६ श्रावण २०७९, शुक्रबार १६:१६ – Page 5 – Nagarikabhiyan : National News

नेपालको संसदले वीपी कोइरालालाई स्मरण गर्नुपर्छ : सांसद डा.रिजाल

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा.मिनेन्द्र रिजालले नेपाली काँग्रेसका संस्थापक तथा पूर्व सभापति वीपी कोइरालालाई नेपालको संसदले सम्झिनुपर्ने बताएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद रिजालले आज वीपी कोइरालाको स्मृति दिवस भएको र वीपी नेपालको पहिलो संसदको नेता भएकाले उनलाई संसदले स्मरण गर्नुपर्ने बताएका हुन् ।

वीपीले राजासँग लड्दा अथवा राजासँग मिलापको बाटो खोज्दापनि नेपाली जनतालाई केन्द्रमा राखेको उनले बताए । सांसद रिजालले कोइरालाले नेपाली जनतालाई साँचो अर्थमा सार्वभौम बनाउने काममा लागेका स्मरण गरे ।

उनले भने, ‘आज वीपी स्मृति दिवस हो । वीपी नेपालको पहिलो संसदको नेता मात्रै होइन नेपाललाई लामो समयसम्म एउटा गुन लगाएर जानुभएको छ । सुवर्ण समशेरले वि.पि.लाई सभापति फिर्ता गर्दा नासो बुझाएँ भन्नुभयो । वीपी ठूलो कि आफू ठूलो भनेर भेट्न गएका गणेशमान सिंहले पहिलो भेट पछाडि रामभक्त हुनमान भनेझैँ वीपीभक्त गणेशमान भएँ भन्नुभयो । सूर्यप्रसाद उपाध्यायको वीपी रोगसँग गाँजिएको बेलाको भेटमा दुवै नेताको आँखाको आर्द्र देख्दा सबैले कल्पना गर्नसक्छ कति प्रेम र स्नेह भाव थियो ।’

उनले फेरि भने, ‘कृष्णप्रसाद भट्टराई वीपीको अन्तिम दिनमा पाँच रुपैयाँको भुटेको चना बोकेर उहाँलाई पु¥याउन जाँदा भित्र कुरा गर्न आउनुस् भन्दा मेरो नेतालाई दर्शन गरेँ पुग्यो भन्नुभयो । यस्तो नेता जो सबैभन्दा माथि उभिएर बस्नुभएको थियो । कहिल्यै जीवनमा जनताको प्रतिनिधि हुँ भन्ने गुमाउनु भएन । राजासँग लड्दा पनि, राजासँग मिलापको बाटो खोज्दा पनि नेपाली जनतालाई केन्द्रमा राखेर, नेपाली जनतालाई साँचो अर्थमा सार्वभौम बनाउने काममा लाग्नुभयो । त्यो वीपी कोइरालालाई स्मरण आज संसदले गर्नुपर्छ । त्यसैले मैले समय मागेको सभामुखज्यू ।’

सांसद रिजालले वीपी कोइरालाका समकालिन नेताहरु सुवर्ण समशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरुले समेत वीपी कोइरालालाई उच्च सम्मान गर्ने गरेको प्रसंग उठाएका थिए ।

नागरिकता विधेयक सम्बन्धी सही सूचना प्रकाशन गर्न सञ्चारमाध्यमलाई महामन्त्री थापाको आग्रह

हेटौंडा । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयकका बारेमा सही सूचना प्रकाशन गर्न सञ्चारमाध्यमहरुसँग आग्रह गरेका छन् । शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सञ्चारमाध्यमले दिएका सूचनाका आधारमा नै जनताले आफ्नो मूल्यांकन गर्नै भएकोले सही सूचना सम्प्रेषण गर्न आग्रह गरेका हुन् ।

उनले संसदमा विवाह गरिसकेपछि नेपाली पुरुषले विवाह गरेको एउटा महिलाले नागरिकता कहिले प्राप्त गर्ने भन्ने विषय छलफलको विषय हुनेभन्दै यसलाई छलफलमा भएका कुरालाई सहइ ढंगले प्रश्तुत गर्नुपर्ने आवश्यक्ता रहेको बताए । महामन्त्री थापाले जनतालाई सत्यतथ्य कुरा सही ढंगले सम्प्रेषित गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘नागरिकहरुले थाहा पाउने गरेर तथ्य र प्रमाणका आधारमा सूचना सम्प्रेषण गर्नुपर्छ । सञ्चारमाध्यमले दिएको तथ्यको आधारमा नै नागरिकहरुले मत बनाउने हो । हामी संसदमा नागरिकता विधेयकमाथि छलफल गर्दैछौँ । आजकै नागरिकता विधेयकपछि सञ्चारमाध्यममा आउने विषयको आधारमा भोलि नागरिकहरुले मत बनाउने हो ।’

उनले थपेका छन्, ‘हामीले छलफल गर्ने आजका थुप्रै विषयहरुमध्येको एउटा विषय विवाह गरिसकेपछि नेपाली पुरुषले विवाह गरेको एउटा महिलाले नागरिकता कहिले प्राप्त गर्ने भन्ने विषय छलफलको विषय बन्छ । छलफलमा भएका विषयलाई सही ढंगले सम्प्रेषित गर्न सकेनौँ भने धेरै मानिसले बनाउने मत हुँदै नभएको व्यवस्था लागू गरेको छ भन्ने हुन्छ ।’

महामन्त्री थापाले सही ढंगले सूचना सम्प्रेषण नगर्दा नागरिकमा भ्रम सिर्जना हुने भन्दै यसलाई रोक्न आवश्यक रहेको बताए ।

नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गर्नु देशको हितमा छैन : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गर्नु देशको हितमा नभएको बताएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नागरिकता विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न खोज्नु देशको हितमा नभएको बताएका हुन् ।

उनले नागरिकता विधेयकलाई सम्बन्धित समितिमा पठाउनुपर्ने बताए । नागरिकताको विषय सार्वभौमिकतासँग सम्बन्धित विषय भएकाले जनतासँग समेत छलफल गर्नेगरी कार्यसूची बनाउनु जरुरी रहेको उनले बताए ।

उनले भने, ‘नागरिकता विधेयक फाष्टट्र्याकबाट पारित गर्न खोजेको विषय देशको हितमा छैन । सम्बन्धित समितिमा विधेयक पठाउनु जरुरी छ । र यो विधेयक सार्वभौमिकतासँग सम्बन्धित भएको हुँदा जनतासँग समेत छलफल गर्नेगरी कार्यसूची बनाउनु जरुरी छ ।’

नेपालको नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नुपर्ने उनको भनाइ छ । आमा र बुबा दुवै वंशजको नेपाली नागरिकका छोराछोरीलाई मात्र वंशजको नेपाली नागरिकता दिनुपर्ने उनले बताए । जन्मको आधारमा दिएको नागरिकता विदेशीले पनि पाएकाले छानविन गरी खारेज गर्नुपर्ने उनले बताए ।

सांसद सुवालले निर्वाचन, सरकारी सेवा, राजनीतिक नियुक्ति, उद्योग, व्यापारको लागि वंशजको नेपाली नागरिक आवश्यक हुने व्यवस्था गर्नु जरुरी रहेको उल्लेख गरे । त्यस्तै नेपालीले विदेशीसँग विवाह गर्न निरुत्साहित गर्नुपर्ने र नेपालीसँग विवाह गरेका महिला वा पुरुषलाई २० वर्षपछि नेपालको भाषा र संस्कृति बारे लिखित र अन्तर्वार्ता परीक्षा उत्तिर्ण गरेमा नेपालको कृतिम नागरिकता दिनुपर्ने बताए ।

भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण नगर्न सांसद पौडेलको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दूर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । शुक्रबार संसद बैठकमा बोल्दै सांसद पौडेलले सरकारलाई यस्तो ध्यानाकर्षण गराएकी हुन् ।

उनले वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ भन्ने कुरामा दुई मत नभएको भन्दै भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्न नहुने बताइन् । सांसद पौडेलले नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनुपर्ने बताइन् ।

