७ माघ २०८०, आईतवार ११:२९ – Page 4 – Nagarikabhiyan : National News

ताइवान चीनको हो भन्दैमा नेपालको असंलग्न परराष्ट्र नीति डग्मगाउँदैन प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले एक चीन नीति मानिसकेपछि ताइवान स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा नेपाल नरहेको बताएका छन् । आइतबार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ताइवानको बारेमा नेपालको सुरुदेखिकै नीति चीनकै अंग हो भन्ने रहेको स्पष्ट पारेका हुन् ।

उनले ताइवान चीनको हो भन्दैमा नेपालको असंलग्न परराष्ट्र नीति नडगमगाउने दाबी गरे । उनले भने, ‘ताइवानको कुरा पनि जोडेर राख्नुभयो । ताइवानको विषयमा नेपालको सुरुदेखिको नीति के हो भने एक चीन नीति भन्दा ताइवान पनि चीनकै अंग हो भन्ने नीति नेपालको सुरुदेखि नै रही आएको छ । त्यो भन्दा बाहिर हामीले बनाएका छैनौँ । एक चीन नीति मानिसकेपछि हामी ताइवान अलग हुनपर्छ भन्ने नीतिको पक्षमा छैनौँ ।

प्रधानमन्त्री दाहालले ताइवान चीनबाट अलग हुनुपर्छ भन्ने नेपालको नीति नरहेको स्पष्ट पारे ।

खातामा पैसा आएको थाहा थिएन उपचार खर्च फिर्ता गर्छु सांसद शाह

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद असीम शाहले उपचार खर्च फिर्ता गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत खातामा पैसा आएको थाहा नपाएको उल्लेख गर्दै संसद् सचिवालयबाट लिएको उपचार खर्च फिर्ता गर्ने घोषणा गरेका हुन् ।

आफूले बिरामी भई सदनमा अनुपस्थित भएको बेला प्रमाणस्वरुप अस्पतालमा जाँच गरेको रिपोर्ट बिल पेस गरेको तर भरपाई पैसा नमागेको उनको दाबी छ । ‘सदनमा बिरामी भई अनुपस्थित हुनेले प्रमाण स्वरूप जाँचेको रिपोर्ट बिल बुझाउन पर्ने प्रक्रियागत कुरा हो, त्यो प्रक्रिया इमानदारीपूर्वक पुरा गरेको हुँ । भरपाई पैसा मागेको पनि होइन र सांसदको तलब खातामा हाल्दिएको कुरा पनि थाहा छैन, पत्ता लगाइ दिएर सहयोग गरी दिनु हुने मिडियालाई धन्यवाद उनले भनेका छन् भोलि बैंक स्टेटमेन्ट चेक गर्छु र ४९४२ जम्मा भएको रहेछ भने पनि राज्यलाई फिर्ता गर्ने छु । संसदमा नयाँ हुनुका दुःख पनि अनेक छन् है । कुरो यत्ति हो । प्रश्नका लागि धन्यवाद ।

सांसद शाहले आफूले उपचार खर्च भुक्तानी नलिएको दाबी गरे पनि उनले भुक्तानी लिएको संसद् सचिवालय स्रोतको भनाई छ । प्रतिनिधिसभाको एक वर्षको अवधिमा ४२ जना सांसदहरूले २४ लाख ९० हजार ६०७ रुपैयाँ उपचार खर्च लिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

२ वर्ष ढिलो गरी खोटाङको बाहुनीडाँडामा बन्यो स्वास्थ्यचौकी भवन

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको स्वास्थ्यचौकी भवन दुई वर्ष ढिलो गरी सञ्चालनमा आएको छ ।स्वास्थ्यचौकीको नयाँ भवनमा आजदेखि सेवा शुरु गर्ने तयारी भइरहेको बाहुनीडाँडाका वडाध्यक्ष रुद्रकुमार राईले बताउनुभयो । आफ्नै भवन नहुँदा स्वास्थ्यचौकीलाई स्थानीय झोक्रे राईको घरको दुई वटा कोठा भाडामा लिएर सञ्चालन गरिएको थियो । त्यसअघि तत्कालीन गाविसको जीर्ण भवनको साँघुरो कोठाबाट स्वास्थ्यचौकीको सेवा सञ्चालन हुँदै आएको थियो ।

२०७८ फागुनमै बनिसक्नुपर्ने स्वास्थ्यचौकीको भवन निर्माण कम्पनी गौरी पार्वती न्यु टेक्निकल जेभी, ललितपुरको ढिलासुस्तीका कारण दुई वर्ष ढिलो गरी काम सकिएको हो । २०७७ मंसिर ११ गते सम्झौता गरी अर्को वर्ष फागुनमा काम सक्ने भने पनि निर्माण हुन सकेको थिएन ।

स्वास्थ्यचौकीको भवन हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईले हिजो उद्घाटन गर्नुभयो । भवन निर्माणका क्रममा स्थानीय बासिन्दाले पर्खालको गुणस्तरमाथि समेत प्रश्न उठाएका थिए ।

प्रधानमन्त्री कप गण्डकी र कोशी तथा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब खेल्दै

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र कोशी प्रदेशबीच खेल हुँदै छ भने अर्को खेल भैरहवामा रहेको सिद्धार्थनगर क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुँदैछ ।

गण्डकी र कोशी प्रदेशले अहिलेसम्म जित हासिल गर्न सकेका छैनन् । तीन वटै खेलमा हार बेहोरेको गण्डकी अंक तालिकाको नवौँ स्थानमा छ । पाँचै खेल हारेको कोशी प्रदेश पुछारमा रहेको छ । नेपाल पुलिस क्लब आफ्ना दुवै खेल जितेर चार अङ्कसहित अङ्क तालिकामा चौथो स्थानमा छ ।

त्रिभुवन आर्मी क्लब आफ्ना तीन मध्ये दुई खेल जितेर तालिकाको पाँचौँ स्थानमा छ । अहिलसम्म खेलेका तीनवटै खेल जितेको सुदूरपश्चिम तालिकाको पहिलो र पाँचमध्ये तीन खेल जितेको बाग्मती प्रदेश दोस्रो स्थानमा छ । पाँचमध्ये तीन खेल जितेको मधेस प्रदेश रन रेटको आधारमा तेस्रो स्थानमा छ ।

प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय टोली गरी १० टोलीको सहभागिता रहेको छ ।

पहाडी क्षेत्रको मौसम आंशिक बदली तराईमा बाक्लो हुस्सु कुहिरो

आज देशका पहाडी केही क्षेत्रको मौसम आंशिक बदली रहेको छ ।

हिजोअस्तिको तुलनामा आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

तराई मधेसमा तीन हप्तादेखि कठ्याङ्ग्रिँदो चिसो, सकेसम्म घरबाहिर ननिस्कन सुझाव
पूर्वी तथा मध्य तराईमा बाक्लो हुस्सु र कुहिरो छ । विराटनगर, सिमरा, जनकपुरको भिजिबिलिटी घटेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । ती क्षेत्र र बाक्लो हुस्सुले तराई मधेसमा चिसो बढेको छ । आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको छ भने अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियस पुग्नसक्ने अनुमान छ ।

अछामको बयलपाटा अस्पताल निर्कै आर्थिक सङ्कटमा

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक सङ्कटमा परेको छ । अछाम, बाजुरा, डोटी र कालीकोटलगायतका नागरिकलाई निःशुल्क रूपमा प्रभावकारी उपचार सेवा प्रदान गर्दै आएको सो अस्पतालको बजेट नै घटेर आएपछि आर्थिक सङ्कट उत्पन्न भएको हो ।

सङ्घीय सरकार र प्रदेश सरकारले विशेषज्ञ सेवासहितको नमुना उपचार सेवा प्रदान गर्दै आएको अस्पतालको बजेट कटौती गरेपछि पछिल्लो समय दाता सहयोगी संस्थासमेत अलमलमा परेका छन् ।

बजेटको अभावमा चिकित्सक तथा स्वास्थ्यकर्मी कटौतीसँगै उपचार सेवा प्रभावित हुँदै आएको छ । जनस्तरमा निकै भरपर्दो मानिएको यस अस्पतालको नियमित सेवा प्रभावित हुन नदिने गरी स्थानीय जनप्रतिनिधिले विभिन्न पहल गरे पनि सार्थक हुन सकेको छैन ।

गत वर्ष स्थानीय तह र सुदूरपश्चिम प्रदेश सरकारले वित्तीय सहयोग गरे पनि यस पटक प्रदेश सरकार र सङ्घीय सरकारबाट पर्याप्त सहयोग नहुँदा सेवाग्राही मर्कामा परेका छन् । अस्पतालमा देखिएको आर्थिक सङ्कटसँगै चिकित्सक र कर्मचारी तथा व्यवस्थापन पक्षबिच पनि समस्या देखिएको छ ।

प्रदेशमन्त्री साउदको ध्यानाकर्षण

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले बयलपाटा अस्पतालमा देखिएको समस्या अब सधैँका लागि अन्त्य हुने गरी पहल भइरहेको बताउनुभएको छ ।

कुराकानीमा उहाँले यस आर्थिक वर्षमा केही प्राविधिक कारणले जानुपर्ने बजेट नगएको स्विकार्दै अस्पताल सञ्चालनका सम्बन्धमा जनमानसमा केही जटिलता महसुस भएको बताउनुभयो । अस्पतालको समस्या सधैँका लागि अन्त्य गर्ने गरी पहल भइरहेको छ उहाँले भन्नुभयो,सामाजिक सञ्जालमा अस्पतालको सेवा प्रभावित भएकाबारे प्रसारित विषयवस्तुमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

मन्त्री साउदले सुदूर पहाडी जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालको सञ्चालन र व्यवस्थापनमा देखिएको आर्थिक, प्राविधिक र कानुनी समस्या देखिएको साँचो भए पनि आफूले अस्पतालको समस्या सधैँका लागि अन्त्य गर्ने गरेर पहल गरिरहेको स्पष्ट पार्नुभयो ।

जनताको स्वास्थ्य उपचार सेवामा तीन वटै तहका सरकारको जिम्मेवारीबोध गराउन सङ्घीय सरकारसँग कुरा भइरहेको जानकारी मन्त्री साउदले दिनुभयो । अस्पतालको स्तरोन्नति र गुणस्तरीय उपचार सेवाबारेमा सुदूरपश्चिम प्रदेश सरकार मन्त्रीपरिषद् बैठक क्याबिनेट मा पटक पटक कुरा गरिरहेको छु,” उहाँले थप्नुभयो । अस्पतालको व्यवस्थापकीय टिम, जनप्रतिनिधि र सरोकारवाला निकायसँग पनि बारम्बार छलफल, समन्वय भइरहेको छ । प्रदेशभरका सामुदायिक अस्पताल र बयलपाटा अस्पताललाई स्तरोन्नतिसहित जनशक्ति व्यवस्थापनमा सामाजिक विकास मन्त्रालयले आवश्यक प्रक्रिया थालेको उहाँले स्मरण गराउनुभयो ।

मन्त्री साउदले बयलपाटा अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा सञ्चालन गर्न विज्ञ चिकित्सक पठाउने प्रक्रिया सुरु भइसकेको उहाँले बताउनुभयो । सो कार्यका लागि यस वर्ष पुँजीगत बजेटस्वरूप ५० लाख रुपियाँ विनियोजन भइसकेको छ ।

चालुतर्फ बाँकी आठ करोड ५० लाख रुपियाँ थप्ने सम्बन्धमा केही कानुनी समस्या देखा परेकोले छिटोभन्दा छिटो रकम पठाउन वैकल्पिक उपाय खोज्न प्रदेश सरकार दृढतापूर्वक लागिपरेको उहाँको भनाइ छ ।

