४ माघ २०७८, मंगलवार १९:३४ – Page 8 – Nagarikabhiyan : National News

स्वास्थ्य क्षेत्रमा सुशासनको अभाव

इनरुवा, माघ ४ गते । सुनसरीका सरोकारबालाहरुले स्वास्थ्य क्षेत्रमा सुशासनको अभाव रहेको गुनासो गरेका छन् । मानवको जिवनसंग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य क्षेत्रमा सुशासनको अभाव रहेको नागरिक समाजका अगुवाहरुले गुनासो गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा सामाजिक जवाफदेहिता कार्यक्रम अन्तरगत सुनसरीको इटहरीमा आयोजित प्याक्ट तथा साशद्धारा सम्पादित सामाजिक जवाफदेहिता सम्बद्ध अध्ययनहरुको राजनीतिक आर्थिक विश्लेषण तथा घटना अध्ययनको नतिजा सिफारिसहरुको सार्वजनिकिकरण तथा अन्तरकृया बैठकमा सरोकारबालाहरुले स्वास्थ्य क्षेत्रमा जवाफदेहिता र सुशासनको अभाव रहेको गुनासो गरेका हुन् । मंगलबार नागरिक समाजका सल्लाहकार समूहको सचिवालय संस्थाका संयोजक मेघराज न्यौपानेको अध्यक्षतामा भएको प्याक्ट तथा साशद्धारा सम्पादित सामाजिक जवाफदेहिता सम्बद्ध अध्ययनहरुको राजनीतिक आर्थिक विश्लेषण तथा घटना अध्ययनको नतिजा सिफारिसहरुको सार्वजनिकिकरण तथा अन्तरकृया बैठकमा सरोकारबालाहरुले स्वास्थ्य क्षेत्रमा जवाफदेहिता र सुशासनको अभाव रहेको गुनासो गरेका हुन् ।
सहभागीका अनुसार सुशासन शब्दले जनप्रिय शासनलाई आत्मसात् गर्दछ । यो आफैँमा आदर्श शासनको परिकल्पना हो । यसले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्वीकार गर्दै शासन प्रक्रिया संचालनगर्ने भएकाले सर्वसत्तावाद, तानाशाहीतन्त्र, साम्यवादमा सुशासन कायम हुन सक्दैन । त्यसैले सुशासनमा जति पनि नयाँ नयाँ अभ्यासहरू प्राय सबै लोकतान्त्रिक देशहरूले मात्र अवलम्बन गर्दैछन् । कुनै पनि देश कुन हदसम्म सुशासन उन्मुख छ ? सरकार सधै आफ्ना क्रियाकालापहरूका बारेमा पूर्णरुपमा जवाफदेही हुनु पर्दछ । सरकारवाट सम्पादित कामहरूको जवाफदेहिता जुन हदसम्म प्रत्यक्षरूपमा वहन गर्न सकिन्छ यसले सकारात्मक सन्देशको प्रवाह गर्दछ । सरकारले आफ्ना नीति, कार्यक्रम, योजना, उपलब्ध कोष र यसको प्रयोगको बिषय जनतालाई उदारताका साथ प्रचारप्रसार गर्दै सम्बन्धित जो कोही नागरिकले सहजै प्राप्त गर्न सक्नेगरी सूचनाको सम्प्रेषण गर्ने व्यवस्था अनिवार्य रूपमा मिलाउनुपर्दछ । आधुनिक लोकतन्त्रको अवधारणा र अभ्यासमा पृथकता आएको छ । अब लोकतन्त्रले अल्पमतमा रहेको सुविधाविहीन कमजोर वर्गको उत्थानका लागि आफ्ना कार्यक्रम र नीतिलाई प्राथमिकतामा राखी समता र समावेशीकरण नीतिका आधारमा समानताको सिद्धान्तलाई आफ्नो गन्तव्य निर्धारण गर्न सक्नुपर्दछ । समानरूपमा कानुन लागू गर्दै विकेन्द्रित शासनप्रणालीलाई शासनको मूलमन्त्रका रूपमा ग्रहण गरिनुपर्दछ । सबै नागरिकलाई यथाशक्य सरकारी काम कारवाहीमा प्रत्यक्ष सहभागी बनाउने गर्नुपर्दछ ।
“सुशासन” भन्नु नै मानव अधिकारप्रतिको पूर्ण सम्मान, विधिको शासन, प्रभावकारी जनसहभागिता, काम कारवाहीमा पारदर्शिता र जवाफदेहिता, सार्वजनिक क्षेत्रको प्रभावकारिता, काम कारवाहीको वैधता, सूचनामा पहुँच, समन्याय, सशक्तीकरण, दिगोपन, सकारात्मक प्रवृत्ति र उत्तरदायित्व, ऐक्यबद्धता र सहिष्णुतालाई प्रवद्र्धन गर्ने मूल्य मान्यता हो । कानुनी शासनद्वारा सार्वजनिक स्रोतसाधनको उचित व्यवस्थापन गर्दै नागरिक अधिकारको प्रचलनमा राज्यको काम कारवाही केन्द्रित गर्नु नै “सुशासन” हो । सुशासनको अभावमा सभ्य संवैधानिक राज्य निर्माण हुन सक्दैन ।
नेपालको प्रयास
सुशासनका सन्दर्भमा नेपालमा वि.सं. २००७ सालदेखि कानुनी राज्यको मान्यतामा आधारित समाज निर्माण गर्ने उद्देश्यका साथ विभिन्न प्रयास नभएका होइनन् तर पनि राजनीतिक अस्थिरता, सत्ता स्वार्थमा केन्द्रित राजनीति, शिक्षा र जनचेतनाको कमी जस्ता विभिन्न कारण बलियो संवैधानिक राज्यव्यवस्था निर्माण हुन नसक्दा मुलुकमा सुशासन कायम हुनसकेन । २०४६ सालको जनआन्दोलनपछिको संविधान एवम् सरकारी योजनामा समेत सुशासनको अवधारणालाई आत्मसात् नगरेको पनि होइन । तर पनि राजनीतिक अस्थिरता, लोकतान्त्रिक सँस्कृतिको अभाव, कानुनी शासनको मान्यताभित्र रही कार्य गर्ने संस्कारको कमी जस्ता विभिन्न कारणले मुलुकमा सुशासन अर्थपूर्ण हुनसकेन ।
राजनीतिक अस्थिरताले सार्वजनिक प्रशासनलाई उद्देश्यमूलक र राजनीतिक इच्छाशक्तिको अभावले प्रशासनसंयन्त्र प्रभावकारी बनाउन सकेन । सेवाग्राहीको विश्वास प्रशासनले आर्जन गर्न नसक्दा राजनीति र प्रशासनप्रति आम नागरिकको गुनासो रहिरह्यो । २०६२÷६३ को जनआन्दोलनपछि यस वास्तविकतालाई महसुस गरी मुलुकको सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी तथा जनसहभागितामूलक बनाई त्यसको प्रतिफल सर्वसाधारणलाई उपलब्ध गराउने उद्देश्यले वि.सं. २०६४ सालमा “सुशासन(व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ जारी गरियो । यस ऐनले कानुनको शासन, भ्रष्टाचारमुृक्त र चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन, सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापन गर्ने अभिप्राय राखी सुशासन पाउने नागरिकको अधिकारलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त ग–यो । प्रशासन संयन्त्रलाई सेवा प्रदायक संयन्त्र तथा सहजकर्ताको रूपमा लिई मुलुकमा सुशासनको प्रत्याभूति दिन विभिन्न व्यवस्था ग–यो । जसअनुसार कार्य सञ्चालनका आधार, सरकारले अख्तियार गर्ने नीति, प्रशासनिक कार्यको सञ्चालन र जिम्मेवारी, प्रशासनिक कार्यसम्पादन गर्दा अपनाउनुपर्ने कार्यविधि, पदीय उत्तरदायित्वको निर्वाह, नागरिक बडापत्र राख्नुपर्ने व्यवस्था, घुम्तीसेवाको सञ्चालन, सार्वजनिक सुनवाइ, गुनासो व्यवस्थापन, अनुगमन तथा मूल्याङ्कन विधि जस्ता व्यवस्थाहरू छन् । ऐनको उद्देश्यलाई अर्थपूर्ण बनाउन सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ जारी गरिएको छ ।

