८ असार २०८०, शुक्रबार ०९:४७ – Page 7 – Nagarikabhiyan : National News

ओखलढुङ्गामा पहिरो जाँदा एकै घरका तीन जनाको ज्यान गयो, एक जना बेपत्ता

असार ८ देवानगञ्ज। ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर–८ गुरुङ बस्तीमा पहिरो जाँदा एकै घरका तीन जनाको ज्यान गएको छ । एक जना बेपत्ता छन् ।
गए राति ११ बजे पहिरो गएको थियो ।

वडा नम्बर–८ का अध्यक्ष खड्गबहादुर बरालका अनुसार ज्यान गुमाउनेमा ३८ वर्षीय रणबहादुर गुरुङ, उहाँकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ र १८ महिनाकी छोरी कविता गुरुङ रहेका छन् छोरा १० वर्षका दिनेश पहिरोमा बेपत्ता रहेका र अहिले खोजी भइरहेको वडाध्यक्ष बरालले बताउनुभएको छ ।

पहिरोले चार वटा घर पूर्णरूपमा र अरू केही घर आशिंक क्षति भएका छन् । क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

जाजरकोटमा पानि डुबेर दुई जनाको ज्यान गयो

जाजरकाेट –  जाजरकोटको छेडाखोलामा माछा मार्न गएका दुई जनाको डुबेर ज्यान गएको छ ।

छेडागाड नगरपालिका–१ मा रहेको छेडाखोलामा माछा मार्ने क्रममा स्थानीय ५० वर्षका नरबहादुर नेपाली र शिवालय गाउँपालिका–९ का ४९ वर्षका धनबहादुर बुढाको ज्यान जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

हिजो बिहीवार दिउँसो डुबेका दुवै जनाको शव जालमा बेरिएको अवस्थामा बेलुका भेटिएको छेडागाड नगरपालिका–१ का वडाध्यक्ष रामबहादुर बुढाले जानकारी दिनुभयो ।

आज दिउँसो कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिमका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना

असार ८ देवानगञ्ज। आज दिउँसो कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो र अन्य ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयो । राति भने धेरै ठाउँमा पानी पर्ने अनुमान छ । राति कोशी, मधेस, बाग्मती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै तथा लुम्बिनी र कर्णाली प्रदेशका एक दुई ठाउँमा ठूलो पानी परेकोहो

मौसमविद्का अनुसार मनसुन सक्रिय भएको छ । धेरै ठाउँमा मध्यम र केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको छ । भिरालो जमिन तथा खोला, नदी आसपासमा रहेकाहरूलाई उच्च सतर्कता अपनाउन मौसमविद्को अनुरोध छ । खासगरी रातको समयमा विशेष ख्याल गर्न मौसमविद्को आग्रह छ ।

आज शुक्रवार देशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । गएको जेठ अन्तिमदेखि मध्य र पूर्वी क्षेत्रमा मात्रै लगातार पानी पर्ने गरेकोमा आज सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो उहाँका अनुसार पश्चिमी क्षेत्रमा पनि मनसुन अनुकूल वातावरण बनेको छ । दिउँसोसम्ममा पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गर्ने अनुमान छ ।

 

नेपालले ११ महिनामा १४ खर्ब ८० अर्बको वस्तु आयात गर्‍यो, १ खर्ब ४३ अर्ब रुपैयाँ

काठमाण्डाै – चालु आर्थिक वर्ष २०७९र८० को जेठ मसान्तसम्ममा नेपालले बेहोरेको व्यापार घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।
भन्सार विभागले हिजो बिहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार ११ महिनामा नेपालले १४ खर्ब ८० अर्ब ९८ करोड बराबरको वस्तु आयात गर्दा एक खर्ब ४३ अर्ब ५८ करोड बराबरको मात्रै निर्यात गरेको हो ।

विभागको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक व्यापारको तथ्याङ्क घटेको छ । गएको आर्थिक वर्षको जेठ मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको त्यही अवधिमा आयात १६ दशमलव शून्य एक, निर्यात २२ दशमलव ७४ र कुल व्यापार १६ दशमलव ६५ प्रतिशतले घटेको छ । कुल वैदेशिक व्यापार घटेसँगै गएको वर्षको तुलनामा व्यापार घाटा पनि १५ दशमलव २१ प्रतिशतले घटेको छ ।

