७ भाद्र २०७७, आईतवार १६:२० – Page 4 – Nagarikabhiyan : National News

सर्लाहीमा निषेधाज्ञाको म्याद तेस्रो पटक एक साताका लागि थपियो

जनकपुरधाम । सर्लाहीमा निषेधाज्ञाको म्याद तेस्रो पटक एक साताका लागि थप गरिएको छ ।

अब जिल्लामा आगामी भदौ १४ गतेसम्मका लागि निषेधाज्ञा जारी रहनेछ । कोरोना सक्रमण फैलिने क्रम नरोकिएपछि निषेधाज्ञाको म्याद थप गर्नुपरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय समितिको आइतबार बसेको बैठकले निषेधाज्ञा थप्ने सिफारिस गरेपछि समय थप गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

पछिल्लो पटक साउन ३२ साउनदेखि भदौ ७ गतेसम्म र त्यसअघि साउन २६ गतेदेखि ३२ गतेसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।

नेपालमा हातहतियारको कारोबार गर्ने मस्ट वान्टेड बग्गा पक्राउ

विराटनगर । नेपालमा हातहतियारको कारोबार गर्ने भारतीय अपराधी गिरोहका नाइके बग्गा भनिने प्रदीप यादव विराटनगरबाट पक्राउ परेका छन् ।

प्रहरीको अत्याधिक खोजी सूचीमा रहेका हातहतियार खरखजाना तथा लागूऔषध मुद्दाका फरार प्रतिवादी समेत रहेका बग्गा विराटनगर-१६ दरैयाबाट लागूऔषधसहित पक्राउ परेका हुन् ।

भारतमा बसी नेपालका विभिन्न जिल्लामा अबैध रुपमा हातहतियार तथा लागूऔषधको कारोबार सञ्जाल बिस्तार गर्दै आएको प्रहरीको दाबी छ ।

भारतको बिहार राज्यस्थित अररिया जिल्ला ईन्द्रनगर ग्रामपञ्चायत-१० टिकुलिया टोलका ३९ वर्षीय यादवलाई मोरङ प्रहरीले शनिबार अपरान्ह पक्राउ गरेको हो ।

यादवको साथबाट प्रहरीले अवैध लागूऔषध डाइलेक्स डिसी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्कीसमेत बरामद गरेको जनाइएको छ ।

यादवले विभिन्न मितिमा उदयपुर, सुनसरी, मोरङ र ललितपुरमा विभिन्न स्थानमा रहेका व्यक्तिहरुलाई अवैध साना हातहतियार र त्यसका गोलीहरु बिक्री गर्दै आएको खुलेको हो । पक्राउ परेका यादवमाथि थप अनुसन्धान जारी रहेको मोरङ प्रहरीले जनाएको छ ।

सुनसरीमा थपियो १४ गते सम्मकालागि निषेधित क्षेत्र

इनरुवा । सुनसरीमा निषेधित क्षेत्रको समय अवधि बढाइएको छ । यसअघि जारी गरेको निषेधित क्षेत्रको अवधि आज राती सकिने भएपछि सुनसरी प्रशासनले १४ गते सम्मकालागि उक्त अवधि लमब्याएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाए अनुसार जिल्लाभर भदौ १४ गते राती सम्म निषेधित क्षेत्र कायम रहने छ । सुनसरी प्रशासनले तेस्रो पटक आज निषेधित क्षेत्रको अवधि बढाउने निर्णय गरेको हो ।

जिल्लामा कोरोना भाइरसको जोखिम बढ्दो क्रममा रहेकाले निषेधित क्षेत्रको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

अमेरिकी सरकारको आदेशविरुद्ध अदालत जाँदै टिकटक

काठमाडौं । छोटो भिडियो शेयर गरिने लोकप्रिय एप टिकटक तथा उसको मातृ कम्पनी बाइट डान्ससँग कारोबारमा रोक लगाउने अमेरिकी सरकारको कार्यकारी आदेशविरुद्ध टिकटकले अदालतको ढोका ढक्ढकाउने भएको छ ।

यही सोमबार टिकटकले ट्रम्प प्रशासनको आदेशविरुद्ध अदालतमा अपिल गर्ने तयारी गरिरहेको रोयटर्सले उल्लेख गरेको छ ।

गत अगष्ट ११ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै चिनियाँ कम्पनी बाइट डान्सलाई उसको टिकटक एपको अमेरिकामा रहेको व्यवसाय कुनैपनि अमेरिकी कम्पनीलाई बिक्री गर्न ९० दिनको समयसीमा दिएका थिए ।

उक्त आदेशसँगै बाइट डान्सले अमेरिकामा टिकटक बिक्रीका लागि माइक्रोसफ्ट तथा ओरेकल लगायतका कम्पनीहरुसँग छलफल अगाडि बढाइरहेको छ । टिकटक खरीद प्रक्रियामा बाइट डान्सका अमेरिकी लगानीकर्ताहरुसमेत सामेल हुनसक्ने बताइएको थियो ।

अमेरिकी सरकारविरुद्ध टिकटकले दिन लागेको कानूनी चुनौति खासगरी अगष्ट ६ को कार्यकारी आदेशविरुद्ध हो । उक्त आदेशअनुसार ट्रम्पले वाणिज्य मन्त्रालयलाई आगामी ४५ दिनभित्रमा अमेरिकामा बाइट डान्स कम्पनीसँग भइरहेका कारोबार तथा लगानीहरुको विवरण पेश गर्न भनिएको थियो ।

यस्तो आदेश अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी कानुन विपरीत रहेको उसको जिकिर छ । साथै आफूलाई अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि चुनौति भएको भनेर ह्वाइट हाउसले लगायतको आरोपविरुद्ध पनि उसले अदालतमा उजुरी गर्नेछ ।

