१४ श्रावण २०७८, बिहीबार ११:१५ – Page 6 – Nagarikabhiyan : National News

महोत्तरीमा आधा शरीरको लास भेटियो

महोत्तरी । जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातो खोलाको पश्चिमी किनारमा बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नरहेको अवस्थामा एक जनाको शव बरामद गरेको छ ।

जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँमा बग्दै गरेको रातो नदीको किनारमा पानीमा तैरिहेको अवस्थामा सो आधा शव फेला परेको हो ।

शवको टाउको, छाती नरहेको र पेटलगायतका आधा भाग पनि सडेगलेको अवस्थामा पानीमा तैरिरहेको फेला परेका कारण महिला पुरुष के रहेको कुरा पनि खुल्न नसकेको बताएको छ ।

प्रहरीले सो शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ ।

कोषसँगको विवादले प्रपन्नाचार्यका सम्पत्ति संरक्षणहीन

काठमाडौँ । पशुपति मृगस्थलीको प्राचीन सत्तलबाट एक तला माथि उक्लिएपछि लामो कोठामा पुगिन्छ । कोठाको भित्ताभरि स्वामी प्रपन्नाचार्यले पाएका सम्मानपत्र लस्करै झुन्ड्याइएका छन् । एक छेउमा किताबका र्‍याक छन् । कोठाको बीच भागमा प्रपन्नाचार्यको ठूलो तस्बिर छ । ‘स्वामी मेरो जीवनभरको सम्पत्ति यिनै हुन् भन्नुहुन्थ्यो,’ प्रपन्नाचार्यका उत्तराधिकारी वासुदेव प्रपन्नाचार्यले भने, ‘यही सम्पत्ति कसरी संरक्षण गर्ने भन्नेमा अहिले हम्मे परिरहेको छ ।’ पशुपति क्षेत्र विकास कोषले प्रपन्नाचार्यका कृतिलगायत सम्पत्ति आफू मातहत राख्न खोजिरहेको थियो । तर उनले इच्छापत्रमै ‘कोषलाई नदिई जुन रूपमा थियो त्यही रूपमा संरक्षण गर्नू’ भनेकाले नदिइएको वासुदेवले जानकारी दिए । ‘यो ठाउँ एउटा संग्रहालय र अध्ययन केन्द्रका रूपमा विकास होओस् भन्ने स्वामीको इच्छा थियो,’ उनले भने, ‘त्यही इच्छाअनुसार आश्रमलाई विकास गर्ने योजना छ । तर आर्थिक अभावले सकिएको छैन ।’

स्वामित्व कोषलाई नदिइएपछि आश्रमका सेवा सुविधामा पनि कटौती भएको वासुदेवले बताए । उनका अनुसार प्रपन्नाचार्यको पालादेखि नै कोषले दिन थालेको मासिक सुविधा कटौती गरिएको छ । गोविन्द टण्डन कोषको सदस्यसचिव हुँदा प्रपन्नाचार्यलाई १० हजार र सेवकलाई ३ हजार गरी १३ हजार रुपैयाँ दिने व्यवस्था गरेका थिए । प्रपन्नाचार्यलाई मृगस्थलीमा बस्ने व्यवस्था पनि टण्डनका पालामा २०४५ सालमा गरिएको थियो । राणाकालमा बनेको चन्द्रेश्वर सत्तल नै उनलाई दिइएको थियो । फोहोर र पानी चुहिने सत्तलको त्यसपछि मर्मतसम्भार भएको थियो । २०७२ सालमा प्रपन्नाचार्यको निधन भएपछि पनि आश्रमको नाममा पैसा आउँथ्यो । ‘स्वामीको पालाको भन्दा १ हजार घटाएर १२ हजार रुपैयाँ आएकै थियो,’ वासुदेवले भने, ‘दुई वर्षदेखि कोषले यो रकम पनि रोकिदिएको छ ।’ कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले भने पैसा रोकिएको बारे जानकारी नभएको प्रतिक्रिया दिए । ‘के कारणले रोकिएको रहेछ, म बुझ्छु,’ उनले भने ।

आश्रममा आउने पानीको लाइनसमेत कोषले काटिदिएको वासुदेवको गुनासो छ । ‘आश्रमकै बाटो भएर मृगस्थलीका मृगका लागि पानी लगिएको छ,’ उनले भने, ‘त्यहाँ पानी भरिएर पोखिन्छ, यहाँ भने पानी नपाएर बिजोग छ ।’ उनका अनुसार पानी लिन श्लेषमान्तक वनको बीचमा रहेको कुवामा जानुपर्छ । त्यहाँ पनि पर्याप्त पानी छैन । कोषका कार्यकारी निर्देशक खतिवडाले पानीको लाइन काटिएको पनि आफूलाई थाहा नभएको बताए । ‘कतै बिग्रेको वा थुनिएको होला,’ उनले भने, ‘हामीलाई समस्या भयो भनेर गुनासै आएको छैन, के समस्या भएको रहेछ म बुझ्छु ।’