यो अवधिमा नेपालले कुल निर्यातको तुलनामा १० दशमलव ३१ गुणा धेरै आयात गरेको छ । त्यस्तै कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव १६ प्रतिशत र निर्यातको हिस्सा आठ दशमलव ८४ प्रतिशत रहेको छ ।

नेपालले सबैभन्दा बढी वैदेशिक व्यापार गर्ने छिमेकी देश भारतसँग मात्र यो अवधिमा आठ खर्ब ३८ अर्ब ८५ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । जेठ मसान्तसम्ममा भारतबाट नौ खर्ब ३७ अर्ब ८३ करोडको सामान आयात हुँदा ९८ अर्ब ९७ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको देखिन्छ ।

त्यस्तै चीनबाट दुई खर्ब दुई अर्ब ३७ करोडको वस्तु आयात हुँदा एक अर्ब ५२ करोड रुपैयाँको मात्र निर्यात भएको छ । जस कारण चीनसँगको व्यापार घाटा दुई खर्ब ८४ करोड रुपैयाँ बराबर छ ।

नेपालले धेरै व्यापार घाटा बेहोरेका देशहरूमा इन्डोनेसियासँग ३९ अर्ब ७५ करोड, संयुक्त अरब इमिरेट्स ९यूएई० सँग ३० अर्ब ७४ करोड र अर्जेन्टिनासँग २३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।
नेपालले धेरै व्यापार नाफा गरेका देशमा डेनमार्क, नर्वे, अल्जेरिया, नाइजर, कम्बोडिया, उरुग्वेलगायत छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था हेर्दा नेपालले डेनमार्कसँग ४३ करोड ६० लाख, नर्वेसँग १० करोड १६ लाख र अल्जेरियासँग सात करोड २५ लाख रुपैयाँ व्यापार नाफा गरेको छ ।

जेठ मसान्तसम्ममा नेपालले सबैभन्दा बढी आयात गरेका वस्तु हेर्दा एक खर्ब ३७ अर्ब ६० करोडको डिजल, ६१ अर्ब ३८ करोडको पेट्रोल र ५४ अर्ब ३२ करोडको एलपी ग्यास रहेको छ । त्यस्तै ३४ अर्ब तीन करोडको कच्चा सोयाबिन तेल, २४ अर्ब ९७ करोडको कोइला र २४ अर्ब ६२ करोड रुपैयाँको कच्चा पाम तेल आयात भएको छ ।

यही अवधिमा नेपालले धेरै निर्यात गरेका वस्तुको सूचीमा कार्पेट, पाम तेल, सोयाबिन तेल, अलैँचीलगायत छन् । जेठ मसान्तसम्ममा नेपालले सबैभन्दा धेरै १० अर्ब ३२ करोडको कार्पेट निर्यात गरेको छ । त्यस्तै १० अर्ब २१ करोड रुपैयाँको प्रशोधित पाम तेल, आठ अर्ब ४७ करोड रुपैयाँको प्रशोधित सोयाबिन तेल र सात अर्ब ७० करोड रुपैयाँको अलैँची निर्यात गरेको भन्सार विभागको तथ्याङ्कबाट देखिन्छ ।

विवाहका लागि टिकाटालो गरेर फर्किँदै गरेको गाडी दुर्घटना हुँदा ५ जनाको ज्यान गयो १२ जना घाइते

गोरखामा गाडी दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।
गए राति प्रदेश ३ ०१–०२३ स २४ २७ नम्बरको गाडी गोरखाको शहीद लखन गाउँपालिका–३ मा पल्टिँदा पाँच जनाको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार शहीद लखन–५ ताक्लुङबाट चिलिङकोट–३ मा रहेको केटीको घरमा बिहेका लागि टिकाटालो गरेर फर्किएकाहरू दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद् व्यवस्थापन समितिको टोली उद्धारमा खटिएका छन् । अहिले शव सङ्कलन गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताउनुभयो ।

यस्तै घाइते भएका १२ जनामध्ये ११ जनाको तनहुँको आँबुखैरेनीमा उपचार भइरहेको छ । एक जनालाई भने थप उपचारका लागि चितवन रेफर गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गाडीमा १९ जना थिए । दुई जनाले भने दुर्घटना हुँदै गर्दा हाम फालेर ज्यान जोगाएका प्रहरीले जनाएको छ ।

गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

गोरखामा जन्ती बोकेको जिप दुर्घटना भएको छ । जिप शहीद लखन–३ पात्लेखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।
सो जिप सडकबाट करिब २०० मिटर तल खसेको छ । प्रहरी टोली दुर्घटनास्थलमा पुगेर उद्धार जारी राखेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुल्यो, सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाण्डाै –सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध परेको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । सर्वोच्चले विधेयकविरुद्धको आदेशलाई निरन्तरता दिन अस्वीकार गरेसँगै नागरिकता विधेयक कार्यान्वयनको बाटो खुलेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार चुडालको संयुक्त इजलासले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाउन यसअघि डा। मनोजकुमार शर्माको अल्पकालीन अन्तरिम आदेश निरन्तर नहुने आदेश दिएको हो । सर्वोच्चको आजको निर्णयसँगै अब जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूका सन्तानले वंशजको आधारमा नागरिकता पाउन बाटो खुलेको छ ।

अघिल्लो वर्ष तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरि राखेको नागरिकतासम्बन्धी अध्यादेशलाई गएको जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको हो । तर विधेयकमा भएका व्यवस्थाले नेपालको राष्ट्रियता खतरामा पर्ने र संविधान विपरीतका प्रावधान रहेको भन्दै अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दिनुभएको थियो । उहाँहरूको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएसँगै विधेयक कार्यान्वयन हुन सकेको थिएन । तर आज सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता नदिएसँगै अब यो कार्यान्वयन हुनेछ ।

नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई परिचयपत्र मात्र दिएर केही वर्षपछि मात्रै नागरिकता दिनुपर्ने भनेर केही सांसदले माग गरेका छन् । एमालेले पनि यो विषयमा कुरा उठाइरहेको छ । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाएको विधेयकमा पनि नेपाली पुरुषसँग बिहे गरेर आउने महिलालाई नागरिकता दिन समयको सीमा तोकिएको थिएन । यो अध्यादेशलाई सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएको थियो । तर पछि ओली सरकार ढलेपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारले नै पठाएको अध्यादेश हुबहु पठाए पनि राष्ट्रपति भण्डारीले संसद्लाई विधेयक पुनर्विचारका लागि फिर्ता पठाउनुभएको थियो ।

डाक्टर हुँ, तिमीलाई बिहे गर्छु’ भनेर ४० लाख रुपैयाँ ठग्ने एक जना पक्राउ

काठमाण्डाै –   आफूलाई डाक्टर हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । आफू डाक्टर भएको र तिमीलाई बिहे गर्छु भनेर एक युवतीलाई ललाइफकाइ ४० लाख रुपैयाँ लिने कञ्चनपुरको पुनर्वास नगरपालिका–७ घर भई भक्तपुर कौशलटार बस्ने मातृकाप्रसाद जैशीलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको हो ।

जैशीले आफू १२ औँ तहको डाक्टर हुँ भने पनि उनी डाक्टर नभएको खुलेको छ । एक युवतीलाई बिहे गर्ने भनेर उनले पटक–पटक गरेर ४० लाख रुपैयाँ लिएका थिए ।

आफू नक्कली डाक्टर भएको खुलेपछि युवतीले पैसा फिर्ता माग्दा रकम नदिई जैशी फरार रहेका थिए । उनलाई पक्राउ गरी ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाण्डौबाट पाँच दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भोलि शुक्रबार देवानगञ्ज बजारमा डोजर चल्ने निश्चित !

देवानगञ्ज। सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ को बजार क्षेत्रको जग्गा अतिक्रमण गरेर निमार्ण गरेको घर टहरा भोलि शुक्रवार विहान ८ बजे सम्म नहटाए गाउँपालिकाले खालि गराउने भएको छ । नागरिक अभियान संग कुरा गर्दै देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले यस्तो बताउनु भएको छ । मेहताका अनुसार बजार खालि गाराउने पटकपटक प्रयास गर्दा कानुनि अडचनका कारण खालि हुन सकेको थिएन तर सोमवार जिल्ला अदालत सुनसरीले बजार खालि नगाराउन परेको मुदा खारेज गरे पछि गाउँपालिका लाई बाजार खालि गराउन बाटो खुल्लेको छ ।

बजार क्षेत्रको जग्गा अतिक्रमण गरी बनाएको घर टहराका कारण बजार क्षेत्र अव्यवस्थी हुदाँ व्यापारीहरुको व्यापार नचल्दा समस्या भएको छ  ।