निःशुल्क रूपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा प्राप्तिका लागि प्रत्येक नागरिकको समान पहुँच हुनु पर्दछ भन्ने सरकारको साझा धारणा प्रस्ट रहेको चर्चा गर्दै उहाँले बयलपाटा अस्पताललाई नमुना अस्पतालकै रूपमा जोगाइराख्न लागिपरेको दाबी गर्नुभयो ।

पत्रकारलाई ल्यापटप र क्यामेरा किन्न अनुदान दिइने

प्रेस काउन्सिल नेपालले ल्यापटप र क्यामरा खरिदमा पत्रकारलाई अनुदान दिने भएको छ । काउन्सिलले आइतबार जारी गरेको सूचनाअनुसार ३० वटा ल्यापटप खरिदका लागि अनुदान दिन लागिएको जनाएको हो ।

अनुदान एक ल्यापटप बराबर ४० प्रतिशत उपलब्ध गराइनेछ । क्यामरा ६ वटा खरिदमा ३० देखि ४० प्रतिशत अनुदान दिन लागेको काउन्सिले १० जनालाई लेखनवृत्ति, ७ जनालाई सोधपत्र लेखनमा सघाउनेछ ।

एक सञ्चारकेन्द्र स्थापनामा पनि अनुदान दिने काउन्सिलले जानाएको छ । काउन्सिलका अनुसार एक पत्रकार वा सञ्चारगृहबाट एकमात्र सुविधानका लागि आवेदन दिन सकिनेछ । दुर्गम, स्थानीय सञ्चारमाध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता दिइने भन्दै काउन्सिलले ३५ दिनभित्र आवेदन दिन सकिने जनाएको छ ।

झापामा हात्तीले दिनहुँ घर भत्काउन थालेपछि स्थानीय मर्कामा साउनयता ६१ वटा घरगोठ भत्कायो

झापामा दिनहुँजसो बस्तीमा हात्तीको हुल छिरेर घर टहरा भत्काउन थालेपछि स्थानीय समस्यामा परेका छन् ।

झापाको कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर र अर्जुनधारा नगरपालिकाका विभिन्न ठाउँमा हात्तीले दिनहुँजसो घर भत्काउन थालेका हुन्। घर भत्किएपछि चिसोमा रात कटाउन बाध्य स्थानीयवासी धन जोगाउने कि ज्यान भन्ने चिन्तामा परेका छन् ।

हात्तीले कचनकवल गाउँपालिका–३ का ईश्वरसिंह राजवंशी, फाकताल राजवंशी, देवलाल राजवंशीको टिनको छानो भएको घर भत्काएर एकैदिन भण्डारण गरेको अन्नसमेत खाएको छ । घर भत्काएपछि माघको जाडोमा रात कटाउन कठिन भएको पीडितको गुनासो छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा हात्तीले ५९ वटा घर र दुई वटा गोठ भत्काएको छ । यो अवधिमा जङ्गली जनावरबाट ४८ लाख ५० हजार छ सय ४० रुपैयाँको क्षति भएको छ । हात्तीले घर भत्काएमा सरकारले १० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

१९ वर्षमुनिको विश्व कप क्रिकेटमा आज नेपालले न्युजिल्यान्डसँग खेल्दै

आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ ।

नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकप खेल्न लागेको हो । गएको फागुनमा १९ वर्षमुनिको एसिया डिभिजन–१ को उपाधि जित्दै नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालको समूह डी मा तीन टेस्ट टोली न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

नेपालले १९ वर्षमुनिको विश्वकप आठौँ पटक खेल्न लागेको हो । यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा खेलेको थियो । नेपालले न्युजिल्यान्डसँग सन् २०१६ मा र २००६ मा गरी दुई पटक खेलेकोमा पछिल्लो खेलमा ३२ रन र पहिलो खेलमा एक विकेटले हराएको थियो ।