राज्यको काम कारवाही लोकतान्त्रिक पद्धति अनुरूप खुला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन, सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउन तथा नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने उद्देश्यले सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी गरिएको छ । यस ऐनले खुला सरकारको अवधारणालाई आत्मसात् गरी भ्रष्टाचारको रोकथाम र सुशासनको स्थापनामा सहयोग पुग्ने उद्देश्यका साथ विभिन्न व्यवस्था गरेको छ । खुला संस्कृति र सक्रिय सूचना प्रवाह प्रणालीमा काम गर्ने आदत नबनिसकेका कारण अझै पनि राज्य संयन्त्र खुलापनको संस्कृतिमा अभ्यस्त भइसकेको छैन ।
नेपाल सरकारले सुशासनको अवधारणालाई साकार बनाउने उद्देश्यले सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५; सरकारी खर्च मितव्ययिता कायम गर्ने निर्देशिका, २०६५; सेवा अभियान सञ्चालन निर्देशिका, २०६५; सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०६५; सार्वजनिक सुनवाइ कार्यविधि, हेलो सरकार कार्यक्रमलगायतका विभिन्न व्यवस्था गरेको छ । यस्तै सम्पती शुद्धीकरणसम्बन्धी ऐन कानुनको तर्जुमा, सार्वजनिक खरिद ऐनको निर्माण भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको अनुमोदन जस्ता विभिन्न व्यवस्था गरेको छ । सुशासनको अवधारणालाई साकार बनाउने अभिप्रायले विभिन्न ऐन कानुन, निर्देशिका, रणनीति, कार्ययोजना बनाई सञ्चालन गरेको भए पनि त्यसको कार्यान्वयन पक्ष कमजोर रूपमै रहेको मान्नुपर्ने हुन्छ । राजनीतिक इच्छाशक्तिको अभावमा प्रशासन संयन्त्रको प्रयासले मात्र सफलता प्राप्त गर्न सकिन्न । नेपालको प्रशासनयन्त्रमा राजनीतीकरणले पारेको प्रभावलाई आँकलन गरी कर्मचारी ट्रेड युनियनको भूमिकालगायतका विषयमा सुधार गर्न राजनीतिक शक्तिहरू एउटै कित्तामा उभिनु जरूरी छ । नेपाल सङ्क्रमणकालको पीडाबाट बढिरहेको छ । दण्डहीनताको संस्कृतिले प्रशासनयन्त्रलाई कमजोर बनाएको छ । राज्यव्यवस्थाप्रतिको नागरिक विश्वास बढ्न सकिरहेको छैन । भ्रष्टाचार र अनियमितताले सुशासनका मान्यतालाई कमजोर बनाएको छ । अब पनि राजनीतिक शक्तिहरु बढी जिम्मेवार नहुने हो भने मुलुक असफल हुनसक्ने खतराहरु बढ्दो छ । यस सन्दर्भमा मुलुकमा सुशासन कायम गर्न राजनीतिक शक्तिहरु एकै ठाउँमा उभिनु जरुरी छ ।
निष्कर्ष
नेपालमा सुशासनका दिशामा सैधान्तिक प्रतिबद्धता आएको छ । तर व्यवहारमा धेरै पछाडि परेको छ । देशभित्र पटक पटक शासन सञ्चालनमा रहेकाहरूको इमानदारी जनताप्रति देखिएको छैन । देशले लोकतन्त्र प्राप्त गरेपछि पनि जनतालाई संविधानले अङ्गीकार गरेको सूचनाको हक प्रदान गर्न अदालतले पटक पटक निर्देशन गर्नुपरेको अवस्था छ् । देश संघीय शासनमा गइसकेपछि पनि जनस्तरमा पुग्ने गरी प्राप्त अधिकारको विकेन्द्रीकरण गरेको स्थिति छैन । वित्तीय विकेन्द्रीकरणको दिशामा सरकारी क्रियाशील देखिएको छैन । राजनीतिक दलहरूले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलाताको नीति अवलम्बन गरे पनि कार्यान्वयनमा छैन, कार्यान्वयन जरुरी छ । सुशासन प्रदान गर्ने सन्दर्भमा प्रशासनिक संयन्त्रलाई समयसापेक्ष सुधार गर्ने अभिप्रायले गठन गरिएका आयोगहरूका प्रतिवेदनलाई कार्यान्वयनमा लैजानु जरुरी छ ।