भारतीय प्रधानमन्त्री नौ वर्षमा पहिलो पल्ट पत्रकार सम्मेलनमा कुरा गर्दै, पत्रकारले दुई वटा प्रश्न सोध्न पाउने पाउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नौ वर्षको अवधिमा पहिलो पल्ट पत्रकार सम्मेलनमा पत्रकारहरूसँग प्रत्यक्ष कुराकानी गर्नु हुने भएको छ ।

अमेरिकाको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको संयुक्त पत्रकार सम्मेलनमा पत्रकारहरूसँग प्रत्यक्ष कुराकानी गर्ने रोयटर्सले जनाएको छ । ह्वाइट हाउसमा आज शुक्रवार हुने पत्रकार सम्मेलनमा मोदीलाई एउटा प्रश्न अमेरिकी पत्रकारबाट र अर्को प्रश्न भारतीय पत्रकारबाट सोधिने तय भएको सीएनएनले जनाएको छ । केही अन्तर्वार्ताबाहेक मोदीले सञ्चारमाध्ययमसँग प्रत्यक्ष संवाद गर्नुभएको छैन ।

दुई कार्यकाल गरी नौ वर्षसम्म प्रधानमन्त्री रहँदा मोदी आफैँले एउटा पनि पत्रकार सम्मेलन आयोजना नगर्नुभएको र सन् २०१९ मा एक पत्रकार सम्मेलनमा उपस्थित भए पनि पत्रकारलाई प्रश्न सोध्न नदिएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

अमेरिका भ्रमणमा पनि भारतीय पक्षले संयुक्त वक्तव्य जारीमात्र गर्न दबाब दिए पनि अमेरिकी पक्षले पत्रकार सम्मेलनमा सम्बोधन र दुई वटा प्रश्नको जवाफका लागि सहमत गराएको हो ।

भारतीय चलचित्र नरोक्न अदालतको आदेश, निर्णय नमान्ने मेयर बालेन्द्र शाहको भनाइ

काठमाण्डाै – उच्च अदालत पाटनले काठमाण्डौका हलमा भारतीय चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
नेपाल चलचित्र सङ्घले दायर गरेको रिटमा आज शुक्रवार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय चलचित्रलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले छलफलका लागि असार १२ गते दुवै पक्षलाई बोलाएको छ ।

भारतीय चलचित्र आदिपुरुषु मा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद मूल फाइलबाट नहटाएको भन्दै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले गएको सोमवारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउनुभएको छ । मेयर शाहको निर्णयविरुद्ध चलचित्र सङ्घले उच्च अदालत पाटनमा रिट दायर गरेको हो ।

यसैबीच मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेख्दै अदालतले आदेश दिए पनि काठमाण्डौ महानगरभित्र भारतीय चलचित्र प्रदर्शन गर्न नदिने अडान लिनुभएको छ । चलचित्र लेखकले नेपाल भारतको अधिनमा थियो भन्नुले चलचित्रको नियत स्पष्ट भएको भन्दै मेयर शाहले आफू जुनसुकै सजाय भोग्न तयार रहेको तर महानगरमा भारतीय चलचित्र चल्न नदिने बताउनुभएको छ । उहाँले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफू कुनै कानुन र अदालतलाई नमान्ने जिकिर गर्नुभएको छ ।

वेस्ट इन्डिजसँगको खेलमा नेपाललाई तेस्रो सफलता

देवानगञ्ज- 

आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा नेपालले वेस्ट इन्डिजको तेस्रो विकेट लिएको छ ।
हरारेमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले १५ ओभर ३ बलमा तेस्रो विकेट गुमाएको हो । नेपालका सन्दीप लामिछानेको बलमा ब्रान्डन किङ बोल्ड भए ।

 

किसानलाई धान र मकै जोगाउनै मुस्किल

वैशाख अन्तिम हप्ता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो । त्यसपछि अहिलेसम्म पानी परेको छैन । लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बीउ सुक्न थालेका छन् । लामो समय खडेरी पर्दा ब्याडमा धानको बीउसँगै बारीमा मकैका बोटसमेत सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।

अघिल्ला वर्षहरुमा यति बेला यस क्षेत्रका खेतमा कृषकले धान लगाउन सुरु गर्थे । वर्षा नहुँदा खोलानालासमेत सुकेका छन् । खोलानाला सुक्दा सिंचाइको चरम अभावमा रहेका किसानलाई धानको बीउ र कुटाउने बेलाका मकै जोगाउन हम्मेहम्मे परेको छ ।