यद्यपि टिकटकले कुन अदालतमा मुद्दा हाल्न लागेको हो भन्ने प्रष्ट भएको छैन । टिकटकले यसअघि नै अमेरिकी सरकारको आदेशविरुद्ध कानुनी विकल्पबारे अध्ययन गरिरहेको र कर्मचारीहरुले समेत छुट्टै मुद्दाको तयारी गरिरहेका जनाएको थियो ।

टिकटकले ट्रम्प सरकारको अगष्ट ६ को कार्यकारी आदेशविरुद्ध अदालतमा दायर गर्ने मुद्दाका कारण टिकटकको अमेरिकी व्यवसाय बिक्री सम्बन्धी बाइट डान्सद्वारा अघि बढाइएको छलफल भने प्रभावित हुने छैन । यसबाट अमेरिकामा टिकटक बिक्रीका लागि छलफल अगाडि बढाइरहेको बाइट डान्सले व्यवसाय बिक्रीको सौदावाजी असफल भएको खण्डमा सस्तो मूल्यमा हठात् टिकटक बिक्री गर्नु नपरोस् भन्नका लागि उपलब्ध सबै कानुनी विकल्पहरुको प्रयोग गरिरहेको देखिन्छ ।

युवा तथा किशोर–किशोरी पुस्तामाझ सर्वाधिक लोकप्रिय भिडियो शेयरिङ एप टिकटकले प्रयोगकर्ताका डाटाहरु चीन सरकारलाई उपलब्ध गराउने गरेको आरोप अमेरिकाको छ । चिनियाँ एपहरुलाई विश्वास गर्नलायक नभएका एपहरुको रुपमा वर्गीकरण गरेको अमेरिकाले टिकटक मात्र नभई विच्याटलाई समेत प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ ।

–एजेन्सीको सहयोगमा

इटहरीका प्रहरी प्रमुख सहित ३ जना उपर छानविन गर्न बनेको समितिको कार्यप्रति अधिकारकर्मीको आशंका,दोषी चोख्याउने खेल भए महिला आयोगमा उजुरी हाल्ने

इटहरी । जबरजस्ती करणी उद्योग लगायतका मुद्धामा आर्थिक चलखेल गरेको बिषयमा इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख सहित ३ प्रहरीमाथि छानविन गर्न बनेको समितिको कार्यप्रति महिला तथा मानवअधिकारर्कीहरुले आशंका व्यक्त गरेका छन् । प्रहरी उच्च स्रोतका अनुसार छानविन समिति प्रतिवेदन तयार पारिसकेको र आज या भोलि भित्रमा बुझाउने योजनामा रहेको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगर र संघीय इकाइ प्रहरी कार्यालय कोशी धरानबाट अलग अलग २ वटा छानविन समिति निर्माण गरिएको थियो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका तर्फबाट प्रहरी उपरिक्षक दीपक पोख्रेल र संघीय इकाइ प्रहरी कार्यालय धरानका तर्फबाट जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरिक्षक विनोद शर्माको संयोजकत्वमा छानविन समिति निर्माण भएको थियो ।

२ समिति मध्ये प्रदेश नम्बर १ प्रहरी कार्यालयको तर्फबाट बनेको छानविन समितिको संयोजक दीपक पोख्रेलको विराटनगरको रानी स्थित प्रहरी गणमा सरुवा भएको छ । गणबाट सुदिपराज भण्डारी प्रदेश प्रहरी कार्यालय विराटनगर पोख्रेलको स्थानमा सरुवा भएका छन् । सरुवा भएसंगै पोख्रेल केही दिन विदामा बसेका छन् । उनले प्रयोग गर्ने मोबाइलको स्वीच अफ छ । प्रहरी उच्च स्रोतले पोख्रेल नहुँदा शर्माले आफुखुसी प्रतिवेदन तयार पार्ने संभावना धेरै रहेको दावी गरेको छ ।

छानविन समिति निर्माण भएको भोलिपल्टै गत बिहिबारबाट काम थालिएको थियो । छानविन समितिले आर्थिक चलखेलमा संलग्न भनिएका आरोपित इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी धर्मराज भण्डारी, मुद्धाफाँटका प्रमुख मानप्रसाद श्रेष्ठ र महिला सेलकी प्रमुख कृष्णकुमारी अधिकारीलाई भेटेर सोधपुछ गर्ने कार्य बाहेक अन्य सरोकारवालाहरु कोहीसंग पनि नभेटेको बुझिएको छ ।
कुनै पनि प्रकृतिको घटनाको छानविन हुँदा सो घटनामा जोडिएका सबै पक्षलाई अनिर्वाय भेट्नु पर्ने हुन्छ । तर, बनेको प्रहरीको २ वटा छानविन समितिले घटनाका पिडित , उनका आफन्तहरु र पिडितका पक्षबाट लड्ने महिला तथा मानवअधिकारर्कीहरुलाई नभेट्नुले छानविन समितिको कार्यप्रति थुप्रै शंक ागर्ने ठाँउ रहेको मानवअधिकारकर्मी एव्म मानवअधिकार सञ्जाल सुनसरी संयोजक रमेश भट्टराईले बताए । छानविन समितिको काम गराइले झारा टार्ने र आरोपित प्रहरी अधिकारीहरुलाइ चोख्याउने खेल बाहेक अरु केही नभएको भट्टराइको दावी छ ।

छानविन समितिले अरु सरोकारवालाहरुसंग नभेटी आफ्ना परिवार, संगठनका मान्छेसंग मात्रै भेटेर बनाएको रिर्पोटको कुनै अर्थ नहुने भट्टराईको भनाई छ । उनले छानविन समितिको प्रतिवेदन सार्वजनिक भएपछि के कसरी अगाडी जाने भन्ने निर्णय लिने बताए ।