 

 

कतार च्यारटीले अक्सिन सिलिन्डर सहित विभिन्न २१ वटा सामग्री हस्तान्तरण

सुनसरी सदरमुकाम इनरुवामा रहेको जिल्ला अस्पताललाई कतार च्यारटीले अक्सिन सिलिन्डर सहित विभिन्न २१ वटा सामग्री हस्तान्तरण गरेको छ । इनरुवा जिल्ला अस्पतालको लागि आवश्यक पर्ने र यहाँ रहेको आइसोलेशन केन्द्रलाई सहयोग पुग्ने गरी अक्सिन सिलिन्डर सहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
कतार च्यारटी नेपालका निमित कार्यकारी निर्देशक इर्साद अलि सेखले अक्सिन सिलिन्डर, बेड १० थान, र्याक, रगत परीक्षण गर्ने उपकरण, इसीजी मेसिन सहित विभिन्न २१ वटा सामग्री अस्पातलका डा. देवराज घिमिरेलाई हस्तान्तरण गर्नुभएको हो ।
मंगलवार इनरुवा नगरपालिकाको परिसरमा एक कार्यक्रम गरी स्वास्थ्यसामग्री हस्तान्तरण गरेको हिदायत एजुकेशनल एण्ड बेल फेयर ट्रष्ट नेपालका सचिव हजरत हुसेनले जानकारी दिनुभयो । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा देवराज घिमिरेले अस्पतालाई सहयोग पुग्ने सामग्री प्रदान गरेकोमा सहयोगीलाई धन्यवाद दिनुभयो । प्रमुख अथिति सिताराम मेहता, इनरुवा नगरप्रमुख राजन मेहता, ज्योति सुब्बा, जिल्ला समन्वय समितिका प्रमुख गोपालराज भण्डारी सहितको उपस्थितीमा मेडिकल उपकरण वितरण, निशुल्क स्वास्थ्य सेवा र सहयोगको कार्यक्रम गर्दै आएको कतार च्यारेटीका निमित निर्देशक इर्साद अलि सेखले जानकारी गराउनुभयो । कार्यक्रममा दिएको जानकारी अनुसार विभिन्न उपकरणहरु ३६ लाख ६७ हजार ४८ रुपियाँको रहेको छ ।

गाडीमा आगजनी

सुनसरीको बर्जु तालमा बर्जु महोत्सवको नाममा भारतीय विहारको सुपर स्टार कलाकार तथा गायक खेसारी लाल यादवको व्यापक प्रचारप्रसार गरेका थिए । सुपर स्टार कलाकार लाई हेर्न स्थानीय दर्शकहरु विहानै देखि २ सय ३ सयको टिकट काटेर कुर्दै बसेका थिए । अन्तिमा केही कारण बस खेसारी लाल यादव आउन नसकेको कारण स्थानीय दर्शकहरु आक्रोसित हुँदै स्टेज तोडफोड गर्दे गाडीमा आगजनी समेत गरेका छन ।

एमालेको ६३ जिल्लामा अधिवेशनबाट नयाँ नेतृत्व चयन, बाँकीमा कोभिड संक्रमण कम भएपछि गरिने (सूचीसहित)

काठमाडौं । एमालेले ६३ जिल्ला अधिवेशन र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको जनाएको छ । मंगलबार एमालेले विज्ञप्ति जारी गरी बाँकी १४ जिल्लामा कोभिड संक्रमण कम भएपछि गर्ने जानकारी दिएको छ ।

एमालेका अनुसार पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन हुन बाँकी छ ।धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरु कोभिङ-१९ महामारीको संक्रमणलाई ध्यानमा राखी तय गरिने एमालेले जनाएको छ ।

विद्यार्थी विशेष र उद्योग-व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पछि आयोजना गर्ने निर्णय भएको छ । एमालेका अनुसार ल्लिा कमिटीसरहका सम्पर्क कमिटीहरुमध्ये मधेस प्रदेशबाहेक ६ वटै प्रदेश कमिटीका अधिवेशन पनि सम्पन्न भएका छन् ।

राजनीतिक दल र जनप्रतिनिधिको घेराबन्दीमा स्थानीय सरकार

महोत्तरी । निर्वाचन नजिकिँदै गर्दा महोत्तरीका स्थानीय सरकार राजनीतिक दल र जनप्रतिनिधिकै घेराबन्दीमा पर्न थालेका छन् । स्थानीय सरकारले गरेका राम्रा कामलाई समेत निस्तेज बनाउने गरी प्रतिपक्षको भूमिकामा बसेका राजनीति दलहरू महोत्तरीमा यतिबेला चरणबद्ध आन्दोलन गरिरहेको आरोप छ ।

स्थानीय सरकारको कार्यकाल सकिनै लाग्दा सत्तारोहणका लागि सर्वसाधारणलाई उचालेर उनीहरू कतिपय ठाउँमा सयुक्त आन्दोलनमा समेत लागिरहेका जानकारहरू बताउँछन् ।

औरही नगरपालिकामा पाँच राजनीतिक दलले  स्थानीय सरकारविरुद्ध २९ पुसदेखि सयुक्त आन्दोलन जारी राखेका छन् । उनीहरूले राखेका मागमध्ये कतिपय जायज माग छन् भने कतिपय पूरा हुनै नसक्ने मागहरू छन् । सर्वसाधारण र उनीहरूले आफुनिकट व्यक्तिहरूलाई जम्मा गरी नगरपालिकाको मुल गेटमा धर्ना तथा जुलुस गर्दै आएका छन् ।

‘कार्यापालिकाको बैठकमा भएका निर्णयहरूमा सहमत जनाएर टेबल ठटाएर बाहिर निस्कने अनि बाहिर निस्केपछि सरकारकै विरोध गर्ने जनप्रतिनिधिहरूको संस्कार नै बनिसक्यो,’ स्थानीय शंकर फुयाल बताउँछन् ।

