१४ श्रावण २०७८, बिहीबार १४:१० – Page 5 – Nagarikabhiyan : National News

ब्राजिलमा कोरोनाबाट एक दिनमै एक हजार ३४४ को मृत्यु

रियो । ब्राजिलमा कोभिड १९ बाट हुने मृत्यु अझै पनि घट्न सकेको छैन । यहाँका अधिकारीहरुका अनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको छ । कोभिड १९ बाट धेरै प्रभावित देशहरुको सूचीमा रहेको ब्राजिलमा २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा पनि एक हजार ३४४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ब्राजिलमा बुधबार मात्र पछिल्लो २४ घण्टा एक हजार ३४४ जनाको ज्यान गएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । यो समेतगरी यहाँ यस सङ्क्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या ५ लाख ५३ हजार १७९ पुगेको छ ।यहाँका अधिकारीहरुले बुधबार यसअघिका दिनहरुको तुलनामा धेरै नागरिकको कोभिड—१९ सङ्क्रमणबाट निधन भएको बताएका छन् । त्यसैगरी कोभिडबाट सङ्क्रमित हुनेको संख्या पनि गएको २४ घण्टामा करिब ४८ हजार भन्दा बढी रहेको छ । यो समेत गरी ब्राजिलमा कोभिडबाट सङ्क्रमित हुने नागरिकको संख्या १ करोड ९७ लाख भन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्राजिलमा दुई महिनाअघि कोभिड—१९ का सङ्क्रमितहरु घटेको भएपनि पछिल्ला केही महिनामा भने यो संख्या बढ्दै गएको देखिएको छ ।

सरकारले कोरोना भाइरसविरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकलाई खोप दिने गरेको छ । ब्राजिल सरकारले खोप दिने कामलाई देशव्यापी अभियानको रुपमा सञ्चालन गरेको छ । ब्राजिलको साओ पाओलो शहर सबैभन्दा बढी सङ्क्रमणमा परेको शहर हो । ब्राजिलमा हरेक एक लाख जना सङ्क्रमितहरुमा २५८ जनाको निधन भएको तथ्यांकले देखाएको बताइएको छ ।

लमजुङमा एचआइभी संक्रमितको संख्या बृद्धि

लमजुङ । यहाँ एचआइची एड्स सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेको छ । वैदेशिक रोजगार, असुरक्षित यौन सम्पक, यौन शिक्षाको कमी, एक भन्दा बढीसँग यौन सम्पर्कलगायतका कारणले जिल्लामा एचआइभी एड्स सङ्क्रमित मानिसको सङ्ख्या बढ्न थालेको हो ।

नेपाल सरकारलगायत जिल्ला स्वास्थ्य कार्यालयले एचआइभी एड्स रोकथाम प्रयास गरे पनि सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ६९८ व्यक्तिको परीक्षण गरिएकामा आठजना नयाँ सङ्क्रमित थपिएका छन् । चार महिला र चार पुरुष गरी आठ नयाँ सङ्क्रमित थपिएसँगै जिल्लामा ११८ एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या पुगेको बताइएको छ ।

यी सङ्क्रमितमध्ये ५५ महिला, ५३ पुरुष, र पाँच बालबालिका रहेका छन् । यी सबै जनाले बेँसीशहर नगरपालिका–८ मा रहेको लमजुङ अस्पतालको एआरटी सेवाबाट औषधि सेवन गर्दै आइरहेका एआर्टी परामर्शदाता गणेश गुरुङले बताए ।

जसपा बैठक सुरु, सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी बैठक बिहीबार पनि बसिरहेको छ । दुई दिनदेखि जारी बैठक पार्टी कार्यालय बालकुमारीमा आज पनि सुरु भएको हो। आजको बैठकमा जसपाले शेबरहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीहरुको छनोट गर्न सक्ने बताइएको छ।

यसअघि नै कार्यकारिणी समिति बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो। तर मन्त्रीका आकंक्षी धेरै भएपछि त्यसबारेमा आजको बैठकमा पनि छलफल हुने भएको हो। जसपा नेता मोहम्मद इस्तियाक राईका अनुसार दलको नेताको निर्वाचन भने केही दिनमा हुने छ।

देउवा नेतृत्वको सरकारमा जसपाले ६ वटा मन्त्रालय चाहिने अडान राखेको छ। यदि ६ वटा मन्त्रालय पाएमा जसपाले आज या भोलिसम्म सरकारमा जाने तयारी गरेको छ । जसपाले डिल्ली बजार जेलमा रहेका टीकापुर नरसंहारका दोषी निलम्बित सांसद रेशम चौधरीलाई पनि समेटेर ३६ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति बनाएको छ।

बुधबारको बैठकले निर्वाचन आयोगमा सनाखतका क्रममा तटस्थ बसेका चौधरीसमेत समेट्ने निर्णय लिएको थियो।हिजोको बैठकले पार्टी एकताका क्रममा आएका शिवलाल थापा मगरलाई पनि केन्द्रीय कार्यकारिणीमा मनोनित गरेको छ। जसपाले यससँगै निर्वाचन आयोगमा आफ्नो पक्षमा सनाखत गरेका ३४ जना तथा चौधरी र थापालाई समेटेर केन्द्रीय कार्यकारिणी ३६ सदस्यीय बनाएको छ।

यसअघि तत्कालीन राजपा र सपाबीच एकता हुँदा जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय थियो। तर निर्वाचन आयोगमा महन्थ ठाकुरको पक्षमा सनाखत गरेका १६ जना अब जसपाबाट कानुनी रुपमै विदा भएका छन्।

बैतडीका चार पालिकाले बनाए स्थानीय पाठ्यक्रम

बैतडी । स्थानीय भाषा, कला, संस्कृति, वेषभूषा र स्थानीय परिवेश समेटेर यहाँका दुई नगरपालिका र दुई गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका छन् ।

पाटन, मेलौली नगरपालिका, शिवनाथ र डिलाशैनी गाउँपालिकाले पाठ्यक्रम तयार गरेका हुन् । कक्षा १ देखि ३ सम्मको आधारभूत तहका लागि पाठ्यक्रम निर्माण गरिएको हो ।ती पालिकाले चालू शैक्षिक सत्रबाटै पाठ्यक्रम लागू गर्ने डिलाशैनीका शिक्षा शाखा प्रमुख महादेव भट्टले बताए ।
विद्यार्थीलाई स्थानीय परिवेशका विषयमा जानकारी दिने उद्देश्यसहित ‘हाम्रो डिलाशैनी’ र ‘पाटन परिचय’ पाठ्यक्रम निर्माण गरिएको हो । पाटनका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टका अनुसार पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, धार्मिक सम्पदालगायतका कुरा समेटिएका छन् ।

यस्तै मेलौलीले पनि ‘हाम्रो मेलौली’ नाम दिएर कक्षा १ देखि ३ सम्मको स्थानीय पाठ्यक्रम तयार पारेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टका अनुसार विद्यार्थीमा स्थानीय परिवेशको सिकाइ उपलब्धि हासिल गर्नका लागि स्थानीय पाठ्यक्रम निर्माण गरिएको हो । जिल्लाको शिवनाथले पनि आफ्नै पाठ्यक्रम निर्माण गरेको छ ।

स्थानीय पाठ्यक्रम निर्माण गर्ने शिवनाथ जिल्लामै पहिलो स्थानीय तह समेत हो । स्थानीय परिवेशका बारेमा जानकारी दिनका लागि पाठ्यक्रम निर्माण गर्नु राम्रो कार्य भएको अभिभावकको भनाइ छ । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि पाठ्यक्रम निर्माण जारी रहेको जनाएका छन् ।

बागलुङकी तारा भ्वाईस अफ नेपालमा चम्किदै

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीकी तारा श्रीष मगरले हिमालय टेलिभिजनद्वारा सञ्चालित चर्चित कार्यक्रम भ्वाईस अफ नेपाल सिजन थ्रीमा दमदार प्रस्तुति दिएकी छिन् । विभिन्न चरण पार गर्दै उनी उत्कृष्ट आठ भित्र पर्न सफल भएकी छिन् ।

कला र संस्कृतिको संरक्षण गर्ने उद्धेश्य सहित प्रतियोगितामा सहभागि उनको सुरुदेखिनै दमदार प्रस्तुति दिँदै आएकी छिन् । उनको प्रस्तुतिलाई दर्शकले निकै रुचाएका छन् ।

२०४८ साल असार २३ गते छिस्तीमा जन्मिएकी उनी सानैदेखि गीत गाउन रुची राख्थीन । उनले विद्यार्थी कालदेखि गीत गाए पनि व्यवसायीक रुपमा भने २०६३ सालमा ‘फूल सम्झे फूल तिमी’ नामक गीतबाट सुरु गरेकी हुन् ।

बाबु बुद्धिमान श्रीष र आमा माया श्रीष मगरको दोस्रो सन्तान ताराले करिब ५ सय वटा गीत गाईसकेकी छिन् ।

विद्यालय जाने उमेरमा खुलेर गीत गाउने वातावरण नभएपनि गायन प्रतिको तिर्खाका कारण आफ्नो जन्म गाउँ छिस्ती छोडेर पोखरा हानिएकी थिईन् । उनले पोखरामा रहँदा ठूलो संघर्ष गर्नु परेको बताउँछिन् ।

पोखरामा हुँदा विभिन्न दोहारी साँझमा गाएर आफ्नो जीविका निर्वाह गरेकी उनले सुरुमा पोखराको ओपन हाउस रेष्टुरेन्टमा ३ हजार ५ सय रुपैयाँमा जागिर सुरु गरेकी थिईन् । त्यो छोडेर उनी गायनकै लागि काठमाण्डौ पुगेकी थिईन् ।

