२४ चैत्र २०७८, बिहीबार १५:२७ – Page 2 – Nagarikabhiyan : National News

आयल निगमको ३४ अर्ब बचत सकियो, अब घाटा पूर्ति सरकारको ऋणबाट

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ किन्न नै सरकारबाट ऋण लिनुपर्ने भएको छ । मासिक रुपमा हुन सक्ने ९ अर्ब २७ करोड घाटा पूर्तिका लागि अब निगमले सरकारबाट ऋण लिनुपर्ने अवस्था आएको हो ।

निगमले मार्च महिनाको इन्धन खरिदको भुक्तानीका लागि मंगलबार मूल्य स्थिरीकरण कोषबाट थप ४ अर्ब रुपैयाँ निकालेको छ । निगमका सहप्रवक्ता पुष्कर कार्कीकाअनुसार आन्तरिक बिक्रीबाट उठको पैसाले भारतीय आयल निगमलाई तिर्न नपुगेपछि मूल्यस्थिरीकरण कोषबाट उक्त रकम लिनु परेको हो ।

 

निगमका नायव उपकार्यकारी निर्देशक एवम् अर्थ विभाग प्रमुख नागेन्द्र साहकाअनुसार पेट्रोलियम पदार्थको मूल्य एकैपटक धेरै बढेर संकट परेमा उपयोग गर्ने गरी २०७१ सालदेखि उठाइएको स्थिरीकरण शुल्कबाट चलाइएको कोषमा अब ३० करोड रुपैयाँ मात्रै बाँकी छ ।

इन्धनको आयात परिमाणको तुलनामा लागत निकै धेरै बढेपछि एक वर्षको अन्तरालमा निगमको विभिन्न सञ्चित कोषमा रहेको ३४ अर्ब रुपैयाँ सकिएको साहले बताए । मूल्य स्थिरीकरण कोषमा रहेको १४ अर्ब ८८ करोड र निगमको छुट्टै मुद्धतिको १९ अर्ब यही भुक्तानीबाट सकिएको छ ।

 

‘इन्धनको मूल्यवृद्धि अनुसार गरिएको समायोजनले पनि नधान्दा एक वर्षमा नेपालका २७ वाणिज्य बैंकमा रहेको ३४ अर्ब सकियो,’ साह भन्छन्, ‘अब तेल किन्न ऋण व्यवस्थापन गरौं भनेर हामीले सरकारलाई भनिसकेका छौं ।’

आर्थिक वर्ष २०७७र७८ को पहिले ६ महिनासम्म नाफामा रहेको आयल निगम पुसपछि भने विस्तारै नोक्सानीमा धकेलिएको थियो । उपकार्यकारी निर्देशक साहकाअनुसार आर्थिक वर्षको अन्य असार मसान्तसम्म यस्तो नोक्सानी ५९ करोडको हाराहारी थियो । तर, चालु आर्थिक वर्षको सुरुआतदेखि थेग्नै नसकिने गरी नोक्सानी बढेको उनी बताउँछन् ।

‘विभिन्न समयमा भएको मूल्यवृद्धि र बजारबाट संकलन भएको रकमले नपुगेर निगमले १२ फागुन अघिसम्म मासिक औसत ४ अर्ब रुपैयाँ निगमको सञ्चितिबाट चलाउन थालेको थियौं,’ उनले भने ‘त्यसपछि यस्तो नोक्सानी मासिक १० अर्बमामा उक्लियो र अहिले बैंकको सबै डिपोजिट सकियो ।’

२७ बैंकमा थियो निक्षेप

आयल निगमका अनुसार बैंकहरुमा लगानी योग्य रकम अभाव हुनुको एउटा कारण इन्धनको महँगो भुक्तानी पनि हो । निगमका पूर्व कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल अन्तर्राष्ट्रिय बजारमा तेल महँगिन थालेपछि बैंकिङ तरलतामा पनि असर देखिएको बताउँछन् ।

मासिक घाटा औसत ४ अर्बमा उक्लिएपछि गत कात्तिकमा निगमले नेपाल बैंकर्सि संघमार्फत वाणिज्य बैंकहरुलाई निक्षेप निकाल्नुपर्ने अवस्था आएको जानकारी गराएको थियो ।

त्यति बेलासम्म राष्ट्रिय वाणिज्य बैंकमा निगमको ७ अर्ब, कृषि विकास र नेपाल बैंकमा ३–३ अर्ब निक्षेप थियो । यस्तै अन्य निजी क्षेत्रका बैंकहरुमा बढीमा एक अर्ब ५० करोडदेखि कम्तीमा ३० करोड रुपैयाँसम्म कल तथा मुद्धती निक्षेपमा थियो ।

मंसिरबाट सबैभन्दा कम ब्याजदर दिने बैंकबाट निक्षेप झिक्न सुरु भएको थियो । मंगलबारसम्म आइपुग्दा त्यस्ता निक्षेप ३० करोड रुपैयाँमा सीमित भएको छ ।

तेल आयातमा बढ्दो खर्च

अन्तर्राष्ट्रिय अर्थराजनीति र रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको कच्चा मूल्यमा उच्च वृद्धि सुरु भएपछि निगम निरन्तर घाटामा गयो । विगत तीन वर्षमा औसत वर्षको एक अर्ब डलर पेट्रोलियम आयातमा खर्च हुने गरेकामा अहिले त्यस्तो खर्च दोब्बर हुने देखिएको निगमका पूर्व कार्यकारी निर्देशक पौडेलको भनाइ छ ।

यस्तो छ डिजेल, पेट्रोल र ग्याँस खरिदको मूल्यवृद्धि ट्रेन्ड

खरिद लागत वर्ष डिजेल प्रतिलिटर पेट्रोल प्रतिलिटर ग्याँस प्रति सिलिण्डर
२०१७ ४९ ४९ ९३७।१५
२०१८ ६१ ६५ ११०१।४२
२०१९ ५६ ५३ ९१९।५५
२०२० ४४ ४७ ८६९।४८
२०२१ ६३ ६२ १२१४।१०
२०२२ १०८।६५ ११८।६४ १९१४।६१
निगमका उपकार्यकारी निर्देशक साह पेट्रोलियमको कुल आयात परिमाणमा १० देखि १५ प्रतिशतको सामान्य वृद्धि हुँदा पनि यसका कारण बाहिरिने रकम दोब्बर देखिएको उनले बताए ।

चालु आवको साउनमा एक लाख ७ हजार किलोलिटर पेट्रोलियम खरिदमा ७ अर्ब ५९ करोड रुपैयाँ खर्च भएकोमा त्यसयताका हरेक महिना परिमाण र लागत दुवै बढ्दै गएको उनले बताए ।

‘गत नोभेम्बरमा २ लाख ८० हजार किलोलिटर पेट्रोलियम किन्न २४ अर्ब ३६ करोड खर्च हुन्थ्यो,अहिले २ लाख ७८ करोड किलोमिटर तेल किन्न २९ अर्ब खर्च भएको छ,’ उनी भन्छन् ।

चालु आवमा इन्धन आयातमा बढेको लगानी

महिना आयात परिमाण ९किलोलिटर० लागत ९रुपैयाँ०
जुलाइ १ लाख ७ हजार ७ अर्ब ५९ करोड
अगष्ट २ लाख ५ हजार १४ अर्ब ९३ करोड
सेप्टेम्बर २ लाख ३३ हजार १६ अर्ब ६२ करोड
अक्टुबर २ लाख ६२ हजार २० अर्ब ४८ करोड
नोभेम्बर २ लाख ८० हजार २४ अर्ब ३६ करोड
डिसेम्बर ३ लाख २९ हजार २६ अर्ब ७३ करोड
जनवरी २ लाख ७० हजार २२ अर्ब ७३ करोड
फेबु्रअरी २ लाख ६९ हजार २४ अर्ब ५४ करोड
मार्च २ लाख ७८ करोड २९ अर्ब ३५ करोड
गत आवमा २८ लाख ५७ हजार किलोलिटर कुल पेट्रोलियम आयत भएकेमा चालु आवको ९ महिनामा २२ लाख ३६ हजार किलोलिर पेट्रोलियम पदार्थ आयात भइसकेको छ । यसका लागि ९ महिनामा एक खर्ब ८७ करोडको खर्च भइसकेको छ । जबकी गत आवमा जम्मा १ खर्ब ५८ करोडको पेट्रोलियम आयात भएको थियो ।

निगमले निक्षेपमा राखेको रकम पाँच महिनामै बाहिरिनुमा तरलता संकट बढ्नुको एउटा कारण भएको बैंकर भुवन दाहाल बताउँछन् । ‘यसअघि हाम्रो प्रणालीमा पैसा आउँथ्यो र केही मात्रामा बाहिरिन्थ्यो, तर अहिले आयातका विभिन्न नाममा ठूलो रकम बाहिरियो भने प्रणालीमा भित्रिनुपर्ने डलर पनि कम भयो,’ दाहाल भन्छन्, ‘शोधनान्तर झण्डै २५० अर्बले घाटामा जानुमा इन्धनका लागि बाहिरिने रकमको पनि हिस्सा छ ।’ निक्षेपकर्ताले पैसा फिर्ता नपाउने अवस्था नभए पनि बैंकबाट हुने ऋण प्रवाह भने निकै कठीन बनेको उनी बताउँछन् ।

राप्रपा प्रदेशस्तरीय विस्तारित बैठक सम्पन्न

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै प्रदेशमा विस्तारित बैठक सम्पन्न गरेको छ । उक्त बैठक सकिएलगत्तै बागमती प्रदेश कार्यसमितिले यही चैत २५ गते काठमाडौँमा आमसभा गर्ने भएको छ । चुनावी प्रचार–प्रसारका लागि देशका विभिन्न स्थानमा राजनीतिक गतिविधि सञ्चालन गरिएको पार्टीका महामन्त्री भुवन पाठकले जानकारी दिनुभयो । पार्टीका सबै जनवर्गीय सङ्गठनलाई चुनावी प्रचारका साथै सङ्गठन विस्तारको जिम्मेवारी दिइएको छ ।