फरक–फरक पार्टीबाट चुनिएका जनप्रतिनिधिहरू पनि आगामी निर्वाचनको परीणाम आफ्नो पार्टीको पक्षमा पार्ने उद्देश्यका साथ नागरिकमाझ अफवाह फैल्याउन थालेका छन् । चुनाव नजिकिँदै गर्दा मट्टीहानी, बर्दिबास, गौशाला, रामगोपालपुर लगायतका स्थानमा अफवाह फैलाउन लागिपरेको जनप्रतिनिधिहरूको दाबी छ ।

सर्वोच्चमा ३५ जना कर्मचारीमा संक्रमण, सेवा कटाैतीबारे पूर्ण बैठक बस्दै

काठमाडौं । सर्वोच्च अदालतमा आज पूर्ण बैठक (फूलकोर्ट) बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पूर्ण बैठक बोलाउनुभएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।

कोरोनाको सङ्क्रमण देशव्यापी रूपमा बढ्दै जाँदा सर्वोच्चका न्यायाधीश र कर्मचारीमा सङ्क्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको उनले जानकारी दिए । बैठक मंगलबार दिउँसो १ बजे सर्वोच्चमा बस्ने उनले बताए।

बैठकमा न्यायाधीश र कर्मचारी सङ्क्रमित हुँदा सर्वोच्चको सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय लिन बैठक बस्न लागेको हो । उनका अनुसार सर्वोच्चका ३५ जान कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ । अरु ३०–३५ जना कर्मचारी बिरामी भएर उपचारको गर्दै छन्।

आप्रवासी चढेको डुंगा डुब्दा ४३ को मृत्यु

मोरक्को । दक्षिणी मोरक्कोमा आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा कम्तिमा ४३ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा महिला र केही बालबालिका पनि रहेका छन् । डुंगा डुब्दा पल्टिएका १० जनाको उद्दार गरिएको छ । दुर्घटनापछि डुबेका मानिसहरुले सहयोगका लाग याचना गर्दै चिच्चाएका थिए ।

‘दुर्घटनास्थल पत्ता लगाउन स्थानीय र उद्दारकर्तालाई केही समय लागेको थियो,’ क्यामिनाडो फ्रन्टिनर्सले एक विज्ञप्तिमा भनेको छ । फ्रन्टिनर्सले डुंगा दुर्घटनामा मारिएका व्यक्तिको तथ्यांक संकलन गर्दै आएको छ । ४३ मध्ये दुई जनाको शव फेला परेको सो संगठनले जनाएको छ । ती आप्रवासी मोरक्को हुँदै स्पेनको क्यानरी टापुतर्फ जाँदै थिए ।-एजेन्सी

कोरोना कहर- प्रशासनद्वारा पालिकालाई बारअनुसारको सेवा दिने निर्णय

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले स्थानीय तहलाई बारअनुसार आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको छ । कोभिड–१९ को पछिल्लो नयाँ रुप ओमिक्रोनको सङ्क्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले प्रशासन कार्यालयले सेवाग्राहीलाई आलोपालो सेवा दिने भएको हो । यही माघ ७ गतेदेखि लागू हुने गरी पालिकाका नागरिकलाई बार अनुसार सेवा दिइने कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

आइतबार शिवनाथ र पञ्चेश्वर गाउँपालिका, सोमबार मेलौली नगरपालिका र सिगास गाउँपालिका, मङ्गलबार दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिका, बुधबार सुर्नया गाउँपालिका, बिहीबार पाटन नगरपालिका र शुक्रबार दशरथचन्द नगरपालिकाका नागरिकलाई सेवा दिइने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । पुर्चौंडी नगरपालिकाको हकमा भने इलाका प्रशासन कार्यालय हाटबाटै नागरिकता प्रदान गरिनेछ ।

प्रशासनमा सेवा लिन आउँदा खोपको पूर्ण मात्र लगाएको कार्ड वा कार्डको फोटो खिचेर ल्याउनुपर्ने तथा स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने छ । कोरोनाको जोखिम बढ्दै गएपछि २५ जना भन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन प्रशासनले सूचनामार्फत आग्रह गरेको छ । स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई एक हप्ताभित्र खोप लगाइसक्नुपर्ने र त्यसको लागि कार्यतालिका बनाएर कार्यान्वयन गर्नुपर्ने सूचनामा उल्लेख छ । जिल्लामा हालसम्म कोरोनाबाट १९ जनाको ज्यान गइसकेको छ ।

कोभिड–१९ को सङ्क्रमण जोखिमबाट खेलकुद क्षेत्रसमेत प्रभावित

काठमाडौँ । कोभिड–१९ सङ्क्रमण जोखिमकाकारण मुलुकका अरु विधाजस्तै खेलकुद क्षेत्रको विकास र विस्तार पनि प्रभावित हुने सङ्केत देखिएको छ। खेलकुद क्षेत्रको विकासका लागि खेलाडी उत्पादन, तालिम वा अभ्यास, पूर्वाधार निर्माण र प्रतियोगिता अनिवार्य शर्त रहेकामा कोरोना सङ्क्रमणका कारण ती सबै क्रियाकलाप सुस्त र प्रभावित हुन पुगेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले खेलकुद क्षेत्रमा धेरै कार्यक्रम रहे पनि कोरोना सङ्क्रमणका कारण कतिपय सुरुआत गर्न, केहीलाई अघि बढाउन र सम्पन्न गर्न चुनौती खडा भइरहेको प्रतिक्रिया दिए। उनले भने, “खेल क्षेत्रको विकासका लागि पूर्वाधार महत्वपूर्ण विषय हो। कोरोनाबाट उत्पन्न परिस्थितिले आयोजना अधुरै रहने, छुट्याएका बजेट फ्रिज हुने, समयमा सम्पन्न हुन नसक्दा लागत बढ्ने अवस्था छ ।”

पूर्वाधार निर्माण नै समयमा पूरा भएन भने खेल क्षेत्रको विकासमा अवरोध खडा हुन्छ। खेलाडी उत्पादनसँगै अभ्यास गर्ने स्थल आवश्यक पर्छ। पूर्वाधार भएन भने खेलाडीको क्षमता अभिवृद्धि हुन्न। मुलुकको खेल क्षेत्रको विकासका लागि रु एक अर्ब ५२ करोड पूर्वाधार कार्यक्रमका लागि बजेट विनियोजन हुँदै आएको छ । अघिल्लो वर्षदेखि सरकारले ‘एक पालिका, एक खेलमैदान’ अवधारणा अघि सार्दै कार्यान्वयन अघि बढाएको छ ।

