बागलुङकी तारा भ्वाईस अफ नेपालमा चम्किदै
१४ श्रावण २०७८, बिहीबार १३:३३
बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीकी तारा श्रीष मगरले हिमालय टेलिभिजनद्वारा सञ्चालित चर्चित कार्यक्रम भ्वाईस अफ नेपाल सिजन थ्रीमा दमदार प्रस्तुति दिएकी छिन् । विभिन्न चरण पार गर्दै उनी उत्कृष्ट आठ भित्र पर्न सफल भएकी छिन् ।
कला र संस्कृतिको संरक्षण गर्ने उद्धेश्य सहित प्रतियोगितामा सहभागि उनको सुरुदेखिनै दमदार प्रस्तुति दिँदै आएकी छिन् । उनको प्रस्तुतिलाई दर्शकले निकै रुचाएका छन् ।
२०४८ साल असार २३ गते छिस्तीमा जन्मिएकी उनी सानैदेखि गीत गाउन रुची राख्थीन । उनले विद्यार्थी कालदेखि गीत गाए पनि व्यवसायीक रुपमा भने २०६३ सालमा ‘फूल सम्झे फूल तिमी’ नामक गीतबाट सुरु गरेकी हुन् ।
बाबु बुद्धिमान श्रीष र आमा माया श्रीष मगरको दोस्रो सन्तान ताराले करिब ५ सय वटा गीत गाईसकेकी छिन् ।
विद्यालय जाने उमेरमा खुलेर गीत गाउने वातावरण नभएपनि गायन प्रतिको तिर्खाका कारण आफ्नो जन्म गाउँ छिस्ती छोडेर पोखरा हानिएकी थिईन् । उनले पोखरामा रहँदा ठूलो संघर्ष गर्नु परेको बताउँछिन् ।
पोखरामा हुँदा विभिन्न दोहारी साँझमा गाएर आफ्नो जीविका निर्वाह गरेकी उनले सुरुमा पोखराको ओपन हाउस रेष्टुरेन्टमा ३ हजार ५ सय रुपैयाँमा जागिर सुरु गरेकी थिईन् । त्यो छोडेर उनी गायनकै लागि काठमाण्डौ पुगेकी थिईन् ।
अबको यात्रा
हिमालय टेलिभिजनद्वारा सञ्चालित कार्यक्रम ‘भ्वाईस अफ नेपाल सिजन थ्री’को अबको चरण भनेको उत्कृष्ट ४ अर्थात फाईन राउण्ड छनोट हुनेछ । उत्कृष्ट चारमा पर्नको लागि आफ्ना अन्य ४ प्रतिस्पर्धीलाई जित्नु पर्ने हुन्छ । त्यो भनेको भोटिङको आधारमा हुनेछ । जति धेरै भोट हाल्न सकियो उनी उत्कृष्ट ४ मा पर्ने सम्भावना त्यति नै बढि हुन्छ ।
कसरी भोट गर्ने ?
प्रतक्ष रुपमा भोट हाल्नको लागि आफ्नो मोबाईलको एसएमएस बक्समा गएर १२ टाईप गरि ३७०००मा एसएमएस गर्न सकिनेछ ।
त्यस्तै प्रभु पेको एप डाउनलोड गरि भोटिङ डेक्समा गई भ्वाईस अफ नेपाल सिजन थ्री मा तल कन्सटेन्टमा क्लिक गरि तारा श्रीषको फोटोमा क्लिक गरि भोट गर्न सकिनेछ । भोटिङ जति पटक पनि गर्न सकिनेछ ।
उत्कृष्ट चारमा पुर्याउन सहयोग गर्नुहोस
तारा श्रीष मगरले आफुलाई उत्कृष्ट चारमा पुर्याउन आफुलाई भोट गर्न आग्रह गरेकी छिन् ।
आफ्नो फेसबुक पेज मार्फत उनले भोट बिना आफ्नो साँगीतिक यात्रा अधुरो र अपुरो रहने बताउँदै आफुलाई भोट गर्न दर्शकलाई आग्रह गरेकी छिन् ।
‘सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु टप फोर अर्थात फाईनल राउण्डमा पुर्याउने तपाईको हातमा छ’ उनले आफुलाई भोट गर्न अनुरोध गर्दै भनेकी छिन्–‘तपाईहरुको माया, साथ र हौसलाको कदर गर्दै आगामी प्रस्तुतिमा अझै राम्रो प्रस्तुति दिने प्रयास गर्नेछु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया