८ माघ २०८०, सोमबार ०८:१४ – Page 3 – Nagarikabhiyan : National News

अफगानिस्तानमा एअरएम्बुलेन्स दुर्घटना चार जनाको जीवितै उद्धार दुईजना बेपत्ता

थाइल्यान्डबाट रसियाको मस्को जाँदै गरेको एअरएम्बुलेन्स अफगानिस्तानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

एअर एम्बुलेन्समा रहेका ६ जनामध्ये चार जनाको जीवितै उद्धार भएको छ भने दुईजना बेपत्ता भएका छन्। बेपत्ता भएकाहरुको बारेमा जानकारी सङ्कलन भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्था पीटीआईलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

अधिकारीका अनुसार यो विमान इन्धनका लागि भारतको गया एअरपोर्टमा रोकिएकाले शुरुमा यो भारतीय विमान भएको खबर आए पनि भारतको नागरिक उड्डयन विभागले त्यसको खण्डन गरेको थियो । गया विमानस्थलबाट इन्धन भरेपछि अस्ति शनिवार विमान उडेको थियो ।

यसअघि रुसी नागरिक उड्डयन अधिकारीहरूले विमान चालक दलका चार सदस्य र दुई यात्रुसहित एअर एम्बुलेन्स बेपत्ता भएको बताएका थिए ।

कैलालीमा बाघ मृत फेला

जानकी गाउँपालिका–९ मा रहेको अमरावती सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।

तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटे बाघ मृत अवस्थामा भेटिएको सव डिभिजन वन कार्यालय लम्कीका फरेस्टर रामबहादुर रावलले जानकारी दिनुभयो । उहाँका अनुसार बाघको शरीरबाट दुर्गन्ध फैलिसकेकाले केही दिन अगाडि नै मरिसकेको हुनसक्ने देखिएको छ ।

स्याउला लिन जङ्गल पुगेका स्थानीयले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि डिभिजन वन कार्यालय लम्की, प्रहरी र स्थानीय पुगेका थिए । मृत बाघलाई डिभिजन वन कार्यालय पहलमानपुर ल्याउने तयारी भइरहेको सब डिभिजन वन कार्यालय लम्कीका प्रमुख शेरबहादुर भण्डारीले जानकारी दिनुभयो ।

एसपी रमेशकुमार एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका उपरीक्षक एसपी रमेशकुमार बस्नेत वरिष्ठ उपरीक्षक एसएसपी पदमा बढुवाका लागि सिफारिस भएका छन्।

संगठनमा रिक्त रहेको एसपीको एक दरबन्दीमा आइतबार बसेको बढुवा समितिको बैठकले बस्नेतलाई बढुवाका लागि सिफारिस गरेको प्रहरी उच्च स्रातले जनायो।

मोहन पोखरेलले अवकाश पाएपछि प्रहरीमा एसएसपीको एउटा दरबन्दी रिक्त थियो।

दोर्दीमा बोलेरो जिप दुर्घटना हुँदा ३ जना घाइते

जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । दोर्दी गाउँपालिका ४, नौथर सेराबाट कामचोक जाँदै गरेको गरेको ग १ ज ७५६१ नम्बरको बोलेरो जिप आइतबार साँझ पौने ६ बजेतिर दुर्घटना भएको हो । दुर्घटना परी ३ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।

कामचोक गाउँ नपुग्दै चौतारोमुनि जिप दुर्घटना भएको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए । दुर्घटनामा परेर दोर्दी गाउँपालिका(४, बाँसबोटका ५० वर्षीय पूर्णबहादुर तामाङ गम्भीर घाइते भएका छन् । वडा नं। ४ कै कामचोक गाउँका ५३ वर्षीया गंगामाया गुरुङ र ४७ वर्षीया मनीमाया तामाङ पनि घाइते भएका छन् ।

घाइतेको उद्धार गरी उपचारका लागि बेँशीसहर ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए । उनका अनुसार जिपका चालक प्रहरीको नियन्त्रणमा छन् ।
जिपमा चालकसहित ६ जना रहेको, तर २ जना भने सामान्य घाइते छन् ।

राम मन्दिरको प्राणप्रतिष्ठाको पूर्वसन्ध्यामा धनुषा र महोत्तरीमा बाजागाजासहितको शोभायात्रा