जेठको अन्तिम हप्तादेखि रोपाइँ गर्ने किसान यति बेला आकाश हेर्दै बस्न बाध्य छन् । कतिपय किसानको ब्याडमा रोप्नका लागि तयार भएका बिरुवासमेत सुकेर मर्न थालेका हुन् । असार सुरु हुँदासमेत पानी नपर्दा धानको बीउ, मकै तथा अन्य तरकारीसमेत सुक्न थालेको कृषकको गुनासो छ ।

गएका वर्षहरुमा यति बेला धेरै ६० प्रतिशतको हाराहारीमा रोपाइँ हुने गरेकोमा यस वर्ष करिब २० प्रतिशत मात्रै रोपाइँ भएको बडिगाडका कृषक प्रेमबहादुर क्षेत्रीले बताउनुभयो । लामो खडेरीका कारण धानसँगै मकै र कोदोको बीउसमेत सुकेको उहाँको भनाइ छ ।

क्षेत्री भन्नुहुन्छ, ‘जेठको २०र२२ मै रोपाइँ गर्ने भनेर वैशाख महिनामै ब्याड राखियो, अहिले धानको बीउ हुर्किएर ठूलो–ठूलो भएका छन्, पानी पर्दैन, अब कसरी रोपाइँ गर्ने, ब्याड राख्ने बेलामा त बर्खा लागेजस्तै लगातार हप्ता दिन पानी पर्‍यो, यसपालि छिट्टै रोपाइँ गर्न पाइने भयो भन्ने लागेको थियो, अहिले धेरै दिन भयो पानी परेको छैन, बारीमा एकोहोराउने बेलाका मकै मर्न थाले, कोदोको बीउ पनि त्यस्तै भएको छ, बडो समस्या पर्‍यो, बीउ जोगाउनै गाह्रो भयो ।’

रास्वपाको पहिलो वर्ष ऊर्जाशील र सौहार्दपूर्ण रह्यो : सभापति लामिछाने

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले पार्टीको पहिलो वर्ष सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रहेको बताउनुभएको छ ।

पार्टी स्थापना दिवसका अवसरमा आज बिहीवार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीको एक वर्षे यात्राको समीक्षा गर्दै भन्नुभयो, ‘यो एक वर्ष अत्यन्त सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रह्यो । नेपालीले आशा र भरोसाका रूपमा हेरेको नयाँ सफल पार्टीका रूपमा लिएका छौँ ।’

सभापति लामिछानेले पार्टीलाई विस्तार गरेर नागरिकको विश्वासअनुसार परिणाममुखी बन्नु अबको चुनौती भएको बताउनुभयो । ‘उपचुनावसम्म आइपुग्दा आमनागरिकलाई हामी नयाँ पार्टी, नयाँ मान्छे आएको जानकारी भयो’, उहाँले भन्नुभयो, ‘सम्पूर्ण नागरिकमाझ पुगेर विश्वासलाई मतमा रूपान्तरण गर्न सक्ने गरी सङ्गठन विस्तार गर्नुपर्ने चुनौती छ ।’

उहाँले पार्टीले चाहेजस्तो नेतृत्वलाई समावेश गरेर सङ्ख्याका रूपमा मात्र ठूलो नभई आन्तरिक लोकतन्त्रलाई कायम राखेर परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले रास्वपाको संसदमा भूमिका अझ मर्यादित र सशक्त हुने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्वबैंकर अनिलकेशरी शाह औपचारिकरूपमा रास्वपा प्रवेश गर्नुभएको छ । उहाँलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।

रास्वपा प्रवेश गरे अनिल केशरी शाह

बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन्।
शाहलाई आज पार्टी सभापति रवि लामिछानेले स्वागत गरे। उनलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको रास्वपा नेता गणेश कार्कीले बताए।

रास्वपाले आज पहिलो वार्षिकोत्सव मनाउँदैछ। रास्वपाले त्यसका लागि पार्टी कार्यालय बालाजुमा चियापानको आयोजना गरेको छ। त्यसका लागि विभिन्न दलका शीर्ष नेता र कुटनीतिज्ञलाई निम्ता गरिएको छ।

आज यी प्रदेशमा वर्षाको सम्भावना

देवानगञ्ज-   कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा बिहीबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका तराईका भूभागमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली छ। केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

बिहीवार राति कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती तथा गण्डकी प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।