच सय जरिवाना गरिनेछ ।

पछिल्लो समयमा विद्यालयमा पढ्दै गरेका बालिकामा मदिरा तथा सुर्तीजन्य प्रयोग बढ्दै गएको पाइएपछि वडा कार्यालयको त्यसको नियन्त्रणका लागि जथाभावी बिक्री वितरणमा रोक लगाएको हो । त्यस्तै वडाभित्र दर्ता नभई सञ्चालनमा रहेको व्यवसायीलाई अनिवार्य पसल दर्ता गरेर मात्र सञ्चालन गर्न पनि वडा कार्यालयले निर्देशन दिएको छ ।

झापाको दमकमा एक युवकको हत्या

झापाको दमकमा एक युवकको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको छ । शुक्रबार बिहान करिब ३ बजेतिर आफ्नै साथीहरूको समूहले गरेको प्रहरीको भनाइ छ ।

हत्या हुनेमा इलामको चुलाचुलीस्थित पोल्टिमारीका २५ वर्षीय गोविन्द लिम्बू रहेका छन् । रातभर दमक–१ स्थित एक होटेलमा सँगै बसेर मादक पदार्थ खाएका साथीहरूबीच एकापसमा भनाभन हुँदा लिम्बूको हत्या भएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज लामाका अनुसार केही व्यक्तिहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । मुख्य हतियार प्रयोग गर्ने व्यक्ति फरार रहेको र खोजी कार्य भइरहेको पनि लामाले जनाए ।

अर्थसमितिको कार्यविधि स्वीकृत

काठमाडौँ –मस्यौदामाथि दफावार छलफलपछि समितिको आजको बैठकले कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले जानकारी दिए ।
उनका अनुसार अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग र लगानी बोर्डको कार्यालय तथा मातहतका कार्यालय समितिको कार्यक्षेत्रभित्र पर्दछन् ।

कार्यविधिअनुसार निर्धारित समयको ३० मिनेट बितिसक्दासम्म बैठक सुरु हुन नसकेमा सभापतिले स्थगित गर्नसक्ने व्यवस्था राखिएको छ । त्यस्तै बैठकको कार्यसूचीबारे ४८ घण्टा अगावै समितिका सदस्यलाई जानकारी गराइसक्नुपर्नेछ ।

बैठकको कार्यसूचीमा परेका विषयको गाम्भीर्य, प्रकृति र महत्व हेरी बैठक सञ्चालन गर्ने र समयावधि तोक्ने जिम्मेवारी सभापतिलाई तोकिएको चालिसेले जानकारी दिए ।

उनका अनुसार समितिको बैठकमा विषय केन्द्रित भएर मात्रै कुरा राख्ने, समितिमा बोल्नका लागि सभापतिको ध्यानाकर्षण गराउन हात उठाएर नाम टिपाउने, एक जना सदस्य बोलिरहेको बेला अर्को सदस्य बोल्न नहुने, बोल्दा आदरसूचक शब्दको प्रयोग गर्ने, अशिष्ट, अपमानजनक तथा आपत्तिजनक शब्द बोल्न नहुनेलगायत विषय राखिएका छन् ।

त्यस्तै, विशेष कारण परेको अवस्थामा बाहेक सभापतिको अनुमतिबेगर बैठक नसकिउन्जेल छाडेर जान नहुने, समिति बैठकमा मोबाइल फोनको प्रयोग गर्न नहुनेलगायतका विषय राखिएका छन् ।
कार्यविधिअनुसार कुनै सदस्यले आफू बैठकमा उपस्थित हुन नसक्ने अवस्था भएमा सोबारे सभापतिलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको उनले बताए ।

समितिमा आएको विषयमा कुनै सदस्यको निजी वा व्यक्तिगत स्वार्थ जोडिएको देखिएमा सदस्य स्वयंले स्वेच्छाले कारणसहित सभापतिमार्फत जानकारी गराउनुपर्नेछ । साथै सो विषयमा समितिमा हुने छलफल र निर्णयबाट आफूलाई अलग राख्नुपर्नेछ ।

समितिको निर्णय प्रक्रिया, उपसमिति वा कार्यदल गठनको प्रक्रियालगायतका विषय पनि कार्यसूचीमा राखिएका छन् । समितिको कार्यक्षेत्रभित्र आएका विषयबारे अध्ययन, भ्रमण, अनुगमन, मूल्याङ्कन तथा अन्तरक्रिया, विदेश भ्रमण, अन्य समिति वा निकायसँगको समन्वयलगायतका विषय पनि कार्यविधिमा छन् ।

समितिमा हालसम्म १६ वटा उजुरी परेको सचिव रेखा उपाध्याय खनालले आजको बैठकमा जानकारी दिए ।

एमालेको बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौँ-नेकपा एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।
मतदान केही बेरअघि सुरू भएको अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए।

अध्यक्षमा मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलको उम्मेदवारी छ। सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित र ललितपुरका नवराज सिलवालबीच प्रतिस्पर्धा हुँदैछ।
चितवन, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकमा सर्वसम्मत सदस्य छानिएको छ।

एमाले बागमतीमा १ हजार १६४ जना प्रतिनिधि छन्। भोटिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ। ४० वटा भोटिङ मेसिन प्रयोग गरिएको मतपरिणाम साँझसम्म आइसक्ने निर्वाचन समितिले जानकारी दिएको छ।

दार्चुलाको शैल्यशिखरमा सिँढीबाट लडेर ७० वर्षीया वृद्धाको ज्यान गयो

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकामा घरको सिँढीबाट लडेर ७० वर्षीया वृद्धाको ज्यान गएको छ ।
शुक्रवार आज बिहान नगरपालिकाको वडा ९ गाँजरी बस्ने ७० वर्षीया कलावती महरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरी कार्यालय दार्चुलाका अनुसार आफ्नै घरको सिँढीबाट लडेर बेहोस भएकी महरको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक बलेन्द्रनाथले जानकारी दिनुभएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।