३ श्रावण २०७९, मंगलवार १४:०२ – Page 9 – Nagarikabhiyan : National News

संयुक्त राष्ट्रकाे सन्देश- ‘नैतिकताका धरोहर मण्डेलाको सम्मान गरौँ’

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटरेसले अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलालाई ‘नैतिकता धरोहर’ का रूपमा चित्रण गर्दै उहाँले छाडेर गएको विरासतको सम्मान गर्न आह्वान गरेका छन् ।

“नेल्सन मण्डेला समुदायका समस्या समाधान गर्ने क्षमता भएका महान् व्यक्ति हुनुहुन्थ्यो, उहाँमा हामी सबैको समुज्ज्वल भविष्य निर्माण गर्ने क्षमता र जिम्मेवारीबोध थियो,” महासचिव गुटरेसले नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवसका अवसरमा उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै भनेका छन् ।

युद्ध, द्वन्द्व,जातिवाद, भेदभाव, गरिबी र असमानताले पिरोलिएको वर्तमान विश्वमा जलवायु प्रकोपले थपेको चुनौतीको सामना गर्न मण्डेलाका दर्शन र प्रेरणा आज पनि उत्तिकै उपयोगी हुने अभिमत उनले जाहेर गरे । न्यायपूर्ण समाज निर्माण तथा मानवताको प्रवद्र्धनमा मण्डलाले गरेको योगदान सधैँ स्मरणीय रहने उनले बताए ।

सडकका समस्या मिलेर समाधान गर्ने महानगर र मन्त्रालयबीच सहमति

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौँ महानगरबीच हालका लागि महानगरभित्रका सङ्घीय सडकमा समस्या आउँदा मन्त्रालयले नै समाधान गर्ने गरी सहमति भएको छ ।

भौतिक पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राई र महानगर प्रमुख बालेन्द्र साह सहभागी बैठकले सडक निर्माणमा समस्या आउँदा मिलेर समाधान गर्ने गरी सहमति भएको छ । महानगर क्षेत्रमा सार्वजनिक सवारी साधन व्यवस्थित गर्ने विषयमा समेत छलफल गरिएको मन्त्री राईले जानकारी दिनुभयो । मन्त्रालयले सङ्घीयता कार्यान्वयन नहुँदा यातायात व्यवस्थापनको सबै विषय मन्त्रालयले हेर्ने गरेकामा अहिले अन्तर प्रदेशको यातायात मात्रै मन्त्रालयको कार्यक्षेत्रमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सवारीसाधन सुरक्षित बनाउन जिपिएस जडान गर्ने हाम्रो चाहना छ ।”

महानगरका क्षेत्रभित्र पर्ने सडक आगामी दिनमा महानगरले नै हेर्ने भए पनि हाल सङ्घीय सरकारले नै हेरिरहेको मन्त्री राईले बताउनुभयो । उपत्यकाभित्र ४०० किमी सडक सङ्घीय सरकारको अधिकारमा रहेको र त्यसमा समस्या भएमा समाधान गरिने उहाँले बताउनुभयो ।

मन्त्री राईले मन्त्रालयको कार्यभार सम्हाल्दा मन्त्रालयका पुराना ठेक्काको समस्या समाधानका लागि एउटा समिति र चालक अनुमतिपत्र, इम्बोस्ड नम्बर प्लेट जडानलगायत यातायात क्षेत्रको समस्या समाधानका लागि अर्काे समिति बनाउनुभएको थियो । सोही दिन १५ दिनमा प्रतिवेदन दिने गरी समिति बनाइएको र तिनले काम गरेर आज वा भोलि प्रतिवेदन ल्याउने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

सवारी चालक अनुमतिपत्र त्यही दिन वा भोलिपल्ट नै सेवाग्राहीले पाउने गरी तयारी भइरहेको मन्त्री राईले बताउनुभयो । सम्बन्धित प्रदेशले नै छपाइ गर्दा चाँडो छापिन सक्ने उहाँले बताउनुभयो । सुदूरपश्चिम र कर्णाली प्रदेशमा एउटा र गण्डकी र लुम्बिनी एउटै गरेर पनि छपाइ गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ड्राइभिङ लाइसेन्स पढ्ने उपकरण पनि सबै ट्राफिक कार्यालयलाई उपलब्ध गराइनेछ ।”

चितवनमा २१३ जनामा डेङ्गुको सङ्क्रमण

चितवन । जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेङ्गुरोगको सङ्क्रमण देखिएको छ । तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार यो सङ्ख्या आर्थिक वर्ष २०७७र७८ को भन्दा कम हो । यस वर्षमा एक हजार ९८६ जनाको परीक्षणका क्रममा २४७ जनामा डेङ्गु देखिएको थियो ।

एडिस जातिको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने गर्दछ । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेङ्गुका सुरुआती लक्षण हुन् । एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेङ्गु घातक हुने जनस्वास्थ्य अधिकृत ढकालले जानकारी दिनुभयो ।

डेङ्गु ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेङ्गु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । यो रोगबाट बच्न साँझपख लामो कपडा लगाएर बाहिर निस्कने, झुलभित्र बस्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने गर्नुपर्दछ । यस्तै जिल्लामा गत आवमा २६८ मा स्क्रफटाइफस रोगको सङ्क्रमण देखिएको छ । तीन हजार २८६ जनाको परीक्षणका क्रममा उनीहरूमा स्क्रफटाइफसको देखिएको हो । आव २०७७÷७८ मा दुई हजार २९० जनाको परीक्षणका क्रममा ३१८ मा स्क्रफटाइफस देखिएको थियो ।

स्क्रफटाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । स्क्रफटाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला सताउनु, श्वास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ ।

यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मल्हमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने ढकालले बताउनुभयो ।

संविधान कार्यान्वयनकै दिशामा देश अघि बढिरहेको छ : पोखरेल

काठमाडाैँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको हो भन्नुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “संविधान अपरिवर्तनीय होइन, आवश्यकता परेमा समयसापेक्ष संशोधन गर्न सकिन्छ ।”

आगामी सङ्घ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले श्रेष्ठता हासिल गर्न दाबी गर्दै निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुनसक्छ ।”

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रदेश नं १ को नामकरण प्रदेशसभाको एकल अधिकारको विषय भएको चर्चा गर्दै यसका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुनुपर्ने बताउनुभयो ।

