३ श्रावण २०७९, मंगलवार १६:३९ – Page 8 – Nagarikabhiyan : National News

पोखरामा गत आर्थिक वर्षमा झन्डै ५ अर्ब राजश्व संकलन

कास्की । आन्तरिक राजश्व कार्यालय पोखराले गत आर्थिक वर्षमा ४ अर्ब ८८ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा कुल ५ अर्ब १० करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले लक्ष्य नजिक ९६ प्रतिशत राजस्व संकलन गरेको उल्लेख गरेको छ ।

कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ मा ४ अर्ब ४० करोड मात्र राजश्व संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्ष भन्दा यो वर्ष राजश्व संकलन बढेको छ । पोखरा आन्तरिक राजश्व कार्यालय प्रमुख रमेश शर्माले आर्थिक वर्ष २०७८÷७९ मा आयकर १०६ प्रतिशत, घरबहाल कर १२२ प्रतिशत, व्याजकर ७३ प्रतिशत, मूल्य अभिवृद्धिकर ८५ प्रतिशत, अन्तःशुल्क कर ६९ प्रतशत, स्वास्थ्य १७७ र शिक्षातर्फ ४ प्रतिशत गरी जम्मा ९६ प्रतिशत राजश्व संकलन भएको बताए ।

उनले मूल्य अभिबृद्धि कर भने लक्ष्य अनुसार संकलन हुन नसकेको बताए । प्रमुख शर्माले कोरोनाको प्रभावका कारण व्यापार व्यवसायले राम्रोसँग लयमा आउन नसक्नु र स्थानीय, प्रदेश सरकारले बजेट पूर्ण रुपमा खर्च नगरेकोले मूल्य अभिवृद्धिकर कम भएको बताए ।

उनले राजश्व संकलन वृद्धिदरअनुसार कमै भएपनि यो रकम सन्तोषजनक नै मान्नुपर्ने बताए । कार्यालय प्रमुख शर्माले पोखराको राजश्व संकलनको मुख्य श्रोत पर्यटन रहेको भन्दै कोरोनाले पर्यटन व्यवसाय तङ्ग्रिन नसकेकोले लक्ष्य हासिल हुन नसकेको स्वीकार गरे ।

आन्तरिक राजश्व कार्यालय पोखरामा हाल करदाता १ लाख ७५ हजार छन् । तीमध्ये ६१ हजार भ्याटमा छन् । प्रमुख शर्माले फर्म दर्ता नगरी सञ्चालन गरेकालाई करको दायरामा ल्याउने बताए । कार्यालयले पनि बेलाबेलामा करदाता शिक्षा र बजार अनुगमन गर्दै आएको शर्माले बताए ।

उनले करको दायरा वृद्धि गर्दै कर छल्ने प्रवृत्ति र चुहावट घटाउनेतर्फ पनि कार्यालय लागिपरेको बताए । विगतमा गण्डकीका विभिन्न जिल्लाको राजश्व प्रदेश राजधानी पोखरामै हुने गरेकोमा अहिले स्याङ्जा, बागलुङ, तनहुँ र नवलपुरबाट समेत राजश्व संकलन गरिन्छ ।

 

राप्रपाका चार नेताले छाडे पार्टी

काठमाडौं । पार्टीमा अपमान सहनुपरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार नेताले पार्टी छाडेका छन्।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाका दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारीले पार्टी छाडेका हुन्।

जारी विज्ञप्तिमा भनिएको छ, ‘राप्रपाभित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको अवस्थामा, सर्वसत्तावाद र अहंकार मौलाएको, विधि र विधानको धज्जी उडिरहेको अवस्थामा अपमानित र निरीह भएर पार्टीभित्र बस्न सक्ने अवस्था नभएका कारण आजैका मितिदेखि हामी साधार सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएका छौँ ।’

गत बुधबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उनीहरुमाथि पार्टी हितविपरीत गतिविधि गरेको आरोप लगाइएको थियो ।

नेपालमा फेरि बढ्न थाले संक्रमित, एकैदिन ३५७ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३५७ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ८५७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ६८ जना र १ हजार ५०० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार १५० पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या १९ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार ९८२ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ६२ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६८ हजार १२६ पुगेको छ ।

प्रचण्डले भने : कांग्रेसको निर्णय सही छ, गठबन्धनमा यताउता हुन्न

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनका विषयमा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले गरेको निर्णय सही भएको बताएका छन् ।

मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले आफूहरु पनि यही गठबन्धनलाई अघि बढाउनुपर्छ भन्नेमा प्रष्ट रहेको बताए ।

सोमबार सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले ‘जनताको समुन्नतिको सपनालाई स्थिर सरकार मार्फत सम्बोधन गर्न सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गर्ने’ निर्णय गरेको थियो ।

‘कांग्रेसले सही निर्णय गरेको छ, हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ’ उनले भने, ‘यो गठबन्धनमा यताउता गर्ने भन्ने हाम्रो कहिँ छैन ।’

सडकका समस्या मिलेर समाधान गर्ने महानगर र मन्त्रालयबीच सहमति

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौँ महानगरबीच हालका लागि महानगरभित्रका सङ्घीय सडकमा समस्या आउँदा मन्त्रालयले नै समाधान गर्ने गरी सहमति भएको छ ।

