बजेट प्रकरणको तथ्य केलाउँदै संसदीय विशेष समिति – Nagarikabhiyan : National News

बजेट प्रकरणको तथ्य केलाउँदै संसदीय विशेष समिति

काठमाडौं । बजेटमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न गठित संदीय छानबिन विशेष समितिको बैठक आज बस्दै छ । बिहान साढे १० बजे सिंहदरबारमा बस्ने बैठकमा हालसम्म प्राप्त तथ्यमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७९र८०को बजेट प्रतिनिधि सभामा पेश गर्नुभन्दा अघिल्लो दिन राति अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करको दर हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न २२ असारमा संसदीय विशेष समिति गठन भएको थियो । सोही दिन माओवादी केन्द्रका नेता जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । काम सुरु गरेको मितिदेखि १० दिनको समय अवधि पाएको समितिले एक साता गुजारिसकेको छ ।

समितिका सचिव सुरेन्द्र अर्यालले हालसम्मको अध्ययनमा प्राप्त तथ्यहरुमाथि आज आन्तरिक छलफल गर्न लागिएको बताए । प्राप्त तथ्यमा विश्लेषण गरी निचोडमा पुगिने उनको भनाइ छ ।

छानबिन समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, मान बहादुर विश्वकर्मा र सुरेन्द्र यादव सदस्य रहेका छन् । सांसद पुष्पा भूसाल उपसभामुख निर्वाचित भएपछि उनको ठाउँमा मानबहादुर विश्वकर्मा आएका छन् ।

समिति सदस्यहरुले अर्थ मन्त्रालयका सचिव, राजश्व सचिव, बजेट महाशाखा प्रमुख, प्रशासन महाशाखा प्रमुख, आईटी इन्जिनियर लगायतका अधिकारीहरुसँग सोधपुछ गरेको थियो । तर अहिलेसम्म कसैले पनि बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे मुख खोलेका छैनन् ।

बजेट निर्माणको क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको भन्ने विषयमा अध्ययन गर्न सीसीटीभी फुटेज हेर्न खोजे पनि सो दिनको सीसीटीभी फुटेज नपाइएको एक सदस्यले बताए । यसअघि नै अर्थमन्त्रालयले १३ दिनभन्दा बढीको फुटेज रेकर्डमा नरहने भन्दै मेटिएको जवाफ दिएको थियो ।

समितिले जेठ १४ गते मध्यान्ह १४ बजेदेखि १५ गते मध्यान्ह १४ बजेसम्मको सीसीटीभी फुटेज माग गरेको थियो । अर्थ मन्त्रालयले भने सीसीटीभीको हार्डड्राइभ नै दिएको छ, जसमा असार महिनाको मात्र फुटेज छ ।