२ माघ २०७९, सोमबार १२:४१ – Page 4 – Nagarikabhiyan : National News

पब्जी र डोटा : खेल कि खेलबाड ?

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले तीन वर्षअघि ‘पब्जी’ (प्लेयर्सअननोन ब्याटलग्राउन्ड्स) ले बालबालिकामा नकारात्मक असर गरेको भन्दै यो भर्चुअल गेममा प्रतिबन्ध लगाइएपछि अनलाइन गेम खेल्ने–बुझ्ने पुस्तामा ठूलै हलचल भएको थियो । चर्को दबाबपछि एक सातामै फिर्ता लिइएको प्रतिबन्धको निर्णय वास्तवमै पब्जी र ईस्पोर्ट्सका लागि ‘प्रोडक्टिभ’ नै बन्यो । यसबारे कुनै जानकारी नभएकालाई पनि ईस्पोर्ट्स के हो, कसरी खेल्ने भनेर बुझ्ने उत्सुकता जगाइदियो ।

 

एसियाली खेलकुदमा औपचारिक रूपमै पदक गणना गरिने खेलका रूपमा ईस्पोर्ट्सलाई समावेश गरियो । १९ औं एसियाडमा समावेश ईस्पोर्ट्सका आठमध्ये ६ खेलमा नेपाली टिमको छनोट गत वैशाखमा सञ्चालन गरियो, जहाँ पब्जी मोबाइलमा मात्रै ६ सय ४४ टिमले प्रतिस्पर्धा गरेका थिए । एसियाली ओलम्पिक परिषद् (ओसीए) ले औपचारिक रूपमै ईस्पोर्ट्सलाई आफ्नो प्रतियोगितामा राखेपछि नेपालमा पनि भएको छनोटले भर्चुअल गेमलाई फेरि चर्चा दिलायो ।

००

– गत असारमा काठमाडौं महानगरको नयाँ बजेटमा मेयर बालेन्द्र शाहले ईस्पोर्ट्सका लागि एक करोड रुपैयाँ प्रस्ताव गरेका थिए । उनी निकटकाहरूलाई लक्षित गरी बजेट छुट्याएको आरोप लगाउँदै त्यसको समर्थन र विरोधमा ठूलै बहस भयो, हलचल मच्चियो, जसले ईस्पोर्ट्स के हो भनेर बुझ्नैपर्ने आवश्यकता बनाइदियो ।

०००

– गत साता जकार्ता (इन्डोनेसिया) मा भएको पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) २०२२ फाइनल्समा छनोट पार गरेर दुई नेपाली टिमले खेल्यो, जहाँ एक टिम उपविजेता भयो । विश्वकै सबभन्दा प्रतिष्ठित पब्जी प्रतियोगितामा दक्षिण एसियाली टिमकै ऐतिहासिक उपलब्धि हो । द रियल सोल्जर्स (डीआरएस) गेमिङ र ट्रन्ड टु किल (टीटुके) ले जितेर भित्र्याएको ४ लाख २४ हजार ५ सय अमेरिकी डलर (करिब ५ करोड ५२ लाख रुपैयाँ) पुरस्कारले फेरि पब्जीसँगै ईस्पोर्ट्सप्रति धेरैको ध्यान तानिएको छ ।

०००

कुल ४० लाख डलर पुरस्कारको च्याम्पियनसिपको उपाधि होडमा टर्कीको एसटुजी ईस्पोर्ट्ससँग पछाडि परेको डीआरएसले प्रतियोगितामा २ लाख ९२ हजार डलर आर्जन गर्‍यो । च्याम्पियनसिप १३ औं स्थानमा टुंग्याएको टीटुकेले १ लाख ३२ हजार ५ सय डलर कमायो । सन् २०२० को अगस्ट २६ मा स्थापित डीआरएसले स्थानीय र अन्तर्राष्ट्रिय तहका प्रतियोगिताबाट हालसम्म ५ लाख १६ हजार ६ सय ३४ (६ करोड ७१ लाख रुपैयाँ बढी) पुरस्कार जितेको छ । टीटुकेले २०१८ को डिसेम्बर १० मा स्थापना भएयता २ लाख ४९ हजार ५ सय १२ डलर (३ करोड २४ लाख रुपैयाँ बढी) हात पारिसकेको छ । नेपालमा सबभन्दा लोकप्रिय खेल भलिबल, फुटबल र क्रिकेट हुन् । तर, पब्जीका डीआरएस र टीटुकेले जितेको पुरस्कारको दाँजोमा न फुटबल क्लब पुगेको छ न क्रिकेट वा भलिबल टिम नै । पीसी हुँदै मोबाइलमा केन्द्रित भएका अनलाइन गेम पब्जीमा नेपाली खेलाडीले पनि मासिक १ लाख ३०/४० हजार रुपैयाँ कमाउन थालेका छन् । त्यसैले पनि डीआरएस, टीटुकेलगायत पब्जी टिमले छोटो अवधिमै जितेको अधिक पुरस्कारले धेरै नेपाली युवालाई आकर्षित गरेको छ, लोभ्याएको छ । कुनै बेला सरकारी निकायले प्रतिबन्ध नै लगाएको पब्जीमा के अब नेपाली खेलाडीको भविष्य उज्ज्वल भएको हो ?

