२ श्रावण २०७९, सोमबार १५:४५ – Page 10 – Nagarikabhiyan : National News

वडास्तरीय समस्याका विषयमा जानकारी लिन मेयर बालेन निरीक्षणमा

काठमाडौं। काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले वडा स्तरीय निरीक्षण अवलोकनलाई निरन्तरता दिएका छन् । यस क्रममा आज वडा १ का विभिन्न स्थानमा पुगे ।

भ्रमण अवलोकनका क्रममा वडाध्यक्ष भरतलाल तण्डुकार, वडा सदस्यहरुसहित स्थानीयहरु सहभागी थिए । कमलपोखरीबाट सुरु भएको निरीक्षण भगवान बहाल, वडा कार्यालयसँगैको ढुङ्गेधारा, वडा कार्यालयसँगै रहेको नन्दीकेशरबहाल, नन्दी माध्यमिक विद्यालय, नारायण चौर (नन्दीकेश बगैँचा) नागपोखरी, हात्तीसार पुगेर सकिएको थियो ।

त्यस क्रममा पोखरी तथा ढुङ्गेधाराको अवस्था र सुधार, वहालमा रहेको करुणामयको प्रतिस्थापित मूर्ति, विद्यालयमा शौचालय, बगैँचाको दिगो व्यवस्थापनलगायत विषयमा कुराकानी भएको थियो । भगवान बहालमा रहेको करुणामयको मूर्ति हराएर भेट्टाएपछि प्रतिस्थापित गरिएको हो । प्रतिस्थापना गर्नुअघि मूर्तिलाई छाउनीस्थित संग्रहालयमा राखिएको थियो । यसैगरी वडा कार्यालय भवनका लागि नन्दीकेशर बहाल पुननिर्माण गरेर माथिल्लो तला प्रयोग गर्न सकिने सम्भावनाका विषयमा छलफल भएको थियो ।

अवलोकनका क्रममा प्रमुख शाहले, वडाबाट हुने काममा महानगरबाट पर्याप्त सहयोग हुने बताए। वडाध्यक्ष श्रेष्ठले, सरसफाइका लागि वडासँग पुग्नेजति जनशक्ति नभएको बताउँदै यसमा महानगरले सहयोग गर्नुपर्ने बताए ।

झुत्रा नोट धुल्याउँदा ९० दिनको सीसीटीभी फुटेज अनिवार्य राख्नुपर्ने

काठमाडौं । चलन चल्तिका लागि अयोग्य झुत्रा नोट धुल्याउँदा ९० दिनको सीसीटीभी कभरेज अनिवार्य राख्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले नोट धुल्याउन नियमावली २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । झुत्रा नोट धुल्याउने मेसिन वा फर्नेस रहेको स्थानको पर्याप्त कभरेज हुने गरी कम्तीमा ९० दिनको दृष्यको अभिलेख सुरक्षित राख्ने सीसीटीभी क्यामेराको व्यवस्था अनिवार्य गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।

यस्तै धुल्याइने नोटको थान गन्ती गरी लगत खडा गरी राख्नु पर्ने नियमावलीमा उल्लेख छ । रोडिङ तथा बिक्रेटिङ गर्ने प्रयोजनका लागि छुट्ट्याइएका पाँच सय र एक हजार दरका नोट शतप्रतिशत पुनः गन्ती गरी मात्रै धुल्याउनु पर्ने राष्ट्र बैंक्ले जनाएको छ । नोट धुल्याउनका लागि एउटा समिति गठन गर्नुपर्ने र नोट धुल्याउने क्रममा समितिका पदाधिकारीको नाम, थर, पद र कर्मचारीको कोड नम्बरसहित छुट्टै माइन्युट तयार गरी राख्नु पर्ने छ ।

नोट धुल्याउनु अघि समितिको रोहबरमा पाँच सय र एक हजार दरका नोट बाहेक अन्य दरका नोटको प्रत्येक बण्डलको शत प्रतिशत प्याकेट गन्ती गरी ती बण्डलमध्ये नमूना छनौट ९यान्डम स्याम्प्लिङ० गरी कम्तीमा पाँच प्रतिशत बण्डल छट्टयाई उक्त बण्डलमा रहेको प्याकेट तथा थान समेत गन्ती गरी रुजु गरेपश्चात् मात्र धुल्याउनु सकिने व्यवस्था नियमावलीले गरेको छ ।