न्यायाधीशलाई घुस प्रस्ताव गर्ने अधिवक्ता पोखरेललाई स्पष्टीकरण सोध्न सार्वजनिक सूचना

 काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेका अधिवक्ता रुद्रप्रसाद पोखरेल विरुद्ध नेपाल कानून व्यवसायी परिषदले सार्वजनिक सूचना जारी गरी स्पष्टीकरण माग गरेको छ ।

स्पष्टीकरणका लागि जारी भएको म्याद बुझ्न नमानेको र आफ्नो कार्यालय बन्द गरेर सम्पर्कविहीन भएपछि परिषदले गोरखापत्र दैनिकमा मंगलबार सार्वजनिक सूचना निकालेर ७ दिनभित्र स्पष्टीकरण दिन भनेको हो ।

पोखरेलले न्यायाधीश कोइरालालाई घुस लिने प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि परिषदले छानविन गरिरहेको छ । ‘जसरी हुन्छ, सम्पर्कविहीन भएर म्याद नबुझ्ने, स्पष्टीकरण पनि नदिने अनि यो विषयलाई अल्मल्याएर आफू उम्किन खोजेको देखिन्छ,’ परिषद स्रोतले भन्यो, ‘उहाँ घरमा पनि हुनुहुन्छ, कार्यालय बन्द गर्नु भएको छ । केही सिप नलागेपछि हामीले सार्वजनिक सूचना निकालेका हौं ।’

सार्वजनिक सूचना निकाल्नुअघि परिषदले पोखरेलको घर, कार्यालय र झापास्थित पुरानो स्थायी ठेगानामा समेत म्यादको पत्र पठाएको थियो । केही ठाउँबाट पत्र फिर्ता आएको परिषदका एक सदस्यले बताए । त्यसपछि परिषदको अनुशासन समितिमा भएको छलफल अनुसार सूचना निकालेको उनले बताए ।

‘तपाईं रुद्रप्रसाद पोखेलले कानून व्यवसायको सिलसिलामा कार्य गर्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग सिभिल सहकारीका सञ्चालक ईच्छाराज तामाङसमेत उपर काठमाडौं जिल्ला अदालतमा चलेको ठगी मुद्दामा निजलाई धरौटीमा छुटाउनका लागि मोलमोलाई गरी तपाईं र न्यायाधीशबीच फोन वार्ताको सन्दर्भमा तपाईंलाई कार्वाही हुनु पर्ने हो/होइन ?’ सार्वजनिक सूचनामा भनिएको छ, ‘अनुशासन समिति (कार्य व्यवस्था) नियमावली, २०५८ को नियम ६(३) बमोजिम यो सूचना प्रकाशित गरिएको छ । आजका मितिले मितिले ७ दिन भित्र जवाफ पेश गर्नु होला अन्यथा कानून बमोजिम भई जाने व्यहोरा सूचित गरिन्छ ।’

सिभिल सहकारीका तत्कालिन अध्यक्ष इच्छाराज तामाङ विरुद्ध काठमाडौं जिल्ला अदालतमा चलिरहेको मुद्दामा आरोपित तामाङलाई धरौटीमा छाड्न अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई घुसको प्रस्ताव गरेका थिए । त्यो अडियो सार्वजनिक भएदेखि उनी सम्पर्कविहीन भएका छन् ।

यस्तो छ सूचना–

नेपाललाई ५ लाख विद्युतीय चुल्होका लागि साढे दुई अर्ब अनुदान

काठमाडौं । विद्युतीय चुल्हो प्रवर्द्धनका लागि ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अनुदान सहयोग पाउने भएको छ । संयुक्त राष्ट्र संघअन्तर्गतको ग्रिन क्लाइमेट फन्ड ९जीसीएफ०ले दुई करोड ११ लाख २० हजार डलर ९करिब दुई अर्ब ५५ करोड रुपैयाँ० को अनुदान दिन लागेको हो । यसबा लागि दुई निकायबीच सहम्झौता भइसकेको केन्द्रका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

विशेष गरी नेपालको तराई क्षेत्रमा विद्युतीय चुल्होको प्रवर्द्धन गर्न सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ । गत वर्ष नै स्वीकृत भई भएको यो प्रस्तावअनुासरको कार्यक्रम अब कार्यान्वयनमा जानेछ ।
करिब १० लाख घरधुरीलाई विद्युतीय चुल्हो दिने कार्यक्रम अन्तरगत पहिलो चरणका लागि सम्झौता भएको हो । पहिलो चरणमा करिब ५ लाख घरधुरीले विद्युतीय चुल्हो पाउने छन् । यस अन्तरगत १० हजार बायोग्यास प्लान्ट जडान गर्ने योजना पनि छ ।

तराई क्षेत्रका नगरपालिका तथा गाउँपालिकाहरुसँग वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सहकार्य गरेर कार्यक्रम कार्यान्वयन गर्ने छ ।

नेपाल सरकारले पछिल्लो समय इन्धनको खपत कम गर्न साथै बिजुलीको खपत बढाउने उद्देश्यले विद्युतीय चुलो प्रवर्द्धनमा काम गरिरहेको छ ।

सम्झौतामा नेपाल सरकारका तर्फबाट केन्द्रका कार्यकारी निर्देशक डा। मधुसुधन अधिकारी र जीसीएफको मिटिगेसन एण्ड एडापटेसन डिभिजनका निर्देशक जर्मन भेलास्क्वेजका तर्फबाट भेरोनिका गाल्मेजले हस्ताक्षर गरेका थिए ।

डा। अधिकारीले यो परियोजनाले स्वच्छ इन्धन र खाना पकाउने प्रविधितर्फ सर्ने नेपालको प्रयासलाई टेवा दिने बताए । यो कार्यक्रमबाट ६।५१ मिलियन टन कार्बन घटाउने लक्ष्य छ ।

‘इन्धनमा काठको खपतमा उल्लेख्य कमीले स्वास्थ्यमा सुधार ल्याउन र विशेष गरी महिला र कमजोर समुदायका लागि थप रोजगारीका अवसरहरू सिर्जना गर्न यो उपयोगी हुनेछ,’ उनले भने ।

सरकारले बजेटमार्फत स्थानीय तहमार्फत एक परिवारलाई एक विद्युतीय चुलो अनुदानमा वितरण गर्ने घोषणा गरेको छ । विद्युत् खपत बढाउने र एलपी ग्याँसको आयात घढाउने भन्दै गरिएको घोषणामा विद्युतका सबै घरायसी ग्राहकलाई विद्युतीय चुलो दिने भनिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले करिब ४३ लाख ३० हजार घरायसी विद्युत ग्राहक छन् ।

दैलेखमा पानी ट्याङ्कीमा डुबेर २ बालबालिकाको मृत्यु

सुर्खेत । पानी ट्याङ्कीमा डुबेर दैलेखमा दुई जना बालबालिकाको मृत्यु भएको छ ।

दुल्लु नगरपालिका(३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार बेलुका मृत्यु भएको हो ।

कर्णाली( कोटाछाल( दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिए ।

‘सोमबार बेलुका उनीहरू मृत फेला परेको भनेर हामीलाई खबर आएको थियो । दुई बालबालिकाको मृत्यु भएको पुष्टि भएछ,’ उनले भने ।

 

सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । सुस्त मनस्थितिकी एक बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोकका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ हलेगाभा बस्ने ५६ वर्षीय डम्मर बहादुर भुजेललाई प्रहरीले सोमबार बिहान २ बजे घरबाटै पक्राउ गरेको हो ।

पधेरोटोल भन्ने स्थानको बाटोमा १२ वर्षीया एक बालिकालाई साउन १ गते बेलुका साढे ७ बजे जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा भुजेललाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक ९डीएसपी० दक्ष कुमार बस्नेतले जानकारी दिए ।

उनीमाथि जवरजस्ती करणी मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कांग्रेसले भदौमा देशव्यापी विशेष अभियान चलाउने

काठमाडौं । नेपाली कांग्रेसले विशेष अभियान चलाउने भएको छ ।

सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी रुपमा विशेष अभियान चलाउने निर्णय गरेको हो ।

चुनावलक्षित विशेष अभियान आगामी भदौ २ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले जनाएको छ ।

यो अभियानको विष्तृत खाका कांग्रेस केन्द्रीय कार्यालयले तयार गर्नेछ ।

बैठकले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सत्तारूढ दलहरूसँग चुनावी गठबन्धन पनि गर्ने निर्णयसमेत गरेको छ ।

गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गरेर अघि बढ्ने कांग्रेसको सर्त छ ।

गत स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुका लागि आचार संहिता जारी गरी केन्द्रबाटै लागू गर्ने निर्णय पनि बैठकले गरेको छ ।

साथै, कांग्रेसले दर्जन बढी संघ, संस्थालाई भ्रातृ एवं शुभेच्छुक संस्थाको मान्यता दिएको छ । र, अवधि सकिएर पनि गठन हुन नसकेका संघहरूलाई साउनभित्र गठन गर्ने र पूर्णता दिने निर्णय कांग्रेसले गरेको छ ।

 

मिथिलामा मधुश्रावणीको रौनक

महोत्तरी । मिथिलाका विवाहित नारीले मधुश्रावणी पर्व मनाइरहेका छन् । १३ दिनसम्म मनाउने यो पर्वमा अहिले मैथिल नवयौवना समवयस्कसँगको हासपरिहास र सामूहिक गायनमा रमाइरहेका छन् । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा सोमबारबाट सुरुआत भएको यो पर्व १३औँ दिनमा समापन गरिनेछ ।

मिथिलाका प्रत्येकजसो बस्ती अहिले मधुश्रावणीको रङमा व्यस्त देखिन्छन् । साउन कृष्ण पञ्चमीका दिन सुुरु भएर साउन शुक्ल त्रितीयाका दिन सम्पन्न गरिने यो पर्व बर्तालु र उनका सखीको वस्त्र परिधानको सजधज, सामूहिक प्रणयगान र ‘फूललोढी’ ९फूल खोज्ने० विधिले सबैको ध्यान खिच्ने गरेको छ । शिव, पार्वती ९गौरी० र ‘विषहरा’ ९नागदेवता०को आराधना गरिने यो पर्वमा भोलिपल्टको पूजाअर्चनाका लागि एक दिनअघिको सन्ध्याकालमा सामूहिकरूपमा फूल खोज्न निस्कने विधिलाई ‘फूललोढी’ भन्ने गरिएको छ । पर्वमा भगवान् शङ्कर र देवी गौरीलाई बासी फूल चढाउने चलन छ ।

पर्व अवधिमा प्रत्येक दिन सूर्यास्त हुनपूर्वको बेलामा प्रणयगान गाउँदै विशेष वस्त्र परिधानमा सजिएका मैथिल नवयौवना फूल खोज्ने विधिका लागि निस्कँदा सामान्य बटुवा पनि टक्क अडिएर गीतको भावमा डुब्छन् । “भर्खरै विवाहित जोडिको प्रणय सम्बन्ध प्रगाढ बनाउने उद्देश्यभित्रको पर्वको ‘फूललोढी’ विधिमा निस्केका मिथिलानीको त्यही विषय भाव समेटिएका गीतले आफ्ना सबै गुमाएको वा छोडेको फुटपाथेलाई पनि रोमाञ्चित गराउँछ”, जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टिका मैथिली लोक परम्पराका ज्ञाता ८० वर्षीय कृष्णचन्द्र झा भन्नुहुन्छ, “गीतका शब्द र भावले शिष्टता नाघेको भान हुँदैन ।” गीत बर्तालुको प्रणय सम्बन्ध प्रगाढ होस् भन्ने सलल बगेको भाव अत्यन्त कर्णप्रिय लाग्ने उहाँको भनाइ छ ।

आमरूपमा प्रगाढ प्रणय सम्बन्धको अपिलमा सामाजिक शिष्टता नाघिने शब्द गीतमा हुँदैनन् । वर्षायाम प्रगाढ प्रणय सम्बन्धलाई अपिल गर्ने मौसम मानिन्छ । वनमा रमाउने मयूर पनि यसै मौसममा प्रणय सम्बन्धमा लिन हुन्छन् । यस्तो बेला नवविवाहिता जोडिबीच रतिरागदेखि भावात्मक रुपमा एकाकार गराउनु पर्वको मुख्य पक्ष रहेको मिथिला संस्कृतिका जानकार बताउँछन् । यसैले यो पर्व नवविवाहिताका लागि खास हुने गरेको छ ।

पर्वमा नवविवाहिता मिथिलानी यौवनाको सखीहरूबीच भर्खरै सुरु भएको दाम्पत्य जीवनका कौतुहलता, पतिले देखाउने वास्ता र रतिरागसम्मका अनुभव साटासाट हुन्छन् । “बेहुली भएर पति घर गएदेखि मधुश्रावणी मनाउन माइत आएबीचका अन्तरङ्ग अनुभव बर्तालुुले सुनाउँदा विवाहयोग्य उमेर पुगेकी सखीको कौतुहलताको मापन के होला रु” ८२ वर्षीय साहित्यकार महेश्वर राय भन्नुहुन्छ, “यो कुराको अनुमानले मात्र पनि जो–कसैलाइ रोमाञ्चित बनाउँछ ।”

पहिले मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब साझा भइसकेको छ । पतिघरबाट आएका सामग्री प्रयोग गरेर माइतमा मनाइने यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेको मिथिलानी बताउँछन् । पर्वमा शिव, पार्वती ९मधुश्रावणी व्रत विधानमा पार्वतीलाई गौरी नाम दिइएको छ० र विषहराको पूजा आराधना गरेपछि बर्तालुलाई ज्येष्ठ महिलाले मधुश्रावणी कथा सुनाउँछन् । यिनमा पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरि, विहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीको कथा हुने गर्छन् ।

पातमाबाट पाँच नागकन्याको जन्म भएको कथा प्रचलित छ । तलाउमा जलक्रिडाका बेला जन्मेका यी छोरी भेट्न शिव जाने गरेका र यो वृतान्त थाहा नपाएकी पार्वतीलाई पतिप्रति शङ्का बढेपछि पिछा गरेकी कथा छ । एक दिन छोरीहरूसँग खेलिरहेका पतिलाई देखेपछि क्रोधित भएकी पार्वतीलाई शिवले सबै कुरा बताएपछि क्रोध शान्त भएको प्रसङ्ग छ । पार्वतीलाई खुसी तुल्याएपछि शिवले साउन महिनामा यी नागिनीको पूजा गर्नेलाई सर्पको भय नहुने वरदान दिएबाट मधुश्रावणी पर्वमा विषहराको पूजा विधान सुुरु भएको लौकिक जनविश्वास छ । देवी गौरी दाम्पत्य जीवन सुखद् बनाउने र सबै मनोकामना पूरा गर्ने मानिएकीले उनको पूजाअर्चना नवविवाहिताले यसै अभिष्ठका लागि सुरु गरेका मिथिला लोकसंस्कृतिका जानकार कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का बासिन्दा पण्डित महेशकुमार झाको भनाइ छ ।

पर्वको मुख्य पक्ष नै नारी जीवनमा पतिप्रतिको स्नेह र सम्बन्ध प्रगाढ बनाउन केन्द्रित रहेकाले यससँग जोडिएर आउने ठट्यौली र हासपरिहासले पर्वको महत्ता उज्यालिएको पाका मिथिलानी बताउँछन् । प्राचीन वैदिक ग्रन्थ शिव पुराणमा कुष्ठरोग भएका आफ्ना पतिलाई ठिक गराउन मधुश्रावणी नाउँकी नवविवाहितालाई शिवले यो व्रत गर्न लगाएका प्रसङ्ग छ । शिवको आज्ञाअनुसार मधुश्रावणीका पति ठिक भएपछि पति कल्याण र आपसी सम्बन्ध प्रगाढताको कामना राखिने यो पर्व परम्परा चलेको विश्वास गरिन्छ ।

बर्तालुले साउन कृष्ण चौथी ९चतुर्थी०का दिन पवित्र स्नान गरेर चोखोनितो बनेपछि व्रत सङ्कल्प गर्दछन् । व्रत अवधिभरि मन पवित्र बनाएर सात्विक भोजन गर्नुपर्ने विधान छ । सधैँ दिउँसोपछि सूर्यास्त हुनपूर्व सखीसहेलीका साथ हाँस्दै, खिल्लिदै र प्रणयभावका गीत गाउँदै ‘फूललोढी’मा निस्कनु र सङ्कलन गरिएका बेलपत्र र विभिन्न जातका फूल राति बासी राखेर भोलिपल्ट त्यसैले शिव, पार्वती र विषहराको पूजा आराधना गरेर कथा श्रवण गर्नु पर्वअवधिको दैनिक तालिका हो । बर्तालुले सधैँ बिहान पवित्र स्नान गरेर पूजाआराधना गरेर कथा श्रवण गरेपछि सात्विक भोजन गर्ने गर्छन् । पर्वमा अटल सौभाग्यकी देवी मानिने गौरीको पूजाआराधनाका लागि छुट्टै नैवेद्य बनाउने चलन पनि छ ।

माइतमै बसेर मनाइने भए पनि पर्वमा नवविवाहिताका लागि व्रतअवधिको खाद्यान्न, वस्त्रपरिधान, बर्तालुका शृङ्गार प्रशाधन, पूजा सामग्री र अन्य पर्वविशेषका आवश्यक वस्तु पतिघरबाटै पु¥याइनुपर्ने चलन छ । माइतीघरको आँगन वा अन्य सुरक्षित ठाउँमा बनाइएको खास मण्डप ९अरिपन०मा बसेर त्यहीँ देवता स्थापित गरेर यो पर्व मनाइन्छ । कूलदेवताको स्मरण गरेर सुरु गरिएको पूजा आराधनामा प्रत्येक दिनको पूजापछि माइती घरका ज्येष्ठ महिला सदस्यबाट बर्तालुले आशीर्वाद लिने गर्छन् ।

पर्व १३औँ दिन समापन गरिन्छ । समापन भएपछि दिनहुँ पूजा गरिएका बेलपत्र र फूल सङ्ग्रह गरेर पवित्र नदी वा तलाउमा विसर्जन गरिने चलन छ । यसअघि १२औँ दिन साँझ पूजाअर्चनापछि बर्तालुुलाई ‘टेमी’ दिने गरिन्छ । दियोमा बालिने बत्तीको लप्कोले बर्तालुुको देब्रे गोडाको घुँडामा डाम्ने विधिलाई ‘टेमी’ भन्ने गरिएको हो । ‘टेमी’ दिइएको ठाउँमा फोका उठे पति पत्नीबीच प्रेमसम्बन्ध अत्यन्त गाढा हुने विश्वास गरिन्छ ।

पछिल्लो कालमा भने नयाँ पुस्ताका मिथिलानीले ‘टेमी’ प्रचलनलाई परिस्कृत गरिनुपर्ने आवश्यकता औँल्याएका छन् । पर्वमा बर्तालुुलाई बलेको बत्तीको लप्काले डाम्न सट्टा शीतल चन्दनको लेप उपयुक्त हुने नयाँ पिँढीका मिथिलानीको भनाइ छ । मिथिलामा पछिल्ला केही वर्षयता यो चलनमा आउन थालेको छ ।

विधिमा केही परिष्कारको कुरा उठेका र समयक्रममा ती स्थापित हुने मैथिल बुद्धिजीवी बताउँछन् । पर्वको अभिष्ठ नै प्रेमसम्बन्धको प्रगाढता भएकाले यसले मैथिल संस्कृति पारिवारिक सद्भाव वृद्धिमा सचेत रहेको सन्देश नै प्रवाह भएको कुरामा मैथिल ९मिथिलाका बासिन्दा० एकमत देखिन्छन् ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाइने

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको सवारी पार्किङलाई व्यवस्थित बनाउन अन्डरग्राउण्ड पार्किङभित्र रहेको डिस्को, सोरुम, क्यान्टिन, पसल, राहदानी वितरण, गोदामलगायत हटाउने भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौँ उपत्यकाको सवारी आवागमनलाई सुरक्षित, मर्यादित, व्यवस्थित र प्रविधियुक्त बनाउनका लागि सरोकारवाला निकायको सहयोगमा अन्डरग्राउण्डभित्रका संरचना हटाउन लागेको बताएको हो ।

पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले सवारी पार्किङ गर्ने अन्डरग्राउण्ड पार्किङभित्र डिस्को, सोरुम, क्यान्टिन, पसल, राहदानी वितरण, गोदामलगायत संरचना बनाउन उपत्यकाको ट्राफिक व्यवस्थापनमा असहजता आएको बताए । ‘सडकमा पार्किङ भएका सवारी साधन अण्डरग्राउण्डमा लगेर पार्किङ गर्दा सवारी व्यवस्थापनमा सहयोग पुग्नेछ, हामी सरोकारवाला निकायको सहयोगमा अन्डरग्राउण्ड पार्किङलाई व्यवस्थित गर्नेछौँ’, उनले भने ।

ट्राफिक प्रहरीले फुटपाथ व्यवस्थापन, ट्राफिक प्रहरीको व्यवहार तथा आचरण सुधारका लागि ट्राफिक प्रहरीलाई अनुशासनसम्बन्धी कक्षा, काठमाडौँ उपत्यकाभित्र भत्किएका खाल्डाखुल्डी मर्मत सम्भारका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने, लेन अनुशासनलाई कडाइ गरिने तथा हर्न निषेधलाई थप कडाइ गर्ने प्रवक्ता दासले बताए ।

पत्रकार सम्मेलनमा कार्यालय प्रमुख, प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले चक्रपथ वरपर जथाभावी रूपमा पार्किङ भएका सवारी साधनलाई सम्बन्धित निकायको सहकार्यमा व्यवस्थित गरिने बताए । ‘सवारी साधन बढ्दा र सडक नबढ्दा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा थप चुनौती बन्दै गएको छ, यसलाई व्यवस्थित गर्नका लागि ट्राफिक प्रहरी अहोरात्र खटिरहेको छ’, उनले भने ।

ट्राफिक कार्यालयले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप राम्रो बनाउनका लागि २२ स्थानमा २४ घण्टे ड्युटी, ३२६ स्थानमा अस्थायी ड्युटी, ९३ स्थानमा पिक आवर ड्युटी, २६ मोबाइल कारबाही टोली, ४० स्थानमा दैनिक तीन घण्टा सवारी चेकिङ, ३६ स्थानमा जनपद प्रहरीसँग संयुक्त चेकिङको व्यवस्था मिलाएको छ ।

महाशाखाले आर्थिक वर्ष २०७८/०७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख चार हजार ५९७ सवारी साधनलाई कारबाही गरी रु ३३ करोड १३ लाख ६८ हजार २१८ राजस्व सङ्कलन गरेको छ ।

सोही आवमा ट्राफिक कार्यालयले लेन अनुशासन पालना नगर्ने १३ हजार ८९३, मादक पदार्थ सेवन गरी सवारी चलाउन ३३ हजार ५९०, रातो बत्तीको पालना नगर्ने १८ हजार ९८४ र तीव्र गतिमा चलाउने १८ हजार ४४७ सवारी साधनलाई कारबाही गरेको छ । कार्यालयले अव्यवस्थितरूपमा फुटपाथमा पार्किङ गर्ने ४१ हजार ९०५ सवारी साधनलाई कारबाही गरेको छ ।

काठमाडौँ उपत्यकाभित्र भाडा ठगी गर्ने तथा अनियमितता गर्ने १० हजार २९५ सवारी साधनलाई कारबाही गरिएको प्रवक्ता दासले बताउनुभयो । सोही आवमा कार्यालयले प्रविधिको क्षेत्रमा विकास गरेको छ । पहिले ट्राफिक प्रहरी कार्यालयबाट मात्र लिने कागजपत्र लिने ठाउँ अहिले विस्तार गरी ३० स्थानबाट कागजपत्र लिने व्यवस्था मिलाएको हो ।

खडेरीमा पानी पार्न भन्दै जनप्रतिनिधिलाई महिला समूहले बाँधेर लगे

कपिलवस्तु । बर्खामास खडेरीले अत्तालिएको बेला पानी पार्न अवलम्बन गरिने अनेक परम्परा छन् । तीमध्ये मध्यतराईको थारू समुदायमा गोरु बिहे प्रचलनमा छ । त्यही परम्परा धान्न सोमबार कपिलवस्तु बुद्धभूमि नगरपालिकाको गोरुसिङेका थारू समुदायका युवती फरक पहिरनमा देखिए । महिलाले पुरुषको पहिरनमा देखिँदा सबैलाई अचम्म लागेको थियो ।

कालो चस्मा, टाउकोमा पगरी, सर्ट र धोती लगाउँदै उनीहरू नजिक गाउँको बडघर ९समुदायको अगुवा० खोज्दै हिँडे । गाउँमा वर्षा नभएको दुई साता बढी भएपछि धानको बेर्ना सुकेर मर्न लागेपछि थारू समुदायको पौराणिक मूल्य–मान्यताअनुसार ‘गोरु बिहे’ गर्न भनेर महिला हिँडेका हुन् । त्यसलाई नवलपरासीमा अलि आधुनिकीकरण गरियो । पश्चिमनवलपरासी सरावल गाउँपालिकाका स्थानीयवासीले जनप्रतिनिधिलाई पूजामा सहभागी गराउन गाउँपालिका कार्यालयदेखि सरावल गाउँमा रहेको शिव–पार्वती मन्दिरसम्म बाँधेर लगे ।

सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरी थारूले लामो समयसम्म खडेरी पर्दा गाउँका अगुवालाई निवासबाट बाँधेर मन्दिर लैजाने प्रचलन रहेकोमा स्थानीय सरकार बनेपछि गाउँका अगुवालाई महिला समूहले बाँधेर पूजामा लगेको बताउनुभयो । यो खबर गोरखापत्र दैनिकमा छ ।

परियोजना सकिँदा स्वास्थ्यकर्मी अभाव, अस्पतालको सेवा प्रभावित

म्याग्दी । स्वास्थ्यकर्मी अभावमा बेनी अस्पतालको सेवा प्रभावित भएको छ । कोरोना कोषबाट तलबभत्ता पाउने गरी करारमा आएका ३४ र दातृ संस्था ‘निक साइमन इन्स्टिच्युट’ ९एनएसआइ०ले पठाएको चार स्वास्थ्यकर्मीको अवधि एकैपल्ट सकिँदा सेवा प्रभावित भएको हो ।

कोभिड कोषअन्तर्गत नियुक्त भएका १३ नर्स, चार अनमी, तीन ल्याब टेक्निसियन, तीन हेल्थ असिस्टेन्ट, दुई अहेव, दुई फार्मेसी सहायक, एक ल्याब असिस्टेन्ट र दुई हेल्थ असिस्टेन्टको असार मसान्तदेखि करार अवधि सकिएको छ ।

असार मसान्तबाट एनएसआइको परियोजना सकिएकाले एक मेडिकल अधिकृत, एक एनेस्थेसिया सहायक, एक स्टाफ नर्स र एक बायोमेडिकल इक्युपमेन्ट टेक्निसियन अस्पतालबाट बाहिरिएका छन् । एनेस्थेसिया असिस्टेन्ट नै नभएपछि बेहोस बनाएर गर्नुपर्ने सम्पूर्ण उपचार सेवा बन्द भएको छ । अस्पतालले विज्ञप्ति प्रकाशित गरी ३८ स्वास्थ्यकर्मीको म्याद थप नहुँदा सेवा प्रभावित भएको जनाएको छ । साना शल्यक्रिया, शल्यक्रिया गरी सुत्केरी गराउने ९सुरक्षित सुत्केरी सेवा० र सर्जिकल गर्भपतनसहित बिरामी बेहोस बनाई गरिने सबै उपचार बन्द भएको विज्ञप्तिमा उल्लेख छ ।

गत असार महिनामा बेनी अस्पतालमा सुरक्षित प्रसूति सेवा लिएका ९२ मध्ये १८ जनाको शल्यक्रिया गरिएको थियो । सेवा बन्द हुदा सुत्केरी हुने समय पुगेका गर्भवती बागलुङ वा पोखरा पुग्नुपर्ने भएको गुनासो गरेका छन् । अस्पतालमा आठ कन्सल्टेन्ट चिकित्सक र चार मेडिकल अधिकृतसहित ५९ जनाको दरबन्दी भए पनि हाल १९ स्वास्थ्यकर्मी मात्रै छन् । ४० जना अपुग छन् । बेनी अस्पतालका प्रमुख जितेन्द्र कँडेलले करार अवधि सकिएपछि भएका स्वास्थ्यकर्मीको बिदाइ र थप जनशक्ति व्यवस्थापन नहुँदा समस्या भएको बताउनुभयो ।

मेडिकल, सर्जिकल, बालरोग, स्त्रीरोग, नाक–कान–घाँटीसमेतका वार्ड स्थगित गरी प्रसूति, जनरल वार्ड मात्र चलाउनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । एनेस्थेसियासँग सम्बन्धित जनशक्ति नहँुदा शल्यक्रिया प्रभावित बनेको छ । हाल दरबन्दीका १९ बाहेक छात्रवृत्ति करारका तीन कन्सल्टेन्ट, चार मेडिकल अफिसर र अस्पताल व्यवस्थापन समितिले नियुक्त गरेका अन्य स्वास्थ्यकर्मी छन् । डायलसिस, फार्मेसी, विलिङ, दर्ता, इन्डोर र आकस्मिकमा आन्तरिक स्रोतबाट व्यहोर्ने गरी कर्मचारी नियुक्त गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

पचास शय्या क्षमताको अस्पतालमा बालरोग, स्त्रीरोग, हाडजोर्नी, फिजियोथेरापी, रेडियोलोली, शल्यक्रिया, एनेस्थेसियासमेत सातवटा वार्ड ९विभाग० छ । सोहीअनुसार प्रत्येक वार्डमा एक विशेषज्ञ चिकित्सक, एक मेडिकल चिकित्सक, चार नर्सले सेवा दिने गरेका थिए । चार मेडिकल अधिकृतको दरबन्दी भएकामा दुई जना अध्ययन बिदामा छन् । एक जना रिक्त छ । बाँकी नवौँ तहका मेडिकल अफिसर रहेका चिकित्सक कँडेलले कार्यालय प्रमुखको रूपमा प्रशासनिक काममा समय दिने गर्नुभएको छ । आठ नर्समध्ये पाँच मात्र कार्यरत छन् ।

गण्डकी प्रदेश सरकारले कोरोना नियन्त्रण तथा उपचार कोषबाट तलबभत्ता दिने गरी गत पुसमा नियुक्त गरेका ३५० स्वास्थ्यकर्मीको करार अवधि सकिएपछि प्रदेशका ११ जिल्लाका अस्पतालको सेवामा असर परेको छ । कोरोना कम भएको अवस्थामा स्वास्थ्यकर्मी जिल्ला अस्पतालमा रहेर अन्य बिरामीको उपचारमा खटिएका थिए । नयाँ कर्मचारी नियुक्त नगरी करारमा रहेका कर्मचारीलाई हटाउँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको हो ।

सत्ता गठबन्धन दलसँग नै आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धनमा रहेका दलहरूसँग आगामी निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी आगामी सङ्घीय र प्रदेश तहको निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ ।”

गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा कांग्रेस प्रस्तुत हुनु पर्दछ भन्ने ठहर बैठकले गरेको छ । बैठकले पाँच दलीय गठबन्धनको वर्तमान सरकारले एक वर्षको कार्यकालको समीक्षा गर्दै संविधानलाई ट्र्याकमा ल्याउँदै क्रमशः कोभिड–१९ खोप व्यवस्थापन, एमसिसी अनुमोदन र स्थानीय तहको निर्वाचन लगायतका महत्वपूर्ण काम सरकारले गरेको विज्ञप्तिमा उल्लेख छ ।

अनेक राजनैतिक चुनौती पार गर्दै मुलकलाई सही मार्गमा ल्याई पु¥याउन सफल नेतृत्व गरेको कांग्रेसको नेतृत्वमा विद्यमान आर्थिक चुनौतीलाई सामना गर्दै मुलुकको आर्थिक विकास र समुन्नतिको यात्रालाई सार्थक गति दिएको भन्दै कांग्रेसले जनजीविका र सुशासनलगायत विषयमा सरकारको विशेष ध्यानाकर्षण गराएको छ ।

श्वेतपत्र जारी गर्न आग्रह

बैठकले देशको विद्यमान आर्थिक अवस्थालाई लिएर आम नागरिकमा अस्वाभाविक ढङ्गले भय सृजना गर्ने काम भइरहेकामा सरकारले आम नागरिकलाई अर्थतन्त्रको अहिलेको वास्तविक अवस्था के छ, मुख्य समस्या कहाँ छ, चुनौतीहरु के छन्, जोखिम न्यूनीकरण गर्न के गर्न सकिन्छ लगायतका विषयमा श्वेतपत्र जारी गरी यथार्थ सार्वजनिक गर्न र अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्न आवश्यक कार्य योजना तयार गरी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ ।

यस्तै सुशासन कायम गर्ने सन्दर्भमा ‘शून्य सहनशीलता’ नीति अङ्गीकार गरी व्यावहारिक कार्यान्वयन गर्न, पारदर्शिता कायम गर्न र गल्ती गर्ने कसैले पनि उन्मुक्ति नपाउने अवस्थाको सिर्जना गर्न कुनै कसर बाँकी नराख्न सरकारसँग आग्रह गरेको छ । बैठकले महँगी, कालोबजारी, मलको अभावलगायत जनजीविकाका सवालमा सरकारले विशेष ध्यान दिई जनताले दैनिक रुपमा भोग्नुपरेका समस्या, प्रक्रियागत झन्झट र अप्ठ्याराहरूलाई सहज बनाउन र जनताका साथमा सरकार छ भन्ने अनुभूति दिलाइरहन सरकार थप क्रियाशील हुन आग्रह गरेको छ ।

यसैगरी संसद्मा सरकारद्वारा प्रस्तुत नागरिकतासम्बन्धी विधेयकलाई संसद्को चालु अधिवेशनबाट पारित गर्न सरकारको ध्यानाकर्षणसमेत बैठकले गराएको छ । स्थानीय तहमा कांग्रेस पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आचारसंहिता जारी गरी केन्द्रले लागू गर्ने र २०७९ भदौ २ देखि २४ गतेसम्म राष्ट्रव्यापी रुपमा विशेष अभियान चलाउने निर्णयसमेत बैठकले गरेको मुख्य सचिव पौडेलले उल्लेख गर्नुभएको छ ।

बैठकले पार्टी उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काद्वारा केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन’ र पार्टी प्रवक्ता एवं स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतद्वारा प्रस्तुत ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको प्रतिवेदन’उपर केन्द्रीय कार्यसमितिको बैठकबाट प्राप्त सुझावलाई समावेश गर्ने गरी उक्त दुवै प्रतिवेदनलाई अनुमोदन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले पार्टीका महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा ‘केन्द्रीय अनुशासन समिति’ र केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरे संयोजकत्वमा ‘केन्द्रीय लेखा समिति’ गठन गर्ने निर्णय गरेको छ । बैठकले नयाँ भ्रातृ सङ्घका रुपमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ, नेपाल थारू सङ्घ र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घलाई मान्यता प्रदान गर्ने निर्णय गरेको छ । बैठकले अवधि समाप्त भएर गठन हुन बाँकी रहेका र पूर्णता प्राप्त नगरेका पार्टी आबद्ध भ्रातृ सङ्घलाई यही २०७९ साउन मसान्तभित्र गठन र पूर्णता प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले ११ सङ्घलाई पार्टीको शुभेच्छुक सङ्घका रुपमा मान्यता प्रदान गरेको छ । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य सङ्घ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक सङ्घ, नेपाल लोकतान्त्रिक आयुर्वेद चिकित्सक सङ्घ, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी सङ्घ, नेपाल लोकतान्त्रिक भूतपूर्व कर्मचारी सङ्घ, नेपाल स्वास्थ्यकर्मी सङ्घ र नेपाल सामुदायिक विद्यालय कर्मचारी सङ्घलाई पार्टीको शुभेच्छुक संस्थाको मान्यता प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले सम्भावित प्राकृतिक विपत्तिप्रति सतर्कताको अपिल गरेको छ । बैठक तीनै तहको सरकारलाई विपत्तिसँग जुध्न सम्पूर्ण तयारी समयमै गर्न आग्रह गर्दै सम्भाव्य प्रभावित क्षेत्रका नागरिकलाई सजग गराउँदै आवश्यक सहयोग र सेवाको समन्वयका लागि स्थानीय पार्टी पङ्क्तिलाई सतर्क रहन अपिल गरेको मुख्य सचिव पौडेलद्वारा जारी विज्ञप्ति उल्लेख छ ।

श्रीलङ्काको स्थितिप्रति संवेदनशील

श्रीलङ्काले गम्भीर आर्थिक सङ्कट व्यहोरिरहेको घटनालाई बैठकले संवेदनशीलतापूर्वक लिएको छ । “यो प्रतिकूल स्थितिबाट श्रीलङ्कालाई बाहिर ल्याउन विकसित राष्ट्रहरु र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुलाई यो बैठक अपिल गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको अध्यक्ष राष्ट्रका रुपमा नेपालले अन्य सबै देशलाई श्रीलङ्का र त्यहाँका नागरिकले भोग्नुपरेको पीडामा हरसम्भव सहयोग र समन्वयका लागि अग्रसरता लिन आग्रह गर्दछ ।”

जापानका पूर्वप्रधानमन्त्रीको निधनप्रति श्रद्धाञ्जलि

बैठकले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको हिंसात्मक आक्रमणमा निधन भएकामा दुःख व्यक्त गर्दै घटनाको निन्दा गरेको छ । “आवेलाई हामी नेपालको एक असल मित्रका रुपमा सदैव सम्झिनेछौँ । उहाँको परिवार, जापान सरकार र जापानी जनताप्रति गहिरो समवेदना व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ ।

यसकारण उकालो लाग्दैछ सङ्क्रमणको ग्राफ

काठमाडाैं । कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या आजसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ ।

असार २६ गते १२१ मा सङ्क्रमण र ६७८ सक्रिय सङ्क्रमित रहेकोमा आज सक्रिय सङ्क्रमित एक हजार ७७६ पुगेका छन् । आइतबार साउन १ गते र आज सङ्क्रमणका कारणले एक÷एक सङ्क्रमितको ज्यान गएको छ । सङ्क्रमण असारदेखि उकालो लाग्न थालेको हो । असार २७ गते १६८, असार २८ गते १७७, असार २९ गते २०६ असार ३० गते २६०, असार ३१ गते २२९, असार ३२ गते २०५ र साउन १ गते १३५ मा सङ्क्रमण देखिएको छ । शून्य दशमलव पाँच प्रतिशतमा रहेको सङ्क्रमण अहिले ९.८२ प्रतिशत पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित काठमाडौँ जिल्लामा रहेका छन् । शून्य सङ्क्रमित हुने जिल्ला पनि घटेर आठ मात्र पुगेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दास भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको बताउनुहुन्छ । “भारतमा दैनिक सङ्क्रमण बढिरहेको छ । भारतबाट हजारौँ मानिस नेपालको सीमा हुँदै प्रवेश पनि गरिरहेका छन्”, उहाँले भन्नुभयो, “ती सीमा नाकाबाट प्रदेश गर्नेमा दैनिक सङ्क्रमण देखिएको छ । ती मानिसले नै सङ्क्रमण सारिरहेका छन् ।”

उहाँका अनुसार भारतमा सङ्क्रमण बढ्नुका साथै नेपालमा जनस्वास्थ्यका मापदण्ड लागू नगर्नाले सङ्क्रमण बढेको हो । मानिसले जनस्वास्थ्यका मापदण्ड मास्क नलगाउने, भीडभाड गर्ने, साबुन पानीले हात नधुने, भौतिक दूरी कायम नगर्ने जस्ता कारणले पनि सङ्क्रमण फैलिएको बताइन्छ ।

नेपालमा पनि अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा ओमिक्रोन भेरियन्ट ‘विएफाइभ’ प्रजातिको सङ्क्रमित भेटिएको छ । उहाँले बिएफाइभ प्रजातिको सङ्क्रमण फैलिने उच्च दर रहेकाले अहिले सङ्क्रमित बढेको बताउनुभयो । महाशाखाका निर्देशक डा दासले सङ्क्रमित बढ्न थालेपछि अस्पताल र प्रयोगशालालाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावल गत हप्तादेखि बिरामी उपचारका लागि आउने गरेको बताउनुहुन्छ । उहाँका अनुसार अस्पतालमा तेस्रो लहरपछि पहिलो पटक असारमा बिरामी उपचारका लागि आएका थिए । अहिले अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ । तीमध्ये सघन उपचार कक्ष (आइसियु) मा एक र चारले क्याबिनमा उपचार गराइरहेका छन् ।

अस्पतालमा हिजो साउन १ गते ३८ परीक्षण गर्दा १८ मा कोरोना पोजिटिभ देखिएको थियो । उहाँले अहिलेका बिरामीमा ज्वरो, रुघाखोकी भए पनि गम्भीर नरहेको र अक्सिजन नचाहिएको बताउनुभयो ।

मुक्त कमैयाको समस्या पहिचान गरी समाधान गर्न प्रधानमन्त्रीकाे निर्देशन

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयाको समस्या पहिचान र समाधानका उपाय खोज्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

आज यहाँ कमैया मुक्त घोषणाको २२ वर्ष पुगेका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस कुप्रथाको निर्मूल गर्न जरुरी भएकाले आवश्यक काम कारबाहीका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।

हरुवाचरुवालगायत कमैया श्रमिकको मुक्तिका साथसाथै तिनका परिवारका लागि रोजगारीको अवसरको सिर्जना गरी आयआर्जन बढाउने कार्य पनि उत्तिकै आवश्यक रहेको भन्दै त्यसतर्फ ध्यान दिन सम्बन्धित सबैलाई प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।

कार्यक्रममा उहाँले भन्नुभयो, “मुक्तकमैयालाई आत्मनिर्भर बनाउँदै उनीहरुको स्वतन्त्रता, स्वाभिमान र आत्मसम्मान बढाउन तीनवटै तहका सरकार र सरोकारवाला प्रतिबद्ध हुन आवश्यक छ ।” यस किसिमको श्रमिक परिवारको दिगो सामाजिक आर्थिक उन्नतिका लागि सीप र क्षमता विकास गर्दै उनीहरुलाई आत्मनिर्भर बनाउन र उद्यमशीलता बढाउन विशेष लक्षित कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्न पनि सम्बद्ध सबै निकायलाई प्रधानमन्त्रीले निर्देशन दिनुभयो ।

कमैया प्रथा निषेध गर्नेसम्बन्धी ऐन विसं २०५८ मार्फत हरुवाचरुवालगायत सबै किसिमका कमैया श्रमिक परिवारको असमान श्रम सम्बन्ध र शोषणयुक्त प्रथाको अन्त्य तथा ऋण मोचन गरिसकेको पनि कार्यक्रममा प्रधानमन्त्रीले जानकारी गराउनुभयो ।

सबै किसिमका शोषण, विभेद र अन्यायमुक्त नेपाल निर्माणमा सबैको निरन्तर प्रयास आवश्यक रहेको भन्दै उहाँले सबैप्रति आग्रह गर्नुभयो । यस अवसरमा उहाँले सम्पूर्ण मुक्तकमैयालाई सुखी र सम्मान पूर्ण जीवनयापनको शुभकामना पनि व्यक्त गर्नुभएको छ ।