उनले विदेशी महिला नेपाली केटासँग विवाह गरेर आउने बित्तिकै नागरिकता दिने प्रावाधान हटाइ सात वर्षको प्रावधान नराखिए अन्यथा राष्ट्रियतामा दूरगामी रुपमा धेरै ठूलो क्षति हुने दाबी गरिन् । सांसद पौडेलले अंगिकृत नागरिकता सिधै प्रदान गर्नु विधिशास्त्र र कुनै सिद्धान्तले नदिने बताइन् ।

उनले कुनैपनि देशले आफ्नो भौगोलिक अवस्था, सीमानाको अवस्था आदिको सर्वपक्ष मूल्याङ्कन गरेर देशको हितमा हुने गरी नागरिकता वितरण गर्ने हरेक देशको आ–आफ्नो प्रचलन रहेको बताइन् । सांसद पौडेलले वंशजको नागरिकता जन्मको आधारमा दिने कुरा गलत हुने बताइन् ।

उनले भनेकी छन्, ‘नागरिकता कुनैपनि देशले आफ्नो भौगोलिक अवस्था, सीमानाको अवस्था आदिको सर्वपक्ष मूल्याङ्कन गरेर देशको हितमा हुनेगरी नागरिकता वितरण गर्ने हरेक देशको आ–आफ्नो प्रचलन हुन्छ । त्यसमा विदेशी महिलाहरुले विवाह गरेर आएपछि कति समयमा नागरिकता दिने सबै देशले अलग–अलग समय दिएर राखेको अवस्था छ । राष्ट्रिय जनमोर्चाले शुरुदेखि नै नागरिकता राष्ट्रियतासँग जोडिएको कुरा हो, हाम्रो खुल्ला सीमाना छ । नेपालले नागरिकता प्रदान गर्ने विधि कठोर बनाउनुपर्छ फितलो होइन भनेर संविधान सभामा नै संशोधनसहित समर्थन गरेका थियौं । अहिले पनि त्यही कुरा हाम्रो धारणा छ ।’

उनले फेरि भनिन्, ‘हाम्रो नागरिकतामा वंशज र अगिकृत जुन छ । त्यो अत्यन्त महत्वपूर्ण कडी हो । वंशजको नागरिकता पुर्खाहरुले लडेर रगत बगाएर वंशजको नागरिकतालाई स्थापित गरेका हुन् । त्यसैले वंशजको नागरिकता जन्मको आधारमा दिनेकुरा गलत हुन्छ । हामीले त्यसरी जानु हुँदैन । जानु हुँदैन भन्ने मेरो संशोधन छ । हाम्रो खुल्ला सीमानामा जन्मको आधारमा नागरिकता दिने हो भने हामी स्वयं नेपाली आफैँ अल्पमतमा पर्नसक्छौं । विशाल ठूला देशको बीचमा सानो देश नेपाल छ । यस्तो देशको भू–राजनीतिक अवस्थालाई हेर्दा यस्तो नागरिकता प्रदान गर्ने विधि यो राष्ट्रघाती र आत्माघाति नै हुन्छ भोलि गएर हामीलाई । यो विषयमा सरकारले ध्यान पु¥याउन जरुरी छ भन्ने लाग्छ ।’

यसका साथै उनले विवाह गरेकै आधारमा नागरिकता दिने कुनै विधि शास्त्रिय सिद्धान्तको आधारमा कुनै पनि आधारमा सही नभएको बताइन् । उनले भनिन्, ‘यस्तो विधि छ भने सभामुख महोदयमार्फत जनताले बुझ्ने गरी सम्बन्धित मन्त्रीले स्पष्ट जवाफ दिन अनुरोध गर्दछु । हाम्रो जस्तो मुलुकको हकमा अगिकृत नागरिकताको पुरानै प्रावाधान छ । पुरानै प्रावाधानलाई अगाडि बढायौं भने पुग्छ । वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ । तर भारतमा चुनाव हारेर नेपालको संसद हुने गरी नागरिकता वितरण गर्नु भएन । यो राष्ट्रियतासँग जोडिएको कुरा छ । वंशजको कुरा अंगिकृतले त्यो पाएको अवस्था छ । हामीले वंशजको नागरिक त्यो नै हुनसक्छ । जसको बुबा र आमा दुवै वंशजका छन् भने त्यो नागरिक वंशजको हुनुपर्छ । एउटा पुस्तान्तरण हुँदै जाँदा पछि पाउने कुरा अलग हो ।’