इटहरी २० तरहरामा संचालित एप्पल ट्रि मन्टेश्वरीका संचालक सन्तोष कटवालले स्कुलमा कार्यरत एक महिला कर्मचारीलाइ जबरजस्ती करणीको प्रयास गरेको घटनामा शुरुका दिनबाटै पिडित युवतीको पक्षबाट कानूनी लडाइमा साथ दिइरहेकी महिला अधिकारकर्मी शारदा राईले कटवाल संलग्न भएका घटना सहितका अन्य घटनामा आर्थिक चलखेल भएको बिषयमा प्रहरीले २ वटा छानविन समिति बनाएको खबर पाएपनि समितिका कसैले पनि पिडित र आफुहरुलाइ नभेटेको बताइन् । प्रहरीको यसखालको कार्यले उनिहरुले आगामी दिनहरुमा गर्ने काममा विश्वास र भरोसा गर्ने ठाँउ नै नरहेको उनको भनाइ छ । उनले कसैलाइ नभेटि बनाइको छानविन प्रतिवेदनलाइ मान्यता दिएमा आफुहरुपनि मानवअधिकार आयोग, महिला आयोग, गृह मन्त्रालयसम्म पुग्ने बताइन् ।

छानविन समितिले सहि प्रतिवेदन सार्वजनिक नगरे समितिकै विरुद्ध महिला आयोग र मावअधिकार आयोगमा उजुरी दर्ता गर्ने मानवअधिकार सञ्जाल सुनसरीकी सदस्य एव्म महिलाअधिकारकर्मी योसा गुरागाँइले बताइन् । उनले छानविन समितिले आरोपित प्रहरीलाइ मात्रै भेटेको सूचना पाएपछि आपत्ति जनाउँदै प्रहरीका उच्चतहका प्रमुखलाइ कुरा राख्दा प्रतिवेदन सहि आउने आश्वासन चाँही दिएको बताइन् । उनले भनिन् –’दोषीलाइ जोगाउने खेलमा छानविन समिति लागेको पाएमा इटहरी प्रहरीमा बलात्कार र महिला हिंसा जस्ता घटनामा पिडितहरुलाइ थप पिडा दिने र पिडकलाइ उन्मुक्ति दिने खालका धेरै घटनाहरुका प्रमाणहरु आफुहरुसंग सुरक्षित रहेकाले ती प्रमाण सहित महिला आयोगमा उजुरी दर्ता गर्नुको विकल्प हुँदैन ।’

महिला बलात्कार र हिंसाका घटनामा पिडकसंग मिलेर पिडितलाइ पिडा दिने मुद्धा फिर्ताका लागि दवाव दिनुका साथै पैंसामा मिल्नु भन्ने प्रस्तावसम्म ल्याएर यसअघि नै विवादमा आएका डिएसपी विनोद शर्मालाइ छानविन समितिको संयोजक बनाएकाले शर्माले सहि तरिकाले कार्य गर्नेमा आफुहरुलाइ नै नरहेको महिला आधारशिला सुनसरीकी अध्यक्ष शुसिला उप्रेतीले बताइन् । शर्माले मुद्धालाइ प्रभावित पार्न कृष्णदासबाट बलात्कृत भएकी महिला र उनको परिवारलाइ जंगलमा लगेर २ घण्टा राखेर मानसिक यतना दिनुका साथै पैंसा मिल्न प्रस्ताव नै राखेको प्रमाणआफुहरुसंग सुरक्षित रहेकाले उनले सुनसरीमा भएका पछिल्ला बलात्कार जस्ता जघन्य अपराधमा आर्थिक चलखेल गरेको भन्ने आरोप लागेका प्रहरी अधिकारीहरुमाथि निश्पक्ष्य तरिकाले छानविन गर्छन् भन्ने झिनो विश्वास नरहेको उप्रेतीले बताइन् । उनले प्रहरी संगठनले जनताको विश्वास जित्ने गरि माथिल्लो तहबाटै अर्को छानविन समिति बनाउन जरुरी रहेको बताइन् ।
संघीय इकाइ प्रहरी कार्यलय धरानका प्रमुख राजेन्द्रप्रसाद चौधरीसंग सबै कुरा राखेको र वहाँले आफु राम्रोसंग कुरा बुझेकाले घटनाप्रति गम्भिर रहेको बताउनु भएको उप्रेतीले बताइन् ।

यता इलाका प्रहरी कार्यलयका प्रमुख डिएसपी धर्मराज भण्डारी भने आफु र आफ्नो कार्यलयको तर्फबाट कुनै गल्ती नभएको बताउँदै आएका छन् । उनी लगायत तीन प्रहरीलाइ बलात्कार जस्ता जघन्य अपराधमा लिखित स्पष्टीकरण सोधिएको , छानविन समिति बनेको , महिला सेलकी हबल्दारलाइ राजिनामा दिन बाध्य बनाएको बिषयमा आएका समाचारमा आफ्नो भनाइ राख्ने अवसर संचारमाध्यले नदिएको भन्दै विज्ञप्तीवाजी गर्दै हिडिरेका छन् । उनले विज्ञप्ती निकालेर आफु चोखिनका लागि आफ्ना बिषयमा समाचार आएका अनलाइन मिडियाहरुमा पठाउने काम पनि गरेका छन् । प्रदेश पोर्टलबाट

महामारीसँग भिड्दै स्वास्थ्यकर्मी, स्वास्थ्यकर्मीसँग भिड्दै हाम्रो समाज

काठमाडौं । कोभिड महामारीसँग दुनियाँ भिडिरहेको वेला नेपाली समाज भने स्वास्थ्यकर्मीसँग भिड्न थालेको छ । विदेशमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान गरिएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गर्ने समाज नै आफ्नै टोलबाट भने स्वास्थ्यकर्मीलाई लखेट्न अघि सरेको छ ।

