१६ माघ २०७७, शुक्रबार ११:४५ – Page 8 – Nagarikabhiyan : National News

प्रचण्ड–माधव पक्षले विराटनगरमा शक्ति प्रदर्शन गर्दै

काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने सरकारको प्रतिगामी कदमविरुद्ध संघर्षरत नेकपाको प्रचण्ड–माधव पक्षले शुक्रबार प्रदेश १ को प्रमुख शहर विराटनगरमा शक्ति प्रदर्शनसहित विरोधसभाको आयोजना गरेको छ ।

तेस्रो चरणको आन्दोलन अन्र्तगत प्रचण्ड माधव पक्षले काठमाडौ बाहिर रुपन्देहीको बुटवलपछि विराटनगरमा प्रदर्शन गर्न लागेको हो ।

विरोधसभा अघि आसपासका क्षेत्रबाट १२ बजे र्याली निकाल्ने र १ बजे विराटनगरको जनआन्दोलन चोकमा सभा सुरु हुने प्रदेश १ का नेता जीवन घिमिरेले जनाकारी दिए । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्बोधनका लागि अध्यक्ष नेपाल र बरिष्ठ नेता झलनाथ खनाल बिहीबार बेलुका नै विराटनगर पुगिसकेका छन् भने प्रचण्ड शुक्रबार बिहान झापा हुँदै विराटनगर जाने क्रममा छन् ।

यसअघि बिहीबार बुटवलमा भएको विरोधसभामा उल्लेख्य सहभागीता भएपछि प्रचण्ड–माधव उत्साहित भएका छन् । तेस्रो चरणको आन्दोलन अन्र्तगत माघ २८ गते काठमाडौमा व्यापक प्रदर्शन गर्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ । प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदम नसच्चिएसम्म आन्दोलन जारी राख्ने प्रचण्ड–माधव पक्षको तयारी छ ।

शेरबहादुरका कुराले ओली र ओलीका समर्थकहरूलाई झड्का, बालुवाटारमा सन्नाटा!

काठमाडौं । नेपाल वार एसोसिएसनका पूर्वअध्यक्ष एवम् वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले गृहमन्त्री रामबहादुर थापाले वैशाखमा निर्वाचन हुँदैन भनेर दिएको अभिव्यक्तिले देशमा ठूलो संकट आउने देखिएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता केसीले वैशाखमा चुनाव हुन नसके समस्या आउने बताए । उनले भने, ‘गृह मन्त्रीले नै वैशाखमा निर्वाचन हुँदैन भनेको मैले समाचारमा सुनेको छु ।

यदि त्यस्तो हो भने मुलुकमा झन् समस्या आउनेछ ।’ वैशाखमा चुनाव हुन सकेन भने देशमा अराजकता निम्तिने वरिष्ठ अधिवक्ता केसीको चेतावनी छ । उनले वैशाखपछि संविधानको अन्त्य हुने बताएका छन् । अबको चार महिनामा कुनै पनि हालतमा चुनाव हुन नसक्ने केसीले बताएका छन् । उनले सर्वोच्च अदालतले संवैधानिक व्यवस्थानुसार संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय खारेज गरिदिने दाबी गरेका छन् ।

प्रधानमन्त्रीले अधिकारनै नभएको व्यवस्था प्रयोग गरेर संसद भङ्ग गरेको उनको भनाइ छ । ‘केपी ओलीजीले गैरसंवैधानिक काम गर्नुभएको छ । अदालतले ओलीजीको कमद खारेज गरदिनेछ’, उनले भने, ‘संसद आउनेछ । संसद आयो भने पनि ओलीनै प्रधानमन्त्री हुनुहुन्छ । पछि संसदले कसलाई प्रधानमन्त्री बनाउँछ त्यो पछिको कुरा हो ।’

बारका पूर्वअध्यक्ष केसीले संसदको गरिमा राख्नुपर्ने बताएका छन् । उनले मनमोहन अधिकारीको पालामा विघटन भएको संसद फर्किएको समेत उल्लेख गरेका छन् । ‘विघटन भएको संसद मनमोहन अधिकारीको पालामा फर्कियो’, उनले भने, ‘गिरिजाप्रसाद कोइरालाको धन्यावादको प्रस्ताव फेल भएको थियो । संसदीय दलबाट निर्णय गराएर संसद विघटन गर्नुभएको थियो । त्यस बेला संसद भङ्ग गर्ने अधिकार थियो । कांग्रेसले संसद भङ्ग गरेको परिणती भोग्यो ।’

संसद विघटनका विषयमा सर्वोच्च अदालतमा बहस चलिरहेका बेला बारका पूर्वअध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता केसीले न्यायालयले संसद फर्काइदिने दाबी गरेका छन् ।

प्रधानमन्त्रीविरुद्ध विज्ञप्ति निकाल्ने चार जना पूर्व प्रधानन्यायाधीशलाई ठूलो झट्का

काठमाडौं ।  सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदम विरुद्ध संयुक्त विज्ञप्ति निकाल्ने चार जना पूर्व प्रधानन्यायाधीशलाई लिखित जवाफ लिएर आफैं हाजिर हुन आदेश दिएको छ ।

न्यायाधीश मनोज शर्माको एकल इजलासले आज यस्तो आदेश दिएको हो । अधिवक्ता लोचन भट्टराईले चारै जना पूर्व प्रधानन्यायाधीशविरुद्ध बुधवार सर्वोच्चमा अवहेलना रिट निवेदन दायर गरेका थिए ।

अदालतले वारेसनामा अनुमति दिएको छैन । अब चारै जना लिखित जवाफ बुझाउन ७ दिनभित्र आफै उपस्थिति हुनुपर्ने छ ।

पञ्चकोटमा दैनिक हजार पर्यटक !

गलकोट । केही दिनअघि बागलुङ घुम्न आउनुभएका नेपाल पत्रकार महासङ्घ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली पञ्चकोट पुग्नुभयो । त्यहाँ पुगेपछि उत्साहित मुद्रामा उहाँले भन्नुभयो, “मुस्ताङ मात्र होइन, बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर, सर्वसिद्धिधाम पञ्चकोट, नेपालकै लामो झोलुङ्गे पुलसमेत निकै आकर्षक गन्तव्य रहेछ, अब मुस्ताङ जाने र पुगेकाहरु फर्किने बेला यहाँ आउन छुटाए धेरै राम्रो गन्तव्य ‘मिस’ हुनेरहेछ ।”

पहिलोपटक नै पञ्चकोटले लोभ्याएको भन्दै अध्यक्ष थकालीले मुस्ताङपछिको उत्कृष्ट गन्तव्य पञ्चकोट बन्न सक्ने बताउनुभयो । जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको पञ्चकोटमा अहिले आन्तरिक पर्यटकको उल्लेख्य उपस्थिति हुने गरेको छ । कोरोना भाइरसका कारण घरमै बसेका आन्तरिक पर्यटकको आकर्षण पञ्चकोट बन्दै गएको छ । कोरोनापछि पञ्चकोटमा पछिल्लो समय दैनिक पाँच सयदेखि एक हजारसम्म पर्यटक आउने गरेको पञ्चकोट विकास समितिले जनाएको छ ।

पञ्चकोटमा शुक्रबार र शनिबार पर्यटकको निकै चाप हुने गरेको छ । अन्य समय पनि दैनिक पाँच÷सात सयको हाराहारीमा पर्यटक आउन थालेका छन् । पञ्चकोटमा निर्माण भएको गरुढ शिला, शिसमहल, भौगोलिक वातावरण र त्यहाँबाट देखिने हिमशृङ्खलाले मनै लोभ्याउने गरेको पञ्चकोट घुम्न पुग्नुभएका आन्तरिक पर्यटक सुमन कार्कीको भनाइ छ । पञ्चकोटमा निर्मित धार्मिक कलाकृतिले पनि धेरैलाई लोभ्याउँछ । अहिले पञ्चकोटमा १०८ फिट अग्लो विश्व शान्ति कलश निर्माणाधीन अवस्थामा छ । पर्यटकीय मौसम र मुस्ताङको मुक्तिनाथ मन्दिरसमेत कोरोनापछि खुला भएका कारण बागलुङको पञ्चकोटमा पर्यटक बढेको बागलुङ नगरपालिका–६ का वडाध्यक्ष तथा पञ्चकोट विकास समितिका उपाध्यक्ष खेमराज सापकोटाले बताउनुभयो । “शुक्रबार र शनिबार एक हजारभन्दा बढी पर्यटक आउने गरेका छन्”, उहाँले भन्नुभयो, “आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको पञ्चकोटमा थपिँदै गएका धार्मिक पूर्वाधारले पर्यटक आकर्षित हुने क्रम बढ्दो छ ।”

उपाध्यक्ष सापकोटाका अनुसार अबको केही वर्षमै पञ्चकोटमा दैनिक तीन हजार पर्यटक ल्याउने पञ्चकोट विकास समितिको लक्ष्य छ । जिल्ला सदरमुकामबाट पाँच किलोमिटर दूरीमा रहेको पञ्चकोट पक्की सडकका कारण आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको उहाँको भनाइ छ । स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)को पहलमा पञ्चकोटमा विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माणका लागि विस २०७१ देखि वर्षेनी महायज्ञ सञ्चालन गरी आर्थिक सङ्कलन गरिँदै आएको छ । दक्षिण भारतीय शैलीमा निर्माण भएका मन्दिर र पूर्वाधार निर्माण भइरहेको अवस्थामा नै अध्ययन तथा अवलोकन र पूजापाठका लागि आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हँुदै गएको हो । पाँच वर्षदेखि निर्माणाधीन पञ्चकोटमा झण्डै रु २५ करोडभन्दा बढीको संरचना निर्माण भइसकेका छन् भने मुख्य संरचनाका रूपमा निर्माण हुने विश्वशान्ति कलशको रु ६० करोड लागत लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी अहिले फाउण्डेशनको काम भइसकेको छ ।

बागलुङ नगरपालिकाभित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोट मिलाएर पञ्चकोटको नामकरण गरिएको यस क्षेत्रमा संसारकै अग्लो विश्व शान्ति कलशसमेत निर्माण गरिँदैछ । कलश निर्माणपछि पञ्चकोटमा बाह्य पर्यटकसमेत आउने अपेक्षा गरिएको छ । समुद्री सतहदेखि एक हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट अन्नपूर्ण, धवलागिरि निलगिरिलगायत दर्जन बढी हिमशृङ्खला देख्न सकिन्छ ।

बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भइरहेका ५६७ मिटर लम्बाइको झोलुङगे पुल र कुश्मा बागलुङ जोड्ने गरी निर्माण भई सञ्चालनमा आएको बञ्जीजम्पका कारण बागलुङमा आन्तरिक पर्यटक बढिरहेको बागलुङ होटल व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनापछि थलिएको पर्यटन व्यवसाय क्रमशः उठ्न थालेको छ ।

अस्पताल निर्माणमा आर्थिक सहयोग

बागलुङ नगरपालिका–१३ पैयूँपाटाका भविश्वर शर्माले आफ्नो जन्मदिनको अवसरमा बागलुङ नगर अस्पताल निर्माणका लागि रु एक लाख ११ हजार १११ सहयोग गर्नुभएको छ ।

पैयूँपाटामा नगर अस्पताल निर्माणको लागि सरकारले आफ्नो गाउँलाई छनोट गरेको भए पनि जग्गा अभावपछि आफ्नो जन्मदिनको अवसर पारेर भवन निर्माणका लागि थोरै भए पनि सहयोग पु¥याउने उद्देश्यले आर्थिक सहयोग गरेको शर्माले बताउनुभयो ।

अस्पतालको भवन निर्माण समितिका सदस्यसमेत रहनुभएका शर्माले अस्पताल निर्माणको लागि छनोट गरिएको स्थानमा आफ्नो जमिन नभएका कारण नगद सहयोग गरेको बताउनुभयो । “गाउँमा अस्पताल बन्दा सबैलाई सहज हुन्छ”, उहाँले भन्नुभयो, “अझ धेरै यहाँका ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई सहज हुन्छ । त्यसैले राम्रो काममा सबैले सहयोग गर्नुपर्छ ।” नगर अस्पताल निर्माणका लागि नौ रोपनी जग्गा खरिद गरेर डिपिआरसमेत तयार गरिसकेको बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण पौडेलले जानकारी दिनुभयो । “खरिद गरिएकोमध्ये सात रोपनी जग्गाको मात्र पैसा तिरेका छौँ”, उहाँले भन्नुभयो, “अझै दुई रोपनीको पैसा तिर्न बाँकी छ, त्यसैले सबैको सहयोगको अपेक्षा गरेका छौँ ।”रासस

कालीगण्डकी करिडोरमा कालोपत्र धमाधम हुँदै

थोरै मात्रै ट्रयाक खोल्न बाँकी रहेको कालीगण्डकी करिडोरमा धमाधम कालोपत्र अघि बढाइरहेको छ । सडकका विभिन्न खण्डमा कतै वैदेशिक सहयोगमा त कतै नेपाल सरकारको बजेटबाट कालोपत्र अघि बढाइएको छ ।

दक्षिणमा गैँडाकोटबाट उत्तर कोरोलासम्म जोड्ने उत्तर–दक्षिण करिडोरअन्तर्गत कालीगण्डकी करिडोरमा पहिले खुलिसकेका स्थानमा कालोपत्र अघि बढाइएको उत्तर–दक्षिण तथा व्यापारिकमार्ग विस्तार आयोजना निर्देशनालयले जनाएको छ ।

चार सय १७ किमी लम्बाइको यो करिडोरमा अहिले गैँडाकोटबाट राम्दीसम्म १३२ किमी सडक एक्जिम बैंकको ऋण सहयोगमा निर्माण अघि बढाइएको छ ।

पूरै करिडोरमा गरी १०० किमीबाहेक अरु सडक कालोपत्र गर्न लागिएको निर्देशनालय प्रमुख शिवप्रसाद नेपालले बताए । उनले भने, “कतिपय सडक निर्माण भइरहेका छन् भने कतिपय कालोपत्रका लागि ठेक्का प्रक्रियामा छन् ।”

गैँडाकोटबाट राम्दीसम्मको सडकमा चालु आवमा ३१ किमी ग्राभेल र त्यसमध्ये १० किमी सडक कालोपत्र भएको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ । गत वर्ष पुसमा सडक निर्माणका लागि भारतीय कम्पनीलाई जिम्मेवारी दिइएको थियो । राम्दीबाट कोरोलासम्म नेपाल सरकारको लगानीमा निर्माण भइरहेको निर्देशनालयका प्रमुख नेपालले बताए ।

यो खण्डमा चालु आवमा छ किमीसमेत गरी अहिलेसम्म २१ किमी ग्राभेल भएको छ । राम्दीबाट रिडीसम्म ३० किमी सडक कालोपत्रका लागि बहुवर्षीय सहमति मागिएको छ । करिडोरमा अझैसम्म ४५० मिटर सडकको ट्रयाक खुलिसकेको छैन र सो सडक यही खण्डमा पर्छ ।

कालोपत्रको प्रक्रिया अघि बढ्दासम्म ट्रयाक खुलिसक्ने उनको भनाइ छ । उन भने, “सेनाले ट्रयाक खोलिरहेकाले केही समयभित्रै खुलिसक्ने अपेक्षा गरिएको छ ।”

करिडोरको पहिलो खण्डमा गैँडाकोटबाट राम्दी, दोस्रोमा राम्दीबाट रिडी र तेस्रो खण्डमा रिडीबाट हर्मीचौरसम्मको सडक पर्छ । रिडीबाट हर्मीचौरसम्म १७ किमी सडक कालोपत्रका लागि ठेक्का भइसकेको छ । हर्मीचौरबाट मालढुङ्गासम्म ४९ किमी सडकमा नेपाली सेनाले विस्तारको काम गरिरहको छ । यो खण्डका केही भाग गुल्मी र केही बाग्लुङ जिल्लामा पर्छ । उनले भने, “सेनाले हस्तान्तरण गरेपछि यो खण्डमा पनि कालोपत्रका लागि प्रक्रिया अघि बढाइनेछ ।”

मालढुङ्गाबाट कोरोलासम्म नै सडक कालोपत्रका लागि ठेक्का सम्झौता भइसकको छ । मालढुङ्गाबाट बेनी र बेनीबाट जोमसोमसम्म सडक कालोपत्र गर्ने आयोजनाले जनाएको छ । मालढुङ्गाबाट बेनीसम्म १३ किमी ठेक्का प्रक्रिया अघि बढाइएको प्रमुख नेपालले जानकारी दिए । सो खण्डमा कालोपत्रका लागि सूचना निकाली सकेर ठेक्का मूल्याङ्कनको क्रममा छ । एक÷दुई महिनामै सडक कालोपत्रको काम अघि बढ्ने उनको भनाइ छ ।

बेनीबाट जोमसोमसम्म सडक कालोपत्रका लागि ठेक्का सम्झौता भइसकेको निर्देशनालयले जनाएको छ । सो सडकको लम्बाइ ७६ किमी छ । जोमसोमबाट कागबेनीसम्म ११ किमी सडक कालोपत्रका लागि बहुवर्षीय ठेक्का भएको थियो । कागबेनीबाट मुक्तिनाथसम्म अरु निकायले नै कालोपत्र गरिसकेको छ । जोमसोमबाट मुक्तिनाथ जाने ठाउँ कागबेनीसम्म कालोपत्र गर्ने भनी फाइल अघि बढाइएको प्रमुख नेपालले जानकारी दिनुभयो । जोमसोमबाट माथि भने कालोपत्र गर्न अहिले तत्काल योजना नरहेको आयोजनाले जनाएको छ । कागबेनीबाट कोरोलासम्मको सडक चालु आवमा कालोपत्र गर्ने योजना छैन । सवारी साधनको चाप कम भएको र ग्राभेल सडक समेत अहिलेका लागि काम गर्ने उनले बताए । सो स्थानमा चार महिना हिउँ परेका कारण यातायात चल्दैन । उनले भने, “अझै पनि १०० किमी सडक कालोपत्रको प्रक्रियामा नगएकाले त्यहाँलाई प्राथमिकता नदिइएको हो ।”

करिडोर दुई लेनको हुने बताइएको छ । यसको चौडाइ छ मिटरदेखि नौ मिटरसम्म छ । अधिकांश स्थानमा साढे सात मिटर चौडाइ भए पनि कतैकतै धेरै चट्टान क्षेत्रमा चौडाइ पूरा गर्न नसकेर छ मिटर मात्रै चौडाइ कायम गरिएको प्रमुख नेपालले बताए । कतैकतै सडक नौ मिटरसम्म चौडा छ । उनले भने, “पहिले ट्रयाक खुलिसकेका ठाउँमा सेनाले अहिले पनि विस्तार गरिरहेको छ ।” देशका अधिकांश स्थानको सडकजस्तै यो करिडोरमा पनि अधिकार क्षेत्रको विवाद छ । बस्ती क्षेत्रमा बढी समस्या रहेको प्रमुख नेपालले बताए । अहिलेसम्म आयोजनाले घर टहराको मुआब्जा दिए पनि जग्गाको मुआब्जा दिएको छैन । काम गरिरहेको भए पनि वातावरण सहज नभएको उनको भनाइ छ । उनले भने, “आएका विवाद समाधान गर्दै काम अघि बढाइएको छ ।”

कोशी र कणाली करिडोरभन्दा यो करिडोरमा ट्रयाक चाँडो खुलिसक्ने देखिएको छ । यी दुई करिडोरमा चट्टान नै चट्टान भएका ठाउँमा समेत विभागले नै काम गरिरहेकाले ढिलाइ भएको प्रमुख नेपालले बताए । कालीगण्डकी करिडोरमा भने यी ठाउँमा सेनाले नै ट्रयाक खोलिरहेका छन् । उनले भने, “हामीले काम गरे पनि विस्फोटक पदार्थ सेनाले ल्याएर काम गर्ने हुँदा ढिला हुन्छ, सेनाले नै गर्दा काम छिटो हुने गर्छ ।”रासस

एक्सनमा उत्रियो निर्वाचन आयोग, दुवै पक्षलाई बोलाईयो !

काठमाडौं । विवादका विषयमा निर्वाचन आयोगले केपी ओली र पुष्पकमल दाहाल–माधव नेपाल समूह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाको दुवै समूहसँग छलफल गर्ने भएको छ ।

आयोगले नेकपाका दुवै पक्षलाई छुट्टाछुट्टै पत्र लेखेर आज छलफलका लागि कार्यालयमा बोलाएको हो । आयोगले मतदाता नामावली र निर्वाचन केन्द्रका विषयमा छलफल गर्न आफूहरूलाई बोलाएको एक नेताले बताएका छन ।

आयोगले बिहान साढे ११ बजे दुवै समूहबाट पाँच–पाँच जनालाई छलफलका लागि बोलाएको छ ।

हामी सबैभन्दा अनुशासित छौं, अब सच्चा कम्युनिस्ट पार्टी बन्छ : केपी ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टी झन् एकताबद्ध भएर अगाडि बढेको बताएका छन्। नेपाल ट्रेड युनिययन महासङ्घ (जिफन्ट) को राष्ट्रिय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले पार्टी शुद्धीकरणको अभियान अगाडि बढेको र पार्टीभित्र विकृति, अराजकता र स्वार्थी प्रवृत्तिको किनारा लागेको बताए।

“पार्टी शुद्धीकरणको अभियान चलेको छ, कोही पनि निराश हुनु पर्दैन”, उनले भने, “आज पार्टीमा जुन एकता देखिएको छ, त्यो कति वर्षदेखि थिएन, आज हाम्रो पार्टी सबैभन्दा बढी एकताबद्ध पार्टी भएको छ। सबैभन्दा अनुशासित पार्टी हाम्रो पाटी हो।”

उनले नेकपा एक विचार, एक मन, एक उद्देश्य, एक धारणाका साथ समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न एकजुट भएर लागेको बताए। अबको आन्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुुनुपर्नेमा जोड दिँदै उहाँले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्न कम्युनिष्ट पार्टी मजबुत हुनुपर्ने बताए। “सही विचार बोकेको र एकताबद्ध कम्युनिष्ट पार्टीले मात्र आन्दोलनलाई गति साथ हाँक्न सक्छ”, उनले भने, “हामीलाई अनुशासित र गतिशील पार्टी चाहिएको छ, आज हाम्रो पार्टी त्यस्तै बनेको छ, आज हामी विचारमा कुनै अलमलमा छैनौँ।” सरकार सुखी नेपाली समृद्ध नेपालीको नारा बोकेर अघि बढेको र त्यसबाट किञ्चित पछि नपर्ने दृढता व्यक्त गरे।

आफूले बारम्बार योग्यता र क्षमता भएका व्यक्तिलाई कामको जिम्मेवारी दिन खोज्दा भाग खोजेर हैरान पारेको गुनासो उनले भने सरकारले गरेको जनपक्षीय कामलाई गुमराहमा राखेर केही सञ्चार माध्यममले सरकारको कामको खोइरो मात्र खनेको आरोप लगाउँदै उनले वामपन्थी सरकार ढाल्ने अभियानमा पार्टीभित्रैका केही व्यक्ति लागेको बताए।

