विराटनगर । तेस्रो बर्जु महोत्सव आयोजक समितिले आफूलाई गुमराहमा राखेको भारत बिहारका चर्चित भोजपुरी कलाकार खेसरीलाल यादवले बताएका छन् ।
यादव मंगलबार बर्जुमा आयोजित कार्यक्रममा आउने कार्यसूची थियो । कार्यक्रममा आउँदै गर्दा उनलाई प्रशासनले विराटनगरमा नै रोकेको थियो । आयोजकले टिकट बिक्री गरे पनि कलाकार नबोलाएको भन्दै आक्रोशित भीडले स्टेज तोडफोड गर्दै चारवटा स्कोरपियो गाडीमा आगजनी गरे । घटनापछि सार्वजनिक प्रतिक्रिया दिंदै उनले सम्पूर्ण दोष आयोजकको भएको बताउँदै आफूलाई क्षतिपूर्ति दिनुपर्ने बताए ।
पत्रकारहरुसँग कुरा गर्दै यादवले तोडफोड र आगजनीबाट आफ्नो डेढ करोडको क्षति भएको दाबी गरेका छन् । गाडीहरू, बाध्ययन्त्रमा क्षति पुगेको उनको भनाइ छ । यो घटनामा स्थानीय प्रशासन र सर्वसाधारण कसैको पनि दोष नरहेको उनले बताए ।
उनले बर्जुमा टिकट सो छ भन्ने विषयमा आफूलाई जानकारी नै नगराएको बताए । ‘महोत्सव आयोजक समितिले कुनै जानकारी दिएन्’ उनले भने, ‘प्रशासनले अगाडि नै रोक्न निर्देशन दिएको रहेछ, तर मलाई गुमराहमा राखे, यसमा मेरो, प्रशासन र सर्वसाधारणको कुनै कमजोरी छैन ।’
पर्यटकीयस्थल बर्जु तालमा पुस २३ गतेदेखि बर्जु महोत्सव जारी थियो । कोरोना संक्रमण बढेपछि पुस २७ गते स्थानीय प्रशासनले महोत्सव रोक्न निर्देशन दिएको थियो । तर अटेर गरेपछि माघ २ गते पुनः रोक्नका लागि लिखित निर्देशन दिइयो । त्यसपछि पनि आयोजक समितिले मंगलबार खेसरीलाललाई बोलाएको थियो । स्थानीय प्रशासनले कार्यक्रमको अनुमति नभएको र सुरक्षा दिन नसक्ने भन्दै यादवलाई बीच बाटोमै रोकेर होटलमा राखेको थियो ।
दिउँसो १२ बजेसम्म उनी महोत्सवस्थलमा नपुगेपछि आक्रोशित भीडले भारतीय नम्बर प्लेटका चारवटा स्कोरपियो गाडीमा आगजनी गर्नुका साथै स्टेज, साउन्ड सिस्टम र लाइटहरु तोडफोड गरेको प्रहरीले जनाएको छ ।
कलाकार यादवले तोडफोडबाट डेढ करोडको क्षति पुगेको जानकारी पाएको भन्दै आयोजकले क्षतिपूर्ति दिनुपर्ने बताए । ‘प्रशासनले दुई दिनअघि नै रोक लगाएपछि महोत्सव स्थगित गर्नुपर्ने थियो । तर आयोजकले टिकट बिक्री गर्यो, तर मलाई टिकट सो बारेमा जानकारी थिएन’ उनले भने, ‘मलाई पनि गुमराहमा राखियो ।’
कोरोनाका कारण प्रशासनले कार्यक्रम गर्न रोक लगाएको विषयमा आयोजकले आफूलाई केही नभनेको उनले बताए । ‘आयोजकले प्रशासनको निर्देशनका बारेमा जानकारी दिएको भए म कार्यक्रमका लागि आउने थिइनँ’ यादवले भने, ‘तर ढाँटेर बोलाएकाले मलाई प्रशासनले कार्यक्रममा जान दिएन ।’
आयोजकले उनी आउने भन्दै तीन सय र पाँच सय दरका टिकट अग्रिम बिक्री गरेको थियो । कलाकार नबोलाएको भन्दै आक्रोशित भीडले आगजनी र तोडफोड गरेको गाउँपालिका-६ का वडाअध्यक्ष विनोदकुमार चौधरीले बताए ।
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड संक्रमण अन्त्यको संकेत नदेखिएको जनाएको छ । फ्रान्स, जर्मनी, ब्राजिललगायतका देशमा नयाँ संक्रमिताको संख्याले रेकर्ड तोडिरहेका बेला डब्लूएचओको भनाई आएको हो ।
कोभिडको उच्च संक्रमित नयाँ भेरियन्ट ओमिक्रोनले विश्वलाई ढाकेको र विभिन्न देशका सरकारहरुले प्रतिबन्धात्मक कदम चालिरहेका छन् । अधिकांश देशहरुले कोभिडविरुद्धको बुस्टर डोज दिन थालेका छन् ।
‘यो महामारीको अन्त्य हुने संकेत देखिदैन,’ डब्लूएचओको प्रमुख टेड्रोस एडहानोम घिब्रिससले जेभेभामा आयोजित एक कार्यक्रममा भने ।
पछिल्लो समय युरोप महामारीको मुख्य केन्द्र बिन्दु बनेको छ । फ्रान्समा मंगलबार एकै दिन पाँच लाख संक्रमित भएका थिए भने जर्मनीमा पछिल्लो २४ घन्टामा एक लाख जनामा संक्रमण देखिएको छ । युरोपका अन्य देशहरुमा पनि संक्रमण दर तीव्र फैलिएको छ ।