पार्टीले सबै जिल्लामा सभा तथा जिल्लास्तरीय बैठक गर्ने कार्यतालिकाअनुसार यही चैत २६ गते झापाको दमक, २७ गते मकवानपुरको हेटाँैडा, २८ गते बाराको कलैया र २९ गते पर्साको वीरगञ्जमा सभा गरिने भएको छ । यी सबै सभामा केन्द्रीय अध्यक्ष, शीर्षनेताको सहभागिता हुने बताइएको छ। अधिकांश जिल्लामा बैठक तथा सभा सम्पन्न भएका छन् ।

स्थानीय तहको चुनावमा कुनै पनि दलसँग सहकार्य नगरी एक्लै प्रतिस्पर्धा गर्ने पार्टीले देशभर उम्मेदवार छनोट गरिरहेको छ । पार्टीको स्थानीय तहको सङ्गठनलाई स्वच्छ छवि भएका, सङ्गठनप्रति समर्पित, स्थानीय जनताको मन जितेर लोकप्रिय बनेका, निर्वाचनमा विजय हुने सम्भवाना बोकेका नेतालाई उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गर्न जिम्मेवारी प्रदान गरिएको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो । यही चैत मसान्तभित्र उम्मेदवारको टुङ्गो लगाउने जनाइएको छ ।

संसदमा देखिएका समस्या संवादबाटै समाधान हुने सभामुखको विश्वास

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएका समस्या संवादबाटै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।

गृहजिल्ला सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ र ५ जोड्ने मोटरेवरल पुलको शिलान्यासपछि आयोजित कार्यक्रममा सभामुख सापकोटाले ठूला विवादको पनि संवादबाट निकास निस्कने गरेको उल्लेख गर्दै संसद्को विवाद पनि संवादबाटै समाधान हुने उल्लेख गर्नुभयो ।

कोभिड–१९, राजनीतिक र जलवायु परिवर्तनले निम्त्याएको सङ्कटका कारण यसबीचमा आम नागरिकसँग प्रत्यक्ष जोडिन र विकास निर्माणमा ध्यान दिन नसकिएको उल्लेख गर्दै सभामुख सापकोटाले अब अवस्थामा केही सहजता आएको बताउनुभयो । जुगल गाउँपालिका–५ को चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालयमा उहाँको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा सहभागी हुनुभएका सभामुख सापकोटाले शिक्षाले नै समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

आधुनिक र सुविधा सम्पन्न विद्यालय भवनको सही सदुपयोग गर्न विद्यालय परिवार र सम्बद्ध पक्षलाई सभामुख सापकोटाले सुझाव दिनुभयो । चीन सरकारको सहयोगमा निर्माण सम्पन्न रत्नराज्य माध्यमिक विद्यालय देशकै नमूना विद्यालयमध्यको एक हो । सो अवसरमा विद्यालय परिवार र व्यवस्थापन समितिका तर्फबाट सभामुख सापकोटालाई विद्यालय भवन निर्माणको विशेष पहल र प्रयत्नका लागि आभार व्यक्त गर्दै संरक्षणका लागिसमेत पहल हुने विश्वास व्यक्त गरिएको थियो ।

सभामुख सापकोटा जुगल गाउँपालिका–२ गोल्चे बगरस्थित वडाकार्यालय परिसरमा आयोजना गरिएको ‘जनतासँग सभामुख’ कार्यक्रममा समेत सहभागी हुनुभयो । सो अवसरमा उहाँले जनताको भावनाको सधैँ सम्मान गर्ने बताउनुभयो । सभामुख सापकोटाले हाल स्तरोन्नति भइरहेको बलेफी जलविरे कात्तिके तेम्बाथान सडकखण्डको बलेफी खण्ड, हाल मर्मत सम्भार भइरहेको आँपबोटे जलविरे खण्ड र कालोपत्रको तयारी भइरहेको ढाँडे कात्तिके खण्डको निरीक्षण समेत गर्नुभयो ।

बागमती प्रदेश पूर्वाधार कार्यालयका प्रमुख राजु श्रेष्ठसहितका सडक निर्माणमा संलग्न अधिकारीसँग निर्माणको अवस्थाबारे उहाँले जानकारी लिनुभएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी बेधनिधि खनाल, सडक डिभिजन कार्यालय दोलखाका प्रमुख अर्जुन सुवालसहित सम्बद्ध अधिकारीको उपस्थिति थियो ।

मन्त्रिपरिषद बैठक बस्दै, निर्वाचनपूर्व विभिन्न नियुक्तिहरू गर्ने तयारी

काठमाडौँ । मन्त्रिपरिषदको नियमित बैठक आज अपराह्न ४ बजे बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने उक्त बैठकले व्यापक मात्रा राजनीतिक नियुक्ति समेत गर्ने बताइएको छ ।

निर्वाचन अयोगले भोलि क्रबारदेखि आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी छ । आचारसंहिता लागु भएपछि सरकारले निर्वाचनमा प्रभाव पर्ने हिसाबले नियुक्ति तथा सरुवा, बढुवा लगायतका निर्णयहरु गर्न पाउँदैन । त्यसअघि आजैको मन्त्रिपरिषद बैठकले विभिन्न संस्थामा राजनीतिक नियुक्तिहरु गर्ने तयारी रहेको बताइन्छ ।

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा कम्तिमा ३५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागू गर्ने गनुपर्ने व्यस्था छ ।

टाइफाइड विरूद्ध देशव्यापी खोप अभियान सुरू, १५ वर्षसम्मका बालबालिकालाई लगाइने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गर्नुभएको छ । रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोपको शुभारम्भ गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले कोभिड सङ्क्रमण नियन्त्रणमा सफलता पाएजस्तै टाइफाइडमा पनि सफलता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने उल्लेख गर्नुभयो । उहाँले राजधानीलगायत सहरी क्षेत्रमा फोहरको समस्याको दिगो समाधानका लागि फोहरको प्रशोधन प्लान्ट स्थापना गरी त्यसबाट ग्यास तथा विद्युतीय ऊर्जा उत्पादन गर्न सकिने हुँदा यसतर्फ लाग्न स्थानीय निकायहरूलाई आग्रह गर्नुभयो ।

 

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘धरानलगायत कतिपय सहरमा फोहर प्रशोधन प्लान्ट निर्माण गरी ऊर्जा उत्पादन गरिएको र त्यस ऊर्जाबाट सवारीसाधनसमेत सञ्चालन गरिएका छन् । आफ्नै लगानीमा गर्न सकिने यस्ता प्रविधितर्फ लाग्न खोजेमा सरकारले पनि आवश्यक सहयोग गर्नेछ ।” प्राकृतिकरूपमा सुन्दर राजधानी काठमाडौँमा फोहरको समस्याले सौन्दर्यतामा ह्रास आउनुका साथै अनेक रोगको सङ्क्रमण फैलने जोखिम रहने हुँदा फोहर व्यवस्थापनमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड रोग नियन्त्रणमा नेपालले विश्वमै उदाहरणीय सफलता हासिल गर्न सकेको उल्लेख गर्दै दक्षिण एशियामा नेपालले पहिलोपटक टाइफाइड रोगविरुद्धको खोप अभियान सुरु गर्न लागेको जानकारी दिनुभयो ।

 

उहाँले विश्वमा हालसम्म १६ प्रकारका खोपको उत्पादन भएको र तीमध्ये धेरै खोपको प्रयोग गर्न कमै मात्र देशले सकेको अवस्थामा नेपालले १३ प्रकारका खोप सञ्चालनमा ल्याउन सकेको उल्लेख गर्नुभयो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामाले कोभिडविरुद्धको खोप अभियानमा बागमती प्रदेशले पहिलो सफलता हासिल गरेजस्तै टाइफाइड रोगविरुद्धको खोप अभियानलाई पनि सफल बनाउने प्रतिबद्धता जनाउनुभयो ।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा रामपार्थ बिछाले वर्तमान सरकारले चैत मसान्तसम्ममा आम जनतालाई कोरोनाविरुद्धको खोप दिने कार्यलाई पहिलो प्राथमिकतामा राखेअनुसार सफलता हासिल भएको उल्लेख गर्दै १० वर्षको अनुसन्धानबाट प्रयोगमा ल्याइएको टाइफाइडविरुद्धको खोप निकै प्रभावकारी रहेको बताउनुभयो । मन्त्रालयका सचिव डा राजेश पोखरेलले टाइफाइड खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको बताउँदै देशभरका १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दिइने यस खोप अभियानको व्यवस्थित र प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि सबै पक्षसँग आग्रह गर्नुभयो ।

 

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले टाइफाइड रोगविरुद्धको खोप अभियानबाट कोही पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले विद्यालय र खोप केन्द्र गरी ६०० स्थान तोकिएको र यसमा स्थानीय निकाय, महिला स्वयंसेविकासँग समन्वय गरिएको बताउँदै केही दिनदेखि काठमाडौँको फोहर उठ्न नसकेकाले सरकारले आवश्यक समन्वय गरिदिन आग्रह गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा शैल रुपाखेतीलगायत विश्व स्वास्थ्य सङ्गठन, युनिसेफलगायत उच्च सरकारी अधिकारीहरूको पनि सहभागिता रहेको थियो ।

राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमको रूपमा लिइएको छ । हाल यो कार्यक्रममार्फत १२ वटा एन्टिजेनसमेत समावेश गरी नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदरसमेतमा उल्लेख्य कमी आउन सक्ने विश्वास गरिएको छ ।

नेपालमा अझै पनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिम रहनाका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँचभित्र रहेको देखिएको छ । यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने जनाइएको छ ।

धर्म र संस्कृति सबैका साझा सम्पत्ति : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धर्म र संस्कृति सबैका साझा सम्पत्ति भएको बताएका छन् । श्रीकृष्ण प्रणामी सेवा समिति नेपालले आयोजना गरेको चर्तुथ शताब्दी महोत्सवमा उहाँले नेपालमा बसोबास गर्ने सबै नागरिकहरुलाई आ–आफ्नो धर्म, संस्कृतिको रक्षा तथा जगेर्ना गर्ने अधिकार रहेको बताए ।