उनले थप भनिन्, ‘अगिकृत नागरिकलाई जन्मकै आधारमा वंशजको नागरिकता प्रदान गर्ने विधि कुनै शास्त्रियले पनि दिँदैन । यो कुनै सिद्धान्तले पनि दिँदैन । यो विषयमा हामी गम्भिर हुन जरुरी छ । वंशजको नागरिकता पाउनको लागि बुबा र आमा वंशजको चाहिन्छ । अगिकृत नागरिकता विवाहित महिलाको हकमा ७ वर्षको प्रावाधानलाई कायम राखेरै जानुपर्छ । अन्यथा हामीले यो नागरिकता दिँदै गर्दा देशको राष्ट्रियतासँग जोडिएको कुरा प्रति गम्भिर हुन सकेनौं भने धेरै ठूलो क्षति भोग्नुपर्छ ।’

लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न आवश्यक रहेको बताएका छन् । शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताए ।

उनले आधुनिक प्रविधिको विकाससँगै सञ्चारमाध्यमले आफूलाई निरन्तर परिमार्जन गर्दै जानुपर्ने अवस्था आएको बताए । उनले नागरिकमा सूचना फैलाउने काम पत्रकारिता क्षेत्रले गरिरहेपछि मिथ्या सूचनाको जोखिम बढिरहेकोले संवेदनशील, उत्तरदायी भएर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताए ।

प्रधानमन्त्री देउवाले प्रमाणमा आधारित सत्यतथ्य सूचना प्रवाह गरी लोकतन्त्रलाई बलियो बनाउन सञ्चारमाध्यमको आवश्यक्ता रहेको बताए । उनले भने, ‘आधुनिक प्रविधिको विकाससँगै सञ्चारमाध्यमले आफूलाई निरन्तर परिमार्जन गर्दै जानुपर्ने अवस्था आएको छ । प्रविधिको विकासले सूचनालाई सहज, छिटो र छरितो बनाउने काम गरेको छ, भने अर्कोतिर मिथ्या भ्रामक सूचनाहरु फैलिनसक्ने चुनौती पनि त्यत्तिकै छ ।’

उनले फेरि भने, ‘पत्रकारिता क्षेत्र हिजो भन्दा आज झन संवेदनशील, उत्तरदायी हुन आवश्यक छ । नागरिकलाई सूचना दिने कुरामा प्रमाणमा आधारित सत्यतथ्य सूचना प्रवाह गरी लोकतन्त्रलाई बलियो बनाउन अझ बढी उत्तरदायी भूमिका खेल्नुपर्ने आवश्यक्ता छ । पत्रकारिताको संस्थागत विकास आजको आवश्यक्ता हो । स्वच्छ पत्रकारिताको प्रवद्र्धनका निम्ति प्रेस युनियन सक्रिय हुनुपर्छ ।’

प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरुले कसैको प्रलोभन, भय र दबाबमा नआइ निष्पक्ष ढंगबाट पत्रकारिता गर्नपनि आग्रह गरे ।

पाँचथरमा बोली नखुलेकी ७ वर्षकी बालिका बलात्कृत, बाटोमा रगताम्मे भेटेपछि खुल्यो रहस्य

पाँचथर । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकामा फरक क्षमताकी बालिका बलात्कृत भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बोल्न नसक्ने ७ वर्षकी बालिका बलात्कृत भएकी हुन् ।

घटना एकसता अघिकै भएपनि बलात्कार भएको पुष्टि भने केही दिनपछि मात्रै भएको हो । पीडित बालिकाकी आमाका अनुसार असार ३२ गते ती बालिका बाटोमा रगताम्मे भेटिएकी थिइन् । त्यसपछि आमाले बालिकालाई लिएर स्वास्थ्यकर्मीकहाँ पुर्याएकी थिइन् ।

स्वास्थ्यकर्मीले चेक जाँचपछि बालिका बलात्कृत भएको जनाएका थिए । त्यसपछि पीडित आमाले प्रहरीमा खबर गरेकी थिइन् ।

