काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२२ को उद्घाटन खेलमा नामिबिया र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएका छन् । आईसीसीले अष्ट्रेलियामा आयोजना हुने प्रतियोगिताको तालिका शुक्रबार सार्वजनिक गरेको हो ।
१६ अक्टोबरबाट सुरु हुने विश्वकप १३ नोभेम्बरसम्म आयोजना हुने भएको छ । पहिलो दिन श्रीलंका र नामिबिया भिड्दा सोही दिन क्वालिफायर-२ र क्वालिफायर-३ बीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै साविक विजेता अस्ट्रेलियाले पहिलो खेलमा साविक उपविजेता न्युजिल्यान्डको सामना गर्ने भएको छ । जुन खेल २२ अक्टोबरमा हुनेछ ।
भारत र पाकिस्तानबीचको खेल २३ अक्टोबरमा हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल २ नोभेम्बरमा सिड्नीमा हुनेछ भने १० नोभेम्बरमा एडेलेडमा दोस्रो सेमिफाइनल हुनेछ ।
सुपर १२ को ग्रुप ‘वान’ मा अस्ट्रेलियासँगै न्युजिल्यान्ड, इंग्ल्यान्ड र अफगानिस्तान छन् । समूहमा पहिलो चरण पार गरेका समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताले स्थान बनाउनेछन् । पहिलो चरणको समूह ‘ए’ मा श्रीलंका र नामिबियासँगै ग्लोबल क्वालिफायरबाट छनोट भएका दुई टोली रहनेछन् ।
त्यस्तै समूह ‘बी’ मा वेस्ट इन्डिज र स्कटल्यान्डसँगै क्वालिफायरबाट छनोट भएका दुई टोलीबीच हुनेछन् । त्यस्तै ग्रुप ‘टु’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता रहनेछन् ।
बाँके। लुम्बिनी प्रदेशको बाँकेमा नम्बर नखुृलेको सवारीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बैजनाथ गाउँपालिका–५ रङगिला चोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट सल्यान कालिमाटी गाउँपालिका–७ घुईयाबारी बस्ने ६० वर्षीया गोरी बुढाको बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । हिंसात्मक अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न नागरिक समाजले अपिल गरेको छ ।
डा. केदानरनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले शुक्रबार संयुक्त रुपमा अपिल जारी गर्दै मन्त्री यादवलाई पदमुक्त गर्न आग्रह गरेका हुन् ।
‘मन्त्री रेणु यादवले यही ५ माघ २०७८ रौतहटको गौरमा आयोजित राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्तिहत्या र सामाजिक हिँसा फैलाउने अभिव्यक्ति दिएकोप्रति हामी गम्भीर आपत्ति व्यक्त गर्दछौं,’ उनीहरूले जारी गरेको अपिलमा उल्लेख छ ।
न्युयोर्क । फ्लोरिडाको मियामी सहरबाट लन्डन उडेको अमेरिकी एयरलाइन्सको एउटा विमान मध्य आकाशबाटै फर्किएको छ । विमानभित्रका एक यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि विमान मध्यआकाशबाटै फर्किएको हो । मास्क लगाउन नमानेपछि अमेरिकन एयरलाईनको उडान ३८ को बोइङ ७७७ मध्यआकाशबाट फर्किएको थियो । विमानमा १२९ यात्रु थिए ।
फर्किएर विमान अवतरण गर्ने वित्तिकै प्रहरीले अटेर गर्ने यात्रुलाई पक्राउ गरेको थियो । अमेरिकन एयरलाइन्सले ती यात्रुलाई आगामी दिनमा आफ्ना कुनै पनि उडानमा सेवा नदिने जनाएको छ । अमेरिकामा आन्तरिक उडानका क्रममा कोभिड नियम पालना अस्वीकार गर्नेविरुद्ध शून्य सहनशिलता अप्नाउने संघीय उड्यन प्रशासनले बताउँदै आएको छ । मास्क लगाउन नमान्ने यात्रुले विमान परिचारिकालाई दुव्र्यवहार गरेको विवरण सार्वजनिक भइरहेका बेला पछिल्लो घटना सार्वजनिक भएको हो । -एजेन्सी
कपिलवस्तु । कपिलवस्तुको रामलक्ष्मण सामुदायिक वन बुद्धभूमि ३ बाट ट्याक्टरमा दाउरा चोरी गरी ल्याउने क्रममा स्थानीयले नियन्त्रणमा लिएका छन् । नेपाली काँग्रेस लुम्विनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यको आदेशमा राम लक्ष्मण सामुदायिक वन क्षेत्र बाट साँझ ६ः३० बजे ट्याक्टरमा दाउरा ओसार्न लागिएको थियो ।
राम लक्ष्मण सामुदायिक वनले सञ्चालन गरेको चिरान मिललाई नियम विपरीत ठेक्का लिएका बुद्धभूमि १ पत्थरकोटका ठेकेदार शंकर आचार्य को लु ३ त ३१८३ नम्बरको ट्याक्टर स्थानीयले नियन्त्रणमा लिएका छन् । सामुदायिक वनका अध्यक्ष फेरु थारुले बिवाहको लागी आचार्यको सिफारिसमा दाउरा लिएर आएको वताए । मैले नजान आग्रह गर्दा पनि गएको र सामुदायिक वन समूह सँग कुनै परामर्ष नभएको स्पष्ट पारे ।
यता डिभिजन वन कार्यालय कपिलवस्तु ( गौतमबुद्ध) का प्रमुख दुर्गा बहादुर कार्कीले घटना स्थलमा प्रहरी पुगेको र नियन्त्रणमा लिएको काठ र ट्याक्टर इलाका प्रहरी कार्यालय गोरुसिङ्गे ल्याउने तयारी भएको बताए । तर प्रहरीले भने घटना मिलाएर सामुदायिक वनमा घाट गद्धी गराउने तयारी गरेको छ ।
सैनामैना । ‘समानता, सद्भाव र न्यायका लागि दलित एकता हाम्रो ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ अगाडि बढीरहेको सैनामैना दलित उत्थान समिति, सैनामैनाको प्रथम साधारण सभा तथा अधिबेशन सैनामैनाको सचिन्तन भवनमा सम्पन्न भएको छ । उद्धघाटन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले “दलित समुदायको शसक्तिकरणका लागि पार्टि भन्दा माथी उठेर काम गर्नु पर्ने बताए।
सदियौं बर्ष देखि उत्पीडनमा परेको दलित समुदायलाई हरेक राजनितीक दलले उपभोग मात्र गर्ने तर अधिकार र नेतृत्व दिने सवालमा सधै आनाकानी गर्ने गरेको भन्दै त्यसका विरुद्ध दलितका पक्षमा वकालत गर्ने संस्थाहरुले खबरदारी गर्नुपर्ने बताए । ” लुम्बिनी प्रदेश सभा सदस्य कमला बिश्वकर्माले “दलित समुदाय भित्र पनि दलित महिलाहरु विभेदको सिकार बन्नु परेको जिकिर गर्दै आगामि दिनमा दलितको क्षेत्रमा काम गर्ने संस्थाहरुले किशोरी र महिलाहरुको समग्र बिकासका लागि आवाज उठाउदै सरकारका निकायहरु संग हातेमालो गर्नुपर्ने कुरामा जोड दिनु दिईन । ” कार्यक्रमा सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्किले “सैनामैनामा दलित अधिकारका लागि नगरले सचेतना मुलक कार्यक्रम गर्दै आइरहेको र जातिय बिभेदका निम्ती आफु कठोर भएर उभिने बताएका थिए ।
” नेकपा माओवादी केन्द्र सैनामैनाका अध्यक्ष मान बहादुर महत्त (नारायण)ले “शब्दमा नया संस्कृतिको कुरा गर्ने तर कर्ममा पुरातन संस्कृतिलाई अंगालिरहने प्रवृत्तिको बिरुद्धमा नलागेसम्म दलित मुक्ती नहुने भन्दै नेपाली जनयुद्ध समग्र नेपालि इतिहासकै एक महान युगान्तकारी परिघटना भएको र समाजको सम्पूर्ण क्षेत्रलाई पूरै प्रभाव पारेको वताउदै, दलित मुक्तीको लागि माओवादी केन्द्र कोषेढुङगा भएको बताए । ” कार्यक्रममा नेपालि कांग्रेस लुम्विनि प्रदेश सदस्य रवि विश्वकर्मा, कांग्रेस सैनामैना सभापति रण बहादुर खनाल, नेकपा(एमाले) सैनामैना सचिब बुद्धिराम चौधरी लगाएत र्सनामैनामा सक्रिय रहेका विभिन्न संघ संस्थाका प्रतिनीधिहरुले आ–आफ्नो धारण राखेका थिए ।