चितवनका डा. विश्वबन्धु बगालेलाई अपमानित गरिएको घटना सेलाउन नपाउँदै राजधानीको बानेश्वरमा डाक्टर र अन्य स्वास्थ्यकर्मी बसेको होस्टल घेराउ गरिएको छ । बानेश्वरको सिभिल अस्पतालका स्वास्थ्यकर्मीहरूलाई राखिएको लर्ड बुद्ध होस्टल स्थानीयले घेराउ गरेका थिए । जब कि ती स्वास्थ्यकर्मी संक्रमित पनि होइनन् ।

‘उहाँहरू संक्रमित होइन । आइसोलेसनका लागि होस्टलमा बस्ने व्यवस्था गरिएको हो,’ अस्पतालका निर्देशक डा. दीर्घराज आरसीको प्रश्न छ, ‘संक्रमित नै भए पनि स्वास्थ्यकर्मी वा अन्य कुनै पनि नागरिकलाई त्यस्तो दुर्व्यवहार गर्न मिल्दैन । जनताले नै यस्तो अपमान गर्ने हो भने भोलि आफ्नो ज्यान जोखिममा राखेर उपचारमा खटिने स्वास्थ्यकर्मीको मनोबल कस्तो हुन्छ ?’

टोल सुधार समितिको अगुवाइमा संगठित समूहले शनिबार बिहानै होस्टल घेराउ गरेको थियो । ‘आमसर्वसाधारण पनि होइन, टोल विकास समितिको अगुवाइमा नै घेराउ गर्ने टोली आयो, मलाई दुव्र्यवहार गरियो, डाक्टरलाई तुरुन्त निकाल भनेर हुलदंगा गरे,’ होस्टल सञ्चालक रोहित रानाले सञ्चारकर्मीहरूसँग भने ।

स्वास्थ्यकर्मीहरू ४ भदौदेखि सो होस्टलमा बस्दै आएका छन् । त्यसको खबर थाहा पाएपछि टोल विकास समिति संगठित रूपमा विरोधमा उत्रिएको थियो । होस्टलमा तोडफोड हुने जोखिम बढेपछि बानेश्वरबाट प्रहरी बोलाउनुपरेको थियो । स्वास्थ्यकर्मीलाई गलहत्याउन आएका स्थानीय बासिन्दाले आफ्नो टोलको नाम भने ‘बलभद्र मार्ग’ राखेका छन् । प्रहरी आएपछि भने स्थानीय फर्किएका थिए ।

स्वास्थ्यकर्मी होस्टलभित्र बस्दा टोलमा कोरोना फैलिन्छ भन्ने टोलवासीहरू विरोध गर्न भने हुल बाँधेर आएका थिए । टोलीमा बालबालिका र वृद्ध मात्र होइन, युवाहरू पनि थिए । टोल सुधार समितिका अध्यक्ष सुदर्शन गौतम र सचिव दिनेश खड्काको नेतृत्वमा आएको टोलीले निषेधाज्ञा तोडेको र हुलहुज्जत गरेको प्रहरीको भनाइ छ । तर, सडकमा हिँडेका एक–दुईजनालाई उठबस खेलाउने प्रहरीले त्यत्रो हुलहुज्जत गर्नेहरूलाई भने कुनै कारबाही गरेको छैन ।

बानेश्वरको घटनामा पनि प्रहरीले छानबिन थालेको बताएको छ । ‘स्वास्थ्यकर्मीलाई दुव्र्यवहार भएमा पक्राउ गरी कारबाही गरिनेछ । निषेधाज्ञा तोड्न पाइँदैन । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा कुनै पनि नागरिकलाई दुव्र्यवहार गर्न पाइँदैन,’ काठमाडौं परिसरका एसएसपी श्यामलाल ज्ञवालीले भने ।

बानेश्वर र पछिल्लो समयमा देशका विभिन्न भागमा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारप्रति नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले चिन्ता व्यक्त गरेका छन् । ‘कोभिड उपचारमा जुटिरहेका स्वास्थ्यकर्मीप्रति सम्मान र सद्भाव झन् बढ्नुपर्ने हो, तर हामीकहाँ झन् अपमान गर्ने काम भइरहेको छ । यो निकै नै चिन्ताको विषय हो, यस्तो घटनाको जति निन्दा गरे पनि कम हुन्छ,’ उनले भने ।

बानेश्वर घटना स्वास्थ्यकर्मीमाथि भएको पहिलो दुर्व्यवहार भने होइन । भरतपुरमा डाक्टरलाई अपहेलित गर्दै घरमा स्टिकर टाँस्ने प्रयास भएको थियो । भरतपुर महानगरपालिकाका जनप्रतिनिधि र स्थानीयले ३० साउनमा कोरोना भाइरस संक्रमित चिकित्सकलाई अपमान गर्न खोजेका थिए ।

चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेलाई २५ साउनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि २६ साउनमा गरिएको परीक्षणमा उनकी पत्नीमा पनि पोजेटिभ देखिएको थियो । त्यसपछि परिवारसहित भरतपुर–४ त्रिचोकको आफ्नै घरमा सुरक्षित रूपमा बसिरहेका उनलाई ३० साउन बिहान भने स्थानीय बासिन्दाले झन् मानसिक तनाव दिए । ‘होम आइसोलेसनमा बसिरहेको छु, तर टोल विकास समितिको टोलीले घरमा स्टिकर टाँस्न आयो,’ डा. बगालेको भनाइ  छ । स्थानीय बासिन्दा ‘आइसोलेसन होम, कोरोना संक्रमित’ लेखिएको ब्यानर बोकेर डाक्टरकै घरमा टाँस्न गएका थिए ।

उनले टोल विकास समितिको टोलीलाई सम्झाउनुपरेको थियो । ‘नटाँस्नुस्, म आफैँ सुरक्षित तरिकाले बसेको छु । भित्रबाट चाबी लगाएको छ, हामी गेटबाट बाहिर नै आएका छैनौँ, आफ्नो सम्पर्कमा रहेका सबैलाई आफैँले फोन गरेर खबर गरेको छु,’ उनले भने, ‘टोल विकास समितिमार्फत निर्णय नै गरेर ब्यानर टाँस्न आएका रहेछन् । मैले निर्णय भएको भए, टाँस्नुस् भनेँ । कमजोर मान्छे यो संक्रमणले आफैँ आतंकित हुन्छ, आत्महत्यासम्म गरेका घटना पनि छन्, तपाईंहरूजस्तै मान्छे भएर यो घटना घटेको होला भनेपछि उनीहरू झस्किए ।’ त्यसपछि उनीहरू ब्यानर नटाँसी फर्किएका थिए । घरमा स्टिकर टाँस्नुपर्ने कुरा वडाध्यक्ष हरिप्रसाद आचार्यले पनि फोनमा उनलाई भनेका थिए । डा. बगाले संक्रमणबाट मुक्त भएका छन् ।

त्यस्तै बकुलहर रत्ननगर अस्पतालका स्वाब संकलन गरेका  एक प्राविधिकलाई सामाजिक रूपमा अपहेलित गरिएको थियो । स्थानीय बासिन्दाले घरमा बस्न नदिएपछि उनी ३९ साउनमा होटेलको सहारा लिन पुगेका थिए ।

स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मीले चार सयभन्दा बढीको पिसिआर नमुना संकलन गरेका थिए । ‘नागरिकको स्वास्थ्यलाई ख्याल राखेर घरपरिवार नभनी काम गरेँ, आफ्नै घर जान समाजले नदिएपछि सौराहाकै एक होटेलमा क्वारेन्टाइनमा बसेको छु,’ उनले भने । जसका लागि खटिएको थिएँ, उनीहरूले अपमानित गरेको उनको भनाइ छ । ‘जसका लागि खटिरहेको छु, उसैले अपमानित गरेको महसुस भएको छ,’ उनले भने, ‘पिपिई लगाएर नमुना संकलनको गर्दाको पीडा शब्दमा व्यक्त नै गर्न सक्दिनँ । जसको फल अहिले पाएको छु ।’

उनलाई अहिलेसम्म कोरोना देखिएको छैन । उनी होटेलमै बसेर काम गरिरहेका छन् । ‘समाजले मलाई जस्तो व्यवहार गरे पनि कोरोना देखिएन वा देखियो भने पनि निको भएपछि प्रयोगशालाकै काममा खटिनेछु,’ उनले भने । समाजका अगुवाले नै आफूलाई घरमा नल्याउन परिवारलाई दबाब दिएको उनले बताए ।

घरमा आउन नदिएपछि उनी होटेलमा बसेका थिए । होटेलमा पनि समस्या भएपछि नगरपालिकाले सौराहाको थारू कम्युनिटी होमस्टेमा राखेको थियो । त्यहाँका सञ्चालकले पनि प्रयोगशालामा काम गर्ने भन्ने थाहा पाएपछि निकालेको उनी बताउँछन् । ‘अहिले बसेको होटेलको नाम पनि भन्न मिल्दैन, यहाँबाट निकालियो भने कहाँ जाने ?’ उनी भन्छन् ।

त्यसै बकुलहर रत्ननगर अस्पतालको प्रयोगशालामा कार्यरत ज्यामिरे घर भएकी अमृता चौधरीलाई पनि स्थानीयले घर जान दिएनन् । उनी अहिले अस्पतालमा नै बस्दै आएकी छिन् ।

उता संखुवासभामा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् । हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले प्रमुख तिम्सिनामाथि आपराधिक उपद्रव मुद्दामा अनुसन्धान सुरु गरेको जनाएको छ ।

जिल्ला अस्पतालको किटानी उजुरीका आधारमा प्रहरीले तिम्सिनालाई पक्राउ गरेको हो । अस्पताल प्रशासनका अनुसार आइसोलेसन प्रयोगका लागि राखिएका सामग्री बिहीबार राति तोडफोडपछि हराएको थियो । करिब १५ लाखबराबरको सामग्री चोरी भएको अस्पतालका मेसु सुन्दरश्याम झाले बताए । झाका अनुसार ७० पिपिई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाइडरलगायतका सामग्री हराएको छ ।

सोमबार धर्मदेवी नगरपालिका– ४ पिलुवाखोलास्थित क्वारेन्टाइनमा बसेका तीनजनामा कोरोना देखिएको थियो । उनीहरूलाई उपचारका लागि आइसोलेसनमा ल्याउने तयारी गरिएको थियो । तर, नयाँबजारका बासिन्दा र क्याम्पस प्रशासनले विरोध गरेर ल्याउन दिएका थिएनन् । जोखिम बढ्ने भन्दै स्थानीय बासिन्दा र क्याम्पस प्रशासनले आइसोलेसन प्रयोग गर्न नदिने जनाएपछि बिहीबार जिल्ला प्रशासनमा भएको सर्वदलीय बैठक बसेको थियो ।

बैठकले तत्काललाई क्याम्पसकै आइसोलेसन प्रयोग गर्ने र १५ दिनभित्र अन्यत्र सार्ने निर्णय गरेको थियो । तर, बैठकले निर्णय गरेकै राति आइसोलेसन तोडफोड गरेर स्वास्थ्य सामग्री चोरी भएका हुन् । अहिले आइसोलेसनमा तीनजना कोरोना संक्रमित उपचार गरिरहेको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताए ।