उक्त कार्यक्रम मुलुकमा १४४ पालिकामा विस्तार भइसकेको छ। यस वर्षभित्र उक्त कार्यक्रम कम्तीमा १६८ स्थानीय तहमा पुर्याउने मन्त्रालयले अठोट गरेको छ। उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०७८÷७९ मा रु २५ करोड बजेट विनियोजन छ। स्थानीय, प्रदेश तथा राष्ट्रियस्तरमा सुविधासम्पन्न खेलकुद पूर्वाधारको निर्माण तथा स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ ।

समुदायदेखि नै खेलकुदको विकास र विस्तार गरी शारीरिक र मानसिकरूपमा स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गर्दै अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको सम्मान अभिवृद्धि गर्न खेलकुद पूर्वाधार विकास, खेलकुद प्रतियोगिता र प्रशिक्षण सञ्चालन तथा प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने विषय बजेटमार्फत घोषणा गरिएको थियो ।

नेपालले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा करिब २५ देखि ३० खेल विधामा पदक प्राप्त गर्ने सम्भावना राख्दै आएको छ। मुलुकमा खेलकुद क्षेत्रका विकास र विस्तारमा करिब २०० को सङ्ख्यामा विषयगत खेल सङ्घ क्रियाशील छन्। त्यस्ता सङ्घले बेलाबखतमा देशभित्र खेलकुद प्रतियोगिता आयोजना गरी खेलाडीको क्षमता अभिवृद्धिका लागि वातावरण तयार गरी प्रोत्साहनसमेत गर्दै आएका छन् ।

देशमा कोभिड–१९ सङ्क्रमण जोखिमले आगामी केही समय देशभित्रै पनि प्रतियोगिता कम हुनसक्ने देखिएको छ। प्रतियोगिताको कमी हुनासाथ खेलाडीमा प्रतिस्पर्धा गर्ने क्षमतामा स्खलन आउन सक्नेछ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजनाका लागि तयारी भइरहेको अवस्थामा कोरोना त्रासका बीच अहिले मिति घोषणा गर्न सक्ने स्थिति कमजोर देखिएको छ ।

उक्त प्रतियोगिता गर्न सकिएन भने अर्काे वर्ष सेप्टेम्बरमा एशियन खेलकुद प्रतियोगितमा हाम्रा प्रस्तुति आशा गरेअनुरुप नहुन सक्छ। उक्त प्रतियोगिताअघि नै राष्ट्रिय, प्रदेश र जिल्लास्तरमा खेलकुद आयोजना गरिसक्नु पर्नेछ तर कोरोनाको अहिलेको अवस्थाले प्रतियोगिताका लागि अप्ठ्यारो पार्ने सङ्केत देखाएको छ ।

कोभिड–१९ कै कारण खेलाडी उत्पादनको प्रारम्भिक थलो विद्यालय बन्दको अवस्था छ। शैक्षिक संस्थासँग समन्वय गरेर खेलाडी पहिचान, प्रोत्साहन र उत्पादन गर्नुपर्नेमा कोरोनाले त्यस कार्यमा ठूलो धक्का दिएको छ। राष्ट्रिय एकता प्रवद्र्धन गर्ने बलियो माध्यमका रूपमा रहेको खेलकुदले युवालाई अनुशासित, जिम्मेवार, समयको पालना र समूहमा रही परिणाम दिन ज्ञान दिन्छ। सचिव डा रेग्मीले भने, “मुलुकमा खेलाडी उत्पादन, अभ्यास, प्रतिस्पर्धाको क्षेत्र विकास नभएसम्म खेलकुद क्षेत्रको विकास हुन सक्दैन। खेलाडी उत्पादनसँगै अभ्यासस्थल र प्रतियोगिता आवश्यक पर्छ, अबको दायित्व भनेको प्रतिस्पर्धा बढाउने हो ।”

यद्यपि सरकारले राष्ट्रिय क्षमताअनुसार पूर्वाधार निर्माणलाई अघि बढाइरहेको छ। मन्त्रालयले विधागत खेलकुदका सङ्घमा सुशासन प्रवद्र्धन र लोकतान्त्रिक विधिबाट पदाधिकारी छनोट कार्यलाई सघाउँदै आएको छ। खेलाडी उत्पादन, अभ्यास र पूर्वाधार निर्माणलाई मन्त्रालयले प्राथमिकतामा राखेर संयोजनकारी र सहजीकरण गर्दै आएको छ ।

मन्त्रालयले पछिल्लो दिनमा खेलकुद क्षेत्रमा प्रतिबन्धित औषधिको प्रयोग (एण्टिडोपिङ्ग)लाई निस्तेज तुल्याउन खेलाडी र प्रशिक्षकलाई सचेतनासमेत प्रदान गर्दै आएको छ ।-रासस

बालविवाह मुद्दामा पाँच जनालाई कैद

दमौली।  बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो। साथै उनीहरूलाई जनही रु पाँच/पाँच हजार जरिवानाको फैसला भएको तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार गोरखाको सहिद लखन गाउँपालिका–३ का भानुभक्त अर्याल, सोही ठाउँका सन्तोष अर्याल, व्यास नगरपालिका–११ का विष्णुप्रसाद भट्टराईलाई कैद र जरिवानाको फैसला भएको छ। दुई जनाको नाम भने खुलाइएको छैन। प्रहरीले गत असार ३१ गते बालविवाह मुद्दा दर्ता गरेको थियो ।-रासस

रुपन्देहीको सुद्धोधनमा वडाध्यक्षविहिन भएको भन्दै आयोगको सूचना

काठमाण्डाैं । रुपन्देहीको शुद्धोधन गाउँपालिका-७ वडाध्यक्षविहीन भएकाे भन्दै आयोगले सूचना जारी गरेको छ ।  नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शिवपुजन बानियाँ एमालेमा प्रवेश गरेपछि वडा करिब एक महिनादेखि वडाध्यक्षविहीन छ ।