नेपालको परिवर्तनमा मजदूर आन्दोलनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले सम्पूर्ण श्रमिकलाई एकताबद्ध बनाएर लैजान आग्रह गरे। मजुदूर आन्दोलनलाई विभाजित गर्ने प्रयास भइरहेकातर्फ सचेत हुन आग्रह गर्दै उनले विभाजित व्यक्तिलाई पनि एकताबद्ध बनाएर लैजान सुझाव दिए। “बाटो विराएका मजदूर साथीलाई यस बाटोमा समाहित गर्नुपर्छ”, उनले भने, “नेपालमा एकताबद्ध मजदूर आन्दोलन निर्माण गरिनुपर्छ।” करार र दैनिक ज्यालादारीमा रहेका ३० हजार सरकारी कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले अब नेपालमा कोही पनि भोकै नमर्ने रनपर्ने जिकिर गरे। बेसहाराको अभिभावकत्व सरकारले लिने बताउँदै उनले बालबालिका तथा ज्येष्ठ नागरिकको प्रबन्ध पनि सरकारले गर्छ भने।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले सरकारले मजदूरका पक्षमा विभिन्न कदम चालेको बताए। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा जिफन्टका पूर्वअध्यक्ष विष्णुप्रसाद रिमालले पार्टीकै शीर्ष नेताले जहिले पनि सरकारका कामको विरोध गर्दै आएको आरोप लगा । “उहाँहरुले कहिल्यै सरकारको कामलाई जनतासमक्ष लैजाने काम गर्नुभएन, प्रतिपक्षीभन्दा पनि चर्कोरुपमा सरकारको आलोचना गर्नुभयो”, उनले भने जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले मुलुकमा फेरि पनि श्रमिकपक्षीय सरकार निर्माण गर्न आगामी वैशाखमा हुने निर्वाचनमा सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएका थिएनन्।

नेकपा फुट्न रोक्ने दुई दफामा के छ ?

खण्डित दललाई जब निर्वाचन आयोगले ‘फुटेको भन्न मिल्दैन’ भनिदियो, प्रश्न उब्जिएको छ, ‘अब के हुन्छ ?’

कानुनविद्हरू भन्छन्– कि बाध्य भएर मिल्नुपर्छ, कि कानुनी झन्झट सामना गर्नै पर्छ। त्यसका लागि राजनीतिक दलसम्बन्धी (पहिलो संशोधन) ऐन, २०७४ का दफा ३३ र ४४ हेरे पुग्छ।
विवादबाट जोगिन आयोगले कानुनको डिल नाघ्न सकेन। भनिदियो, ‘केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपा नै अन्तिम आधिकारिक हो। जसमा दुई वरिष्ठ नेता, एक महासचिव र एक प्रवक्ता छन्। चार सय ४१ जनाको केन्द्रीय समिति छ।’

विभाजन प्रक्रियामा जाने भए ऐनको दफा ४४ अनुसार आउन उसले त्यसअघि दुवै पक्षलाई पटक–पटक सचेत गराएको थियो। त्यो दफा राजनीतिक दल विभाजन गरी नयाँ निर्माण गर्नेसम्बन्धी हो। त्यसमा टेक्न दुवै पक्षले आनाकानी गरे।

दफा ४४ अन्तर्गत जो जान्थ्यो, उही फुटेको ठहर्ने जोखिम हुन्थ्यो। मूल दलमा हकदाबी गरिरहेका दुवै पक्ष फुटेको देखिन चाहँदैन थिए। त्यही भएर उनीहरू यसमा हच्किए।
अब भने दफा ४४ प्रयोग गर्ने हदम्याद सकिएको छ।

फेरि कुनै पक्ष वा दुवै पक्ष अन्य कुनै दफाको सहारामा विभाजनको माग राख्दै कथंकदाचित आयोग गए भने पनि अर्को दफाले विभाजन रोक्न सक्छ। ऐनमा त्यसको प्रस्ट व्यवस्था छ।

दफा ३३ को उपदफा (२) र (३) लाई केलाउने हो भने नेपालका ठूला राजनीतिक दलमा तत्काल कांग्रेसबाहेक कसैले फुट्न पाउँदैनन्। कानुनले फुटेर वा जुटेर बनेका दललाई ५ वर्ष विभाजन हुन रोकेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

शहीदको सपना साकार पार्ने काममा मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल भएको बताएकी छन् । शहीद दिवसका अवसरमा आज सन्देश दिँदै राष्ट्रपति भण्डारीले भनेकी छन्, “शहीदको सम्मानमा गरिने अनुष्ठानले उहाँहरूको सङ्घर्ष र त्यागको मर्मलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।”

नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण अमर शहीदप्रति राष्ट्रपतिले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै राष्ट्रपतिले नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरूद्धका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीरवीराङ्गनाप्रति सम्मान व्यक्त गरेकी छन्।

शहीद दिवसले हामीहरुलाई शहीदले गरेको  सर्वोच्च त्यागको स्मरण गराउने जनाउँदै राष्ट्रपतिले भनेकी छन्, “शहीदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने मैले विश्वास लिएको छु ।”

देशलाई द्रुत आर्थिक विकाससहितको समृद्ध राष्ट्र बनाउने शहीदको सपना साकार पार्ने काममा मन, वचन र कर्मले समर्पित हुन शहीद दिवसले सबैलाई हौसला दिने राष्ट्रपतिको सन्देशमा उल्लेख छ । हरेक वर्ष माघ १६ गतेलाई शहीद दिवसका रूपमा मनाउने गरिएको छ ।

रातोपाटी

आज शहीद दिवस : देश र जनताको लागि जीवन त्याग गर्ने शहीदकाे सम्मानमा मनाइँदै

काठमाडाैँ  ।

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए

कवि भूपि शेरचनको एक कविताको अंशले हरेक दिन गगनका तारा झरेर अनि सूर्यको प्रकाशको पदार्पणसहित मान्छेले आफ्नो दैनिकी शुरु गरेजस्तै मुलुक बन्नका लागि पनि हरेक ऐतिहासिक कालखण्डमा वीर सपूतहरुको बलिदान चाहिन्छ भन्ने तात्पर्य बुझाँउछ ।

देश र जनताको अधिकारका लागि जीवन आहुति दिने तिनै शहीदहरुको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ ।

महान शहीदहरू धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र लखन थापामगर

महान शहीदहरू धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र लखन थापामगर राणा शासनविरूद्ध लडेका शहीदहरूको सम्झनामा शहीद दिवस मनाउन थालिएको हो । यस दिन शहीद धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र लखन थापामगर लगायतका शहीदहरूको सम्झना गरिन्छ ।

यही दिवसका अवसरमा राष्ट्रपति, उराष्ट्रपति र प्रधानमन्त्रीले शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुनेछ । प्रत्येक बर्षको माघ १६ गतेलाई देशको परिवर्तनमा आफ्नो ज्यान गुमाएका वीर शहीदहरुको सम्झनामा शहीद दिवस मनाउने गरिन्छ । विक्रम सम्वत १९९७ सालमा तत्कालीन राणा शासकहरुले नागरिक स्वतन्त्रताको माग गरेको भन्दै स्वतन्त्रता आन्दोलनका अगुवाहरुलाई मृत्युदण्ड दिएको थियो ।

वीर शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथचन्द ठकुरीलाई माघ १५ गते शोभा भगवतीमा र लखन थापामगरलाई विसं १९३३ फागुन २ गते बुङ्कोटको काउले भँगारमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

राष्ट्रपतिद्वारा श्रद्धा

यसैबिच राष्ट्रपति बिद्यादेवी भण्डारीले इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनमा राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदको योगदानको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले शहीदहरुको त्यागले नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सफल भएको बताउँदै वीर, अमर, त्यागी र भविष्यद्रष्टा शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

शहीद दिवसले हामीहरुलाई शहीदले गरेको सर्वोच्च त्यागको स्मरण गराउने जनाउँदै राष्ट्रपतिले भन्नुभएको छ, ‘शहीदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने मैले विश्वास लिएको छु ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल भएको बताउनुभएको छ । शहीद दिवसका अवसरमा आज सन्देश दिँदै राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘शहीदको सम्मानमा गरिने अनुष्ठानले उहाँहरूको सङ्घर्ष र त्यागको मर्मलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।’न्युज२४

देशलाई द्रुत आर्थिक विकाससहितको समृद्ध राष्ट्र बनाउने शहीदको सपना साकार पार्ने काममा मन, वचन र कर्मले समर्पित हुन शहीद दिवसले सबैलाई हौसला दिने राष्ट्रपतिको सन्देशमा उल्लेख छ । हरेक वर्ष माघ १६ गतेलाई शहीद दिवसका रूपमा मनाउने गरिएको छ ।

‘बाजे वकिल’का कारण प्रधानमन्त्रीलाई तनाव !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाजे वकिल भनेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी अहिले चर्चामा छन् ।

एक कार्यक्रममा प्रधानमन्त्री ओलीले एक जना बाजे वकिललाई लगेछन् तमासा गर्न भनेपछि भण्डारी चर्चामा आएका हुन् ।

भण्डारी चर्चामा मात्रै आएनन् प्रधानमन्त्री ओलीलाई यो अभिव्यक्ति महंगो परेको छ ।

वाजे वकिलको तामासा भनेर अदालतकै अवहेलना भएको भन्दै् अधिवक्ता कञ्चन कृष्ण न्यौपाने र कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरुद्ध रिट निवेदन दायर गरे।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले उक्त अभिवक्तिमा प्रधानमन्त्री ओलीसँग कारण मागेको छ ।

अदालतले ७ दिनभित्र लिखित जवाफसहित आफै उपस्थित हुन प्रधानमन्त्री ओलीका नाममा आदेश जारी गरेको छ ।

बाइडेन आएसँगै किन सक्रिय बने बेरी ?

पछिल्लो समय नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीको दौडधुप बाक्लिएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले माघ ७ गते शपथ लिएसँगै अमेरिकाको भित्री र बाहिरी नीतिमा चलायमान देखिन थालेको हो ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक तथा भूराजनीतिक मामिला विज्ञ रुपक सापकोटा चीनको उदय र पछिल्लो समय अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा फेरबदल आउन खोजिरहेको अवस्थालाई बाइडेन प्रशासनले प्राथपिमकतामा राखेको बताउँछन् । उनका अनुसार नेपाल र विश्वभरिकै चीनसँग नजिकको सम्बन्ध राखिराखेका मुलुकहरुसँग चीनभन्दा आफूहरु बढी लोकतान्त्रिक रहेको सन्देश दिँदै बाइडेन प्रशासनले बढी आर्थिक सहयोगको प्रत्याभूति दिन खोजेको देखिन्छ ।

नयाँ प्रशासन आए पनि हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी चासो अझ बढ्ने देखिन्छ ।  अमेरिकी राजदूत बेरीको अहिलेको भेटवार्तालाई उक्त हिन्द प्रशान्त राणनीति कार्यान्वयनको एक महत्त्वपूर्ण पक्षको रुपमा हेरिएको छ ।

राजदूत बेरीले आफ्नो भेटवार्तामा जोड दिएको अर्को विषयमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को थियो । त्यस्तै, लामो समयदेखि नेपाल अमेरिकाको प्राथमिकतामा पर्नुको अर्को कारण हो, तिब्बत मामिला ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

फरार अभियुक्तलाई धमाधम फूलमाला,: हत्या गर्नेदेखि रातो पासपोर्ट बेच्नेसम्म ओलीसमूहमा प्रवेश

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस १५ गते सुदूपश्चिमस्तरीय कार्यकर्ता भेलामा पूर्वजनमुक्ति सेनाका कमान्डर कालीबहादुर खामलाई एकाएक सम्झिए । सार्वजनिक कार्यक्रममा खामको स्मरण गर्नुअघि ओलीले उनलाई बालुवाटारमा एकपटक भेटिसकेका थिए ।

खाम पूर्वमाओवादी लडाकुमात्रै हुन्थे भने ओलीले उनलाई सम्झिनु विशुद्ध राजनीतिक विषय हुन सक्थ्यो । तर माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६५ वैशाखामा काठमाडौँ कोटेश्वरका रामहरि श्रेष्ठ हत्यामा अदालतले दोषी किटान गरेका व्यक्त हुन् खाम । अहिले नेकपा विभाजित भएपछि १२ वर्षदेखि प्रहरीको ‘फरार’ सूचीमा रहेका खामको बालुवाटार आउजाउ बाक्लिएको छ ।

