२७ जेष्ठ २०७९, शुक्रबार १२:१९ – Page 2 – Nagarikabhiyan : National News

कार्यसम्पादन मूल्यांकनको आधारमा विभिन्न तहमा बढुवा सिफारिस

काठमाडौं। शिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालय शिक्षा विकास निर्देशनालय, धनकुटाले कार्यसम्पादन मूल्यांकनका आधारमा शिक्षक बढुवाका लागि सिफारिस गरेको छ ।

निर्देशनालयले शिक्षक सेवा आयोग नियमावली २०५७ ९सशोधन सहित० बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकलाई बढुवाको लागि सिफारिस गरेको जनाएको छ । प्रदेश एकका विभिन्न जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसारका उम्मेदवारहरूको बढुवा नामावली प्रकाशित गरेको छ ।

बढ्वा सिफारिस समितिले गरेको बढुवा उपर चित्त नबुझेमा ३५ दिनभित्र निर्देशनालयले तोकेको राजस्व खातामा जम्मा गरी निर्देशनालयमा आवेदन दिनसमेत निर्देशनालयले सूचित गरेको छ ।

 

मैले कसैलाई पनि प्रधानमन्त्री बनाउँछु भनेको छैन : अध्यक्ष ओली

मोरङ । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अत्यधिक स्थानमा विजयी गराउने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने धारणा राख्नुभयो ।

अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताउनुभएको छ । उहाँले मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको तथा अन्य पार्टीहरु वामपन्थी नभएको जिकिर गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले नेकपा एकीकृत९ समाजवादी०का कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताउनुभयो । उहाँले आफुले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको बताउनुभयो ।

उहाँले स्थानीय पालिकाको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने भन्दै सिट सङ्ख्याका हिसाबले केही कम आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको जिकिर गर्नुभयो ।

माधव नेपालको स्थिति हविगत भइसक्यो, मन्त्रीले पार्टीकाे निर्णय टेरेनन् : अध्यक्ष ओली

विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले पार्टीबाट निस्काशित मन्त्रीहरुलाई पनि थमाएर राख्दा पनि माधव नेपाल नेतृत्वको पार्टी निरिह रहेको आरोप लगाएका छन् ।

विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले नेपाल नेतृत्वको पार्टीको हविगत भएको टिप्पणी गरेका हुन् ।

‘पार्टीले मन्त्री निकाल्यो तर निक्लिएनन् । पार्टीको हालत यस्तो भइसक्यो,’ उनले भने ।

त्यस्तैगरी उनले पहिले एमाले फुटाएर जानेहरुलाई पुन पार्टीमा स्वागत गर्ने चलन नरहेको बताएका छन् ।

शुक्रबार विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले फुटेर जानेहरु एमाले प्रवेश गर्न सक्ने तर पार्टीले स्वागत भने नगर्ने उल्लेख गरे ।

‘पार्टी छाडेर गएकाहरू पार्टी प्रवेश गर्न सक्नु हुन्छ तर स्वागत गर्ने चलन छैन,’ उनले भने ।

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

विराटनगर । ज्यान मार्ने उद्योग अभियोगमा पक्राउ परेका मोरङको केराबारी गाउँपालिका–२ का ४८ वर्षीय भक्तबहादुर ठकुरीको प्रहरी हिरासतमा मृत्यु भएको छ ।

जेठ २५ गते घरबाटै पक्राउ परेका ठकुरीलाई अदालतमा उपस्थित गराउन बिहीबार सरकारी वकिल कार्यालय मोरङमा पेस गरेको थियो । सरकारी वकिल कार्यालयमा बेहोस भएका उनको कोसी अस्पताल पुर्याए लगत्तै मृत्यु भएको हो ।

ज्यान मार्ने उद्योग मुद्दामा प्रतिवादी बनाइएका ठकुरीको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।

आफ्नै पत्नी सकुन्तला ठकुरीलाई आक्रमण गरेर गम्भीर घाइते बनाएको अभियोगमा उनी पक्राउ परेका थिए । सकुन्तलामाथि आक्रमण भएको घटना २०७८ माघको हो ।

त्यसबेला प्रहरीले पक्राउ गरेपछि ठकुरीलाई कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखिएका कारण पछि उपस्थित गराउने शर्तमा उनलाई माघ ४ गते हाजिर जमानीमा छाडिएको थियो ।

ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी ठकुरीलाई प्रहरीले बिहीबार अदालतमा उपस्थित गराउन विराटनगर ल्याएको थियो । सरकारी वकिल कार्यालयमा बेहोस भएका उनको कोसी अस्पताल पुर्याए लगत्तै मृत्यु भएको हो ।

आफन्तले भने प्रहरीको कुटपिटबाट मृत्युु भएको दाबी गरेका छन् । प्रहरीले कुटपिट गरेका कारण भिनाजुको मृत्यु भएको मृतकका सालो किसन शाहीले आरोप लगाए । ‘घरबाट सकुशल ल्याएको मान्छेको मृत्यु प्रहरीको कुटपिटबाट भएको हुनसक्छ,’ उनले भने, ‘निश्पक्ष छानविन गरी दोषीलाई कारबाही हुनुपर्छ ।’

राज्यको नियन्त्रणमा रहेका बेला मृत्युु भएकाले मृतक परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने उनको माग छ ।

नेपाल-भारतमैत्री बसको ठक्करले साेही बसका सहचालकको मृत्यु

चितवन । पृथ्वी राजमार्गको मौवाखोलामा बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ । आज बिहान ४ बजेको समयमा इच्छाकामना गाउँपालिकाको मौवाखोलामा बसका सहचालक सुनसरी झुम्काका २३ वर्षीय जनक दाहालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट भारतको सिलगीतर्फ जाँदा गरेको बा५ख ७८४३ नम्बरको नेपाल(भारतमैत्री बसले सोही बसका सहचालक दाहाललाई ठक्कर दिएको थियो । दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ भने बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

पहिराले घर पुरिँदा एकजना हराए

धादिङ । यहाँकाे त्रिपुरासुुन्दरी गाउँपालिका–५ घिमिरेगाउँमा पहिरोले घर पुरिँदा एक जना हराइरहेका छन् । घरमाथिबाट खसेको पहिरोले घर पुरिएपछि त्रिपुरासुन्दरी गाउँपालिका–५ घिमिरेगाउँका ५५ वर्षीय सीताराम भन्ने नेत्रप्रसाद खाण हराइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सूचना अधिकारी राम थापाले जानकारी दिनुभयो ।

रातिको समयमा अविरल वर्षाका कारण भूकम्पबाट पुनःनिर्माण गरिएको घरमाथिबाट सडक खनेर थुपारिएको माटोको ढिस्कोसहितको लेदोले पुरिएको थियो । घरका अन्य सदस्य अर्काे घरमा रहेकोले सकुशल रहेका छन् । खाणको अवस्था भने पत्ता लागेको छैन । पहिरोले घर छोपिएको छ ।

ठूलो पहिरोले घर पुरिएको कारण उद्धारमा समस्या आएको छ । स्थानीय जनता, समाजसेवी र नेपाल प्रहरी उद्धारमा लागिरहेका छन् । घटनास्थल क्षेत्रमा जेसिबी जान नसकेको र थप उद्धार टोली आवश्यक भएको नेपाल रेडक्रस सोसाइटीका सभापति नारायण तिमल्सिनाले जानकारी दिनुभयो ।

आँबुखैरेनीमा सडक भासिँदा मस्र्याङ्दी नदी किनारमा भेटियो दुई पुरुषको शव

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ ।

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको छ । मृतक दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिनुभयो ।

पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ । उहाँले भन्नुभयो, “नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने सङ्केत देखिएको छ ।”

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भाँसिएर जोखिम र राजमार्ग अवरुद्ध बनेको छ ।

सडकको तलाको भाग भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

आगलागीबाट जलेर दुई घर नष्ट

कर्णाली । गए राति अचानक आगलागी हुँदा तिला गाउँपालिका–८ जुम्ला पुरुगाउँको एक घर पूर्णरुपमा नष्ट भएको छ ।

पुरुगाउँ निवासी वीरमान नेपालीको घरमा गए राति ११ः३० बजे आगलागी भएको थियो । उक्त आगलागीबाट ढुङ्गा र माटोले बनेको दुईतले घर पूर्णरुपले नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।

घरभित्र रहेका भाडावर्तन, लत्ताकपडा, अन्नपात, २७ वटा खरायो, १० कुखुरा जली नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगो निभाउने क्रममा नेपाली सामान्य जली घाइते भएका छन् । प्रहरीचौकी रारालिही जुम्ला र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आउँदा मानवीय क्षति हुन जोगिएको जनाइएको छ । त्यस्तै, हिजो राति नै करिब १० बजेको समयमा लेकबेसी नगरपालिका–३ सुर्खेत साजेस्थित गगन पोख्रेलेको फुसले छाएको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।

राति ११ः३० बजे प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि मानवीय क्षति नभएको तर घरभित्र रहेका लत्ताकपडा, भाडावर्तन, अन्नपात गरी रु ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा अप्टिकल फाइबर विस्तारमा तीव्रता

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप अप्टिकल फाइबर विस्तारमा तीव्रता दिएको छ ।

ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउन १८ वटा प्याकेजमार्फत ७४ जिल्लामा तोकिएबमोजिमका स्थानमा जडान सम्पन्न भई सेवा सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ ।

सम्पन्न भएका परियोजनामध्ये हालसम्म आठवटा परियोजनाको अनुगमन तथा प्रमाणीकरण भइरहेको छ भने बाँकी परियोजनामा दोस्रो र तेस्रो चरणको अनुगमन र प्रमाणीकरण भइरहेको छ ।

त्यसैगरी सोही कोष परिचालन गरी सञ्चालित मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण गर्ने कार्यलाई तीनवटा प्याकेजमार्फत अगाडि बढाइएको छ । जसमा पहलो प्याकेजअन्तर्गत प्रदेश नं १, मधेस र बाग्मती प्रदेशमा हालसम्म एक हजार ३१४ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न भएको छ ।

त्यसैगरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका कार्य भइरहेको छ । यता सरकारले सकारले आगामी आर्थिक वर्ष २०७९\०८० देखि दूरसञ्चार सेवालाई गुणस्तरी र परपर्दो, प्रभावकारी र सर्भसुलभ बनाउनुका साथै इन्टरनेट सेवालाई सर्भसुलभ रुपमा उपलब्ध गराउन इन्टरनेट सेवाको शुःल्क घटाउने भएको छ ।

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनामध्ये भूकम्पबाट अति प्रभावित आठ जिल्ला ९काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा० का सबै स्थानीय कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट सेवा पु¥याउने कार्य अगाडि बढाइएको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो ।

त्यसको लागि हालसम्म कूल ७६ मध्ये ७२ गाउँपालिका÷नगरपालिकासँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । प्राधिकरणले भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा ब्राडब्याण्ड इन्टरनेट जडान गरी दुई वर्षसम्मको लागि महसुलबापतको रकम उपलब्ध गराउने भएको हो ।

साथै भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौँ उपत्यकाबाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एमबिपिएस क्षमताको ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न कार्यक्रम अघि बढाएकोमा कुल ६५६ मध्ये २९५ स्थानीय तहसँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

