नेपालमा हातहतियारको कारोबार गर्ने मस्ट वान्टेड बग्गा पक्राउ
७ भाद्र २०७७, आईतवार १६:१६
विराटनगर । नेपालमा हातहतियारको कारोबार गर्ने भारतीय अपराधी गिरोहका नाइके बग्गा भनिने प्रदीप यादव विराटनगरबाट पक्राउ परेका छन् ।
प्रहरीको अत्याधिक खोजी सूचीमा रहेका हातहतियार खरखजाना तथा लागूऔषध मुद्दाका फरार प्रतिवादी समेत रहेका बग्गा विराटनगर-१६ दरैयाबाट लागूऔषधसहित पक्राउ परेका हुन् ।
भारतमा बसी नेपालका विभिन्न जिल्लामा अबैध रुपमा हातहतियार तथा लागूऔषधको कारोबार सञ्जाल बिस्तार गर्दै आएको प्रहरीको दाबी छ ।
भारतको बिहार राज्यस्थित अररिया जिल्ला ईन्द्रनगर ग्रामपञ्चायत-१० टिकुलिया टोलका ३९ वर्षीय यादवलाई मोरङ प्रहरीले शनिबार अपरान्ह पक्राउ गरेको हो ।
यादवको साथबाट प्रहरीले अवैध लागूऔषध डाइलेक्स डिसी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्कीसमेत बरामद गरेको जनाइएको छ ।
यादवले विभिन्न मितिमा उदयपुर, सुनसरी, मोरङ र ललितपुरमा विभिन्न स्थानमा रहेका व्यक्तिहरुलाई अवैध साना हातहतियार र त्यसका गोलीहरु बिक्री गर्दै आएको खुलेको हो । पक्राउ परेका यादवमाथि थप अनुसन्धान जारी रहेको मोरङ प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया