२४ जेष्ठ २०७९, मंगलवार १५:४० – Page 5 – Nagarikabhiyan : National News

स्थानीयले बञ्चरेडाँडामा फोहोर फाल्न दिएनन्, प्रहरी र स्थानीयबीच झडप

काठमाडौं । फोहोर फाल्ने विषयमा बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ ।

काठमाडौँको फोहोर फाल्न पुगेका टिपरलाई बञ्चरेडाँडामा अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो । फोहोर फाल्ने सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गइरहेका सवारी साधनलाई स्थानीय वासिन्दाले ठाउँ–ठाउँमा रोकेका छन् ।

सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका हुन् ।

स्थानीयका अनुसार करिब दुई घण्टादेखि स्थानीय र प्रहरीबीच झडप जारी रहेको छ । प्रहरीले बल प्रयोग गर्दै बाटो खुलाइरहेको छ । प्रहरीले डेढ दर्जन बढी स्थानीयलाई पक्राउसमेत गरेको छ ।
सहरी विकास मन्त्रालयमा सोमबार भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको हो ।

सोमबार शहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका प्रमुख वालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोललगायतको रोहबरमा बसेको काठमाडौँ महानगरपालिका, ककनी गाउँपालिका र धुनीबेँसी नगरपालिकाका प्रतिनिधिबीचको बैठकले स्थानीयवासीका माग तथा सर्त पूरा गर्नेगरी फोहोर व्यवस्थापनमा सहमति भएको थियो ।

सहमतिअनुसार बन्चरेडाँडाको ल्यान्डफिल साइट प्रभावित क्षेत्रमा सहरी विकास मन्त्रालयबाट आगामी आर्थिक वर्ष २०७९/०८० का लागि विभिन्न पाँचवटा सडकका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण कार्य, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजनको प्रतिबद्धता जनाइएको छ । जग्गा अधिग्रहणको सम्बन्धमा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन प्राप्त भएपछि सो प्रतिवेदनका आधारमा अधिग्रहण गरिने र गर्नुपर्ने जग्गा यकिन गरी अधिग्रहणको प्रक्रिया सुरु गर्ने सहमति छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको सिफारिसका आधारमा प्रभावित क्षेत्रका स्थायी बासिन्दाका लागि १० श९याको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्ने सहमति भएको छ ।

काठमाडौँ महानगरपालिकाका तर्फबाट धुनीबेँसी नगरपालिकाका वडा नं. १, ३, ४ र ककनीका वडा नं. १, २ र ३ का प्रभावित क्षेत्रका स्थायी बसोवास गरिरहेका बासिन्दालाई नेपाल स्वास्थ्य बीमा बोर्डबाट विधि र प्रक्रिया पूरा गरी दोहोरो नपर्नेगरी स्वास्थ्य बीमा गर्ने सहमति भएको छ । उक्त काम एक हप्ताभित्रै सुरु गर्ने सहमति भएको छ ।

ती क्षेत्रका प्रभावित क्षेत्रका वडाहरूको पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानको प्रतिवेदनलाई आधार मानी १० दिनभित्र रासायनिक वा जैविक उपचार गरी दुर्गन्ध हटाउने कार्यको प्रारम्भ गर्ने सहमति भएको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनका आधारमा व्यवस्थापन योजना बनाएर छ महिनाभित्र सिसडोलको ल्यान्डफिल साइटको प्रक्रिया सुरु गर्ने पनि सहमति छ ।

सिंहदरबार वैद्यखानाका कर्मचारीले न काम पाए न तलब

काठमाडौँ । चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो ।

उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन् । समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले विसं २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन् ।

तलब नपाएपछि राजधानीमा डेरा लिएर बसेका कर्मचारी समस्यामा परेका हुन् । व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त कार्यकारी निर्देशकको कार्यकक्षमा धर्ना दिँदै आए पनि सुनुवाइ नभएको कर्मचारीको गुनासो छ । उत्पादन नभएपछि तलब नपाउने र कार्यालयमा आएका कर्मचारीले पनि काम नपाउने समस्या भएको छ ।

काम नभएपछि करिब ५० जना कर्मचारी दैनिक कार्यालय आउँछन् । हाजिर गरेर फर्कन्छन् । आयुर्वेदिक औषधि उत्पादन गर्ने यो समिति आफैँ उपचार गर्नुपर्ने अवस्थामा पुगेको छ । औषधि उत्पादन गर्ने समितिमा कामै नभएका बेला व्यवस्थापनले भने ज्यालादारी कर्मचारी राखेको भन्दै स्थायी कर्मचारीले विरोध गर्दै आएका छन् । व्यवस्थापनले भने उत्पादन सुरु भएपछि धेरै कर्मचारी आवश्यक पर्ने भन्दै काम नभएको बेलामा पनि तलब खुवाएर राखिरहेको छ ।

उत्पादन नभएपछि समितिको बिक्री कक्षमा अहिले च्यवनप्रासबाहेकका उत्पादन पाइँदैन । गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न राजा प्रताप मल्लका पालामा स्थापना भएको समितिमा तीन महिनादेखि पूरै काम ठप्प छ ।

समितिको बिक्रीकक्षमा काम गर्नुहुने आदित्य ठाकुर छ महिनादेखि शिलाजीत सकिएको बताउनुहुन्छ । बिक्रीकक्षमा दैनिक २५ जना मानिस शिलाजीत लिन आउँथे । ग्याष्ट्रिकमा काम गर्ने अविपत्तिकर चूर्ण सकिएको चार महिना पूरा भयो । औषधि खोज्न आउनेलाई समितिले रित्तै फर्काउने गरेको छ ।

धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण सकिएको पनि सात महिना पूरा भएको उहाँले सुनाउनुभयो । यस्ता धेरै औषधि सकिएको महिनौँ बिते पनि उत्पादनको वातावरण बनाउन समिति व्यवस्थापनले ध्यान दिएको छैन ।

“औषधि भएका बेला बिल काट्न र बिरामी जाँच्न फुर्सद हुँदैन थियो, अहिले काम नभएर हल्लिएर समय बिताउनुपरेको छ, उत्पादन र बिक्री नहुँदा तलब पनि समयमा पाइएको छैन”, ठाकुरले भन्नुभयो ।

समितिमा उत्पादन घटेर कर्मचारीलाई तलब एवं अवकाश पाउनेले नियमानुसार पाउने उपदानका लागि पनि पैसा नहुने भएपछि कर्मचारीले २०७८ साउन २४ गतेदेखि अवकाश कोष खडा गर्न माग गर्दै दैनिक एक घण्टा धर्ना दिने गरेका छन् । अवकाश कोष खडा गर्न माग राखेर धर्नामा बसेको एक वर्ष हुन लाग्दासमेत माग पूरा भएको छैन ।

विसं २०७७ चैत ३१ गतेदेखि निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत डा सबरी साह भने उत्पादन रोकिएको एक महिनामात्र भएको दाबी गर्नुहुन्छ । त्यसअघि थोरै भए पनि औषधि उत्पादन भएको उहाँले सुनाउनुभयो । विसं २०७८ भदौमा औषधि बनाउने कच्चा पदार्थ ल्याउन बोलपत्र आह्वान गरेपछि अर्का व्यक्तिलाई कार्यकारी निर्देशक नियुक्त गर्दा प्रक्रिया रोकिएर अहिले उत्पादन बन्द हुने अवस्थामा पुगेको भनाइ निमित्त कार्यकारी निर्देशक डा साहको छ ।

गत वर्ष कोरोना महामारी फैलिएपछि बजारमा च्यवनप्रासको माग बढेको थियो । माग पूरा गर्न समितिले २०७८ कात्तिक ३० गतेदेखि च्यवनप्रास बनायो । अहिले त्यही एउटा च्यवनप्रास बेचेर समिति बसेको छ । अरु उत्पादन भण्डारगृहमा रित्तिन थालेपछि बनाउने प्रक्रिया सुरु नगर्दा समितिमा अहिले औषधि किन्न जाने सर्वसाधारण र थोक बिक्रेता रित्तै फर्कन बाध्य हुने गरेका छन् । विगतमा दैनिक रु एक लाखको औषधि बिक्री गर्ने समितिमा अहिले रु दुई हजारको बिक्री हुन पनि मुस्किल पर्ने गरेको छ । सरकारको नियन्त्रणमा रहेको समिति धरासायी बन्दा पनि सरोकार भएका निकायले ध्यान दिएका छैनन् ।

समितिमा विसं २०६६ देखि २०७० को बीचमा डा सन्तोष ठाकुर कार्यकारी निर्देशक हुँदा शिलाजीतको बोलपत्र आह्वान भएको थियो । त्यसपछि बोलपत्र हुन नसक्दा अहिले अभाव भएको हो । त्यसबेला रु एक करोड बराबरको शिलाजीत ल्याइएको थियो । हालै तीन हजार किलोग्राम शिलाजीत ल्याउन बोलपत्र गरिएको छ ।

उत्पादन र बिक्री नभएका कारण गत चैतदेखि तलब खुवाउन नसकिएको निमित्त कार्यकारी निर्देशक साहले स्वीकार गर्नुभयो । विसं २०७७ मा जारी भएको समितिको गठन आदेशमा कम्तीमा दुई महिनामा एकपटक सञ्चालक समितिको बैठक बस्नुपर्ने व्यवस्था छ । समितिमा अनेकौँ समस्या आउँदा चार महिनामा पनि बैठक बस्न नसकेको कर्मचारीको गुनासो छ ।