प्रपन्नाचार्यका कृति छाप्ने विषयमा पनि कोष र आश्रमबीच विवाद भएको थियो । कोषले प्रपन्नाचार्यको समेत एउटा लेख समेटिएको पुस्तक ‘अनेकौं दृष्टिमा पृथ्वी’ छाप्न ४ लाख रुपैयाँ बजेट छुट्याएको थियो । तर कोषका एक पदाधिकारीले आफू प्रधान सम्पादक हुने गरी काम अघि बढाए । आईएसबीएनसमेत लिइसकेको पुस्तकको प्रधान सम्पादक कोषका पदाधिकारी राख्न प्रपन्नाचार्यका शिष्य तयार भएनन् । त्यही विवादले छाप्न तयार भएको कृतिको काम रोकिएको छ । प्रपन्नाचार्यका नेपाली, हिन्दी र अंग्रेजी भाषाका गरी ५२ पुस्तक प्रकाशित छन् । १० वटा उनैले सम्पादन गरेका छन् । ‘स्वामीका पाण्डुलिपि धेरै छ्रैनन्,’ वासुदेवले भने, ‘लेखेका जति अधिकांश पुस्तक छपाउनु भएछ ।’ छापिएका कृतिमध्ये केही आश्रममा सुरक्षित छन् भने केहीको अत्तोपत्तो छैन । ‘धेरै किताब त भारतमा बस्दा छपाउनुभयो,’ उनले भने । प्रपन्नाचार्यले ४० वर्ष अध्ययन गरेर लेखेको ‘प्राचीन किराँत इतिहास’ फेरि छाप्न प्रयास गरे पनि आर्थिक स्रोत नजुटेको उनको भनाइ छ ।

१९८० असोजमा पाँचथरको बरडाँडामा जन्मिएका प्रपन्नाचार्यले वेदान्त विषयमा विद्यावारिधि गरेका थिए । सानामा काले राईको नामले चिनिएका उनलाई उनका गुरु स्वामी दामोदर प्रपन्नाचार्यले स्वामी १०८ ह्यग्रव दामोदर रामकृष्ण प्रपन्नाचार्य नाम दिएर दीक्षित गरेका थिए । ३० वर्षको उमेरमा स्वामी प्रपन्नाचार्य उपाधि पाएका उनी वैष्णव सम्प्रदायका सन्त थिए । कान्तिपुर बाट

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिमण्डल विस्तारका बाले छलफल भएको बुझिएको छ ।

भेटमा माओवादीबाट मन्त्री बन्ने थप नामबारे कुराकानी भएको थियो । आज या भोलिभित्र मन्त्रिमण्डल विस्तारको तयारीमा देउवा छन् । उनले प्रचण्ड र उपेन्द्र यादवलाई नाम दिन भनिसकेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले थप नामबारे छलफल गरेको बुझिएको छ । माओवादीबाट अहिले अर्थमा जर्नादन शर्मा र ऊर्जामा पम्फा भुसाल मन्त्री छन् । माओवादीबाट अझै ४ या ५ जना मन्त्री बन्ने बुझिएको छ । जसपाबाट ४ या ५ जनाले मन्त्री पाउने सम्भावना छ । जसपाले पनि आजै मन्त्रीको सुची दिने बुझिएको छ । गठबन्धनको नेकपा एमालेको माधवकुमार नेपाल पक्ष भने तत्काल सरकारमा नजाने बुझिएको छ ।

ललितानिवास जग्गा प्रकरण अर्बौंको मुद्दामा लाखको धरौटी राखेर धमाधम छुट्दै अभियुक्त

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिहरूलाई विशेष अदालतले धरौटीमा छोडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको असफलता पुष्टि भएको छ । २० अर्ब रुपैयाँभन्दा बढी बिगो मूल्यांकन गरिएको सरकारी जग्गा अपचलनका आरोपी सबै ५ देखि १० लाख रुपैयाँ धरौटी राखेर छुटेका छन् ।

पछिल्लो पटक पूर्वउपप्रधानमन्त्री विजय गच्छदार मुद्दा दर्ता भएको डेढ वर्षपछि विशेष अदालतमा उपस्थित भएर १० लाख रुपैयाँ धरौटीमा छुटेका छन् । उनले अख्तियारमाथि नै क्षेत्राधिकार मिचेको आरोपसमेत लगाएका थिए ।

क्बदपय एजयलभ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा मन्त्रिपरिषद्को निर्णय नपर्ने कानुनी व्यवस्था मिचिएको तर्कसहित गच्छदारले आफूमाथि झुटो आरोप लगाएको दाबी गरेका थिए ।

सरकारी जग्गा व्यक्तिका नाममा बनाई राज्यलाई हानिनोक्सानी पुर्‍याएको दाबीसहित अख्तियारले १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो । तीमध्ये अदालतमा बयान दिन पुगेका सबै धरौटीमा रिहा भएका छन् । अख्तियारले २०७६ माघ २२ मा मुद्दा दर्ता गरेको थियो ।

स्रोतले अख्तियारको मुद्दा नै गलत भएकाले ओरोपितहरू धरौटीमा छुटेको दाबी गर्‍यो। ‘ललितानिवास प्रकरणमा कुनै एक व्यक्तिलाई तर्साउन मुद्दा दर्ता गरिएको थियो । यसमा अख्तियारले राम्रोसँग अनुसन्धान पनि नगरी मुद्दा चलायो । कुनै व्यक्तिलाई लक्षित गरेर मिसिल तयार गर्दा सबै आरोपितको आरोप प्रमाणित हुने अवस्था आएन’, अख्तियारकै एक अधिकारीले भने ।

तत्कालीन केपी ओली सरकारले आफूलाई तर्साउन ललितानिवास प्रकरण उछालेको भन्दै एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दोषी प्रमाणित गर्न चुनौतीसमेत दिएका थिए ।

उनले आफ्नो कार्यकालमा प्रधानमन्त्री कार्यालय विस्तार गर्ने योजना बनाएको तर भूमाफियाहरूले अरु केके गरे भन्ने जानकारी नभएको बताएका थिए । अख्तियारका तत्कालीन प्रमुख नवीन घिमिरेलगायतको टोलीले आफूमाथि पूर्वाग्रह राखेको नेपालले पटकपटक बताउँदै आएका थिए ।

अख्तियारले कांग्रेस नेता गच्छदार २०६६ सालमा उपप्रधानसहित भौतिक योजनामन्त्री रहेका बेला ललिता निवाससम्बन्धी निर्णयमा भ्रष्टाचार भएको दाबी गरेको छ । गच्छदारलाई अदालतले १० लाख रुपैयाँ धरौटीमा छाडिदियो ।

अख्तियारले ३२ करोड रुपैयाँ बिगो दाबी गरेकालाई सर्वोच्च अदालतले २ लाख धरौटीमा छाड्न आदेश दियो । डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन अधिकृत कृष्णप्रसाद पौडेलविरुद्ध ३२ करोड १९ लाख २० हजार रुपैयाँ बिगो र ८ देखि १० वर्षसम्म कैद सजाय माग राखिएको थियो । तर २०७७ असारमा सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र टंकबहादुर मोक्तानको इजलासले दुई लाख धरौटीमा रिहा आदेश दिएको थियो । ‘यसबाटै थाहा हुन्छ, अख्तियारले कति फितलो मुद्दा दायर गरेको रहेछ’, स्रोतले भन्यो ।

२०६६ चैत २९ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री निवास विस्तार र मोही व्यवस्थापन गर्ने निर्णय गरेको थियो । त्यस बेला एमाले वरिष्ठ नेता नेपाल प्रधानमन्त्री थिए । त्यतिबेला छुट दर्ता तथा नक्कली मोही खडा गरी १ सय ३६ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी गरिएको थियो । २९ चैत २०६६, ३१ वैशाख २०६७, २८ साउन २०६७ र १८ असोज २०६९ मा प्रधानमन्त्री निवास विस्तारसम्बन्धमा निर्णय भएको थियो । यसपछि नक्कली मोही खडा गरिएको थियो भने बालुवाटार जग्गा प्रकरणको सबै दोष नेपाल नेतृत्वको सरकारलाई लगाइएको थियो ।

यस प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले समेत अनुसन्धान गरेको थियो। किर्ते कागजपत्र बनाएर मन्त्रिपरिषद्लाई झुक्याएको निष्कर्ष अनुसन्धानमा निकालिए पनि कसकसले झुक्याएको भन्नेबारे सिआइबीले केही उल्लेख गरेको छैन ।

अख्तियारले दायर गरेको मुद्दामा पनि कसकसले किर्ते गरेको भन्नेबारे खुलाएको छैन । स्रोतका अनुसार अख्तियारले ललितनिवास प्रकरणको छानबिन नै राम्रोसँग नगरेकाले आरोपितहरू धमाधम छुटेका हुन् ।

कर्मचारी र केही राजनीतिकर्मीलाई फसाउने गरी चार्जसिट तयार गरेका कारण त्यसलाई अदालतले उपयुक्त प्रमाण मान्न नसकेको स्रोतको दाबी छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीले एक विद्युतीय सञ्चारमाध्यममा ‘दुराशययुक्त कपटपूर्ण चार्ज सिट’ भनेर टिप्पणी गरेका थिए ।

पूर्वमन्त्री चन्द्रदेव जोशीलाई समेत दोषी आरोप लगाउनु अख्तियारले कतिसम्म दुराशययुक्त चार्जसिट बनाएको रहेछ भन्ने एउटा अर्को प्रमाण पनि हो । अख्तियारले ७ करोड ८ लाख ४८ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेकोमा अदालतले उनलाई साधारण तारेखमा रिहा गरिदियो । ललितानिवासको जग्गा प्रकरणमा मुद्दा चलाइएकामध्ये अझै ३२ जना अदालतमा उपस्थित भएका छैनन् ।

पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजक रहेको समितिले ललितानिवासको जग्गा भूमाफियाले अपचलन गरेको प्रतिवेदन दिएको थियो । सोही प्रतिवेदनको आधारमा अख्तियारले अनुसन्धान गरेको भए पनि अपूरो र दुराशयपूर्ण हुँदा आरोपितहरू कम धरौटीमा रिहा भएको स्रोतको दाबी छ ।

भूमाफियासँग मिलेमतो रहेको भनिएका हुपेन्द्रमणि केसीलाई ३२ करोड रुपैयाँ बिगो दाबी गरिएको थियो तर उनी २ लाख धरौटीमा रिहा भए भने ३९ करोड बिगो दाबी गरिएका मीनबहादुर गुरुङ २ करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

‘ललिता निवास जग्गा अनियमितता प्रकरणको मुद्दा २० अर्बभन्दा माथिको छ तर अरोपीहरूलाई अदालतले ५ देखि १० लाख धरौटीमा छाडेको छ । यसबाटै प्रस्ट हुन्छ कि अख्तियारले कति कमजोर मुद्दा अदालतमा लगेको रहेछ’, एक सरकारी वकिलले भने । आजको नागरिक दैनिकले यो समाचार प्रकाशित गरेको छ । टुडेपाटी बाट

सिड्नीमा चार हप्ता लकडाउन थप

सिड्नी । अस्ट्रेलियाको सिड्नी र वरिपरिको क्षेत्रमा लकडाउनको समयावधि फेरि थप गरिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार सिड्नीमा पछिल्लो २४ घण्टामा २३९ जनामा संक्रमण पुष्टि भएको छ । जुन महामारी सुरु भएयता एकैदिन सबैभन्दा बढीलाई संक्रमण पुष्टि भएको हो । दैनिक संक्रमितको संख्यामा वृद्धि हुँदै गएपछि राज्य सरकारले सिड्नी क्षेत्रमा थप चार हप्ता लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

सिड्नीमा अब अगस्ट २८ सम्म निरन्तर लकडाउन लागू हुने भएको छ । नयाँ थप गरिएको लकडाउन अवधिका लागि प्रतिबन्धात्मक व्यवस्थाहरू पनि थप गरिएको छ । किनमेल गर्नु परेमा स्थानीय सरकारको अनुमतिमा घरदेखि १० किलोमिटर टाढासम्म मात्रै जान पाइने व्यवस्था गरिएको छ ।

अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा डेल्टा भेरियन्ट फैलिएपछि गएको जुन महिनाको अन्त्यबाट घरमा नै बस्न आदेश दिइएको छ । सिड्नीमा मात्रै यस वर्ष कोरोनाभाइरसबाट दुई हजार ५०० भन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

सानास्तरको महामारी नियन्त्रणमा लिएका भिक्टोरिया र साउथ अस्ट्रेलियाले भने बुधबारबाट लकडाउन अन्त्य भएको घोषणा गरेका छन् । तर सिड्नीमा भने निषेधाज्ञा सेप्टेम्बर वा त्योभन्दा पछिसम्म जारी रहनसक्ने विज्ञहरूले अनुमान गरेका छन् ।

विज्ञ र सरकारी अधिकारीहरूले सङ्क्रमण दर शून्य नजिकै नभएसम्म सिड्नीलाई पुनः खुला गर्न नसकिने बताइरहेका छन् ।

लगातार भइरहेको लकडाउनप्रति कतिपय मानिसले भने विरोध जनाएका छन् । उनीहरूले सिड्नी, मेलबर्नलगायतका विभिन्न सहरहरूमा प्रदर्शन पनि गरेका थिए ।

१७ जिल्ला कोरोनाको तेस्रो लहरको अति उच्च जोखिममा

काठमाडाैं । निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहर सन्निकट देखिएको छ। खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जब कि साउन ५ गते संक्रमणदर २०.७ प्रतिशत मात्र थियो। १७ हजार हाराहारी व्यक्तिको परीक्षण गर्दा ४ हजार हाराहारीमा संक्रमण पुष्टि हुने गरेको छ।

सरकारले यससँगै १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ। जसमा झापा, सिरहा, धनुषा, महोत्तरी, रौतहट, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अछाम र बाजुरा छन्। यस्तै २२ जिल्ला उच्च जोखिम क्षेत्रमा परेका छन्। जसमा मोरङ, सप्तरी, सर्लाही, पर्सा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कास्की, स्याङजा, दाङ, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट र बझाङ परेका छन्।

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले विगतभन्दा संक्रमणदर बढ्दै गएको बताए। ‘महामारीको उच्च जोखिमबाट गुज्रिरहेको अवस्था छ,’ सह–प्रवक्ता डा. अधिकारीले भने, ‘स्वास्थ्यका पूर्वाधार र स्वास्थ्यकर्मीले गर्ने सेवाभन्दा बढी सेवा लिन स्वास्थ्य संस्थामा आउने अवस्था हुँदै  गए व्यवस्थापन गर्न गाह्रो हुन्छ।’  यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

तालिबान नेताले चीन पुगेरै भेटे विदेश मन्त्रीलाई

एजेन्सी । अफगानिस्तानका विद्रोही समूह तालिबान र चिनियाँ विदेशमन्त्री वाङ यी बीच भेटवार्ता भएको छ । तालिबानका सह–संस्थापक तथा मुख्य वार्ताकार मुल्ला अब्दुल गनी बरादार नेतृत्वको तालिबान प्रतिनिधि मण्डललाई चीनले स्वागत गरेको हो ।

बरदारको टोलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग चीनको थियान्चिन सहरमा वार्ता गरेको तालिबानलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीन र तालिबानबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण मानिएको छ । पछिल्लो समय अफगानिस्तानबाट अमेरिकी सेना बाहिरिन थालेसँगै तालिबानले आफ्नो पक्कड बढाउँदै लगेको छ ।

माओवादीले कारबाही गरेका चार नेताको रिटमा पेसी आज

काठमाडौं । निर्वाचित भएको दल माओवादी केन्द्र त्याग गरी एमाले प्रवेश गरेका चार नेताले सांसद् पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको आज पेसी तोकिएको छ । आफूहरूले कानुनी रूपमा माओवादी नछाडेको उनिहरुले तर्क गरेका छन ।

टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूलाई सांसद् पदमा पुनर्बहालीको माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका थिए । ती रिटको आज पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए ।

त्यसपछि माओवादीले पार्टीको विधान विपरित अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै माओवादीले उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत चैत २४ गते कारवाही गरेको थियो ।भट्ट कैलाली क्षेत्र नम्बर ४, रायमाझी अर्घाखाँची, साह रौतहट ३ र चौधरी कैलाली ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । प्रधानमन्‍त्री केपी ओली नेतृत्वको सरकारमा रायमाझी ऊर्जा, भट्ट उद्योग, साह सहरी विकास र चौधरी श्रम तथा रोजगार मन्‍त्री थिए ।

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै, महाधिवेशनको कार्यतालिका संशोधन मुख्य एजेन्डा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । आजको बैठक पनि पार्टीको आशन्न महाधिवेशनमा केन्द्रित हुने कांग्रेसले बताएको छ । बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने छ ।

भदौ १६ देखि १९ गतेसम्म हुने भनिएको १४ औं महाधिवेशन अनिश्चित भएका बेला बस्न लागेको पदाधिकारी बैठकमा महाधिवेशनको कार्यतालिका संशोधन लगायतका विषयमा आजको बैठकमा छलफल हुनेछ । बुधबारको पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनलाई पूर्णता दिनका लागि १ दिनको समय प्रदान गरेको थियो ।

आजको बैठकले महाधिवेशनबारे महत्वपूर्ण निर्णय लिने बताइएको छ । कोरोनाको अवस्थाका बारेमा जिल्लाका नेताहरुसँग पनि छलफल गरिने प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । कांग्रेस महाधिवेशन आउन अब ३४ दिनमात्रै बाँकी छ । तर, निर्वाचन समितिले कम्तिमा पनि ५३ दिनको समय लाग्ने बताएको छ ।आजको बैठकमा मन्त्रिपरिषद विस्तारबारे पनि छलफल हुनेछ ।

सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रालय भागबण्डा टुंगिए आजैको पदाधिकारी बैठकबाट थप मन्त्रीको नाम टुंगो लगाउने प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको तयारी छ