डीआरसका खेलाडी समीर गुरुङ (ग्यान्टे) ले भने, ‘पब्जीमा भविष्य देखेको थिइनँ, रमाइलोकै लागि खेलिन्थ्यो । बिस्तारै आम्दानी पनि हुन थाल्यो । त्यसले खेलिरहें । अहिले पब्जीमै करिअर बनाउनेमा केन्द्रित छु ।’ बीबीएस दोस्रो वर्षमा अध्ययनरत पोखराका २१ वर्षीय उनी प्रस्टै छन्, ‘जबसम्म पब्जी डाउन हुँदैन, तबसम्म खेल्न सकिन्छ ।’ उनी चिन्तित पनि छन्, ‘नेपालमा ईस्पोर्ट्समा लागेर भविष्य बनाउन गाह्रै छ । किनकि ईस्पोर्ट्स यहाँ नौलो कुरा हो । यसमा सरकारको लगानी पनि छैन । त्यसैले धेरैलाई ईस्पोर्ट्समा करिअर बन्छ भन्ने थाहै छैन ।’

लहलहैमा चार वर्षअघि पब्जीमा हात बसाल्न थालेका समीर अहिले यसैको कमाइले आफ्नो खर्च टार्न पुग्ने बताउँछन् । जकार्ताबाट फर्केर घर पुगेका उनले भने, ‘पब्जीकै कमाइले आफ्नो खर्च पुग्छ, राम्रो भइरहेको छ । दैनिक ७/८ घण्टा खेलमा गरेको मिहिनेतले मूल्य पाइरहेको छ, आम्दानी दिइरहेको छ । पब्जी नखेलेको भए पढेर बस्थें, घुमेर हिँड्न नि सक्थें ।’ पीएमजीसीमा उपविजेता भएपछि स्टेजमा पुरस्कार थाप्न उक्लिएको क्षण सम्झँदै भने, ‘सबैको लक्ष्य सहभागी भएपछि उपाधि जित्ने नै हुन्छ, मेरो र हाम्रो टिमको लक्ष्य पनि त्यही हो । जित्ने (उपाधि) भनेर पीएमजीसीमा गएको हो तर जित्न गाह्रै थियो । दोस्रो भएकामा दुःख त थियो तर त्यो पनि ठूलै उपलब्धि हो । दक्षिण एसियाली टिम पहिलोपल्ट विश्व च्याम्पियनसिपमा दोस्रो स्थानमा पुगेको हो । त्यसैले स्टेजमा राष्ट्रिय झन्डासँगै उक्लिँदा गर्व महसुस गरेको थिएँ ।’

आ–आफ्ना देश हुँदै क्षेत्रीय छनोटबाट पीएमजीसीमा ४८ टिम पुगेका थिए, जहाँ नेपालका तीन टिमले स्थान बनाएका थिए । स्काइलाइट्ज गेमिङ भने मलेसियामा भएको लिग राउन्डबाटै बाहिरिएको थियो । इन्डोनेसिया र अरू देशबाट पब्जीको स्क्रिनिङ हेर्न पुगेका हजारौं दर्शकले नेपाली टिमलाई साथ दिएको पनि गुरुङले बताए । नेपाली टिमको स्तरबारे उनले भने, ‘विश्वस्तरमा हेर्‍यो भने हामी राम्रै अवस्थामा छौं । शीर्ष पाँचभित्रै छौं । स्रोत र सुविधा हेर्दा धेरै पछाडि छौं जस्तो लाग्छ ।’ उनको कुरामा भर्चुअल गेमका अभियन्ता कुमार व्यञ्जनकार पनि सहमत छन् ।

पीएमजीसी हेर्न जकार्ता पुगेका उनले भने, ‘ग्रान्ड फाइनल्सका १६ मध्ये १४ टिमलाई उनीहरूका सरकारले ठूलो सहयोग गरेको थियो । सरकारको साथ नपाएका नेपालका दुई टिम मात्रै हो । ग्रान्ड फाइनल्समा डीआरएस र टीटुकेको खेल विभिन्न प्लेटफर्ममार्फत ३० करोड बढीले हेरेका छन्, जसमा दुई टिमले हाम्रै देश नेपालको ब्रान्डिङ गरेको छ । यति ठूलो मान्छेको संख्यामा देशको नाम राख्नु, ब्रान्डिङ गर्नु त्यति सजिलो छैन । त्यसैले पब्जीलगायत ईस्पोर्ट्समा हाम्रो सरकारले लगानी गर्नैपर्छ । यो कुरा जति चाँडो गर्‍यो, देशका लागि, नेपाली टिम र खेलाडीका लागि त्यति नै राम्रो हुन्छ ।’ उनीसँगै महानगरका मेयर बालेन्द्र शाह पनि पीएमजीसीमा पुगेका थिए । शाह आफैं पनि ईस्पोर्ट्समा रमाउने गर्छन् ।

पब्जीमा दर्जन बढी नेपाली टिमले व्यावसायिक रूपमै एक टिमका लागि ४ देखि ६ जना खेलाडीलाई तलब दिएर अनुबन्ध गरेका छन् । फुटबल, क्रिकेटजस्तो केही साताको सिजन वा महिनाका लागि होइन, पूरा वर्षभरिकै तलब पब्जी खेलाडीले पाइरहेका छन् । प्रतियोगितामा जित्ने पुरस्कारबाट टिमको लगानी उठाउन सम्भव छ ? टीटुकेकी टिम म्यानेजर संगीता गुरुङ भन्छिन्, ‘प्रतियोगिता खेलेरै टिमको खर्च उठाउन सकिन्छ । तर नाफामै जान्छ भन्नेचाहिँ छैन । किनकि कहिले प्रदर्शन राम्रो हुन्छ, कहिले बिग्रन्छ ।’

फुर्सदमा आफैं पनि पब्जी खेल्ने गरेकी उनी ईस्पोर्ट्समा भविष्यबारे बोलिन्, ‘अहिले ईस्पोर्ट्समा धेरै नै राम्रो हुँदै छ । नेपालमा पनि राम्रो भइरहेको छ । यस्तै राम्रो गर्दै गयो भने भविष्यमा राम्रै हुन्छ ।’ टीटुके पीएमजीसीमा पहिलोपल्ट सहभागी हुँदै लिग राउन्डको शीर्ष तीनमा रहेर सिधै ग्रान्ड फाइनल्समा पुगेको हो । डीआरएसले तेस्रो सहभागितामा सर्भाइभल राउन्डमार्फत ग्रान्ड फाइनलमा स्थान बनाएको थियो । सन् २०१७ मा सुरु भएको पब्जीको प्रतियोगिता टेनसेन्ट र क्राफ्टनको अनुमतिमा मात्रै गर्न सकिन्छ ।

पीएमजीसी खेल्नुअघि डीआरएसले इस्तानबुल (टर्की) मा भएको ग्लोबल ईस्पोर्ट्स गेम्स २०२२ मा देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेको थियो । पदक जित्ने लक्ष्यसहित इस्तानबुल पुगेको डीआरएस पाँचौं भएको थियो । त्यहाँ अभिनव शाक्यको कप्तानीमा रहेको नेपाली डोटा टिम भने पहिलो चरणमै साउदी अरबविरुद्ध हारेको थियो । ‘नेपाली पब्जी टिमलाई खोज्दै कास्टर र फ्यानहरू आइरहेका थिए, त्यसले ईस्पोर्ट्स जगत्मा नेपाल पनि राम्रै स्तरमा छ भन्ने देखाउँछ,’ इस्तानबुलमा नेपाली टिमको व्यवस्थापन सम्हालेकी सिलु श्रेष्ठले भनिन् ।

नेपाल ईस्पोर्ट्स संघ (नेसा) सन् २०१६ मा स्थापना भएको थियो । सन् २०१८ देखि ईस्पोर्ट्स च्याम्पियनसिप एन्ड एक्सपो आयोजना गरेको नेसाले आईईएसएफ वर्ल्ड ईस्पोर्ट्स च्याम्पियनसिपमा त्यही वर्षदेखि नेपाली टिम पठाउन थाल्यो । इजरायलमा भएको १३ औं संस्करणमा नेपाली डोटा टिम पाँचौं भएको थियो । ईस्पोर्ट्समा सबभन्दा बढी कमाइ गरेको खेल डोटा नै हो । त्यसपछि सीएसगो पर्दछ । कमाइ र पुरस्कारको हिसाबले पब्जी तेस्रो वरीयतामा आउँछ ।

तर, नेपालमा डोटा ओरालो लाग्दै गएको छ । करिअरको सम्भावना पब्जीमा बढिरहेको छ । स्थानीयस्तरमै १ लाखदेखि ५ लाख रुपैयाँ पुरस्कारका थुप्रै प्रतियोगिता हुन्छन् । स्वदेशमै बसेर वा फिल्ड इभेन्टमा गएर थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेल्न सकिन्छ । त्यसैले हुन सक्छ, बुटक्याम्प पुगेरै गाली गर्नेहरू पनि केही महिनायता पब्जी खेलाडीलाई सम्मान दिन थालेका छन् ।

सहरमा खेल मैदानको अभावमा शारीरिक मिहिनेत पर्ने खेलको क्रेज घट्दै गएको छ । कोभिड–१९ महामारीले केही समय घरमै बस्न बाध्य पारेपछि भर्चुअल गेमको लोकप्रियता ह्वात्तै बढाएको हो । धेरै अभिभावकले पीसी, ल्यापटप, मोबाइल गेममै आफ्ना सन्तान झुम्मिएको देखेर छोरोछोरी बिग्रिए, मानसिक रूपमा नकारात्मक असर गर्‍यो भनेर गुनासो गर्ने गरेका छन् । यसबारे नेसाका अध्यक्ष सुरज डंगोलले भने, ‘जुनै पनि कुरा धेरै गर्‍यो भने नराम्रो भइहाल्यो । चिनी पनि बढी खायो भने तीतो हुन्छ । त्यसैले समय मिलाएर व्यक्तिगत कुरा र स्वास्थ्यमा पनि ध्यान दिन खेलाडीलाई आग्रह गरेका छौं । खेलको उपयोग कसरी गर्न सकिन्छ, त्यतातिर ध्यान दिनुपर्छ ।’ ग्लोबल ईस्पोर्ट्स र आईईएसएफ (अन्तर्राष्ट्रिय ईस्पोर्ट्स महासंघ) ले अनलाइन गेम खेल्नेसँगै आफ्नो स्वास्थ्यमा पनि ध्यान दिनुपर्नेमा जोड दिइरहेका छन् । गत महिना इस्तानबुलमा भएको ग्लोबल ईस्पोर्ट्स गेम्समा खेलाडीको मानसिक स्वास्थ्य, फिटनेस र खेल्दाखेरिको शारीरिक फिटनेसबारे वर्कसप नै सञ्चालन गरिएको थियो ।

डोटामा कठिन

ब्याचलर इन कम्प्युटर एप्लिकेसनको अन्तिम वर्षमा अध्ययनरत अभिनव शाक्यले नौ वर्षको छँदादेखि नै डोटा खेल्न थालेका थिए । उनी २२ वर्षका भएका छन् । तर, पीसीको सहयोगमा खेलिने डोटा छाडेका छैनन् । तीनपल्ट विश्व च्याम्पियनसिप र एकपल्ट ग्लोबल ईस्पोर्ट्स गेम्समा नेपाली डोटा टिमको कप्तानी गरेका उनले भने, ‘अब १–२ वर्ष मात्रै खेल्छु होला किनकि नेपालमा खासै अवसर छैन । यहाँ बसेर बाहिरको स्तरमा प्रतिस्पर्धा गर्न पनि गाह्रो छ ।’ उनले थपे, ‘यहाँ प्रतियोगिता कमै हुन्छ, भए पनि उत्साहजनक नहुने खालका सानो गेम मात्रै हुन्छन् । अनि बाहिर खेल्न जाँदा प्लेइङ फिल्ड नै फरक लाग्छ । प्रत्येकपल्ट वर्ल्ड च्याम्पियनसिपमा जाँदा फरक खेलाडीको टिममा खेल्नुपर्दा पनि स्तरोन्नति गर्न नसकिएको हो ।’