नोट धुल्याउन नियमावली जारी भएसँगै नेपाल राष्ट्र बैंकलाई झुत्रा नोटबाट ब्रिगेट बनाउने बाटो खुलेको छ । यसअघि राष्ट्र बैंकले यस्तो नोटहरु जलाउने गरेको थियो । तर, अब चलन चल्तिका लागि अयोग्य नोटहरुबाट ब्रिगेट बनाएर बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले नेदरल्यान्डबाट ल्याएको प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर नस्किने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने बिक्रेट बनाउने भएको हो ।

बिक्रेट बनाउन ‘बीएसबीएस’ ९बैंक नोट स्रेडिङ एन्ड बिक्रेटिङ सिस्टम० मेसिन प्रयोगमा ल्याइएको हो। फागुन २०७८ मै विराटनगरमा उक्त मेसिनको शुभारम्भ भएपछि नियमावली नहुँदा काम सुरु भएको थिएन । अब नियमावली तयार भएर कार्यान्वयनमा गएसँगै झुत्रा नोटबाट ब्रिगेट बनाउने बाटो खेलेको हो ।

२०२० मा राष्ट्र बैंकले नेदरल्याण्डको एक कम्पनीसँग आठ मेसिन ल्याउने सम्झौता गरेको थियो । जसमध्ये फागुनमा ४ वटा मेसिन ल्याएर पहिलो चरणमा काठमाडौं, विराटनगर, वीरगञ्ज र नेपालगञ्जमा जडान गरिसकेको छ ।

नियमावलीले कस्ता नोटबाट बिग्रेट बनाउन सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंक नोट सट्टा भर्ना नियमावली, २०५९ बमोजिम सट्टा भर्नाको लागि प्राप्त भएका झुत्रा वा चलनचल्तीमा ल्याउन अयोग्य नोट, चलनचल्तीमा लैजान अयोग्य ठहयाएका नोट, जाली वा नक्कली भनी जफत गरेका नोटबाट बिग्रेट निमार्ण गर्ने सक्ने भएको छ ।

तर, अदालती कारबाही चलेको हकमा अन्तिम किनारा लागेको दुई वर्षपछि र कारबाही नचलेको हकमा बैंकले प्राप्त गरेको तीन वर्षपछि धल्याउनु पर्ने नियमावलीमा उल्लेख छ ।

आजकाे माैसम : मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडाैँ । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । पछिल्लो केही दिनयता देशभर गर्मी बढेको छ । मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिण क्षेत्र अर्थात् भारततर्फ सरेका कारण मनसुन ब्रेक भएकाले पानी नपर्दा तापक्रम वृद्धि भई गर्मी बढेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् हीरा भट्टराईले बताउनुभयो । गत वर्षमाभन्दा यस वर्ष काठमाडौँ उपत्यकासहितका पहाडी क्षेत्रमा बढी गर्मी महसुस भएको छ ।

उहाँका अनुसार मङ्गलबारदेखि उक्त रेखामाथि अर्थात् नेपालतिर सर्ने भएकाले विस्तारै पानी पर्नेक्रम सुरु भई गर्मी कम हुने अवस्था रहेको छ । विभागका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनका साथै सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

लागुऔषधसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले लागुऔषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले महोत्तरीको गौशालाबाट काठमाडौँ आउँदै गरेको बा४ख ५१४४ नम्बरको यात्रुबाहक बसमा सवार भारत विहारका १८ वर्षीय विवेक कुमारलाई आइतबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध झोलामा लुकाएर ल्याएको अवस्थामा नागढुङ्गामा जाँचका क्रममा लागुऔषधसहित कुमारलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरी पक्राउ परेका भारतीय नागरिकसँग ७०० एम्पुल डाइजेपाम, ७०० एम्पुल फेनार्गन, ७०० एम्पुल नुर्फिन र भारतीय आधार कार्ड बरामद गरेको छ ।

पक्राउ परेका कुमारलाई लागुऔषध नियन्त्रण २०३३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । गत सोमबारदेखि सुरू भएको बैठक आज अपराह्न ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बैठक बस्ने जनाइएको छ ।

आजको बैठकमा अघिल्ला बैठकहरुमा उठेका सवाल, पदाधिकारी बैठकमा भएका छलफल तथा जवाफसहितको निर्णय सुनाउने कार्यसूची रहेको छ । हिजो बसेको पदाधिकारी बैठकले आजको केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तय गरेको थियो ।