भौतिक पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राई र महानगर प्रमुख बालेन्द्र साह सहभागी बैठकले सडक निर्माणमा समस्या आउँदा मिलेर समाधान गर्ने गरी सहमति भएको छ । महानगर क्षेत्रमा सार्वजनिक सवारी साधन व्यवस्थित गर्ने विषयमा समेत छलफल गरिएको मन्त्री राईले जानकारी दिए ।

मन्त्रालयले सङ्घीयता कार्यान्वयन नहुँदा यातायात व्यवस्थापनको सबै विषय मन्त्रालयले हेर्ने गरेकामा अहिले अन्तर प्रदेशको यातायात मात्रै मन्त्रालयको कार्यक्षेत्रमा रहेको उहाँले बताए । उनले भने, ‘सवारीसाधन सुरक्षित बनाउन जिपिएस जडान गर्ने हाम्रो चाहना छ ।’

महानगरका क्षेत्रभित्र पर्ने सडक आगामी दिनमा महानगरले नै हेर्ने भए पनि हाल सङ्घीय सरकारले नै हेरिरहेको मन्त्री राईले बताए । उपत्यकाभित्र ४०० किमी सडक सङ्घीय सरकारको अधिकारमा रहेको र त्यसमा समस्या भएमा समाधान गरिने उनले बताए ।

मन्त्री राईले मन्त्रालयको कार्यभार सम्हाल्दा मन्त्रालयका पुराना ठेक्काको समस्या समाधानका लागि एउटा समिति र चालक अनुमतिपत्र, इम्बोस्ड नम्बर प्लेट जडानलगायत यातायात क्षेत्रको समस्या समाधानका लागि अर्को समिति बनाएको थियो । सोही दिन १५ दिनमा प्रतिवेदन दिने गरी समिति बनाइएको र तिनले काम गरेर आज वा भोलि प्रतिवेदन ल्याउने तयारी गरिरहेको उनले बताए ।

सवारी चालक अनुमतिपत्र त्यही दिन वा भोलिपल्ट नै सेवाग्राहीले पाउने गरी तयारी भइरहेको मन्त्री राईले बताए । सम्बन्धित प्रदेशले नै छपाइ गर्दा चाँडो छापिन सक्ने उनले बताए ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा एउटा र गण्डकी र लुम्बिनी एउटै गरेर पनि छपाइ गर्न सकिने उनले बताए । उनले भने, ‘ड्राइभिङ लाइसेन्स पढ्ने उपकरण पनि सबै ट्राफिक कार्यालयलाई उपलब्ध गराइनेछ ।’

 

इन्जिनियरलाई दक्ष बनाउन सरकार तयार छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले इन्जिनियरहरुलाई दक्ष बनाउन र उनीहरुको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।

६० औं इन्जिनियर दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले इन्जिनयरिङ पेशालाई थप व्यवसायिक र राष्ट्रिय आवश्यकता पूर्ति गर्ने गरी विकास गर्नुपर्ने धारणा राखे ।

‘सुविधा सम्पन्न राष्ट्र निर्माणमा इन्जिनियरहरुको योगदान अतुलनीय हुन्छ । समयको गतिसँगै यस पेशालाई थप व्यवसायिक र विशिष्ट बनाउँदै राष्ट्रिय आवश्यकता पूर्ति हुने गरी विकास गर्दै जानुपर्ने खाँचो छ’, प्रधानमन्त्री देउवाले भने, ‘इन्जिनियरहरुलाई दक्ष बनाउन र उनीहरुले काम गर्ने क्रममा आएका सबै समस्या समाधान गर्न सरकार तयार छ ।’

बाबुरामजीले गठबन्धन छोड्दिन भन्नुभएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई सत्तारुढ गठबन्धनमै रहने बताएका छन् ।

मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता भएको थियो । भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले बाबुराम सत्तारुढ गठबन्धनमै रहने बताए ।

‘बाबुरामजी पनि गठबन्धनमै हुहुनुन्छ’ उनले भने, ‘९जसपाबाट० अलग भए पनि यो गठबन्धन कुनै हालतमा छाड्दिन भन्नुभएको छ ।’

जनता समाजवादी पार्टीले संघीय परिषद अध्यक्ष रहेका डा। बाबुराम भट्टराईलाई कारबाही गरेर पदबाट हटाएको छ । डा। भट्टराई पक्षको भेलाले पनि पार्टी पुनर्गठन गर्ने निर्णय गरेको थियो ।

 

एक–दुई दिनमै वर्षा हुन्छ : मौसमविद्

काठमाडौं । मौसमविद्हरुले मनसुन निष्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् ।

मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूति पोखरेलले मनसुनको न्यून चापीय रेखा एक, दुई दिन भित्रमै सक्रिय हुने र वर्षा हुने बताएकी छन् ।

‘मनसुनमा अलिकति ब्रेक हुने बित्तिकै, वर्षा नहुने बित्तिकै अलि गर्मीको अनुभव हुन्छ । यो दुईवटा लगभग रिलेटेड जस्तै भन्नुपर्छ’ उनले भने, ‘‘वर्षाको क्रमसँगै विस्तारै शितल अनुभव गर्नसक्छौं । अहिले ब्रेककै स्थिति छ । विस्तारै यो एक, दुई दिनमै मनसुन ट्रफमाथि सिफ्ट हुँदै जाँदाखेरी हाम्रोतिर मनसुन ट्रफ आउँछ ।’

