२६ पुष २०७९, मंगलवार १०:११ – Page 10 – Nagarikabhiyan : National News

‘हनिट्रयाप’मा पारेर पाँच करोड माग्ने महिला पक्राउ

दाङ । दाङ तुलसीपुरका एक ब्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर रु पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा–६ घर भइ हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षीया अनुष्का सिंह भनेर चिनिने गहतरालाई कारागार चलान गर्न आदेश दिएको हो ।

जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलासले उनलाई जेल पठाउन आदेश दिएको हो । सिंहका दुईवटा नागरिकता भएकोसमेत भएको जनाइएको छ ।

हनिट्रयापको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । तीमध्ये तुलसीपुर–१८ ग्वारखोला निवासी ३६ वर्षीया कृष्णीकुमारी बस्नेतलाई पनि कारागार चलान गरिएको छ । उनलाई अदालतले रु एक लाख धरौटी तोकेको थियो । तर धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको हो ।

आपराधिक लाभ मुद्दा चलाइएका घोराही–१० नारायणपुरका २७ वर्षीय रुद्रबहादुर केसी भने रु एक लाख धरौटीमा छुटेका छन् । प्रहरीले तीनै जनालाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

‘ब्ल्याकमेलिङ’ गर्दै मोटो रकम नदिए बलात्कार मुद्दा हाल्ने धम्की दिँदै ती पुरुषसँग उनीहरुले रु पाँच करोड माग गरेका थिए ।

उनीहरूले पटक–पटक गरी रु ३० लाख लगिसकेको खुलेको छ । पीडित पुरुषले मुख्य योजनाकार सिंहलाई ‘स्कुटरको लाइसेन्स’ र दुईवटा नागरिकता बनाउन सहयोग गरेकोसमेत खुलेको छ ।

त्यस्तै पीडित भनिएका तुलसीपुरका ती पुरुष प्रेम खड्कालाई पनि सरकारी कागज कीर्ते गरेको जनाउँदै मुद्दा चलाइएको छ । पक्राउ परेका खड्कालाई भने साधारण तारेखमा छाडिएको छ ।

मस्कोबाट गोवाका लागि उडेको विमानमा बम राखिएको हल्लापछि गुजरात डाइभर्ट

गोवा । मस्कोबाट गोवाका लागि २२४ यात्रु सवार चार्टर्ड उडान गुजरातको जामनगरमा डाइभर्ट गरिएको छ । गोवा एयर ट्राफिक कन्ट्रोलरले विमानभित्र बमको धम्की पाएपछि विमान डाइभर्ट गरिएको  अधिकारीहरूले बताए ।

‘सबै यात्रु र चालक दलका सदस्य (८) लाई सकुशल बाहिर निकालिएको छ र स्थानीय अधिकारी, प्रहरी र बम डिस्पोजल टोलीले विमानको जाँच गरिरहेको छ’, प्रहरी महानिरीक्षक अशोककुमार यादवले भने। । जामनगर विमानस्थलका अधिकारीहरूका अनुसार विमानलाई एकान्तमा अवतरण गरिएको थियो ।

‘मस्कोबाट गोवा जाँदै गरेको अजुर एयरको उडानमा कथित बम राखिएको भन्ने बारेमा भारतीय अधिकारीहरूले दूतावासलाई सचेत गराएको थियो। विमानले जामनगर भारतीय वायुसेना बेसमा आपतकालीन अवतरण गरेको छ। जहाजमा रहेका सबै सुरक्षित छन्।’, रुसी दूतावासले एक विज्ञप्तिमा भनेको छ ।-एजेन्सी

लुम्बिनी प्रदेश सरकार गठनका लागि एमाले नेतृत्वमा आज दाबी पेश गर्ने

बुटवल । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरुले आज दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समय सीमाको एकदिन अगाडि नै दलहरुले दाबी पेश गर्न लागेका हुन् ।

सत्तारुढ दलको सोमबार बसेको बैठकले आज मंगलबार बहुमत सांसदको हस्ताक्षरसहितको दावी पेश गर्ने निर्णय गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेसम्म सरकार गठनका लागि समय दिएका थिए ।

प्रदेशको भागवण्डा टुंगिएपछि लुम्बिनीमा एमालेले मुख्यमन्त्री पाउने भएको छ । उसैको अगुवाईमा सोमबार सबै दलको बैठक बसेको थियो । लुम्बिनीमा एमाले संसदीय दलका नेता एवं पूर्वमन्त्री लीला गिरी मुख्यमन्त्री बन्दैछन् ।

सोमबार दाङको देउखुरीमा एमाले संसदीय दलका नेता लीला गिरीसहित सत्तापक्षीय गठबन्धनका नेताहरूको बैठकले मंगलबार ४ बजे सरकार गठनका लागि बहुमतसहितको दाबी पेस गर्ने सहमति गरेका हुन् । सोमबारको बैठकमा सत्तारुढ दलमा रहेको नागरिक उन्मुक्ति भने सहभागी भएन । उसका ४ सांसद छन् ।

सोमबारको बैठकमा एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा र जनमतका नेताहरूको उपस्थिति थियो । एमाले सांसद भूमिश्वर ढकालले मंगलबार कम्तीमा ४९ सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गर्ने सहमति भएको बताए । उनले भने, ‘मुख्यमन्त्रीमा लीला गिरीको नामसहित कम्तीमा ४९ सदस्यको दाबी पेश हुन्छ, त्यो संख्या बढ्नेछ, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसद बैठकमा उपस्थित नभए पनि सरकारलाई समर्थन गर्ने विषयमा उहाँहरू सकारात्मक नै हुनुहुन्छ ।’

नागरिक उन्मुक्तिको दलका नेता धर्मबहादुर चौधरीले आफूहरु काठमाडौं भएकाले सोमबारको बैठकमा सहभागी नभएको र मंगलबार सहभागी हुने बताए । ‘हामीहरु सबै काठमाडौं छौं, केही असहमति त छन् तर हामी गठबन्धन बाहिर रहँदैनौ, भोलि म आउँछु अनि सहमति हुनेछ’, उनले भने ।

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३–३ सिट छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । नागरिक उन्मुक्तिका ४ र स्वतन्त्रबाट २ सदस्य निर्वाचित छन् । कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सदस्य छन् ।

प्रचण्ड सरकारलाई सर्तसहित समर्थन गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारलाई ससर्त समर्थन गर्ने भएको छ। आज बिहान बसेको सचिवालय बैठकले सरकारलाई ससर्त समर्थन गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

“यो सरकारलाई सर्तसहित समर्थन गर्ने निर्णय गरेको छ। विश्वासको मत दिन्छ। एजेन्डा राखिनेछन्। एजेन्डा पूरा नगरेमा फर्कन सक्ने ठाउँलाई सुरक्षित गर्दै अहिले समर्थन गरिनेछ,” खतिवडाले भने ।

एकीकृत समाजवादीको प्रतिनिधिसभामा १० सदस्य रहेका छन् । संसदको सोमबार भएको पहिलो बैठकमा सो दलका अध्यक्षका माधवकुमार नेपालले सम्बोधनको क्रममा दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने संकेत गरेका थिए।

पहाडी तथा हिमाली भू-भागमा आज हल्का हिमपातको सम्भावना

काठमाडौँ  । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्यबदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ।

देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही देशको उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली तथा तराईका केही भू–भागमा हुस्सु–कुहिरो लागेको छ। राति देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा भई उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री र अधिकमत तापक्रम २० दशमलव दुई डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइन तीन दशमलव आठ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।

देवानगञ्जमा पोषण कार्यक्रमको पालिका स्तरीय दुई दिने समिक्षा तथा कार्ययोजना गोष्ठी सम्पन्न

देवानगञ्ज । देवानगञ्ज गाउँपालिका अन्तर्गतको स्वास्थ्य शाखाको आयोजनामा दुई दिने पोषण कार्यक्रमको पालिका स्तरीय समिक्षा तथा कार्ययोजना गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रमकामा गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले देवानगञ्ज गाउँपालिकाको पोषण स्थितिको सुचकहरु अत्यन्तै राम्रो रहेकोमा खुसी व्यक्त गर्दै गाउँपालिकालाई पोषण मैत्री पालिका बनाउन आफुहरु लाग्ने बताउनु भएको थियो । अध्यक्ष मेहताले स्वास्थ्य चौकीहरुले प्रदान गर्ने सेवालाई थप गुणस्तरीय बनाउन गाउँपालिका उच्च प्राथमिकताका साथ लाग्ने र यसका लागि सकेसम्म रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिन सम्पुर्ण स्वास्थ्यकर्मीहरु लाई लाग्न आग्रह गर्नुभएको थियो ।