ओमिक्रोनलाई सामान्य आँकलन नगर्न भन्दै घिब्रिससले नोभेम्बरमा दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको महामारी ल्याटिन अमेरिकाबाट पूर्वी युरोपमा फैलिएको बताएका छन् ।
‘औषतमा ओमिक्रोन कम घातक हुन सक्छ, तर यसको फैलने क्षमता तीव्र छ,’ उनले भने । – एजेन्सी
संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष मिरबहादुर राईमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । मंगलबार साँझ वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।
ढुंगा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते भएका छन् । मोटरसाइकलमा घर जाँदै गर्दा अज्ञात समूहले वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार भएको हो ।
अज्ञात समूहको ढुंगा प्रहारबाट सामान्य घाइते टाउको,ढाड र हातमा सामान्य चोट लागेको वडाध्यक्षले राईले बताए । वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । – न्युज कारखाना
म्याड्रिड । विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्ने विश्व पर्यटन संगठनले जनाएको छ । राष्ट्रसंघीय विश्व पर्यटन ब्यारोमिटरका अनुसार छिट्टै सर्ने ओमिक्रोन भेरियन्टका कारण पर्यटनका गतिविधि पहिल्यैको अवस्थामा फर्किन कम्तिमा दुई वर्ष लाग्ने जनाएको हो ।
सन् २०२० मा पर्यटनबाट प्राप्त हुने राजस्व पहिलेको वर्षको तुलनामा ७२ वर्षले कटौती भएको थियो । कोभिड महामारीको सुरुवातसँगै विश्वको पर्यटन गतिविधि ठप्प रहेको थियो ।
‘महामारीका कारण विभिन्न यात्रा प्रतिबन्ध, लकडाउन, विकासन्मुख देशमा खोप पहुँचमा ढिलाई र यात्रुहरुमा घट्दो आत्मविश्वासका कारण पर्यटन गतिविधि विश्वव्यापी रुपमा नै सुस्त छ,’ युएनडब्लूटीओले एक प्रेस विज्ञप्तिमा भनेको छ ।
तर, सन् २०२१ को अन्ततिर भने पर्यटकहरुको चहलपहल तुलनात्मक रुपमा केही बढेको छ । गत वर्ष युरोप र अमेरिकामा क्रमशः १९ र १७ प्रतिशतले पर्यटक बढेका थिए । तर, मध्यपूर्वमा भने २४ प्रतिशतले घटेका थिए । एसिया प्रसान्त क्षेत्रमा सन् २०२० मा ६५ प्रतिशतले घटेको छ ।- एजेन्सी
जनकपुरधाम । आज ५ माघ, यस दिन मधेश आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतो पहिलो सहिद भएका थिए । त्यसको सम्झनामा मधेश प्रदेश सरकारले ५ माघलाई बलिदानी दिवसको रुपमा मनाउदै आएको छ । बलिदानी दिवसमा मधेश प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
१५ वर्ष पूरा भएको मधेश आन्दोलनमा १०३ जनाले ज्यानको आहुति दिएका थिए । प्रदेश सरकारले बुधबार सप्तरीमा एक कार्यक्रमको आयोजना गरि प्रत्येक सहिद परिवारलाई तीन लाखको दरले अर्थिक सहयोग तथा सम्मान गर्ने कार्यक्रम रहेको छ ।
यसअघि पनि प्रदेश सरकारले मधेश आन्दोलनका सहिदहरूलाई आर्थिक सहयोग गरेका थिए । त्यसैगरी, गत वर्ष सहिद परिवारको आयआर्जनका लागि भैसी, गाई समेत प्रदेश सरकारले उपलब्ध गराएको थियो । केही सहिद परिवारका एक एक सदस्यलाई प्रदेश सरकारले रोजगारी दिएको छ ।
मधेश माआन्दोलनको बलमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्थामा प्रवेश गरेको छ । संघीय संरचनामा मुलुक प्रवेश गरे पनि प्रदेश सभा, प्रदेश सरकार गठन भएको चार वर्ष पुगेको छ । यी चार वर्षमा मधेश केन्द्रित दलहरूले आन्दोलनताका गरेको वाचा र देखाएको सपना कति पूरा भएको भन्ने खोजिरहनु पर्दैन । गरिबी, बेरोजगारी, अशिक्षा, विदेश पलायनको अवस्थामा कुनै परिवर्तन आएको देखिँदैनन् ।
मुख्यमन्त्रीदेखि मन्त्रीहरू, सासदहरू प्रदेश र जनताको विकासभन्दा पनि आफ्नो व्यक्तिगत विकासमा केन्द्रित रहेको आरोप पनि लाग्दै आएको छ । यी आरोपमा मधेश सरकारमा मन्त्रीहरूले संघीयता विरोधीहरूलाई मात्र यस्तो धारणा राख्न गरेको जवाफ दिने गरेका छन् ।