मौसमविद् पोखरेलले प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा हालसम्म सरदरभन्दा बढी वर्षा देखिएको बताइन् । त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने सरदरभन्दा कम वर्षा भइरहेको उनले जानकारी दिइन् ।

 

राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणको खाँचो छ : प्रधानमन्त्री देउवा

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणको खाँचो रहेको बताउनुभएको छ ।

नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा आज राजधानीमा आयोजित ६०औँ इन्जिनियर दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशलाई समृद्ध बनाउन सडक, पुल, पुलेसा, नहर जलविद्युत् आयोजना तथा सूचना र प्रविधिको विकासको आवश्यकता रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले लागत किफायती, गुणस्तरीय र वातावरणमैत्री पूर्वाधार निर्माण गर्नुनै नयाँ नेपालको आधारशिला भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको वर्तमान आवश्यकतालाई मध्यनजर गरी इन्जिनियरहरुले दिगो, वातावरणमैत्री र जनताको जीवनयापनमा गुणस्तर वृद्धि हुने गरी कार्य गर्न आवश्यक भएको बताउनुभयो ।

नवीनतम विज्ञान र प्रविधिलाई देश सुहाउँदो हुने गरी आवश्यक पूर्वाधार निर्माणका माध्यमबाट देशलाई समृद्ध बनाउन इन्जिनियनरहरु आगामी समयमा थप क्रियाशील हुनुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । प्रधानमन्त्री देउवाले राष्ट्रिय विकास र आर्थिक समृद्धिको बाटो कोर्न, जनताको आवश्यकता, चाहना र विश्वको अनुभव तथा रोजाइको परिकल्पनाअनुसारको विकास निर्माणमा अग्रणी भूमिका निर्वाह गर्दै आएका इन्जिनियरहरुको आधुनिक राष्ट्र निर्माणमा योगदान रहेको पनि उल्लेख गर्नुभयो । उहाँले इन्जिनियरलाई थप क्षमतावान बनाउनका लागि सम्बन्धित मन्त्रालयसँग छलफल गरेर आवश्यक सहयोग गर्न सरकार तयार रहेको छ भन्नुभयो । उहाँले पेशागत र व्यावसायिक मर्यादालाई कायम राख्न इन्जिनियरलाई अनुरोध पनि गर्नुभयो ।

प्रधानमन्त्री देउवाले इन्जिनियरहरुले मुलुकको विकास निर्माणमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले इन्जिनियर विकास निर्माणका अभियन्ता र परिवर्तनका संवाहक भएको बताउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले मुलुकको आधुनिक विकासको खाका कोर्न प्रयत्नशील क्षमतावान र ऊर्जाशील इन्जिनियरको योगदानको प्रशंसा गर्दै आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले नेपाललाई विकासशील राष्ट्रको स्तरमा पुर्याउनका लागि दिगो संरचनाको निर्माण अनिवार्य रहेको र यसका लागि सरकारी तथा निजी क्षेत्रका इन्जिनियरको उच्च लगनशीलता तथा सहभागिता आवश्यक रहेको बताउनुभयो ।

उहाँले दिवसका सन्दर्भमा दिगो पूर्वाधार निर्माण कार्यमा गुणस्तरका विषयमा केही कुरा उठ्ने गरेको जानकारी दिँदै त्यसको निरुपण गर्ने दायित्व पनि इन्जिनियर र उहाँहरुका संस्थाको हुने स्मरण गराउनुभयो । आम नागरिकमा रहेको विकासप्रतिको चाहनालाई मूर्तरुप दिने इन्जिनियर/आर्किटेक्टको काँधमा महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्दै एशोसिएशनका अध्यक्ष डा हरिबहादुर दर्लामीले जनताको आवश्यकतालाई सम्बोधन गर्न यस पेशामा कार्यरतहरुको समस्यालाई पनि राज्यले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

विकास, निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विकास, निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन् । ६०औं इन्जिनियर दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सरोकारवालाहरुबीच समन्वय कायम गरी विकास, निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई सचेत गराएका हुन् ।

उनले जनताको आवश्यक्ता अनुसार मुलुकको समृद्धिका लागि पूर्वाधार निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरु थप क्रियाशील भएर आफ्नो काममा लाग्नुपर्ने आवश्यक्ता समेत औंल्याए । देशलाई समुन्नत र समृद्ध बनाउन सडक, पुलपुलेसा, जलविद्युत आयोजना, सूचना प्रविधिलगायतको पूर्वाधारहरुको विकासको आवश्यक्ता हुने स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले त्यस काममा इन्जिनियरहरुले आफ्नो पेशालाई थप व्यवसायिक र विशिष्ट बनाउँदै लैजाने विश्वास समेत व्यक्त गरे ।

उनले भने, ‘राष्ट्रिय विकास र आर्थिक समृद्धिको बाटो कोर्न र जनताका आवश्यक्तालाई चाँडै सम्बोधन गर्न राज्यको परिकल्पना अनुसार विकास, निर्माणको लागि अग्रणी भूमिका निर्वाह गर्ने इन्जिनियरहरु नै हुन् । सुविधासम्पन्न राष्ट्र निर्माणमा इन्जिनियरहरुको योगदान अतुलनीय हुन्छ । समयको गतिसँगै यस पेशालाई थप व्यवसायिक र विशिष्ट बनाउँदै राष्ट्रिय आवश्यक्ता पूर्ति हुनेगरी विकास गर्दै जानुपर्ने खाँचो छ । देशलाई समुन्नत र समृद्ध बनाउन सडक, पुलपुलेसा, जलविद्युत आयोजना, सूचना प्रविधिलगायतको पूर्वाधारहरुको विकासको आवश्यक्ता हुन्छ । त्यस्ता संरचनाहरुलाई गुणस्तरीय तरिकाले निर्माण गर्नु आजको आवश्यक्ता हो ।’

उनले थपे, ‘पूर्वाधार विकासको माध्यामबाट देशलाई समृद्ध बनाउने काममा इन्जिनियरहरु आगामी दिनमा थप क्रियाशील हुन जरुरी छ । सबै सरोकारवालाहरुबीच समन्वय कायम गरी मुलुकमा योजनावद्ध तरिकाले गुणस्तरीय विकास, निर्माणको काम अगाडि बढाउन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु । इन्जिनियरहरुलाई दक्ष बनाउन र उनीहरुले काम गर्ने क्रममा आएका सबै समस्या समाधान गर्न सरकार तयार छ ।’

प्रधानमन्त्री देउवाले विकास, निर्माणको काममा ईन्जिनियरहरुलाई कुनै समस्या भए ती समस्यालाई तत्काल समाधान गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।

स्मार्ट ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने यातायातमन्त्रीको भनाइ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने बताएका छन् । मंगलबार मन्त्रालयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको टोलीसँग महानगर क्षेत्राधिकारभित्रको यातायात व्यवस्थापनको विषयमा भएको छलफलपछि बोल्दै मन्त्री राईले यस्तो बताएका हुन् ।

उनले स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ट नम्बर प्लेटबारे अनुसन्धान गर्न बनेको समितिको प्रतिवेदन केही दिनमा नै आउने बताउ । मन्त्री राईले समितिको प्रतिवेदन आएपछि स्मार्ट ड्राइभिङ लाइसेन्सको समस्या समाधानका लागि सुदूरपश्चिम र कर्णालीमा एक, गण्डकी र लुम्बीनीमा दुई र प्रदेश १ र मधेश प्रदेश लगायतका सबै प्रदेशमा एकएक स्थानमा गरी स्मार्ट लाइसेन्स छपाइ गर्ने बताए ।

उनले सबै प्रदेशमा स्मार्ट लाइसेन्स छपाइको मेसिन राखेर सम्बन्धित प्रदेशले नै लाइसेन्स छाप्नसक्ने व्यवस्था गर्ने बताए । उनले यो व्यवस्थाका लागि मन्त्रालयसँग पर्याप्त बजेट नभएको पनि बताए । उनले दुई, तीन वर्षदेखि आवेदन दिएर स्मार्ट ड्राइभिङ लाइसेन्स कुरेर बस्ने सबैलाई ड्राइभिङ अनुमतिपत्र परीक्षामा पास भएको दिन वा दोस्रो दिन नै स्मार्ट लाइसेन्स पाउने व्यवस्था गरिने बताए ।

मन्त्री राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सक्कली वा नक्कली लाइसेन्सलाई रिडिङ गर्ने मेसिन प्रत्येक ट्राफिक प्रहरीको हातमा उपलब्ध गराउने र ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था कार्यान्वयनमा ल्याउने बताए । उनले इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा नै छपाई हुनसक्ने संकेत गरे । मन्त्री राईले एक दुई दिनमा नै नेपालीहरुले गौरव गर्ने गरी सुखद् समाचार आउने जानकारी दिए ।

उनले भने, ‘म भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएर आएको १५ दिन भएको छ । मैले मन्त्रालयमा पदभार ग्रहण गर्दा स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको औचित्यको विषयमा प्रतिवेदन आज वा भोलि आउँछ । काम भइरहेको आउने बित्तिकै दुई वटा कुरा दुई वर्ष ३ वर्षदेखि ईड्राइभिङ लाइसेन्सको आवेदन दिने र ईड्राइभिङ लाइसेन्स कुर्ने विषयमा तत्कालै वा दोस्रो दिन भन्ने विषयमा निचोड निस्किसकेको छ ।’

उनले फेरि भने, ‘पैसा थोरै भएपनि गर्दैछौं । त्यसले स्मार्ट लाइसेन्सको समस्या तत्कालै समाधान हुन्छ । त्यो लाइसेन्सलाई रिडिङ गर्ने मेसिन प्रत्येक ट्राफिकलाई उपलब्ध गराउने कार्यक्रम बनाएर कार्यान्वयनमा लैजान्छौं । जरिवाना लगायत अन्य अनलाइनबाट नै हुने व्यवस्था गदैछौं । इम्बोस्ट नम्बर प्लेटको एक दुई दिनमा नै सुखद् समाचार सुन्नपाउनु हुनेछ । त्यसको औचित्यतामा नेपालीहरुले गौरव गर्नसक्ने केही कुराहरु रिपोर्ट आएपछि कार्यान्वयन गर्ने भन्नेकुरा जानकारी गराउँछौं ।’

त्यस्तै, मन्त्री राईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय संघीयता कार्यान्वयन भएसँगै सम्पूर्ण यातायात सम्बन्धित कामहरु अहिले अन्तर प्रदेशका क्षेत्राधिकार भित्र नपर्ने भएपनि काठमाडौं महानगरका मेयरले प्रत्येक सवारी साधनहरुमा जीपीएस सिस्टम जडानका विषयमा बुझ्न मन्त्रालय आएको बताए । उनले सबै सवारी साधनमा जीपीएस सिस्टम जडान गरी जथाभावी सवारी चलाउने,सुरक्षित गन्तव्यमा पुग्ने गरी मोनिटरिङ गर्नसक्ने मेकानिजम बनाउने मेयर साहको चाहना देखिएकाले मन्त्रालयले कानूनी रुपमा प्राविधिक सहयोगहरु उपलब्ध गराउने प्रतिवद्धता आफूले जनाएको बताए ।

उनले भने, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय संघीयता कार्यान्वयन नहुँदा सम्पूर्ण यातायात सम्बन्धित कामहरु संघबाट नै हेर्ने र गर्नेगरेको थियो । अहिले अन्तर प्रदेश बाहेक हाम्रो अवस्था र क्षेत्राधिकार भित्र नपर्ने भए पनि काठमाडौं महानगरका मेयरले प्रत्येक सवारी साधनहरुमा जीपीएस सिस्टम जडानका विषयमा बुझ्न खोज्नुभएको थियो । उहाँको सबै सवारी साधनमा जीपीएस सिस्टम जडान गर्ने चाहना छ । रफमा सवारी चलाउने,सुरक्षित गन्तव्यमा पुग्ने गरी मोनिटरिङ गर्न सक्ने मेकानिजम हो भन्ने चाहना छ । त्यसमा हामीले कानूनी रुपमा प्राविधिक सहयोगहरु उपलब्ध गराएका छौं ।’

उनले थपे, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको क्षेत्राधिकार भित्र पर्ने सडक र महानगरले हेर्ने सडकका विषयमा चाँसो रहेकाले कानूनमा भावी दिनमा सबै मेकानिजम बिस्तार हुँदै जाँदा महानगर भित्र पर्ने संरचना सडकहरु सबै महानगर मातहत नै जाने व्यवस्था गर्ने जानकारी दिएका छौं । तत्कालका लागि काठमाडौं उपत्यका भित्र ४ सय किलोमिटर हाम्रो क्षेत्राधिकार भित्र पर्छ त्यसमा ढल निकासाको समस्या भए मन्त्रालयले समाधान गर्ने प्रतिवद्धता जनाएका छौं । मन्त्रालय र मातहतका कर्मचारीलाई सडकमा देखापर्ने समस्या तत्काल समाधान गर्न निर्देशन पनि दिएका छौं ।’

मन्त्री राईले काठमाडौं महानगरपालिका क्षेत्राधिकार भित्रका सडकलाई अब बन्ने ऐनमा महानगर मातहतमा नै रहने व्यवस्था गर्ने तयारी भएको जानकारी मेयर शाहलाई दिएको पनि बताए । उनले तत्कालका लागि काठमाडौं उपत्यका भित्र ४ सय किलोमिटर मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने भएकाले त्यसमा ढल निकासाको समस्या भए मन्त्रालयले तत्काल समाधान गर्ने प्रतिबद्धता जनाएको बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईसँगको भेटपछि ‘प्रचण्ड’ले भने, ‘गठबन्धनबारे बिहीबारसम्ममा टुंगोमा पुग्नुपर्छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले गठबन्धनको सम्बन्धमा बिहीबार सम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका छन् । मंगलबार पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले गठबन्धनको विषयमा बिहीबारसम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका हुन् ।

उनले डा. भट्टराईसँग सामान्य राजनीतिक भेटघाट भएको र गठबन्धन बनाउने विषयमा छलफल भएको बताए । गठबन्धन बनाउने सन्दर्भमा अरु पार्टीसँग पनि कुरा गर्ने सहमति भएको पनि उनले जानकारी दिए ।

उनले भने, ‘आजको सामान्य राजनीतिक भेटघाट हो, अरु त्यस्तो केही छैन । गठबन्धन बनाउने विषयमा छलफल चलिराखेको छ । गठबन्धन बनाउने बारे अरु पार्टीसँग पनि कुरा गरौँ । पर्सीसम्म एउटा टुंगोमा पुग्न सकियो भने राम्रो हुन्छ भन्ने कुरा भयो ।’

अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धन गर्ने नेपाली काँग्रेस केन्द्रिय समितिको निर्णय सही भएको बताए । उनले आफूहरु गठबन्धन लिएर लाने पनि बताए । उनले भने, ‘काँग्रेसले सहि निर्णय गरेको छ । हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ । यो गठबन्धनमा यता उता गर्ने भन्ने हाम्रो कहिँ कतै छैन । बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ नि । यो गठबन्धन कुनै हालतमा छोड्दिन भन्ने छ बाबुराम जीको ।’

अध्यक्ष दाहालले डा. बाबुराम भट्टराईलाई जनता समाजवादी पार्टी, नेपालले कारबाही गरेपनि उनी गठबन्धनमै रहेको स्पष्ट पारे । भेटवार्तामा भट्टराईले गठबन्धन कुनै हालतमा नछोड्ने प्रतिबद्धता गरेको पनि अध्यक्ष दाहालले बताए ।

खडेरीमा पानी पार्न भन्दै जनप्रतिनिधिलाई महिला समूहले बाँधेर लगे

कपिलवस्तु । बर्खामास खडेरीले अत्तालिएको बेला पानी पार्न अवलम्बन गरिने अनेक परम्परा छन् । तीमध्ये मध्यतराईको थारू समुदायमा गोरु बिहे प्रचलनमा छ । त्यही परम्परा धान्न सोमबार कपिलवस्तु बुद्धभूमि नगरपालिकाको गोरुसिङेका थारू समुदायका युवती फरक पहिरनमा देखिए । महिलाले पुरुषको पहिरनमा देखिँदा सबैलाई अचम्म लागेको थियो ।

कालो चस्मा, टाउकोमा पगरी, सर्ट र धोती लगाउँदै उनीहरू नजिक गाउँको बडघर ९समुदायको अगुवा० खोज्दै हिँडे । गाउँमा वर्षा नभएको दुई साता बढी भएपछि धानको बेर्ना सुकेर मर्न लागेपछि थारू समुदायको पौराणिक मूल्य–मान्यताअनुसार ‘गोरु बिहे’ गर्न भनेर महिला हिँडेका हुन् । त्यसलाई नवलपरासीमा अलि आधुनिकीकरण गरियो । पश्चिमनवलपरासी सरावल गाउँपालिकाका स्थानीयवासीले जनप्रतिनिधिलाई पूजामा सहभागी गराउन गाउँपालिका कार्यालयदेखि सरावल गाउँमा रहेको शिव–पार्वती मन्दिरसम्म बाँधेर लगे ।

सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरी थारूले लामो समयसम्म खडेरी पर्दा गाउँका अगुवालाई निवासबाट बाँधेर मन्दिर लैजाने प्रचलन रहेकोमा स्थानीय सरकार बनेपछि गाउँका अगुवालाई महिला समूहले बाँधेर पूजामा लगेको बताउनुभयो । यो खबर गोरखापत्र दैनिकमा छ ।

मिथिलामा मधुश्रावणीको रौनक

महोत्तरी । मिथिलाका विवाहित नारीले मधुश्रावणी पर्व मनाइरहेका छन् । १३ दिनसम्म मनाउने यो पर्वमा अहिले मैथिल नवयौवना समवयस्कसँगको हासपरिहास र सामूहिक गायनमा रमाइरहेका छन् । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा सोमबारबाट सुरुआत भएको यो पर्व १३औँ दिनमा समापन गरिनेछ ।

मिथिलाका प्रत्येकजसो बस्ती अहिले मधुश्रावणीको रङमा व्यस्त देखिन्छन् । साउन कृष्ण पञ्चमीका दिन सुुरु भएर साउन शुक्ल त्रितीयाका दिन सम्पन्न गरिने यो पर्व बर्तालु र उनका सखीको वस्त्र परिधानको सजधज, सामूहिक प्रणयगान र ‘फूललोढी’ ९फूल खोज्ने० विधिले सबैको ध्यान खिच्ने गरेको छ । शिव, पार्वती ९गौरी० र ‘विषहरा’ ९नागदेवता०को आराधना गरिने यो पर्वमा भोलिपल्टको पूजाअर्चनाका लागि एक दिनअघिको सन्ध्याकालमा सामूहिकरूपमा फूल खोज्न निस्कने विधिलाई ‘फूललोढी’ भन्ने गरिएको छ । पर्वमा भगवान् शङ्कर र देवी गौरीलाई बासी फूल चढाउने चलन छ ।

पर्व अवधिमा प्रत्येक दिन सूर्यास्त हुनपूर्वको बेलामा प्रणयगान गाउँदै विशेष वस्त्र परिधानमा सजिएका मैथिल नवयौवना फूल खोज्ने विधिका लागि निस्कँदा सामान्य बटुवा पनि टक्क अडिएर गीतको भावमा डुब्छन् । “भर्खरै विवाहित जोडिको प्रणय सम्बन्ध प्रगाढ बनाउने उद्देश्यभित्रको पर्वको ‘फूललोढी’ विधिमा निस्केका मिथिलानीको त्यही विषय भाव समेटिएका गीतले आफ्ना सबै गुमाएको वा छोडेको फुटपाथेलाई पनि रोमाञ्चित गराउँछ”, जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टिका मैथिली लोक परम्पराका ज्ञाता ८० वर्षीय कृष्णचन्द्र झा भन्नुहुन्छ, “गीतका शब्द र भावले शिष्टता नाघेको भान हुँदैन ।” गीत बर्तालुको प्रणय सम्बन्ध प्रगाढ होस् भन्ने सलल बगेको भाव अत्यन्त कर्णप्रिय लाग्ने उहाँको भनाइ छ ।

आमरूपमा प्रगाढ प्रणय सम्बन्धको अपिलमा सामाजिक शिष्टता नाघिने शब्द गीतमा हुँदैनन् । वर्षायाम प्रगाढ प्रणय सम्बन्धलाई अपिल गर्ने मौसम मानिन्छ । वनमा रमाउने मयूर पनि यसै मौसममा प्रणय सम्बन्धमा लिन हुन्छन् । यस्तो बेला नवविवाहिता जोडिबीच रतिरागदेखि भावात्मक रुपमा एकाकार गराउनु पर्वको मुख्य पक्ष रहेको मिथिला संस्कृतिका जानकार बताउँछन् । यसैले यो पर्व नवविवाहिताका लागि खास हुने गरेको छ ।

पर्वमा नवविवाहिता मिथिलानी यौवनाको सखीहरूबीच भर्खरै सुरु भएको दाम्पत्य जीवनका कौतुहलता, पतिले देखाउने वास्ता र रतिरागसम्मका अनुभव साटासाट हुन्छन् । “बेहुली भएर पति घर गएदेखि मधुश्रावणी मनाउन माइत आएबीचका अन्तरङ्ग अनुभव बर्तालुुले सुनाउँदा विवाहयोग्य उमेर पुगेकी सखीको कौतुहलताको मापन के होला रु” ८२ वर्षीय साहित्यकार महेश्वर राय भन्नुहुन्छ, “यो कुराको अनुमानले मात्र पनि जो–कसैलाइ रोमाञ्चित बनाउँछ ।”

पहिले मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब साझा भइसकेको छ । पतिघरबाट आएका सामग्री प्रयोग गरेर माइतमा मनाइने यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेको मिथिलानी बताउँछन् । पर्वमा शिव, पार्वती ९मधुश्रावणी व्रत विधानमा पार्वतीलाई गौरी नाम दिइएको छ० र विषहराको पूजा आराधना गरेपछि बर्तालुलाई ज्येष्ठ महिलाले मधुश्रावणी कथा सुनाउँछन् । यिनमा पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरि, विहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीको कथा हुने गर्छन् ।

पातमाबाट पाँच नागकन्याको जन्म भएको कथा प्रचलित छ । तलाउमा जलक्रिडाका बेला जन्मेका यी छोरी भेट्न शिव जाने गरेका र यो वृतान्त थाहा नपाएकी पार्वतीलाई पतिप्रति शङ्का बढेपछि पिछा गरेकी कथा छ । एक दिन छोरीहरूसँग खेलिरहेका पतिलाई देखेपछि क्रोधित भएकी पार्वतीलाई शिवले सबै कुरा बताएपछि क्रोध शान्त भएको प्रसङ्ग छ । पार्वतीलाई खुसी तुल्याएपछि शिवले साउन महिनामा यी नागिनीको पूजा गर्नेलाई सर्पको भय नहुने वरदान दिएबाट मधुश्रावणी पर्वमा विषहराको पूजा विधान सुुरु भएको लौकिक जनविश्वास छ । देवी गौरी दाम्पत्य जीवन सुखद् बनाउने र सबै मनोकामना पूरा गर्ने मानिएकीले उनको पूजाअर्चना नवविवाहिताले यसै अभिष्ठका लागि सुरु गरेका मिथिला लोकसंस्कृतिका जानकार कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का बासिन्दा पण्डित महेशकुमार झाको भनाइ छ ।

पर्वको मुख्य पक्ष नै नारी जीवनमा पतिप्रतिको स्नेह र सम्बन्ध प्रगाढ बनाउन केन्द्रित रहेकाले यससँग जोडिएर आउने ठट्यौली र हासपरिहासले पर्वको महत्ता उज्यालिएको पाका मिथिलानी बताउँछन् । प्राचीन वैदिक ग्रन्थ शिव पुराणमा कुष्ठरोग भएका आफ्ना पतिलाई ठिक गराउन मधुश्रावणी नाउँकी नवविवाहितालाई शिवले यो व्रत गर्न लगाएका प्रसङ्ग छ । शिवको आज्ञाअनुसार मधुश्रावणीका पति ठिक भएपछि पति कल्याण र आपसी सम्बन्ध प्रगाढताको कामना राखिने यो पर्व परम्परा चलेको विश्वास गरिन्छ ।

बर्तालुले साउन कृष्ण चौथी ९चतुर्थी०का दिन पवित्र स्नान गरेर चोखोनितो बनेपछि व्रत सङ्कल्प गर्दछन् । व्रत अवधिभरि मन पवित्र बनाएर सात्विक भोजन गर्नुपर्ने विधान छ । सधैँ दिउँसोपछि सूर्यास्त हुनपूर्व सखीसहेलीका साथ हाँस्दै, खिल्लिदै र प्रणयभावका गीत गाउँदै ‘फूललोढी’मा निस्कनु र सङ्कलन गरिएका बेलपत्र र विभिन्न जातका फूल राति बासी राखेर भोलिपल्ट त्यसैले शिव, पार्वती र विषहराको पूजा आराधना गरेर कथा श्रवण गर्नु पर्वअवधिको दैनिक तालिका हो । बर्तालुले सधैँ बिहान पवित्र स्नान गरेर पूजाआराधना गरेर कथा श्रवण गरेपछि सात्विक भोजन गर्ने गर्छन् । पर्वमा अटल सौभाग्यकी देवी मानिने गौरीको पूजाआराधनाका लागि छुट्टै नैवेद्य बनाउने चलन पनि छ ।

माइतमै बसेर मनाइने भए पनि पर्वमा नवविवाहिताका लागि व्रतअवधिको खाद्यान्न, वस्त्रपरिधान, बर्तालुका शृङ्गार प्रशाधन, पूजा सामग्री र अन्य पर्वविशेषका आवश्यक वस्तु पतिघरबाटै पु¥याइनुपर्ने चलन छ । माइतीघरको आँगन वा अन्य सुरक्षित ठाउँमा बनाइएको खास मण्डप ९अरिपन०मा बसेर त्यहीँ देवता स्थापित गरेर यो पर्व मनाइन्छ । कूलदेवताको स्मरण गरेर सुरु गरिएको पूजा आराधनामा प्रत्येक दिनको पूजापछि माइती घरका ज्येष्ठ महिला सदस्यबाट बर्तालुले आशीर्वाद लिने गर्छन् ।

पर्व १३औँ दिन समापन गरिन्छ । समापन भएपछि दिनहुँ पूजा गरिएका बेलपत्र र फूल सङ्ग्रह गरेर पवित्र नदी वा तलाउमा विसर्जन गरिने चलन छ । यसअघि १२औँ दिन साँझ पूजाअर्चनापछि बर्तालुुलाई ‘टेमी’ दिने गरिन्छ । दियोमा बालिने बत्तीको लप्कोले बर्तालुुको देब्रे गोडाको घुँडामा डाम्ने विधिलाई ‘टेमी’ भन्ने गरिएको हो । ‘टेमी’ दिइएको ठाउँमा फोका उठे पति पत्नीबीच प्रेमसम्बन्ध अत्यन्त गाढा हुने विश्वास गरिन्छ ।

पछिल्लो कालमा भने नयाँ पुस्ताका मिथिलानीले ‘टेमी’ प्रचलनलाई परिस्कृत गरिनुपर्ने आवश्यकता औँल्याएका छन् । पर्वमा बर्तालुुलाई बलेको बत्तीको लप्काले डाम्न सट्टा शीतल चन्दनको लेप उपयुक्त हुने नयाँ पिँढीका मिथिलानीको भनाइ छ । मिथिलामा पछिल्ला केही वर्षयता यो चलनमा आउन थालेको छ ।

विधिमा केही परिष्कारको कुरा उठेका र समयक्रममा ती स्थापित हुने मैथिल बुद्धिजीवी बताउँछन् । पर्वको अभिष्ठ नै प्रेमसम्बन्धको प्रगाढता भएकाले यसले मैथिल संस्कृति पारिवारिक सद्भाव वृद्धिमा सचेत रहेको सन्देश नै प्रवाह भएको कुरामा मैथिल ९मिथिलाका बासिन्दा० एकमत देखिन्छन् ।

कर कार्यालयको कर्मचारी भनेर रकम उठाउने पक्राउ

धादिङ । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकाका व्यापारीसँग कर कार्यालयका कर्मचारी भनेर रकम सङ्कलन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कर कार्यालयका कर्मचारी बताउँदै कर सङ्कलन गर्न गाउँ आएको बताउने दुई जनालाई कर रकम सङ्कलन गरिरहेको अवस्थामा सोमबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा देव अधिकारी र मैना सापकोटा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनीहरुले गाउँकै एक जना पार्टीका नेताले बोलाएर व्यापारीसँग कर उठाएर लगी कर तिरिदिन भनेर गाउँ आएको र वार्षिकरूपमा कर तिरिदिनका लागि पसलेसँग रकम उठाएको बताएका छन् ।

रकम लिएपछि उनीहरुले ओम शिवशक्ति सेल्स सेटरको नगदी रसिद दिएका थिए । करदाता सेवा कार्यालय गल्छीका कार्यालय प्रमुख प्रेम श्रेष्ठले कार्यालयले बजारमा आफैँले नगद नउठाउने र कारोबारको विवरणअनुसार बैंकमार्फत मात्र कर लिने गरेकाले त्यसरी कर उठाउनेलाई कारबाही हुनुपर्ने बताउनुभयो ।

प्रहरीले पक्राउ गरेपछि मात्र आरोपितले पसलेलाई कर तिर्न जान टाढा हुने भएकाले आफूहरूले साना व्यापारीसँग कर सङ्कलन गरी लगेर कर तिरिदिने उद्देश्यले रकम लिएको बताएका छन् ।

तातो हावाबाट स्पेनमा ५१० जनाको मृत्यु, तापक्रम ४५ डिग्री सेल्सियस पुग्याे

स्पेनमा केही समययतादेखि प्रचण्ड गर्मी भएको र तातो हावा चलेको छ । तातो हावाबाट मानिसहरुको ज्यान गइरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसमम तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ ।मन्त्रालयले यहाँको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसहरुको ज्यान जाने क्रम पनि रोकिएको छैन्।

यहाँ यही जुलाई १० तारिखदेखि गर्मी सुरु भएको हो । गर्मीका कारण यहाँको जनजीवन निकै कष्टकर बनेको पनि बताइएको छ ।स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्म मात्र यहाँ १५० जनाको ज्यान गएको जनाएको छ ।

त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरुले सोमबारसम्म ५१० जनाको मृत्यु भएको बताएका छन् ।यसरी ज्यान जानेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन् । उनीहरुमध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका बताइएको छ ।

गर्मी अझै बढ्ने देखिएको र यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन यहाँको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरिरहेको छ ।