उनले भने, “आफ्ना धर्म, संस्कृतिको रक्षा र जगेर्ना गर्न सबैलाई अधिकार छ, धर्म, संस्कृति सबैका साझा सम्पत्ति हुन् ।” मन्त्री आलेले श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको वृद्धि विकास तथा संरचना निर्माणका लागि आफूले बजेटको व्यवस्था गर्ने आश्वासनसमेत दिए ।

उक्त समितिमा रहेको ४५ रोपनी जमिनमा पर्खाल निर्माणका लागि आवश्यक पर्ने बजेट पनि आगामी वर्षको बजेटमा विनियोजन गराउनेसमेत मन्त्री आलेले जानकारी दिए । यसैक्रममा मन्त्री आलेले पशुपतिनाथको थप वृद्धि विकासका लागि गुरुयोजना तयार गरी काम अगाडि बढाउन तयारी भएको जानकारी दिए ।

पशुपति क्षेत्रमा काजक्रिया गर्ने क्रियापुत्रीहरुलाई नुहाउँदा चिसो, फोहर पानी र दूषित पानी भएको र अब त्यहाँको पानी ‘क्युरिफाइ’ गरी उनीहरुका लागि शुद्ध र सफा पानीको व्यवस्था मिलाउन लागिएको मन्त्री आलेले बताए ।

पशुपतिनाथ क्षेत्रमा रहेको विश्वरुपा मन्दिर निर्माणका लागि रु ५५ करोडको टेण्डर भइसकेको र अब छिट्टै शिलान्यास गरिनेसमेत उनले जानकारी दिए । दुई वर्षदेखि विभिन्न बाधा अवरोधका कारण रोकिएको उक्त मन्दिर निर्माणको कार्य आफू मन्त्री भएर आएपछि सुरु गराएको मन्त्री आलेले दाबी गरे ।

यसैगरी मन्त्री आलेले विभिन्न धार्मिक स्थलका भवन तथा जमिनहरु केही ठाउँमा कौडीका भाउमा विगतको सरकारले दिएका र कहीँ हडप्ने काम भएकाले ती हडपिएका र कौडीका भाउमा दिएका भवन र जमिन सबै फिर्ता ल्याएरै छाड्ने बचन बद्धता गरे ।

सेनाका ढकाललाई ‘२०२२ 05वेष्ट रेफ्री अवार्ड’

काठमाडौं । नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक ९रेफ्री० दीपेन्द्र ढकाल ‘रोयल स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णायक घोषित भएका छन् ।

यही चैत १८ देखि २० गतेसम्म स्पेनको एलिकान्टेमा भएको विश्व वरियता जीटु तेक्वान्दो च्याम्पियनसीप’मा उनले वेष्ट रेफ्री बन्न सफल भएका हुन्।

विश्वका ७९ देशका एक हजार बढी खेलाडीबीच प्रतिस्पर्धा भएको उक्त प्रतियोगिताका लागि ६५ भन्दा बढी मुलुकका निर्णायक सहभागी थिए ।निर्णायक ९रेफ्री० मध्ये उनी उत्कृष्ट घोषित हुन सफल भएका थिए ।

यसअघि बेल्जियम, फ्रान्स र पाकिस्तानमा भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि ढकाल निर्णायक थिए ।

चैत्राष्टमी मेला आजदेखि

बागलुङ । चैत्राष्टमी ९चैतेदसैँ० को अवसर पारेर आजदेखि बागलुङमा चैत्राष्टमी मेला सुरु हुँदैछ । बागलुङ कालिका भगवती गुठीले मेलाको आयोजना गरेको हो ।

मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । पर्यटनको प्रवद्र्धन, संस्कृतिको संरक्षण र परम्पराको निरन्तरता दिन मेला आयोजना गरिएको उनले बताए ।

बागलुङ कालिका मन्दिर परिसरमा पहिल्यैदेखि व्यापार मेलाका रुपमा चैतेदसैँ मेला लाग्ने गरेको थियो । कालिका भगवती गुठीले केही वर्षअघिदेखि स्वस्फुर्त लाग्ने मेलालाई व्यवस्थापन गर्दै आएको छ । यस वर्ष पनि मेलामा भलिबल, राष्ट्रिय लोकदोहोरी, भजन प्रतियोगिता र छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको खड्काले जानकारी दिए ।

आजदेखि सुरु हुने मेला यही चैत २८ गतेसम्म चल्ने छ । मेलामा आयोजना गरिएको भलिबल प्रतियोगिताको गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढा सागरले उद्घाटन गर्ने कार्यक्रम छ ।

मूल समारोहको उद्घाटन भने चैत २६ गते राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्ने गुठीले जनाएको छ । रु ५३ लाख खर्च हुने अनुमान गरिएको मेला हेर्न कुनै शुल्क नलाग्ने खड्काले जानकारी दिए ।

मेलाका लागि कालिका मन्दिर परिसर सिँगारिएको छ । मेलामा झाँकी तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।

चैत्र नवरात्रमा हारती माताको शरीरमा १०८ अखण्ड दीप प्रज्ज्वलन

काठमाडौँ । चैत्र नवरात्रका अवसरमा गोकर्णेश्वर नगरपालिका–४ मा रहेको जागेश्वरी भगवती मन्दिर परिसरमा हारती माताले शरीरमा १०८ अखण्ड दीप प्रज्ज्वलन गर्नुभएको छ ।

चैत्र शुक्ल प्रतिपदाका दिन चैत १९ गतेदेखि उहाँले आधुनिक विज्ञानलाई चुनौती दिँदै मन्दिर परिसरमा इँटाले बनाएको शरीर अट्ने भागमा सुतेर त्यसमाथि १०८ अखण्ड दीप प्रज्ज्वलन गर्नुभएको जागेश्वरी भगवती मन्दिर सञ्चालन समितिका अध्यक्ष श्याम श्रेष्ठले जानकारी दिनुभयो । यही चैत १९ गते बिहानदेखि नै माताले शरीरमाथि अखण्ड दीप प्रज्ज्वलन गर्नुभएको हो । शरीरमा अखण्ड दीप प्रज्ज्वलन गरेदेखि माताले केही खानुभएको छैन । मुस्किलले अक्सिजन छिर्ने सानो भाग पल्टेर देवीको आराधना भइरहेको मन्दिर सञ्चालन समितिले जनाएको छ ।

तीन वर्षअघि सपनामा गोकर्णेश्वर–४ गोकर्ण देशे गाउँकी नानी देउलालाई हारती माताले दर्शन दिनुभएको थियो । सपनामा हारती माताले उहाँलाई पूजा आराधना गर्नु भनेपछि उहाँ सोही नामको माताका रुपमा देवीको पूजा आराधनामा लाग्नुभएको हो । हारती माताले दर्शन दिनुअघि केही समय उहाँ बिरामी हुनुभएको पारिवारिक स्रोतले जनाएको छ ।

माताले आश्विन शुक्ल पक्षको नवरात्रमा ताप्लेजुङको पाथीभरा देवी मन्दिर परिसरमा शरीरमा जमरा उमार्ने घोषणासमेत गर्नुभएको उहाँकी छोरी विपना देउलाले जानकारी दिनुभयो । माताले सपनामा दर्शन दिएदेखि बिहान दैनिक उहाँले पूजा आराधनामा समय बिताउने गर्नुभएको छ ।

चैत्र नवरात्रका अवसरमा मन्दिर सञ्चालन समितिले त्यस स्थलमा श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञको समेत आयोजना गरेको छ । महायज्ञमा रामानुजदास सन्तोाषजीले कथावाचन गरिरहनुभएको छ । महायज्ञ चैत २८ गतेसम्म जारी रहने आयोजक समितिले जनाएको छ ।

नेपाल सरकारले राष्ट्रिय शहीद पार्क तथा निजामती स्मारक निर्माणस्थलका रुपमा घोषणा गरेको गोकर्णेश्वरको यज्ञडोल ९जगडोल० सामुदायिक वन क्षेत्रमा रहेको जागेश्वरी मन्दिरमा आयोजित कार्यक्रममा भक्तजनको भीड लाग्ने गरेको छ । सामुदायिक वन समूहका अध्यक्ष सुदर्शन सिग्देल गोकर्णेश्वर उत्तरगया क्षेत्र प्राचीनकालदेखि नै सिद्धस्थलका रुपमा रहेकाले साधकका रुपमा माता अघि आउनुभएको बताउनुहुन्छ ।

गोकर्णेश्वर महादेव मन्दिर रहेको यो क्षेत्र सिद्धस्थल भएकैले सरकारले शहीद स्मारक घोषणा गर्दा वनको २४ रोपनी क्षेत्रलाई धार्मिक क्षेत्रका रुपमा विकास गर्ने निर्णय गरेको थियो । धार्मिक क्षेत्रअन्तर्गत गोकर्णेश्वर र जागेश्वरी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिको समेत अध्यक्ष रहनुभएका सिग्देलले बताउनुभयो ।

अध्यक्ष ‘प्रचण्ड’ आफ्नो पूर्वनिर्वाचन क्षेत्र रहेको जिल्ला सिरहा जाँदै

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिरहा जाने भएका छन् । अध्यक्ष ‘प्रचण्ड’ सहिद गेटको उद्घाटन गर्न त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ ।

१० वर्षे जनयुद्धका क्रममा सदाहत प्राप्त गर्ने सहिदहरुको सम्झनामा स्मृति गेट निर्माण गरिएको छ । सिरहा प्रचण्डको पूर्वनिर्वाचन क्षेत्रसमेत रहेको जिल्ला हो । उनी २०७० सालको संविधानसभा निर्वाचनमा सिरहाको क्षेत्र नम्बर ५ बाट बिजयी भइ स‌विधानसभा सदस्य बनेका थिए ।

पोखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु

पोखरा । प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था ९ना०को आयोजनामा पोखरामा २० औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ ।