नेपालले १९ वर्षमुनिको विश्वकपअघि चार अभ्यास खेल खेलेको छ । जसमा नेपालले स्कटल्यान्ड र नामिबियालाई हरायो भने वेस्ट इन्डिजसँगको खेल वर्षाको कारण रद्द भएको थियो । प्रतियोगितामा आजै श्रीलङ्का र जिम्बावे पनि खेल्दैछन् ।

हिजो भएका खेलमा भारतले बङ्गलादेशलाई ८४ रनले हरायो । यस्तै, इङ्ग्ल्यान्डले स्कटल्यान्डलाई सात विकेटले र पाकिस्तानले अफगानिस्तानलाई एक सय ८१ रनले हराएको छ ।

तराई मधेसमा तीन हप्तादेखि कठ्याङ्ग्रिँदो चिसो सकेसम्म घरबाहिर ननिस्कन सुझाव

सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर १ का आशनारायण पटेल बिहान घर बाहिर निस्कन नसकेको कयौँ दिन भयो । बिहान अबेरसम्म नजिकै पनि देख्न नसक्नेगरी हुस्सु लाग्छ । शीतसहितको हावाले मुटु कठ्याङ्ग्रिन्छ ।

पटेल भन्नुहुन्छ ‘चिसोले सताइरहेको छ गाईबस्तुलाई घाँसकुँडो दिनै समस्या छ, पानी बोकेको हावा चल्छ, हातगोडा कक्रक्क हुन्छ अनि कसरी बाहिर निस्कनु, दिउँसोपछि अलि कम भए पनि भोलि बिहान फेरि उस्तै हुन्छ ।’

सर्लाही मात्र हैन तराईका सबैजसो क्षेत्रमा बिहान बाक्लो हुस्सु लाग्न थालेको तीन हप्ता भइसक्यो । बिहान चल्ने हावामा हिँड्यो भने शरीर नै भिजाउने गरी शीत पर्छ । केही ठाउँमा दिउँसोतिर मौसम खुले पनि कतै त दिनभर नै घाम लाग्दैन । अहिलेको अवस्थालाई हेर्दा तराईका जिल्लाहरुमा शीतलहर चलेको भन्न सकिने त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जल तथा मौसम विज्ञान केन्दीय विभागका मौसम अनुसन्धानकर्ता विनोद पोखरेल बताउनुहुन्छ ।

तर जल तथा मौसम विज्ञान विभागले तराईमा शीतलहर चलेको घोषणा गरेको छैन । शीतलहर चलेको घोषणा गरेपछि प्रभावित क्षेत्रमा तीनवटै तहका सरकारहरु क्षति न्यूनीकरणका लागि सक्रिय हुनुपर्छ । पीडितहरुलाई राहत पुर्याउनुपर्छ । कतै त्यही भूमिकाबाट पन्छिन शीतलहरको घोषणा नगरेको हैन भन्ने प्रश्न उठेको छ । तर मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् सञ्जीव अधिकारी शीतलहर घोषणा गर्नुपर्ने गरी सूचकहरु पूरा नभएको दाबी गर्नुहुन्छ ।

मौसमविद् अधिकारी भन्नुहुन्छ ‘अधिकतम तापक्रम औसतमा पाँच डिग्री सेल्सियस वा त्योभन्दा कम भएमा, लगातार केही दिनसम्म उच्चतम र न्यूनतम तापक्रम बीचको दूरी पाँच डिग्री वा त्योभन्दा कम भएमा, भिजिबिलिटी वा पारदर्शीता कति छ र कतिको परिवर्तन भएको छ लगायतका सूचकका आधारमा शीतलहर घोषणा गर्ने हो । सूचक पूरा भएपछि घोषणा गर्छौँ, अहिलेसम्म सूचक पूरा भएको देखिँदैन ।’

नेपालको तराईमा तीन दशक अघिसम्म अहिले जस्तो शीतलहर चल्दैनथ्यो । सन् १९९२ पछिका हिउँदमा नेपालको तराईमा दिनभरि घाम लाग्न छाडेको हो । यसमा भारतका बिहार, उत्तर प्रदेश र नेपालको तराईमा खुलेका उद्योगले वायुमण्डल प्रदूषित हुनु मुख्य कारण रहेको विज्ञहरु बताउँछन् ।