इन्द्रावती तेस्रो जलविद्युत् आयोजना पुनः सञ्चालनमा

चौतारा । गत असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुगेको सात दशमलव पाँच मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालनमा आएको छ ।

मेलम्ची खोलाको बाढीले राति ढालेको प्रसारण लाइनको चारवटा टावर र इन्द्रावती नदीको बाढीले क्षति पु¥याएको विद्युत्गृहको संरचनाको मर्मतपछि बुधबार रातिदेखि पुनःसञ्चालनमा ल्याइएको आयोजना प्रमुख मानोलाक श्रेष्ठले जानकारी दिनुभयो । इन्द्रावतीमा आएको बाढीले तिपेनीस्थित बाँध भत्काउनुका साथै सिभिल कार्य तथा इलेक्ट्रिक मेसिनमा ठूलो क्षति पुगेको थियो ।

बाढीले बालुवा थिग्राउने डिसेल्टिङ मेसिनको ढोका र अन्डर प्रेसको ढोकामा समेत क्षति पुगेकाले टावर तथा अन्य कार्यमा करिब रु दुई करोड ५० लाख मूल्य बराबरको क्षति पुगेको छ । डेढ महिनासम्म आयोजना उत्पादन बन्द हुँदा कूल रु पाँच करोड ५० लाख नोक्सान भएको डेपुटी प्लान्ट मेनेजर वसन्तलाल कर्णले जानकारी दिनुभयो ।रासस

आजदेखि मैलुङ खोला जलविद्युतको आईपीओ बिक्री खुला

काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीले आज (साउन १४ गते, बिहीबार) देखि सर्वसाधारणका लागि आइपीओ विक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणमा ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको आइपीओ विक्री गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ विक्री गर्न लागेको हो।

सर्वसाधारणका लागि विक्री गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता भने कम्पनीले सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो।

कम्पनीको आइपीओ छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म विक्रीमा रहने विक्री प्रबन्धक बन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ।

आइपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ। कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डी इस्यूअर रेटिङ प्रदान गरेको छ।

पुल भासिँदा नुवाकोटमा यातायात अवरुद्ध

त्रिशूली । अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पु¥याएको छ। बुधबार साँझ परेको वर्षापछि आएको बाढीले नुवाकोटको मैथली तालिम केन्द्रको विदुरतर्फको खोल्सामा रहेको पुलमा क्षति पुगेसँगै सडक पूर्णरूपमा ठप्प भएको छ। पुलमा क्षति पुगेसँगै नुवाकोटको बट्टारबाट विदुर जाने सडक बन्द हुँदा बट्टारबाट जिल्ला सदरमुकामसहित विभिन्न पालिका र रसुवा जाने यातायातको सेवा बट्टारमा नै रोकिएका छन्।

बुधबार राति करिब ९ बजेतिर पुलको जगमा क्षति पु¥याएसँगै सडक पूर्णरूपमा अवरुद्ध हुँदा विदुरबाट मैथली ब्यारेक हुँदै बट्टारतर्फ जाने सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिइन्। उनका अनुसार पुल भासिएसँगै सडकको दुवैतर्फ विच्छेद भएको छ। पैदलयात्रुलाई समेत आउजाउ गर्न कठिन भएको छ।

पुल भासिएसँगै विदुर–बट्टारको यातायात अवरुद्ध भएर आपतकालीन सेवा दिने सवारी साधनसमेत आउजाउ हुन सकेका छैनन्। उपयुक्त विकल्पको सडक नहुँदा मर्मतसम्भार गरेर पुनःसञ्चालन नभएसम्म सवारी साधन रोकिनुपर्ने बाध्यता छ। क्षति पुगेको पुल र अवरोध भएको सडक अहिले बिहानबाट खुलाउन प्रयास गरिने डिभिजन सडक कार्यालयका प्रमुखसमेत रहेका ‘गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए। उनका अनुसार सडक डिभिजन र योजना कार्यालयका उपकरण र जनशक्ति परिचालन गरेर जतिसक्दो छिटो अवरुद्ध सडक पुनः सञ्चालन गर्न प्रयास गरिने छ।

यसैबीच बुधबार साँझ परेको वर्षाले जिल्लाको अन्य स्थानमा पनि पहिरो गई घरमा क्षति पुगेका विवरण सङ्कलन हुने क्रममा रहेको नुवाकोट प्रहरीले जनाएको छ। चट्याङसहितको वर्षाले पानीको मुहानका स्रोत बढाएका छन् भने खोल्सा, खोला र नदीमा पानीको बहाव बढेको छ।रासस

आज विश्व बाघ दिवस : संरक्षणमा चुनौती कायमै !

काठमाडौँ । आज विश्व बाघ दिवस मनाइँदै छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरुप यो दिवस मनाउन लागिएको हो ।

नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै आएको छ । नेपाललगायत विश्वका १३ देशमा पाटेबाघ पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सेन्टपिटर्सवर्ग सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।

सो प्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणना अनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई दोब्बरभन्दा पनि बढी २५० वयस्क बाघ पुर्याउने प्रतिबद्धता गरेको थियो । जुन लक्ष्य हासिल हुने दिशामा नजिक रहेको छ ।

पछिल्लो राष्ट्रिय बाघ गणना २०१८ को नतिजा अनुसार नेपालमा बाघको सङ्ख्या २३५ पुगेको छ । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए । यस गणनाका क्रममा क्यामेरामा देखिएका बाघका बच्चाको सङ्ख्या नसमेटिएकाले सन् २०२२ मा नेपालको लक्ष्य पूरा हुने निश्चित देखिएको उनले दाबी गरे ।

विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म पछिल्लो बाघगणना गरेको थियो । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको विभागको तथ्याङ्क छ ।

नेपालको तराई भू-परिधि क्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार १६१ वर्गकिमि क्षेत्रमध्ये ११ हजार ५७ वर्ग किमि (६८ प्रतिशत) मा बाघको उपस्थिति रहेको देखिएको छ । बाघ पाइने संरक्षित क्षेत्रमध्ये ९८ प्रतिशत क्षेत्रमा बाघको उपस्थिति रहेको देखिएको छ । संरक्षित क्षेत्रभन्दा बाहिरको बाघ पाइने क्षेत्रमध्ये ६० प्रतिशत क्षेत्रमा मात्र सो प्रजातिको उपस्थिति रहेको तथ्याङ्कमा उल्लेख छ ।

मुलुकले जैविक विविधता संरक्षणका क्षेत्रमा आशलाग्दो उपलब्धि हासिल भएकाले र बाघ गणनाको पछिल्लो नतिजाले पनि सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर (२५० वयस्क बाघ) पुर्याउने मुलुकको प्रतिबद्धता पूरा हुने विश्वास गरिएको छ तर बाघको चोरी शिकारी, बढ्दो मानव वन्यजन्तु द्वन्द्व, वन अतिक्रमणसँगै बासस्थान र आहारामा देखिएका कमीले बाघ संरक्षणमा चुनौती पनि कायमै छ ।

विश्वभर बाघको सङ्ख्या तीन हजार ८९० रहेको छ । सन् २०१६ को तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतमा दुई हजार २२६, सबैभन्दा कम लाओसमा बाघको सङ्ख्या दुई छ । इण्डोनेसिया, कम्बोडिया, चीन, थाइल्याण्ड, नेपाल, बङ्गलादेश, भारत, भुटान, भियतनाम, मलेसिया, म्यान्मार, रसिया र लाओसमा पाटेबाघ पाइन्छ ।

बीपी प्रतिष्ठानमा बेथिति: मेडिकल उपकरण खरिदमा २८ गुणासम्म बढी भुक्तानी

सुनसरी । सरकारी संस्थामा भ्रष्टाचार हुन्छ भन्ने आम बुझाइ छ । तर, कुन हदसम्म रु धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकरण खरिदमा दुई–तीन गुणा होइन, २८ गुणासम्म बढी खर्च भएको पुष्टि भएको छ । मुटुसम्बन्धी समस्या भएका बिरामीको उपचारमा प्रयोग हुने ‘इन्ट्रा एओर्टिक बेलुन पम्प’ खरिदमा चरम भ्रष्टाचार भएको छ

भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रले यो पम्प २ लाख २१ हजार ३ सय ३८ रुपैयाँमा खरिद गरेको थियो । तर, बीपी प्रतिष्ठानले यही पम्प खरिदमा ६२ लाख ८ हजार ९ सय ७६ रुपैयाँ खर्च गरेको प्रतिवेदनले प्रस्ट पारेको छ ।

रगत रोक्ने कौटरी मेसिन खरिद गर्दा गंगालाल हृदय रोग केन्द्रले ५ लाख ६३ हजार, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले ६ लाख ३५ हजार र वीर अस्पतालले ७ लाख २५ हजार भुक्तान गरेका छन् । तर, यही मेसिन खरिदमा बीपी प्रतिष्ठानले १ करोड २१ लाख ५९ हजार ७६ रुपैयाँ खर्च गरेको सरकारी प्रतिवेदनले देखाएको छ ।

यो मूल्य गंगालाल केन्द्रको भन्दा २१ गुणा बढी हो । बीपीको अनियमितता छानबिन गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलले आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्म खरिद गरिएका सामग्रीको मूल्य अध्ययन गरेको थियो । भ्रष्टाचारका अनेक प्रमाणसहित कार्यदलले प्रतिवेदन दिएको दुई वर्ष भए पनि कारबाही भएको छैन ।

त्यसअघि र पछि प्रतिष्ठानमा भएका अनेक भ्रष्टाचारका दोषीलाई कारबाही गर्न तथा उपकरण र जनशक्तिको सदुपयोग गर्न माग गर्दै बीपीमा पछिल्लो डेढ महिनादेखि आन्दोलन चलिरहेको छ । तर, सरकारले माग सम्बोधन गरेको छैन ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

ट्राफिक पुलिसको घरमा सुनको ट्वाइलेट भेटिएपछि…

एजेन्सी । रुसमा एक ट्राफिक प्रहरीको घरमा सुनको ट्वाइलेट भेटिएपछि सबैलाई ध्यान तानेको छ । रुसी अधिकारीहरुले सयौँ हजार डलरको घुसकाण्डको पर्दाफास गरिहेकै बेला उक्त काण्डमा कैयन् ट्राफिक प्रहरीहरु संलग्न रहेको समाचारमा जनाइएको छ ।

तर ट्राफिक पुलिसका प्रमुखको घरमा रहेको शौचालयले सबैको ध्यान तोनेका थियो । किनकी ट्राफिक प्रहरी प्रमुखको घरमा रहेको उक्त ट्वाइलेट सुनबाट बनेको पाइएको थियो ।

तीपुलिस अधिकारी अलेक्सी सफोनोभलाई हिरासतमा लिइएको छ । दोषी प्रमाणित भएमा उनलाई १५ वर्षसम्मको जेल सजायँ हुने द मस्को टाइम्सले उल्लेख गरेको छ ।

छानबिन समितिले सफोनोभको भव्य निवासको भिडियो सार्वजनिक गरेको छ । जहाँ घरभित्रको सुनको ट्वाइलेट देखि घरबाहिर पार्किंग गरिएका लक्जरी कारहरु देखिन्छन् ।

उनको घरमा रहेका फर्निचर, भित्ते आर्ट फ्रेम तथा सजावटका सामानहरुमा सुनको व्यापक प्रयोग गरी असाधारण बनाइएको छ । भान्साकोठाको दराज तथा अन्य फर्निचरमा पनि सुनको प्रयोग गरिएको छ ।

गत जुलाई २० मा अपलोड भएको ४९ सेकेण्डको युट्युब भिडियो एक लक्जरी रियल स्टेट विज्ञापन जस्तै देखिन्छ । अहिलेसम्म उक्त भिडियो लाखौँले हेरिसकेका छन् ।

सफोनोभ उनका अन्य ६ सहकर्मी ट्राफिक पुलिसहरुमाथि अवैध रुपमा ठूला सवारी साधन सञ्चालनका लागि व्यवसायीहरुलाई नक्कली अनुमति प्रदान गर्ने र त्यसबापत वार्षिक १ करोड ९० लाख रुसी रुबल घुस लिने गरेको अभियोग छ । उक्त घोटालामा स्टाभरोपोल ट्राफिक पुलिस विभागका कम्तिमा ३५ सदस्य सामेल छन् ।

सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक आज पनि बस्ने भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो।

बिहान साढे ८ बजे बालुवाटरमा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार, विभिन्न नियुक्तिलगायत विषयमा छलफल हुने बताइएको छ । बैठकमा मन्त्रालय भागबण्डाको विषयमा समेत छलफल हुने भएकाले आजै मन्त्रिपरिषद् विस्तार हुन सक्ने अनुमान गरिएको छ ।

गठबन्धनका शीर्ष नेता सहभागी हुने बैठकमा सरकारका अन्य काम–कारबाहीका विषयमा समेत छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि हिजो बिहान बसेको बैठकमा जतिसक्दो छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने समझदारी बनेको थियो।

प्रधानमन्त्री भएको दुई हप्ता बित्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर देउवाको आलोचना हुन थालेको छ । आलोचना बढ्न थालेपछि प्रधानमन्त्री देउवाले हिजो गठबन्धनका नेताहरुलाई छिटो मन्त्री बन्नेहरुको नाम दिन आग्रह गर्नु भएको थियो ।

एमालेको नेपाल खनाल पक्ष अहिलेसम्म पनि सरकारमा जाने नजाने निर्णय गर्न सकेको छैन ।जसका कारण दलहरु कसले कति मन्त्रालउ पाउने भन्ने पनि छलफल हुन सकेको छैन । जनमोर्चाले आफूहरू सरकारमा नजाने बताइसकेको छ।