पोखरा महानगरपालिका–१८ सराङकोटमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । सांसद पहारीले साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रुपमा रहेको जनाउँदै यस प्रतियोगिताले पोखरालाई साहसिक शहरको रुपमा चिनाउन थप सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पश्चात प्याराग्लाइडिङ विस्थापित हुने चिन्ता व्यवसायीमा रहेको जनाउँदै यसको उचित व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखराको प्राकृतिक सौन्दर्य हिम शृङ्खला र तालको सुन्दरतालाई दृश्यवालोकन गरेर आनन्द लिन सकिने प्याराग्लाइडिङले पोखराको पर्यटन प्रर्वद्धनमा ठूलो भूमिका खेलेको बताउनुभयो । उहाँले कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्रमा विशेष सहुलियत प्याकेजसहित प्याराग्लाइडिङ उडान गरेपछि आन्तरिक पर्यटकको चहलपहल निकै बढेको स्मरण गर्दै प्रतियोगितालगायत प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो ।

प्रतियोगितामा सोलो ओभर अलतर्फ ३२ पुरुष र आठ महिला तथा टेन्डमतर्फ ३७ खेलाडीबीच प्रतिस्पर्धा भएको र आज बाँकी खेलबीच प्रतिस्पर्धा हुने संस्थाका महासचिव बलराम आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा ७७ प्रतियोगी छन् । त्यसमा आठ महिला पाइलट रहेका छन् । प्रतियोगिताको अन्तिम दिन यही चैत २५ गते विभिन्न सांस्कृतिक वेषभूषासहित पाइलटले कौशल प्रदर्शन गर्नेछन् भने सोही दिन प्रतियोगितामा निकै आकर्षक मानिने एक्रोवेटिक एयर शोसमेत हुने उहाँको भनाइ छ ।

पोखरामा व्यावसायिकरुपमा सञ्चालन भएका ६० भन्दा बढी कम्पनी रहेको र करिब ३६६ प्याराग्लाइडिङ पाइलट रहेको ना अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो । उहाँले कोभिड–१९ का कारण दुई वर्ष प्रतियोगिता स्थगित भएको जनाउँदै यस प्रतियोगिताले पर्यटन पुनरुत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिता नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोग र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले प्रवद्र्धन गरेको हो । उक्त प्रतियोगितामा ‘एक्युरेसी’ तर्फ मात्रै प्रतिस्पर्धा हुनेछ ।

जिल्ला अदालत पूर्वी नवलपरासीको आदेश : पल शाहलाई थुनामा राख्नु

पूर्वीनवलपरासी । किशोरी गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाह ९पूर्ण विक्रम शाह०लाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । बुधबार न्यायाधीश अर्जुन अधिकारीको इजलासले मुद्दाको किनारा लगाउने समयसम्म थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो ।

अभिनेता पल शाहलाई तनहुँमै थुनामा राख्न आदेश दिएको हो । बुधबार राति ९ बजे तनहुँबाट आएको सुरक्षाकर्मीको टोलीले अभिनेता शाहलाई तनहुँ लगेको जानकारी गराइएको छ । बैशाख ७ गते पुनः जिल्ला अदालत पूर्वी नवलपरासीमा हाजिर हुन भनिएको छ ।

त्यस्तै तनहुँ अदालतको फैसलाअनुसार पनि पूर्पक्षका लागि अभिनेता शाह थुनामा नै रहेका छन् । एक वर्षअघि गैंडाकोटमा गीतको सुटिङका क्रममा अभिनेता शाहले किशोरी गायिकालाई मादक पदार्थ खुवाएर बलात्कार गरेको भन्दै अघिल्लो महिना इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी परेको थियो ।

१४ देखि १६ वर्षकी किशोरीलाई बलात्कारको अभियोग पुष्टि भए १२ देखि १४ वर्ष कैद सजाय हुने कानूनी व्यवस्था छ । पीडित भनिएकी किशोरीको उमेर मुद्दा दर्ता गराउँदा १५ वर्ष ८ महिना ४ थियो । उनले ४ लाख नगद र अन्य क्षतिपूर्ति पाउनुपर्ने माग गरेकी छन् ।

खेलकुद महासंघ इनरुवा नगर कमिटि गठन

सुनसरी सदरमुकाम इनरुवामा नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटि गठन गरिएको छ । खेलाडीहरुको भेलाले सरोज बस्नेतको अध्यक्षतामा महासंघ इनरुवा कमिटि गठन गरिएको हो । महासंघको नगर भेला कार्यक्रममा नेपाल खेलकुद महासंघका स्थायी कमिटि सदस्य विप्लव घोष, प्रदेश १ का उपाध्यक्ष टीका सिवाकोटी आचार्य, प्रदेश कमिटि सदस्य चेतनाथ पौडेल, सागर आचार्य, सुनसरी इन्चार्ज सुरेश कार्की , नेता विदुर सुवेदी, वडा अध्यक्ष कालुराम गुरुङ सहितको उपस्थिति रहेको थियो । भेलामा नेकपा एमालेका नेता खेमराज पोखरेल, पोष्ट कुमार नेपाल, इन्द्र पोखरेल, नगर अध्यक्ष प्रेम पोखरेलको पनि उपस्थिति रहेको थियो ।

 

राप्रपा नेपालले तयार पार्‍यो घोषणापत्रको मस्यौदा

काठमाडौं । राप्रपा नेपालले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्रको मस्यौदा पारित गरेको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको राप्रपा नेपालको केन्द्रीय कार्य समितिको भर्चुअल बैठकले घोषणा पत्रको मस्यौदा पारित गरेको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।

 

बैठकमा स्थानीय निर्वाचनमा राप्रपा नेपालले विभिन्न नगररगाउँपालिकामा बढीभन्दा बढी उम्मेदवारी दिने तय भएको उनले बताए ।

 

सुनसरीमा वडा तहदेखि नै चुनावी तालमेल गर्ने

सत्तारुढ ५ दलीय गठबन्धनले सुनसरीमा वडा तहदेखि नै चुनावी तालमेल गर्ने भएको छ ।सुनसरी जिल्लामा तालमेलको निर्णय गर्न कांग्रेस सचिव विरेन्द्र साह, माओवादीका मुक्साहाङ मेन्याङ्बो, नेकपा एसका सचिव वसन्त सुवेदी, जसपाका सचिव प्रदीप कार्की र राष्ट्रिय जनमोर्चाका हरिलाल अधिकरी रहेको कार्यदल गठन भएको छ । कार्यदलले स्थानीय पालिकाहरूको वस्तुगत अवस्था अध्ययन गरि चैत २६ गतसम्म प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ । गठबन्धनमा आबद्ध सबै दलहरूको प्रतिनिधित्व वडा सदस्यदेखि पालिका प्रमुखसम्म मिलाउने सहमति भएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।पाँच दलीय गठबन्धनबाहेक अरुसँग तालमेल नगर्ने र संयुक्त घोषणापत्र प्रकाशन गरि वडा तहसम्मै संयुक्त चुनाव प्रचार-प्रसार गर्ने सहमति समेत भएको छ ।२०७४ को निर्वाचनमा स्थानीयदेखि संघको चुनावी गणितले प्रदेश १ को सबैभन्दा धेरै नेपाली कांग्रेसको प्रभाव क्षेत्र देखिएको सुनसरीमा अन्यत्रभन्दा एक कदम अघि बढेर वडा सदस्यदेखि नै तालमेल हुने भएको हो ।बुधबार नेकपा एसको पार्टी कार्यालयमा बसेको पाँच दलको बैठकले गठबन्धन गर्ने निर्णय गरेको थियो । नेपाली कांग्रेस सुनसरी सभापति केदार भण्डारी, माओवादी केन्द्रका सुनसरी संयोजक योगेन्द्र प्रशाद मण्डल, नेकपा एस सुनसरी अध्यक्ष गोविन्द निरौला, जसपा सुनसरी सचिव प्रदीप कार्की र राष्ट्रिय जनमोर्चा सुनसरी प्रतिनिधि हरिलाल अधिकारीले एक संयुक्त विज्ञप्तिमार्फत गठबन्धनको घोषणा गरेका हन् ।सुनसरीका ४ संघीय क्षेत्रमा नेपाली कांग्रेसले वाम गठबन्धनविरुद्ध लडेर तीन ठाउँमा जितेको थियो ।

गठबन्धन सरकार कुहिसकेको छ, आफैं झर्छ : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताएका छन् ।

बुधवार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको उल्लेख गर्दै वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताएका हुन् । उनले बैंकसँग पनि लगानीको लागि दिने पैसा नभएकाले देश देश संकटमा रहेको बताए ।

 

उनले भने, ‘खल्तीमा कसैको पैसा हुँदैन । बैंक त्यसैकारण खोलेका हुन् । कुनैपनि नयाँ उद्योग, व्यवसाय सुरु गर्दा बैंकबाट लोन लिनुपर्छ । दिनुपर्छ बैंकले । नयाँ लगानीका लागि कुनै सम्भावना छैन यतिखेर किनभने बैंक पैसा दिन सक्दैन । बैंक पैसा दिन सक्ने अवस्थामा छैन । यो सरकार तुरुन्तै, तुरुन्तै, तुरुन्तै ढलेन भने जतिदिन रहन्छ त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ ।’

अध्यक्ष ओलीले गठबन्धन सरकार कुहिएर आफैं झर्ने बताए । उनले सरकार ढाल्न आफूहरुले कोसिश नगर्ने स्पष्ट पारे । एमालेले सरकारमा नभई चुनावमा ध्यान दिइरहेको उनले बताए ।

 

उनले भने, ‘अहिलेको यो गठबन्धन सरकार कहिलेसम्म रहन्छ भन्ने यो कुहिसकेको छ तर कुहिएको फल पनि कुहियो भन्ने बित्तिकै खत्रक्क झर्दैन । त्यो झर्नलाई मज्जाले कुहिसक्नु पर्छ । यो कुँहिदैछ । यो झर्ने बेलातिर जाँदैछ । यो झर्छ । झर्ने समय हामीले पर्खिनुपर्छ । त्यसो भएर हामी अहिले सरकारको बारेमा कतै ध्यान दिइराखेको छैनौँ । चुनावमा ध्यान दिइराखेका छौँ ।’

अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनसम्म गतिका साथ पार्टी काममा खट्न नेता, कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।