१५ पुष २०७८, बिहीबार १४:३१ – Page 5 – Nagarikabhiyan : National News

माओवादी बन्दसत्रमा माग : महाधिवेशनबाटै पदाधिकारी चयन गर्नुपर्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रमा महाधिवेशनबाटै पदाधिकारी चयन गर्नुपर्ने माग उठेको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी आठौं महाधिवेशनको बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष पेश गर्ने क्रममा १३ नम्बर समूहका नेता गोपाल शर्माले भनेका छन्, ‘पार्टी अध्यक्ष प्रचण्ड तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय कमिटी घोषणा गर्ने मनस्थितिमा रहेको भन्ने बाहिर आइरहेको छ । यसलाई पनि ख्याल गरिनुपर्छ । महाधिवेशनबाटै पदाधिकारी चयन गरिनुपर्छ ।’

‘महाधिवेशनमा पनि यो स्थिति पैदा हुनु हुँदैन,’ उनले भने, ‘माथिल्लो तहका कमजोरीले तल्लो तहमा देखिएको उत्साहलाई समेत कमजोर बनाइएको छ ।’

उनले प्रचण्डपथलाई प्रचण्ड विचारधाराका रुपमा अघि बढाइनुपर्ने समेत बताएका छन् ।

उपत्यका विशेष प्रदेशको समूहका टोली नेता जगत सिम्खडाले पनि प्रचण्डपथलाई ब्यूँताउनुपर्ने मत समूह छलफलमा आएको जानकारी गराएका छन् ।

सम्पर्क समन्वय विशेष प्रदेश कमिटी नेता श्रीकृष्ण अधिकारी (बिबेक शर्मा)ले दस्तावेजमा भारतीय विस्तारवाद, हिन्दु अतिवादले नेपालमा पारेको असर उल्लेख गर्नुपर्ने बताए ।

समूहगत छलफलका निष्कर्षहरु प्रस्तुत भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्नेछ, त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् ।

२७ पुसदेखि राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने

भक्तपुर । भक्तपुरमा  राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आयोजना हुने भएको छ ।  पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार २७, २८ र २९ गते २४औं पुरुष तथा नवौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुनेछ ।

नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस)ले युथ, जुनियर र सिनियरप्रतियोगिता मध्यपुर थिमिस्थित थिमी बैंक्वेटको हलमा सञ्चालन हुने बताए ।

प्रतियोगितामा जुनियर तथा सिनियर पुरुष ५५, ६१, ६७, ७३ ८१, ८९, ९६, १०२, १०९, १०९ केजी, युथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९३, १०२, १०२ केजी तौल समूह सहभागी  हुनेछन् ।

त्यसैगरी जुनियर तथा सिनियर महिला ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७, ८७ केजी युथ महिलातर्फ ४०, ४५ ४९,५५, ५९, ६४, ७१,७६,८१, ८१ केजी तौल समूह सहभागी हुने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगितामा झापा, उदयपुर, मोरङ्ग, सप्तरी, सिरहा, महोत्तरी, धनुषा, बारा, पर्सा, चितवन, कास्की, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, भक्तपुर, ललितपुर, काठमाडौंका टिम सहभागी हुनेछन् ।

प्रतियोगितामा विजेतालाई महिला र पुरुषको लागि समान ९० उपाधि व्यवस्था गरिएको छ ।

अंग्रेजी नयाँ वर्ष २०२२ : चार ठूला ग्रहको राशि परिवर्तन, कोरोना नियन्त्रणदेखि वैदेशिक अनुदानमा बाधा

१ जनवरीमा नयाँ वर्ष मनाउने सन्दर्भमा न कुनै खगोलीय आधार छ, न कुनै वैज्ञानिक तथ्य नै । नयाँ वर्षको रौनक सुरु हुँदै गर्दा आममानिसमा अनेकौं जिज्ञासा र कौतूहलता हुनु स्वाभाविकै हो । हाम्रो पञ्चांग तिथि, बार, नक्षत्र, योग र करण आदिको ध्यानमा राखेर गणना गरिएको थियो, जुन विभिन्न चाडपर्वसँग मेल खएको छ।

पञ्चांग क्यालेन्डरअनुसार नयाँ वर्ष चैत्र शुक्ल पक्षको प्रतिपदादेखि सुरु हुने गर्दछ । यसको पछाडि खगोलीय अवस्था सँगसँगै भौगोलिक तथा सांस्कृतिक र ऐतिहासिक तथ्यहरू पनि जोडिएको छ । यही समयबाट नयाँ ऋतु तथा बोटबिरुवाले नयाँ पालुवा हाल्ने, सूर्य पनि यही समयमा प्रथम राशि मेषमा गोचर गर्दछ । तर, जनवरी १ बाट नयाँ वर्ष मनाउनुमा कुनै प्रकारको खगोलीय आधार भने देखिन्न ।

सन् २०२२ ज्योतिषीय दृष्टिकोणले विश्व जगतका लागि  महत्वपूर्ण सालका रूपमा रहनेछ । यो सालमा चार ठूला र शक्तिशाली ग्रहहरूले राशि परिवर्तन गर्ने हुँदा यसको प्रभाव विश्वभर फरक–फरक रूपमा देखापर्ने छ ।

विश्वमा हुने ठूला परिवर्तनले नेपालीको जीवनमा पनि प्रत्यक्ष रूपमा प्रभाव पारिएकाको हुन्छ । शनि, बृहस्पति, राहु तथा केतु ग्रहहरू बाहेक अन्य पाँच ग्रहहरूको राशि परिवर्तन भने हरेक ३० देखि ४५ दिनभित्र भइरहेको हुन्छ । अंग्रेजी नयाँ वर्षमा यी चार ठूला ग्रहको राशि परिवर्तनले विश्वबजारमा यसको प्रभाव सकारात्मक तथा नकारात्मक प्रभाव देखापर्नेछ । शनिबारदेखि वर्ष प्रारम्भ हुने हँुदा विशेषगरी पश्चिमी देशहरूको चासो नेपालमाथि रहिरहनेछ । बृहस्पति शनि ग्रहभन्दा अगाडि रहेकाले ठूला देशको दबाबमा कुनै पनि कार्य सफल हुन सक्दैनन् । सेयरबजारमा लगातारको व्यापारघाट १९ अप्रिलपछि लगातार उकालो लाग्नेछ । नेपालको अर्थ राजनीतिमा पनि परिवर्तनको योग रहेको छ ।

२२ फेब्रुअरीदेखि २३ मार्चसम्म देवगुरु बृहस्पति पश्चिमा अस्त अवस्थामा रहने हुँदा विशेषगरी संकल्प गरेर गरिने ठूला धार्मिक अनुष्ठानहरू पूर्ण रूपमा बन्द रहनेछन् ।

विश्वमा नयाँ रूपमा देखापरेको कोरोना भाइरसले विश्वका पश्चिमी देशहरूमा उच्च प्रभावमा ल्याउन खोज्नेछ । डलरको मूल्यमा वृद्धि हुनुका साथै तेल तथा खाद्यान्नको मूल्य वृद्धि हुने योग छ । पुनः १० अप्रिल २०२२ देखि  बृहस्पतिले शनिको राशि छोडेर आफ्नै राशि मीनमा गोचर गरेपछि सकारात्मक प्रभाव विश्वभर देखिनेछ । कोरोनालाई पूर्णरुपमा नियन्त्रणमा राख्न सकारात्मक पहल हुनुका साथै घट्दै आएको सेयर बजारमा अचानक वृद्धि हुने योग छ । खेलकुद मनोरञ्जनका क्षेत्रहरू विस्तारै अगाडि बढ्दै जानेछन् ।

अहिलेको समयमा नेपालका लागि कुनै पनि वैदेशिक आर्थिक सहयोग आउने ग्रह योग बनेको छैन । ४ अप्रिलसम्म यस्तै अवस्था रहिरहने योग भएकाले यसको प्रभाव समग्र सामाजिक, आर्थिक तथा राजनैतिक क्षेत्रमा समान रूपमा पर्ने देखिएको छ । ठूला तथा नाम चलेका आर्थिक कामगर्ने संघ संस्थालाई अहिलेको योगले पूर्णरूपमा प्रभाव पर्नेछ । जसका कारण बैंकिङ क्षेत्रमा समेत यसको प्रभाव पर्ने देखिएको छ । साझेदारीमा चलेको सरकारलाई पनि यसको उच्च प्रभाव रहने हुँदा विशेष सावधानी अपनाउनुपर्ने ग्रहयोगले देखाएको छ  ।

ग्रहका न्यायाधीश शनि ग्रह पनि वर्षभरि नै स्थिर अवस्थामा रहने छैनन्, जसका कारण विभिन्न राशिलाई शनिको साढे साती दशा लाग्ने र छोड्ने क्रम चलिरहेछ । शनिग्रह स्थिर नहुँदा नेपाल लगायत पूर्वी तथा दक्षिणी देशहरूमा कानुनको कडा नियम पालना गर्नुपर्नेमा आवाज उठ्नेछ ।

सवारी तथा वायुयान दुर्घटना केही बढ्ने योग रहेको छ । शनिबारदेखि नयाँ सालको सुरुवात हुने भएकाले विशेष सावधानी भने अपनाउनुपर्ने छ ।
करिब १८ वर्ष सात महिनापछि १० अप्रिलदेखि पुनः राहु मेष तथा केतु ग्रह तुला राशिमा आउनेछन्  । राहु तथा केतु सधैंभरि बक्री गतिमा चल्ने ग्रह भएकाले पनि यसको फल पनि मिश्रित रूपमा पर्नेछ । राहु अग्नि कारक ग्रहको राशिमा गोचर गरेपछि विश्वव्यापी देखिएको विभिन्न भाइरस नियन्त्रणमा आउनेछन् ।

तुला राशिमा बसेको केतु ग्रहको कारण विभिन्न बैंकिङ प्रणालीमा अन्तर्राष्ट्रिय ह्याकरको जोखिम रहनेछ । भिडियो टेक्नोलोजीले विश्वास गुमाउनुपर्ने योग रहेकाले विशेष सावधानी अपनाउनुपर्ने छ । विशेषगरि मेष, बृष, मकर तथा धनुराशि हुनेहरूको लागि राहु तथा केतुको नकारात्मक फल प्राप्ति हुने छ भने मिथुन, कर्कट, तुला तथा वृश्चिक राशि हुनेहरूका लागि भने सकारात्मक फलमा वृद्धि हुनेछ ।

सन् २०२२ मा मीन राशि हुनेहरूका लागि शनिको साढे साती दशा प्रारम्भ हुनेछ भने कर्कट, तथा बृश्चिक राशि हुनेहरूका लागि शनिको अढैया दशा प्रारम्भ हुनेछ । धनु राशिलाई साढे साती दशा मिथुन र तुला राशि हुनेहरूका लागि भने शनिको अढैया दशा समाप्त हुनेछ । शनि मकर राशिमा हुँदा धनु, मकर तथा कुम्भ राशिहुनेहरूका लागि शनिको साढे साती दशा चलिरहने छ भने मिथुन तथा तुला राशिहुनेहरूका लागि अढैया दशा चलिरहनेछ । शनिको विधिवत् पूजा तथा आराधना गरेमा शुभफलमा वृद्धि हुनेछ ।

(लेखक सुरेशचन्द्र रिजाल दक्षिण एसीयाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् हुन् ।)

माओवादी महाधिवेशन : ‘प्रचण्डको विचारधाराले माओवादीलाई पुनर्जीवन दिन्छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथिको छलफलमा सहभागी नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विचारधाराले पार्टीलाई पुनर्जीवन दिने निष्कर्ष सुनाएका छन् ।

गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमाथि मंगलबार २५ समूहमा छलफल भएको छ भने बुधबारबाट समूहगत छलफलको निष्कर्ष प्रस्तुत भइरहेको छ ।

बुधबार ११ वटा समूहले निष्कर्ष सुनाइसकेका छन् भने बाँकीले बिहीबार प्रस्तुत गर्ने कार्य चलिरहेको छ । बिहीबार बिहान ११ बजेबाट सुरु भएकोमा अहिलेसम्म पाँचवटा समूहका प्रमुखहरुले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गरिसकेका छन् ।

बिहीबारको बन्दसत्रमा सबैभन्दा पहिले सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट श्रीकृष्ण अधिकारीले आफ्नो समूहको निष्कर्ष पेस गरेका हुन् भने त्यसपछि क्रमशः सल्लाहकारहरुको समूह क को तर्फबाट चित्रबहादुर श्रेष्ठ, समूह १३ कर्णाली प्रदेशको तर्फबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहको तर्फबाट समूह प्रमुख जगत सिंखडा र समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट समूह प्रमुख मानबहादुर धामीले आफ्नो समूहको प्रस्तुति राखेका छन् ।

सम्पर्क समन्वय विशेष प्रदेश समितिका टोली नेता श्रीकृष्ण अधिकारीले आफ्नो समूहको निष्कर्ष राख्दै प्रचण्डपथ तत्कालीन समयको विचार रहेको बताए ।

उनको राखेका विचार :