समितिका समस्या लिएर पटक–पटक स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत निकायमा गए पनि समस्या समाधान हुन नसकेको कर्मचारी केशव शर्मा पौडेलले जानकारी दिनुभयो । औषधि उत्पादनको कच्चा पदार्थ ल्याउन साउन महिनामा गरिनुपर्ने बोलपत्र आह्वान अझैसम्म हुनसकेको छैन ।

समितिका उत्पादन अधिकृत विनोद साह फागुनसम्म च्यवनप्रास बनिरहेकामा त्यसपछि कुनै पनि काम नभएको बताउनुहुन्छ । उत्पादनको जिम्मेवारी डा हरिदेवप्रसाद यादवले लिनुभएकाले कुन–कुन वर्ष कति–कति उत्पादन भयो भन्ने विषयमा आफूलाई थाहा नभएको उहाँको भनाइ थियो ।

कार्यालयमा काम नभएपछि धेरै कर्मचारी बिहान आएर हाजिर गरेपछि हिँड्ने गरेका छन् । अनुहार देखाएर गर्नुपर्ने विद्युतीय हाजिर पनि धेरैजसो कर्मचारीको एकपटकको मात्र हुने गरेको प्रशासन शाखाले जनाएको छ । कति कर्मचारीले त विद्युतीय हाजिर नगरी कार्यालयको रजिष्ट्ररमा मात्र हाजिर गर्ने गरेका छन् । त्यस्ता कर्मचारीको रजिष्ट्रारको हाजिरसमेत काट्ने गरिएको छ ।

रेशम चौधरीलाई रिहा गर्न माग गर्दै लोसपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ७ ११ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई शेरबहादु देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

लोसपाका अध्यक्ष महन्त ठाकुरलगायत नेताले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै जेल सजाय भोगिरहेका रेशम चौधरी र बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताहरूलाई रिहाइ गर्न माग गरेको हो ।

११ बुँदे ज्ञापनपत्रमा संवैधानिक व्यवस्था अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रदान गर्नुपर्ने र वैवाहिक अंगीकृत सम्बन्धी हालको व्यवस्था कायमै राख्न माग गरेको छ ।

प्रधानमन्त्री निवासको ‘पब्लिक ब्लक’ ३ करोड ७५ लाख खर्चेर सजाइँदै

काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवासको नवनिर्मित आवासीय भवनको इन्टेरियर (भित्रीभाग)को साजसज्जाको काम गर्न ठेक्का लागेको छ । आवासीय भवनको सार्वजनिक भवन (पब्लिक ब्लक) तर्फको भागको इन्टेरियर निर्माणका लागि ठेक्का लागेको हो ।

शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले ३ करोड ७५ लाख १४ हजार ३८५ रुपैयाँमा ठेक्का लगाएको हो । यो कामका लागि ब्रिज-टेक अल्फा जेभीले ठेक्का पाएको हो ।

प्रधानमन्त्री निवासको नयाँ भवनहरु नेपाली मौलिक शैली झल्किने गरी बनेका छन् । तीन तलाको सार्वजनिक भवन प्रधानमन्त्रीले स्वदेशी तथा विदेशी पाहुना भट्न प्रयोग गर्नेछन् ।

मन्त्रिपरिषद् बैठकका लागि समेत कक्ष तयार भएको छ भने सञ्चारमाध्यमको लागि पनि यसमा कक्षको व्यवस्था भएको छ । यो भवन प्रधानमन्त्रीको सचिवालयले पनि प्रयोग गर्नसक्ने गरी निर्माण भएको छ ।

अब यिनकै कक्षहरुको साजसज्जाको काम गर्न ठेक्का लगाइएको हो ।

यसअघि नै आवासीय भवनतर्फको निवास (प्रइभेट ब्लक) तर्फको भवन यसअघि नै तयार भएर प्रयोगमा आइसकेको छ । प्राइभेट र पब्लिक ब्लक करिब साढे ३३ करोड रुपैयाँ लागतमा तयार भएका हुन् । ३ तलाको प्राइभेट ब्लकमा २२ वटा कक्ष छन् । यो भवन बङ्करसहित बनेको छ ।

भवनको तल्लो तलामा लबी, भान्छा, भोजनकक्ष सहितका कोठा छन् । दोस्रो तलामा प्रधाामन्त्रीको बेड रुम र मिटिङ रुमहरु छन् । जहाँ सुरक्षाकर्मी बस्ने कक्ष पनि छ ।

तेस्रो तलामा तलामा पाहुनाका लागि लबी र बेड रुम, पूजाकोठा र हल समेत छ । भूकम्पप्रतिरोधी भवनमा मौलिक बुट्टा र झ्यालहरु प्रयोग भएका छन् ।