मौसमविद्का अनुसार हिउँदमा गंगा र यमुना नदीबाट आउने जलवाष्प प्रदूषित वायुमण्डलमा मिसिन्छ । जमिनको सतहदेखि झन्डै ५ सय मिटरसम्म यस्तो कुहिरो बन्छ । जमिनको तापक्रम कम र माथिको तापक्रम बढी हुने भएकाले कुहिरो माथि जानुको साटो दायाँबायाँ फैलिन्छ । तापक्रम कम हुने र ठूलो मौसमी प्रणाली नआउने भएकाले लामो समयसम्म कुहिरो हट्दैन । शीत खसेजस्तै पानी पर्ने भएकाले यसलाई शीतलहर भनिएको हो । शीतलहर चल्दा दिउँसो तापक्रम स्थिर हुन्छ । यो क्रम हरेक वर्ष बढ्दो छ ।

यसपालि शीतलहर भनेर औपचारिक घोषणा नभए पनि प्रकृति उस्तै देखिएको छ । तीन हप्तादेखि चलिरहेको हुस्सु कुहिरोको अवस्थामा सुधार हुन पश्चिमी वायुको प्रणाली सक्रिय हुनैपर्ने मौसमविद् अधिकारी बताउनुहुन्छ ।

दिउँसो तात्न नपाएको शरीर राति बाक्लो ओढ्ने नभएपछि झन् चिसो हुन्छ । पर्याप्त तातो र झोलिलो खाना नपाउने विपन्न वर्गका मानिसले घरमै पनि ज्यान गुमाउँछन् । तराईमा अहिलेको चिसोबाट बच्न न्यानो कपडा तथा पर्याप्त तातो र झोलिलो खानेकुरा नै रहेको विज्ञहरु बताउँछन् । यस्तै, बिहान सकेसम्म घरबाहिर निस्कनुहुन्न ।

चिसोले तराईमा ज्यानै जाने अवस्था आउनुका पछाडि गरिबीसँगै चेतनाको कमी पनि भएको पाइन्छ । न्यानो कपडा किन्ने तथा अर्को वर्षका लागि राख्ने चलन नभएका समुदाय बढी प्रभावित हुने गरेका छन् । शीतलहरको अवस्था घोषणा भए पनि, नभए पनि तराईका जिल्लाहरुमा चिसोबाट नागरिकलाई बचाउन पालिका, प्रदेश र सङ्घीय सरकारले पहल गर्न ढिला भइसकेको छ ।

प्रधानमन्त्री कप क्रिकेटमा मधेसले कर्णालीलाई हरायो

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले कर्णाली प्रदेशलाई ६१ रनले हराएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मधेसले दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ४१ ओभर एक बलमा १ सय ७० रनमा अलआउट भयो ।

कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक ५८ रन बनाए । मधेसका राजेश यादवले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मधेसका लागि हरिशंकर साह र मयन यादवले समान ५०र५० रन बनाए ।

कर्णालीका दिपेन्द्र रावतले चार र अनुज चुनाराले दुई विकेट लिए । जितसँगै मधेस पाँच खेलमा ६ अंकसहित तेस्रो स्थानमा पुगेको छ । कर्णाली चार खेलमा ४ अङ्कसहित तालिकाको सातौँ स्थानमा झरेको छ । प्रतियोगितामा १० वटा टोली सहभागी छन् ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। काठमाडौं, कास्की, सुर्खेत र बारामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।