उपाध्यक्ष कुमारी बिभा यादवले पालिकालाई स्वास्थ्य क्षेत्रमा नमुना पालिका बनाउन सबै मिलेर लाग्नुपर्ने र स्वास्थ्य क्षेत्रमा पालिकाले गरेका कार्यहरूको प्रशंसा गर्नुभएको थियो । देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले देवानगञ्ज गाउँपालिकालाई सुखी र समृद्ध पालिका बनाउने उद्देश्य अनुसार स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्यहरू गर्न सफल भएको र आगामी दिनहरूमा पनि यसलाई अझै बढी प्रभावकारी बनाईने बताउनु भएको थियो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख उमेश प्रसाद मेहताले कार्यक्रको उद्देश्यमाथि प्रकाश पार्दै देवानगञ्ज गाउँपालिकाको पोषण स्थिती तथा समग्र स्वास्थ्य क्षेत्रमा भएका प्रगतिहरु , न्यूनतम सेवा मापदण्ड सेवाको महत्व र सेवालाई प्रभावकारी बनाउन गर्नुपर्ने गृह कार्यका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो

कार्यक्रममा देवानगञ्ज गाउँपालिका अन्तर्गतको सातै वडामा पर्ने स्वास्थय चौकी प्रमुखले स्वास्थयको वर्तमान अवस्था बारेमा जानकारी गराएका थिए भने अन्य स्वास्थ्य कार्मीहरुले पोषण कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेका छन् : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले भन्नुभयो, “हाम्रो आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य हो ।”

सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता रहेको बताउँदै यसका लागि नेपालको संविधानको रक्षा र संविधानको भावना अनुरुप यसको कार्यान्वयन अनिवार्य शर्त भएको उल्लेख गर्नुभयो ।

संविधानको कार्यान्वयनका लागि धेरै नीति र कानून निर्माण गर्न बाँकी रहेको बताउँदै उहाँले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि त्यसअनुरुपका आवश्यक नीति र कानून बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“लोकतन्त्रको उन्नयनका निमित्त संविधान कानूनका साथै नैतिक आचरणको विषेश महत्व हुन्छ । हाम्रो सम्पूर्ण ऊर्जा, मनस्थिति, व्यवहार र काम कारवाही नेपाल र नेपाली जनताको बृहत्तर हितका निमित्त केन्द्रित हुनु पर्दछ । सबै माननीय साथीमा म हार्दिक अपिल गर्न चाहन्छु कि प्रतिनिधिसभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सवलीकरणका लागि विषेश योगदान गर्न सकोस् । हामी सबै यसमा सफल हुन सकौँ”, सभापति देउवाले भन्नुभयो ।

उहाँले लोकतान्त्रिक व्यवस्थाको स्थापना, पुनःस्थापना र संरक्षणका लागि जीवन आहुति दिन हुने सम्पूर्ण सहिदमा श्रद्धाञ्जली अर्पण गर्दै देशमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्न र वर्तमान संविधान निर्माण गर्न योगदान गर्नु हुने सबैप्रति उच्च सम्मान गर्दै प्रशंसा गर्नुभयो ।

प्रतिनिधिसभामा निर्वाचित भएर आउनुभएका सबै सदस्यलाई बधाई दिँदै उहाँले पाँच वर्षको आफ्नो कार्यकालमा देश र जनताको हितमा काम गर्न सर्वदा सफल हुनुहुनेछ भन्ने विश्वास गर्दै कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले निर्वाचित गर्ने जनताको भावनाअनुरुप काम गर्न सांसदहरुलाई अनुरोधसमेत गर्नुभयो ।

सभापति देउवाद्वारा प्रधानमन्त्री दाहाललाई बधाई

सभापति देउवाले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त हुनुभएकामा बधाई दिँदै उहाँको कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले मन्त्रिपरिषद्मा नवनियुक्त मन्त्रीहरुलाई बधाईका साथै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

सभापति देउवाले भन्नुभयो, “आजभन्दा १८ महिना पहिले अप्रत्यासित तवरले विकसित राजनीतिक घटनाक्रमका बीचमा कांग्रेससहित नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चाको सहयोग र समर्थनमा म प्रधानमन्त्री नियुक्त भएको थिए । तत्कालीन अवस्थामा संविधानको भावनाबमोजिम प्रतिनिधिसभालाई पूर्ण कार्यकाल कार्यसम्पादन गर्ने सुनिश्चितता गर्नु, स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमा सम्पन्न गरी देशलाई लोकतान्त्रिक मार्गमा अग्रसर गराउनु मेरो नेतृत्वको सरकारको प्राथमिक जिम्मेवारी थियो ।”

यस कार्यमा तमाम चुनौती र कठिनाइ थिए तापनि प्रतिनिधिसभा पूर्ण कार्यकाल कायम रहेको उल्लेख गर्दै उहाँले स्थानीय तहको निर्वाचन समयमा सम्पन्न भएको र पछिल्लो पटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न भएर आज प्रतिनिधिसभाको पहिलो बैठकमा बसी रहँदा आफूलार्ई हर्ष एवं गौरवको अनुभूति भएको बताउनुभयो ।

आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त भएको बताउँदै सभापति देउवाले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैमा आभार व्यक्त गर्दै धन्यवाद दिनुभयो । निर्वाचनको प्रयोजनका लागि अन्तर्राष्ट्रिय जगत्बाट प्राप्त सद्भाव र सहयोगका लागिसमेत उहाँले धन्यवाद दिनुभयो ।

मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभामा सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ । उहाँले कांग्रेसमा यति ठूलो विश्वास र भरोसा गरेर जनमत प्रदान गर्नुहुने देशभित्र र बाहिर रहनुभएका सम्पूर्णमा आभार व्यक्त गर्दै धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “म सम्पूर्ण दाजुभाई, दिदीबहिनीलाई विश्वास दिलाउन चाहन्छु, तपाईंले दिनुभएको विश्वासमा ठेस लाग्न दिने छैनौँ । कांग्रेस जनताको अपेक्षा र पार्टीका साथीको भावनाअनुसार काम गर्नेछ । हाम्रो असङ्ख्य सहिदको त्याग, तपस्या र बलिदानबाट हामीले प्रेरणा पाएका छौँ ।”

“पार्टीका संस्थापक नेता बिपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालगायतका नेताहरुको मार्गदर्शनले हाम्रो यात्रा निर्देशित छ । म सबै नेताहरुको योगदानलाई श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु । म नेपाली कांग्रेसको इतिहासलाई पनि स्मरण गरिरहेको छु”, उहाँले भन्नुभयो । देशमा जुनसुकैबेला जस्तोसुकै समस्या आई परे पनि कांग्रेसले आफ्नो नेतृत्वमा समाधान दिएको उल्लेख गर्दै उहाँले यो सुनौलो इतिहासले हामीलाई आगामी दिनमा पनि प्रेरणा दिइरहने बताउनुभयो ।

उहाँले सहिदको बलिदान, नेताहरुको प्रेरणा र मार्गनिर्देश र साथीहरुको परिश्रम खेर जान नदिईने विश्वास दिलाउँदै सभापति देउवाले नेपालको संविधानको रक्षा र कार्यान्वयन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सवलीकरण गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्ने लक्ष्यमा अविचलितरुपले लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । देश र जनताको बृहत्तर हितमा काम गर्ने उल्लेख गर्दै उहाँले यो प्रतिनिधिसभामा कांग्रेस एकताबद्ध, जिम्मेवार र रचनात्मक भई प्रस्तुत हुने र जनताका जीवनसँग जोडिएका विषयमा विषेश ध्यान दिने बताउनुभयो ।

प्रदेश १ का मुख्यमन्त्री कार्कीले लिए पद तथा गोपनियताको सपथ, माओवादीद्धारा वहिष्कार

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको सपथ लिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरेका हुन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । तर, हिजो मात्रै कार्कीलाई समर्थन गरेको माओवादी केन्द्रले भने मुख्यमन्त्रीको सपथ ग्रहण वहिष्कार गरेको छ ।

माओवादी संसदीय दलको केही बेरअघि सम्पन्न बैठकले सरकारमा नजाने निर्णय गरेको हो । माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेश उप्रेतीले नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ समारोहमा समेत माओवादी केन्द्र सहभागी नभएको बताए ।

उनले पाँच वर्षभित्र आलोपालोको निर्णय नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने बताउँदै उप्रेतीले यो विषयमा केन्द्रलाई जानकारी पठाउने दलले निर्णय गरेको बताए ।

गण्डकीको मुख्यमन्त्रीमा खगराज नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेत खगराज अधिकारी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङ ९३३ जना०को समर्थनमा खगराजले मुख्यमन्त्री दाबी गरेका थिए ।

केन्द्रले आइतबार बेलुका भएको प्रदेशको भागबण्डामा गण्डकी प्रदेश पूरै कार्यकालका लागि एमालेलाई परेपछि प्रदेश प्रमुखले दिएको समय सीमाको अन्तिम दिन अधिकारीले दाबी पेश गरेका थिए ।

 

एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका खगराजले कास्की १ को प्रदेश सभा १ बाट चुनाव जितेका हुन् ।

एमालेले पूरै कार्यकालका लागि मुख्यमन्त्री पाएपछि मुख्यमन्त्री दाबी गर्दै आएका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले असन्तुष्टी जनाएका थिए ।

गण्डकीमा माओवादीले सभामुख प्राप्त गरेको छ ।

मुख्यमन्त्री बन्ने योजनासहित प्रदेश झरेका खगराज संघमा स्वास्थ्य मन्त्री र १३ दिने गृहमन्त्रीसमेत भइसकेका नेता हुन् । खगराजलाई मुख्यमन्त्री नियुक्त गर्न ३ वटै दलका सांसद र दीपक मनाङेसहित प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

मुख्यमन्त्री नियुक्त भएसँगै आजै सपथ खुवाउने गरी तयारी गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए । गण्डकी प्रदेश सभामा ५ दल सहभागी छ ।

एमाले, माओवादी र राप्रपाको सरकार बन्दा २७ सिट जितेको नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ ।

गण्डकीमा एकीकृत समाजवादी शून्य थियो तर मनाङबाट स्वतन्त्र सांसद जितेका राजीव गुरुङ ९दीपक मनाङे० चुनावपछि प्रवेश गरेका थिए ।

तर, उनले अन्तिममा स्वतन्त्र सांसदको हैसियतमा खगराजलाई समर्थन गरेका हुन् ।

जसपा मधेश प्रदेशसभा संसदीय दलको नेतामा सरोज यादव चयन

काठमाडौं । जनता समाजवादी पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव निर्वाचित भएका छन् ।

सोमबार उनी सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन भएका हुन् । जसपाको मधेश प्रदेशसभामा १६ सांसद छन् ।

साहेबगञ्जमा बिधुवा महिला सम्मान कार्यक्रम सम्पन्न

देवानगञ्ज । देवानगञ्ज गाउँपालिका वडा नं. ५ साहेबगंज स्थित वडा कार्यालयको सभा हलमा बिधुवा महिला सम्मान कार्यक्रम आईतबार सम्पन्न भएको छ।

वडा अध्यक्ष मनोज मण्डलको अध्यक्षतामा सम्पन्न भएको सम्मान कार्यक्रममा वडा नं. ५ का २० बर्ष देखि ६० बर्ष उमेर समूह भित्रको पचास जना एकल बिधुवा महिला लाई ब्लयाङ्केट बितरण गरि सम्मान गरिएको वडा कार्यालयको प्रसासन साहयक रन्धिर शाहले जानकारी गराउनु भयो ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार समेतले जेष्ठ नागरिकलाई मात्रै सम्मान गर्ने कार्यक्रम ल्याएकोले एकल बिधुवा महिला सम्मानित हुन न पाएकोले आफु जितेर आउँदा एकल महिला सम्मान कार्यक्रम राखेको वडा अध्यक्ष मण्डले बताउनुभएको छ। ६१ बर्ष देखि ६८ बर्ष सम्मका छुटेका २० देखि २५ जना लाई अर्को कार्यक्रममा सम्मान गरिने समेत बताएका छन्।

यता सम्मानित भएका बिधुवा महिलाहरुले पहिलो पटक वडा कार्यालयले हामीहरुलाई सम्मान गरेकोमा खुसी व्यक्त गरेका छन्।

सम्मान कार्यक्रममा वडा सदस्यहरु दिननाथ साह, प्रमान्नद गडेरी, सुनिता देवी यादव, रुना देवी दास, नेकपा एमाले वडा सभापति जितेन्द्र ठाकुर, नेपाली काँग्रेस वडा सभापति इन्द्र कुमार मेहता (रिंकु), बुद्धिजीवी गुलावचन्द मण्डल, जिवक्ष प्रसाद साह, देवानगञ्ज गाउँपालिका वडा नं. १ का वडा सचिव दिलिपकुमार साह, सशस्त्र प्रहरी साहेबगंज प्रमुख आशिष गौडा लगायतको उपस्थिति रहेको थियो ।

 

माओवादी सहभागी नभएपछि राप्रपा र जसपालाई मिलाएर प्रदेश १ मा सरकार गठन

विराटनगर । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्री कार्कीले माओवादी सहभागी नभएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीलाई मिलाएर सरकार गठन गरेका हुन् । नवनियुक्त मन्त्रीहरूले केहीबेरमा शपथ ग्रहण गर्ने भएका हुन् ।

मुख्यमन्त्री कार्कीसँगै एमालेका ताप्लेजुङ १९१० बाट निर्वाचित प्रदेश सांसद तीलकुमार मेन्याङ्बो मन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीकी निर्मला लिम्बू मन्त्रीमा नियुक्त भएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । उनीहरू बिनाविभागीय मन्त्रीमा नियुक्त भएको उनले बताए ।

 

धनकुटामा जिप दुर्घटनामा ११ जना घाइते

धरान । धनकुटाको महालक्ष्मी नगरपालिका–४ बेलटारमा सोमबार यात्रुबाहक जिप दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन् ।
घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

संखुवासभाबाट धरानतर्फ जाँदै गरेको को १ ज २२७५ नं.को जिप बिहान ११ बजेर २० मिनेटमा अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेको थियो ।घटनास्थलमा चानुवा र लेगुवा प्रहरी चौकीबाट पुगेका प्रहरीले उद्धार गरेका थिए ।

घाइतेमध्ये सात जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । अन्य चार जनाको धनकुटा जिल्ला अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

गाडीका चालक मोरङ बेलबारीका प्रविण कोइरालाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भ्रष्ट्राचारको घटनाविरुद्ध निर्मम भएर लाग्नेछौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले कुनै पनि कालखण्डमा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दैै उनले भ्रष्टा्रचार छानबिनमा सरकार कटिवद्ध रहेको बताए ।

‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषमया सरकार निर्मम भएर खडा हुन्छ’ उनले भने । उपप्रधानमन्त्री लामिछानेले संसदले पनि त्यस्ता भ्रष्टाचारका घटना छानबिनका लागि फाइल खोल्नुपर्ने बताए ।

यसअघि भएका भ्रष्ट्राचारका घटनाको छानबिनमा पनि संसद क्रियाशील हुनुपर्ने उनले बताए । उनले भ्रष्ट्राचारको छानबिनमा राजनीतिक दल, नेता र सांसदले दबाव र प्रभाव पार्न नहुने बताए । ‘कुनै अपराध छानबिनमा आफ्ना मान्छे छुटाउन दबाव नदिनुहोला’ उनले भने ।

विधिको शासन पालना गराउन सबैले सहयोग गर्नुपर्ने भन्दै लामिछानेले आफ्नो दलका नेता र सांसद अनियमिततामा सहभागी नहुने र नागरिकलाई दुख नदिने बताए । ‘मुलुक र मुलुकबासीका लागि हिजो गरेका वाचा पूरा गर्न तयार भएका छौं’ उनले भने, ‘हाम्रो सांसदहरुको सांसदका कारण शीर झुकाउनुपर्ने छैन । कुनै

 

अनियमितताको काम हामीबाट हुने छैन, भएको खण्डमा निर्मम भन्दा निर्मम सजाय दिने वाचा हामी गर्न चाहन्छौं ।’

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल नियुक्त

मकवानपुर ।  वाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । जम्मकट्टेलले वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्मा सरकार गठनका लागि दाबी पेश गर्न दिएको समयसीमा सकिन्नुभन्दा दुई घण्टाअघि ७० जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

जम्मकट्टेललाई माओवादी केन्द्र २१, एमाले २७, राप्रपा १३, नेकपा एस ७ हाम्रो नेपाली पार्टीका २ जना सांसदको साथ रहेको छ । ११० सदस्यीय प्रदेशसभा सदस्य रहेको वाग्मतीमा सरकार गठनका लागि ५६ सांसदको साथ भए पुग्छ ।

चित्रबहादुर केसीले प्रचण्डलाई विश्वासकाे मत नदिने

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । जनमोर्चाका एक्ला सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने बताए ।

‘सत्तामोहले अर्कै गठबन्धन गर्नुभयो । प्रचण्डलाई विश्वासको मत नदिने’, संसदको पहिलो बैठकमा सहभागी हुन पुगेका केसीले संवाददाताहरूसँग भने । प्रधानमन्त्री दाहालले भोलि विश्वासको मत लिँदैछन् ।