१२ आश्विन २०८०, शुक्रबार १२:५५ – Page 4 – Nagarikabhiyan : National News

भारतमा भूकम्पबारे पूर्व सूचना दिने एन्ड्रोइड अलर्ट सिस्टम शुरु

सर्च इञ्जिन गुगलले भारतमा भूकम्पबारे पूर्व सूचना दिने ‘एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टम’ शुरु गरेको छ । यो प्रणालीले भूकम्पको कम्पन पत्ता लगाउनेछ र एन्ड्रोइड स्मार्टफोनमा भूकम्प आउनुअघि नै चेतावनी दिनेछ । यसका साथै भूकम्पको तीव्रता र केन्द्रका बारेमा पनि जानकारी दिनेछ ।

गुगलले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण र राष्ट्रिय भूकम्प मापन केन्द्रको सहकार्यमा यो चेतावनी दिने प्रणाली ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो प्रणालीले केही हप्तामा पूर्णरुपमा काम गर्न थाल्ने खबरमा उल्लेख छ ।

गुगलको यो प्रणालीले एन्ड्रोइड स्मार्टफोनमा रहेको एक्सेलेरोमिटरको सहयोगमा काम गर्छ । जसले भाइब्रेसनमा मिनी सिस्मोमिटर अर्थात् कम्पन नाप्ने मेसिनले जस्तै काम गर्छ । गम्भीर झट्का आउनुभन्दा केही सेकेन्ड पहिला नै अलर्ट फोनमा आइपुग्नेछ । यसले भूकम्पबाट हुने क्षति र जोखिमलाई केही घटाउने विश्वास गरिएको छ ।

पुराना दललाई रवि लामिछानेको व्यंग्य आगामी चुनावमा हाम्रो जमानत जफत हुने परिस्थिति बनाइदिनुस

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले २०८४ को चुनावमा आफ्नो पार्टीको जमानत जफत हुने परिस्थिति बनाइदिन भन्दै पुराना दलप्रति व्यंग्य गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमा लेखेर उनले चार वर्ष मिलेर काम गर्न र त्यसपछि आफूलाई राजनीतिबाट विस्थापन गराइदिन आग्रह गरेका हुन्।

उनले राम्रा काम गरेर रास्वपालाई असान्दर्भिक बनाइिदन भनेका छन्। ‘यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याईवाला, सिद्धान्त नभएका, आफ्नै शहीद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्। ४र४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस्, आफ्नो अपार क्षमता’, उनले लेखेका छन् ‘जनताले तपाईँहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्। ४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४र४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई।’

उनले देशका तमाम समस्या सुल्झाउन रास्वपाबाहेकको सर्वदलीय सरकार गठन गरेर काम गर्न अपिल गरेका छन्। देशमा व्याप्त बेथिति अन्त्य गर्ने अन्तिम चार वर्षको रूपमा बुझ्न आग्रह गर्दै उनले आफूहरू प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन्। ‘देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रूपमा अब यो ४ वर्ष तपाईहरू सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौँ’, उनले लेखेका छन्।

चार वर्षअघि नै ‘एड्भान्स’मा घण्टी बजाएर सचेत गराएको भन्दै उनले त्यसपछि कि पुराना दल रहने कि आफूहरू रहने चेतावनी दिएका छन्। ‘राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर’, उनले लेखेका छन्।

 

भक्तपुरमा श्रीमद्भागवत् पितृमुक्ति विराट ज्ञान महायज्ञ शुरु

ललितपुर :भक्तपुरको चाँगुनारायणमा बिहीबारदेखि धार्मिक तथा साँस्कृतिक महामहोत्सव एवं ऐतिहासिक श्रीमद्भागवत् पितृमुक्ति विराट ज्ञान महायज्ञ शुरु भएको छ।
आध्यात्मिक जागरण र आश्रम सञ्चालनको सहयोगार्थ छोरीको घर ज्येष्ठ नागरिक आश्रमको आयोजनामा चाँगुनारायण नगरपालिका–९ ताथलीमा ​बिहीबार महायज्ञ शुरु भएको हो। महायज्ञको आरम्भमा भक्तपुर र आसपासका जिल्लाबाट करिब १ हजारभन्दा बढी भक्तजनको सहभागतामा विशाल कलशयात्रा निकालिएको थियो।

भक्तपुरमा नै पहिलो पटक विशाल पण्डालका साथ महायज्ञ शुरु भएको आश्रमका सञ्चालक अध्यक्ष बालयोगेश्वर विजय मूर्ति महाराजले जानकारी दिए। १७ दिन चल्ने महायज्ञस्थलमा दैनिक पाँच हजार भन्दा बढी भक्तजनले कथा श्रवण गर्ने र महायज्ञ अवधिभर चार लाख आउने अनुमान छ।