कागेश्वरी मनोहरा नगरपालिका(६ मूलपानीस्थित क्षेत्रीय उपत्यका बसपार्कमा बा२ख २५६९ नम्बरको बसको ठक्करबाट सिरहा गोलबजार नगरपालिका(१२ बेतौना घर भई काठमाडौं मुलपानी बस्ने २९ वर्षीय हरि यादवको शुक्रबार बेलुकी मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, कास्कीको पोखरा महानगरपालिका(२४ कास्कीकोट काउलेस्थित सडकमा ग१क ४०८२ नम्बरको बाल प्रतिभा बोर्डिङ स्कुलको बसको ठक्करबाट उक्त विद्यालयको नर्सरी कक्षामा पढ्ने सोही ठाउँ बस्ने तेजबहादुर कार्कीको छोरा ३ वर्षीय समिर कार्कीको शुक्रबार दिउँसो मृत्यु भएको छ।

स्कुल बसबाट झरेर घरतर्फ जाने क्रममा बसले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, सुर्खेत जिल्लाको बराहताल गाउँपालिका(५ स्थित सडकमा पञ्चपुरीबाट सुर्खेततर्फ जाँदै गरेको बा८१प ९८४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बराहताल गाउँपालिका(५ बस्ने १५ वर्षीय चन्द्र बिकको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी, बाराको फेटा गाउँपालिका(३ फेटा नहरस्थित सडकमा ना५८प १३३१ नम्बरको मोटरसाइकल र बिआर ३० आर १३०१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा ना५८प १३३१ नम्बरको मोटरसाइकल चालक फेटा गाउँपालिका(३ फेटा बस्ने २७ वर्षीय रंजित साहको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका बिआर ३० आर १३०१ नम्बरको मोटरसाइकलमा सवार ३ जनाको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

झापाको हल्दीबारी गाउँपालिकामा २५ सय बिघामा तोरी खेती

झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छ वटै वडाका विभिन्न ठाउँमा किसानले तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जानकारी दिनुभयो । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलो तोरीको बीउ वितरण गरेको थियो । प्रतिहेक्टर एक दशमलव नौ मेट्रिक टन तोरी उत्पादन प्रारम्भिक अनुमान छ ।

हल्दीबारीमा तोरी खेतीका लागि माटोसमेत उपयुक्त छ । अहिले तोरी फुलेर खेत पहेँलपुर भएका छन् । हल्दीबारी–२ का डम्बरप्रसाद चम्लागाईंले तोरी खेतीबाट राम्रो आम्दानी लिन सकिने बताउनुभयो । अरु बालीमा जस्तो झन्झट नहुने र तोरीको मूल्य पनि राम्रो रहेको उहाँको भनाइ छ । किसानले उत्पादन गरेको तोरी खरीद गरेर तेल उत्पादन तथा बिक्री वितरण गर्न आफूहरुले सहयोग गर्ने एकता बहुउद्देश्यीय सहकारीका अध्यक्ष हरिकृष्ण अधिकारीले बताउनुभयो ।

३८९३ घरमा प्रहरीको नम्बर स्टिकर टाँस कार्यक्रम सम्पन्न प्रमुख -बीरेन्द्र जोहारी

इलाका प्रहरी कार्यालय कमलबजारले तीन हजार ८९३ घरदैलोमा प्रहरीको नम्बर भएको स्टिकर टाँस गरेको छ ।
कमलबजार नगरपालिकाका १० वटै वडाका तीन हजार ८९३ घरहरुमा प्रहरीको सम्पर्क नम्बर भएको स्टिकर टाँस गरिएको हो ।

कमलबजार प्रहरीले गत पुस १८ गतेदेखि घर घरमा प्रहरीको नम्बर भएको स्टिकर टाँस गर्ने अभियान सुभारम्भ गरेको थियो ।
सो अभियान १० वटै वडाका तीन हजार ८९३ घरहरुमा प्रहरीको सम्पर्क नम्बर भएको स्टिकर टाँस गरि सकिएको छ ।

प्रहरीको छिटो छरितो सेवा लिन, समाजमा दबिएर लुक्न सक्ने घटनाको शीघ्र सूचना प्राप्त गर्न र नागरिक प्रहरीबीचको सम्बन्ध थप कसिलो बनाउन घरघरमा प्रहरीको सम्पर्क नम्बर टाँस गरिएको इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख बीरेन्द्र जोहारीले  नागरिक अभियान संग को कुरासँग
जानकारी दिए ।