भूकम्पबाट अति प्रभावित आठ जिल्लाको तोकिएका स्थानमा क्षमता अभिवृद्धि गर्त र जडान गर्न र सम्पूर्ण आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने कार्यअन्तर्गत छवटा स्थानीय तहले कार्य सुरु गरेको र निजलाई अग्रिम भुक्तानीबापत रु ६७ लाख ९९ हजार ९३१ (कर बाहेक) भुक्तानी गरिएको प्रवक्ता पौडेलको भनाइ छ ।

साथै भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौँ उपत्यकाबाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यअन्तर्गत चार स्थानीय तहले कार्य सम्पन्न गरेकोमा पहिलो चरणको भुक्तानीबापत रु ४९ लाल ४९ हजार ६२३ भुक्तानी गरिएको छ ।

काठमाडौंको फोहोर उठाउन मध्यरातमा सहमति (सहमति-पत्रसहित)

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर उठाउने सहमति भएको छ । शुक्रबार अबेर राति भएको वार्तामा काठमाडौं महानगर र सिसडोल-बन्चरेडाँडाबीच फोहोर उठाउन १८ बुँदे सहमति भएको हो।

सहमतिअनुसार अबदेखि रातिमात्र फोहोर लैजान पाइने छ । आज (शुक्रबार)देखि फोहोर विसर्जनमा स्थानीयबाट हुँदै आएको अवरोध हट्ने छ ।

सिसडोल तथा बञ्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने सहमति भएको छ ।

फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गरिने र फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र मिलाउने पनि सहमति भएको छ।

त्यस्तै फोहोरमैला व्यवस्थापनको कारण प्रभावित भएका क्षेत्रको विकास निर्माणका लागि काठमाडौं महानगरपालिकाले वार्षिक रुपमा बजेट विनियोजन गर्ने, फोहोरलाई स्रोतमा वर्गीकरण गरी व्यवस्थापन गर्ने कार्यको जिम्मेवारी महानगरपालिकाको हुने, प्रभावित क्षेत्रको शिक्षाको गुणस्तर वृद्धिका लागि महानगरपालिकाले सहयोग गर्नेलगायतका विषय सहमतिपत्रमा उल्लेख गरिएको छ।

यसअघि जेठ २३ गते फोहोर उठाउन दिने भनेर त्रिपक्षीय सहमति भएपनि प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए ।

सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिका-१ का अध्यक्ष पदमबहादुर श्रेष्‍ठ बलामी, ककनी गाउँपालिका- २ का अध्यक्ष तिलक बहादुर लामा, धुनीबेंसी नगरपालिका- १ अध्यक्ष बहादुर तामाङ र धुनीबेंसी नगरपालिका- ३ का अध्यक्ष प्रकाश हमालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

 

जाजरकोट जीप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट उद्धार गर्न निर्देशन

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

उहाँले आज गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई घाइतेको उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो । जाजरकोटका प्रजिअ शाहीले गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाको सुर्खेत कार्यालयसँग समन्वय गरी उद्धारका लागि हेलिकप्टर पठाइएको जानकारी दिनुभयो ।

सुर्खेतबाट जाजरकोट जाँदै गरेको क ०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र अन्य पाँच जना गम्भीर घाइते भएका गृह मन्त्रालयले जनाएको छ । अन्य चार जना भने सामान्य घाइते भएको प्रजिअ शाहीले जानकारी दिनुभयो ।

प्रदेश १ को नाममाथि छलफल गर्न एमालेले बनायो समिति

विराटनगर । प्रदेश १ को नामको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाँच सदस्यीय समिति बनाएको छ ।

बिहीबार बसेको एमालेको प्रदेश १ संसदीय दलको बैठकले पूर्व मन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको हो ।

गत फागुनमा मुख्यमन्त्री राजेन्द्र राईले नामकरणका लागि छलफल र समन्वय गर्न तत्कालिन सामाजिक विकास मन्त्री ९हाल स्वास्थ्य मन्त्री० जयराम यादवको नेतृत्वमा समिति गठन गरेका थिए । समितिले फागुन १० गते सर्वदलीय छलफल गरेयता थप छलफल गरेको छैन ।

एमालेले गठन गरेको समितिले नामका विषयमा दलभित्र र अन्य दलसँग छलफल गर्नेछ । पाँच सदयीय समितिको सदस्यमा पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे र उषाकला राई, पूर्व उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत र प्रदेश सांसद अर्जुन राई छन् ।

समितिले शुक्रबारबाट नै छलफल थाल्ने समिति सदस्य जीवन घिमिरेले बताए । ‘नामका विषयमा दल भित्र पनि एकमत छैन’, उनले भने, ‘दलमा छलफल गरेपछि अन्य दलसँग छलफल गर्छौं ।’
प्रदेश १ स्वास्थ्य मन्त्री जयराम यादवले एमालेले समिति बनाएपछि छलफल गर्न सहज हुने बताए ।

‘एमालेले पनि आज समिति बनाएको छ, हामी अब छलफल गर्छौं’, उनले भने, ‘बजेटपछि नामको विषयमा सदनमा छलफल गर्ने तयारी छ ।’

केही दिनअघि मुख्यमन्त्री राजेन्द्र राईले सार्वजनिक कार्यक्रममा ठूलो दल भएका कारण एमालेलाई नामका लागि छलफलको नेतृत्व लिन आग्रह गरेका थिए ।

९० जना सांसद रहेको प्रदेश १ मा एमाले ठूलो दल हो । एमालेले निष्क्रिय रहे प्रदेशको नाम राख्न बहुमत पुग्दैन । प्रदेश सभामा नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादी पार्टीका १०, जसपाका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ जना सांसद छन् । एमाले र राप्रपाबाहेक अरु दल सरकारमा छन् ।

विद्युत् प्राधिकरणले बिहीबार २८४ मेगावाट बिजुली भारत निर्यात गर्दै !

काठमाडौं । आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ । मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहजरूपमा बिक्री भइरहेको छ । त्यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्र सहायकसिद्ध हुने देखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले आजमात्रै मस्र्याङदी र मध्यमस्र्याङदीको बिजुली पनि निर्यात हुने जनाएको छ । भारतमा यतिबेला ऊर्जाको अत्यधिक माग छ । सो माग परिपूर्तिका लागि सामान्यरूपमा नै भए पनि प्राधिकरणले बिजुली निर्यात गरेको हो । त्यसको मात्रामा क्रमशः वृद्धि भएको छ ।

प्राधिकरणले आज छ हजार ८३१.६ मेगावाट घण्टा बिजुली ऊर्जा निर्यात गर्ने भएको छ । भारतमा शेयरबजारमा जस्तै हरेक १५ मिनेटमा बिजुलीको मूल्य फेरबदल हुने गर्दछ । त्यस आधारमा विभिन्न ९६ ब्लक निर्धारण गरिन्छ । यस आधारमा प्राधिकरणले निर्यात गरेको बिजुलीको मूल्य प्रतियुनिट १९ रुपैयाँ २० पैसा बराबर पाइने भएको छ ।

भारतको ऊर्जा नियमक निकायले अधिकतम भारु १२ सम्म मात्रै बिजुलीको बिक्री वितरण गर्न पाउने व्यवस्था गरेको छ । प्राधिकरणले औसतमा भारु ६.९९ प्राप्त गरेको छ । मनसुनको समयमा भारतमा अत्यधिक गर्मी हुने र बिजुलीको माग अत्यधिक हुने भएकाले बिजुली उपलब्ध भएको अवस्थामा आवश्यकताका आधारमा निर्यात हुनसक्ने अवस्था छ । त्यस आधारमा प्राधिकरणले कूल सात करोड युनिट बराबर बिजुली निर्यात गर्ने भएको छ ।

प्राधिकरणले मनसुनका छ महिनामा मात्रै कूल रु २५ अर्ब बराबरको बिजुली निर्यात गर्ने लक्ष्य राखेको छ । सोही आधारमा आज कूल २८४ मेगावाट बराबर बिजुली निर्यात हुनेछ । प्राधिकरणका अनुसार त्रिशूली जलविद्युत् आयोजनाको ५५३.६ मेगावाट घण्टा, देवीघाटको ३४५.५ मेगावाट घण्टा, कालीगण्डकी ‘ए’को तीन हजार ३३४ मेगावाट घण्टा, मस्र्याङदीको एक हजार ५९५ मेगावाट घण्टा र मध्यमस्र्याङदीको एक हजार तीन दशमलव पाँच मेगावाट घण्टा बराबरको बिजुली निर्यात हुनेछ ।

इनर्जी एक्सचेञ्ज मार्केटमा प्रतियुनिट कूल भारु १२ बराबरको उपलब्ध हुनेछ । त्यस्तै औसतमा कूल भारु ६।९९ र न्यूनतम भारु २।४९९ मा बिक्री हुनेछ । गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको भारत भ्रमणका क्रममा कूल ३६४ मेगावाट बराबरको बिजुली निर्यात गर्ने गरी सहमति भएको थियो । सोही आधारमा प्राधिकरणले २०० मेगावाट बराबरको बिजुली खुला बजारमा समेत बिक्री गर्ने तयारी गरेको छ । त्यसका लागि एनभिभीएनलगायतका कम्पनी छनोट भइसकेका छन् ।

मुलुकको प्रणालीमा कूल दुई हजार ३०० मेगावाट बराबरको जडित क्षमता पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हाल कूल आन्तरिक माग एक हजार ६३३ मेगावाट बराबर छ । प्रणालीमा लगातार बिजुली थप भइरहेको छ ।

चालु आवमा कूल ६२१ मेगावाट बिजुली थप भएको छ । केही आयोजनाबाट बिजुली थपिने क्रममा नै छ । आगामी आवमा कूल ७०० मेगावाट बढी बिजुली थप हुने सरकारले प्रक्षेपण गरेको छ । हाल प्रणालीमा प्राधिकरणको १० हजार ६७७ मेगावाट घण्टा, प्राधिकरणका सहायक कम्पनीबाट ११ हजार २५१ मेगावाट घण्टा, निजी क्षेत्रका आयोजनाबाट १४ हजार ९२२ मेगावाट घण्टा बिजुली उपलब्ध छ ।

भारततर्फ बिजुली निर्यातको मात्रा बढेपछि टनकपुर बिन्दुबाट भने दुई हजार ८६ मेगावाट घण्टा बराबरको बिजुली आयात भइरहेको छ । पूर्वको बिजुली पश्चिम पठाउने प्रसारण लाइनको क्षमता नभएका कारणले गर्दा टनकपुरबाट बिजुली आयात गर्नु परिरहेको छ ।

पश्चिम क्षेत्रमा ठूला जलविद्युत् आयोजना नभएकाले त्यहाँको आन्तरिक माग धान्नका लागि पनि बिजुली आयात गर्नु परिरहेको छ । प्राधिकरणले कूल ८७ मेगावाट बिजुली आयात गरिरहेको छ । त्यसलाई बर्षाको समयमा रोक्नका लागि पनि पूर्वको बिजुली पश्चिम पठाउने प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध हट्नु पर्छ ।

नवलपरासीको दुम्कीबासमा दुईवटा टावर निर्माणमा स्थानीयले अवरोध गरेका कारण विगत १२ वर्षदेखि निर्माण सम्पन्न हुनसकेको छैन । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लगातार प्रयास गरे पनि सर्वोच्च अदालतले आवश्यक फैसला नगरिदिँदा प्रसारण लाइन निर्माण हुनसकेको छैन ।

दक्षिण कोरियामा बुधबार १२ हजार बढीमा कोरोना पुष्टि

सोल । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या पछिल्ला केही दिनयता घटेको बताएका छन् । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टामा १२ हजार १६१ जनामा यो सङ्क्रमण देखिएको छ ।

यसअघि अघिल्लो दिन यहाँ १३ हजार ९०० भन्दा केही बढी देखिएका सङ्क्रमितहरु सोमबार गएको २४ घन्टायता घटेका हुन् ।तर यहाँ अघिल्लो हप्तामा भने ९ हजारको हाराहारीमा सङ्क्रमित रहेकामा यो हप्ता केही बढेको देखिएको हो । यहाँ बुधबारसम्ममा १ करोड ८२ लाख जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको समाचारमा जनाइएको थियो ।

पहिले यहाँ दिनमै ४ लाख जतिमा संक्रमण हुने गरेकामा पछिल्ला केही हप्तामा संक्रमण दरमा कमी आएको पाइएको हो । यहाँका अधिकारीहरुका अनुसार यहाँ कोरोना भाइरसका कारण हुने मृत्यु दर भने नगण्य मात्र रहेको छ र निकै थोरै मानिस मात्र अस्पतालमा रहेका छन् ।

रूस–युक्रेन युद्ध : विश्वव्यापी खाद्य सङ्कटको जोखिम बढ्दो

न्यूयोर्क । रूस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य सङ्कटको जोखिम बढेको छ । युद्धले रूसी र युक्रेनी समाज तहसनहस मात्र भएको छैन ९४ देशका एक अर्ब ६० करोड मानिसले खाद्य सङ्कट झेल्नुपर्ने चेतावनी संयुक्त राष्ट्रसङ्घले दिएको छ ।

लम्बिदो युद्धले कुनै न कुनै रूपमा ती देश वित्त, खाद्य, वा ऊर्जा सङ्कट सामना गर्न बाध्य भएका ग्लोबल क्राइसिस रेस्पोन्स ग्रुप बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । युद्धले तीनवटै क्षेत्रलाई जोखिममा पारेको छ ।

राष्ट्रसङ्घीय प्रतिवेदनले खाद्यान्नको निरन्तर बढ्दो भाउ र इन्धनको मूल्यलाई स्थिर राख्न, सामाजिक सुरक्षा प्रणाली लागू गर्न र विकासोन्मुख देशलाई आर्थिक सहयोग बढाउन आह्वान गरेको छ । आगामी वर्ष खाद्यान्न सङ्कट रोक्न र त्यसमा पहुँच र उपलब्धता बढाउन ठोस काम गर्नुपर्नेमा जोड दिइएको छ ।

“यदि युद्ध जारी रह्यो, अनाज र मलको उच्च मूल्य आगामी खेती याममा पनि निरन्तर रह्यो भने मकै, गहुँ र सागसब्जीलगायत खाद्यान्न उपलब्धता घट्ने तथा थपिने ऊर्जा सङ्कटले अर्बौं नराम्ररी प्रभावित हुने छन्”, प्रतिवेदनमा भनिएको छ ।

महासचिव एन्टोनियो गुटरेसले युक्रेन युद्धको प्रभावले जीवनयापनको गम्भीर सङ्कट सिर्जना गरेको र त्यसबाट कुनै पनि देश वा समुदाय उम्कन नसक्ने बताएका छन् । खाद्य सुरक्षा, ऊर्जा र वित्तपोषणमा द्वन्द्वको प्रभाव घटाउन महासचिवले आफ्ना नागरिकहरूको जीवन र जीविकोपार्जन जोगाउन प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

नेपालमा थप २२ जनामा कोरोना पुष्टि, ९ जना निको भए

काठमाडौं । नेपालमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७५३ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ६५५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १२ जना र १ हजार ९८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५४७ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार १९१ पुगेको छ । हाल नेपालमा १ सय १२ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।