अहिले परिस्थिति बदलिएको छ । अहिले प्रचण्डको दस्तावेज आएको छ। यो अग्रगामी मात्रै छैन अबको कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्नेगरी आएको छ । अब यसलाई प्रचण्ड विचारधारा भनेर जाउँ । प्रचण्ड विचारधाराको नेतृत्वमा बृहत कम्युनिस्ट एकताको आह्वान गरौँ । यसले मात्र माओवादीलाई पुनर्जीवन दिन्छ ।

एउटै परिवारका छ बालबालिकाको पढाइमा सकस

बेनी । एकतले साँघुरो घरमा गुजारा गर्दै आएका उस्तै उमेरका छोराछोरीलाई हुर्काउँदैछन्, टेकबहादुरका दम्पती । धवलागिरि गाउँपालिका–३ मुनाका टेकबहादुर परियार र उनकी पत्नी कमला सक्षम छैनन् । वाक अपाङ्गता भएका उनीहरु गाउँमा अरुलाई काममा सघाउने र मागेर घरखर्च चलाउने गर्छन् ।

आर्थिक अवस्था नाजुक भएकाले परियार दम्पतीका छ छोराछोरीलाई अहिले पढाइका लागि खर्चको अभाव भएको छ । पाँच छोरा र दुई छोरीमध्ये जेठी छोरी मनुले पढ्नै नापाइ सानै उमेरमा विवाह गरेपनि अन्य पाँच भाइ र एक बहिनी स्कुले उमेरकै छन् । मुनास्थित धवलागिरि आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययन गर्ने जेठा छोरा खिमबहादुरले बाबाआमाको नियमित आम्दानी नभएको र आफूहरुले पनि काम गर्नसक्ने नहुँदा पढाइखर्च जुटाउन धौधौ भएको बताए । ‘‘घरमा बुबाआमाले केही कमाइ नै गर्न सक्नुहुन्न, हामी स्कुल आउँछौँ, घरखर्च चलाउन पनि समस्या छ, हामी जेनतेन स्कुल आउने गरेका छौँ, माइलो भाइले बिचैमा स्कुल छोड्यो, हामीले पनि कहिलेसम्म पढ्ने हो निधो छैन,’’–उनले भने ।

खिमबहादुरका भाइ मनेले दुई कक्षामा अध्ययन गर्दागर्दै स्कुल छाडेका हुन् । बहिनी जमुना कक्षा ४, भाइ कुसल कक्षा २ र सङ्गीन बालकक्षामा पढ्छन् । कान्छो भाइ इसान घरमै आमासँग बस्छ । विपन्न र अपाङ्गता समेत रहेका अभिभावकले बालबच्चाको सामान्य लत्ताकपडा र स्टेशनरी खर्चसमेत जुटाउनसक्ने अवस्था नभएकाले उनीहरुको पढाइमा असर पर्ने देखिएको विद्यालयका सहायक प्रधानध्यापक रुपेश सुवेदीले बताए ।

‘‘अभिभावक शिक्षित नहुँदा धेरै बालबच्चा जन्माउने तर आधारभूत शिक्षाको अवसर दिन नसक्ने अवस्था आएको देखिन्छ, घरपरिवारको अवस्था दयनीय छ, कम्तीमा सबै बालबच्चालाई राम्रो शिक्षा दिन सकियो भने उनीहरुको भविष्य अन्धकार हुने थिएन, त्यसका लागि यो परिवारलाई सहयोगको खाँचो छ’’– उनले भने । बालबच्चाको वार्षिक रुपमा शैक्षिक सामग्री, लत्ताकपडालगायत खर्च जुटाउन सके बिचैमा स्कुल छाडेका अन्य बालबालिकालाईसमेत स्कुलमा ल्याउन सकिने भएकाले विद्यालयले परियारका बालबच्चाको शिक्षामा सघाउन आह्वान गरेको प्रअ मनबहादुर पुनले बताए ।-रासस

माओवादी महाधिवेशन : मोबाइल खोसेपछि बर्दियाकी प्रतिनिधि मेनुका चौधरी आक्रोशि

काठमाडौं । माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र हलमै मोबाइल खोसेको भन्दै बर्दियाकी प्रतिनिधि मेनुकाकुमारी चौधरी आक्रोशित भएकी छन् । महाधिवेशनस्थल नजिकै रहेको मिडिया सेन्टरमा आएर उनले आक्रोश पोखिन् ।

आफ्नो तस्बिर खिँच्दा समूहगत छलफलको निष्कर्ष सुनाउने प्रज्ञा प्रतिष्ठानको मुख्य हलबाट निकालिएको भन्दै आक्रोश पोखिन । वाइसीएल अध्यक्ष बोलाएर उनले असन्तुष्टि जनाइन् । उनी सातौं महाधिवेशनमा हेटौंडामा पनि प्रतिनिधि थिइन् ।