पद रिक्त रहेकाे जानकारी निर्वाचन आयाेगले सार्वजनिक सूचना जारी गरेर दिएकाे छ । स्थानीय तहका जनप्रतिनिधिले दल परिवर्तन गरेमा जनप्रतिनिधिबाट हट्नुपर्ने व्यवस्था छ । याे जानकारी निर्वाचन आयाेगलाई दिनुपर्छ ।

हिमपातले मनाङमा विकास निर्माणको काम ठप्प

मनाङ । हिमाली जिल्ला मनाङमा हिमपात र चिसोका कारण विकास निर्माणको काम ठप्प छ । निर्माण कार्य थालेका योजना हिमपात र चिसोका कारण रोकिएका छन् ।

१ गत असारको भीषण बाढीपहिरोका कारण क्षतिग्रस्त पुल, सडकलगायत संरचना निर्माण कार्य हिमपातका कारण सामान ढुवानी नहुँदा रोकिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।

उनले भने, ‘१ असारको बाढीपहिरोले भत्किएका सडक र पुल  निर्माणलाई तीव्र बनाउनुपर्ने समयमा चिसो बढेपछि हिमपातका कारण विकास निर्माणको काम प्रभावित भएको हो ।’

गर्मीमा बाढीपहिरोले सामग्री ढुवानी हुन नसक्दा निर्माण काम हुन सकेन हिउँदमा हिमपातले सवारीसाधन आवतजावत हुन नसक्दा निर्माणका काम रोकिएको प्रजिअ आचार्यको भनाइ छ ।

उनका अनुसार हिमपातका कारण विकास निर्माणमा आवश्यक सामग्री ल्याउन नसकिने र ल्याएर राखिएका सामग्री हिमपातले जमेर काम नलाग्ने भएका छन् । मनाङमा हिमपात भएसँगै तापक्रम माइनसमा झरेको छ ।

विगतका वर्षहरूको तुलनामा यस वर्ष मनाङमा बाढीपहिरोले भौतिक संरचनामा क्षति धेरै पुर्‍याएको छ । बाढीपहिरोले क्षति पुर्‍याएका भौतिक संरचना निर्माणको कामसमेत अलपत्र अवस्थामा छन् । ‘मनाङमा हिमपात र बर्खायामको दुवै सिजन मौसमले साथ दिँदैन,’ मनाङको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले भने ।

मनाङमा मंसिर अन्तिमबाट विकास निर्माणका काम रोकिएका हुन् । माथिल्लो मनाङमा मंसिर तेस्रो साताबाट हिमपात भएको थियो ।

यस्तो छ श्रीस्वास्थानीको महत्व र व्रतको नियमहरु

धार्मिक तपोभूमि नेपालमा हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी शुक्रबारबाट आरम्भ हुँदैछ । आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गर्दछन् ।

यो वर्त पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ । सत्य युगमा भगवान विष्णुको कृपा अनुसार हिमालय पुत्री पार्वतीले महादेव पति पाउ भनी श्रीस्वस्थानी व्रत बसेको कथा छ ।

व्रतका प्रभावले शिव र पार्वतीको विवाह भएको मान्यता अनुसार परापुर्वकालबाटै चिताएको पुग्ने विश्वासमा श्रीस्वास्थानीको व्रत बस्ने चलन छ । यस अवधिमा स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा छ ।
श्रीस्वस्थानीको व्रतकालमा काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी तथा सतिदेवीका अङ्ग पतन भएका शक्तिपिठहरुमा घुइँचो लाग्ने गर्दछ ।

व्रतका प्रभावले शिव र पार्वतीको विवाह भएको मान्यता अनुसार परापुर्वकालबाटै चिताएको पुग्ने विश्वासमा श्रीस्वास्थानीको व्रत बस्ने चलन छ । यस अवधिमा स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा छ ।
श्रीस्वस्थानीको व्रतकालमा काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी तथा सतिदेवीका अङ्ग पतन भएका शक्तिपिठहरुमा घुइँचो लाग्ने गर्दछ ।

श्रीस्वास्थानीको महत्व
श्रीस्वस्थानीको व्रतमा नेपाली भूमिको वर्णन गरीएको छ । श्रीस्वस्थानीमा चर्चा गरिएको शाली नदी र श्लेशमान्तक वन नेपालमा छ । कथामा उल्लेखित हुने विषय र घटना नेपाल कै सेरोफेरोमा भएको स्कन्द पुराणमा उल्लेख छ । साथै पावर्तीको पिता हिमालय पनि नेपाली हिमक्षेत्रमा रहेको बताइएको छ ।

व्रतको नियम
प्रत्येक वर्ष शुक्ल पूर्णिमाका दिनदेखि यस व्रतको सुरुवात हुन्छ । शुक्ल चतुर्दशीको दिन हातखुट्टाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर व्रतको आरम्भ गर्नुपर्दछ ।
यसरी पवित्र भएर हविष्य (दुध दहि, जौं, गौं चामल, तिल घ्यू, सख्खर इत्यादीको सात्विक पदार्थहरू) भोजन गर्नुपर्दछ ।
सोहि दिन श्रीस्वस्थानी माताको स्थान सरसफाई गरी लिपपोत गर्नु पर्दछ । व्रतकाल भरी भूमिमा शयन गर्नु पर्दछ ।
दिनको एक छाक मात्र सात्विक भोजन ग्रहण गर्नु पर्दछ । व्रत समापन नहुन्जेल पुरुष ब्रतालुले रौं काट्न हुदैन । यस एक महिनाको अवधिमा सत्य बोल्ने, झगडा नगर्ने जथाभावी नहिँड्ने र एकभक्त भएर ईश्वरको पूजामा सामेल हुनुपर्छ भन्ने मान्यता छ ।
साथै महिनाभरि अनिवार्य ब्रह्मचर्यको पालन गर्नुपर्दछ । शुद्घ वा धोएका वस्त्रहरु पहिरीने र शौच गए पछी हरेक पटक पवित्र जल छर्केर शुद्ध हुनुपर्छ । व्रतको पहिलो दिन अर्थात पौष शुक्ल पूर्णीमाका दिन बिहानै उठी नदिमा स्नान (नदि नभए घरमा तर शौचालय नजाडिएको अलग्गै स्थानमा) गरी शुद्घ वस्त्र पहिरिएर कुशको आसनमा नभए ऊनको त्यो पनि नभए कम्मलको आसनमा बसेर पूजा गर्नुपर्दछ ।

त्यसपछि तामाको लोटामा पञ्चगब्य अर्थात गोबर, गोमुत्र, दुध, दहि र घ्यूका साथै तिल, सरस्यु र जौ हाली वेद मन्त्रले अभिमन्त्रित गरी अभिशेक बनाएर ‘अपवित्रः पवित्रो वा’ भन्ने मन्त्रले सम्पूर्ण पूजा सामग्री र आफूमाथि छर्कनु पर्दछ ।
त्यसपछी त्यसै अभिशेक बाट ‘मैले आजसम्म मन, वचन र कर्मले जानी नजानी गरेका सम्पूर्ण पाप नाश भई मलाई यस लोकमा सुख शान्ति प्राप्त भई अर्को लोकमा शिवलोक प्राप्ति होस् भन्ने कामना सहित एक महिना सम्म श्रीस्वस्थानी माताको नियम अनुसार व्रत बस्नेछु’ भनी संकल्प गर्नुपर्दछ ।

त्यसपछी आफूले विगतमा खाएका अभक्ष पदार्थको प्रायश्चित वा शुद्धिका लागी गोदान (सके गाई नसके गोबरमा यथासक्य भेटी वा सुवर्ण राखी गोदान) गर्नु पर्दछ । गोदानपछि दिप, गणेश र कलशको पूजा गर्नु पर्दछ ।
दिप गणेश र कलशको पूजा सम्पन्न भैसके पछी एउटा तामाको थालीमा रक्त चन्दनले अष्टदल कमल बनाई कमलको बिचमा श्रीस्वस्थानी माताको सुनको प्रतिमा (नसके यथासक्य भेटि) राखि स्थापना गर्नु पर्दछ ।
अष्टदल कमलको वरिपरि क्रमशः वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, बाराही, इन्द्राणी, चामुण्डा र महाकालीको स्थापना र पूजा गर्नु पर्दछ । त्यसपछि प्रत्येक मध्यान्नमा श्रीस्वस्थानी माता र श्री महादेवको आरधना गर्नुपर्दछ ।
दिप, गणेश र कलश को पूजा गर्नुका साथै अष्टमात्रिका र श्रीस्वस्थानी माताको पूजा आचमन, अर्घ, पाद्य, पंचामृत, चन्दन, धूप, दिप, नैबेद्य, बस्त्र, भेटी, सुपारी, सिन्दुर, अबिर, सौभाग्यद्रब्य, सेलरोटी, हलुवा इत्यादी चढाउनु पर्दछ ।
पूजा सकेपछि फूललिई हात जोडेर एकचित्त एक भक्तिका साथ श्रीस्वस्थानी माताको निम्न मन्त्रले ध्यान गरि साष्टाङ्ग दण्डवत् गर्नु पर्दछ ।

सुवर्ण–वर्ण–दीप्ताभां त्रिनेत्रां कमलाननाम् ।
सिंहासन–समासीनां सर्वालंकार–भूषिताम् ।
नीलोत्पल–धरां वामे , दक्षिणे वरदां शुभाम् ।
खड्ग–चर्मधरां चोध्र्वं वामदक्षिणयोः क्रमात ।
चतुर्भुजां च मां वाऽपि पूजयेत् वृषकेतुनम् ।
एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदिश्वरीम् ।

अर्थात सुनको जस्तै दिब्य पित वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्प झैं प्रसन्न मुख मण्डल भएकी, विविध आभुषण हरुले शोभायमान भई सिंहासनमा विराजमान भएकी, खड्ग, चर्म र नीलोत्पल धारण गरेकी, चारबाहु भएकी यस्ती श्री स्वस्थानी माताको हृदयमा ध्यान गर्दछु ।

पूजापछि आफुले जुन कामना चिताएको हो त्यो कामना पूर्णहोस् भनी श्री स्वस्थानी मातालाई अघ्र्य दिनु पर्दछ । त्यसपछि साँझमा श्रीस्वस्थानी माताको कथा बाचन गरी परीवारजन, आफन्त, छिमेकी लगायतलाई सुन्ने वा सुनाउनु पर्दछ ।
कथा सुन्ने श्रोता नभए पनि आफै कथा वाचन गरी सुन्नु पर्दछ । आफुले कथा वाचन गर्न नसके ब्राह्मण वा परिवारका सदस्य वा अन्य ब्यक्तिबाट वाचन गराउनु पर्दछ । वाचन गर्नेले कुनै अभक्ष पदार्थ खाएको हुनु हुदैन ।

कथा आरम्भ गर्नु भन्दा पहिले र कथा भनिसके पछि धूप, दिप, फूल, चन्दन, अक्षता र भेटी चढाई पुस्तकको पनि पूजा गर्नु पर्दछ । कथा पछी आरती गर्नु पर्दछ । आरती पछी कथा सुन्ने जति सबैलाई प्रसाद दिई आफूले पनि ग्रहण गर्नुपर्दछ ।
यसरी एक महिनासम्म नित्य पुजा कार्य गरी माघ शुक्ल पूर्णिमाको दिन व्रतको समापन गर्नुपर्दछ । सो दिन नित्य भनिने कथा समाप्त गरी विशेष पूजाको लागि तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिव लिंङ्ग बनाई त्यही थालीको मध्यमा स्थापना गर्नुपर्दछ ।

श्रीस्वस्थानी मातासंगै महादेवको पनि अराधना गर्नुपर्ने हुन्छ । समापन पूजामा १०८ सेलरोटी, १०८ टुक्रा सुपारी, १०८ बेली पुष्प, १०८ पान, १०८ जनै, १०८ अक्षता, भेटी, जौं, तिल इत्यादी सबै पदार्थ १०८ वटा चढाउनु पर्दछ ।
पूजा पछी १०८ पटक परिक्रमा गरी दण्डवत् ढोग गर्नु पर्दछ । ब्रत प्रतिष्ठा पछि ‘हे स्वस्थानी माता हजुरका कृपाले मेरो व्रत पूरा भयो’ भनि अघ्र्य दिई माथिका सबै १०८ प्रसादहरू मध्येबाट ८–८ वटा प्रसाद झिकि सगुन सहित आफ्ना श्रीमान, श्रीमान नभए छोरा, छोरा नभए मित छोरा र मितछोरा पनि नभए मेरो अमुक कार्य पुरा होस् भनि नदीमा बगाई दिनुपर्दछ ।
सयरोटी आफुले फलाहार गरी प्रतिष्ठाको रात्रीमा जाग्रम बस्नु पर्दछ । यतिगरी सकेपछी श्रीस्वस्थानी माताको प्रसादले व्रतकर्ताको समस्त दुःख नास भई मनोकामना पूर्ण हुने श्रीस्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ ।