अबको यात्रा
हिमालय टेलिभिजनद्वारा सञ्चालित कार्यक्रम ‘भ्वाईस अफ नेपाल सिजन थ्री’को अबको चरण भनेको उत्कृष्ट ४ अर्थात फाईन राउण्ड छनोट हुनेछ । उत्कृष्ट चारमा पर्नको लागि आफ्ना अन्य ४ प्रतिस्पर्धीलाई जित्नु पर्ने हुन्छ । त्यो भनेको भोटिङको आधारमा हुनेछ । जति धेरै भोट हाल्न सकियो उनी उत्कृष्ट ४ मा पर्ने सम्भावना त्यति नै बढि हुन्छ ।

कसरी भोट गर्ने ?
प्रतक्ष रुपमा भोट हाल्नको लागि आफ्नो मोबाईलको एसएमएस बक्समा गएर १२ टाईप गरि ३७०००मा एसएमएस गर्न सकिनेछ ।

त्यस्तै प्रभु पेको एप डाउनलोड गरि भोटिङ डेक्समा गई भ्वाईस अफ नेपाल सिजन थ्री मा तल कन्सटेन्टमा क्लिक गरि तारा श्रीषको फोटोमा क्लिक गरि भोट गर्न सकिनेछ । भोटिङ जति पटक पनि गर्न सकिनेछ ।

उत्कृष्ट चारमा पुर्याउन सहयोग गर्नुहोस
तारा श्रीष मगरले आफुलाई उत्कृष्ट चारमा पुर्याउन आफुलाई भोट गर्न आग्रह गरेकी छिन् ।

आफ्नो फेसबुक पेज मार्फत उनले भोट बिना आफ्नो साँगीतिक यात्रा अधुरो र अपुरो रहने बताउँदै आफुलाई भोट गर्न दर्शकलाई आग्रह गरेकी छिन् ।

‘सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु टप फोर अर्थात फाईनल राउण्डमा पुर्याउने तपाईको हातमा छ’ उनले आफुलाई भोट गर्न अनुरोध गर्दै भनेकी छिन्–‘तपाईहरुको माया, साथ र हौसलाको कदर गर्दै आगामी प्रस्तुतिमा अझै राम्रो प्रस्तुति दिने प्रयास गर्नेछु ।’

जुवाखालबाट दुई वडाध्यक्ष, एक शिक्षक, दुई ठेकेदार, एक मानव अधिकारकर्मीसहित १५ पक्राउ

हुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ ।

नियमित गस्तीका क्रममा अदानचुली–३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो ।

तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला सदरमुकाम सिमकोटमा जुवाकै खालबाट १९ जनालाई नगदसहित पक्राउ गरेको एक सातामै जिल्लाको अदानचुलीबाट यत्रो सङ्ख्यामा तास खेल्नेलाई पक्राउ गरिएको हो ।

नियमितरूपमा खेल्ने गरेको सूचनासँगै नियमित गस्ती गएको अवस्थामा श्रीनगरका वर्ष रोकायाको पसलको माथिल्लो तलामा रहेको कोठामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको श्रीनगर प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाका जिम्मेवार व्यक्तिनै जुवा खेलिरहेको अवस्थामा फेला परेका हुन् ।

दुई वडाध्यक्ष, एक शिक्षक, दुई ठेकेदार, एक मानव अधिकारकर्मी र अन्य सर्वसाधारण गरी १५ जनाको टोलीलाई जुवाकै खालबाट पक्राउ गरिएको हो ।

उनीहरुलाई केही समय नियन्त्रणमा लिएको भए पनि प्रहरीले सोधपुछ गरी अबका दिनमा यस्तो कार्य नगर्ने कागजसहित जरिवाना तिरेपछि घर पठाएको छ ।

पक्राउ परेका दुई वडाध्यक्षलाई अबदेखि तास नखेल्ने र नखेलाउने कागजसहित अदानचुली–३ का जनकबहादुर विष्टको जिम्मा लगाइएको छ । बरामद गरिएका तासलाई प्रहरीको टोलीले जलाए छ ।

बङ्गलादेशबाट नेपाल आइपुग्यो ५२ हजार मेट्रिक टन युरिया मल

वीरगञ्ज । बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार-सरकार  (जिटुज) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो ।

जिटुजी सम्झौताअनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरियामल उपलब्ध गराउने भए पनि थप दुई हजार मेट्रिकटन गरी जम्मा ५२ हजार मेट्रिकटन सम्बन्धित कार्यालयमा आइपुगेको वीरगञ्ज कार्यालयका प्रदेश प्रबन्धक गोरखनाथ केसीले राससलाई बताउनुभयो ।

उहाँका अनुसार शुरुमा बङ्गलादेशले दिने ५० हजार मेट्रिकटन युरिया मलबाहेक थप दुई हजार मेट्रिकटन मलसमेत दिने सम्झौता भएपछि जम्मा ५२ हजार मेट्रिकटन मल केही दिनअघि नेपाल भित्रिएको हो ।