सुन तस्करी रोक्न विमानस्थलमा बेस बनाएरै बस्यो सशस्त्र प्रहरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी सुरक्षाबेस स्थापना गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपालले आफ्नो २३ औं स्थापना दिवसको अवसर पारेर शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक हप्ताअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि सो बेस स्थापना गरिएको जानकारी गराएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी बढिरहेका बेला सशस्त्र प्रहरी बलको पनि सुरक्षाबेस स्थापना गरिएको छ। सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जनाको टोली परिचालन हुनेगरी सो बेस स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता राजेन्द्र खड्काले बताए।

त्यसैगरी विपद्जन्य घटनामा तत्काल परिचालन हुनेगरी हरेक प्रदेशमा रहने गरी ८ वटा विपद् व्यवस्थापन बेस पनि स्थापना गरिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ। विपद् व्यवस्थापनको काममा तत्काल परिचालन गर्नका लागि ती बेस स्थापना गरिएको पनि प्रवक्ता खड्काले बताए।

बदलिँदो सुरक्षा चुनौतिको सामना गर्न सशस्त्र प्रहरी बेलले प्रतिआतंकवाद उपशाखा स्थापना गरी काम सुरु गरेको छ। सामाजिक सञ्जालको दुरुपयोग रोक्न सो सम्बन्धी डेस्क नै स्थापना गरेर काम भइरहेको पनि बलका प्रवक्ता खड्काले बताए।

उनले भने,बदलिँदो सुरक्षा चुनौतिको आँकलन गरेर प्रतिआतंकवाद उपशाखा स्थापना गरी कार्य सञ्चालन गरिएको छ। त्यसै गरेर सोसियल मिडिया मोनिटरिङ डेस्कको स्थापना गरी सामाजिक सञ्जालको दुरुपयोगलाई निरुत्साहित गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि यही गत हप्ताबाट मात्रै सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एउटा सुरक्षा बेस ३० जनाको टोली रहने गरी त्यो स्थापना गरिएको छ। एयरपोर्टमा समेत सशस्त्र प्रहरी बल परिचालन गरिएको अवस्था हो।’

सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन र सीमा सुरक्षाका लागि विशिष्टकृत जनशक्ति तयार पार्नका लागि काठमाडौंको मातातीर्थमा पोष्ट ग्राजुयट डिप्लोमा इन सेक्युरिटी एण्ड डिसएष्टर म्यानेजमेण्ट स्टडिज प्रोग्राम नै सञ्चालनमा ल्याएको छ।

सशस्त्र प्रहरी बलका अधिकृतहरुको बढुवाका लागि सो कोर्सलाई अनिवार्य उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्थासमेत गरिएको पनि बलका प्रवक्ता खड्काले बताए।

त्यसैगरी सशस्त्र प्रहरी बलले वातावरणमैत्री कार्यक्रम अन्तर्गत आन्तरिक रुपमा प्लाष्टिकका सामग्रीहरुको प्रयोगमा सकेसम्म रोक लगाउने नीति पनि लिएको छ।

अछामका अर्जुन खत्रीले भने मोबाइल चलाउँदै थिएँ एक्कासि पड्कियो भाग्यले बाँचे

मोबाइल चार्ज लगाउँदा र अन्य विभिन्न कारणले मोबाइल पड्किएको छ सुन्नु भएकै छ होला । तर, अछामका एक जनाको मोबाइल हातमा राखेर चलाउँदा चलाउँदै पड्किएको छ ।
अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायलका अर्जुन खत्रीले प्रयोग गरिरहेको टेक्नो कम्पनीको मोबाइल हातमै पड्किएको हो ।

यसबाट मानवीय क्षति भने भएको छैन ।
खत्रीले भने–‘मोबाइल चलाउँदै थिएँ, एक्कासि पड्कियो, भाग्यले बाँचे ।