उनका अनुसार तोडफोडपछि नयाँ स्वास्थ्य सामग्री लगेर तीनजना कोरोना संक्रमितलाई राखिएको छ । अहिले आइसोलेसनमा धर्मदेवी नगरपालिका– ४ का ३४ वर्षीय युवक, चैनपुर नगरपालिका– ११ का २४ वर्षीय युवक र जिल्ला प्रहरी कार्यालयमा कार्यरत २२ वर्षीय जवानको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसअघि गत ३ जेठमा उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्ने निहुँमा टोले स्वयंसेवीले कोरोना संक्रमणको जोखिम र नियन्त्रणमा फिल्डमा खटिएका स्वास्थ्यकर्मीको नागढुंगामा हुर्मत लिएका थिए । काठमाडौं आउँदै गरेका बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीविरुद्ध स्वयंसेवाका नाममा सडकमा गुन्डागर्दी भएको थियो ।

नागढुंगामा स्थानीय तहले खटाएका स्वयंसेवीले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्की सवार गाडी खानतलासी गर्दै उनको हुर्मत लिएका थिए, त्यो पनि प्रहरीकै सामुन्ने । चितवन र हेटौँडामा कोरोना भाइरस परीक्षणको किट सकिएपछि कार्की काठमाडौं आउँदै थिए । सहयोगीसहित गाडीमा हिँडेका उनी उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगा पुगेपछि प्रहरीले गाडी रोकेको थियो । त्यहीवेला हुल बाँधेर उभिएका युवाले कार्कीमाथि अभद्र व्यवहार गरेका थिए ।

हुलहुज्जतसहित उत्रिएका युवाका गतिविधिसामु कार्की निरीह बनेका थिए । यो सबै उनीहरूले फेसबुकमा लाइभसमेत गरेका थिए । नाका चेकिङको सुरक्षा जिम्मा पाएका प्रहरी निरीक्षक हेमन्तविक्रम थापा पनि नजिकै उभिएका थिए । मातहत खटिएका सुरक्षाकर्मी उनीसँगै थिए । तर, स्वास्थ्यकर्मीको हुर्मत काढ्ने युवाको गतिविधि रोक्न उनीहरूले जरुरी ठानेका थिएनन् ।

पर्सामा पनि त्यस्तै घटना भएको छ । वीरगन्ज– २ छपकैयाकी २० वर्षीया युवतीको २४ साउनमा मृत्यु भयो । परिवारले वीरगन्जका आधा दर्जन अस्पताल डुलाउँदा पनि कसैले भर्ना नलिँदा उपचार नपाएर उनको मृत्यु भएको बताए । त्यसैको आक्रोशमा मृतकका आफन्त र स्थानीयले २५ साउनमा नारायणी अस्पतालमा प्रदर्शन गरे । प्रदर्शनका क्रममा अस्पतालभित्र तोडफोड गरे । डाक्टर उदयनारायण सिंहको निजी कारको सिसा फुटाए ।

उनीहरूले अस्पतालका मेसु र डाक्टरविरुद्ध नाराबाजी पनि गरे । विरोधमा नारायणी अस्पतालका तीन सय ५० स्वास्थ्यकर्मी र कर्मचारीले सामूहिक राजीनामा दिए । कोरोनाविरुद्धको लडाइँमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा हुनुपर्ने, अस्पतालमा तोडफोड गर्नेलाई काबाही हुनुपर्ने र सरकारबाट थप दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने उनीहरूको माग थियो । कोरोना संक्रमितको उपचारमा २४सै घन्टा खट्दै आएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अस्पतालमाथि आक्रमण भएपछि सुरक्षाको माग गर्दै सामूहिक राजीनामा दिन बाध्य भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले बताएका थिए । पर्सा कोरोना धेरै प्रभावित जिल्ला हो ।

विराटनगरमा कोसी अस्पतालको आइसोलेसनमा मृत्यु भएका कोरोना संक्रमितका आफन्तले चिकित्सकमाथि हातपात गरेका छन् । विराटनगर–९ का ४५ वर्षीय पुरुषको २१ साउन दिउँसो निधन भएको थियो । उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । आफन्तले भने चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आइसोलेसन कक्षमै प्रवेश गरेर हातपात गरेका थिए ।

२० साउनको राति इमर्जेन्सीमा भर्ना भएका उनलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि आइसोलेसनमा सारेर स्वाब संकलन गरिएको थियो । कोरोना परीक्षणको रिपोर्ट नआउँदै उनको मृत्यु भएको थियो । आइसोलेसनमा पिपिई लगाएका चिकित्सक र शंकास्पद बिरामीबाहेक अन्यलाई प्रवेश गर्न अनुमति थिएन । तर, मृतकका आफन्तले जबर्जस्ती प्रवेश गरेर डाक्टरमाथि हातपात गरेका थिए । हातपात गरेपछि सामान छाडेर डाक्टर भागेका थिए ।

जाजरकोटको बारेकोट गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत डाक्टर नवीन सहानीमाथि १६ जेठमा आक्रमण भयो । गाउँका तीनजना युवाले आक्रमण गरी सहानीलाई घाइते बनाएका थिए । आक्रमणबाट सहानीको अनुहारमा चोट लागेको थियो । उनको अनुहारमा दुईवटा टाँका लगाइएको थियो । सहानी सरकारको  छात्रवृत्ति कोटामा अध्ययन गरेर दुई वर्षका लागि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा खटिएका थिए । डाक्टर सहानीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले स्थानीय तिलक सिंह, चक्र बुढा र पदम नेपालीलाई पक्राउ गरेको थियो । नयाँ पत्रिका दैनिकबाट

आज २०७७ भदौ ७ गते आइतवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाईएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्ला । प्रेममापनि सफलता प्राप्त हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेममा बाधाका साथै मन कमजोर रहला । घर परिवारमा झै–झमेलाको अवस्था आउला । कार्यमा अवरोध आउला । दिनको उत्तरार्धमा खर्च हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज श्रमको उचित मुल्याङ्कन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । पारिवारिक र दाम्पत्य जीवन सुखमयपनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजक रहनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभारम्भको चर्चा चल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