कार्यक्रममा सस्थाले गरेको बार्षिक प्रतिवेदन सस्थाका महा–सचिव सन्तोष परियार र आर्थिक प्रतिवेदन सस्थाका कोषाध्यक्ष माया रसाईलीले प्रस्तुत गरेका थिए भने संस्थाका अध्यक्ष सुरज बरालको अध्यक्षता ,उपाध्यक्ष कुमार नेपालीको स्वागत मन्तव्य तथा अम्बिका परियारको सञ्चालनमा सम्पन्न भएको थियो । सैनामैना दलित उत्थान समिति अध्यक्षमा अम्विका परियार सैनामैना दलित उत्थान समितिको प्रथम साधारण सभा तथा अधिवेशनबाट नयाँ नेतृत्वका लागि अम्विका परियार सर्वसहमतले अध्यक्षमा चयन भएकी छन् ।
अधिवेशनबाट अम्विकाको अध्यक्षतामा २९ जनाको समिति गठन गरेको उत्थानले जनाएको छ । समितिमा दुईजना उपध्यक्ष रहेका छन् । त्यस्तै समावेशी उपाध्यक्ष अस्मिता सुनार र खुलाबाट जयलाल विक, महासचिवमा केशवराज विश्वकर्मा र सचिवमा समुन्द्र नेपाली र कोषध्यक्षमा माया रसाईली चयन भएका छन् ।
त्यस्तै सैनामैना दलित उत्थान समितिको नगर सदस्यमा नगर सदस्यमा गंगा विक, रमा परियार, कृष्ण परियार, सुर्य परिवार, कमला सुनार, कुल वहादुर विक, भरत विक, लक्ष्मि विश्वकर्मा, चन्दा सुनार, विजय गजमेल, सिता गौतम, मनिषा विश्वकर्मा, रिजन गहतराज, बाल कृष्ण परियार, नारायण परियार, राम वहादुर विक, गिता दर्जि, आशा सुनार, रुपा सुनार, राम बहादुर, देवि विक, विरबहादुर विश्वकर्मा, जुना सुनार, लक्ष्मि वस्याल रहेकाछन् ।
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । दिउँसो ३ बजे उनले राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन् । सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे देउवाले सम्बोधनमार्फत जानकारी दिने बुझिएको छ । गत २९ असारमा देउवा प्रधानमन्त्री भएका थिए । सर्वोच्च अदालतको परमादेशको बलमा उनी प्रधानमन्त्री चयन भएका हुन् । उनी प्रधानमन्त्री चयन भएको पुस २९ गते ६ महिना पूरा भएको थियो ।
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाका १२ वर्षीय बालक गत एक महिनादेखि बेपत्ता भएका छन् । सो नगरपालिका–९ उपल्लो तम्घास खलाचौरका १२ वर्षीय सुजन बिक गत पुस ७ गते देखि घरबाट बेपत्ता भएका हुन् । उनकी आमा कमला बिक त्यस दिन विहान ९ बजे खान खुवाई स्कुल जानु भनेर काममा हिडिन् ।
उनका दाजु खलाचौरस्थित उपल्लो तम्घास माविमा पढ्ने हिडे तर त्यस दिन उनका भाई सुजन त्यस स्कुलमा आएनन् । त्यस दिन देखि बेपत्ता छोरा हालसम्म फेला नपरे पछि उनकी आमा आशुको आहलमा छन् । उनले जिल्ला प्रहरी कार्यालयमा पनि खोजतलासका लागि निवेदन दिईन । फेला नपरे पछि अन्तिम विकल्प स्वरुप उनले सञ्चार माध्यम गुहारकी हुन् ।
उनलाई फेला पार्नु हुने महानुभावले उनकी आमाको मोवाईल नम्वर ९८४७०१९१५५ मा सुचित गर्नु वा नजिकको प्रहरी चौकीमा जानकारी गराई दिन अनुरोध गरिएको छ । उनका बाबु कपिल बिक भारतको रोजगारीमा छन् ।
सिड्नी । अस्ट्रेलिया सरकारले खोप नलगाउने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ । सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही १ फेब्रुबरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो ।