जनअपेक्षा र जनचाहनाअनुसार नभए पनि प्रदेश सरकारले हरेक क्षेत्रमा आफ्नो क्षमताअनुसार कार्यअघि बढाउन सफल भएको आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साहले बताए ।
प्रदेशको नामाकरण मधेश प्रदेश पनि प्रदेश सरकारको उपल्बधी रहेको बताउदै मन्त्री साहले महिला सशक्तीकरणको लागि बेटी पढाउ बेची बचाउ, धार्मिक स्थलको संरक्षण प्रर्वद्धन गर्न उदेश्यले स्वच्छता अभियान जस्ता महत्वपुर्ण कार्यहरूलाई प्रदेश सरकारले प्राथमिताको साथ गर्दै आएको दाबी गरे ।
कर्मचारीको अभाव र कोभिड १९ को बाबजुद पनि प्रदेश सरकारले आफ्ना क्षमताअनुसार भौतिक पूर्वाधारदेखि मानवीय विकास, आर्थिक सम्वृद्धिदेखि कानुन निर्माणमा पनि प्रदेश सरकार अगाडी बढिरहेको मन्त्री साहको दाबी छ ।
‘सुरुमा ऐन कानुन कानुनको अभाव थियो, बस्ने ठाउँसमेत थिएन, सचिवको निवासबाट मन्त्रालय चलाउनुपर्ने अवसथा थियो, पुर्व मन्त्री ज्ञानेन्द्र कुमार यादवले भने, पाँच सात जना कर्मचारीको भरमा मन्त्रालय चलाउनु पर्ने अवस्था थियो। अहिले अलि सहज त भएको छ । यसमा पनि धेरै क्षेत्रमा सुधारको आवश्यकता छ । तर, पनि प्रदेश सरकारले कानुनी क्षेत्रमा, भौतिक पूर्वाधारमा, मानवीय विकासमा हरेक क्षेत्रलाई ध्यानमा राखेर कामलाई अगाडी बढाउनु नै ठुलो उपलब्धी हो ।’
प्रदेश सरकारले प्रदेश प्रहरी ऐन बनाएको झण्डै दुई वर्ष भईसक्दा पनि संघीय सरकारको प्रहरी समायोजनसम्बन्धी नियमावली नबनाउँदा प्रदेश सरकारले आफ्नो प्रहरी राख्न सकेको छैन ।
संविधानमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय र सहकार्यमा जोड दिएको छ । तर, संघीय सरकाले प्रदेश सरकारसँग, स्थानीय तहले प्रदेशलाई कुनै वास्ता नगर्दा पनि प्रदेश सरकारले चाहेर पनि विकास निर्माणदेखि हरेक क्षेत्रमा कार्य गर्न नसक्नु यर्थाथ पनि हो ।
कर्मचारी समायोजना नहँुदा पनि प्रदेश सरकारले स्थापनादेखि अहिलेसम्मको ५० प्रतिशतभन्दा पनि कम कर्मचारीमा काम गर्न बाध्य छ । यस्तो अवस्थामा प्रदेश सरकारले अहिलेसम्मको कार्य सन्तोषजनक नै रहेको राजनीतिक जानकारहरूको भनाइ छ । – न्युज कारखाना
नेपाली कामदारले ६ वर्षपछि इजरायल रोजगारीमा जाने अवसर प्राप्त गरेका छन् । आज (बुधबार) रोजगारीका लागि ९९ जना नेपाली श्रमिक इजरायल जाँदैछन्।
वैदेशिक रोजगार विभागका निर्देशक डम्बर सुनुवारका अनुसार इजरायल उड्ने तयारीमा रहेका एक सय २५ कामदारमध्ये २६ जनालाई कोरोना संक्रमण देखिएपछि ९९ जना मात्रै इजरायल जान लागेका हुन्।
हालसम्म इलरायल सरकारले नौ सय ९४ नेपाली कामदारसँग रोजगारीको सम्झौता गरेको छ। ती कामदारलाई क्रमशः इजरायल पठाइने विभागले जनाएको छ।
विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सयजनाको अन्तिम छनोट गरिसकेको छ। जसमा ७० प्रतिशत महिला छन्।
दोस्रो चरणमा १४ र १५ माघमा एक सय ६२ जना इजरायल उड्ने विभागले जनाएको छ।
दोस्रो चरणमा इजरायल जाने कामदारले गत साउन ३१ गतेपछि कोभिडविरुद्धको खोप लगाएको हुनुपर्ने शर्त इजरायल सरकारको छ। यस्ता कामदारले मात्रै हवाई टिकट खरिद र पूर्वअभिमुखीकरण कार्यक्रम लिन सक्नेछन् । इजरायल जाने नेपाली कामदारलाई इजरायलस्थित रोजगारदाताले १४ दिन क्वारेन्टिन राख्नेछ।
इजरायल र नेपाल सरकारबीच ०७२ साउनमा केयर गिभरमा नेपाली कामदार पठाइने श्रम सम्झौता भएको थियो । सम्झौताअनुसार सरकारीस्तरमा श्रम सम्झौता (जिटुजी) भएको थियो । तर, सम्झौता भएको एक वर्ष पूरा नहुँदै इजरायल रोजगारी रोकिएको थियो।