उनी डोटा खेलेर मासिक १० हजार रुपैयाँसम्म कमाउन सकिने बताउँछन् । ‘अहिले कमाइ झन् घटेको छ, प्रायोजक पनि छैन । आम्दानी नै छैन भन्नुपर्ला,’ उनले भने, ‘विश्वमा प्राइज पुलअनुसार टपमा भए पनि डोटाको रौनक नेपालमा घट्दै गएको छ । खेल्दै जाँदा पढाइ र घरको दबाब पनि हुन्छ । भविष्य सुरक्षित भएको भए यसमा समय लगानी गर्थे होला । तर, आम्दानी नभएकाले त्यस्तो परिस्थिति छैन । कलेज सकेपछि डोटा खेलिरहने अवस्था छैन । भविष्य चुनौतीपूर्ण र असुरक्षित छ ।’ उनले नेपालमा चुनौती दिने खेलाडी खासै पाएका छैनन् । दक्षिण एसियामा पनि पहिलो वा दोसो भइरहेकै छन् । त्योभन्दा माथिल्लोस्तरको प्रतियोगितामा भने गाह्रो हुने गरेको उनको अनुभव छ ।

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो

काठमाडौँ । आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिनुभयो ।

ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ । प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ ।

उक्त ब्ल्याक बक्स आजै काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ ।

 

पेरूको प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ४२ पुग्यो

पेरूमा नयाँ निर्वाचन र राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै पाँच सातादेखि जारी झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ ।

राजधानी लिमा र अन्य तीन क्षेत्रमा आइतबार आपतकालीन अवस्था घोषणा गरिएको छ भने राष्ट्रपति डिना बोलुआर्टेको विरोधमा हप्तौंदेखि जारी प्रदर्शन कम हुने कुनै सङ्केत देखिएको छैन ।

राष्ट्रपति नयाँ निर्वाचन र बोलुआर्टेको राजीनामाको माग गर्दै भएका प्रदर्शनका क्रममा भएका झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको पुष्टि पेरूका मानव अधिकार आयुक्तले गर्नुभएको छ ।

गत डिसेम्बर ७ मा पेड्रो क्यास्टिलोलाई महाभियोगबाट पदच्युत गरी पक्राउ गरेपछि बोलुआर्टेले दक्षिण अमेरिकी यो देशको पहिलो महिला राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरेका थिए ।

वामपन्थी पूर्व ग्रामीण विद्यालयका शिक्षक तथा युनियनका नेता क्यास्टिलोले आफ्नो १८ महिनाको कार्यकालमा संसदमा चर्को विरोधको सामना गर्नुपरेको थियो भनेभने उहाँविरूद्ध भ्रष्टाचारको आरोपबारे थुप्रै आपराधिक अनुसन्धानहरू शुरू भएका छन् ।

सरकारले लिमा, कुस्को, कालाओ र पुनो क्षेत्रमा शनिबार मध्यरातदेखि ३० दिनका लागि सङ्कटकालीन अवस्था थप गरेको छ ।

सङ्कटकालको घोषणाले आवागमन र भेला हुने स्वतन्त्रता जस्ता संवैधानिक अधिकारलाई पनि निलम्बन गरेको राजपत्रमा प्रकाशित आदेशमा उल्लेख छ ।

पेरुका २५ क्षेत्रमध्ये ११ क्षेत्रमा आइतबार १०० भन्दा बढी सडक अवरुद्ध भएका छन् ।

बोलिभियासँग सीमा जोडिएको जुलियाका शहरमा आइतबार लिमाको केन्द्रीय गिर्जाघरमा प्रदर्शनकारी र एक प्रहरीलाई जिउँदै जलाइएका प्रदर्शनकारीका लागि आयोजित सामूहिक प्रार्थना सभामा दर्जनौं मानिस सहभागी भएका थिए ।

शोक मनाइरहेका हरूमध्ये धेरैले शान्तिको प्रतीकको रूपमा सेतो टि–शर्ट लगाएका थिए र मरेकाहरूको फोटो बोकेका थिए ।

लिमाका धर्मगुरू कार्लोस क्यास्टिलोले स्पेनी र क्वेचुआ आदिवासी भाषामा सेवाको नेतृत्व गर्नुभएको छ । यो अशान्ति मुख्यतया दक्षिणी एन्डीजमा केन्द्रित छ, जहाँ क्वेचुआ र आइमारा समुदायको बसोबास छ ।

मानव अधिकारसम्बन्धी अन्तर–अमेरिकी आयोगले सङ्कटको अन्त्यका लागि यी समूहहरूलाई पेरुको समाजमा अझ राम्रोसँग एकीकृत गर्न आवश्यक रहेको बताउनुभएको छ ।

क्षेत्रीय प्रशासनका उपमन्त्री जोसे मुरोले आइतबार टिभी पेरुसँग कुरा गर्दै अनुत्तरित सामाजिक मागहरूबारे छलफल गर्न सरकारले देशव्यापी रूपमा ‘वार्ताका लागि ठाउँ’ सिर्जना गर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “हाम्रा दाजुभाइलाई भन्नुहोस् कि यो हप्ता हामी मागहरू पूरा गर्न वार्ताको लागि ठाउँहरू स्थापना गर्न चाहन्छौं ।

यसैबीच लिमाका साथै सीमान्तकृत दक्षिणी एन्डियन क्षेत्रमा सोमबारका लागि व्यापक प्रदर्शनको घोषणा गरिएको छ ।

शनिबार राति दर्जनौं प्रदर्शनकारी राजधानीको मिराफ्लोरेस जिल्लामा ‘शहरकब्जा’ को माग गर्दै प्रदर्शनमा उत्रिएका थिए ।

प्रसिद्ध माचू पिचु क्षेत्रको प्रवेशद्वार कुस्कोको विमानस्थल दुई दिन अघि बन्द भएपछि शनिबार पुनः खोलिएको थियो ।

पेरु वर्षौंदेखि राजनीतिक रूपमा अस्थिर छ र ६० वर्षीय बोलुआर्टे पाँच वर्षमा छैटौं राष्ट्रपति बन्नुभएको हो ।

भेटियो दुर्घटनाग्रस्त यती एयरको ‘ब्ल्याक बक्स’

काठमाडौं । दुर्घटनाग्रस्त यती एयरको ‘ब्ल्याक बक्स’ सोमबार बिहान भेटिएको छ । आइतबार बिहान पोखरास्थित सेती नदीको खोँचमा दुर्घटनामा परेको जहाजको ‘ब्ल्याक बक्स’ भेटिएको हो ।

उक्त बक्स मात्रै दुर्घटनाको कारण पत्ता लगाउने एक यन्त्र हो । जहाँ दुर्घटना अघिका कुराहरु रेकर्ड भएका हुन्छन् । जुन दुर्घटना भएको बेला नजल्ने यन्त्र पनि हो ।

दुर्घटनापछि लगातार उद्धारका कार्य थालिएको थियो । तर राति भएपछि उद्धार गर्न प्रतिकुल भएपछि सोमबार बिहानैबाट पुन हराएकाहरुको खोजी थालिएको थियो । अझै केही मानिसहरु बेपत्ता छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार यतिबेला पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ। भेटिएका शवहरु गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ।

शवहरुमध्ये २६ वटा पहिचान भएको जनाइएको छ । सरकारले मृतकहरुको शव आजै आफन्तहरुलाई बुझाउने तयारी गरेको छ ।

केपी ओली भेट्न बालकोट पुगे प्रचण्ड, सभामुखबारे छलफल जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास वालकोट पुगेका छन् ।

दुई नेताबीच भेटवार्ता जारी छ । आजको भेटमा मुख्यत सभामुखबारे छलफल रहेको नेताहरुले बताएका छन् ।

सभामुखको निर्वाचनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक हुँदैछ । बिहीबार सभामुखको निर्वाचन नै हुने तय भएको छ । त्यस अगावै संघीय सरकारलाई पूर्णता दिने तयारी पनि प्रधानमन्त्री प्रचण्डको छ ।

जारी भेटमा मन्त्रिपरिषदको भागवण्डा मिले मन्त्रिपरिषद विस्तार गर्ने र सभामुखको विषयमाथिको छलफललाई अन्तिम रुप दिने दुई नेताको तयारी छ ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने १० वटै दलको बैठक राखेका छन् । उनले आफूलाई कांग्रेसलगायतका दललेसमेत विश्वासको मत दिएको भनी सभामुख र राष्ट्रपतिका विषयमा उनीहरुसित समेत छलफल गर्नुपर्ने बताएपछि एमाले नेताहरु सशंकित भएका छन् । यसकारण पनि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच पछिल्लो समय भेटघाट बाक्लिएको छ ।

दाङमा मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१६ लेटार बस्ने २१ वर्षीय  सुशील चौधरी र सोही ठाउँका १८ वर्षीय विवेक चौधरी रहेका छन् ।उनीहरूको राप्ती स्वास्थ्य विज्ञान  प्रतिष्ठा घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।

आज (सोमबार) बिहान पौने २ सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा५प ९५१४ नम्बरको मोटरसाइकल घोराही १६ बेसाइमा दुर्घना हुँदा उनीहरू गम्भीर घाइते भएका थिए ।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

दुवै जनाको शव राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

प्रमुख प्रतिपक्षी दलको नेतामा नेमकिपाको दाबी

काठमाडौं । नेपाल मजदुर किसान पार्टी  नेमकिपा ले प्रमुख प्रतिपक्षी दलको नेतामा दाबी गरेको छ ।

पहिलो, दोस्रो, तेस्रोदेखि दशौं स्थानसम्मको दलले सरकारलाई विश्वासको मत दिएको उल्लेख गर्दै नेमकिपाका सांसद प्रेम सुवालले आफूहरु एघारौं ठूलो दल भएको भन्दै विपक्षी दलको नेतामा दाबी गरेका हुन् ।

‘नियम अनुसार नै नेमकिपा प्रमुख प्रतिपक्षी दलको नेता हो । नियमावली मिच्ने कार्य हुनुहुँदैन’ सुवालले अनलाइनखबरसित भने, ‘कानुन बनाउने थलो संसदले नियम मिच्दैन भन्ने विश्वास छ । केही गरी गलत बाटोमा लाग्यो भने विपक्षी दलको नेता माग्दै अदालत जान बाध्य हुन्छौं ।’

४ मंसिरमा सम्पन्न आम चुनावबाट संसदमा १२ वटा दलले प्रतिनिधित्व जनाएका छन् । त्यसमध्ये १० वटा दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका छन् । प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

नेमकिपा र राष्ट्रिय जनमोर्चाले मात्रै प्रधानमन्त्री प्रचण्ण्डलाई विश्वासको मत दिएनन् । विश्वासको मत नदिएका दुबै दसँग प्रतिनिधिसभामा एकरएक सांसद छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने दलहरु विपक्षी दल हुन नपाउने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै सुवाल प्रधानमन्त्रीलाई विश्वासको मत नदिने दुई दलमध्ये नेमकिपा ठूलो दल भएको बताउँछन् ।

आम चुनावमा समानुपातिकतर्फ नेमकिपाले ७५ हजार १६८ मत पाएको थियो भने राष्ट्रिय जनमोर्चाले ४६ हजार ५०४ मत पाएको थियो । समानुपातिकतर्फ मत पाएको दृष्टिमा नेमकिपा ११ औं ठूलो दल भएको र १० वटा दलले सरकारलाई समर्थन गरेकाले आफूहरुले नै प्रमुख प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने नेमकिपाको दाबी छ ।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको(पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार सरकारलाई समर्थन नगर्ने दल प्रमुख विपक्षी दल हुन सक्छ । प्रतिनिधिसभा वा राष्ट्रिय सभामा दश प्रतिशत वा सो भन्दा बढी सदस्यहरु भएको कुनै पनि दल विपक्षमा नभए प्रतिनिधिसभामा सभामुखले र राष्ट्रिय सभामा राष्ट्रिय सभाका अध्यक्षले तोकिदिएको दल प्रमुख प्रतिपक्षी दल हुने व्यवस्था यस ऐनमा छ ।

सांसद सुवाल दोहोर्‍याउँछन् ‘विपक्षी दुई दलमध्ये नेमकिपा ठूलो दल हो । त्यसकारण संसदले कानुन अनुसार नेमकिपालाई प्रमुख प्रतिपक्षी दल हो । यसलाई अन्यथा गर्ने छुट कसैलाई छैन ।’

कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंह कमिसन खान माहीर !