अहिलेसम्म ७२ प्रतिशत अस्ट्रेलियालीले कोभिडविरुद्ध पूर्ण खोप लगाएका छन् । सबै नागरिकले अनिवार्य खोप लगाउनुपर्ने विद्येयक तल्लो सदनबाट पारित भइसकेको छ । माथिल्लो सदनबाट पारित भएपछि सभाध्यक्षले हस्ताक्षर गरेपछि विद्येयकले कानूनको रुप लिनेछ । खोप आदेश सन् २०२४ को जनवरीसम्म लागू हुनेछ । त्यसका लागि सरकारले एक अर्ब ४० करोड डलर खर्च लाग्नेछ ।
नयाँ दिल्ली । भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या दिनमै साढे तीन लाख नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा तीन लाख ४७ हजार २५४ जनामा कोभिड देखिएको छ । यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमितको संख्या दिनहुँ बढेको छ । यसैबीच, दिल्लीमा सरकारले लगाउँदै आएको रात्रीकालीन कर्फ्यू हटाउने भएको छ । कोभिड संक्रमित बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ। पछिल्लो २४ घन्टामा साढे दुई लाख संक्रमित निको भएका छन् ।-एजेन्सी
काठमाडौँ । आजबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्नेछ। कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य गरेको हो ।
गृह मन्त्रालयले सीसीएमसीको निर्णयअनुसार आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो ।
सरकारले काठमाडौँ उपत्यकामा आजबाट सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्दै छ ।
लमजुङ । जनप्रतिनिधी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि लमजुङको मध्यनेपाल नगरपालिकाले सेवा प्रवाह बन्द गरेको छ ।नगरपालिकाले एक सूचना जारी गर्दै कन्ट्याक ट्रेसीङमा परेका अन्य कर्मचारीहरुको पिसिआर रिपोर्ट नआउदासम्मका लागि नगरपालिका र अन्तर्गत वडा कार्यालयहरुको सेवा प्रवाह बन्द गरेको हो ।
कार्यलयबाट सामान्य सेवा प्रवाह बन्द गरिएपनि अत्यावश्यक सेवा प्रवाह भने बन्द नहुने नगरपालिका प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद शर्माद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । नगरपालिकाले विहिबार देखि आगामी १२ गते सम्मका लागि नगरपालिका र मातहतका सवै वडा कार्यालयबाट उपलब्ध सेवा प्रवाह बन्द गराएको हो ।
मध्येनपाल नगरपालिकामा नगरप्रमुख सहित केहि कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । नगरप्रमूख रमेशकुमार पाण्डेले केहिदिन अघि मात्रै सामाजिक सञ्जाल मार्फत आँफुलाई कोरोना संक्रमण भएको भन्दै आफ्नो सम्पर्कमा रहेका व्यक्तीहरुलाई सतर्क रहन आग्रह गरेका थिए ।
पछिल्लो तिन दिनमा मात्रै पालिका भित्र २५ जना भन्दा बढिमा कोरोना संक्रमण पुष्टि भएको मध्यनेपाल नगरपालिका स्वास्थ्य शाखा प्रमूख सुर्यप्रसाद पौडेलले जानकारी दिए । यसैविच मध्यनेपाल नगरपालिकाले कोरोना विरुद्धको खोप अभियानलाई पनि निरन्तरता दिएको छ ।
काठमाडौँ । नेपालको तराई भेगमा भने यति बेला हुस्सु, कुहिरो, शीतलहरसँगै पानी पार्ने गरी बादल लागेपछि जनजीवन कष्टकर बनेको छ । यति खेर नेपालका अधिकांश भूभागमा बादल लागेको छ । पश्चिमी, मध्य भेगका केही स्थानमा वर्षा पनि भएको छ । कतिपय उच्च हिमाली भेगमा हिमपात भइरहेको छ । तराईमा भने हुस्सु, कुहिरो र शीतलहरको चिसोमाथि बदली थपिँदा त्यहाँको मौसम थप चिसो भएको छ ।
तराई भेग छुने विभिन्न भूभागमा पछिल्लो समय अधिकतम र न्यूनतम तापक्रम दुवै घटेर चिसो बढाएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमको धनगढीमा बुधबार १०.५ डिग्री सेन्टिग्रेड तापक्रम रहेकामा बिहीबार बिहान १०.४ डिग्री सेन्टिग्रेड पुगेको थियो । त्यस्तै गरेर लुम्बिनी प्रदेशको नेपालगञ्जमा बुधबार ९.६ डिग्री सेन्टिग्रेड तापक्रम रहेकामा बिहीबार ह्वात्तै घटेर ६.८ डिग्रीमा झरेको छ ।
त्यसैगरी सोही प्रदेशकै भैरहवामा १० डिग्रीबाट घटेर ७ डिग्री सेन्टिग्रेड पुगेको छ । मधेस प्रदेशको सिमरा, जनकपुर र विराटनगरमा एक डिग्री आसपास न्यूनतम तापक्रम पछिल्लो २४ घण्टामा बढेको देखिए पनि बिहीबार दिउँसोबाट तापक्रममा गिरावट आएको जनाइएको छ । पश्चिम तराईको कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिम हुस्सु–कुहिरो, शीतलहर र बदलीबाट प्रभावित छन् । त्यस्तै मध्य तराईको चितवन, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा पनि चिसो बढ्ने क्रममा छ । पूर्वी तराईको सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापालगायतका क्षेत्रमा हुस्सु, कुहिरो, शीतलहरसँगैको बदलीले थप चिसो बढाएको छ । हुस्सु र कुहिरो बदलीका समयमा केही कम भए पनि त्यसले बढाएको चिसो कम हुन सकेको छैन ।
काठमाण्डाै । पाँच सयभन्दा बढी कोरोनाको सक्रिय सङ्क्रमित रहेका जिल्लाको सङ्ख्या १४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, सुनसरी ,झापा, धनुषा, काठमाण्डौ, ललितपुर भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, बाँके रुपन्देही र कैलालीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । सबैभन्दा धेरै काठमाण्डौमा २६ हजार ६९८ सक्रिय सङ्क्रमित छन् ।
ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ७ हजार ७८३ जना छन् । पर्सा, बारा, महोतरी सप्तरी, सर्लाही, सिरहा, नुवाकोट, नवलपरासी पूर्व, गोरखा तनहुँ, स्याङ्जा, दाङ, सुर्खेत र कन्चनपुरमा दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार ३२८ पुगेको छ ।
काठमाडौ । निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरिदिएको छ । लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम अनुसार तीनवटा दल खारेज भएका हुन ।
आयोगका अनुसार दल दर्ता खारेज हुने दलहरुमा नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद रहेका छन । यी तीनै दलले लेखा परिक्षण प्रतिवेदन नबुझाएको तथा जरिवानासमेत नतिरेकाले ३० पुसको निर्णयानुसार खारेज गरिएको हो ।
३३ दलीय मोर्चाको नेतृत्व मोहन बैद्यले अनौपचारिक रुपमा गर्दै आएका थिए, उनको पार्टीले पुस २० भित्रमा लेखा परिक्षण प्रतिवेदन र जरिवाना दुवै नबुझाए पछि आयोगले खारेज गरिदिएको हो ।
काठमाडौ । कोरोना महामारीको कारण देखाउँदै भन्सार एजेन्टको लिखित परिक्षा स्थगित भएको छ ।
भन्सार बिभागले यसअघि तय गरेको २९ माघको पुर्व निर्धारित मितिमा परिक्षा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरेको हो । स्थगित परिक्षा परिस्थीति सहज हुने बितिक्कै पुनः सञ्चालन गरिने भन्सार बिभागले जनाएको छ ।
यस अघि लोकसेवा, त्रिभुवन विश्वविद्यालयले पनि परिक्षा स्थगित गर्ने निर्णय गरिसकेका छन ।