उजुरीपछि खटिएको प्रहरीको टोलीले बुधबार फाल्गुनन्द गाउँपालिका – ७ कै एक किशोरलाई पक्राउ गरेको छ ।

‘अनुसन्धान गर्ने क्रममा फाल्गुनन्द–७ का १९ वर्षीय एमन सिवाले बालिकामाथि जबरजस्ती करणी गरेको खुलेको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ,’ जिल्ल प्रहरी कार्यालय पाँचथरले भन्यो ।

हाल प्रहरी नियन्त्रणमा रहेका सिवामाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट म्याद लिई गरी अनुसन्धान जारी राखेएको पाँचथर प्रहरीले जनाएको छ ।

नेपाल श्रीलंकाकै बाटोमा गइसक्यो भनी अफवाह फैलाइँदैछ, तर त्यसो हुँदैन : सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल पनि श्रीलंकाकै बाटोमा गइसक्यो भनी अफवाह फैलाउनु गलत रहेको बताएका छन् ।

आज हेटौँडामा सुरु भएको कांग्रेस निकट नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

अहिले श्रीलंका आर्थिक संकटमा फसे पनि नेपालको अवस्था त्यस्तो नहुने उनको भनाइ थियो । मन्त्री कार्कीले भने, ‘नेपाल श्रीलंकाकै बाटोमा गइसक्यो भनेर जनतमाझ अफवाह फैलाइँदै छ, तर त्यसो हुँदैन । यो अफवाहलाई तपाईं पत्रकारहरुले तोड्न सक्नुपर्छ।’

अबको १० वर्षपछि नेपाल एशियाकै बलियो अर्थतन्त्र भएको मुलुकका रुपमा स्तरोन्नति हुने समेत मन्त्री कार्कीले दाबी गरे । साथै उनले सरकार सधैँ प्रेस स्वतन्त्रताका लागि प्रतिबद्ध रहेको समेत बताए ।

मौद्रिक नीति राष्ट्र बैंक सञ्चालक समितिबाट पारित, ४ बजेपछि लाइभ गरिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । आज बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति पारित गरिसकेको छ ।​

अब अपराह्न ४ बजेपछि लाइभमार्फत मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ । यस वर्षको मौद्रिक नीति केही कठोर हुने गभर्नर महाप्रसाद अधिकारीले नै बताउँदै आएका थिए ।

यसपालि राष्ट्र बैंकले बढ्दो महँगी नियन्त्रणका लागि र आयातमा कडाइ गर्नका लागि भए पनि बैंकको ब्याजदर बढाउनुपर्नेमा जोड दिने देखिएको छ । साथै कारोना महामारीको समयमा दिइएका सुविधाहरु समेत कटौती र परिमार्जन गरिएको स्रोतको भनाइ छ ।

नाागरिकता विधेयकमाथि संसदमा दफावार छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नागरिकता सम्बन्धी संशोधन विधेयकमाथि दफावार छलफल सुरु भएको छ ।

संसद सचिवालयले आजको लागि सम्भावित कार्यसूचीमा राखिएका अन्य विषय हटाएर नागरिकता विधेयकलाई मात्रै कायम राखेको थियो । प्रतिनिधिसभाको आजको बैठक सुरु भएर उक्त विधेयकमाथि दफावार छलफल सुरु भएको हो ।

‘फास्ट ट्रयाक’मार्फत नागरिकता विधेयक पारित गराउने संसदको उद्देश्य रहेको देखिन्छ । यसैका लागि कार्यसूचीबाट अन्य विषय हटाएर अहिले नागरिकता सम्बन्धी संशोधन विधेयकमाथि दफावार छलफल जारी राखिएकाे छ ।

चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान विभागले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको जनाएको छ ।

देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य भू–भागका एक वा दुई स्थानहरूमा मेघगर्जन -चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

‘देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको,’ महाशाखाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वर्षाका कारण नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन-यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।

वैवाहिक अंगीकृत नागरिकता : माओवादी केन्द्रले छोड्यो अडान

काठमाडौं । नेकपा माओवादी केन्द्रले वैवाहिक अंगीकृत नागरिकताको विषयमा राख्दै आएको अडान छाडेको छ ।

प्रचलित नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी महिलाले विवाह दर्ता गरेर नागरिकता प्राप्तीको प्रक्रिया अगाडि बढाउन सक्छन् । तर, यसलाई खुकुलो प्रावधान भन्दै माओवादी केन्द्रले निश्चित अवधि नेपालमा निरन्तर बसोबास गरेपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता जारी गर्ने व्यवस्थाका लागि लामो समयदेखि अडान लिइरहेको थियो ।

माओवादी केन्द्रको यही अडान र प्रचलित व्यवस्थाकै निरन्तरताको पक्षमा रहेको सत्तारुढ नेपाली कांग्रेसका कारण नागरिकता विधेयक अगाडि बढ्न सकिरहेको थिएन । तर माओवादी केन्द्र आफ्नो पूर्व अडानबाट पछि हटेपछि आज प्रतिनिधि सभा बैठकबाट फास्ट ट्र्याक विधिबाट नागरिकता विधेयक पारित गर्ने तयारी छ ।

खासगरी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले वैवाहिक अंगीकृत नागरिकताका सन्दर्भमा नेपालमा बिबाह गरेर आएर निरन्तर ७ वर्षसम्म बसोबास गरेपछि मात्रै जारी गर्ने, ७ वर्षसम्मका लागि राजनीतिक बाहेकका अधिकार प्रयोग गर्न पाउने गरी आवासीय अनुमति पत्र दिने प्रावधानका पक्षमा औपचारिक निर्णय नै गरेको थियो । यो निर्णयमा तत्कालीन नेकपा अडिग रहँदा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयक पारित गरे पनि हाउसमा पुगेर अड्किएको थियो ।

७ वर्षे प्रावधानको पक्षमा निर्णय गर्ने नेकपा अहिले तीन वटा दलका रुपमा रहेको छ । नेकपा एकता भंग भएपछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिए भने एमाले फुटेर नेकपा एकीकृत समाजवादी दल बन्यो । यी तीन वटा दलमा विभाजित भएपछि तत्कालिन नेकपाको अडानमा अहिले पनि अडिग रहनेमा नेकपा एमाले मात्रै छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी वैवाहिक अंगीकृत नागरिकतामा प्रस्ताव गरेको ७ वर्षे प्रावधानमा मौन बसेका छन् ।

तत्कालीन नेकपा नेतृत्वको सरकार ढलेर नयाँ सरकार बनेपछि पनि निरन्तर नागरिकता विधेयक अगाडि बढाउने प्रयास भयो । तर, माओवादी केन्द्रले वैवाहिक अंगीकृत नागरिकताका सन्दर्भमा पूर्ववत अडान कायमै राख्यो । माओवादी केन्द्रको निरन्तरको अडानका कारण वर्तमान सरकारले हाउसमा रहेको नागरिकता विधेयक अगाडि बढाउन सकेन ।

गृहमन्त्री बालकृष्ण खाँणले वैवाहिक अंगीकृत नागरिकतामा माओवादी केन्द्रको अडानका कारण सरकारलाई अप्ठ्यारो परेको बताउँदै आएका थिए । कुनै हालतमा राज्य व्यवस्था समितिको प्रतिवेदन अनुसार नागरिकता विधेयक अगाडि बढाउनुपर्ने माओवादी केन्द्रको अडान र कुनै हालतमा वैवाहिक अंगीकृत नागरिकताबारे प्रचलित व्यवस्था चलाउन नहुने नेपाली कांग्रेसको अडानका कारण वर्तमान सरकार गठन भएको एक वर्षसम्म नागरिकता विधेयकमा कुनै प्रगति हुन सकेन । अन्तत सरकारले राज्य व्यवस्था समितिले पारित गरेको नागरिकता विधेयक सहितको प्रतिवेदन ९नागरिकता ऐन संशोधन विधेयक० फिर्ता लियो र नयाँ नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता गरेर अगाडि बढाएको छ ।

नयाँ नागरिकता विधेयक आएपछि भने माओवादी केन्द्रले पूर्ववत अडान छोडेको छ । नागरिकता विधेयकमाथि संशोधन हाल्दै नेकपा एमालेले वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि मात्रै जारी हुन सक्ने व्यवस्था माग गरेको छ । तर, विगतमा ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता जारी गर्नुपर्छ भन्दै आएको माओवादी केन्द्र यसपटक वैवाहिक अंगीकृत नागरिकताको प्रावधानका विषयमा कुनै संशोधन नहालेर मौन बसेको छ ।

भारतीय कन्टेनरको ठक्करबाट दुई जनाको मृत्यु

विराटनगर । भारतीय कन्टेनरको ठक्करबाट मोरङमा दुई जनाको मृत्यु भएको छ । बूढीगङ्गा गाउँपालिका–२ गङ्गा चोकमा भारतीय नम्बर प्लेटको कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा आज बिहान दुई जनाको मृत्यु भएको हो ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको एचआर ३८ एक्स २२१० नम्बरको खाली कन्टेनरले सोही दिशातर्फ जाँदै गरेको को ३० प ९१०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–७ का अन्दाजी २७ वर्षीय हर्क परियार र पछाडि सवार २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको हो ।

प्रहरीले कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको छ । साँघुरो सडकमा ओभरटेक गर्न खोज्दा कन्टेनरले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीयले केही समय सवारीसाधन सञ्चालनमा रोक लगाएका थिए ।

 

नागरिकता विधेयक : फास्ट ट्रयाकमा पारित गरिँदै

काठमाडौं । सरकारले नागरिकता विधेयक फास्ट ट्र्याकमा पारित गर्ने तयारी गरेको छ ।

शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयकमाथि परेका संशोधनमाथि हाउसमै छलफल गर्ने र पारित गर्ने कार्यसूची छ । सामान्यतया विधेयकहरुमाथि दफावार छलफल गर्न विषयगत समितिमा पठाउने गरिन्छ । तर, हाउसले दफावार छलफल हाउसमै गर्ने वा विषयगत समितिमा पठाउने भनी निर्णय गर्ने अधिकार राख्दछ । संसद सचिवालयका अधिकारीहरुका अनुसार प्राप्त संशोधनलाई ख्याल गरेर हाउसमै छलफल गर्ने कि विषयगत समितिमा पठाउने भन्ने निर्धारण गर्ने गरिन्छ ।

तर, विगतमा नागरिकता विधेयक विषयगत समितिमा पठाउँदा गिजोलिएको, सरकारले चाहेको समयमा पारित गराउन नसकेको जस्ता दृष्टान्त देखाउँदै सरकारले हाउसमै दफावार छलफल गरेर सिधै पारित गराउन चाहेको छ । सरकारको यही चाहना अनुसार सभामुखले पनि आजको संसद बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयकलाई राखेका छन् । थप निर्णय प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समतिले गर्नेछ ।

सम्भावित कार्यसूची अनुसार शुक्रबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

नागरिकता विधेयकलाई शुक्रबार नै प्रतिनिधिसभाबाट पारित गरेर राष्ट्रिय सभामा पठाउने तयारी छ । राष्ट्रिय सभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ र राष्ट्रिय सभाले संशोधन गरेको खण्डमा त्यसलाई प्रतिनिधिसभाले स्वीकार गरेको खण्डमा सभामुख हुँदै राष्ट्रिपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नागरिकता ऐन संशोधन विधेयक ऐनका रुपमा कार्यान्वयनमा आउनेछ ।

इन्डोनेसियाबाट ल्याइएको आठ ट्रक सुपारी बरामद

मोरङ । इन्डोनेसियाबाट भारत हुँदै झापाको काँकडभिट्टा नाकाबाट तस्करी गरी ल्याइएको आठ ट्रक सुपारी प्रहरीले बरामद गरेको छ । उक्त सुपारी गए राति विराटनगरको रानी नाकाबाट बरामद गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरीले सुपारीसहित नियन्त्रणमा लिएका ट्रकहरूमा युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरका रहेका छन् ।

नेपाली सुपारी भनेर इन्डोनेसियाको सुपारी तस्करी गरी जोगमनी नाकाबाट भारत लैजान लागिएको थाहा पाएपछि प्रहरीले ती ट्रकलाई बरामद गरेको थियो । सुपारीको स्याम्पल प्रयोगशालामा पठाउन लागिएको प्रहरीले जनाएको छ । पहिलादेखि नै सक्रिय तस्कर समूहले भारत लैजान लागेको प्रहरी स्रोतले बताएको छ ।

‘हामी अनुसन्धानकै क्रममा छौँ, पहिलो लेयर भेटेका हौँ, माल ल्याउन वास्तविक मान्छे को हो भन्ने पत्ता लाग्न सकेको छैन,’ प्रहरी स्रोतले भन्यो । ट्रको चालकहरु पनि भारतीय रहेको जनाइएको छ । उक्त ट्रकहरू इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । आवश्यक प्रक्रिया पुरा गरी भन्सारलाई बुझाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

नेकपा (समाजवादी केन्द्र) नाम राख्न प्रस्ताव

काठमाडौं । नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ। नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी ९समाजवादी केन्द्र० राख्न प्रस्तावसमेत गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी जसपा संघीय परिषद् अध्यक्षबाट कारबाही गरिएका डा। बाबुराम भट्टराईबीच बिहीबार पार्टी एकीकरणबारे छलफल भएको छ।

प्रचण्ड सचिवालयका अनुसार ललितपुर हात्तीवन हाउजिङमा छलफल भएको हो। आफ्ना भान्जा गोकुल भण्डारीको अपार्टमेन्टमा भएको छलफलमा प्रचण्डले नयाँ पार्टीको नाम प्रस्ताव गर्दै थप निर्णयका लागि छिट्टै बस्ने सहमति गरेका छन् ।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसहितका नेताले पार्टी एकीकरणबारे छलफल गरेका छन् ।

भट्टराईसँग छलफल गर्नुअघि प्रचण्डले माओवादी नेता श्रेष्ठसँग बिहीबार नै लामो छलफल गरेका छन्।

यो खबर आजको राजधानी दैनिकमा छ ।

विदेशबाट आउने मिस्डकलले नेपालीलाई तनाव

काठमाडौं । कहिले ह्वाट्सएपमा लाखाँको चिट्ठा परेको म्यासेज त कहिले व्यक्तिगत नम्बरहरूबाट आउने ओटीपी।

अनि कहिले म्यासेन्जरमा आउने ‘स्पाम लिङ्कु। नेपाली दूरसञ्चार प्रयोगकर्ता प्रायः केही न केही जोखिमको सामना गरिरहेका हुन्छन्।

यस्तैमा पछिल्लो समय प्रयोगकर्तालाई तनाव दिने अर्को प्रवृत्ति देखिन थालेको छ, मिस्ड कल ।

त्यो पनि नेपालभित्रबाट हैन जर्जियाबाट। पश्चिम एसिया र पूर्वी युरोपबीचमा पर्ने यस देशबाट पछिल्लो समय नेपालीलाई तारन्तार फोन आउने गरेको छ। अपरिचित नम्बरबाट आउने त्यस्ता कलले प्रयोगकर्तालाई अलमल बनाइदिएको छ।

पछिल्लो समय धेरै मोबाइल प्रयोगकर्ताले यस्तो कलको सामना गर्नु परेको छ। जहाँ फोन त आउँछ, तर उठाउन नपाउँदै काटिन्छ। यस्ता कल प्रायः ं९५५ बाट सुरु भएका नम्बर छन् ।

यो जर्जियाको ‘कन्ट्री कोडु हो । नेपालका दूरसञ्चार प्रयोगकर्तालाई झुक्याएर उनीहरूलाई कल फिर्ता गर्न बाध्य पार्ने उद्देश्यले यस्ता कल गरिने नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय रोयले जानकारी दिए।

यस किसिमको काममा सम्बन्धित देशका सेवा प्रदायकभन्दा पनि तेस्रो पक्ष संलग्न हुने उनले बताए। नेपालबाट त्यस्ता देशमा कल गर्दा महँगो शुल्क लाग्ने भएकाले त्यसको फाइदा उठाउने उद्देश्य त्यस्ता व्यक्ति अथवा समूहको हुने उनले जानकारी दिए ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।