अझै हटेन गाम्रीण क्षेत्रमा जातीय छुवाछूत

पाल्पा । पाल्पाको गाम्रीण भेगमा जातीय छुवाछूत तथा भेदभावजन्य हिंसाका घटना अन्त्य हुन सकेको छैन । रुढीवाढी तथा अन्धविश्वासबाट मुक्त हुन नसक्दा ती हिंसा नरोकिएको जनाइएको छ ।

नेपालको संविधान–२०७२ ले ‘जात व्यवस्थाका आधारमा कसैलाई पनि भेदभाव गर्न पाइने छैन’ भन्ने उल्लेख छ । जातीयताकै कारण आफूहरुले मन्दिरमा चढाएको प्रसाद फिर्ता भएको यहाँका दलितले दुःखेसो पोखेका छन् ।

जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ तालपोखराको शिवमन्दिर पुनःनिर्माण गरिएको छ । प्रत्येक शनिबार र आइतबार पूजाआराधना गरिने मन्दिरमा शिवरात्रिलगायतका पर्वमा विशेष पूजा हुँदै आएको छ ।

विगतका वर्षहरूमा मन्दिरमा दूध, हलुवा तथा प्रसाद चढाए पनि दलित जातिको भनी फिर्ता गरिदिँदा यहाँका दलित जातीय भेदभाव तथा छुवाछूत भोग्न परेकामा गुनासो गर्दछन् । मन्दिरमा भेटी चढ्ने, टीका र प्रसाद टाढाबाटै दिने गरेको स्थानीयवासी सीता विकले बताइन् ।

मन्दिर निर्माणमा दलित र गैरदलितले बराबर रकम सङ्कलन गरी निर्माण थालिएको थियो । मन्दिर तथा अन्य सार्वजनिकस्थलमा दलितमाथि छोइछिटो तथा भेदभाव नहटेको स्थानीय मनकला सुनारले बताइन् ।

दलित समुदायले आफूहरूले चढाएको फूल, प्रसाद मन्दिरका पुजारीले फिर्ता गरिदिएको आरोप लगाएका छन् । मन्दिरमा दलित र गैरदलितलाई समान व्यवहारका लागि दलित अगुवाहरूले निवेदन दिए पनि सुनुवाइ हुन नसकेको उनीहरूको भनाइ छ ।

दलितले ल्याएका फूलप्रसाद, दूध मन्दिरमा चढाएका छौँ, आफूले मन्दिरमा भेदभाव नगरेको र दलितले ल्याएका प्रसाद चढाएको सोही मन्दिरका पूजारी छविलाल पन्थीले जानकारी दिए ।

जिल्लामा जातीय छुवाछूत तथा भेदभावका घटना अझै अन्त्य भएको छैन । दलित तथा गैरदलितलाई जागरुक बनाउँदै छुवाछूत तथा भेदभाव गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने स्थानीयवासी सुनिल नेपालीको माग छ ।

नेपालगञ्जको सात क्यासिनोमा छापा, ६ जना पक्राउ

नेपालगञ्ज । प्रहरीले एकैपटक नेपालगञ्जका सात क्यासिनोमा छापा मारेको छ । क्यासिनोमा नेपालीका लागि प्रवेश निषेध गरे पनि क्यासिनोमा प्रवशे गरी जुवा खेलाउने कार्य भएको उजुरी आएकाले छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

प्रहरीले क्यासिनोमा छापा मार्दा नेपालगञ्जस्थित धम्बोझी चोक नजिक रहेको होटल सिटी प्यालेसभित्र सञ्चालनमा रहेको सिटीइ गेमिङ क्लब क्यासिनोबाट पुनः छ जना नेपालीलाई पक्राउ गरिएको उनले बताए । उनीहरूलाई कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । यसअघि पनि आइतबार होटल सिटी प्यालेसभित्र सञ्चालित सिटीइ गेमिङ क्लब क्यासिनोबाट नेपालगञ्जका सात नेपाली युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नेपालको कुनै पनि क्यासिनोमा विदेशीबाहेक नेपालीलाई प्रवेश गर्न निषेध छ । तर नेपालगञ्जका क्यासिनोहरूले निर्वाधरूपमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने काम गरिरहेका छन् ।

यसैबीच प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कोइली भन्ने शिवकुमार वढईलाई जमुनाह नाकाबाट पक्राउ गरेको छ । उनले नेपालगञ्ज–१८ कारकाँदोस्थित पसलमा समान किन्ने बहानामा गएर ७० वर्षीया लीलावती गुप्तालाई कुटपिट गरेको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । गुप्ताको मृत्युपछि वढई फरार थिए ।