प्रदीप ज्ञवाली भन्छन्- पूर्वमन्त्री हुँ तर मेरो घरमा दुई थरि तरकारी बनाउने स्थिति छैन

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले आफ्नो घरमा दुई थरि तरकारी पकाउने स्थिति नरहेको भन्दै अरुको अवस्था के होला भनेर प्रश्न गरेका छन् । मूल्यवृद्धि अचाक्ली हुँदा जनताको चुलो बल्न नसकेको भन्दै उनले आफ्नो घरमा पनि दुई थरि तरकारी पकाउन सक्ने स्थिति नरहेको बताएका हुन् ।

सोमबार काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मैले नै घरमा हरेक पटक एकथरी तरकारी पाक्नेछ भन्ने कुराको सम्झौता गर्नुपर्ने स्थिति भयो । दुईथरी तरकारी पकाउने अवस्था मेरो छैन । मन्त्री पनि भएँ, सांसद पनि छु तर मेरो घरमा दुई थरि तरकारी बनाउने स्थिति छैन भने अरुको के होला रु’

उनले सरकारले बनावटी मूल्यवृद्धि गराएकाले आम उपभोक्ता मर्कामा परेको आरोप लगाए । वर्तमान सरकारले भ्रष्टाचार, कालाबजारीया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको उनको आरोप छ ।

आर्थिक हिसावले मुलुक कुशासन र दुर्घटनाको बाटोतिर गइरहेको भन्दै उनले त्यसलाई रोक्न खोज्दा गभर्नर महाप्रसाद अधिकारीमाथि हमला भएको टिप्पणी गरे । ‘कालो धनलाई सेतो बनाउने जुन ढंगका प्रयासहरु भए अहिले गभर्नरमाथिको हमला त्यही त हो,’ ज्ञवालीले भने ।

आर्थिक वर्ष २०७९र०८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्ने विषयमा गहिराइमा पुगेर सत्यतथ्य छानिबन गर्ने र घटनालाई तोडमोड गर्न नदिने पनि ज्ञवालीले बताए ।

प्रदेश १ का ३ अस्पतालले बन्द गरे स्वास्थ्य बिमा कार्यक्रम

विराटनगर । सरकारबाट भुक्तानी नपाएको भन्दै प्रदेश १ का तीन ठूला अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेका छन् ।

साउन १ गते रातिबाट विराटनगरको नोबेल मेडिकल कलेज, मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेज र विर्तामोडको बि एण्ड सी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगतका सेवा बन्द गरेका हुन् । तीन वटै अस्पतालले बिमा कार्यक्रम बन्द गरेको सूचना आइतबार नै जारी गरेका छन् । तीन अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत १ अर्ब ४५ करोड रकम भुक्तानी पाउन बाँकी रहेको बताएका छन् ।

नोबेल मेडिकल कलेजका अस्पताल निर्देशक डाक्टर राजेश नेपालले सरकारको नीतिका कारण कार्यक्रम स्थगित गरेको बताए । ‘२०७९–८० को बजेट वक्तव्य मार्फत सरकारले स्वास्थ्य बिमा कार्यक्रम २०७९ साउन १ गतेबाट सरकारी र सामुदायीक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै उपलब्ध गराउने पारित गरिएको छ,’ नोबेलले जारी गरेको सूचनामा भनिएको छ, ‘त्यसपछि स्वास्थ्य बिमा सूचारु हुने वा नहुने कुनै सूचना प्राप्त नभएकाले अन्योलको परिस्थितिमा यस संस्थाले अर्काे सूचना नभएसम्मका लागि स्वास्थ्य बिमा अन्तरगतको विरामीहरुले प्राप्त गर्दै आउनु भएको आकस्मिक, बहिरङ्ग (ओपीडी) र अन्तरङ्ग सेवाहरु श्रावण १ गते रातको १२ बजेदेखि स्थगन गरिएको छ ।’

सरकारले प्रतिपरिवार वार्षिक ३ हजार ५ सय रुपैयाँ लिएर स्वास्थ्य बिमा गरी परिवारका पाँच जना सदस्यलाई वार्षिक १ लाख रुपैयाँ बराबरको निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएको छ ।

 

 

बजेट प्रकरणको तथ्य केलाउँदै संसदीय विशेष समिति

काठमाडौं । बजेटमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न गठित संदीय छानबिन विशेष समितिको बैठक आज बस्दै छ । बिहान साढे १० बजे सिंहदरबारमा बस्ने बैठकमा हालसम्म प्राप्त तथ्यमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७९र८०को बजेट प्रतिनिधि सभामा पेश गर्नुभन्दा अघिल्लो दिन राति अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करको दर हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न २२ असारमा संसदीय विशेष समिति गठन भएको थियो । सोही दिन माओवादी केन्द्रका नेता जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । काम सुरु गरेको मितिदेखि १० दिनको समय अवधि पाएको समितिले एक साता गुजारिसकेको छ ।

समितिका सचिव सुरेन्द्र अर्यालले हालसम्मको अध्ययनमा प्राप्त तथ्यहरुमाथि आज आन्तरिक छलफल गर्न लागिएको बताए । प्राप्त तथ्यमा विश्लेषण गरी निचोडमा पुगिने उनको भनाइ छ ।

छानबिन समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, मान बहादुर विश्वकर्मा र सुरेन्द्र यादव सदस्य रहेका छन् । सांसद पुष्पा भूसाल उपसभामुख निर्वाचित भएपछि उनको ठाउँमा मानबहादुर विश्वकर्मा आएका छन् ।

समिति सदस्यहरुले अर्थ मन्त्रालयका सचिव, राजश्व सचिव, बजेट महाशाखा प्रमुख, प्रशासन महाशाखा प्रमुख, आईटी इन्जिनियर लगायतका अधिकारीहरुसँग सोधपुछ गरेको थियो । तर अहिलेसम्म कसैले पनि बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे मुख खोलेका छैनन् ।

बजेट निर्माणको क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको भन्ने विषयमा अध्ययन गर्न सीसीटीभी फुटेज हेर्न खोजे पनि सो दिनको सीसीटीभी फुटेज नपाइएको एक सदस्यले बताए । यसअघि नै अर्थमन्त्रालयले १३ दिनभन्दा बढीको फुटेज रेकर्डमा नरहने भन्दै मेटिएको जवाफ दिएको थियो ।

समितिले जेठ १४ गते मध्यान्ह १४ बजेदेखि १५ गते मध्यान्ह १४ बजेसम्मको सीसीटीभी फुटेज माग गरेको थियो । अर्थ मन्त्रालयले भने सीसीटीभीको हार्डड्राइभ नै दिएको छ, जसमा असार महिनाको मात्र फुटेज छ ।

 

माओवादी अध्यक्ष प्रचण्डसँग गृहमन्त्री र कानुनमन्त्रीको भेट

काठमाडौं । भारतको तीनदिने भ्रमणबाट आइतबार स्वदेश फर्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादी नेताहरूसँग गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्दप्रसाद शर्मा ९कोइराला०ले आज बिहान भेटवार्ता गरेका छन् ।

आज बिहान प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा माओवादी नेताहरू देवप्रसाद गुरुङ, वर्षमान पुन र शक्ति बस्नेत पनि सहभागी थिए । सो भेटमा नागरिकता विधेयक, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले संघीय संसदमा पेस गरेका नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहितका विधेयकहरूबारे नेताहरूबीच कुराकानी भएको गृहमन्त्री खाणले जानकारी दिए । ‘सरकारले संघीय संसदमा पेस गरेको नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहितका अन्य विधेयकबारे कुराकानी भयो,’ गृहमन्त्री खाँणको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, ‘ती विधेयकहरूबारे संसदमा सत्तारुढ गठबन्धनको एउटै धारणा बनाएर अगाडि बढ्ने कुराकानी भएको छ ।’

त्यस्तै छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा पनि कुराकानी भएको र सत्तारुढ दलहरूको एउटै धारणा बनाएर अघि बढ्ने सैद्धान्तिक सहमति बनेको बताइएको छ ।

काठमाडौँ महानगरको प्रवक्तामा मानन्धर नियुक्त

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रवक्ताका रुपमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई नियुक्त गरेको छ ।

उहाँकामपाको सूचना प्रविधि समितिका संयोजकसमेत हुनुहुन्छ । कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको छैटौँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

साथै बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न कामपासँग भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने निर्णयसमेत गरेको छ । यसअघि २०७६ सालको इन्द्रजात्रामा अवलोकन गर्न कामपाले छवटा देशका १३ नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो ।

तत्कालीन समयमा पाँचवटा देशका ११ वटा नगरबाट चार जना प्रमुख, उपप्रमुखसहित ४१ पाहुना सहभागी हुनुभएको थियो । बैठकले महानगरको सार्वजनिक खरिद नियमावली संशोधनका लागि सहमति दिएको छ ।

चालु अर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार यस वर्षदेखि वडाबाट खुला प्रतिस्पर्धात्मक विधिबाट सेवा खरिद हुनेछ । यसका लागि खरिद नियमावली संशोधन गर्नुपर्ने भएको हो । बैठकका राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले अहिलेसम्म खाद्य संस्थान र बीमा संस्थाने राजस्व नतिरेको जानकारी गराउनुभएको थियो ।

५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोनाको दोस्रो खोप आज

काठमाडाैँ । देशका २७ जिल्लाका ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आज लगाइँदै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई आजदेखि दोस्रो मात्रा लगाउन थालेको हो । ती जिल्लाका बालबालिकालाई खोप लगाउनका लागि विद्यालयमा नै खोप केन्द्र स्थापना गरिएको छ । उनीहरुलाई कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन थालेको हो ।

दोस्रो मात्रा लगाउनका लागि पहिलो मात्रा लगाएको खोप कार्ड बोकेर जान भनिएको छ । पहिलो मात्रा २१ लाख बालबालिकालाई लगाइएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेकाले सबै बालबालिकालाई खोप लगाउनका आग्रह गर्नुभयो ।

ती जिल्लामा प्रदेश नं १ को झापा, इलाम, सुनसरी र मोरङ, मधेस प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी र पर्सा, बागमती प्रदेशको मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर र ललितपुर छन् ।

यस्तै गण्डकी प्रदेशको कास्की र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेल्धुराका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ । खोप अभियान यही साउन ८ गतेसम्म सञ्चालन हुने छन् ।

यस्तै दोस्रो चरण ५० जिल्लामा अगामी भदौ ५ देखि ११ गतेसम्म खोप लगाइने छ । सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ ।

आज साउनको पहिलो सोमबार, भगवान शिवको पूजाआराधना गरी मनाईदै

देवानगञ्ज ।  आज साउनको पहिलो सोमबार । आजको दिन हिन्दु धर्म मान्नेहरुले शिव मन्दिरमा गई पूजाआजा गर्ने चलन छ । साउनको पहिलो सोमबारमा हजारौं भक्तजनले देवानगञ्ज सहित जिल्लाका विभिन्न शिवालयमा बिहानै देखि पूजा आराधना गरिरहेका छन् ।

साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ । आजको दिनमा महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

यस पटकको साउन महिनामा पाँच वटा सोमवार परेको छ । साउन महिना पाँचवटा सोमबार पर्दा धेरै शुभ र पवित्र मानिने शास्त्रमा उल्लेख छ ।

आजको राशिफल : २०७९ साउन २ गते

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

धर्म,सस्कृती तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेकोछ । साथिभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ भने नयाँ काम गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

वादविवाद तथा झै झगडाबाट टाडै बस्नुहोला अनावश्यक धन तथा स्थाई सम्पती हानी हुन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हावी हुनेछन् । आम्दानीको तुलनामा खर्च अधिक हुने हुदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घर परिवार तथा चेली माईती विच सामान्य कुरामा राय बाजिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अधी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो सम्भावना रहको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना ऋण,रोग तथा शत्रुबाट छुट्कारा पाइने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेकोछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुने हुनाले खुसीले उचाई नाघ्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रश्तुती पस्कने अवसर प्राप्त हुनेछ तर भनेजस्तो पारिश्रमिक पाइने छैन । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा विस्वासको वातावरण बढेर जानेछ । पेट सम्बन्धि समस्याले सताउनेछ हुदा मानशिक तनाव बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

