९ श्रावण २०७९, सोमबार ११:३४ – Page 3 – Nagarikabhiyan : National News

मङ्कीपक्स सङ्क्रमण : जनस्वास्थ्य आपतकालका रूपमा घोषणा

काठमाडाैँ । विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपतकालका रूपमा घोषणा गरेको छ । बहुर्राष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठकमा सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले मङ्कीपक्स दु्रत गतिमा बढेकाले जनस्वास्थ्य आपत्कालको रूपमा घोषणा गर्नुभएको हो ।

सङ्क्रमण बढ्न थालेपछि डब्लुएचओले दक्षिण–पूर्वी एसिया क्षेत्रका देशहरूलाई मङ्कीपक्सको निगरानी र जनस्वास्थ्यका उपायलाई सुदृढ बनाउन आह्वान गरेको छ । “मङ्कीपक्स द्रुत गतिमा फैलिरहेको छ र यो पहिले नदेखिएका धेरै देशमा समेत फैलिरहेको छ । जुन ठूलो चिन्ताको विषय हो”, डब्लुएचओको जारी गरेको विज्ञप्तिमा दक्षिण–पूर्वी एसिया क्षेत्रका लागि निर्देशक डा पुनम खेत्रपाल सिंहले भन्नुभएको छ, “यद्यपि, पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषको सम्बन्धमा भने जोखिममा रहेका जनसङ्ख्यामा केन्द्रित प्रयासमार्फत रोगको थप फैलावटलाई कम गर्न सम्भव छ ।”

डब्लुएचओका अनुसार विश्वमा ७५ देशहरूमा १६ हजारमा मङ्कीपक्सका सङक्रमण पुष्टि भएका छन् । दक्षिण–पूर्वी एसिया क्षेत्रमा, भारतमा तीन र थाइल्याण्डमा एक गरी जम्मा चार मङकीपक्सका सङ्क्रमण पुष्टि भएका डब्लुएचओले जनाएको छ ।

भारतमा मध्यपूर्वी देशबाट घर फर्केकामा र थाइल्याण्डमा भने त्यहीँ बसोबास गर्दै आएका एक विदेशी नागरिकमा मङ्कीपक्स सङ्क्रमण पुष्टि डब्लुएचओले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । “विश्वव्यापीरुपमै र यस क्षेत्रमा मङ्कीपक्सको जोखिम मध्यम भए पनि अन्तर्राष्ट्रियस्तरमा यसको थप फैलावटको सम्भावना भने छ । साथै, भाइरसबारे अझै धेरै अनभिज्ञ छन् । मङ्कीपक्स सङ्क्रमण थप फैलनबाट रोक्नका लागि हामी सजग रहनुपर्छ र द्रुत प्रतिकार्यका लागि तयार हुनुपर्छ”, डा खेत्रपाल सिंहले भन्नुभयो ।

प्रकोप सुरु भएदेखि नै डब्लुएचओले जोखिम मूल्याङ्कन र जनस्वास्थ्यका उपायको सुरुआत गर्नका साथै यस क्षेत्रमा परीक्षण क्षमताको विकास गर्न पनि सहजीकरण गर्दै आएको जनाएको छ । मङ्कीपक्सको प्रतिकार्यका लागि प्रभावित समुदायलाई सहभागी बनाउनु र सुरक्षित गर्नु, निगरानी र जनस्वास्थ्यका उपायलाई तीव्र बनाउनु, स्वास्थ्यसंस्थामा उपचार व्यवस्थापन र सङ्क्रमण रोकथाम तथा नियन्त्रणलाई बलियो बनाउनु र खोपको प्रयोग, उपचार तथा अन्य उपायको अनुसन्धानलाई बढाउनु मुख्य उपाय हुन् ।

मङ्कीपक्स भाइरस सङ्क्रमित जनावरसँगको अप्रत्यक्ष वा प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्ने गर्दछ । सङ्क्रमित व्यक्तिको छाला वा बिमिरा र श्वासप्रश्वासका थोपाको प्रत्यक्ष सम्पर्कमा आएमा मानिसदेखि मानिसमा यो रोग सर्न सक्छ । हाल प्रकोप फैलिएका देशमा मङ्कीपक्स सङ्क्रमणमध्ये मुख्यरूपमा यौन सम्पर्कसहित नजिकको शारीरिक सम्पर्कमार्फत सङ्क्रमण भएको देखिएको डब्लुएचओले जनाएको छ । सङ्क्रमित छालाका कण भएका ओछ्यान, विद्युतीय उपकरण, कपडाजस्ता सङ्क्रमित सामग्रीबाट पनि रोग सर्न सक्छ ।