दुवै देशका सरकारबीच भएको सम्झौताअनुसार नेपाल सरकारले साउन महिनाभित्र सबै मल प्राप्त गरिसक्नुपर्नेमा विश्वव्यापीरूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन केही ढिलाइ भए पनि अहिले सबै मल आइसकेकाले किसानलाई मलको अभाव नदेखिने प्रबन्धक केसीले राससलाई भन्नुभयो ।

अघिल्लो वर्षसम्म मलको अभाव खेपिरहेका किसानलाई यस वर्ष समयमा मल पाउँदा र चाँडै रोपाइँ शुरु भएकाले पर्सा जिल्लामा यस वर्ष ३० प्रतिशतले बढी धान उत्पादन हुने कृषि ज्ञान केन्द्र पर्साका बालीविज्ञ सुरेशप्रसाद चौरसियाले बताउनुभयो ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा अहिले युरिया, डिएपी र पोटास मल मौज्दात अवस्थामा रहेको छ । उक्त मल पहिलो चरणको धान खेतीका लागि पर्याप्त भएको देखिन्छ । सो कार्यालयले आफ्ना १३१ जना थोक बिक्रेतामार्फत सिधै किसानसम्म मल पु¥याउने गरेको छ । एक पटकमा एक थोक बिक्रेतालाई बढीमा एक पटकको लागि १३० बोरासम्म मल दिने गरेको छ ।

सो मल बिक्रेताले स्थानीय तहले तोकेको मूल्यमा मल बेच्नुपर्ने प्रावधान रहेको छ । कतिपय बिक्रेताले मल ल्याउँदा ढुवानी खर्च बढी लाग्ने, बाटोमा प्रहरीले रकम माग्ने गरेकाले बढी खर्चको बहानामा किसानलाई चर्को मूल्यमा मल बेचेर कालोबजारी गर्ने गरेको किसानको आरोप छ ।

धान लगाउने सिजन शुरु भएपछि किसानलाई सोझै कार्यालयले मल उपलब्ध नगराई थोक बिक्रेतामार्फत मल उपलब्ध गराउने गरेकाले चर्को मूल्यमा मल खरिद गर्न बाध्य रहेको रामगढवाका किसान विजय पण्डितको गुनासो छ । पर्सा जिल्लामा ९० प्रतिशत किसानले धानखेती गर्दै आएका छन् । पर्सामा कूल ४६ हजार ६०० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । चौध स्थानीय तह रहेको जिल्लामा हालसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

मैलुङ खोलाको आइपिओ खुल्यो

काठमाडौँ । बिहीबार (आज)बाट मैलुङ खोला जलविद्युत्‌ कम्पनीको साधारण सेयर (आइपिओ) निष्काशन गरेको छ । ६ लाख ८४ हजार सात सय ४६ कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

यो जलविद्युत्‌को प्रति सेयर एक सय रुपैयाँका दरले साधारण सेयरको बिक्री खुलेको हो । सात लाख ३६ हजार दुई सय ८६ कित्तामध्ये पाँच प्रतिशत अर्थात ३६ हजार आठ सय १४ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ ।

जारी पुँजीको दुई प्रतिशत (१४ हजार सात सय २६ कित्ता) कर्मचारीका लागि छुट्याइएको छ । १० लाख कित्तादेखि एक लाख कित्तासम्म सेयरका लागि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७७र७८ मा कम्पनीको प्रति सेयर आम्दानी २८।५४ रुपैयाँ पुग्ने प्रक्षेपण छ । यसको लगानी फिर्ता हुने अवधि ६ वर्ष दुई महिनाको छ । डिष्काउन्टेड लगानी फिर्ता हुने अवधि १० वर्ष ६ महिना छ ।

कति कित्ता सेयर भर्ने ? 
पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्यालाई आधार मान्ने हो भने मैलुङ खोलाको आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यस कम्पनीले सर्वसाधारणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता सेयर मात्र निष्कासन गर्न लागेको छ । यसआधारमा, न्यूनतम १० कित्ताले बाँडफाँट गर्दा पनि ६८ हजार ४७४ जना लगानीकर्ताले मात्र सेयर पाउनेछन् ।
यद्दपि, पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या भने २० लाख भन्दा बढी पुग्न थालेको छ । यसआधारमा मैलुङ खोलाको १० कित्ता सेयर पाउन पनि भाग्यमै भर पर्नुपर्ने देखिन्छ । तथापि, यसमा कति आवेदकले कति कित्ताका लागि आवेदन दिनेछन् भनेर अहिले नै अनुमान गर्नु उचित हुँदैन ।

शीर्ष नेताहरू मन्त्री छान्न गोप्य छलफलमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका छन्। बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार देउवाले प्रचण्डलाई मन्त्रीको सूची उपलब्ध गराउन आग्रह गरेका थिए। जवाफमा प्रचण्डले आजै मन्त्रीको सूची उपलब्ध गराउने बताएको स्रोतको दाबी छ। यसअघि देउवाले कांग्रेसका दुई, माओवादीका दुई र एक राज्यमन्त्री नियुक्त गरेका थिए। समाजवादी पार्टीले समेत चार जनाको नाम पठाउने तयारी गरिरहेको छ।

पाँच दलीय गठबन्धनका नेताहरू मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिपरेका छन्। कांग्रेस, माओवादी केन्द्र, जसपा, एमालेको माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल जारी छ।

सबै पक्षले नाम दिएमा आजै मन्त्रिपरिषद् विस्तार भएर आजै मन्त्रीहरूको शपथ हुने नभए भोलि (शुक्रबार)सम्म मन्त्रीपरिषद्ले पूर्णता पाउने स्रोतको दाबी छ।

यस्तै मन्त्रिपरिषद् विस्तार, मन्त्रालय भागबन्डा र अन्य राजनीतिक नियुक्तिका विषयमा सहमति जुटाउन सत्ता गठबन्धनका नेताहरू गोप्य छलफलमा जुटेका छन्। बिहीबार बिहान माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डसँग छलफल गरेका प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरू बसेर कुरा मिलाउन भनेका थिए।

उक्त निर्देशनपछि अहिले कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला, माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा जनता समाजवादी पार्टी (जसपा)बाट उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईबीच गोप्य वार्ता भइरहेको छ।

वार्ता बानेश्वर क्षेत्रमा भइरहेको स्रोतले जनाएको छ। उक्त वार्ताले सहमति जुटाएपछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ। वार्तामा पावर सेयरिङबारे पनि छलफल भइरहेको छ।

कांग्रेसले आठ मन्त्रालयमा दाबी गरेको छ। यस्तै माओवादी केन्द्रले सात र जसपाले ६ मन्त्रालय पाउनुपर्ने अडान राखेका छन्। तीन दलबीच पावर सेयरिङका विषयमा सहमति जुट्न सकेको छैन। यस्तै  नेकपा एमालेको नेपाल समूहलाई कम्तिमा ६ मन्त्रालय छोड्नुपर्ने स्थिति छ।

नेपाल समूहलाई ६ मन्त्रालय दिन देउवा र प्रचण्ड सहमत रहेको स्रोतको दाबी छ। नेपाल समूह सरकारमा जाने वा नजाने अहिलेसम्म टुंगो लाग्न सकेको छैन।

को–को बन्दैछन् मन्त्री ?

कांग्रेसको संस्थापन समूहबाट पुष्पा भुसाल मन्त्री बन्ने पक्का जस्तै रहेको नेताहरू बताउँछन्। डा. नारायण खड्का, डा. डिला संग्रौला, देवेन्द्र कँडेल, बहादुर लामा, मानबहादुर विश्वकर्मालगायतका नेताहरूको नाम पनि चर्चामा छ।

पौडेल समूहबाट सुजाता कोइराला उपप्रधानसहित परराष्ट्रमन्त्री बन्ने सम्भावना प्रवल रहेको स्रोतको दाबी छ। यस्तै  दिलेन्द्र बडूको समेत मन्त्रीमा सम्भावना धेरै छ। मिनेन्द्र रिजाल, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश स्नेहीले पनि लबिङ गरिरहेका छन्। सिटौला पक्षबाट गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधान मन्त्री बन्ने लाइनमा देखिन्छन्। यी मध्ये चौधरीको सम्भावना धेरै रहेको स्रोत बताउँछ।

माओवादीबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी र शिवकुमार मण्डललगायतको नाम चर्चामा छ।

जसपाबाट अध्यक्ष उपेन्द्र यादव, महेन्द्र राय यादव, रेणु यादव, मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादवलगायत मन्त्रीका आकांक्षी देखिएका छन्।

मन्त्रीको नाम टुंगो लगाउन दलहरू छलफलमा

मन्त्रिपरिषद् विस्तारको तयारी भएसँगै दलहरू मन्त्रीको नाम टुंगो लगाउन आन्तरिक छलफलमा जुटेका छन्। जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक अहिले जारी छ। च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बसिरहेको हो।

यस्तै नेकपा माओवादी केन्द्रले समेत आजै मन्त्रीको नाम टुंगो लगाउने भएको छ। त्यसका लागि दिउँसोसम्म स्थायी कमिटीको बैठक बोलाउने तयारी भएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए।

‘बैठकको खबर आइसकेको छैन। सम्वभतः दिउँसोसम्म बैठक बसेर नाम फाइनल हुन्छ,’ उनले भने, ‘अध्यक्ष कमरेड मन्त्रिपरिषद् विस्तारकै तयारीमा व्यस्त हुनुपर्ने भएकाले जनकपुर जाने कार्यक्रम रद्द गर्नुभएको छ।’

