स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग डीला संग्रौलाको माग – Nagarikabhiyan : National News

स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग डीला संग्रौलाको माग

काठमाडौं । नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छन् । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पन्तले स्वास्थ्य बीमा कार्यक्रमबापत सरकारले दिनुपर्ने भुक्तानी प्राप्त नगरेका कारण सरकारी अस्पतालहरुले उक्त कार्यक्रम स्थगित गरिरहेका बताएकी हुन् ।

उनले बीमा कार्यक्रममा देखिएको यस प्रकारको समस्याको तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले सरकारको अलमलका कारण लोकप्रिय स्वास्थ्य बीमा कार्यक्रमको भविष्यमाथि प्रश्न उठेको बताइन् ।

उनले भनिन्, ‘स्वास्थ्य बीमा कार्यक्रमबापत सरकारले दिनुपर्ने भुक्तानी प्राप्त नभएको भन्दै सरकारी अस्पतालहरुले नै उक्त कार्यक्रम स्थगित गरेको सार्वजनिक सूचनाहरु प्रकाशित भइरहेका छन् । यो अत्यन्त गम्भिर अवस्था हो । यो समस्याको तत्काल समाधान गर्नको लागि नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले फेरि भनिन्, ‘सन् २०३० सम्म सर्वव्यापी स्वास्थ्यको पहुँच पु¥याउने भनि नेपाल सरकारले गरेको प्रतिबद्धता र संयुक्त राष्ट्रसंघले अगाडी सारेको दीगो विकासको लक्ष्य प्राप्त गर्न पनि स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडि बढाउनु आवश्यक छ । तर, सरकारले नै अलमल गर्दा अहिले यो लोकप्रिय कार्यक्रमको भविष्यमाथि प्रश्न उठ्न थालेका छन् ।’

सांसद पन्तले कोभिड–१९ को सम्भावित अर्को लहरबाट देशको अर्थतन्त्र र जनसमुदायलाई बचाउन सरकारले बेलैमा ध्यान पु¥याउनुपर्ने बताइन् । जसको लागि प्रदेश र स्थानीय तहका सरकारका साथसाथै विभिन्न संघसंस्था र आम नागरिकलाई समेत परिचालन गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट सक्रिय संक्रमितहरुको संख्या देशभरी झन्डै ३ हजार पुग्न लागेको छ । कोरोनाले गरेको धनजनको क्षति बारे हामी सबै अवगत नै छौँ । कोभिडको अर्को चरणबाट हाम्रो देशको अर्थतन्त्र र जनसमुदायलाई कसरी जोगाउने भन्ने बारे सरकारको पर्याप्त ध्यान जानुपर्दछ ।’

उनले थप भनिन्, ‘केन्द्रबाट मात्रै होइन, प्रदेश, स्थानीय सरकार, गैरसरकारी संघ, संस्था, आम जनसमुदायलाई परिचालित गरेर अब आउने कोरोनाको संक्रमण र नयाँ आउने भेरियन्टलाई रोक्न र जुध्न अभियान नै सञ्चालन गर्न म आग्रह गर्दछु ।’

उनले कोभिडविरुद्धको खोप अभियानलाई तीब्रता दिनुपर्नेमा जोड दिइन् । साथै विश्वमा मंकिपक्सको संक्रमण पनि बढिरहेकाले नेपाल यसतर्फपनि सचेत हुनुपर्ने उनले बताइन् । सांसद पन्तले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्धि र आगामी चुनौतीहरु समेटेर श्वेतपत्र जारी गर्न सरकार समक्ष आग्रह गरेकी छन् ।