भारतको वथनाहबाट विराटनगरसम्म कार्गो रेल्वे सञ्चालन हुने

विराटनगर । भारतको वथनाहबाट मोरङको विराटनगरसम्म कार्गो रेल्वे अविलम्ब सञ्चालनमा आउने भएको छ ।

निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे सञ्चालनपूर्व तयारीका सम्बन्धमा उद्योग सङ्गठन मोरङमा भएको बैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एसके चौधरीले विराटनगरदेखि कार्गो रेल्वे अविलम्ब सञ्चालनमा ल्याउने जानकारी दिनुभएको हो ।

छलफलमा उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगञ्ज पुलमा आएको अवरोधले गर्दा मालवाहक सवारीका साधन रिरुट गरी ल्याउँदा उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेको अवस्थामा मालवाहक रेल्वे सञ्चालनले राहत दिने वताउनुभयो ।

भारतीय रेल्वे, डिभिजनल रेल्वे मेनेजर एसके चौधरीले १८ दशमलव छ किलोमिटर लम्बाइ भएको वथनाह विराटनगर रेल्वेको काम अन्तिम चरणमा पुगेको बताउँदै नेपाल र भारत सरकारबीच प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा भएको १० देखि १५ दिनमा कार्गो रेल सञ्चालनमा ल्याउन सकिने जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दुई देशीय व्यापार विस्तारका लागि महत्वपूर्ण कार्गो रेल सञ्चालनमा ल्याउन महानगरपालिकाका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले निर्माणको क्रममा देखिएका बाधा समाधानमा मोरङ प्रशासनको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । छलफलमा विराटनगर भन्सारका प्रमुख अधिकृत ताराप्रसाद सापकोटाले मिरगञ्ज पुलका कारण आयात निर्यातमा समस्या आउँदा राजस्व सङ्कलनसमेत प्रभावित भएको जनाउँदै कार्गो रेल सञ्चालनमा ल्याउन भन्सारको सहयोग रहने भन्नुभयो ।

सङ्गठनका पूर्वउपाध्यक्ष एव उद्योगी राकेश सुरानाले नेपालबाट भारतको विभिन्न स्थानमा उपचार गराउन, अध्ययन गर्न र धार्मिक प्रयोजनका लागि यस क्षेत्रबाट जाने यात्रुको सङ्ख्या अत्यधिक रहेकाले थप गन्तव्य पहिचान गरी नयाँ रेल थप्नुपर्नेमा जोड दिए ।

छलफलमा सङ्गठनका उपाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य पारस लुनिया, भारतीय रेल्वे, जोगवनी आइसिपि, नेपाल रेल्वे विभाग, नेपाल आइसिपिका प्रतिनिधिलगायत उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो ।

अछाम पहिरो अपडेट : मृतक तीनै जनाको सनाखत

काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गएको पहिरोमा पुरिएर मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।

आइतबार राति १ बजेतिर घर पहिरोमा पुरिँदा हरिकला विष्ट, विरेन्द्र विष्ट र संविधान विष्टको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए ।

६५ वर्षीया नैना विष्ट घाइते छिन् । उनलाई उद्धार गरेर अस्पताल पुर्याइएको छ । उनको अवस्था सामान्य छ । पहिरोमा पुरिएर केही चौपाया पनि मरेका छन् ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिंदै आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिंदै घाइतेको यथाशीघ्र उपचार र तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

वर्तमान निर्वाचन प्रणालीले गणतन्त्र नै खतरामा छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान निर्वाचन प्रणालीले गणतन्त्र नै खतरामा पर्ने बताएका छन् ।

स्वर्गीय नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘अब यो चुनाव प्रणालीले हाम्रो गणतन्त्र पनि खतरामा पर्छ । यसले देशलाई नराम्रो भुमरीमा लान्छ, भड्खालोमै लान्छ ।’