तपाईंले एक वर्षमा कति कर तिर्नुपर्ला ? यस्तो छ करको दर

काठमाडौं । तपाईंले एक वर्षमा के कति कर तिर्नुपर्ला ? हिसाब गर्नुभएको छ । यदि छैन भने तपाईंलाई हामीले जानकारी दिने प्रयास गरेका छौँ । सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्याे । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दा करका विभिन्न दरको समेत हेरफेर गरे । सोही आधारमा आन्तरिक राजस्व विभागले आगामी आवका लागि तिर्नुपर्ने करको दरसमेत सार्वजनिक गरेको छ ।

विभागका अनुसार तपाईं अविवाहित हो भने रु पाँच लाखसम्मको आम्दानीमा एक प्रतिशत मात्रै कर तिरे हुन्छ । त्यस्तै तपाईं विवाहित हो भने रु ६ लाखसम्म पनि एक प्रतिशतका दरले मात्रै कर तिरे हुन्छ । त्यो भनेको एकलले रु पाँच हजार र दम्पतिले रु ६ हजार मात्रै कर तिरे हुन्छ । त्यस्तै, तपाईंको आम्दानी पाँच लाखदेखि सात लाखसम्मको आय र ६ लाखभन्दा बढी आठ लाखसम्मको आयमा एकल र दम्पति दुवै समूहले १० प्रतिशत अर्थात् २० हजार बराबर कर तिर्नुपर्छ ।

सात लाखभन्दा बढी रु १० लाखसम्मको करयोग्य आय र आठ लाखभन्दा बढी ११ लाखसम्मको करयोग्य आयमा पनि समान २० प्रतिशत अर्थात् ६० हजार बराबरको कर तिर्नुपर्छ । यस्तै, १० लाखभन्दा बढी २० लाखसम्म एकलले २० प्रतिशत अर्थात् तीन लाख बराबरको कर तिर्नुपर्छ । त्यस्तै ११ लाखदेखि २० लाखसम्म कर योग्य आय गर्ने दम्पतिले ३० प्रतिशत अर्थात् दुई लाख ७० हजार बराबरको कर तिर्नुपर्छ ।

यसैगरी २० लाखभन्दा बढी आम्दानी हुनेले समान रूपमा तीन लाख ६० हजार बराबरको कर तिर्नुपर्ने विभागले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । विभागका अनुसार रु ३० लाखभन्दा बढी आम्दानी हुने एकलले रु सात लाख ४५ हजार र दम्पतिले रु सात लाख १६ हजार बराबरको कर तिर्नुपर्छ । एकलौटी रुपमा फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तिभरणबापतको आय, निवृत्तिभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने व्यक्तिको आयमा एक प्रतिशतको कर नलाग्ने विभागले स्पष्ट पारेको छ ।

यस्तै, कुनै आय वर्षमा स्वीकृत अवकाश कोषको हिताधिकारी व्यक्तिले अवकाश कोषमा अवकाश योगदान गर्दा रु तीन लाख वा निजको निर्धारण योग्य आयका एक तिहाई जुन घटी हुन्छ । सो रकमसम्म आफ्नाे करयोग्य आयबाट घटाउन सक्नेछन् । सामाजिक सुरक्षा कोषमा योगदान गर्ने कोषको तिहाधिकारी व्यक्तिले सो कोषमा योगदान गर्दा रु पाँच लाख वा निजको निर्धारण योग्य आयको एक तिहाइमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो कर योग्य आयबाट घटाउन सक्ने प्रावधान छ ।

यस्तै दुगर्म क्षेत्रमा कार्यरत व्यक्तिले पनि करयोग्य आयबाट घटाउन पाउने रकम पनि निर्धारण गरिएको छ । क वर्गका क्षेत्रमा कार्यरतले ५० हजार, ख वर्गका क्षेत्रमा ४० हजार, ग वर्गका क्षेत्रमा ३० हजार, घ वर्गका क्षेत्रमा २० हजार र ङ वर्गका क्षेत्रमा कार्यरतले १० हजार बराबरको आयबाट घटाउन सक्नेछन् ।

विदेशस्थित कूटनीतिक नियोगका कार्यरत कर्मचारीलाई प्राप्त हुने वैदेशिक भत्ताको ७५ प्रतिशत रकम करयोग्य आयबाट घटाउन पाउनेछन् । स्वास्थ्य बीमाबापत तिरेको प्रिमियम वा २० हजारमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउने विभागले जनाएको छ । निजी भवनको बीमा गरेको रहेछ भने पनि त्यस्तो बीमाबापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा रु पाँच हजारमा जुन घटी हुन्छ, त्यस्तो रकम पनि करयोग्य आयबाट घटाउन सकिन्छ ।

विभागका अनुसार महानगरपालिका वा उपमहानगरपालिकामा व्यवसाय गर्नेले सात हजार ५००, नगरपालिका क्षेत्रमा व्यवसाय गर्नेले रु चार हजार र त्यस बाहेकका क्षेत्रमा व्यवसाय गर्नेले दुई हजार ५०० बराबरको कर तिर्नुपर्छ । ग्यास, चुरोटलगायत तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोबार गर्ने व्यक्तिलाई ३० लाखभन्दा बढी ५० लाखसम्म कारोबार रकमको शून्य दशमलब २५ प्रतिशत, ती व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिलाई ३० लाखभन्दा बढी ५० लाखसम्म कारोबार रकमको एक प्रतिशत बराबर कर तिर्नुपर्छ ।

४९ प्रतिशत शेयर सर्वसाधरणलाई दिनुपर्ने माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले लिमिटेड कम्पनी खोल्दा ४९ प्रतिशत शेयर सर्वसाधरण लगानीकर्तालाई दिनुपर्ने माग गरेको छ ।

राजस्व परामर्श समितिद्वारा सोमबार आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक र बाँकी ४९ प्रतिशत शेयर सर्वसाधरण लगानीकर्तालाई दिनुपर्ने बताएका हुन् ।

‘लिमिटेड कम्पनीको शेयरमा सर्वसाधारणलाई समेट्दा सर्वसाधारणलाई फाइदा पुग्नुका साथै वित्तीय सन्तुलन पनि कायम गर्न सहयोग पुग्छ’, उनले भने । संस्थापक शेयरधनी र सर्वसाधरण लगानीकर्ताबीच ५१ र ४९ प्रतिशतको हिस्सा हुने गरी नीतिगत व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष मल्लले लिमिटेड कम्पनी खोल्दा सर्वसाधरण लगानीकर्तालाई प्राथमिकतामा राख्ने गरी नीतिगत व्यवस्था हुन सके यसबाट सेवा क्षेत्र थप व्यवस्थित हुने बताए । सेवा क्षेत्रमा सर्वसाधरणको लगानी आउन सकेमात्र यसको तरलता सिर्जना गर्ने अध्यक्ष मल्लको भनाइ छ ।

धेरै विद्युत् खपत गर्ने ठूला उद्योगका लागि मात्रै सहुलियत दिने बजेटमा उल्लेखित व्यवस्था साना तथा घरेलु र कृषिजन्य उद्योगमा पनि लागू गर्नुपर्ने माग सो अवसरमा गरिएको थियो ।

राप्ती हाइड्रोको आइपिओ खुला

काठमाडाैं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु छ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको छ लाख १२ हजार ७९३ कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो ।

आयोजनाले प्रभाव पार्ने रुकुमपूर्व जिल्ला र रुकुमपश्चिम जिल्लाका स्थानीय बासिन्दाले आगामी असार ७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार २२ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम छ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीले रुकुमपूर्व जिल्लाको सिस्ने र भूमे गाउँपालिका हुँदै बहने रुकुमगाड खोलामा पाँच मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

त्यस्तै ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा, सिद्धार्थ बैंकको पुथा उत्तरगङ्गा र मुसिकोट शाखा र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी–आइआर बीबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।

काठमाडौंको फोहोर आजबाट उठ्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र थुप्रिएको फोहोर आजदेखि उठ्ने भएको छ । सहरी विकास मन्त्रालयमा सोमबार भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको हो ।

सोमबार शहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका प्रमुख वालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोललगायतको रोहबरमा मंगलबार बिहानदेखि थुप्रिएको फोहोर उठाउने सहमति भएको हो ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा बसेको काठमाडौँ महानगरपालिका, ककनी गाउँपालिका र धुनीबेँसी नगरपालिकाका प्रतिनिधिबीचको बैठकले स्थानीयवासीका माग तथा सर्त पूरा गर्नेगरी फोहोर व्यवस्थापनमा सहमति जुटाएको हो ।

सहमति पत्रमा महानगरपालिकाकाले प्रभावित क्षेत्रका वासिन्दाको स्वास्थ्य बीमा एक हप्तामा सुरु गर्ने भनिएको छ ।

सहमतिअनुसार बन्चरेडाँडाको ल्यान्डफिल साइट प्रभावित क्षेत्रमा सहरी विकास मन्त्रालयबाट आगामी आर्थिक वर्ष २०७९/०८० का लागि विभिन्न पाँचवटा सडकका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण कार्य, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजनको प्रतिबद्धता जनाइएको छ । जग्गा अधिग्रहणको सम्बन्धमा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन प्राप्त भएपछि सो प्रतिवेदनका आधारमा अधिग्रहण गरिने र गर्नुपर्ने जग्गा यकिन गरी अधिग्रहणको प्रक्रिया सुरु गर्ने सहमति छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको सिफारिसका आधारमा प्रभावित क्षेत्रका स्थायी बासिन्दाका लागि १० श(याको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्ने सहमति भएको छ ।