आश्रम निर्माणका लागि करिब पाँच करोड लागत लाग्ने अनुमान गरेको भन्दै महायज्ञबाट दुई करोड ५० लाख रुपैयाँभन्दा बढी रकम संकलन हुने अपेक्षा गरेको आयोजक संस्थाको भनाइ छ।

महायज्ञका अवसरमा ५०० भन्दा बढी कन्यापूजन, सयौँ जनाको सामूहिक तुलादान, १०८ गौ माताको दूध जम्मा गरी पञ्चामृत वितरण, एक हजार भन्दा बढी ज्येष्ठ नागरिकको सम्मान र वेद–पुराणपाठ पारायण हुने बालयोगेश्वरले बताए।

महायज्ञका लागि १०८ सदस्यीय मूल आयोजक समिति र ६० वटा उपसमिति तयार पारिएको छ। महायज्ञ असोज २७ गते सम्पन्न हुनेछ।

म्याग्दीको महभिर गाउँ पहिरोको जोखिममा

म्याग्दी :मालिका गाउँपालिका–४ महभिरको बस्ती पहिरोको जोखिममा परेको छ। बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुई वटा घर भत्किनुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ।
वडासदस्य गर्वे गुरुङले काले कामी र तुलबहादुर घर्तीको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिए। ‘पहाडको फेदीबाट शुरू भएको दुई वटा पहिरो फेदीमा रहेको रितुङखोला सम्म पुगेको छ’, उनले भने, ‘ट्याङ्की, मुहान र पाइपलाइनमा क्षति पुगेकाले २५ घरधुरीले प्रयोग गर्ने खानेपानी आयोजना अवरुद्ध भएको छु’

फूलबारी–महभिर–च्युरीबोट सडक अवरुद्ध भएको छ। पहिरोले गाउँको बिचमा ठूलाठूला खोल्सी बनाएको छ। खोल्सा छेउछाउको जमिन चिरा चिरा भएको छ। दुई सय रोपनी भन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ।

गत बुधबार रातिको पहिरोले तुलबहादुरको गोठमा रहेका एक वटा राँगो र एक वटा गोरु मरेका थिए। ‘हामी त्यो दिन घरमा नभएकाले पहिरोबाट बचियो’, तुलबहादुरले भने, ‘११ जनाको परिवार आफन्तकोमा बसेका छौँ।’

काले कामीले पहिरोले पुरिएकोबाहेक अर्को ठाउँमा रहेको घडेरीमा पनि पहिरोको जोखिम भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताएको बताए। पूर्णदेवी घर्ती, सहबहादुर घर्ती, सहबहादुर सुनार, लालबहादुर कामी, तिलक कामी, गोरे कामी, पोविसरा सुनार, वीरबहादुर कामी, मुक्तिराम सुनार, कुलप्रसाद घर्ती, भीमप्रसाद सुनार, रहमन घर्ती र कुमारी घर्तीको घर जोखिममा रहेका वडासदस्य गुरुङले जानकारी दिए।

 

शिक्षक चढेको गाडी दुर्घटना हुँदा १० जना घाइते

काठमाडौं :बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटार नजिक भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन्। शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौं आउँदै गरेका राहत शिक्षक चढेको भ्यान दुर्घटनामा परेको हो।

सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक भ्यान आज बिहान ८ बजे सडक किनारको नालीमा पल्टिएको हो।

घाइतेहरुलाई थप उपचारका लागि धुलिखेलतर्फ पठाइएको सिन्धुली प्रहरीले जनाएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइतेको अवस्था सामान्य रहेको सिन्धुली प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिए।

केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता मङ्सिरको पहिलो साता

कास्की । पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने भएको छ ।

एकेडेमीका संरक्षकसमेत रहनुभएका पूर्वप्रधानमन्त्री ओलीको सम्मानमा उहाँको नाममा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गर्न लागिएको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले बताउनुभयो । प्रतियोगिता पोखरा रङ्गशालाको क्रिकेट मैदानमा मङ्सिर ७ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सात प्रदेश, विभागीय नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको एक गरी ११ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा च्याम्पियन टोलीलाई रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी०को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ रु २० हजार, र ‘म्यान अफ द म्याच’ले नगद रु पाँच हजार पुरस्कार पाउने छन् ।

एकेडेमीले खेल पर्यटनलाई आधार बनाई उत्पादन रोजगार र समृद्धिको यात्रामा समाजका हरेक क्षेत्रमा प्रतिस्पर्धाको आधारमा श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने मदनको विचारलाई आत्मसात् गर्दै आएको अध्यक्ष आचार्यको भनाइ छ ।

उहाँले भन्नुभयो, “अनुशासित, राष्ट्रप्रेमी, मेहनती र प्रतिस्पर्धी नागरिक उत्पादन गर्न बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल गतिविधि, खेल प्रशिक्षण र प्रतिस्पर्धा आयोजना गर्ने गरेका छौँ । यसबाट स्वस्थ नागरिकसहित देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादनमा सहयोग पुग्नेछ ।”