नवलपरासीमा मदरबाबाका मठाधिससहित दुई मुस्लिम अगुवा एमालेमा

परासी । मुस्लिम र हिन्दु धर्मालम्बिको आस्थाको केन्द्र मदारबाबाका मठाधिस अमिरुल्लाह जोलाहा (अन्सारी) नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार एमाले नवलपरासीको पार्टी कार्यालय परासीमा आयोजित एक कार्यक्रमका बीच जोलाहा र मुस्लिम अगुवा रियाजुल हक अन्सारी पार्टी प्रवेश गरेका हुन् ।

दुवै जनालाई एमालेका नवनिर्वाचित जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी र सचिव धिरज शर्मा बस्यालले दोसल्ला ओडाएर पार्टिमा स्वागत गरेका थिए । पाल्हीनन्दन गाँउपालिकाको हरपुर स्थाई घर भएका मठाधिस जोलाहाले सद्भावना पार्टी बाट राजनैतिक यात्रा सुरु गरेका थिए । सद्भावना, मधेसि जनाधिकार फोरम लगाएतका पार्टीका संस्थापक केन्द्रिय सदस्य जोलाह मुस्लिम ईत्तेहाद संगठनको संस्थापक सदस्य पनि थिए । उनले विक्रम संवत २०५१ सालमा गरिजाप्रसाद कोईरालासंग सुनसरीबाट चुनाव समेत लडेका थिए ।

केहि वर्षदेखि राजनितिमा निष्कृय देखिएका उनले सोमबार एमाले प्रवेश गर्दे धेरै सोच विचार गरेर मुलुकको निकासका लागि एमाले मात्र सबल शक्ति भएको ठानेर प्रवेश गरेको बताए । कार्यक्रममा बोल्दै एमाले जिल्ला अध्यक्ष अधिकारीले जोलाहा र अन्सारीको एमाले प्रवेशले पार्टिलाई ठूलो योगदान पुगेको बताउँदै जिल्लामा एमाले प्रवेशको लहर आउने विश्वास व्यक्त रहेको एमाले उपसचिव राजन कुमार आचार्यले जानकारी दिए ।

मंगलबार गणेश भगवानको पूजा गर्दै हुनुहुन्छ ? जप्नुहोस् यी मन्त्र

हिन्दूधर्मशास्त्र अनुसार, मंगलबार गणेश भगवानको पूजाआराधना गरिन्छ । साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ ।

यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन । सबै किसिमको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ ।

हिन्दू धर्म अनुसार भगवान् गणेशलाई सर्वश्रेष्ठ देवताको रुपमा मान्ने गरिन्छ । गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायकको रुपमा पूजा गर्ने गरिन्छ ।

विशेष गरेर गणेश भगवानको पूजा मंगलबार हुने गरे पनि हरेक दिन सबैभन्दा पहिले गणेशजीको पूजा गरेपछि मात्र अन्य देवतालाई पूज्ने चलन रहिआएको छ ।

मंगलबार भगवान गणेशको नाममा वर्त बस्ने र मन्दिर गएर विधिवत रुपमा गणेशजीको पूजा गर्ने गर्छन् । मंगल ग्रहलाई समस्याको निर्माता मानिने भएकाले यसको खराब प्रभावलाई जोगाउनको लागि पनि यस दिन ब्रत बसी विधिवत रुपमा भगवान गणेशको पूजा आराधना गर्ने गरिएको हो ।

भगवान गणेशको पूजा गर्दा जप्नुपर्ने केही मन्त्रहरु

यी ११ मन्त्रहरु जप्दा गणेश भगवान् चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने विश्वास छ ।

१ श्री गणेशाय नमः २ – ॐ श्री गणेशाय नमः ३ – गं गणपतये नमः

४ – ॐ गं गणपतये नमः ५ – ॐ गं ॐ गणाधिपतये नमः

६ – ॐ सिद्धि विनायकाय नमः  ७ – ॐ गजाननाय नमः

८ – ॐ एकदंताय नमो नमः ९ – ॐ लंबोदराय नमः

१० – ॐ वक्रतुंडाय नमो नमः ११ – ॐ गणाध्यक्षाय नमः

काेभिडकै बीच पाेखरामा आहा रारा गाेल्ड कप, एक तिहाइ मात्र दर्शक 

पाेखरा । काेभिड-१९ संक्रमण तीब्र भएकै समयमा पाेखराकाे ठूलाे फुटबल प्रतियाेगिता आहा रारा गाेल्डकप बिहिबारदेखि सुरु हुने भएकाे छ ।

आयाेजक सहारा क्लब पाेखराले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियाेगिता सञ्चालनकाे जानकारी गराइएकाे हाे । स्टेडियमकाे क्षमताकाे तुलनामा एक तिहाई मात्र दर्शक राखेर प्रतियाेगिता गर्न लागेकाे आयाेजकले जनाएकाे छ ।

२०औँ संस्करणमा १० टीमकाे सहभागिता रहनेछ । आयाेजक सहारासहित मनाङ मर्स्याङ्दी क्लब, थ्रिस्टार क्लब, मच्छिन्द्र क्लब, त्रिभुवन आर्मी, संकटा, नेपाल पुलिस, एपिएफ, बीवाईसी, हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाउनेछन् । आहा रारा गाेल्डकप ठूलाे प्रतियाेगिता हाे ।

प्रतियाेगिताबाट आम्दानी रकम क्लबले सञ्चालन गर्दै आएकाे एकेडेमीमा खर्च गर्नेछ । एकेडेमीमा विभिन्न १४ जिल्लाका २४ जना आश्रित छन् । १९औँ संस्करणकाे उपाधी संकटा क्लबले जितेकाे थियाे । उद्घाटन खेलमा आयाेजक सहारा र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।