आज प्रदेश १ मा १ सय २ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज १ सय २ जना कोरोना संक्रमित थपिएका छन् । ३७ महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

मोरङका ४९, सुनसरीमा ३०, झापाका १६, भोजपुरमा ३, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २० महिला १३ पुरुष, सुनबर्षीमा २ महिला ८ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, कटहरीमा २ पुरुष, धनपालथानमा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिला रहेका छन् ।

मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा १२ पुरुष, इटहरीमा ५ महिला ३ पुरुष, धरानमा १ महिला ३ पुरुष, गढीमा १ महिला ३ पुरुष, भोक्राहामा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको दमकका ३ महिला १३ पुरुष, भोजपुरको अरण गाउँपालिकाका ३ पुरुष, इलामको देउमाईका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ५८९ पुगेको छ । प्रदेश १ मा हाल सम्म १ हजार २४३ जना डिस्चार्ज भएका छन् ।

सुनसरीको कोशी गापाका एक वडा अध्यक्षको निधन

इनरुवा । सुनसरीको कोशी गाउँपालिका २ पश्चिमकुशाहाका वडा अध्यक्ष हिरालाल यादवको निधन भएको छ ।

मुटु रोगबाट पीडित वडा अध्यक्ष यादवको उपचारको क्रममा निधन भएको पारिवारीक श्रोतले जनाएको छ । केही दिन देखी उपचाररत्त यादवलाई भारतको अस्पतालमा थप उपचारका लागि लान सल्लाह दिएको र लाने तयारी गर्दा सनिबार दिउसो ५५ वर्षको उमेरमा निधन भएको यादवका भतिजो ब्रहमदेव यादवले जानकारी दिनुभयो ।

वडा अध्यक्ष यादव २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेंसका तर्फबाट निर्वाचित हुनुभएको थियो ।

धानबालीमा ग्वारो र पतेरोको प्रकोप किसान चिन्तित

इनरुवा । सुनसरीको विभिन्न पालिकामा लगाइएको धानबालीमा विभिन्न रोगको प्रकोप देखिन थालेको किसानहरुले गुनासो गरेका छन । कोशी गाउँपालिकाको वडा नं. २ पश्चिम कुशाहाका किसानले लगाएको धानमा पातको फेद कुहिने रोग (सिथ ब्लाइट) देखापरेको किसानले बताएका छन् ।

धानखेती सधन भएकाले सबैकोमा समस्या देखिएको कृषि प्राविधिहरूले जनाएका छन् । यसले महामारीको रूप लिनसक्ने भएकाले यसलाई फैलन नदिन सुरक्षित विषादीको प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ ।

कृषि प्राविधिक भुवनेश्वर यादवका अनुसार यो रोग ‘राइजोक्टोनिया सोलानी’ नामक ढुसी जीवाणुबाट लाग्ने गर्छ । समयमा नियन्त्रण गर्न नसकेमा यसले उत्पादनमा ठूलो असर पु¥याउन सक्छ । उहाँले करिब एक सय बिघा धान खेतीमा यो समस्या देखापरेको बताउनुभयो ।

यसैगरी सुनसरीको इनरुवा नगरपालिकाको बबिया, मधेसा, चान्दबेला र डुम्राहामा पातबेरुवा, पतेरो र फौजीकीराका कारण धानबालीमा ठूलो असर पुगेको छ । इनरुवा ९ बबियाको एक हजार पाँच सय बिघाभन्दा बढी क्षेत्रफलमा लगाएको धान खेतीमा यो समस्या देखिएको छ । स्थानीय किसान सियाराम यादवका अनुसार पसाउन थालेको धानको बोटदेखि नै खाएर फौजीकीराले सबै नष्ट पारिदिएको छ । स्थानीय किसान दिपेनद्र यादवले डेढ बिघा धान पूरै सखाप भएको बताउनुभयो । किसानका अनुसार दिनभर धानको गाँजमा लुक्ने र रात परेपछि यो कीराले धानका टुप्पा काटेर भुइँमा झार्ने गरेको छ ।

कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराँवले सबै स्थानीय तहका कृषि प्राविधिकलाई यो समयमा देखिने रोगको रोकथामका लागि गर्नुपर्ने कामको विषयमा आवश्यक प्राविधिक ज्ञान प्रदान गरिसकेको दाबी गर्नुभयो ।

वहाँका अनुसार सुनसरीको सदरमुकाम इनरुवा र अन्य गाउँपालिकाका विभिन्न स्थानका धान बालीमा पनि ग्वारो, पतेरो र पात बेरुवा रोगको प्रकोप देखापरेको किसानको गुनासो आएको छ । धान बालीमा हल्का खैरो रङका पुतलीजस्तो कीरा लागेको र केही धानको पात सुकाइदिएकाले विषादी हाल्नुपर्ने अवस्था आएको किसान भोक्राहा नरसिंह गाउँपालिका–७ का कन्छा यादवले बताउनुभयो । धानमा कीराको आक्रमणपश्चात् पातलाई बेरेर भित्र बस्ने र पातको हरियो पदार्थ खाइदिने गर्दछ । जसका कारण धानको पात सुक्ने समस्या देखापरेकाले किसान चिन्तित बनेको यादवको भनाइ छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख नुनुलाल उराँवले ग्वारोको क्षति कम गर्न हरेक वर्ष धान काटिसकेपछि बाँकी रहेको सम्पूर्ण ठुटा निकालेर जलाइदिने अथवा ठुटा डुब्नेगरी पानी पटाइदिने जस्ता कार्य गर्नुपर्ने बताउनुहुन्छ ।