रातो पासपोर्ट बेचेको अभियोग लागेका सर्लात्हीका शिवपूजजन राय दुई साताअघि ओली नेतृत्वको नेकपामा प्रवेश गरे । २०७४ सालको निर्वाचनमा तत्कालीन माओवादीमा प्रवेश गरेर उनले प्रतिनिधिसभा सदस्यको उम्मेदवार दिएका थिए । निर्वाचन आयोगले रातो पासपोर्ट कान्डमा दोषी रहेको भन्दै अन्तिम समयमा उम्मेदवारी रद्द गरिदिएपछि उनी उठ्न पाएनन् । उनै राय अहिले ओली नेतृत्वको नेकपमा प्रवेश गरेका हुन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलले मञ्चबाटै रायमाथि लागेको मुद्दा खारेज गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

विस्फोटक पदार्थसम्बन्धी मुद्दामा अदालतले कैद सजाय सुनाएपछि फरार रहेका अभियुक्त रामनारायण यादवलाई उपप्रधानमन्त्री पोखेरलले फूलमाला लगाएर स्वागत गरे ।

गौरहत्याकान्डमा दोषी किटान भएका र नेपाल र भारतमा समेत दर्जनौँ मुद्दा खेपिरहेका बबन सिंह ओली नेतृत्वको नेकपामा प्रवेश गरिसकेका छन् ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

मुलुककै सबैभन्दा पुरानो चन्द्रनहर जीर्ण बन्दै

राजविराज । सप्तरीस्थित मुलुककै सबैभन्दा पुरानो चन्द्रनहर अतिक्रमणमा परेको छ । साथै आवश्यक मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको छ ।

सरकारले सिँचाइका लागि पर्याप्त ध्यान नदिएका कारण सप्तरीस्थित ऐतिहासिक यो नहर जीर्ण अवस्थामा पुगेको हो । चन्द्रनहरको वरिपरि बस्ने मानिसहरुले नै अतिक्रमण गरेपछि चन्द्रनहर प्रतिदिन जीर्ण बन्दै गएको हो । नहरको डिलमा मानिसहरु घर बनाउनेदेखि लिएर विभिन्न घरेलु समानहरु राखेर अतिक्रमण गर्ने गरेका छन् । साथै नहरमा थोरै पानी आउने समयमा पनि सिँचाइको लागि विभिन्न ठाउँमा भत्काउँदा समेत नहर अतिक्रमित भएको तिरहुत गाउँपालिका वडा नं १ का स्थानीय विजय यादवले बताए ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले विसं १९८० मा निर्माण गरेको नहरले जिल्लाको कुल ११ हजार हेक्टर जग्गामा सिँचाइको क्षमता छ । नहरको मर्मत सम्भार नहुँदा एक दशकदेखि कुल क्षेत्रमध्ये आधा भागमा मात्र सिँचाइ हुने गरेको पाइएको छ ।वर्षायाममा आउने बाढीबाट विभिन्न ठाउँमा वर्षेनी नहर भत्किने गरेकोमा त्यसको पनि मर्मत हुने गरेको छैन । नरह मर्मत हुन नसक्दा सिँचाइ सुबिधाबाट यहाँका किसान वञ्चित भएका छन् ।  विसं २०७३ मा आएको भिषण बाढीले जिल्लाको सुब्बाटोल, वुधेवा, महुली, गंगाजली, मैनाकडेरी, बढहरा लगायत एक दर्जन स्थानमा नहर भत्किएको थियो । नहर मर्मतका लागि अहिलेसम्म रु नौ करोड खर्च गरिएको भएपनि त्यो रकम अपुग भएको कोशी पम्प चन्द्र नहर डिभिजन कार्यालयले जनाएको छ ।

डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत् सरकारी बजेट समाप्त पार्ने काम गरेपनि मर्मत सम्भारको कार्य गुणस्तरीय हुन सकेको छैन । सिँचाइ क्षेत्रमा सरकारले उचित लगानी गर्न नसकेका कारण आयोजनाहरु अलपत्र र जीर्ण अवस्थामा रहेको पाइएको छ । मङ्सिर र पुसमा लगाइएको गहुँ बालीलाई पानी चाहिएको भए पनि अहिले चन्द्रनहर वरपरका किसानहरुलाई नै समस्या परेको स्थानीय किसान महेन्द्रप्रसाद यादवले गुनासो गरे । उनी भन्छन् ‘‘हामीले खेतीको समयमा पनि यस चन्द्रनहरबाट पाउनुपर्ने सुबिधाबाट वर्षेनी वचित भएका छौँ । यो समस्या हामीलाई मात्रै होइन बलकी सप्तरीको पूर्वी तथा उत्तरी भेगका हजारौँ किसानको रहेको छ । यसप्रति सिँचाइ डिभिजन र नेपाल सरकारले समेत ध्यान नदिएका कारण किसानहरु चर्को मूल्य तिरेर सिँचाइ गर्नुपरेको छ ।’’

चन्द्रनहर सिँचाइ योजना गतवर्षको बाढीको कारण विभिन्न ठाउँमा भत्किएर जीर्ण अवस्थामा रहेको भएपनि बजेट अपुग भएका कारण मर्मत र उचित सिँचाइ सुविधा उपलब्ध गराउन गाह्रो भएको कोशी पम्प चन्द्र नहर डिभिजन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद साहले बताए । सप्तरीमा कूल ८३ हजार २३० हेक्टर कृषियोग्य जग्गा छ । यसमध्ये ४५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यले योजनाहरु सञ्चालन भएपनि २८ हजार ६२४ हेक्टरमा मात्र सिँचाइ भइरहेको छ ।यहाँ विगत करिब दश वर्षदेखि सिँचाइको अभाव र निरन्तरको खडेरीका कारण सरदर ५५ देखि ६० हजार हेक्टरमा मात्र धान खेती हुने गरेको छ । यसका कारण उत्पादन पनि दुई मेट्रिक टनमा झरेको कृषि ज्ञान केन्द्रको भनाई छ ।

सप्तरीको पुर्वी भेग तोपा, मंसापुर, भगवतपुर, महदेवा, बथनाहा, इनर्वा, भारदह, चक्ला, विषहरिया, गाउँहरुमा चन्द्र नहरको आशामा हजारौं हेक्टर जग्गामा गहुँ खेती लगाउने गरेकोमा प्रत्येक वर्षायाममा समेत पानी नपाएका कारण कृषकहरु चर्को मूल्यमा डिजल तथा विद्युतीय प्रणालीबाट सिँचाइ व्यवस्था मिलाउने गरेका छन् । सप्तरीका दुई सिँचाइ मुहान कोश पम्प नहर र चन्द्र नहरलाई व्यवस्थित गर्न सके सिँचाइलाई सजिलो हुने छ । साथै सप्तरीको विकासको लागि कृषि क्षेत्रलाई प्रमुख रुपमा राखेर आधुनिकीकरण गरी उत्पादन क्षमतामा वृद्धि गर्नुपर्ने देखिन्छ ।

झण्डै १०० वर्ष अघि बनेका चन्द्र नहरको विविध ठाउँका पुलमा सिमेन्टको प्रयोग गरेको देखिँदैन । ती पुलहरु पनि जीर्ण बन्दै गएका छन् । जिल्लाको कञ्चनपुर, बरगाँछी, चाँदनी चोकमा रहेका चन्द्र नहरका पुल एक शताब्दी पुग्न लागेका छन् । त्रियुगा नदीको पानी फत्तेपुरबाट नहरमा पठाइने यो चन्द्रनहरले सप्तरी जिल्लाको ठूलो क्षेत्रमा सिँचाइ सुविधा पुर्याइराखेको छ । अहिले भने विभिन्न ठाउमा तहर जीर्ण छ, जसका कारण सिँचाइमा कठिनाइ भइरहेको देखिन्छ । यो नहर विसं १९८५ मा निर्माण शुरू भई १९८९ मा तयार भएको इतिहास पाइन्छ ।

नेपालका पहिलो सिभिल इञ्जिनियर डिल्लीजंग थापाले श्री ३ चन्द्रशमशेरको पालामा सप्तरीको सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा देशको पहिलो सिँचाइ परियोजना चन्द्रनहर निर्माण थालेको पाइन्छ । प्रतिसेकेण्ड चौध घनमिटर पानी प्रवाह गर्ने क्षमताको करिब ३१ किलोमिटर लामो सो नहरबाट १० हजार ५०० हेक्टर जमीनमा सिँचाइको क्षमता छ तर त्यो क्षमता अनुसारको पानी यति बेला प्रवाह हुन सकेको छैन । त्रियुगा नदीमा बाँध बाँधेर निर्माण गरिएको नहरमा त्यसबेला सिमेन्ट प्रयोग गरिएको थिएन र पाको इँटको धूलो, चुन र मास मिसाई बनाइएको बज्र प्रयोग गरी बाँध बनाइएको स्थानीयवासीको भनाई छ ।

आज २०७७ माघ १६ गते शुक्रबारकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशिष्ठ व्यक्तिको साथ पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश,जाँगर र हिम्मत बढ्नेछ । शेयर बजारको कारोवार सफल नै हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउने र जोश जाँगर बढ्नेछ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता पाईएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभ समाचार सुन्न पनि पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मान प्रतिष्ठामा बृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) निर्णायक क्षमतामा कमी आउनेछ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आँटेको र ताकेको कार्य पुरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज न्यायिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद बढ्न सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति पनि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । शेयर बजारबाट सफल मिल्नेछ । पुनर्मिलनको योग पनि छ ।

कमला कुम्भ रामघाट दिव्य महाकमला आरती ऐतिहासिकः मेयर बरबरिया

जनकपुरधाम ।धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले कमला बचाउ अभियानलाई छिमेकी मुलुकसम्म विस्तार गर्नुपर्ने बताएका छन् ।

विहिबार तेस्रो महाकमला स्नान र कमला आरतीको क्रममा बोल्दै मेयर बरबरियाले व्यक्ति व्यक्तिबाट प्रारम्भ गरिएको कमला बचाउ अभियान स्थानीय तह हुँदै प्रदेश सरकारसम्म गएको भन्दै अन्तराष्ट्रिय अभियानको रुपमा जोडनुपर्ने धारणा राखे ।

ऐतहिासिक मानिएको कमला नदी धनुषा जिल्ला सहित छिमेकी राष्ट्र भारतको विहारसम्म समेत पुगेको भन्दै उनले सिँगो नदीको अस्तित्व बचाउनको लागि भारतसम्मै अभियानलाई जोडनुपर्ने उनको कथन थियो ।

उनले भने, –“यहाँ धनुषाका ५ स्थानीय तह र सिरहाका ४ स्थानीय तह गरी कुल ९ स्थानीय तहले मात्र सहयोग गरे कमला बचाउ अभियानले नयाँ उचाई पाउने निश्चित छ, तर शहिदनगर नगरपालिका र सिरहा नगरपालिकाले मात्र अहिलेसम्म बढी समन्वय गरेको छ । अन्य स्थानीय तहले समेत चासो लिए अभियान तीव्रता पाउनेछ ।”

प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री जीतेन्द्र सोनलको प्रमुख आतिथ्यमा भएको तेस्रो कमला महाआरतीमा जल सँकल्प लिँदै मन्त्री सोनलले कमला बचाउ अभियानको लागि चालिएको कदमको सराहना गर्दै यहाँका स्थानीय सरकार र अभियानीहरुले देखाएको अग्रसरताको प्रशंसा गरे ।

उनले कमला बचाउ अभियानको लागि प्रदेश सरकारदेखि लिएर केन्द्र सरकारसम्मलाई ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गरे । उनले धार्मिक र पौराणिक इतिहास बोकेको कमला नदीको अस्तित्व संरक्षण आवश्यक रहेको बताए ।

कमला महाआरतीमा जनता समाजवादी पार्टीका सचेतक एवम् विद्यायक परमेश्वर साह, समाजसेवी प्रभु दयाल जलान, अभियानीहरु बीरेन्द्र यादव, सुरेन्द्र यादव, राजकिशोर सल्हैता, श्याम महतो लगायत साधुसन्तहरुको सहभागीता रहेको थियो ।

शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाको परिकल्पना र अठोटले नगरपालिकाको वडा नं. १ रामघाटमा प्रत्येक महिना पूर्णिमाको दिन महाकमला आरती हुँदै आएको छ ।