काठमाडौँ महानगरपालिकाका तर्फबाट धुनीबेँसी नगरपालिकाका वडा नं. १, ३, ४ र ककनीका वडा नं। १, २ र ३ का प्रभावित क्षेत्रका स्थायी बसोवास गरिरहेका बासिन्दालाई नेपाल स्वास्थ्य बीमा बोर्डबाट विधि र प्रक्रिया पूरा गरी दोहोरो नपर्नेगरी स्वास्थ्य बीमा गर्ने सहमति भएको छ । उक्त काम एक हप्ताभित्रै सुरु गर्ने सहमति भएको छ ।

ती क्षेत्रका प्रभावित क्षेत्रका वडाहरूको पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानको प्रतिवेदनलाई आधार मानी १० दिनभित्र रासायनिक वा जैविक उपचार गरी दुर्गन्ध हटाउने कार्यको प्रारम्भ गर्ने सहमति भएको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनका आधारमा व्यवस्थापन योजना बनाएर छ महिनाभित्र सिसडोलको ल्यान्डफिल साइटको प्रक्रिया सुरु गर्ने पनि सहमति छ ।

बैठकमा काठमाडौँका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डङ्गोल तथा ककनी, धुनीबेँसी, गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधिको सहभागिता थियो ।

असार १ बाट मतदाता नामावली दर्ता खुला, जहाँ छ त्यहीँबाट दर्ता गर्न सकिने

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको हो ।

स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै नामावली दर्ता खुलाउने तयारी गरेको हो ।

‘१ असारबाट नामावली दर्ता खुला गर्ने विषयमा छलफल भएको छ अब जिल्लाबाहिर बसाइँ रहे पनि जहाँ बसोबास छ त्यही जिल्लाबाट नाम दर्ता गर्न मिल्ने गरी आयोगले नामावली दर्ता खुला गर्नेगरी तयारी गर्दै छ,’ आयोगका एक जना निर्वाचन आयुक्तले भने ।

यो खबर आजको राजधानी दैनिकमा छ ।

थप २१ जनामा कोरोना संक्रमण, १०९ जना सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९९० जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार २५८ जनाको एन्टीजेन परीक्षणमा १४ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जना निको भएका छन् भने हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०९ जना होम आइसोलेसनमा रहेका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४८१पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १४५ जना संक्रमणमुक्त भएका छन् ।

 

मन्त्री हेरफेर गर्न मानेनन् देउवा, नयाँ मन्त्री बन्नेहरुको ढोका तत्काललाई बन्द

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नगर्ने भएका छन् । नेकपा एकीकृत समाजवादी (एस) ले हाल बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाउन र नयाँ मन्त्री नियुक्त गर्न भने पनि प्रधानमन्त्री देउवाले त्यो अस्वीकार गरेका छन् ।

सोमबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले भर्खरै बजेट आएको र यस विषयमा प्रतिनिधिसभामा छलफल चलिरहेको अवस्थामा मन्त्री हेरफेर गर्नु ठीक नहुने बताए । नयाँ मन्त्री हेरफेरको कदमले बजेटमा असर पर्ने देखिएपछि तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन गर्न नहुने उनको भनाइ थियो ।

यससँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङको पद यथावत रहेको छ ।

यसअघि नेकपा एसले भवानी खापुङबाहेक बहालवाला ४ मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्न बालुवाटार पत्राचार गरेको थियो । नयाँ मन्त्रीहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्री र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई सिफारिस गरिएको थियो । यस्तै, खापुङलाई स्वास्थ्य राज्यमन्त्रीबाट मन्त्रीमा नियुक्ती गरिएको थियो ।

तर, सोमबार बसेको गठबन्धनको शीर्ष नेताहरुबीचको बैठकसँगै नयाँ मन्त्री बन्ने पर्खाइमा रहेकाहरुको ढोका तत्काललाई बन्द भएको छ ।

काठमाडौं-१६ मा उठाउन थालियो फोहोर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा फोहोर उठाउन थालिएको छ । झण्डै दुई सातादेखि फोहोर नउठ्दा सहर नै दुर्गन्धित बन्न थालेपछि वडाध्यक्षको सक्रियतामा फोहोर उठाउन थालिएको वडाध्यक्षका सहयोगी किरण भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

भट्टराईले भने, ‘बालाजुचोकदेखि सोह्रखुट्टेसम्मको प्रमुख सडक पेटीमा फालिएका फोहोर उठाउन सुरु गरिएको छ । लगभग ९र१० गाडी फोहोर उठाएका छौं । संकलन भएको फोहोर वडा क्षेत्रकै २र३ वटा ठाउँमा लगेर व्यवस्थापन गर्ने तयारी भइरहेको छ । स्थानीयलाई प्रभाव नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने सहमति पनि भइसकेको छ ।’