उता हरिनगर, गढी, बर्जु, कोशी र भोक्राहा नरसिंह गाउँपालिका सहितमा किसानले लगाएको धानमा फड्के कीरा लागेको गुनासो बाहिर आएको छ । गढी ३ छिटाहाका किसान सुरेन्द्र मेहताका अनुसार धानमा लाग्ने कीरा हरियो, सेतो खैरो पिठ्युँ भएका र फुत्त फुत्त उफ्रने किसिमका मसिना कीरा भएको र त्यसले आक्रमण गर्दा धानका बिरुवा सुकेर मर्ने गरेको छ । जसका कारण धानका बेर्ना गाँजिन र बढ्न नसक्ने अवस्थामा पुगेकाले किसान चिन्तित बनेका अर्का किसान नन्नलाल यादवले बताउनुभयो । यसअघि गत वर्ष धानबालीमा लाग्ने फौजी कीराका कारण यो बर्ष धरानका कृषकहरु चिन्तित बनेका थिए ।

शनिवार ६३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।

यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।

विदेशमा समस्यामा परेका श्रमिकको उद्धारमा भएको ढिलाईप्रति कांग्रेसको असन्तुष्टि, निःशुल्क उद्धार गर्न माग

काठमाडौं । नेपाली कांग्रेसले विदेशमा भएकाहरुको उद्धारमा भएको ढिलाईप्रति असन्तुष्टि जनाएको छ ।

कांग्रेसले रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका नेपाली श्रमिकलाई कल्याण कोषको रकममार्फत हवाई टिकट व्यवस्था गरी निःशुल्क उद्वार गर्न सरकारसमक्ष पुनः माग गरेको छ ।

कांग्रेसले सरकारको पछिल्लो निर्णअनुसार विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्दा मानवीय भावना कम उद्धारमा व्यापारको मस्तिष्क धेरै खपत भएको भनी टिप्पणी गरेको छ ।

सरकारको पछिल्लो निर्णयअनुसार उद्धार गर्दा विदेशमा अप्ठ्यारोमा परेका श्रमिकले चार्टर फ्लाइटको महङ्गो टिकट काट्नु पर्ने, क्वारेन्टिनमा सात दिनको खर्च ब्यहोर्नुपर्ने, पीसीआर परीक्षण आफैं गराउनुपर्ने र गाउँ पुग्ने यातायात खर्चसमेत आफैँ व्यहोर्नु पर्ने समस्या रहेको कांग्रेसद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत अनुकूल अवस्थामा देशमा रेमिटेन्स पठाएर मुलुकको अर्थतन्त्रलाई भरथेग गरिरहेका नागरिकलाई प्रतिकूल बेलामा सरकार उचित व्यवहार नगरेको आरोप लगाएका छन् ।

गत असार १ गते सर्वोच्च अदालतले ‘वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परी नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न’ सरकारका नाममा आदेश जारी गरेको थियो ।

उक्त आदेश कार्यान्वयन गर्न सरकारले कुनै तदारुकता नदेखाएको र आदेशको दुई महिनापछि पुनः महङ्गो चार्टर फ्लाइटको टिकटदेखि अन्य सबै खर्च गराएर सरकारले श्रमिकको पीडामाथि पीडा थप्न लागेको भन्दै कांग्रेसले गम्भीर रुपमा लिएको जनाएको छ ।

माधव नेपालका ७ अंगरक्षकलाई भेटियो कोरोना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा्र) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका ७ अङ्गरक्षकलाई कोरोना भाइरस (कोभिड(१९) पोजिटिभ देखिएको छ ।

पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरूको मात्र कोरोना पोजिटिभ देखिएको हो ।

बिहीबार गरिएको परीक्षणको आज प्राप्त रिपोर्ट अनुसार पूर्वप्रधानमन्त्री नेपाल सहित अन्य सबैको नेगेटिभ आएको गौतमले जानकारी दिए ।

अङ्गरक्षकलाई कोरोना पोजिटिभ देखिएलगत्तै उनीहरूलाई आइसोलेसनमा राखिएको स्वकीय सचिव गौतमले बताए ।

सुनसरी सहित मिथिलाअञ्चमा चौरचन पर्व मनाइँदै

देवानगंज । सुनसरी सहित मिथिलाअञ्च क्षेत्रमा आज चौरचन पर्व मनाइँदैछ। मिथिलामा चन्द्रमाको पूजाआराधना गरिने यो मुख्य पर्व मानिन्छ।

चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्ठान्न परिकार खाजा (पिरुकीया)र खिर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल र वस्त्रआभूषण चढाइने परम्परा छ । पर्वको तयारीमा अहिले मैथिल हिन्दूहरु आफ्नो सामग्री जुटाउने तयारीमा छन् । पर्वमा घरमूली महिला दिनभरि निराहार ब्रत बसेर साँझ चन्द्र दर्शन गरेर यो पर्व समापन गर्छन् । ब्रतालुले एक दिनपूर्व नै ब्रत सङ्कल्प गरेर चोखोनितो भई बस्ने र सात्विक भोजन गर्ने परम्परा छ ।

भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा साँझ सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको अरिप्पन (चतुष्कोण यज्ञस्थल) मा दिप प्रज्वलित गर्दै घरमूली ब्रतालुले फलफूल र मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर ब्रत समापन गर्ने परम्परा छ । खासगरी खिर, पुरी, दही र गच्छेअनुसारका अन्य परिकार तथा केरा र मौसमअनुसारका फलफूल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद ख्वाएपछि यो पर्व सम्पन्न गरिने परम्परा छ।

आज २०७७ भदौ ६ गते शनिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । रोकिएका घरायसी काममा उन्नति र प्रगतिको वातावरण बन्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ । सन्तान सुख मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक साथ मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । मंगल कार्यको योगछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभ र मंगल कार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता पनि लिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदार्श व्यक्तिसङ्ग भेटघाट हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए ।

निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् ।