सुन–चाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ : नेपाली बजारमा आज पनि सुनको मूल्य उकालो लागेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. ३०० ले बढेको सुनको भाउ बिहीवार पनि सोही अंकले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ४०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ९०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ६०० मा कारोबार भएको थियो ।

यस्तै, बिहीवार चाँदीको मूल्य पनि बढेको छ । बुधवार प्रतितोला रू. १ हजार २५५ मा कारोबार भएको चाँदी बिहीवार रू. १५ ले बढेर रू. १ हजार २७० खरीदविक्री भइरहेको छ ।

बर्दघाट सुस्ता पश्चिम प्रहरीले ठूलो परिमाणमा हरियो केराउ बरामद गरे

नवलपरासी ।  बर्दघाट सुस्ता पश्चिम प्रहरीले ठूलो परिमाणमा हरियो केराउ बरामद गरेको छ । नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका अवस्थामा जिल्लाको सीमावर्ती क्षेत्रबाट प्रहरीले ३१ हजारकेजी केराउ नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु लामाका अनुसार भैरहवाबाट नवलपरासी हुँदै भारततर्फ लैजान लागेका अवस्थामा बरामद गरिएको हो । बुधबार सातवटा पिकअप र एउटा ट्रकमा लैजाँदै गरिएको उक्त केराउको बजार मूल्य रु ३८ लाख ७५ हजार रहेको उनले बताए । सातवटा पिकअप भैरहवाबाट ल्याउँदै गर्दा परासीको सीमा क्षेत्र र एउटा ट्रकमा केराउ अनलोड गरिरहेकै अवस्थामा सेमरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार ती पिकअपमध्ये छवटा भैरहवास्थित शिवशङ्कर इन्टरप्राइजेजबाट नवलपरासीको भारतीय सीमा क्षेत्रस्थित प्रतापपुर गाउँपालिका–५ को श्रीराम इन्टरप्राइजेज, अम्बे इन्टरप्राइजेज र सोनु एण्ड मोनु जनरल स्टोर्सका लागि लैजान लागिएको थियो भने एउटा पिकअपको केराउ शुभगणपति टेडर्स रामग्राम–१० बाट भारतीय सीमावर्ती क्षेत्र पाल्हीनन्दनको पडरीतफै लैजाँदै गर्दा नियन्त्रणमा लिइएको हो ।
यस्तै प्रतापपुर–२ मा एसएस इम्पेक्स वीरगञ्जबाट रकिरोशन जनरल स्टोर्स प्रतापपुरतर्फ लैजान अनलोड गरिरहेका अवस्थामा आधा ट्रक केराउ नियन्त्रणमा लिइएको हो । बरामद गरिएका केराउको आवश्यक अनुसन्धानका लागि महेशपुर भन्सार वा राजश्व अनुसन्धान कार्यालयमा चलान गर्ने तयारी गरिएको प्रनाउ लामाले जानकारी दिए ।

केही दिनअघि पनि भारतीय सीमा क्षेत्रबाटै प्रहरीले १८ हजार केजी हरियो मटर छवटा पिकअपसहित नियन्त्रणमा लिएको थियो । प्रहरीले पटकपटक ठूलो परिमाणमा हरियो केराउ बरामद गर्दै आए पनि तेस्रो मुलुकबाट आउने केराउको तस्करी रोकिएको छैन । तेस्रो मुलुकबाट सस्तोमा नेपाल आउने केराउ भारतमा महङ्गोमा बिक्री हुने भएकाले केराउको तस्करी अत्यधिक हुने गरेको बताइएको छ ।

विद्युत कटौतिको विरोधमा स्थानीयले गरे राजमार्ग अवरुद्ध

सर्लाही । बारम्बार विद्युत् कटौती गरेको भन्दै सर्लाहीका स्थानीय आन्दोलित बनेका छन । विद्युत कटौतीसँगै कम भोल्टेजले आजित भएका स्थानीयले आज हरिवनमा प्रदर्शन गरेका हुन । विद्युत् प्राधिकरणको लापरबाहीविरुद्ध पूर्वपश्चिम राजमार्गमा १० मिनेट चक्काजाम गर्दै स्थानीयले नाराबाजीसहित प्रदर्शन गरेका छन ।

सर्लाहीमा एक घण्टामै चार(पाँचपटक विजुली जाने समस्या छ। लामो समयदेखिको यो समस्या समाधानमा प्राधिरणले चासो नदिएपछि बाध्य भएर सडकमा उत्रनुपरेको स्थानीयले बताएका छन्। सर्लाहीमा अघोषित लोडसेडिङको रुपमा रहेको विद्युत् कटौती र कम भोल्टेज आउने समस्या तत्काल समाधान गर्न माग गर्दै स्थानीयले विद्युत प्राधिकरणको लालबन्दी प्रशाखालाई ज्ञापनपत्रसमेत बुझाएका छन्। समस्या समाधानमा चासो नदिए प्राधिकरणविरुद्ध चरणवद्ध संघर्षमा उत्रने चेतावनीसमेत स्थानीयले दिएका छन्।