सङ्घीय राजधानीदेखि सात प्रदेशसम्मलाई समेटेर आयोजना गरिएको प्रतियोगिताबाट धेरै खेलाडी र खेलप्रेमी लाभान्वित भएको एकेडेमीको भनाइ छ । पोखरामा हुने क्रिकेटको राष्ट्रियस्तरको प्रतियोगिताले नयाँ खेलाडी उत्पादन तथा खेल कौसल प्रदर्शनका लागि सहयोग पुग्ने पूर्वराष्ट्रिय खेलाडी एवं एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले बताउनुभयो ।

एकेडेमीमा खेलकुदको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, निर्णायक, गुुरु वर्ग र खेललाई माया गर्ने खेलप्रेमी आबद्ध रहेको बताइन्छ । ‘सबैका लागि खेलकुद’ को नारासहित विसं २०६६ पुस १७ गते एकेडेमीको स्थापना भएको हो ।

भारत हुँदै कोरिया जान्छु भन्ने दुई किशोरीको उद्धार

काठमाडौँ –कञ्चनपुरको बेलौरी नगरपालिकाबाट दुई किशोरीको उद्धार गरिएको छ। बेलौरी(१० स्थित भुडा चौकीबाट खटिएको प्रहरी टोलीले भारतीय बजार कम्बोजनगर हुँदै भारत पस्न तयार भएका दुई किशोरीको उद्धार गरेको हो ।

बेलौरी(१ बस्ने उनीहरूमध्ये एकजनाको उमेर १४ र अर्कीको उमेर १३ वर्ष रहेको बताइएको छ । प्रहरीले शंकाको आधारमा सोधपुछ गर्दा दुवैले भारत हुँदै कोरिया जान लागेको बताएका थिए । कसैबाट ठगिएको अथवा झुक्काइएको हुनसक्ने भन्दै प्रहरीले दुवै जनालाई उद्धार गरी आफन्तको जिम्मा लगाएको छ ।

चिकित्सकहरूले मागे गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा

वीरगन्ज –गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै चिकित्सकहरुले वीरगन्जमा प्रदर्शन गरेका छन्।
मेडिकल एशोसियसन अफ नेपालको अगुवाईमा चिकित्सकहरुले बिहीबार साँझ विरोध जुलुश निकालेर प्रदर्शन गरेका हुन्। जुलुशमा सहभागी चिकित्सकहरुले स्वास्थ्यमन्त्री राजीनामा दे, गृहमन्त्री राजीनामा देखि डाक्टर कुट्न पाइँदैन कि सुरक्षा दे कि भिसा दे, जेल वीथ आउट बेल लागु गर लगायतका नारा पनि लगाएका थिए।

वीर्तास्थित मेडिकल एशोसियसन अफ नेपालको नारायणी शाखा भवन अगाडिबाट निस्किएको चिकित्सकहरुको विरोध जुलुस नगर परिक्रममा गर्दै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै मेडिकल एशोसियसन अफ नेपालको नारायणी शाखा अध्यक्ष डाक्टर मनोज गुप्ताले देशका विभिन्न स्थानका अस्पतालभित्रै डाक्टरहरुमाथि आक्रमण भइरहदाँ पनि सरकार मौन बसेको बताए। दिनहुँ डाक्टर कुटिँदा पनि गृहमन्त्री र स्वास्थ्यमन्त्री कानमा तेल होर बसेकोले दुवै मन्त्रीको राजीनामा माग गरिएको उनले बताए। उनले भने, ‘कि त सरकारले हामीलाई सुरक्षा दिनु पर्‍यो कि त विदेश जाने भिसा दिनु पर्‍यो। नेपालमा बसेर काम गर्न सक्ने अवस्था नै देखिएको छैन।’

डाक्टरमाथि कुटपिट र आक्रमण गर्नेहरुलाई कारबाही गर्नुको सट्टा राज्यका निकायले नै मिलापत्र गर्ने दबाब डाक्टरमाथि दिनुले सरकार आफैंले नेपालमा डाक्टरहरु नबसुन् भन्ने चाहेको प्रष्ट भएको उनले बताए।

प्रदर्शनमा सहभागी एशोसियसनका निवर्तमान महासचिव डाक्टर उदयनारायण सिंहले आफैं असुरक्षित भएर डाक्टरले बिरामीको उपचार गर्न नसक्ने बताए। उनले भने, ‘हामीले यो सरकारसँग अरु केही होइन केवल सुरक्षाको माग गरेका छौं। डाक्टर कुट्नेलाई कानुनी कारबाही होस् भनेका छौं। तर सरकारी निकायले नै कुटपिट गर्नेहरूसँग उल्टै मिलापत्र गर भनेर डाक्टरहरूलाई दबाब दिइएको छ। यस्तो अवस्थामा हामी डाक्टरहरुको मनोबल झन् खस्किएको छ।

मेडिकल एशोसियसन अफ नेपालको नारायणी शाखा अध्यक्ष डाक्टर मनोज गुप्ताको अध्यक्षतामा भएको प्रदर्शनमा वीरगन्जमा रहेका ससरकारी र निजी स्पाल, क्लिनक , नर्सिङ होम, मेडिकल कलेजमा कार्यरत चिकित्सकहरुको सहभागीता थियो। यसअघि बुधबारपनि वीरगन्जको घण्टघार चोकमा चिकित्सकहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

नगरपालिकाका कर्मचारीले दियो हिमालय टेलिभिजनका समाचारदाता पत्रकार दैलेखीलाई ज्यान मार्ने धम्की

दैलेख – हिमालय टेलिभिजन दैलेखका समाचारदाता एवम दैलेखका सक्रिय पत्रकार कृष्ण बहादुर सुनार दैलेखी लाई ज्यान मार्ने धम्की दिएको छ । नारायण नगरपालिका–११ वडाकार्यलयमा कार्यरत कर्मचारीले अती बिपन्न महिलाहरुले वडा कार्यालयको सिफारिस माग्दा नदिएको भन्दै पत्रकार दैलेखीले सामाजिक संजाल फेसबुकमा लेखेपछि ज्यान मार्ने धम्की दिएको अडियो समेत सार्वजनिक भएको छ ।

नारायण नगरपालिका –११ का स्थानीय महिलाहरुको आफुले सिपमुलक कार्यक्रममा सहभागी हुनका लागि वडा कार्यालयले सिफारिस मागेको र वडामा कार्यरत कर्मचारीले सिफारिस नदिएको विषयमा लेखेको भन्दै ज्यान मार्ने धम्की दिएको पत्रकार दैलेखीले बताए । उनले वडा कार्यलयमा कार्यरत सामाजिक परिचालक खगेन्द्र बिष्टले सिफारिस दिन आलटाल गरेको र सिफारिस नदिएपछि पत्रकार दैलेखीले निबेदन माग्दा नदिने कर्मचारीका बिरुद्धमा समाचार लेखेका थिए । सिफारिस नदिएको समाचार लेखेको भन्दै पत्रकार दैलेखीलाई ज्यान मार्ने धम्की दिदै आफु कर्णाली प्रदेशको डन भएको बताउँने ब्यक्तिले जहाँ पायो त्यही हात खुट्टा भाच्ने र मार्ने धम्की दिएका हुन ।

ज्यान मार्ने धम्की दिएपछि पत्रका दैलेखीले आफ्नो ज्यानको सुरक्षाका लागी सम्बन्धित निकायमा अडियो र नम्बर सहितको उजुरी दिने तयारी गरेको बताए । अन्यायमा परेका महिलाको विषमा अवाज उठाउँदा ज्यान मार्ने धम्की दिने ब्यक्तिलाई पक्राउ गरी आवश्यक कार्वाही गर्न प्रहरी कहा निबेदन दिने तयारी समेत गरेको बतए । उद्योग उपभोक्ता हित संरक्षण कार्यालयले स्थानीय महिलाहरुलाई आश्यक पर्ने तालीमका लागी वडा कार्यालयको सिफारिस आवश्यक पर्ने बताए पछि नारायण नगरपालिका वडा नः ११ का महिलाहरुले वडा कार्यालयमा निबेदन दिन पुगेको थिए । सिफारिस लिन पुगेको महिलाहरुलाई सामाजिक परिचालक बिष्टले सिफारिस नदिने भन्दै उल्टै धम्काएको पीडीत महिलाहरुले बताएका छन ।

दसैँ नजिकिएपनि सर्वसाधारणमा छैन उमङ्ग बजार चकमन्न

दशैं नेपालीहरुको महान चाड हो । दशैं आउनेबित्तिकै सबैतिर उमगं र उत्साह छाउँछ । दशैं आउन महिनादिन बाँकी हुँदा नै किनमेल गर्न, घर जान सम्पूर्ण सामानको जोरजाम गर्नेलगायतका कार्य गरिन्थ्यो । परदेश पुगेका नेपाली पनि दशैं मान्ने घर आउँथे । यता, काठमाडौंमा भएकाहरु पनि घर जाने तयारी गर्थे । सामान खरिद गर्नेहरुको भीड बजारमा एक महिना अगाडिदेखि नै देखिन्थ्यों । जागिर नभएकाहरु दशैं मनाउन महिनादिन अगाडि नै घर जान्थें ।

चोकचोकमा झोला बोकेर गाडी कुरिरहेकाहरुको भीड हुन्थ्यो । तर, यसपटकको दशैंमा ठ्याक्कै उल्टो भएको छ । बजार चनमन्न छ, किन रु यतिबेला त व्यापारीहरुलाई भ्याइनभ्याइ हुन्थ्यो । यद्यपि, अहिले त व्यापारीहरु नै निराश छन् । बजारमा देखिएको आर्थिक मन्दीको सबैभन्दा धेरै मार व्यापारीहरुलाई परेको छ । उनीहरु दशैंमा त व्यापार होला भनेर आश गरेर बसेका थिए । तर, त्यो आश पनि अहिले ‘पानी–पानी’ भएको छ । कसैलाई पनि दशैं नजिकिएजस्तो महसुश नै भएको छैन् ।