भट्टराईका अनुसार सोमबार बिहानै वडाध्यक्षसहितका जनप्रतिनिधिले स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग फोहोर व्यवस्थापन बारे छलफल गरी सहमति जुटाएका छन् ।

वडाध्यक्ष मुकुन्द रिजालले फोहोर व्यवस्थान गरिने ठाउँका स्थानीयसँग पनि आवश्यक छलफल गरी स्थानीयकै सहमतिमा फोहोर व्यवस्थापन गर्ने ठाउँको पनि पहिचान गरिएको भट्टराईले बताए ।

‘वडा नम्बर १६ को फोहोर आफ्नै वडाक्षेत्रमा व्यवस्थापन गर्ने गरी वडाध्यक्षले आवश्यक छलफल गरिरहनु भएको छ । मुख्य चोकमा रहेका फोहोर गाडीमा उठाउने काम भइरहेको छ’ भट्टराईले भने ।

 

अर्जेन्टिनामा कोरोना भाइरसबाट थप ४६ हजार सङ्क्रमित, ८४ को मृत्यु अर्जेन्टिना

अर्जेन्टिनामा पछिल्लो एक हप्तामा कोरोना भाइरसबाट थप ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक हप्तामा अर्जेन्टिनामा ४६ हजार ४५ जना नयाँ सङ्क्रमित भएका हुन् ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा सोही अवधिमा अरु ८४ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको उल्लेख छ ।

अघिल्लो हप्ताको तुलनामा यो हप्ता नयाँ सङ्क्रमितको सङ्ख्या घटेको छ भने मृतकको सङ्ख्या बढेको छ । अघिल्लो हप्ता ५१ हजार ७७८ जना नयाँ सङ्क्रमित हुँदा ६४ जनाको मृत्यु भएको थियो ।

अर्जेन्टिनामा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ९२ लाख ७६ हजार ६१८ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरूको सङ्ख्या एक लाख २८ हजार ९७३ पुगेको छ ।

अर्जेन्टिनामा कोरोना भाइरसका कारण बिरामी भइ ३४४ जना अहिले पनि अस्पतालमै भर्ना भएका छन् । उनीहरूलाई अति सघन कक्षमा राखेर उपचार गराइएको छ ।

अर्जेन्टिनामा गत सन् २०२० को डिसेम्बरदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान चलाइएको थियो ।

देश र नागरिकको काम गरेरै सात महिना बिताएँ : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पछिल्लो पटक मन्त्री भएको सातमहिने कार्यकाल देश र नागरिकका हितमा काम गरेर बिताएको बताएका छन् ।

सङ्क्षिप्त कुराकानीमा मन्त्री आलेले भने, ‘मन्त्री पदमा रहँदा देश र नागरिकका लागि अहोरात्र खटिइ देशको हित हुने काम गरेको छु, मलाई लाग्छ मैले काम गर्ने क्रममा विगतमा कुनै गल्ती गरेको भए पनि त्यसलाई सच्याउने मौका अहिले पाएँ, अहिले जे जति गरेँ जनताका पक्षमा नै काम गरेँ ।’

उनले आफूले पर्यटन मन्त्रालयअन्तर्गत राम्रा कामको थालनी गरेको जिकिर गर्दै अब आउने मन्त्रीलाई पनि यी राम्रा कामलाई निरन्तरता दिन आग्रहसमेत गरे ।

मन्त्री आलेले पशुपति धर्मशाला र नारायणहिटी दरबार सङ्ग्रहालयमा बतास समूहको उपस्थितिलाई फिर्ता गरी सो समूहले गरेका कामलाई देश र जनताका पक्षमा ल्याएको दाबी पनि गरे ।

त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिकको सहुलियतका लागि सटल बस सञ्चालनमा ल्याएको र क्यासिनो सञ्चालकबाट सरकारलाई ठूलो रकम राजस्व तिराएको तथा नतिर्ने तारे होटेललाई कारबाही गरेको उनले जानकारी दिए ।

आफू पदमा रहँदा होस् वा नरहँदा देश र नागरिककै पक्षमा काम गर्ने तथा वकालत गर्ने भएकाले आफू सधैँ देश र नागरिकको हकहितका लागि लाग्ने पनि उनले बताए ।

आइतबार बसेको नेकपा एकीकृत समाजवादीको सचिवालयको बैठकले आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्री फिर्ता बोलाउने निर्णय गरी नयाँ मन्त्रीहरुको नामावली पठाइसकेको छ ।

यसअघि नै आलोपालो गरी मन्त्री बनाउने आफ्नो पार्टीको सर्तमा आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेको र अहिले फिर्ता बोलाउने निर्णय गरेकाले आफूले पार्टीको निर्णय मानेर फिर्ता हुने पनि मन्त्री आलेले बताए ।