प्राधिकरण लालबन्दी प्रशाखाका प्रमुख सुधिर रायले भने ढल्केवर ग्रीडको सवस्टेशनको ३० एमविए पावर ट्रान्सफरमर बिग्रेको कारण सर्लाहीको विद्युत आपुर्तीमा समस्या आएको बताए। ढल्केवर ग्रिडमा समस्या आएपछि हाल सर्लाहीमा रौतहटको चन्द्रनिगहापुर ग्रिड सवस्टेशनबाट विद्युत आपुर्ती हुँदै आएको छ। जसको कारण सर्लाहीमा भोल्टेजको समस्या भएको उनले बताए।

‘ढल्केवरको बिग्रेको ट्रान्सफर्मर मर्मत गर्न अझै करिब १५ दिन जति लाग्ला,’ उनले भने, ‘त्यतिन्जेलसम्म सर्लाहीमा विद्युत् आपुर्तीमा केही समस्या रहिरहन्छ। हामी जतिसक्दो चाँडो यो समस्या समाधान गर्ने कोसिस गरिरहेका छौँ।’प्राधिकरणले गएको मंगलबारै सूचना जारी गरेरसमेत विद्युत् आपुर्तीमा भइरहेको समस्याको विषयमा जानकारी गराएको थियो।  द नेपालटप बाट

बिजुलीको महसुल घटाउनुपर्ने : मन्त्री भुसाल

जनकपुरधाम । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने खाँचो औँल्याएकि छिन् ।नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा आज आयोजित सम्मान कार्यक्रममा उहाँले आफू २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक करोडभन्दा अधिक जनता लाभान्वित हुने बताईन्।

अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्नेमा जोड़ दिँदै मन्त्री भुसालले निःशुल्क वा न्यूनतम महसुल निर्धारण गरी गरिबले जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु आवश्यक छ भनिन् । उनले आफ्नो दललाई दिगो बनाउन जनताको आवश्यकता र आकाङ्क्षालाई ध्यान दिनु आवश्यकरहेकामा जोड दिईन्। मन्त्री भुसालले कुनै पनि कार्यका लागि मन्त्रालय घाउने प्रवृत्तिलाई निरुत्साहित गरी प्रक्रियागत ढङ्गले कार्य सम्पादन र पद्धतिको विकासलाई आत्मसात् गर्नु जरूरी छ भनिन् ।

३० करोड लगानीमा मेचीनगरमा चिया उद्योग स्थापना

झापा । व्यापारिक घराना हेरिटेज ग्रुपले चियाको निर्यात गर्ने लक्ष्य लिएर मेचीनगर नगरपालिका–१० मा उद्योग स्थापना गरेको छ । यसअघि कार्पेट र म्याटे«सलगायत विभिन्न वस्तुका उत्पादनमा ख्याति आर्जन गर्दै आएको सो ग्रुपले रु ३० करोड लगानीमा ‘हेरिटेज टी उद्योग’ सञ्चालन गरेको हो ।

गत सातादेखि उद्योग सञ्चालनमा ल्याएको ग्रुपले मेचीनगर–१५ मा १५० बिघा क्षेत्रफलमा चिया बगान पहिल्यैदेखि सञ्चालन गर्दै आएको छ । ग्रुपका कार्यकारी अध्यक्ष हेमराज ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घका स्वास्थ्य तथा सीप विकास समितिका सभापतिसमेत छन् । प्रदेश नं १ को सबैभन्दा ठूलो विकास बैंक एक्सेल डेभलपमेन्ट बैंकको पूर्वअध्यक्ष र झापाको चिया उत्पादक र साना किसानबीचको विवाद समाधानमा योगदान पु¥याएका उनले चिया उद्योगमा बढाएको लगानी उत्साहप्रद मानिएको छ ।

उनले पहिलो वर्ष सिटीसी चिया र अर्को वर्षदेखि अर्थोडक्स चियासमेत उत्पादन गरेर विदेश निर्यात गरिने जानकारी दिए । भारत, रुस र अरब मुलुकहरुमा निर्यात गर्ने तयारी रहेको बताइएको छ । वार्षिक १० लाख केजी तयारी चिया उत्पादन गर्ने उक्त उद्योगको क्षमता रहेको छ । उद्योग सञ्चालनमा आएपछि स्थानीयवासीले रोजगारी पाएका छन् ।

अमेरिकाको एफडीएबाट जोन्सन एण्ड जोन्सन भ्याक्सिनको म्याद ६ महिना कायम

अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिनको म्याद ६ साता बढाएको छ । योसँगै स्वास्थ्यकर्मीहरुलाई जोन्सन एण्ड जोन्सनको भ्याक्सिनका लाखौं डोजहरु प्रयोगका लागि थप समय मिलेको छ ।