इनरुवा । कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंह कमिशन खान पल्केको स्थानीय किसानहरुको आरोप छ ।
कमिसनमा लिप्त भएका कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख सिंहले गत आर्थिक वर्षमा विभिन्न १९ वटा शिर्षकमा १९ समुह तथा सहकारीहरुबाट लाखौँ रुपैयाँको कमिसन उठाएको समाचार स्रोतले दाबी गरेको छ ।

सिंहले जसले जति धेरै कमिसन दियो उसलाई त्यति नै धेरै कार्यक्रम र बजेट दिएको स्थानीय कृषक समुहको सदस्यहरुको आरोप रहेको छ ।
ज्ञान केन्द्रबाट वितरण गरिएको मकैको बिउ देखी बोरिंग सम्मको कार्यक्रममा कमिशन लिएको एक कृषक समुहका सदस्यले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन्।

सिंहले कागती मिसन कार्यक्रम, मकै मिसन कार्यक्रम, मागमा आधारीत कार्यक्रम, माटो परिक्षण ल्याव स्थाप्ना सहितका दर्जनौँ शिर्षकमा कार्यालय प्रमुख हुँदा र तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा अधिकृतको रुपमा कार्यरक्त रहेको बखत समेत लाखौँ रुपैँयाको अनियमितता गरेको किसानहरुको आरोप छ ।निलकमल सिंहतत्कालिन अवस्थामा प्रकाशपुर गाविसमा मेज मिसन कार्यक्रममा अनियमितता गरेको भन्दै अनुगमनमा गएको बेला सिंह माथी कमिसनको विषयलाई लिएर किसानहरुले आक्रमनको प्रयास समेत गरेको थियो ।

सिंहले सुनसरीलाई नै पटक पटक रोज्नु कमिसन मात्रै एउटा राज भएको असल किसानहरुले बताएका छन् ।
किसानहरुलाई भन्दा कृषिको नाममा मागी खाने भाडोको रुपमा बनाएको फर्म, समुह र सहकारीहरुका दलालहरुबाट कमिसन लिदैँ कार्यक्रम दिदैँ आएकाले सिंह निकै आलोचित पात्र बनेका छन् ।

सिंहले कमिसन लिएर मात्र काम गर्नुको अर्थ उनले पनि माथि कमिसन वा भेटी चढाएर सुनसरी आएको हुन् सक्ने किसानको आरोप छ ।
केही किसानले भने समान्य तलब भात्ताबाट कमाएको भन्दा निकै धेरै आर्थिक आर्जन गरेर बिराटनगरमा समेत घर जग्गा जोडेकाले उनीमाथी सम्पती शुद्धिकरण आयोग र राष्ट्रिय सर्तकर्ता केन्द्र तथा अख्तियार दुरुपयोग अनुसान्धान आयोगले छानबिन गरी कारवाही गर्नुपर्ने माग गरेका छन् ।
यता कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहलाई ९८५२०६५१२४ मा यर्थात के हो भनेर प्रतिकृया लिन खोज्दा फोन उठाएनन् ।