आर्थिक मन्दीले बजारलाई छपक्कै छापेको अवस्था छ । सर्वसाधारणहरुसँग पैसा नै छैन्, कहाँबाट किनमेल गर्नु रु एकातिर मँहगी ह्वात्तै बढेको छ अर्कोतिर बेरोजगारी । अहिले धेरैसँग रोजगारी छैन् । रोजगारी भएकाले पनि तलब पाइरहेको अवस्था छैन् । पहिले ज्यामी काम भएनि पाइन्थ्यो । पछिल्लो समय त्यो काम पाउन पनि मुश्किल छ । मँहगीले त सबैको ढाड सेकेको छ । बिहानबेलुका चुल्हो बाल्नसमेत धौं–धौं परेको अवस्था छ । हरेक सामानको मूल्यवृद्धि भएको छ ।

सामान्य दालभात खान पनि महाभारत छ । अनि यस्तोमा दशैं मान्ने खर्च कहाँबाट ल्याउनु रु वित्तिय संस्थामा देखिएको समस्याले पनि अधिकांशलाई मर्कामा पारेको छ । सहकारीहरु रातारात भाग्दा बचतकर्ता त चुलुम्मै डुबेका छन् । खाईनखाई जोरजम्मा गरेको राखेको पैसा लिएर सहकारी सञ्चालन भागेपछि के–को दशैं मनाउनु रु उनीहरु झनै तनावमा छन् । सर्वसाधारणसँग पैसा नभएपछि व्यापारीहरु झिँगा धपाएर बस्नु स्वाभाविकै हो । कतिपय व्यापारी त ‘बोनी’ समेत नभएको गुनासो गर्छन् ।

काठमाडौं यस्तो ठाउँ हो, जहाँ खाली सटर पाउन महामुश्किल हुन्छ । सटरकै लागि ‘हारालुछ’ हुन्छ । तर, अहिले त अधिकांश घरमा ‘सटर खाली छ’ भनेर ब्यानर टाँसेको देखिन्छ । राजधानीका सटरहरु खाली भइसकेका छन् । दिनभरी झिँगा धपाएर बस्नुपर्ने भएपछि को सटर भाडा तिरेर बस्ने रु वास्तवमा भन्ने हो भने सर्वसाधारणसँग घर जाने गाडी भाडासमेत नभएको अवस्था छ । सर्वसाधारणले खाद्यान्न र औषधीबाहेक केही किन्दैनन् ।

माछामासु, दही पनि खान छोडिएको छ । चामल र दाल भएपनि गुजारा चल्छ भन्ने मनशायमा उनीहरु पुगेका छन् । हरियो तरकारी छोइनसक्नु छ । खाद्यान्नको हाहाकार अहिले नै देखिन थालिसकेको छ । चिनी, जिरालगायतका सामग्रीमा भएको मूल्यवृद्धिले सर्वसाधारणको सातो लिएको छ । दशैं नजिकिएसँगै विभिन्न आपराधिक घटना घट्न थालेका छन् । दिँउसै लुटपाट हुन्छ । बाटो हिँड्न पनि डरमर्दो अवस्था छ । बजारमा यस्तै मन्दी देखियो भने दशैंपछि झन् खतरा हुन सक्छ ।

चोरीडकैतीले ठूलो रुपमा लिन सक्छ । आम्दानीको स्रोत नभएपछि के गर्ने रु खानु त पर्यो । सरकार जनतालाई रोजगारी दिन सक्दैन्, मँहगीचाँहि बढेको बढ्यै छ । गत पुससम्म चार सय रुपैयाँ किलोग्राममा पाउने जिरा अहिले १३ सय रुपैयाँ किलो पुगेको छ । एक बोरा चामलले पाँच सय रुपैयाँदेखि हजार रुपैयाँसम्म बढाइएको छ । चिनीको भाउ १४० रुपैयाँ किलो पुगेको छ । खानेतेलमा पनि मूल्यवृद्धि भएको छ । अनि जनताले कसरी पेट पाल्ने रु हरेक खाद्यान्नको मूल्यवृद्धि भएको छ ।

सर्वसाधारणसँग काम छैन् । देशमा बसेर खान पनि धौ धौं परेपछि नेपालीहरु धमाधम विदेशिरहेका छन् । एयरपोर्टमा जहिले देश छोड्ने नेपालीको लर्को हुन्छ । नेपालको आधा जनसंख्या त विदेशमा छन् । मुलुकमै बसेर केही गर्छु भन्नेहरु पनि हरेश खाएर बाहिर जाने सोच बनाउँदै छन् । यस्तो हुँदासम्म सरकार गम्भीर भएको छैन् । सरकारले जनतालाई अभिभावकत्व महसुश गराउनै सकेको छैन् । जनता बाँच्नै नसक्ने अवस्थामा पुगेका छन् तर, सरकारलाई मतलब नै छैन् ।

घरधनी भनेर के गर्नु, कोठाबहालमा बस्ने नभएपछि त उनीहरुलाई पनि ईंट्टा टोक्ने कि डण्डी भएको छ । भाडा आउथ्यो र पो मज्जाले बसिबसि खाएका थिए । कोठा र सटर खाली भएपछि त उनीहरुलाई पनि गुजारा गर्न समस्या भएको छ । दुई वर्षअघि दिनमै लाखौं रुपैयाँको व्यापार गर्ने पसलेहरुलाई हजार रुपैयाँको सामान बेच्न पनि गाह्रो छ । मन्दीले हरेक क्षेत्रमा असर पुर्याएको छ । आर्थिक मन्दी जनताले देखेका छन् तर, सरकारमा बस्नेहरुले देख्दैनन् ।

अर्थमन्त्री डा प्रकाशशरण महत आँखा चिम्लेर बसेका छन् । उनलाई केही थाहा छैन् । अर्थतन्त्र चलायमान भइसकेको भनि भाषण ठोक्दै हिँडेका छन् उनी । बजार र जनताको अवस्था नाजुक छ, उनी सब ठिकठाक छ भन्छन् । उनलाई साँच्नै नै केही थाहा नभएको हो कि थाहा पाएर पनि बुझ पचाएको रु उनले देशको अर्थतन्त्र भन्दा पनि आफ्नो पद जोगाउने कोसिश गरिरहेका छन् । बजार चलायमान गर्न सरकारले विभिन्न कोसिश गरेको छ । तर, कुनै फरक परेको छैन् ।

अर्थतन्त्र डामाडोल अवस्थामा छ । राज्यको ढुकुटीमा राजश्व उठ््न छोडिसकेको छ । अर्थजस्तो संवेदनशील मन्त्रालयमा बसेर हावादारीको भरमा बोलेर हुन्छ रु अर्थमन्त्रीसँग भिजन केही छैन् । जनतालाई ‘मर्नु न बाँच्नु’ भएको छ । अर्थमन्त्रीलाई कुनै चासो नै छैन् । अर्थतन्त्रलाई पहिलेकै रफ्तारमा ल्याउन अर्थमन्त्री महतसँग कुनै योजना छ रु छैन् । सरकारी खर्च बढेको बढ्यै छ । सरकार सरकारी कर्मचारीकै वरिपरि घुमिरहेको छ । राजश्व उठेको छैन्, सरकारी कर्मचारीको सेवासुविधा कटौती गर्नुपर्दैन् रु

जनताले तिरेको कर सरकारी कर्मचारीको सेवासुविधा पूर्ति गर्नै पुग्दैन् । विकासका काम सरकारले के गर्थ्यों रु जनप्रतिनिधि, सांसद, मन्त्री, भूपू मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, सरकारी कर्मचारी सबै मिलेर राज्यको ढुकुटी दोहन गरिरहेका छन् । काम नै नगरिकन बसिबसि सेवासुविधा पाउने सिस्टम नेपालमा मात्रै होला । फेरि सरकारमा बसेकाहरुलाई हीनताबोध पनि नहुँदो रहेछ । यिनीहरुलाई यत्तिकै तलबभत्ता र सरकारी सेवासुविधा लिन लाज लाग्दैन् रु

जनता खान नपाएर पेटमा पटुकी कसेर हिँडेका छन् । सरकारमा बसेकाहरु देशको ढुकुटीले नपुगेर विदेशीसँग हात फैलाउँछन् । यिनीहरु कहिले सुध्रिदैनन् भन्ने त सबैलाई थाहा छ । देशको प्रधानमन्त्री, मन्त्री, जनप्रतिनिधि, सांसद, सरकारी कर्मचारी देख्दा जनताहरुको मुटु भतभती पोल्छ । जनता खाइनखाइ कर तिर्छन्, त्यसको सदुपयोग नहुँदा कति रिस उठ्छ रु देश नै माफियाहरुले चलाएका छन् अनि जनताले कहाँबाट सुविधा पाउँछन् रु यस्तै पारा रह्यो भने देश झन् जटिल अवस्थामा पुग्छ ।

खाद्यान्नकै हाहाकार हुन्छ । यहाँ भोकमरी लाग्छ । कमाइ नभएपछि सबै चोरडकैतीतिर लाग्छन् । त्यसैले अबचाँहि सरकारमा बस्नेहरु ‘एक्सन’ मा जानुपर्यो । सरकारी कर्मचारी, जनप्रतिनिधि, सांसदहरु पनि जिम्मेवार भइदिनुपर्यो ।

एमाले कोशी प्रदेश अधिवेशन आज सुरु हुँदै

नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
भोलिसम्म चल्ने अधिवेशनको उद्घाटन सत्रमा पार्टी अध्यक्ष ओलीसहित पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरूको पनि सहभागिता रहनेछ । यस्तै, सम्पर्क मञ्च र कमिटीबाट पनि आमन्त्रण गरिएको छ ।

अधिवेशनमा कोशी प्रदेशका १३७ पालिकाका प्रतिनिधि, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी एकहजार ४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जनाइएको छ ।

अधिवेशनले ५ पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ ।

कोरियन एयरको टिकट नकाट्न निर्देशन

नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी जाडो याम विन्टर सिजन का लागि टिकट नकाट्न कोरियन एयरलाई जानकारी गराएको छ । कोरियन एयरले दुई देशबिचको हवाई सेवा सम्झौताको प्रावधानविपरीत महँगो टिकट शुल्क लिएर एकलौटी उडान गर्दै आएको र नेपाल वायुसेवा निगमको नियमित उडानलाई प्रभावित पार्दै आएको जनाउँदै अक्टोबर अन्त्यदेखिका टिकट नबेच्न निर्देशन दिएको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार कोरियन एयरको नेपालका लागि जनरल सेल्स एजेन्ट युनिभर्सल ट्राभल्सलाई टिकट नबेच्न निर्देशन दिइएको हो । अनेक बहानाबाजी गरेर वर्षौंसम्म निगमको जहाजका लागि उडान अनुमति नदिएको, दुई देशबिचको हवाई सम्झौताविपरीत बिनाप्रतिस्पर्धा एकोहोरो उडान गर्दै आएको लगायत कारण टिकट बिक्री नगर्न निर्देशन दिएको उनले बताए ।

उनले भने, “निगमले लामो समयदेखि कोरियामा उडानको तयारी गरिरहे पनि उडान तालिकाको निश्चित नभएपछि प्राधिकरण जाडोयामका लागि यो निर्णयमा पुगेको हो ।” कोरियन एयरले एकतर्फी उडान गर्दा भाडामा प्रतिस्पर्धा नभएको तथा उसको एकाधिकारले यात्रु मारमा परेको गुनासो बढेपछि टिकट बिक्री गर्न रोक लगाइएको उनले बताए ।

कोरियन उड्डयन कार्यालयले कहिले नेपाल एयरलाइन्सको अडिट गर्नुपर्ने त कहिले प्राधिकरणको अडिट गर्नुपर्ने कारण देखाउँदै आलटाल गरेपछि प्राधिकरणले उक्त निर्णय गरेको हो । नेपालबाट ट्रान्जिट भएर कोरिया जाने यात्रुको तुलनामा सिधा उडानमार्फत कोरिया जाने यात्रुले महँगो टिकट लिँदै आएका छन् । चीनलगातका मुलुकमा ट्रान्जिट भएर कोरिया जाँदा बढीमा ८० हजार रुपैयाँ हवाई भाडा लाग्दै आए पनि कोरियन एयरले सिधा उडानमार्फत डेढ लाख रुपैयाँभन्दा बढी लिँदै आएको प्राधिकरण स्रोतले जनाएको छ । यसबाट रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जाने नेपाली युवा बढी मारमा पर्ने गरेका छन् ।

नेपाल र कोरियाबिच सन् २००१ मा भएको हवाई सेवा सम्झौता सन् २००४ मा सम्झौता संशोधन भएको थियो । सम्झौताबमोजिम हाल कोरियन एयरले काठमाडौँ–सिओल रुटमा साताको पाँच वटा उडान गर्दै आएको छ । सोही सम्झौता अनुसार नेपालबाट कोरियामा उडानका लागि छ वर्षअघि नै निगमलाई सिधा उडानको अनुमति दिन कूटनीतिक पहलसहित पत्राचार गरिएको थियो तर कोरियाको नियामक निकायले कहिले निगमको सेफ्टी अडिट गर्नुपर्ने त कहिले प्राधिकरणको अडिट गर्नुपर्ने भन्दै विभिन्न बहाना गरेर अनुमतिको प्रक्रियालाई लम्ब्याउँदै आएको छ ।

डाक्टरमाथि आक्रमण बिरामी बिचल्लीमा डाक्टर सडकमा

काठमाण्डाै – डाक्टरहरुको आन्दोलनका कारण उपचारका लागि अस्पताल पुगेका बिरामी थप मर्कामा परेका छन् । अस्पतालमा आकस्मिक उपचार सेवा समेत पाउन नसकेको बिरामी र आफन्तको गुनासो छ ।

काठमाण्डौका ठूला अस्पताल त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटनलगायत देशभरीका धेरैजसो सरकारी अस्पतालमा सेवा प्रभावित छ । डाक्टर र अरु स्वास्थ्यकर्मीले आकस्मिकबाहेकको स्वास्थ्य सेवा बन्द गरेको भने पनि आकस्मिक सेवा समेत प्रभावित भएको छ ।