राम्रोसँग उचित तापक्रममा भण्डारण गरिएको खण्डमा अब उत्पादनको ६ महिनासम्म यो भ्याक्सिन प्रयोग गर्न सकिने भएको छ । एफडीएले भ्याक्सिनको म्याद बढाएको यो दोश्रो पटक हो । गत जुनमा भ्याक्सिन साढे ४ महिनासम्म प्रयोग गर्न सकिनेगरी म्याद बढाइएको थियो ।

सुरुमा यो भ्याक्सिन उत्पादनको तीनमहिनासम्ममात्र प्रयोग गर्न अनुमति दिइएको थियो । सामान्य फ्रिजको तापक्रममा यो भ्याक्सिन भण्डारण गरेर प्रयोग गर्न सकिन्छ । म्यादका कारण अमेरिकाका कैयन राज्यमा लाखौं डोज भ्याक्सिन खेर जाने अवस्था रहेकोमा म्याद थपिएपछि अब ती भ्याक्सिन प्रयोगमा आउने भएका छन् ।

एकडोजमात्र लगाए पुग्ने यो भ्याक्सिनले पनि अब अमेरिकामा प्रयोगको स्वीकृति पाएका मोडेर्ना र फाइजरकै भ्याक्सिन सरहको म्याद पाएको छ । फाइजर र मोडेर्ना भ्याक्सिन पनि उचित तापक्रमममा भण्डारण गरेर ६ महिनासम्म प्रयोग गर्न सकिने अनुमति दिइएको छ ।

अमेरिकी सहयोगमा नेपाललाई कोभ्याक्समार्फत प्राप्त जोन्सन एण्ड जोन्सन साउन ४ गतेदेखि लगाउन सुरु गरिएको छ । काठमाडौंमा झण्डै डेढलाखले यो भ्याक्सिन लगाइसकेका छन् भने काठमाडौंबाहिर पनि लगाउने अभियान सुरु भइसकेको छ । झण्डै १५ लाख डोज भ्याक्सिन अमेरिकी सहयोगमा प्राप्त भएको थियो । जोन्सन एण्ड जोन्सनको भ्याक्सिन ठीक्कदेखि सिकिस्तसम्मको संक्रमण रोक्न ६६ प्रतिशत प्रभावकारी रहेको छ भने सिकिस्त हुनबाट रोक्न ८५ प्रतिशत प्रभावकारी रहेको छ । जोन्सन एण्ड जोन्सनको एउटा डोज लगाएको २८ दिनपछि कोरोनाको कारण अस्पताल भर्ना हुने र मृत्यु हुनेदर शुन्य रहेको छ । मोडेर्ना र फाइजरको तुलनामा जोन्सन एण्ड जोन्सनका साइड इफेक्ट पनि कम छन् । जोन्सन एण्ड जोन्सनको भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा आइपुग्छ र यही तापक्रममा भ्याक्सिनको म्यादसम्मै भण्डारण गर्न सकिन्छ । त्यस्तै प्रयोगका लागि प्वाल पारिएको भ्याक्सिनको शीशी पनि यो तापक्रमममा ६ घण्टासम्म राख्न सकिन्छ । नेपालको स्वास्थ्य संरचनामा यो तापक्रममा भ्याक्सिन राख्न र वितरण गर्नमा समस्या छैन  नेपालमा भण्डारणका लागि समेत उचित व्यवस्था रहको छ ।

प्राय सबै कोरोनाबिरुद्धका भ्याक्सिन दुई डोज लगाउनुपर्ने भएतापनि जोन्सन एण्ड जोन्सनको भ्याक्सिन एकडोजमात्र लगाए पुग्छ । भ्याक्सिन लगाएको १४ दिनपछि कोरोनाबिरुद्ध संरक्षण प्रदान गर्न सुरु गर्छ भने २८ दिनपछि पूर्ण संरक्षण प्राप्त हुन्छ । यो अमेरिकामा प्रयोगको स्वीकृति पाएको तेश्रो भ्याक्सिन हो भने यो भ्याक्सिन अमेरिकामा झण्डै १२ मिलियनले लगाएका छन् ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिनले डेल्टा भेरियन्टबिरुद्ध बलियो संरक्षण प्रदान गर्ने अध्ययनले देखाएको छ । नेपालमा डेल्टा भेरियन्टको प्रभाव रहेको अवस्थामा यो भ्याक्सिन नेपालका लागि बढी उपयोगी सावित हुनेछ । यो भ्याक्सिन १८ बर्षभन्दा माथिका व्यक्तिलाई लगाउन अनुमति छ ।

नवनियुक्त राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए सपथ

काठमाडौं । नवनियुक्त राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल रहेका थिए । देउवा नेतृत्वको सरकार आएसँगै कँडेललाई हटाएर पौडेललाई नियुक्त गरिएको हो ।