घर परिवार,आफन्त तथा आमासँग घरायसी कुरामा विवाद सिर्जना हुनसक्छ ध्यान दिनुहोला । तपार्ईँले शुरु गर्नुभएको काममा बिभिन्न वाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । तपार्ईँले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केही समय पर्खदा राम्रो हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पुराना समस्या हरुलाई केही समय दिएर सकाउन सकिनेछ भने नयाँ नयाँ काम गरी रोजगारिका अवसरहरु सिर्जना गरेर मनग्गे आम्दानी गर्न सकिनेछ । बिद्यार्थी हरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै हराउन सक्नेछन् भने पढाइ लेखाइमा भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । अदालती निर्णयहरु तपार्ईँकै पक्षमा आउँने हुनाले मन प्रशन्न रहनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेमप्रसङमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । फेसेनेवल तथा विलाशी सामानको व्यापार व्यावसायबाट केही मात्रामा आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपार्ईँकै पोल्टोमा पर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने हुदा नाम कमाउँन तथा पद प्राप्तीको योग रहेकोछ । बिभिन्न विलाशी वस्तुको प्रयोग गरी मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बिद्यामा भने सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यमा केहि खरावी हुन सक्छ ख्याल गर्नुहोला साझको समय राम्रो रहेकोले पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेममा नजिक भई मनका भावना साटासाट गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पानी तथा खनिज पदार्थको व्यावसायबाट मोटो रकम हातलागी हुने योग रहेकोछ । प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको प्रयोग गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ भने शिक्षा क्षेत्रसँग सम्वन्धीत काममा बिषेश रुचि बढ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

परिवार तथा आफन्तको साथ पाइने हुनाले कामगर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरीरहेको ठाउँमा बढुवा हुने योग रहेको छ । समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ ।

भारत भ्रमण फलदायी भयो : प्रचण्ड सचिवालय

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भारत भ्रमण फलादायी भएको बताएको छ ।

तीन दिने भारत भ्रमण सकेर प्रचण्ड नेपाल फर्किने क्रममा जारी प्रेस नोटमा प्रचण्ड सचिवालयले पार्टी टू पार्टी सम्बन्ध विकासका लागि भ्रमण महत्वपूर्ण रहेको र दुई देशबीचको सम्बन्ध सुदृढ गर्न फलादायी बनेको उल्लेख गरेको छ ।

‘भाजपा अध्यक्ष जेपी नड्डा ज्युको निमन्त्रणामा सुरु भएको तीन दिने भारतको सद्भावना भ्रमण सफलतापुर्वक सम्पन्न भएको छ,’ प्रेस नोटमा उल्लेख छ, ‘पार्टी टू पार्टी सम्बन्धका दृष्टिले पहिलोपटक भएको यो भ्रमण सम्बन्ध विकासका लागि महत्वपूर्ण रहेको छ भने दुई देश बीचको सम्बन्ध सुदृढ गर्नका लागि भ्रमण फलदायी बनेको छ ।’

प्रचण्ड सचिवालयका अनुसार भ्रमणको क्रममा प्रचण्डले इतिहासमा थाती रहेका नेपाल भारत सम्बन्धका समस्याहरूलाई जोड दिएर उठाएको र भारतीय पक्षले पनि यसलाई सकारात्मक रुपमा लिएको बताएको छ ।

भ्रमणका क्रममा प्रचण्डले विदेशमन्त्री एस जयशंकर, भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतसँग भेट गरेका थिए ।

प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेट गर्ने भनिएको थियो । तर, प्रचण्ड मोदीसँग भेट नगरी स्वदेश फर्किन लागेका छन् ।

 

उपसभामुख पुष्पा भुसालले लिइन् शपथ

काठमाडौं । उपसभामुख पुष्पा भुसाल गौतमले आइतबार शपथ लिएकी छिन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । गौतम शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

भारतीय प्रधानमन्त्री मोदीलाई नभेटी प्रचण्ड स्वदेश फर्कने

काठमाडौं । शुक्रबार तीन दिने भारत भ्रमणमा निस्किाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नभेट्ने भएका छन् ।

सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा निस्किएका अध्यक्ष प्रचण्डले भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने पूर्ववर्ती कार्यक्रम रहे पनि रद्ध भएको छ ।

शुक्रबार दिल्ली प्रस्थान गर्नुअघि अध्यक्ष प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्री मोदीसँग पनि भेट्ने भनेका थिए । तर, भ्रमणको अन्तिम दिन आइतबार प्रधानमन्त्री मोदीलाई नभेटी अध्यक्ष प्रचण्ड फर्कन लागेको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार अध्यक्ष नड्डाको निम्तो नै अन्तिम भेट हो । साथै, सचिवालयले अध्यक्ष प्रचण्डको भारत भ्रमण उपलब्धिमुलक भएको पनि बताएको छ। अध्यक्ष प्रचण्ड आज साँझ स्वेदश फर्किदै छन् ।