काठमाडौं । वीरगञ्ज महानगरपालिका-१३ तेजारथ टोलमा रहेको मधेश प्रदेशका मुख्यमन्त्रीको लालबाबु राउत निजी निवासमा ढुङ्गा प्रहार गरेको अभियोगमा सोही महानगरपालिका-१ ठेगाना भएका २६ वर्षीय सुमन पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका-८ घण्टाघरबाट प्रदेश नम्बर २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर निर्णय भएको विरोधस्वरुप निस्केको मोटरसाइकल र्यालीले नगर परिक्रमा गर्ने क्रममा र्यालीसँगै मोटरसाइकलमा आएका पटेलले मुख्यमन्त्रीको निजी निवासमा एक्कासी ढुङ्गा प्रहार गर्दा निवासको २ वटा सिसा फुटेर क्षति भएको छ ।
वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले उनलाई तत्काल पक्राउ गरी आपराधिक उपद्रव सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
काठमाडौं । विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन् । घरायसी प्रयोजननका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न पाउने छन् ।
नेपाल विद्युत प्राधिकरणले विद्युत वितरण विनियमावली,२०७८ मार्फत घरमै विद्युतीय गाडी चार्ज गर्न छुट्टै मिटर माग गरेमा ग्राहकलाई मिटर दिने व्यवस्था गरेको हो । प्राधिकरण सञ्चालक समितिको गत २० पुसको ८९२औं बैठकबाट पारित भएको विनियमावली कार्यान्वयनमा आइसकेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत सेवा छिटो, सर्वसुलभ एवं सहज रुपमा उपलब्ध गराउन र विद्युत खपत बढाउने गरी ग्राहकमैत्री नयाँ विद्युत वितरण विनियमावली कार्यान्वयमा ल्याइएको बताए ।
‘विगतमा लोडसेडिङको अवस्थामा हरेक कुरामा प्रतिबन्ध लगाउन खोजिएको थियो, अहिले लोडसेडिङ अन्त्य भई मुलुकभित्र उत्पादित विद्युत यही खपत बढाउनु पर्ने बाध्यात्मक अवस्था छ, यसलाई ध्यान दिई ग्राहकलाई माग बमोजिम छिटोभन्दा छिटो भरपर्दो तथा गुणस्तरीय सेवा उपलब्ध गराउने र विद्युत खपत बढाउने गरी नयाँ विनियमावली कार्यान्वयनमा ल्याएका छौं’, घिसिङले भने, ‘खपत बढाउन विद्युत महसुल घटाउँदै लगेका छौं, सेवालाई पनि सहजीकरण गरी ग्राहकमैत्री बनाउन अधिकतम प्रयास गरिरहेका छौं ।’
विनियमावलीमार्फत प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ पूर्वाधार निर्माण तथा सञ्चालनका नीतिहरु कार्यान्वयनमा ल्याएको छ । निजी आवास, कार्यालयहरु, फर्म-कम्पनी-संस्थामा निजी र सार्वजनिक स्थल, निजी घरजग्गामा सार्वजनिक चार्जिङ स्टेसन स्थापना गर्न स्वीकृत प्राप्त निकाय-फर्म-व्यक्ति- कम्पनीलाई अनुमति दिने छ । मुख्य-मुख्य सहरी क्षेत्रमा सार्वजनिक चार्जिङ स्टेसन सञ्चालन गर्ने संस्थाहरुलाई प्राथमिकता दिइनेछ ।
साथै, नेपाल सरकार, सार्वजनिक संस्थान र स्थानीय तहले सार्वजनिक चार्जिङ स्टेसन सञ्चालन गर्न चाहेमा प्राथमिकता दिइने व्यवस्था गरिएको छ । सरकारबाट स्वीकृत लिएर सार्वजनिक जग्गामा सार्वजनिक विद्युतीय सवारी चार्जिङ स्टेसन स्थापना गर्न चाहेमा पनि स्वीकृति दिने व्यवस्था गरिएको छ ।
विनियमावलीमार्फत सार्वजनिक चार्जिङ स्टेसनको प्रवद्र्धनका लागि विशेष व्यवस्था गरिएको कार्यकारी निर्देशक घिसिङले बताए । ‘दुई सय केभिएसम्मको विद्युत डिमाण्ड भएका चार्जिङ स्टेसन स्थापना गर्ने सेवा प्रदायकलाई प्राधिकरणले ट्रान्सफरर्मर सहितको विद्युत सेवा प्रवाह गर्नेछ । त्यो भन्दा माथिल्लो डिमाण्ड हुने चार्जिङ स्टेसनको हकमा भने एचटी लाइनको काम प्राधिकरणले गर्नेछ तर ट्रान्सफरमर जडान लगायतका बाँकी काम सेवाप्रदायकले नै गर्नुपर्नेछ,’ उनले भने । चार्जिङ स्टेसनका लागि छुट्टै विद्युत महसुल समेत लागू भइसकेको छ ।
चिस्यान केन्द्र, खानेपानी र सिंचाइलाई सुविधा
प्राधिकरणले सहकारी संस्थाले सञ्चालन गरेका दुग्ध चिस्यान केन्द्र तथा शीत भण्डार र सहकारी संस्था वा समुदायमार्फत सञ्चालित खानेपानी तथा सिंचाइलाई पनि सुविधा दिएको छ । दुई सय केभीएसम्म डिमाण्ड भएका त्यस्ता ग्राहकलाई प्राधिकरणले आफ्नै ट्रान्सफर्मरबाट विद्युत आपूर्ति दिने छ । यसबाट त्यस्ता ग्राहकको ट्रान्सफर्मर खरिदमा हुने खर्च कटौती भई यो सुविधाबाट लाभान्वित हुने घिसिङले उल्लेख गरे ।
‘यसअघि ग्राहकले प्राधिकरणको ट्रान्सफर्मरबाट ५० केभिएसम्मको मात्र र त्यसभन्दा बढीको लोड लिनुपरेमा आफ्नै खर्चमा ट्रान्सफर्मर खरिद गर्नु पर्ने व्यवस्था थियो । अब यसलाई हटाएर एक सय केभिएसम्म लोड लिने उद्योगहरुलाई प्राधिकरणकै ट्रान्सफर्मरबाट विद्युत आपूर्ति दिने व्यवस्था गरी ग्राहकलाई राहत दिन खोजेका छौं,’ उनले थपे । एक सय केभीएभन्दा बढी लोड चाहिएमा भने ग्राहकहरु आफैंले ट्रान्सफर्मर किन्नु पर्ने छ । यसअघि उपलब्ध ट्रान्सफर्मरको क्षमताको ५० प्रतिशत मात्रै विद्युत आपूर्ति दिने गरिएकोमा अव यस्तो सिलिङ हटाइएर ग्राहकलाई सुविधा दिन खोजिएको छ ।
डेरावालसँग बढी महसुल असुलेमा लाइन काटिने
घरधनीले घरभाडामा बस्ने व्यत्तिहरुसँग प्राधिकरणले तोकेको महसुलभन्दा बढी रकम असुल गरेमा लाइन काट्न सकिने व्यवस्था गरेको छ । घरधनीले डेरावालसँग महंगो विद्युतको महसुल असुल गरेको गुनासो आएपछि प्राधिकरणले तोकिएको भन्दा बढी महसुल लिएको पाइएमा त्यस्ता घरधनीको लाइन काट्ने व्यवस्था गरेको हो । यसबाट घरभाडामा बस्ने उपभोक्ताहरुलाई सर्वसुलभ विद्युत सेवाको प्रत्याभूति हुने छ ।
घरभाडामा बस्ने व्यक्तिहरुले तोकिएका निश्चित शर्त पूरा गरी छुट्टै मिटर राखी विद्युत सेवा लिन सकिने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाबाट घरभाडामा बस्ने उपभोक्तालेसमेत अन्य ग्राहक सरह सर्वसुलभ विद्युत सेवा उपभोग गर्न पाउने छन् ।
बक्यौता भुक्तानी गर्ने प्रतिवद्धतासहित छुट्टै मिटर राख्नको लागि घरधनीको लिखित सहमति, घरधनी र बहालमा वस्ने बीच कम्तीमा एक वर्षका लागि गरिएको घरबहाल सम्झौता, घरवहालमा वस्ने व्यक्तिलाई छुट्टै मिटर दिन प्राविधिक दृष्टिकोणबाट उपयुक्त भएमा, घरधनीको बाँकी बक्यौता नभएमा र वहालमा वस्नेको मिटर समेत एउटै स्थानमा राख्न सकिने गरी वायरिङको व्यवस्था गरिएका सर्त पूरा गर्नु पर्ने छ ।
अपार्टमेन्टमा बस्नेले प्राधिकरणबाट सिधै विद्युत लिन सक्ने
अपार्टमेन्ट, बहुतले आवासीय भवन, कोलोनीहरुमा बसोबास गर्ने उपभोक्ताहरुलाई तोकिएका शर्त पूरा भएमा अन्य ग्राहकसरह विद्युत सेवा उपलब्ध गराउने व्यवस्था विनियमावलीमा गरिएको छ ।
अहिले अर्पाटमेन्टहहरुले आफूले प्राधिकरणबाट विद्युत लिएर त्यहाँभित्र बस्नेलाई महंगो शुल्क लिएर आपूर्ति दिंदै आएका छन् । अब अपार्टमेन्टमा बस्नेले प्राधिकरणबाट मिटर लिएर सिधै विद्युत लिन सक्ने हुँदा महसुल सस्तो पर्ने भएकोले विद्युतीय उपकरणको प्रयोगमा बृद्धि भई विद्युत खपत बढ्ने घिसिङले उल्लेख गरे । एउटै उद्योग परिसरभित्र फरक-फरक विद्युत महसुल दर आकर्षित हुने उद्योगहरु सञ्चालन हुने अवस्थामा अलग-अलग मिटर राख्न पाउने छन् ।
वक्यौता किस्ताबन्दीमा तिर्न पाउने
विद्युत महसुलको वक्यौता रहेका ग्राहकले किस्ताबन्दीमा तिर्न पाउने भएका छन् । विद्युत महसुल नतिरेर कालोसूचीमा परेका ग्राहकले पुनः विद्युत लाइन जोड्नुपर्दा वक्यौता रकम एकमुष्ट बुझाउन नसकेमा नियमानुसार थप दस्तुर लिई बढीमा १२ किस्तासम्म रकम तिर्न सक्नेछन् ।
ग्राहकले साबिकको वितरण केन्द्रबाट लगत खारेज गराई अर्को केन्द्रमा ठाउँसारी गर्न चाहेमा साबिकको केन्द्रमा तत्कालीन सयममा प्रयोग भएका विद्युतीय सामग्रीहरु उल्लेख भई आएमा त्यसको पुनः प्रयोगशाला परीक्षण गर्नु नपर्ने व्यवस्था गरी सहजीकरण गरिएको छ । ग्रिड कोड, निर्माण मापदण्ड आदिको व्यवस्था विनियमावलीमा गरी भरपर्दो विद्युत सेवा प्रवाहमा जोड दिइएको छ ।
परासी । पुर्वी नवलपरासीको बिनयी त्रिबेणि गाउँपालिका वार्ड न ६ रानीनगर बजारमा गैँडा देखा परेको छ । रानीनगर बजारमा जडान गरेको सिसि टिभी क्यामेरामा बिहानको करिब ३ बजे तिर रानीनगरको पुल हुदै बजार तर्फ गैंडा प्रवेश गरेको देखिएको छ ।
क्यामेरामा कैद भएको गैँडा देखिएपछि रानीनगर बजार क्षेत्रका ब्यापारि र स्थानीयहरुमा एक किसिमको त्रास पैदा भएको स्थानीय गोबिन्द शर्माले बताएका छन् । स्थानीयको अनुसार सो गैंडा राष्ट्रिय निकुञ्ज या मध्यवर्ती बनबाट गाउँतिर आएको हुनु पर्ने अनुमान गरिएको छ ।
स्थानीयले बजार क्षेत्रको क्यामेरामा गैंडा देखेपछि ईलाका प्रहरी कार्यालय त्रिबेणिलाई खबर गरेको र स्थानीयको खबर पाउन साथ सो स्थान तर्फ प्रहरी गएर बुझ्दा अहिले गैँडा देखा नपरेको या अन्य स्थान तर्फ गइसकेको हुनु पर्ने ईलाका प्रहरी कार्यालय त्रिबेणिले बताए ।
कर्णाली । कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढीपीडितका लागि रु १२ करोड निकासा गरेको छ । विसं २०७१ साउनमा आएको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगङ्गा नगरपालिका र बराहताल गाउँपालिकाका पीडितको घर निर्माणका लागि सो रकम निकासा गरिएको हो ।
बाढीबाट एक हजार ४५ घरमा पूर्णरूपमा क्षति पुगेको थियो । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गत कात्तिक २९ गते मुगुको छायाँनाथ रारा नगरपालिका–१ गमगढीका आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालयमार्फत रु ६१ लाख ८५ हजार राहत रकम पठाएका छन् । यस्तै रु दुई करोड बराबरको विपद् सामग्री खरिद गर्न बोलपत्र आह्वान गरिएको छ ।
मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ७१८ वडाका एक हजार ५५ आयोजनाको छनोट भएको मुख्यमन्त्री शाहीले बताए । उनले भने, “कर्णालीको बेरोजगारी र गरिबी समाधानका लागि बजेट छुट्टयाइएको हो । रोजगार कार्यक्रमका लागि छनोट भई आएका आयोजनाको कार्यान्वयन गर्न सम्बन्धित स्थानीय तहमा बजेट पठाइसकेका छौँ ।”
प्रदेश सरकारको ब्याज अनुदान कार्यक्रमतर्फ हालसम्म बैंकबाट २०९ र सहकारीबाट ६११ व्यवसायीले अनुदान लिएको र त्यसवापत रु एक करोड ५१ लाख प्रदेश सरकारले ब्याज भुक्तानी गरेको मुख्यमन्त्री शाहीले बताए । प्रदेश सरकारद्वारा ‘कर्णाली प्रदेश प्रसारण नियमावली, २०७६’ संशोधन गरी सञ्चारमाध्यमको आव २०७८÷७९ को नवीकरण दस्तुर छुट र रोयल्टी शुल्क एक प्रतिशत झारिएको छ ।
काठमाडौँ । काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ ।
कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनसहितको सङ्क्रमण नियन्त्रण तथा उपचारलाई थप प्रभावकारी तुल्याउन मंगलबार मध्यरातदेखि माघ मसान्तसम्म लागू हुने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बेग्लाबेग्लै आदेश जारी गरी भीडभाड हुने गतिविधिमा रोक लगाएका हुन् ।
आदेशअनुसार गोष्ठी, सेमिनार, समीक्षा, बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्नुपर्ने, भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुनुपर्नेछ भने माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब हेल्थ क्लब, जिमखाना, स्विमिङ पुललगायत बन्द गर्नुपर्नेछ । धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूरा, ध्यान र प्रार्थना मात्र गर्न पाइनेछ ।
त्यसैगरी, सार्वजनिक स्थलमा माघ ७ गतेदेखि अनिवार्य खोप कार्ड देखाउनु पर्ने, सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क नलाएका यात्रीलाई रु पाँचमा मास्क उपलव्ध गराउन सकिने आदेशमा उल्लेख छ ।
सार्वजनिक सेवा लिन खोपको पूर्ण मात्रा लगाएको हुनुपर्नेछ भने भौतिक उपस्थिति भइ गर्नुपर्ने गोष्ठी, सेमिनार, समीक्षा बैठकमा खोप लगाएको प्रमाण पेश गर्नुपर्नेछ । सार्वजनिक निकायमा सेवा प्राप्त गर्न, रङ्शाला, होटल र रेस्टुरेन्टमा प्रवेश गर्न पनि खोप कार्ड अनिवार्य गरिएको छ । खोपकार्डको फोटो मोबाइल फोन राखेर आवश्यकताअनुसार देखाउन सकिने स्थानीय प्रशासनले जारी गरेका आदेशमा उल्लेख छ ।
न्युयोर्क । नेपालका क्षितिज राज लोहनीले आईफोनको नयाँ पुस्ताका लागि आईफोन डिजाइन गरेका छन् । लोहनी आईफोन टिमका इन्जिनियर हुन् । उनले ऐप्पलभित्र ‘नेपाली-एट-एप्पल’ समूह स्थापना गरेका छन् । समूहले एप्पलमा काम गर्ने ५० नेपालीलाई एकै ठाउँमा राखेको छ ।
‘एप्पल विश्वकै पहिलो ३ खर्ब डलरको कम्पनी हो । एप्पलका उत्पादनमा नेपालीको पनि योगदान छ,’ क्षितिज भन्छन् । आईफोन, आईप्याड, वाच, म्याप्स, म्याक जस्ता एप्पलका उत्पादनमा नेपालीको पनि योगदान रहेको उनी बताउँछन् । ‘व्यावसयिक करिअर बिकासमा हामीले नियमित रुपले अन्य नेपालीहरुलाई सहयोग गर्छौं,’ क्षितिज भन्छन् ।
नेपालीले एप्पलको अतिरिक्ति विश्वकै प्रतिष्ठित कम्पनीहरुः गुगल, अमेजन, फेसबुक, गोल्डम्यान साच्स, सीएनएन इत्यादिमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।
लन्डन । विश्वकै सबैभन्दा पाका पुरुष स्पानियार्ड सातुर्निनो डि ला फ्ल्युटी ग्रार्सियाको मृत्यु भएको छ । उनको ११२ वर्ष ३४१ दिनमा मृत्यु भएको गिनिजि वल्र्ड रेकर्डले जनाएको छ । उनी ११२ वर्ष २११ दिन पुरा भएपछि विश्वकै सबैभन्दा जेष्ठ व्यक्ति घोषित भएका थिए । अर्को महिना उनले आफ्नो ११३ औ जन्म दिन मनाउने योजनामा थिए ।
चार फिट नौ इन्च अग्ला स्पानिर्याडको जन्म सन् १९०९ को फेब्रुवरीमा पोन्टे कास्ट्रोको लियोनमा भएको थियो । उनी पेसाले जुत्ता व्यापारी थिए । उनका साता छोराछोरी, १४ नातिनातिना र २२ पनाति छन् ।
गिनिजि वल्र्ड रेकर्डका अनुसार जीन लुइस कालमेन्ट अहिलेसम्म रेकर्ड भएकामध्ये सबैभन्दा बढी समय बाँच्ने व्यक्ति हुन् । उनको १२२ वर्षको उमेरमा मृत्यु भएको थियो । –एजेन्सी
परासी । डिभिजन वन कार्यालय पश्चिम नवलपरासीले सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा प्रतिबन्धित जडीबुटी बरामद गरेको छ । कार्यालयले विशेष सुराकीको आधारमा जिल्लाको सरावल गाउँपालिका वडा नम्बर ७ स्थित भुजहवाँमा रहेको एक कबाड पसलबाट ठूलो मात्रामा प्रतिबन्धित सुनाखरी र झ्याउ जस्तो जडीबुटी सोमबार बरामद गरेको हो ।
बरामद जडीबुीहरु भुजहवाँस्थित साई ट्रेडर्स नामक कबाड संकलन गर्ने स्थानमा (कबाड पसल) लुकाईछिपाई राखिएको थियो । विगतका समयदेखि यस कबाड पसलबाट यसरी झार जस्तो देखिने वस्तुहरु साइकल तथा रिक्सामा लोड गरी भारत छिराउने कार्य भइरहेको स्थानीयले देखेपछि यो विषयमा चर्चामा आएको थियो ।
उक्त जडीबुटी भारत तस्करी गर्ने उद्देश्यले कबाडी पसलले लुकाईछिपाई राखिएको अवस्थामा सुराकी पाएपछि डिभिजन वन कार्यालय, सशस्त्र प्रहरी बल बिओपी भुजहवाँ र जनपद प्रहरी चौकी भुजहवाँको सहयोगमा बरामद गरिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख डिभिजन वन अधिकृत डिलाराम पौडेलले जानकारी दिए । जडीबुटी बरामद हुने कबाड पसल दशगजाबाट १ सय मिटर मात्र दुरीमा छ । बरामद सुनाखरी २१ क्वीन्टल ८० किलोग्राम, झ्याउ ५१ क्वीन्टल ३० किलो ग्रामको रहेको निमित्त प्रमुख पौडेलले जानकारी दिए ।
यो जडीबुटी पहाडी जंगलहरुमा पाइने गर्दछ । यसलाई संकलन तथा ओसारपसार र विक्रीवितरण गर्न नेपाल सरकारले प्रतिबन्ध लगाएको छ । बरामद सुनाखरी प्रतिकिलो २०० का दरले ४ लाख ३६ हजार रुपैयाँ र झ्याउ प्रतिकिलो २५ रुपैयाका दरले १ लाख २८ हजार २५० रुपैयाँ गरी कुल ५ लाख ६४ हजार २५० रुपैया यसको बिगो रकम मुल्यांकन गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको निमित्त प्रमुख पौडेलले जानकारी दिए ।
सुनाखरी रुघाखोकी, च्यावनपरास, जस्ता आयुर्वेदिक औषधीमा प्रयोग हुने र झ्याउबाट पाउडर बनाई घाउ निको पार्ने आयुर्वेदिक औषधी बनाइने डिभिजन बन कार्यालयले जनाएको छ । यो सुनाखरी तथा झ्याउ भारतमा निकै महंगोमा विक्री हुने हुँदा कबाडी व्यापारीहरु कबाडको आँडमा यसलाई भारतमा व्यापक तस्करी गर्दै आएकाले एक स्थानीय श्रोतको सुराकीले प्रतिबन्धित जडीबुडी बरामद गर्न सफल भएको कार्यालयले जनाएको छ ।
बरामदस्थल नजिकै एक घरमा बोरामा भरेर राखिएको ठूलो परिमाणका बस्तु सुनाखरी तथा झ्याउ हुन सक्ने शंकामा स्थानीय प्रशासनले उक्त ठाउँमा निगरानी बढाएको छ । सो वस्तुको निगरानी गर्न सशस्त्र तथा जनपद प्रहरी खटाएको छ । उक्त सामानको जाँच प्रताल गर्ने र सुनाखरी तथा झ्याउ भए त्यस वस्तुहरुलाई बरामद गर्ने प्रशासनले जनाएको छ ।
यसरी कबाडको आँडमा जडीबुटीको कारोबार हुँदै आएको देखिएपछि प्रशासनले कबाड संकलन गर्ने ठाउँहरुमा निगरानी बढाएको छ । यति ठूलो मात्रामा जडीबुटी बरामद भएपछि स्थानीय अच्चममा परेका छन् । बरामद जडिबुटीहरु डिभिजन वन कार्यालयमा सुरक्षित गरिएको छ भने थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।
काठमाण्डाैं । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि आजदेखि लागू हुनेगरी धार्मिक कार्यक्रम पनि संकुचन गरिएकाे छ ।
काठमाडाैं उपत्यकामा रहेका तीन वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आजदेखि माघ मसान्तसम्म मन्दिर, मस्जिद गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थना मात्र खुला रहने बताएका छन् । त्यसबाहेकका पूजापाठ हुने छैन ।
पशुपति क्षेत्र विकास काेषले पनि एक सूचना जारी गरी आजबाट लागू हुनेगरी पशुपतिनाथ, गुह्वेश्वरी लगायत पशुपति क्षेत्रका मठमन्दिरमा परम्परागत नित्य पूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरिएको जानकारी दिएकाे छ ।
देवानगंज । सुनसरीको बर्जु गाउँपालिका ६ बर्जु तालमा जारी तेस्रो बर्जु महाेत्सवमा तोडफोड भएको छ । सुनसरी प्रशासनले बर्जु महोत्सव संचालन गर्न अनुमति दिएको थियो । तर कोराना माहामारी बढेपछि सुनसरी प्रशासनले समयमा महोत्सव नरोक्दा बर्जुमा मंगलबार करोडौको छति भएको छ।
जिल्ला प्रशासन कार्यालयले माघ २ गते मात्र कार्यक्रम रोक्न गाउँपालिकालाइ लाई पत्र लेखेको थियो । तर ४ गतेको महोत्सवमा भारतिय भोजपुरी कलाकार खेशारीलाल यादव आउने कार्यक्रम तय गरिएको थियो । लाखौ पैसा खर्च गरेको आयोजक मारमा परेपछि आयोजकले जसरि पनि कार्यक्रम गर्ने बाध्यता रहेको थियो ।
सोमबार सुनसरी प्रशासनको मौखिक सल्लाहमा कार्यक्रम गर्ने तय भएको थियो । सोहि अनुसार आयोजकले बिहानै देखि टिकट वितरण गर्याे र कार्यक्रम शुरू भयो । कार्यक्रम शुरू भएपछि आयोजकले मोरङ प्रहरीले कलाकार खेशारीलाल यादवलाई आउन नदिएको भने पछि दर्शकहरू आक्रोेशीत हुँदै तोड फोड र अगजनीमा उत्रिए जस्का कारण करोडौको छति भयो । स्थानियहरू आक्रोशित हुँदा समेत प्रहरी प्रशासन नआउनुले प्रशासनकै लापरवाही देखिन्छ ।
सुनसरी जिल्लामा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव आए देखि नै मेला र जात्रामा सुनसरी बिवादित हुँदै आइरहेकोको छ । जसको उदाहरण दशैंको मेलालाई लिन सकिन्छ । दशैंको मेला लगाउन अनुमति नदिएको हो भने यादवले सो मेलाको उद्घाटन आफैले गर्नु कत्तिको जायज हो रु । तर यादवले आफूले कुनै पनि मेलाको अनुमति नदिएको प्रतिक्रिया दिने गरेका थिए ।
यस्तै घटना बर्जु महोत्सवमा भएको देखिन्छ । सुनसरी प्रशासनको लापरवाही र गैर जिम्मेवारीपन निर्णयले मंगलवार बर्जु ताल रणभुमि जस्तै भएको छ । तोडफोड र आगजनि प्रश्चात मात्र प्रहरीको उपस्थिति हुनुले प्रशासनको गल्ती प्रस्ट देखिन्छ ।
सुनसरी आए पछि मेला र जात्राका नाममा विवादित छवि भएका प्रमुख जिल्ला अधिकारी इन्द्ररदेव यादव यो घटनाबाट झन विवादित भएका छन् ।