सडक गुणस्तरहीन भएकाे समाचार आएपछि राजनीतिक दलहरूकाे संयुक्त स्थलगत निरीक्षण

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका वडा नम्बर -४ मेहता टाेलमा दुई महिना अघि निर्माण सम्पन्न भएकाे सडक गुणस्तरहीन भएकाे समाचार आएपछि राजनीतिक दलहरूले संयुक्त स्थलगत निरीक्षण गरेका छन् ।
शनिबार नेकपा माओवादी केन्द्र ,एमाले, जसपा र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरूले इनरुवा-४ मेहता टाेलमा पुगि सडकको स्थलगत निरीक्षण गरेकाे हाे ।
दुई महिना अगाडि उक्त सडकाे निर्माणकार्य सम्पन्न भएकाे थियाे  । दुई महिना बित्तिकै सडकाे कालाेपत्रे उक्किन थालेपछि स्थानीय मिडियामा समाचार आएपछि सत्यतथ्य बुझ्न र  दोषीलाई कार्वाही गर्न  सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनका लागि नेकपा माओवादी केन्द्र ,एमाले, जसपा र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरूले संयुक्तरूपमा स्थलगत   निरीक्षण गरेकाे नेकपा माओवादी केन्द्र इनरुवाकी अध्यक्ष ताेया गिरि पाेद्दारले जानकारी दिइन् ।
दुई महिना नबित्दै सडककाे कालाेपत्रे उक्किन थालेकाे र उपभोक्ता समिति तथा स्थानीय हरुकाे गुनासाे अनुसार गुणस्तरहीन काम भएकाे साथै दोहोरो भुक्तानी समेतभएकाे गिरिले जानकारी दिइन् ।
गिरिले भने “नगर भित्रको विकास योजना हरुमा यस्तो प्रकरको भ्रष्टचार को कुरा आयो रहदा स्थानिय सरकार किन मौन छ ?,`  किन तुरुन्त एक्सन लिन सक्दैनन्?”
गुणस्तरहीन काम भएकाे र दाेहाेराे भुक्तानी समेत लिएकाे कुरा यत्रतत्र चर्चामा रहिरहँदा समेत नगर प्रमुखले केही ठाेक कदम नउचाल्नु दुखद कुरा रहेकाे गिरिले भनिन्  ।
एता वडाध्यक्ष र नगरपालिकाका इन्जिनियरले धम्की र त्रास देखाएर आफै सडक बनाएर आफै भुक्तानी लिएको   उक्त सडकाे उपभोक्ता समितिका अध्यक्ष  उमेश मेहताले संचारकर्मी संग कुराकानी गर्दै जानकारी दिनुभयो  ।
बाटो निर्माणका लागि नगरपालिकासँग उपभोक्ता समितिको सम्झौता भएपनि वडाध्यक्ष बौवालाल मेहता र योजना शाखाका इन्जिनियर उमेश्वर मेहताले उपभोक्ता समितिलाई दवाव दिई आफै काम गरेर आफै भुक्तानी लिएको उपभोक्ता समितिका अध्यक्ष  मेहताले जानकारी दिनुभयो ।
बाटो निर्माण उपभोक्ता समितिले भुक्तानी दिन प्रयोगको चेक बुकको अर्धकट्टीमा इन्जिनियर मेहताको नाममा ३५ लाख रुपैयाको चेक काटिएको देखिएको छ ।
२०७९ कार्तिक २१ गते काटिएको चेक निर्माण गर्ने सडक निर्माण गर्ने व्यक्तिको नाममा काटिनु पर्नेमा नगरपालिकाका इन्जिनियरको नाममा वडाध्यक्ष र इन्जिनियर मेहताले चेक नकाटे उल्टै कानूनी झण्झटमा फसाउने डरधाक देखाएर आफूसँग चेक काट्न लगाएको अध्यक्ष मेहताले जानकारी दिनुभयो ।
त्यस्तै इनरुवा- ४ को पिपल चोकदेखि होलीसम्म निर्माण भएको ६ सय ८७ मिटर लामो सो कालोपत्रे सडक निर्माणको क्रममा चार वर्षअघि नै ग्रावेल हाल्ने र ढल निर्माण गर्ने काम सम्पन्न भएर त्यसको भुक्तानीसमेत नगरपालिकाले गरिसकेको स्थितिमा अहिले डब्लुबीएम, बेस हाल्ने क्रममा पुरानो ग्रावेलको पैसा भुक्तानी भएको छैन भन्दैे उपभोक्ता समितिबाट चेक काट्न लगाई दोहोरो भुक्तानी गरिएको समेत पाईएको छ ।
सो सडक निर्माणमा इनरुवा नगरपालिकाका साइट हेर्ने सब इन्जिनियर चन्दन कण्ठले ग्रावेल हाल्ने र ढल निर्माण गर्ने काम चार वर्ष अघि नै सम्पन्न भएको र त्यसको भुक्तानी पनि पहिला नै भएको जानकारी दिनुभयाे ।
आठ वटा विजुलीको पोल सार्न ५ हजारको दरले ४० हजारमा जिम्मेवारी दिएको भएपनि वडाध्यक्षले दवाव र धम्की दिएर ६० हजार रुपैया जवरजस्ती भुक्तानी गराउन लगाएको समेत उपभोक्ता समितिका अध्यक्ष मेहताले जानकारी दिनुभयो ।
उनले आफूहरुले सस्तोमा सडक निर्माण गर्न अरु निर्माण कम्पनीसँग कुरा गरिरहँदा वडाध्यक्ष मेहता र इनरुवा नगरपालिकाका इन्जिनियर उमेश्वर मेहताले उपभोक्ता समितिलाई जानकारीसमेत नदिई आफूखुसी काम सम्पन्न गरेको बताउनुभयाे।
उक्त सडक निर्माणको लागि उपभोक्ता समिति र नगरपालिकाबीच २०७९ असार ९ गते निर्माणको सम्झौता भएको थियो भने पुस ११ गते अन्तिम भुक्तानी भईसकेको छ ।सडक बोर्ड काठमाडौको बजेटमा उपभोक्ताको समेत लागत सहभागितासहित ८८ लाख ८० हजार ७६५ रुपैया ३ पैसामा निर्माण सम्झौता भएकोमा नगरपालिकाले अन्तिम भुक्तानीसहित ८० लाख ६४ हजार ३०८ रुपैया ४७ पैसा भुक्तानी गरिसकेको जनाइएको छ ।
उपभोक्ता समितिका अध्यक्ष मेहताका अनुसार सो सडक निर्माणका लागि पहिला नै बनेको उपभोक्ता समितिलाई विघठन गराएर वडाध्यक्ष मेहताले नयाँ उपभोक्ता समिति बनाएकाे थियाे ।

६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त

काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ ।

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए ।

माघ ३ गते सर्वदलीय बैठक बस्ने

काठमाडौँ । आगामी माघ ३ गते सर्वदलीय बैठक बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न सञ्चारमाध्यमहरुका सम्पादकहरुसँगको छलफलमा सभामुखको निर्वाचनअघि सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिएका हुन् । उनले आइतबार बैठकको आह्वान गर्ने पनि बताए।

आगामी माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ। मुलुक गणतान्त्रिक शसन प्रणालीमा गएपछि सभामुखका लागि चौथो सभामुखको चुनाव हुन लागेको छ। सत्तारुढ दलहरुबीच सभामुख पद नेकपा एमालेले पाउने सहमति भएको छ।

छलफलमा उनले भने, ‘माघ ३ गते मलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाउँछु। सर्वदलीय सहमति बनाउने मेरो कोसिस छ। राष्ट्रपति, उपराष्ट्रपति, सभामुखबारे लिखित सहमति केही छैन। अब बस्ने सर्वदलीय बैठकले धेरै कुरा निर्धारण गर्छ।’

रुस-युक्रेनबीच युद्ध रोक्न चीनले थाल्यो पहल

एजेन्सी । रुस-युक्रेन युद्ध चाडोभन्दा चाँडो अन्त्य होस् भन्ने चिनियाँ चाहना व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घका लागि चीनका राजदूत झाङ जुनले त्यस निम्ति वार्ताको वातावरण बनाउनुपर्नेमा जोड दिएको छ। रुस-युक्रेन वार्ताको वातावरण बनाउन पहल अन्तर्राष्ट्रिय समुदायबाट हुनुपर्ने पनि उनले बताए ।

राष्ट्रङ्घीय सुरक्षा परिषद्मा चिनियाँ राजदूतले आपसी मतभेद मिलाउन सरकारवाला पक्ष वार्तामा बस्नुपर्नेमा जोड दिए। उनले जारी द्वन्द्व अन्त्य गर्न तथा युरोपेली सुरक्षा संरचना सुदृढ तुल्याउन वार्ताको प्रयत्न हुन जरुरी भएको विचार व्यक्त गरे। विशेष गरी वर्तमान परिस्थितिमा ठूलो प्रभाव पार्ने देश तथा अन्तर्राष्ट्रिय समुदायले रुस र युक्रेनलाई वार्तामा संलग्न हुन र सङ्कटको राजनीतिक समाधानको मार्ग पहिल्याउन मद्दत गर्नुपर्ने चिनियाँ स्थायी प्रतिनिधिले बताए।

नाकाबन्दीको अवधि बढाउने तथा हातहतियारको आपूर्तिलाई निरन्तरता दिँदा परिस्थिति अझ जटिल हुने चेतावनी दिँदै चिनियाँ कूटनीतिज्ञले द्वन्द्व घटाउनेतर्फ लाग्नु अपरिहार्य भएको बताए। साथै उनले युद्धबाट प्रभावितलाई मानवीय सहायता उपलव्ध गराउनुपर्ने र युक्रेनका क्षतिग्रस्त ऊर्जा पूर्वाधार यथाशीघ्र मर्मत गराउन आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए। शान्ति स्थापनाका सबै काममा चीनको सक्रिय सहभागिता एवम् सहयोग रहने पनि उनले स्पष्ट गरे।

जापोरिझहिया आणविक ऊर्जा केन्द्रको सुरक्षामा असर पार्ने सबै सैन्य कारबाही तत्काल बन्द गर्न आग्रह गर्दै चीनले अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएईए)लाई केन्द्रका सम्बन्धमा रुस र युक्रेनसँग सञ्चार कायम राख्न सहयोग गर्ने जानकारी राजदूत झाङले दिए।

आँधीका कारण अलाबामामा ९ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको अलाबामा राज्यमा बिहीबार आएको आँधीमा परी ९ जनाको मृत्यु भएको छ। उक्त क्षेत्रमा उद्धार कार्य जारी रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

उद्धारकर्ताहरूले प्रभावित क्षेत्रमा घर-घरै पुगेर मृतक र घाइतेहरूको खोजी कार्य जारी राखेका छन्। जर्जिया शहरको स्पाल्डिङ काउन्टीमा, मध्य-विद्यालयका प्रिन्सिपलहरूले विद्यार्थीहरूलाई परिवारसँग पुनर्मिलन गर्न मद्दत गर्न पनि सतपकारवाला निकायलाई अनुरोध गरेका छन्।

नजिकैको बट्स काउन्टीमा एउटा रूख लडेर गाडीमा गाडीलाई ठक्कर दिँदा ५ वर्षीय बालकको मृत्यु भएको र उनका आमाबाबु गम्भीर घाइते भएको बताइएको छ । यसैगरी मोन्टगोमेरी नजिकैको अटाउगा काउन्टी आँधीका कारण सबैभन्दा बढी प्रभावित भएको छ। स्थानीय अधिकारीहरूले बताएअनुसार शुक्रबार सम्म मारिएका ९ जना मध्ये सात जना औटागाका बासिन्दा थिए।

सेल्मा नजिकैको शहरबाट कुनै हताहती नभएको भएपनि घर र व्यापार लगायत शहरका धेरैजसो क्षेत्रमा व्यापक क्षति पुगेको छ। आँधीले यस चीसो मौसममा व्यापक असर गरेको छ। स्थानीय अधिकारीहरूले प्रभावित क्षेत्रभरि स्थानीयहरूलाई थप खतराहरूको चेतावनी दिदैँ सडकबाट टाढा रहन आग्रह गरेका छन्। यसैगरी जर्जिया शहरमा पनि आँधीँबाट धनजनको क्षति भएको छ।

हजारौँ घरमा बिजुली पुर्नस्थापनाका लागि व्यापक अभियान चलिरहेको छ। भग्नावशेषमा मानिसहरु अझै फसेको हुनसक्ने भएकाले खोजी अभियान चलाइएको छ। सन् २०२१ डिसेम्बरमा अमेरिकाका छवटा राज्यमा आँधीबेहरीका कारण ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो जसमा केन्टकी जिल्ला न्यायाधीशले पनि आफ्नो ज्यान गुमाएका थिए।

झापामा गोठमा बाँधेको राँगा चोर्ने भारतीय नागरिक पक्राउ

काठमाडौं । गोठमा बाँधी राखेको राँगा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा गाउँपालिका-४ का अमालो मियाँको गोठमा बाँधी राखेका २ वटा राँगा चोरेर फरार रहेका भारतीय नागरिक २२ वर्षीय महमद नाजिरलाई नेपाल भारतको दशगजा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । गएको २६ गते राति साढे ११ बजे चोरी भएको थियो ।

त्यही घटनामा संलग्न रहेका भारतीय नागरिक आजाहार महमद, इजाहुल हक र गोदा नाम गरेका तीन जना व्यक्ति फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका महमद नाजिरलाई चोरी शीर्षकमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइ रहेको छ ।

माधव नेपाल र रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज नेता नेपाललाई भेट्न पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका थिए ।

दुई नेताबीच करिब आघा घण्टा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । कांग्रेस नेताहरुले राष्ट्रपति चुनावलाई लक्षित गर्दै राजनीतिक भेटघाट बढाएका छन् ।

राष्ट्रपति चुनावलाई लक्षित गरेर प्रधामन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएको पनि नेताहरुले खुलाएका छन् । एकीकृत समाजवादीसँग पनि प्रतिनिधिसभाको सभामुख र राष्ट्रपति निर्वाचनको विषयमा नेता पौडेलले छलफल गरेको हुन सक्ने नेताहरुले बताएका छन् ।

खाल्डोमा भेटियो बालकको शव, आमा पक्राउ

काठमाडौँ । डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ। आलिताल गाउँपालिका-८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो।

घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन गरेर निकालिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसुमबहादुर नायकले जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धानका लागि मृतक बालककी आमा ३४ वर्षीया कलामती र सौतेनी आमा ३० वर्षीया जानकीलाई नियन्त्रणमा लिइएको छ।

मृतक बोहरा यही पुस १२ गतेदेखि घरपरिवारको सम्पर्कमा थिएनन्। उनको परिवारले प्रहरीलाई जानकारी गराएपछि खोजबिन गर्दा शव खाल्डोमा पुरिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक नायकले बताए। घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ।