२३ जेष्ठ २०७९, सोमबार १४:१९ – Page 6 – Nagarikabhiyan : National News

सांसदहरुको एक स्वर – ‘पीडकले सजाय र पीडितले न्याय पाउने गरी कानुन संशोधन गरियोस्’

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले पीडकले सजाय र पीडितले न्याय पाउने गरी कानुन संशोधन गर्न माग गरेका छन् ।बैठकले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा भाग लिँदै उनीहरुले समय सापेक्ष रुपमा कानुनलाई परिमार्जन गरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद अमृता थापाले कानुन बनाउँदा दीर्घकालीन रुपमा सोचेर अघि बढ्नुपर्ने सुझाव दिइन्। उनले घटना हुन नदिनु नै सरकारको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै पीडक नछुटोस् र पीडितले न्याय पाओस् भन्नेतर्फ सचेत हुन आग्रह गरन् ।

सांसद दुर्गा पौडेलले गम्भीर प्रकारको अपराधको रुपमा रहेको यौन हिंसाका घटना दैनिक बढ्दो क्रममा रहेको भन्दै चिन्ता प्रकट गरिन् । उनले यौन हिंसाका घटना घट्नुमा एउटा मात्रै कारण नभएकाले परिवारबाटै सचेतना फैलाउनु जरुरी रहेकाे बताइन्।

उनले यौन हिंसा सम्बन्धिका घटनाका लागि उजुरी दिने हदम्याद बढाउनुपर्नेमा जोड दिँदै घटना के कस्तो भएको हो ? त्यसको प्रकृतिलाई पनि ध्यान दिनुपर्ने बताइन्।

उनले भन, “बलात्कृत महिलाले समाजमा बाँच्नै नसक्ने अवस्था हुन्छ, हाम्रो सामाजिक संरचना नै त्यस्तै छ, पीडितको ग्यारेन्टी सरकारले गर्नुपर्छ ।” अर्का सांसद प्रेम सुवालले सबैको सांस्कृतिक स्तर उठाउने गरी काम गर्नुपर्नेमा जोड दिए।

सुनको मूल्य बढ्यो

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार १०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ९०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु २०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ६०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ४०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २९० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५४ डलर आसपास कारोबार भइरहेको छ ।

काठमाडौंमा सार्वजनिक शौचालयका छुट्टै संकेत चिन्ह

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका छुट्टै संकेत चिन्ह तयार गरेको छ । नीलो पृष्ठभूमिको संकेत चिन्ह अब होटल तथा रेस्टुरेन्टहरुले स्वेच्छिक रुपमा आफ्नो शौचालयमा राखेर सार्वजनिक रुपमा खुला गर्न सक्ने भएका छन् ।

सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको महानगरपालिकाले जनाएको छ ।

गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ । संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।

महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, र्फम, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरुलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाईमा सम्पर्क राख्न सार्वजनिक आव्हान गरिसकेको छ।

 

साहित्यकार लीला झाको कथा संग्रह ‘परिवेश’ लोकार्पण

काठमाडौं । साहित्यकार लीला झाको कथा संग्रह ‘परिवेश’ लोकार्पण भएको छ । संघीय राजधानीमा सोमबार एक कार्यक्रमबीच कथा संग्रहको विमोचन गरिएको हो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा र प्राध्यापक डाक्टर दिनेशचन्द्र रेग्मीले संयुक्त रुपमा कृतिको विमाचन गरेका हुन् । लेखिका झाले अमेरिका बसोबासका क्रममा आफ्नो मनोविज्ञान शिक्षाको उपभोग गर्दै फुर्संदको सदुपयोग गरेको जनाएकी छन् ।

विगतमा पत्रपत्रिकामा कथा तथा कविता प्रकाशित भए पनि उनको पुस्तकको रुपमा प्रकाशित यो पहिलो कृति हो । परिवेश कथा संग्रहमा १० वटा कथा संग्रहित छन् । धेरैजसो कथा सामाजिक तथा पारिवारिक पशिवेश झल्कने खालका रहेका छन् । कथाकारको लेखनी सामान्य र सरल रहेको लोकार्पणका अवसरमा सहभागीहरुले बताए ।

नयाँ मन्त्रीहरुको शपथ आजै

काठमाडौं । नेकपा एकीकृत समाजवादीका तर्फबाट बन्ने नयाँ मन्त्रीहरुले आजै शपथ लिने भएका छन् । राष्ट्रपनि निवास निवास शीतल निवासमा हुने शपथ कार्यक्रमको समय भने सार्वजनिक भएको छैन । यद्यपि शपथ भने आजै हुने बताइएको छ ।

आइतबार बसेको नेकपा (एस)को सचिवालय बैठकले पुराना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम सिफारिस गरेको थियो ।

नयाँ मन्त्रीहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा यसअघिका राज्यमन्त्री भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ र शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा गैर सांसद् शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसी सिफारिस भएका छन् ।

नेकपा एकीकृ समाजवादीले स्वास्थ्यमन्त्री रहेका विरोध खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको हो ।

रामचन्द्र पौडेललाई सिर्जना सिंहको प्रश्न- गोरखामा जेल पर्दा मेरो सहयोग बिर्सनुभयो ?

काठमाडौं । नेपाली कांग्रेसका रिष्ठ नेता रामचन्द्र पौडेलको अभिव्यक्तिको सिर्जना सिंहले खण्डन गरेकी छन् ।

वंशवादका आधारमा टिकट वितरण हुँदा काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस हारेको वरिष्ठ नेता पौडेलको अभिव्यक्ति दिएका थिए । नेता पौडेको उक्त अभिव्यक्तिप्रति कांग्रेसबाट पराजित काठमाडौं महानगरकी उम्मेदवार सिंहले खण्डन गरेकी हुन् ।

उनले आफ्नो राजनीतिक पृष्ठभूमि बिर्सेको हो भनी प्रश्न समेत गरेकी छन् । आफ्नो राजनीतिक पृष्ठभूमिबारे जानकार पौडेलले गरेको टिप्पणी सुहाउँदो नभएको पनि उनको भनाई छ ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्– ‘मेरो राजनीतिक यात्रा प्रकाशमानले भन्दा तपाईंले पैला चिन्नुभएको थाहा पाउनु भएको ९हामी छिमेकी जिल्लाबासी पनि। मेरो बिहेअघि तपाईं गोरखामा जेल पर्नु हुँदाको समयमा मेरो साथ र सहयोग बिर्सनुभएको हो दाईरु यो कुरा तपाईंको मुखबाट आउँदा, भन्दा अली सुहाएन की दाई ।’

नेपाली कांग्रेसले वैशाख ३० मा भएको स्थानीय चुनावबारे औपचारिक रूपमा समीक्षा गरिसकेको छैन । काठमाडौं महानगरमा सत्ता गठबन्धनसँग मिलेर कांग्रेसले संयुक्त उम्मेदवारी दिए पनि नतिजा आफ्नो हातमा पार्न सकेको थिएन । स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएका थिए ।

भारतमा फेरि कोरोना भाइरसको संक्रमण बढ्दै

नयाँदिल्ली । भारतमा फेरि कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको छ । भारतको केरला र महाराष्ट्रमा सबैभन्दा धेरै सङ्क्रमण फैलिरहेको हो ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले ३४ दिनपछि फेरि सङ्क्रमण बढेर सङ्क्रमितको संख्या एक प्रतिशतभन्दा धेरै पुगेको जनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । महाराष्ट्रमा हिजो १,४९४ जनालाई सङ्क्रमण भएको पुष्टि भएको छ ।

यस्तै, तमिलनाडु, मुम्बई, दिल्ली र राजस्थानलगायत क्षेत्रमा पनि सङ्क्रमण फैलिन थालेको खबरमा उल्लेख छ । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले सङ्क्रमण बढिरहेकाले सावधानी अपनाउन अपिल गरेका छन् । भारतमा हिजो ४ हजार २७० जनालाई सङ्क्रमण भएको पुष्टि भएको थियो ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि केन्द्रीय स्वास्थ्य मन्त्रालयले खोप अभियानलाई अझै प्रभावकारी बनाउँदै लैजाने जनाएको छ । त्यसका लागि घर घरसम्म नै पुग्ने अभियान सुरु भएको छ ।

भारतका २७ राज्यमा ६० वर्षभन्दा माथिका धेरैजसोले खोप लगाउन बाँकी रहेको छ । आउँदो जुलाई ३१ तारिखसम्म ६० वर्षभन्दा माथिका सबैलाई खोप लगाउने भारतको तयारी छ ।

अमेरिकाले युक्रेनलाई लामो दूरीसम्म प्रहार गर्न मिल्ने अस्त्र दिने घोषणा गरेपछि पुटिनले दिए यस्तो चेतावनी

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने लक्ष्यको सूची विस्तार गर्ने चेतावनी दिएका छन् । पश्चिमा देशहरूले किएभमा लामो दूरीसम्म प्रहार गर्न मिल्ने अस्त्रहरू दिने घोषणा गरेपछि पुटिनले उक्त चेतावनी दिएका हुन् ।

युक्रेनलाई लामो दुरीमा प्रक्षेपण गर्न मिल्ने हतियार दिने तयारीमा रहेको अमेरिकालाई पनि पुटिनले चेतावनी दिएका छन् । आइतवार यस्तो भएमा युद्ध थप लम्बिने चेतावनी पुटिनले दिएको रुसी सञ्चारमाध्यमले जनाएको सिएनएनमा उल्लेख छ।

रुसी सेनाको विस्फोटका कारण राजधानी किभका विभिन्न भागमा आइतबार ठूलो क्षति भइरहेका बेला पुटिनको चेतावनी आएको हो । पुटिनले भनेका छन्– ‘किभमा नयाँ हतियार पठाउनु भनेको सशस्त्र युद्धलाई जति सकिन्छ पर धकेल्न हो ।’

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई आफ्नो सुरक्षा गर्न अत्याधुनिक रकेट प्रणाली नै दिने घोषणा गरेका थिए । अमेरिकाले एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट प्रणाली एचआईएमएआरएस पठाउने घोषणा गरेको थियो ।

बाइडेनले उक्त रकेट रसियाभित्र आक्रमण नगर्ने शर्तमामात्रै युक्रेनलाई दिइने बताएका थिए । उनले कतिवटा रकेट दिने भन्नेबारेमा भने केही बताएका छैनन् ।

लङ रेन्जका मिसाइल किभ पठाएमा यसको उचित निष्कर्ष निकालिनेसमेत पुटिनले बताएका छन् । ‘यदि उनीहरुले पठाएमा, हामी यसबारे उचित निष्कर्ष निकाल्नेछौ। हामी आफ्नै हतियार प्रयोग गर्नेछौ जुन हामीसँग प्रशस्त नै छ, जुन हामीले अझै प्रयोगमा ल्याएका छैनौं’, पुटिनले चेतावनी दिए ।

रूसले मार्चको अन्त्यमा किभ क्षेत्रबाट फिर्ता गरेपछि दोनबासमा आफ्नो सैन्य प्रयासहरू पुनः केन्द्रित गरेको छ । रूसले त्यहाँ स्थल मार्गमा ढिलो तर स्थिर प्रगति गरिरहेको बेला धेरै देशहरूले किभलाई अत्याधुनिक हतियार पठाउने वाचा गरेका छन् ।

रुसले युक्रेनमा युद्ध थालेको १०३ दिन पुरा भइसकेको छ। यो अवधिमा धेरै युक्रेनीले देश छाडिसकेका छन्।

भारतको उत्तराखण्डमा बस दुर्घटना, २६ को मृत्यु

भारतको उत्तराखण्डमा गएराति (आइतबार साँझ) भएको बस दुर्घटनामा २६ यात्रुको मृत्यु भएको छ । उत्तराखण्डको उत्तरकाशीमा यूके – ०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेको उत्तराखण्ड प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुने सबै चार धाम तिर्थ यात्राका गइरहेको बताइएको छ । दुर्घटनाग्रस्त बसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार रहेकोमा २६ जनाको ज्यान गएको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सञ्चार माध्यमहरुलाई जानकारी दिएका छन् ।

दुर्घटनापछि एनडीआरएफको टोलीले घट्नास्थल पुगेर उद्धार कार्यमा जुटेको थियो ।

गहिरो खाडल र अन्धकारका कारण शव निकाल्ने तथा घाइतेहरुको उद्धार गर्न समस्या भएको थियो ।

घाइते ४ जनको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

आज २०७९ जेष्ठ २३ गते साेमवारकाे राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। लक्ष्य पहिल्याउन सकिनेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। तर आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। सोखले खर्चको मात्रा भने बढाउनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धि दिलाउनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अरूका विषयमा चासो लिँदा झमेला बेहोर्नुपर्ला। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। व्यापारमा लाभ लिने समय छ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। प्रियजनको साथले नयाँ आशा जगाउनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

तपाईको दिन शुभ रहोस् ।

बालुवाटार पुग्यो एकीकृत समाजवादीबाट बन्ने नयाँ मन्त्रीकाे नाम, यी हुन् नयाँ मन्त्रीहरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले हाल देउवा नेतृत्वको सरकारमा बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकको निर्णयअनुसार बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम सिफारिस गरिएको हो ।

नेकपा एसले नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मेटमणि चौधरीलाई सहरी विकास मन्त्री, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्रीका रुपमा सिफारिस गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्री बनाइएको छ भने स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई सिफारिस गरिएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर एसका नेताहरु विजय पौडेल र प्रमेश हमालले नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । नयाँ मन्त्रीहरुको सपथ ग्रहण पनि आजै गराउने बताइएको छ ।

नेपालमा थप १३ जनामा कोरोना पुष्टि, ९ जना निको भए

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६३४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१ हजार ५७९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९ जना र १ हजार ५५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ११ लाख १९ हजार ४५० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६७ हजार १३७ पुगेको छ । हाल नेपालमा १ सय १० जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

पाकिस्तानी प्रधानमन्त्री शेहबाजलाई पक्राउ गर्न अनुमति माग

पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले अदालत समक्ष प्रधानमन्त्री शेहबाज शरीफ, उनका छोरा र पञ्जाब प्रान्तका मुख्यमन्त्री हम्जा शेहबाजलाई १६ अर्ब रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ गर्न अनुमति दिन अनुरोध गरेको छ।

यद्यपि, अदालतले उनीहरूको अन्तरिम जमानतलाई जुन ११ सम्म लम्ब्याएको छ। शरीफ परिवारका वकिल मोहम्मद अमजद परवेजले बताएअनुसार उक्त मुद्दामा डेढ वर्षदेखि अनुसन्धान चलिरहेको छ तर अझै पनि एफआईएले उनका विरुद्ध कुनै प्रमाण पेश गर्न सकेको छैन।

अमजद परवेजले मनी लान्ड्रिङ मुद्दामा जमानत पुष्टि गर्न आफ्नो तर्क पेश गर्न थालेपछि दुबै पीएमएल(एन नेताहरू अदालतबाट बाहिरिएका थिए।
दुवैजना जेलमा हुँदा एफआईएले बाबु(छोरालाई सोधपुछ गरेको वकिलले बताएका छन् ।
न्यायाधीशले अन्य सबै सरोकारवालाहरूलाई अर्को सुनुवाइमा आफ्नो तर्क प्रस्तुत गर्न आदेश दिएका छन् । अर्को सुनुवाइ जुन ११ हुनेछ ।

सुलेमान शाहबाज, ताहिर नक्वी र मलिक मकसूद विरुद्ध गैर जमानती वारेन्टको रिपोर्ट पेश गर्न एफआईएलाई निर्देशन दिइएको छ ।

अर्कोतर्फ, रमजान चिनी मिल र आशियाना हाउजिङ मुद्दामा सुनुवाइका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले उपस्थित भएर आफ्नो तर्क राख्न पाउँन अनुरोध गरेका थिए।
नेशनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी) ले अदालतमा मुद्दा दायर गरेको थियो।

सुनुवाईको क्रममा अभियोजक असदुल्लाह मलिकले भ्रष्टाचारका मुद्दाहरूसँग सम्बन्धित रेकर्डहरू प्रस्तुत गर्ने साक्षीहरू पेश गर्न माग गरेका थिए ।

सबै बहस सुनेपछि सुनुवाइ जुन २० गतेसम्मका लागि स्थगित गरिएको छ ।

जिओ टिभीका अनुसार शहबाजलाई आशियाना हाउजिङ मुद्दामा अभियोग लगाइएको छ।

फेडरल इन्भेस्टिगेशन एजेन्सी ९एफआईए० ले सन् २०२१ को डिसेम्बरमा शहबाज र हम्जा विरुद्ध चिनी घोटाला प्रकरणमा १६ अर्ब रुपैयाँको धनको अपचलनमा संलग्न भएको आरोपमा विशेष अदालतमा चलान पेस गरेको थियो।

एफआईएले उनीहरूलाई नोभेम्बर २०२० मा पाकिस्तान दण्ड संहिता, भ्रष्टाचार निवारण ऐन र एन्टि मनी लान्ड्रिङ ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो।

क्यान्सर सर्वाइभर्स दिवसमा विज्ञहरुले भने, ‘ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुन्छ, निराश हुनुपर्दैन’

काठमाडौं । ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुने भन्दै विज्ञहरुले निराश हुनुनपर्ने बताएका छन् । आइतबार वीर अस्तालमा क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले ब्लड क्यान्सरको उपचार सर्वसुलव हुने भएकाले ब्लड क्यान्सर हुँदैमा आत्तिनु नपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै वरिष्ठ क्यान्सर तथा छाती रोग विशेषज्ञ डा. मदनकुमार पियाले ब्लड क्यान्सर हुँदैमा हतोत्साहित हुनुनपर्ने बताए । उनले अहिले धेरै प्रकारको टेक्नोलोजि र विज्ञहरु आइसकेकोले ब्लड क्यान्सरको उपचार सहज भइसकेको बताए ।

उनले भने, ‘रोग लाग्यो भन्दैमा हतोत्साहित हुने, औषधि नै नगर्ने, हाम्रो पालोमा रोग लागेपघि घर पठाइन्थ्यो सकिन्थ्यो । तर अब त्यो जमाना होइन, धेरै प्रकारको टेक्नोलोजी र विज्ञहरु आइसक्नुभएको छ ।’

त्यस्तै भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. विष्णुदत्त पौडेलले क्यान्सरका धेरै औषधिहरु निःशुल्क पाइने गरेको तर, यसको जनतामाझ पु¥याउने कुरामा कमजोरी रहेको बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि ब्लड क्यान्सर भएर निको भएकोले ब्लड क्यान्सर निको हुनेमा द्वीमत नरहेको बताए । निर्देशक पौडेलले सरकारको क्यान्सरको क्षेत्रमा आम नागरिकहरुलाई सहयोग गर्नुपर्ने र क्यान्सर पीडितका लागि सुविधायुक्त अस्पतालहरु बनाउनु पर्ने बताए ।

उनले भने, ‘क्यान्सरका धेरै औषधिहरु निःशुल्क पनि पाइन्छन्, त्यो पनि अझै सबैले पाउन सकेका छैनन् । हामीले यसलाई बढाउनु पर्नेछ । ब्लड क्यान्सर उपचार गरेर निको हुन्छ भन्ने सबैभन्दा राम्रो उदाहरण हाम्रो महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई हेर्दा हुन्छ । यसमा सरकारको दृष्टिकोणबाट पनि सहयोग हुनुपर्छ । सरकारले क्यान्सरका बिरामीहरुका लागि उहाँहरुको सुविधा उपलब्ध हुने खालको सेवाहरु डेभलप गर्नुपर्छ ।’

त्यस्तै भारतस्थित राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका हेमाटो–अंकोलोजी एण्ड बोनम्यारो ट्रान्सप्लान्टका निर्देशक डा. दिनेश भुरानीले क्यान्सरका सबै बिरामी भारत गएर उपचार गर्न नसक्ने भएकोले नेपालमै आफू आएर निःशुल्क उपचार गर्ने गरेको बताए । उनले बिस्तारै बिस्तारै क्यान्सरको उपचार नेपालमा सहज र सुलव हुँदै जाने बताए ।

उनले दुई वर्ष यता कोरोनाका कारण राम्रोसँग काम गर्न नपाएको र अब नेपालकै स्थानीय सिस्टमलाई विकास गर्न आवश्यक रहेको बताए । उनले भने, ‘क्यान्सरका सबै बिरामी भारत गएर उपचार गर्नुभन्दा भारतबाटै यहाँ डाक्टर आएर उपचार गर्दा सस्तो हुन्छ र उपचार पनि राम्रो हुन्छ भन्ने सोचेर नै मैले नेपालमा आएर क्यान्सरको उपचार गर्न थालेको हुँ । हामीले ग्रुपमा यो काम गरिरहेका छौँ । बिस्तारै बिस्तारै क्यान्सरको उपचार नेपालमा सहज र सुलव हुँदै जानेछ । हामीले दुई वर्ष यता काम राम्रोसँग गर्न सकेका छैनौँ । कोरोनाका कारण अब लोकल सिस्टमलाई डेभलप गर्नुपर्छ ।’

त्यस्तै हेमाटोलोजिस्ट डा.निरजकुमार सिंहले वीर अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट बाहेकका सबै उपचारहरु गरिरहेको बताए । उनले जुनसुकै ब्लड क्यान्सर सम्बन्धी जुनसुकै उपचार समयमै भए निको हुने बताए । उनले सरकारलाई ब्लड क्यान्सरसम्बन्धी विशेष सेवा दिनका लागि घच्घच्याएर सहज उपचारको पहल गर्नुपर्ने बताए ।

उनले भने, ‘हामीले ब्लड क्यान्सरको उपचार हामीले लगभग बनम्यारो ट्रान्सप्लान्ट बाहेकका सबै उपचारहरु गरिरहेका छौँ । हामी सबै खालका ब्लड क्यान्सर रिलेटेडमा उपचार गरिरहेका छाँै । ब्लड क्यान्सर वा जुनसुकै ब्लड क्यान्सर सम्बन्धी जुनसुकै उपचार समयमै भए निको हुन्छ । डराउनु पर्दैन । हामीले सरकारलाई यसको बारेमा घच्घच्याउने हो भने हामी सबै खाले ब्लड क्यान्सरसम्बन्धी रोगको उपचार गर्न सक्छौँ ।’

त्यस्तै वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रकुमार बस्नेतले वस्र अस्पतालमा ब्लड क्यान्सर उपचारको लागि स्तरोन्नती गर्ने काम भइरहेको बताए । उनले वीर अस्पताललाई सेन्टर एक्सेलेन्स हुने गरेर काम शुरु भएको र वीर अस्पताललाई नेपाली नागरिकको अस्पताल, विपन्नको अस्पताल बनाउने काम भइरहेको बताए । अस्पतालमा सबै किसिमको सेवाहरु विशिष्टीकृत हुन्छ भन्ने कुरा प्रमाणित गर्ने गरेर काम अघि बढिरहेको बताए ।

उनले भने, ‘हामीले उहाँलाई पारिश्रमीक सेवा सुविधा दिन सकेका छैनौँ । किनभने सरकारको त्यो मापदण्ड छैन । तरपनि उहाँले निःशुल्क सेवा दिइराख्नुभएको छ । हामीले सेवा दिइरहेका छौँ, स्तरोन्नती गर्न खोजेका छौँ, हामी अझै पनि यो सेन्टरलाई सेन्टर एक्सेलेन्स हुनेगरी हामीले काम गरिरहेका छौँ । हामी अझै वीर अस्पताललाई नेपाली नागरिकको अस्पताल, विपन्नको अस्पताल र यसमा सबै किसिमको सेवाहरु र विशिष्टीकृत हुन्छ भन्ने कुरा स्टाब्लीस गर्न खोजिरहेका छाँै ।’

त्यस्तै क्यान्सर पीडित डा. प्रेम दंगालले टेक्नोलोजीको सिस्टम विकास भइसकेकोले अबका दिनमा ब्लड क्यान्सर भएरै मरिन्छ भन्ने सोच्ननहुने बताए । उनले ब्लड क्यान्सरको उपचार नेपालमै उपलब्ध भएको र निको हुने भएकोले यसको सूचना प्रचार गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘२१ औँ शताब्दीको यो टेक्नोलोजीको जमानामा ब्लड क्यान्सर लागेर मान्छे मर्दैन । यो विषयलाई यही तहमा लिएर जानको लागि प्रचारको कुरा गर्न जरुरी छ । त्यो सबै तह, नेपाल सरकार, सञ्चारमाध्यम, सर्वाइभल सोसाइटीहरु, सिभिल सोसाइटीहरुले यो कुरालाई प्रचार गर्नुपर्छ । यसलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।’

त्यस्तै क्यान्सर पीडित रुबी क्षेत्रीले स्वास्थ्यमा सरकारले राजनीति गर्नुनहुने बताइन् । उनले चिकित्सकहरुले ब्लड क्यान्सरको क्षेत्रमा सेवा दिने प्रक्रियालाई सहज बनाउन लागेकोले यसमा साथ दिन आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘सरकारले सुनोस्, हेल्थ इस्यूमा राजनीतिकरण नगर्नुहोस । डा. साबहरुले क्यान्सरको क्षेत्रमा सरल र सहज सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको छ । हामी सहयोग गरौँ ।’

कार्यक्रममा सहभागी क्यान्सर पीडितहरुले नेपालमै ब्लड क्यान्सरको सर्वसुलभ उपचार हुने भएकोले आत्तिनु नहुने बताए । उनीहरुले ब्लड क्यान्सर भयो भन्दै हरेस खानु नहुने र आत्मविश्वासका साथ लड्नुपर्ने बताए ।

बङ्गलादेशमा आगलागी २५ को मृत्यु

बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा कन्टेनर डिपोमा शनिबार भएको आगलागी परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ ।

अझै पनि मृतकको संङ्ख्या बढ्न सक्ने एक वरिष्ठ स्वास्थ्य अधिकारीले बताउनु भएको छ ।

चटगाउँको प्रमुख दक्षिणी बन्दरगाहबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डमा रहेको भित्री कन्टेनर भण्डारण केन्द्रमा शनिबार राति करिब ९ः३० बजे आगलागी भएको थियो ।

आगलागीमा परेर २५ जनाको ज्यान गइसकेको प्रहरी अधिकारीहरुले पुष्टि गरेका छन् ।

चटगाँउ जिल्लाका प्रहरी प्रमुख मोहमद मोमिनुर रहमानले शनिबार राति आगो लागेको र त्यस भीषण आगलागीमा पाँच अग्निनियन्त्रकसहित २५ जनाको मृत्यु भएको बताउनु भएको हो ।

आगो अझै पूर्णरुपमा नियन्त्रणमा नआएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको स्वास्थ्य विभागका निर्देशक हसन सहरियारले एएफपीलाई बताउनु भएको छ ।

आगलागी भएको करिब एक घण्टापछि सयौं मानिसहरूले आगो निभाउने प्रयास गरिरेहको अवस्थामा केमिकल राखेका धेरै कन्टेनरहरू विस्फोट भएको बताइएको छ ।

सो आगलागीमा परी ४० अग्निनियन्त्रक र १० प्रहरीसहित २०० भन्दा बढी घाइते छन् । अधिकारीहरूले आइतबार बिहानसम्म उद्धारको काम जारी रहेको जानकारी दिएका छन् ।

यहाँका दर्जनौँ अग्निनियन्त्रक समूहलाई आगो निभाउन लगाइएको छ । आगलागीसँगै ठूलो विस्फोट पनि भएकोले दर्जनौँ अग्नि नियन्त्रकसहित घाइते भएका थिए ।

चटगाउँको एक स्थानीय अस्पतालका चिकित्सकले जलेको अवस्थामा रहेका कैयौँ मानिस गम्भीर अवस्थामा रहेका पनि बताएका छन् ।

काँग्रेस-एमाले-माओवादीसँग त सहकार्य हुन्छ, राजेन्द्र लिङ्देनसँग किन हुँदैन ? : अध्यक्ष थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाको एजेन्डामाथि सर्त राख्दै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग आगामी दिनमा सहकार्य हुनसक्ने बताएका छन ।

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजसंस्थाको एजेण्डामा पुनरविचार गरे राप्रपासँग भोलिका दिनमा सहकार्य हुनसक्ने बताएका हुन् ।

उनले काँग्रेस, एमाले र माओवादीसँग त सहकार्य भएको भन्दे राप्रपासँग किन नहुने भन्दै तर्क गरे ।

तरपनि एकताका लागि राजसंस्थालाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्ने उनले बताए ।

उनले विगतमा राजसंस्थाका लागि लामो समय दुख गरेको बताउदै अबका दिनमा राजसंस्था फर्कन नसक्ने उनले दावी गरे ।

हालको अवस्थामा राजसंस्थाको एजेण्डा असम्भव भएको उनले जिकिर गरे । उनले राजसंस्थाको एजेण्डाले राम्रो एजेण्डाहरु छाँयामा परेको बताए ।

उनले आगामी दिनमा धार्मिक युद्ध नहोला भन्ने ठाउँ नरहकोसमेत बताए । पछिल्लो समय धार्मिक द्वन्द्व झल्काउने गरी विभिन्न गतिविधि भइरहेकाले नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट घोषणा गर्नुपर्ने बताए । सो भए मात्रै नेपालमा धार्मिक युद्ध रोकिने उनले दावी गरे ।

‘हिन्दु, बौद्ध र किरात धर्मप्रति संगठित रुपमा आतंक सिर्जना गरिएको र यो प्रकृयालाई रोक्न नसके धार्मिक द्वन्द्व हुनसक्ने खतरा छ,’ उनले भने, ‘धार्मिक द्वन्द्व रोक्नका लागि नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र घोषणा गर्नुपर्छ।’