स्वास्थ्यकर्मी धर्ना तथा जुलुसमा सहभागी भएका कारण बिरामीले उपचार पाउन सकेका छैनन् । आन्दोलनकै कारण अस्पतालका अरु सेवा पनि प्रभावित भएका छन् । सुरक्षित कार्यस्थलको माग राखेर डाक्टर र स्वास्थ्यकर्मीहरुले चार दिनदेखि आन्दोलन गर्दै आएका छन् ।

डाक्टर तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थामा सुरक्षित काम गर्ने वातावरण नभएको र मनोबल नै खस्किएको सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका सदस्य डा। दिक्षान्त आचार्यले बताउनुभयो । गृह मन्त्रालयले अस्ति बुधवार स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएको थियो । तर डाक्टर र स्वास्थ्यकर्मीहरुले अझै सुरक्षित रुपमा काम गर्ने वातावरण नभएको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले डाक्टर र स्वास्थ्यकर्मीमाथि आक्रमण र कुटपिटका घटना बन्द गर्न र अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन आग्रह गरेको छ । विभिन्न अस्पतालमा कार्यरत डाक्टरमाथि भएका आक्रमण, दुर्व्यवहार तथा स्वास्थ्य संस्थामा भएको तोडफोडलाई लिएर डाक्टरहरु आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकको स्वास्थ्य उपचारमा असर पुगेको आयोगले जनाएको छ ।

आज चोनाम पर्व चेपाङ समुदायले हर्षोउल्लासका साथ मनाउँदै

आज चोनाम पर्व, चेपाङ समुदायले हर्षोउल्लासका साथ मनाउँदै छन् । चोनामलाई चेपाङहरुको मुख्य पर्वमा रुपमा समेत लिइन्छ ।

आजको दिन घैया धानको चामल, पिँडालु, निबुवा आदिले भूमिलाई पूजा गरी पितृलाई चढाउने गरिन्छ । चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक मान्यता छ । आजको दिन छरछिमेकी, नाताकुटुम्बलाई बोलाएर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गरिन्छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार चेपाङ जातिको जनसङ्ख्या ८४ हजार ३ सय ६४ जना रहेको छ । धादिङ, मकवानपुर, चितवन, गोरखालगायत २६ जिल्लामा चेपाङ जातिको बसोबास देखिन्छ । सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो ।

तस्बिर विश्वास चेपाङको फेसबुक

तनहुँमा पार्किङमा राखेको रोलरबाट डिजल चोरी गर्ने दुई जना पक्राउ

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा पार्किङ गरी राखिएको रोलरबाट डिजेल चोरी गर्ने दुई जना पक्राउ परेका छन् । चाइना कम्युनिकेशन कन्ट्रक्सन प्रालिको रोलरबाट डिजेल चोरी गरेको अभियोगमा प्रहरीले बिहीवार हिजो दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका–५ याम्पा बस्ने २७ वर्षीय सुलोचन भट्टराई र रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० बस्ने २८ वर्षीय रामबहादुर चमार रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक खाणले जानकारी दिनुभयो ।

उनीहरुलाई रोलरबाट १ सय १० लिटर डिजल चोरी गरी बा २० च ७४९ नम्बरको आफ्नो गाडीमा लोड गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेकाविरुद्ध तनहुँ अदालतबाट सात दिनको म्याद थप गरिएको छ ।

पार्टीका वैचारिक दृष्टिकोण जनताकाबीच लगिन्छ अध्यक्ष नेपाल

काठमाडौँ :नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीले अवलम्बन गरेका नीति तथा आदर्शलाई जनताकाबीच लैजाने ‘समाजवाद जागरण अभियान’ महत्त्वपूर्ण हुने बताएका छन्।

पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको अभियानबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले झापाको काँकडभिट्टास्थित मेची नदीबाट सुरु गर्ने उक्त अभियानमा पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण देशव्यापीरूपमा प्रचार–प्रसार गरिने बताए।

समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोणमा अन्तरक्रिया एवं समसामयिक, अन्तर्राष्ट्रिय परिस्थितिबारे देशका मुख्य सहरमा छलफल गरिने बताउँदै उनले पार्टीका वैचारिक दृष्टिकोणलाई आधारभूत तहसम्म स्थापित गर्न यात्राले सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सामाजिक न्याय, समानता, आत्मनिर्भर अर्थतन्त्रको विशेषता भएको वैज्ञानिक समाजवाद कार्यान्वयन गरी मुलुकमा समृद्धि कायम गर्न सकिने विश्वास व्यक्त गरे।

अभियानमा आधुनिक कृषि, शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयमा सन्देश प्रवाह गरिने बताउँदै यस कार्यक्रमले युवालाई समाजवादी क्रान्तिका लागि जोड्ने बताए।