भारतको अयोध्यामा उद्घाटन हुन लागेको राम मन्दिरको प्राणप्रतिष्ठाको पूर्वसन्ध्यामा धनुषा, महोत्तरी लगायतका जिल्लाहरूमा सांस्कृतिक झाँकीसहितको शोभायात्रा निकालिएको छ ।
आइतबार महोत्तरीको जलेश्वर र धनुषाको जनकपुरधाममा सांस्कृतिक बाजागाजासहितको र्याली निकालिएको हो ।

र्यालीमा सहभागीहरूले हिन्दु धर्मावलम्वीहरुका लागि यो क्षण खुसीमय रहेको बताए । उनीहरुले नगर परिक्रमा गर्दै कलशयात्रा समेत गरेका छन् ।
भगवान रामको जन्मस्थल मानिने भारतको अयोध्यामा भव्य राम मन्दिर बनाइएको छ ।

नेपालभरका पाँच हजार मन्दिरहरूमा सोमवार मध्यान्ह १२ बजेदेखि १ बजेसम्म सत्सङ्ग भजन कीर्तन गर्ने, विजय महामन्त्र जप, आरती तथा प्रसाद वितरण अनि साँझ सबै हिन्दुहरूले दीप उत्सव गर्न गर्न आह्वान गरिएको छ ।

 

पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न अनुमति

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।
कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या गरेको आरोपमा सुर्खेत जिल्ला अदालतले शुक्रबार पञ्चासहित ६ जनालाई पक्राउ गर्न अनुमति दिएको हो ।१५ वर्षअघि राजबहादुरको हत्या गरेको आरोप उनिहरुमाथि छ ।सुर्खेतको जनमाविमा अध्ययनरत् राजबहादुरको २०६५ फागुन २६ गते साँझ खुकुरी हानेर हत्या गरिएको थियो । हत्यालगत्तै मृतकका काका नवराजले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएकोमा बुबाले १४ वर्षपछि २०७९ साउन ३ गते पूरक जाहेरी दिएका थिए ।

बुबाको किटानी जाहेरीअनुसार महावै गाउँपालिकाकी सिंहसहित, पदमबहादुर रावत, गुराँस नाम गरेका बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

भूपेन्द्र बडुवालको हत्या प्रकरणका फरार २ जना पक्राउ

कैलालीका भूपेन्द्र बडुवालको हत्या प्रकरणका फरार २ जना प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार लम्कीका बडुवालको हत्या गरेको अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएका थप दुई जना आइतवार बिहान पक्राउ परेका हुन्।

जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर १ थकालीपुरका २६ वर्षीय रोशनबहादुर शाही र वडा नम्बर ३ चिसापानीका २३ वर्षीय अनुज भनिने चिरञ्जिवी शाही आइतवार पक्राउ परेका छन। उनीहरूसमेत लम्कीका २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यामा सङ्लन्न रहेको भन्दै प्रहरीमा जाहेरी दर्ता भएको थियो। बडुवालको २०७८ कात्तिक २३ गते हत्या भएको थियो।

उनको हत्याको आरोमा १२ जनाको विरुद्धमा इलाका प्रहरी कार्यालय, टीकापुरमा किटानी जाहेरी दर्ता भएको थियो।

एमबीबीएस पढ्दै थिए सुमित र सञ्चित बाइकले लियो ज्यान

पर्साको वीरगञ्जमा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाका सुमित यादव र बाराको सुवर्णपुरका सञ्चित यादव छन् ।

प्रहरीका अनुसार उनी दुवै जना वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए । वीरगञ्ज महानगरपालिका–१५ स्थित आयुर्वेद अस्पताल चोकमा प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जानकारी दिए । मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट मा कोशी २५ रनमै अल आउट लगातार छैटौँ हार

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार छैटौँ हार बेहोरेको छ । आज भएको खेलमा गण्डकी प्रदेशले कोशीलाई १ सय ४२ रनको फराकिलो अन्तरले हरायो ।

गण्डकीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको कोशी १५ ओभर २ बलमा २५ रनमै अल आउट भयो । कोशीका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कोशीका कप्तान अङ्कित सुवेदीले सर्वाधिक ८ रन बनाए । गण्डकीका कप्तान विपिन खत्रीले ६ र सन्दीप पराजुलीले ३ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी ४८ ओभर २ बलमा १ सय ६७ रनमा अल आउट भयो । गण्डकीका मुस्कान थापाले ६७ र कप्तान खत्रीले ४२ रन बनाए । कोशीका अभ्यास तिम्शिनाले ६ विकेट लिए ।

प्रतियोगितामा गण्डकीको यो पहिलो जित हो । गण्डकीले ४ खेलमा २ अङ्क जोडेको छ ।

नवलपुरको हुप्सेकोटमा गर्भवती श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

नवलपरासीको बर्दघाट सुस्ता पूर्व नवलपुरको हुप्सेकोटका ३३ वर्षका शेरबहादुर लम्कामगर गर्भवती श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् ।

आठ महिनाको गर्भ रहेकी श्रीमती ३४ वर्षकी चनिसरा लम्कामगरलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बिहान १ बजेतिर श्रीमतीको हत्या गरेका मगरलाई उनको घरबाटै पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम टी(२० मा पाकिस्तान विजयी

न्युजिल्याण्डविरुद्धको पाँच खेलको टी(२० सिरिजमा पाकिस्तान विजयी भएको छ ।

सिरिजको अन्तिम तथा पाँचौं खेलमा ४२ रनको जित निकालेपछि क्लिनस्वीप हुनबाट जोगिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाएको थियो ।

जवाफमा न्युजिल्यान्डको टोली १७।२ ओभरमा ९२ रनमै सिमित भयो । तर, यो हारका बाबजुद न्युजिल्याण्डले यो सिरिज ४(१ ले जितेको छ । उत्कृष्ट बलिङका लागि इफ्तिखार अहमद खेलको प्लेयर अफ द म्याच र फिन एलेन २७५ रन प्लेयर अफ द सिरिज चुनिए । पाकिस्तानका कप्तान शाहिन अफ्रिदीले टस जितेर ब्याटिङ गर्ने निणर्य गरेका थिए । पाकिस्तानी टोलीले यो खेलमा युवा ब्याट्सम्यान साम अयुबलाई रोकेर उनको स्थानमा हसिबुल्लाह खानलाई डेब्यु गर्ने मौका दिएको थियो । तर उनी खाता नखोलेर आउट भए । त्यसपछि विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले ३८ बलमा ३८ रन बनाएर इनिङ्सलाई सम्हाले । बाबर आजमले मात्र १३ रन बनाउन सके ।

मध्यक्रममा फखर जमानले १६ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३३ रनको इनिङ खेले । यसबाहेक साहिबजादा फरहानले १४ बलमा १९ रन बनाएर टोलीलाई संघर्षपूणर् स्कोरमा पुर्याए । न्युजिल्याण्डका टिम साउथी म्याट हेनरी र इश सोढीले दुई दुई विकेट लिए । लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डको टोलीले नियमित अन्तरालमा विकेट गुमायो । कुनै पनि ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन् । फिन एलेनले १९ बलमा २२ रन र ग्लेन फिलिप्सले २२ बलमा २६ रन बनाए पनि बाँकी ब्याट्सम्यान पूणर् रूपमा फ्लप भए । जसको कारण टोली ९२ रन बनाएर आउट भएको थियो ।
पाकिस्तानका लागि कप्तान शाहिन अफ्रिदी र मोहम्मद नवाजले दुई दुई विकेट लिए ।

इफ्तिखार अहमदले मात्र २४ रनमा ३ विकेट लिए । विश्वकप २०२३ पछि कुनै पनि फर्म्याटमा पाकिस्तानको यो पहिलो जित हो ।

राज्यको नीति र संविधान विपरीत सेनामा भर्ती हुनु गलत कार्य – प्रचण्ड

युक्रेन र रुसका सेनामा भर्ती भएर गएका नेपाली युवाहरू राज्यको नीति र संविधान विपरीत कार्य गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।

शिखर सम्मेलन सम्पन्न गरी उहाँ स्वदेश फिर्तीको क्रममा आइतबार विहान त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै उहाँले जागिर खाने नाममा गैह्र जिम्मेवार भएर युवाहरूले जुनसुकै देशको सेनामा ज्यान फालेर भर्ती हुनु नहुने र अबका दिनमा युवाहरू स्वयं जिम्मेवार बन्न आग्रह समेत गर्नुभयो ।

युक्रेन र रुसको सेनामा भर्ती भई ज्यान गुमाएकाहरूका विषयमा सरकारले असंलग्न राष्ट्रहरूको आन्दोलन नाम को उन्नाइसौँ शिखर सम्मेलनमा गम्भीरताका साथ चासो चासो दिएको उहाँले बताउनुभयो । मृतक परिवारलाई क्षतिपूर्ति राहत र शव फिर्ता ल्याउने सम्बन्धमा समेत रुसका उपविदेश मन्त्री स्तरमै छलफल भएको उहाँले बताउनुभयो ।

परराष्ट्रबाट कूटनीतिक पहल भएको तर परिणाम आएन भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले ती देशहरूले गम्भीर भएर लिए पनि द्वन्द्वमा भएकाले समय दिन नसकेको हुनसक्ने बताउनुभयो ।

यू १९ विश्वकप क्रिकेट न्युजिल्याण्डसँग कहिल्यै नहारेको नेपाल

यू(१९ विश्वकपको पहिलो खेल नेपालले आइतबार न्युजिल्याण्ड विरुद्ध खेल्दैछ। विश्वकप सुरु भएको दुई दिनपछि नेपालले टेष्ट मान्यता प्राप्त देश न्युजिल्याण्डलाई पहिलो प्रतिस्पर्धीको रुपमा पाएको हो।

यू(१९ विश्वकपमा नेपाल र न्युजिल्याण्डको भेट ८ वर्षपछि भएको छ। यू(१९ इतिहास खोतल्ने हो भने नेपालका लागि निकै सुखद छ। नेपाल हालसम्म न्युजिल्याण्डसँग पराजित भएको छैन।

यू(१९ विश्वकपमा नेपाल र न्युजिल्यान्डबीचको यो तेस्रो भेट हो। यसअघिका दुवै खेलमा नेपालले जित निकालेको थियो। नेपाल र न्युजिल्यान्डबीच सन् २००६ को विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा भएको थियो।

श्रीलंकामा भएको सो विश्वकपमा नेपाल र न्युजिल्यान्डको युवा टिमले प्लेट च्याम्पियनको फाइनलमा प्रतिस्पर्धा गरेका थिए। समूह चरणमा पराजित हुने टिमबीच हुने यो फाइनलमा नेपालले जित निकालेर इतिहास रचेको थियो।

कोलम्बोमा भएको खेलमा नेपालले १ विकेटको रोमाञ्चक जित निकालेको थियो। तत्कालीन समयमा नेपालले न्युजिल्यान्डले दिएको २०५ रनको लक्ष्य अन्तिम २ बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गरेको थियो।

यसरी सन् २००६ मा नेपालले टेस्ट मान्यताप्राप्त राष्ट्र न्युजिल्यान्डमाथि जित निकालेर सनसनी मच्चाएको थियो।

त्यसको १० वर्षपछि नेपाल र न्युजिल्यान्डको युवा टिमबीच सन् २०१६ मा बंगलादेशमा आयोजना भएको यू(१९ विश्वकपको समूह चरणमा भेट भयो। सो खेलमा फेरि नेपाली युवा टिमले न्युजिल्यान्डलाई ३२ रनले पराजित गर्दै गर्विलो इतिहास कायमै राख्न सफल भयो। पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २३८ रन जोडेको थियो।

२३९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४७।१ ओभरमा २०६ रनमै अलआउट भएको थियो।
आइतबार दक्षिण अफ्रिकामा हुने खेलमा नेपालका लागि इतिहास दोहोर्‍याउन सजिलो भने छैन।

न्युजिल्यान्ड यू(१९ इतिहासमा उपाधिको खडेरी तोड्ने लक्ष्यसहित मैदान उत्रिँदैछ। सन् १९९८ को विश्वकपमा फाइनलमा पुगेको न्युजिल्यान्ड २०२० मा सेमिफाइनलमा पुगेको थियो।

यस पटक न्युजिल्यान्ड छनोट खेलेर विश्वकपका छानिएको हो। किनभने, न्युजिल्यान्डले अघिल्लो संस्करणको विश्वकपमा कोभिड–१९ का कारण नाम फिर्ता लिएको थियो। जसका कारण उसले एसिया–प्यासिफिक क्वालिफायरमार्फत सन् २०२४ को विश्वकपमा स्थान बनायो। छनोटमा न्युजिल्यान्डले सबै ६ खेल सहज रुपमा जित हात पारेर आएकाले उच्च मनोबलसहित मैदानमा उत्रिँदैछ।

नेपालले पाकिस्तान २००२ दक्षिण अफ्रिका २००४, २००६ र न्युजिल्यान्ड २००६, २०१६ जस्ता टेस्ट राष्ट्रलाई हराएर सनसनी मच्चाएको थियो।

सन् २०१६ मा बंगलादेशमा भएको विश्वकपमा आठौं स्थान हात पार्नु नेपालको युवा विश्वकपमा उत्कृष्ट प्रदर्शन थियो।

गत महिना यूएईमा भएको यू(१९ एसिया कप खेलेपछि दक्षिण अफ्रिका पुगेको नेपालले यस पटकको विश्वकपमा उत्कृष्ट खेल देखाउने विश्वास गरिएको छ। दक्षिण अफ्रिकामा खेलिएको अभ्यास खेलमा नेपाल अपराजित रहेका कारण पनि युवा खेलाडीहरु टेष्ट राष्ट्रहरुलाई स्तब्ध पार्ने आसा गरिएको छ। कप्तान देव खनाल, गुल्सन झा, अर्जुन कुमाल जस्ता खेलाडीहरुले उच्चस्तरको प्रर्दशन गर्ने आसा नेपालले गरेको छ।

नेपालले अभ्यास खेलमा स्कटल्यान्डलाई दुई खेलमा तथा नामिबियालाई एक खेलमा पराजित गरेको थियो। मंगलबार वेस्ट इन्डिज विरुद्धको खेल भने वर्षाले अवरुद्ध भयो। यी खेलमा गुल्सनले शतक प्रहार गरेका थिए भने अर्जुनले पनि राम्रो प्रर्दशन गरेका थिए। कप्तान खनालको ब्याटिङ भने लयमा देखिएको छैन।

नेपाली टिम
देव खनाल कप्तान अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे दुर्गेश गुप्ता गुल्सनकुमार झा दिपेशप्रसाद कँडेल विशालविक्रम केसी सुवास भण्डारी दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द।

न्युजिल्यान्ड टिम
ओस्कर ज्याक्सन कप्तान मासन क्लार्क साम क्लोड ज्याक कमिङ रहमान हेक्मत टम जोन्स जेम्स नेल्सन स्नेहिथ रेड्डी म्याट रो इवाल्ड श्रुडर लाचलान स्ट्याकपोल ओलिभर टेवाटिया, एलेक्स

एक विद्यालयमा आगलागी हुँदा १३ विद्यार्थीको मृत्यु

हेनान –चीनको हेनान प्रान्तस्थित एक निजी विद्यालयमा आगलागी हुँदा १३ जना विद्यार्थीको मृत्यु भएको छ ।
चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाका अनुसार हेनान प्रान्तको यान्सापु गाउँमा रहेको यिङ्साई विद्यालयमा आगलागी भएको थियो । जसमा १३ जना छात्रछात्राको मृत्यु भएको हो ।

मृत्यु हुनेहरु सबै तेस्रो कक्षाका विद्यार्थी हुन् । आगलागी हुँदा छात्राबासमा ३० जना विद्यार्थी थिए । बाँकी विद्यार्थीलाई सकुसल बाहिर निकालिएको छ ।
सिन्ह्वाका अनुसार सूचना पाएको एक घण्टाभित्र आगो निभाइएको थियो ।

आगलागीको कारणबारे भने केही खुलाइएको छैन । सो विद्यालय सञ्चालकलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको छ ।

सिंगारियो अयोध्यास्थित लक्ष्मणघाट

अयोध्या  -भारतको अध्योध्यामा निर्मित राम मन्दिरमा सोमबार प्राणप्रतिष्ठा गर्ने कार्यक्रम छ ।
राम मन्दिरमा प्राण प्रतिष्ठाकोे अन्तिम तयारी चलिरहेका बेला अयोध्यास्थित लक्ष्मणघाट क्षेत्र पनि सिंगारिएको छ ।

श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले बनाएको मन्दिरमा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राणप्रतिष्ठा गर्ने कार्यक्रम रहेको छ।

 

 

 

 

 

 

मदिराले मातेका चौधरीले सुनसान रातमा रडले हानेर श्रीमतीको हत्या गरे

दाङ- दाङमा एक व्यक्तिले रड प्रहार गरि श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका(४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेका हुन् ।

मदिराले मातेका चौधरीले घर भित्रै श्रीमती लक्ष्मीलाई स्टिलको रडले टाउकोमा प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटना शनिबार राति सवा १० बजेतिरको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले हत्या आरोपी चौधरीलाई राति नै नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।