गाउँपालिकामा १० करोड खर्च गरेर चुनाव जितियो भन्ने कुरा सुनिएको भन्दै प्रचण्डले यही प्रणालीमा संघको चुनाव जित्न अर्बौं रकम चाहिने स्थिति आएको बताए ।

‘गाउँपालिकाको चुनाव जित्न १० करोड खर्च गरेको सुनिन्छ । अब त संघको चुनावका लागि अर्ब चाहिने भयो’ उनले अघि भने, ‘गरीबले चुनाव जित्नु त सपना जस्तो भयो । अब त दलालहरू आउने भए ।’

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र भए पनि यो निर्वाचन प्रणालीका कारण जनताले अनुभूति गर्न नपाएको बताए । गणतन्त्र पनि जनताको नभई बुज्रुवाको हुने हो कि भन्नेमा शंका रहेको उनको भनाइ छ ।

माओवादीले परिवर्तन गरेको बताउँदै प्रचण्डले परिवर्तन गर्ने शक्ति बलियो नहुँदा उत्पीडित वर्गले न्याय पाउन मुस्किल भएको र देशमा समस्या सिर्जना भएको बताए ।

ललितपुरमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । ललितपुरको बालकुमारी खरीबोटमा आज बिहान जिपको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक चितवन घर भई ललितपुरको झम्सिखेल बस्ने २३ वर्षीया रेखा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बी एण्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटरको पछाडि सवार ललितपुरको धोबिघाट बस्ने २३ वर्षीया शकुन्तला घर्ती घाइते भएकी छन् । उनको बी एण्ड बी अस्पतालमा उपचार जारी छ ।

ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदै गरेको बा ४५ प १३४५ नम्बरको स्कुटरलाई आज बिहान सवा ३ बजे नम्बर नखुलेको जिपले ठक्कर दिएको थियो । दुर्घटनापछि जिप सहित फरार भएका चालकको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

 

 

नेपालमा एकैदिन ३४७ जनामा कोरोना पुष्टि, थप दुईको मृत्यु

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३हजार ८८८ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ३६० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ३ जना र १ हजार ५२८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २५ हजार ११४ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ३१ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ३ हजार १७७ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण थप दुईको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९५६ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ९५ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६८ हजार ४८९ पुगेको छ ।

अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको अध्यक्ष लिङ्गदेनको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन् । आइतबार नेपाल प्राज्ञिक परिषद् केन्द्रीय कार्य समितिले नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको आवश्यक्ता विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष लिङदेनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै देश पूर्णरुपले अभिभावकविहीन भएको बताए । उनले अहिलेको सरकारका लागि भ्रष्टाचार र बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गर्ने लगायतका विषयहरु सामान्य विषय बनेको बताए । अध्यक्ष लिङदेनले नेपाली जनताको चाहना विपरीत एमसीसी, एसपीपी सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम भइरहेको बताए ।

त्यस्तै उनले कुनैपनि बेला देशले आफ्नो अस्तित्व गुमाउनसक्ने अवस्था देखिन थालेको भन्दै चिन्ता व्यक्त गरे । अध्यक्ष लिङदेनले देशलाई दुर्घटनाबाट बचाउन सचेत नेपालीहरु एकजुट हुनुपर्ने बेला भएको स्पष्ट पारे । उनले अहिले सत्तामा रहेका दल र नेतृत्वहरुबाट देश विकास र सुधार हुन नसक्ने भन्दै राजनीतिमा नै परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे ।

अध्यक्ष लिङदेनले देशमा रहेका विद्यमान समस्याको समाधान पूर्ण समानुपातिक सांसद, अभिभावकीय संस्थाको रुपमा राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेको बताए । उनले आफ्नो पार्टी आउने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा यो मुद्दालाई मुख्य विषय बनाएर जनताको बीचमा जाने उद्घोष गरे । उनले अहिलेको सरकारको बाटोलाई पतनको बाटोको रुपमा चित्रण गरे ।

उनले भने, ‘आज देशको परिस्थिति हाम्रो सामान्य आँखाले देखेजस्तो सामान्य छैन । देश एकप्रकारले पूर्णरुपले अभिभावक बिहीन बनेको छ । अहिलेका राजनीति दल जनताको जीउधनको रक्षा लिएको सरकार सत्तामा टिक्नको लागि जेपनि गरिरहेको छ । भ्रष्टाचार त समान्य विषय भएको छ । बजेट बनाउँदा अनाधिकृत व्यक्ति प्रवेश गराउने व्यापारिक कोही एक घरानालाई प्रवेश गराएर करका दर हेरफेर गर्ने कुरा त सामान्य भएको छ ।’

अध्यक्ष लिङ्देनले फेरि भने, ‘नेपाली जनताको चाहना विपरित एमसीसी, एसपीपी सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम भइरहेको छ । कुनैपनि बेला देशले आफ्नो अस्तित्व गुमाउनसक्ने अवस्था देखिन थालेका छन् । त्यसकारण देशलाई माया गर्ने र दुर्घटनाबाट जोगाउनेहरु, हाम्रा भाइछोराले देशमै गरेर खाने गरेर सबै एक ठाउँमा सबै एक ठाउँ हुनुपर्ने समय आएको छ । यो पतनको बाटो हो ।’

उनले थपे, ‘यो बाटोका नायकहरुबाट कुनै सुधारको आशा छैन । राजनीतिक परिवर्तनमा समेत परिवर्तन गरेर जान जरुरी छ । भ्रष्ट निर्वाचन प्रणालीको बदला पूर्ण समानुपातिक सांसद, अभिभावकीय संस्थाको रुपमा राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेपछि मात्रै देशले स्थिरता प्राप्त गर्नसक्छ । यो बाटो नै यो देशको समस्याको समाधानको बाटो हो । यसलाई बलियो ढंगले जनताको बीचमा लैजानुपर्छ । आउने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा यो मुद्दालाई मुख्य विषय बनाएर जनताको बीचमा जानेछौँ ।’

यसका साथै अध्यक्ष लिङदेनले राप्रपाले उठाएका मुद्दाहरु कहिल्यै पूरा हुँदैनन् भन्ने गरेको भएपनि एकदिन अहिलेका प्रमुख दलहरु राप्रपाले उठाएको मुद्दामा सहमत हुने दाबी गरे । उनले आफूले देश र जनताको विकासका मुद्दा उठाएकोले सबै पार्टी सहमत हुने दिन नजिक रहेको बताए ।

अध्यक्ष लिङदेनले राप्रपाले अघि सारेका मुद्दा र मार्गचित्र देश विकास र देशका हालका समस्या समाधानका लागि अपरिहार्य रहेको दाबी गरे । उनले देशको समस्या समाधान गर्न पार्टीले आगामी निर्वाचनमा निश्चित संख्याको शक्ति आर्जन गर्न सक्नुपर्ने बताउ । अध्यक्ष लिङदेनले आफ्नो पार्टीले उठाएका मुद्दा असफल भए देशले लामो समयसम्म अहिलेको अराजकता स्वीकार्नुपर्ने र ठूला राष्ट्रशक्तिको द्वन्द्वको शिकार बन्नुपर्ने बताए ।

संसदीय समितिले माग्यो सिंहदरबार गेटकै सीसीटीभी फुटेज

काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ गते राति सिंहदरबार प्रवेशद्वारको भिडियो नै हेर्ने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयसँग माग्दा जेठ १४ गते रातिको सीसीटीभी फुटेज फेला नपरेपछि समितिले सिंहदरबार प्रवेशद्वारकै भिडियो हेर्ने निर्णय गरेको एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।

समिति सचिवालयका अनुसार गृह मन्त्रालयसँग सिंहदरबारको दक्षिण र पूर्वी प्रवेशद्वारका सिसिटीभी फुटेज मागिएको छ । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रमम अनधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गराएको आरोप लागेपछि संसदीय छानबिन समिति गठन भएको थियो ।

छानबिन समिति गठन भएपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

 

 

एसपीपीमा सहभागी नहुने भनेर तत्काल अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्रीलाई अध्यक्ष नेपालको दबाब

काठमाडौं । सत्तासाझेदार नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरशीप प्रोग्राम ९एसपीपी०मा सहभागी नहुने भनेर तत्काल अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएका छन् । क्याबिनेटले एसपीपीमा सहभागी नहुने भनेर गरिएको निर्णय कार्यान्वयनमा ढिलासुस्ती भएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसलाई तत्काल कार्यान्वयन गर्न अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री देउवालाई पुनः दबाब दिएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित ‘विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थिति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले केही दिन अघि मात्रै आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई भेटेरै एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार गर्न आग्रह गरिएको पनि गरे । अध्यक्ष नेपालले सो सम्बन्धी पत्राचार छिटो अमेरिकालाई पठाउन सरकारलाई दवाव दिन पनि आम नेपाली जनतालाई आह्वान गरे ।

मुलुकको राष्ट्रियताको रक्षाका लागि नेपाली जनताको जगकता सबैभन्दा बढी जरुरी हुने अध्यक्ष नेपालको भनाइ थियो । उनले भने, ‘हामी आफ्नो देशको हितको निम्ति सजग हुनुपर्ने आवश्यक्ता छ । यो एमसीसीको सन्दर्भमा आयो–तर बिडम्बना के भन्दाखेरी कम्युनिष्ट पार्टीकै नेता प्रधानमन्त्री भएको बेलामा एमसीसीलाई नेपालमा भित्र्याइयो । भित्रयाउने मात्रै होइन, आईपीएसमा जोडिने स्थितिमा पनि पुग्यो । पार्टी भित्र त्यो बेलामा जोडदार आवाज उठ्यो ।’

उनले फेरि भने, ‘आवाज उठिसकेपछि देशको स्थिति एक ढंगले बदलियो । पाँच दलीय गठबन्धनको हातमा सत्ता पुग्यो । सत्तामा पुगिसकेपछि तपाईलाई थाहा छ–फेरी एमसीसी पास गर्नुपर्ने विषय उठ्यो । हामी एमसीसी यथास्थितिमा पास गर्न हुन्न भन्ने, अनि कम्युनिष्ट पार्टी भनिएको एमाले, नेपाली काँग्रेस जो पश्चिमा देशको प्रभावमा रहेको छ । यी दुईटै मिलेर पास गर्ने अवस्थामा झण्डै पुगे । तर सर्त कस्तो थियो भने सभामुखलाई हटाउनुपर्ने, १४ जना एकीकृत समाजवादीका मान्छेहरुलाई सांसदबाट खारेज गर्नुपर्ने अनि त्यसपछि उनीहरुको दर्ता भएको पार्टी खारेज गर्नुपर्ने । अनि, प्रधानन्यायाधीशमाथिको महाअभियोग हटाउनुपर्ने । यी सबै सर्तहरुलाई शेरबहादुरले अस्वीकार गरेको हुनाले त्यस्तो जटिल अवस्थामा पुगेको थियो त्यो ।’

उनले थपे, ‘त्यो जटिल मोडमा हामीले इन्टरनेशनल प्राक्टिसलाई ध्यानमा राखेर अनि त्यसपछि ब्याख्यात्मक टिप्पणी, जहाँ सबै कमिटमेन्टहरु छन् । यो कुनै सैन्य गठबन्धन छ भने हामी मान्दैनौं । यो आर्थिक सहयोगको सम्झौताबाहेक अरु किसिमको यो सम्झौता हुन्छ भने हामी त्यसलाई स्विकार गर्दैनौं । त्यस्तो भयो भने हामी ३० दिनको सूचना दिएर हामी त्यहाँबाट बाहिरिन्छौं । यी सबै कुराहरुले एउटा ढाडस दियो । नेपाली जनताको भावना प्रतिबिम्वित गरायो । अब त्यसलाई व्यवहारमा लागू गर्नुपर्ने आवश्यक्ता छ । त्यसका निम्ति जनतामा चेतना, सजकता बनाउने काममा जुटनु पर्छ । झण्डै एसपीपीको सम्बन्धमा पनि त्यही भइसकेको थियो । एसपीपी सम्झौंता भएको कि भएन, थाहा नै भएन । पछि त भइसकेको रहेछ । नेपालले चिठी पठाएको रहेछ । त्यो पनि आर्मीले नै पठाएको रहेछ । आर्मीले पठाउनै नहुने । त्यो पनि सरकारको स्विकृति लिएर पठाएको रहेछ । त्यो पनि कम्युनिष्ट पार्टीको प्रधानमन्त्री भएको बेलामा । बिडम्वना होइन ।’

त्यस्तो अवस्थामा आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएको उल्लेख गर्दै उनले भने, ‘दवाव दिइसकेपछि उहाँले त्यसलाई स्विकार नगर्ने भनेर कुरा त गरिएको छ । अहिले फेरी अलमलका कुरा आईरहेका छन । अस्ती भर्खर मात्रै म र प्रचण्ड हामी दुईटैले भन्यौं प्रधानमन्त्री शेरबहादुर देउवालाई । तुरुन्तै त्यो चिठी पढाउनुहोस् । ढिलोढाला नहोस् । यस सम्बन्धमा जनताको तहबाट पनि आवाज उठनुपर्दछ । जनता सजग हुनुपर्दछ । किनभने नेपालको राष्ट्रियताको रक्षा गर्ने भनेको नेपाली जनताले हो । जनतामा त्यो चेतना र जागरण आयो भने, संगठित आवाज बुलन्द भईसकेपछि र त्यसको साथमा पार्टीहरु पनि रहिसकेपछि पार्टी र जनताको यो दुईटैको एकताले गर्दाखेरी देशलाई जोगाउन सकिन्छ । देशको रक्षा गर्न सकिन्छ । स्वाभिमानको रक्षा गर्न सकिन्छ ।’

यसका साथै अध्यक्ष नेपालले एमसीसीमा व्याख्यात्मक टिप्पणी पनि रहेकाले सो सम्झौताले मुलुकको अहित नगर्ने तर्क समेत गरे । उनले एमसीसी र एसपीपी अघि बढाउने काम केपी ओली नेतृत्वको सरकारले गरेको भन्दै आपत्ति समेत जनाए । अध्यक्ष नेपालले मुलुकको परराष्ट्र नीतिमा राष्ट्रिय सहमतिको आवश्यक्ता रहेको पनि औंल्याए । नेपालको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न खोज्छ भने त्यो नेपाली जनतालाई सैह्य नहुने चेतावनी दिँदै उनले मुलुकको परराष्ट्र नीतिको मामिलामा दलहरुबीच राष्ट्रिय सहमति हुनुपर्ने आवश्यक्ता रहेको बताए ।

अध्यक्ष नेपालले आफू परराष्ट्रमन्त्री र प्रधानमन्त्री भएको बेलामा परराष्ट्र नीति र नेपालको राष्ट्रिय सुरक्षा नीतिको दस्तावेज तयार पारेपनि त्यसमा राष्ट्रिय सहमती जुटाउने काम हुन नसकेको बताए । उनले भने, ‘नेपालको आन्तरिक मामिलामा कसैले पनि हस्तक्षेप गर्छन भने त्यो नेपाली जनताले सहन सक्दैन । नेपाललाई अनुचित रुपमा कुनै असमान किसिमको सम्झौंतामा कसैले फसाउन खोज्छ भने, अनुचित सम्झौंतामा कसैले डोहो¥याउन खोज्छ भने त्यो नेपाली जनतालाई सैह्य छैन । हो यी सबै कुराहरुको सन्दर्भमा जतिखेर म परराष्ट्रमन्त्री थिए वा प्रधानमन्त्री थिए ।’

उनले फेरि भने, ‘नेपालको असंलग्न परराष्ट्र नीति सम्बन्धी, नेपालको विदेश नीति सम्बन्धि एउटा दस्तावेज अगाडि सार्नका लागि मैले पहल गरेको थिए । अनि म प्रधानमन्त्री भएको बेलामा परराष्ट्र नीति मात्रै होइन, सुरक्षा नीति पनि राष्ट्रिय सुरक्षा नीति पनि बनाउनु पर्दो रहेछ भनेर मैले तत्कालीन रक्षामन्त्रीको नेतृत्वमा अर्को टिम बनाएको थिए र उसले सुरक्षा नीति सम्बन्धि दस्तावेज पनि तयार गरेको थियो । तर ती दस्तावेजहरुमा गहन अध्ययन गरेर पार्टीहरु र नेताहरुमा एक राय बन्न सकिरहेको छैन । हाम्रो परराष्ट्र नीतिको मामिला होस् वा सुरक्षा नीतिको मामिला होस् । यसमा राष्ट्रिय सहमतीको आवश्यक्ता छ ।’

स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग डीला संग्रौलाको माग

काठमाडौं । नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छन् । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले स्वास्थ्य बीमा कार्यक्रमबापत सरकारले दिनुपर्ने भुक्तानी प्राप्त नगरेका कारण सरकारी अस्पतालहरुले उक्त कार्यक्रम स्थगित गरिरहेका बताएकी हुन् ।

उनले बीमा कार्यक्रममा देखिएको यस प्रकारको समस्याको तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले सरकारको अलमलका कारण लोकप्रिय स्वास्थ्य बीमा कार्यक्रमको भविष्यमाथि प्रश्न उठेको बताइन् ।

उनले भनिन्, ‘स्वास्थ्य बीमा कार्यक्रमबापत सरकारले दिनुपर्ने भुक्तानी प्राप्त नभएको भन्दै सरकारी अस्पतालहरुले नै उक्त कार्यक्रम स्थगित गरेको सार्वजनिक सूचनाहरु प्रकाशित भइरहेका छन् । यो अत्यन्त गम्भिर अवस्था हो । यो समस्याको तत्काल समाधान गर्नको लागि नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले फेरि भनिन्, ‘सन् २०३० सम्म सर्वव्यापी स्वास्थ्यको पहुँच पु¥याउने भनि नेपाल सरकारले गरेको प्रतिबद्धता र संयुक्त राष्ट्रसंघले अगाडी सारेको दीगो विकासको लक्ष्य प्राप्त गर्न पनि स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडि बढाउनु आवश्यक छ । तर, सरकारले नै अलमल गर्दा अहिले यो लोकप्रिय कार्यक्रमको भविष्यमाथि प्रश्न उठ्न थालेका छन् ।’

सांसद पन्तले कोभिड–१९ को सम्भावित अर्को लहरबाट देशको अर्थतन्त्र र जनसमुदायलाई बचाउन सरकारले बेलैमा ध्यान पु¥याउनुपर्ने बताइन् । जसको लागि प्रदेश र स्थानीय तहका सरकारका साथसाथै विभिन्न संघसंस्था र आम नागरिकलाई समेत परिचालन गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट सक्रिय संक्रमितहरुको संख्या देशभरी झन्डै ३ हजार पुग्न लागेको छ । कोरोनाले गरेको धनजनको क्षति बारे हामी सबै अवगत नै छौँ । कोभिडको अर्को चरणबाट हाम्रो देशको अर्थतन्त्र र जनसमुदायलाई कसरी जोगाउने भन्ने बारे सरकारको पर्याप्त ध्यान जानुपर्दछ ।’

उनले थप भनिन्, ‘केन्द्रबाट मात्रै होइन, प्रदेश, स्थानीय सरकार, गैरसरकारी संघ, संस्था, आम जनसमुदायलाई परिचालित गरेर अब आउने कोरोनाको संक्रमण र नयाँ आउने भेरियन्टलाई रोक्न र जुध्न अभियान नै सञ्चालन गर्न म आग्रह गर्दछु ।’

उनले कोभिडविरुद्धको खोप अभियानलाई तीब्रता दिनुपर्नेमा जोड दिइन् । साथै विश्वमा मंकिपक्सको संक्रमण पनि बढिरहेकाले नेपाल यसतर्फपनि सचेत हुनुपर्ने उनले बताइन् । सांसद पन्तले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्धि र आगामी चुनौतीहरु समेटेर श्वेतपत्र जारी गर्न सरकार समक्ष आग्रह गरेकी छन् ।

नक्कली नेपाली नोटसहित सर्लाहीबाट भारतीय नागरिक पक्राउ

जनकपुरधाम । सर्लाही प्रहरीले नक्कली नेपाली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला सोनबर्षा पर्छुहिया ९ घर भएका ४० वर्षीय लालमोहन पासवान रहेको प्रहरीले जनाएको छ ।

हरिवन नगरपालिका ११ स्थित कार्की पुस्तक पसल अगाडिबाट पासवानलाई ५० हजार नक्कली नेपाली नोटसहित पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।

नक्कली नोट चलनमा ल्याइरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको यादवले बताए ।

हजारको नक्कली ५० वटा नोटसहित पक्राउ परेका उनिबिरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

विशेषज्ञ परीक्षामा १४९ चिकित्सक फेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिल ९एनएमसी० ले लिएको चिकित्सक विशेषज्ञहरुको नाम दर्ता परीक्षा ९स्पेशल एक्जाम०मा १४९ जना चिकित्सक फेल भएका छन् ।

काउन्सिलले शनिबार लिएको २३ औं विशेष परीक्षामा ४७४ जना परीक्षार्थीहरु सहभागी भएका थिए । जसमध्ये ३२५ ९६८।६० प्रतिशत पास र १४९ ९३१।४ प्रतिशत० फेल भएका छन् ।
विभिन्न ४५ वटा विषयमा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थीहरु सहभागी रहेको रजिष्ट्रार डा। कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान सूचना तथा सञ्चार प्रविधि केन्द्रमा भएको परीक्षा बिहान १० देखि १२ र दिउँसो २ देखि ४ बजेसम्म गरी दुई चरणमा सञ्चालन गरिएको थियो ।
यसभन्दा अगाडि २१ माघ र २२ गते लिएको विशषेज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७७ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए ।

हाल मुलुकमा करिब ३० हजार १३३ चिकित्सक काउन्सिलमा दर्ता भएका छन् । करिब ८ हजार ८६२ बढी विशेषज्ञ चिकित्सकको रुपमा दर्ता छन् ।

 

भक्तपुरमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा तीनको मृत्यु, १२ जना घाइते

काठमाडौं । भक्तपुरमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा तीनको मृत्यु भएको छ । आइतबार भक्तपुरको भक्तपुर नगरपालिका–१ सल्लाघारीमा काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्याप्दा तीनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा एक जना नितेज खर्बुजा रहेका छन्, भने बाँकी दुई जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको भक्तपुरस्थित इवामुरा अस्पताल र भक्तपर अन्तर्राष्ट्रिय अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको र सल्लाको ठूलो रुख ढलेकाले हटाउन केही समय लाग्ने बताइएको छ ।

झापाको चिया बगानमा मृत अवस्थामा भेटिए तीन किशोरी

विर्तामोड । झापाको कचनकवल गाउँपालिका–५, बेल्ले गाउँमा एउटै रुखमा तीन जना किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन् ।

गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीका अनुसार आइतबार बिहान ७ बजे स्थानीय चिया बगानमा रहेको एक रूखमा झुण्डिएको अवस्थामा १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको शव भेटिएको हो ।

चिया बगानमा मजदुरी गर्दै आएका उनीहरु शनिबार ११ बजेदेखि बेपत्ता थिए । ‘शनिबार बगान विदा थियो, तर उनीहरु त्यहाँ पुगेका रहेछन्’ राजवंशीले अनलाइनखबरसँग भने, ‘रातिसम्म खबर नआएपछि प्रहरीलाई खबर गरिएको थियो, बिहान बगानमा काम गर्नेले शव देखेछन् ।’

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार दुई जना गाईवस्तु बाँध्न प्रयोग हुने डोरी र एकजना सलमा झुण्डिएको देखिएको छ । घटनास्थल नेपाल–भारत सीमा क्षेत्रमा पर्छ ।

प्रहरीले तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरेको छ । प्रारम्भिक छानबिनका क्रममा उनीहरुले आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि कारण खुलेको छैन ।

 

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य प्रतिकिलो ५ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँ छ । गत शुक्रबार छापावाल सुनको मूल्य ९४ हजार रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ छ । गत शुक्रबार चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

अभियान लघुवित्तले साउन १८ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन ९आईपीओ० बिक्री खुला गर्ने भएको छ ।

लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको छ ।

कुल सार्वजनिक निष्कासन गर्न लागेको सेयरमध्ये १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ ।

बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयरका लागि सर्बसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सि(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा छिटोमा २२ साउन र अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा १ भदौसम्म आवेदन दिने अवधि बढ्नेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

आईपीओ निष्कासनका लागि कम्पनीले गराएको रेटिङमा इक्रा नेपालले ‘इक्रा एनपी आइआर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

लघुवित्त आर्थिक वर्ष २०७७र०७८ बाट नै सञ्चित नाफामा सञ्चालन भइरहेको छ ।

हाल १५ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको आईपीओ निष्कासनपछि चुक्ता पुँजी २५ करोड रुपैयाँ पुग्नेछ।