आफूभन्दा जुनियर प्रतिनिधि बसिरहेको, वाइसीएल र भित्र बसेकाले नै अडियो भिडियो लिक गरेको तर आफूले प्रतिनिधिसँग आफ्नो तस्बिर खोज्दा वाइसीएलका स्वयंसेवकले निकालेको भन्दै आक्रोश पोखेकी हुन् । उनी आक्रोशित भएपछि रामप्रसाद सापकोटा दिपशिखा आएर शान्त पारेका छन् । अब यस्तो व्यवहार सुधार्ने उनले प्रतिबद्धता जनाए ।

तीन दिनमा लागुऔषधका पाँच काराेबारी पक्राउ

सुर्खेत । प्रहरीले तीन दिनको अवधिमा लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ । १२, १३ र १४ पुससम्म सूचनाका आधार लागुऔषधसहित पाँचजना पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

१४ पुसका दिन वीरेन्द्रनगर नगरपालिका-१० पदमपुरमा बाँके कोहलपुर नगरपालिका-५ का १८ वर्षीय ज्ञानु पौडेललाई लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ प्लाष्टिकसहित १.७७ ग्राम, शुद्द १.५४ ग्रामसहित नियन्त्रणमा लिई अनुसन्धानको भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

बुधबार नै वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनामा लागुऔषधसहित बाँके नेपालगञ्ज उपमहानगरपालिका- १६ का २५ वर्षीया पूजा खनाललाई नाईट्राभेट ७८ पिस ट्याब्लेट, कोरेयक्स ३.५ सिसि, ट्रामाडोल ३७ पिस ट्रयाब्लेट, अलफा जोलन ४० पिस ट्रयाब्लेटसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, पुस १३ गते वीरेन्द्रनगर नगरपालिका-६ मंगलगढी चोकमा लागुऔषध (ब्राउन सुगर) जस्तो  देखिने खैरो धुलो पदार्थ प्लाष्टिकसहित ४.२० ग्राम, शुद्व ३.४० ग्राम र क. प्र. ०२००१ प. ९०१९ नम्बरको मोटरसाईकलसहित दुई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कोरोना तेस्रो लहर-प्रक्षेपणले होटल व्यवसायी चिन्तित

काभ्रेपलाञ्चोक । गत साउन महिनादेखि कोरोना सङ्क्रमणदर ओरालो लाग्दै गर्दा धुलिखेलका होटल व्यवसायी प्रह्लाद प्याकुरेललाई होटल व्यवसाय तङ्ग्रनेमा निकै खुसी लागेको थियो । यसलगत्तै आफ्नो होटलमा चहलपहल बढ्न थालेसँगै कार्यक्रमका बुकिङले उनलाई उत्साह पनि थप्दै लगेको थियो । वर्ष नबत्दै उनलाई आजभोलि उही पहिलेकै चिन्ताले ‘डेरा’ जमाइसक्यो । “व्यवसायले रुप फेर्लाझै लागेको थियो, कोरोना तेस्रो लहरको चिन्ताले सताउन थालिसक्यो”, उनले भने । कोरोनाका दुई वटा लहरले होटल व्यवसायीलाई निकै ठूलो घाटा ब्यहोर्न बाध्य बनाइरहेका बेला पुनः तेस्रो लहरको कोरोना महामारी (ओमिक्रोन) प्रक्षेपणले उहाँलगायत धुलिखेलका होटल व्यवसायीलाई हाल थप चिन्ताको भारी बोकाएको छ ।

यही साल कोरोनाको दोस्रो लहरले होटल ब्यवसाय थप धरासायी बनाएपछि पुनः तङ्ग्रन थालेको समयमा तेस्रो लहरको प्रक्षेपणले व्यवसायलाई निकै मार पर्ने क्षेत्रीय होटल सङ्घ (हान)को सचिव ज्योत्स्ना सैँजु बताउँछन् । उनले भने, “नेपालमा कोरोना तेस्रो लहर ओमिक्रोनको डरले होला धुलिखेलमा विदेशी पाहुना आउन छाडिसके, हाल आन्तिरिक पर्यटक मात्रै धुलिखेल आउँछन्, तर यसलाई सन्तोषजनक मान्नुपर्छ ।” केही महिनाअघि नेपाल आउँदा क्वारेन्टिन बस्नुपर्ने नियम हटेपछि उनको धुलिखेलस्थित होटल माउण्ट प्रिन्समा विदेशी पर्यटकसमेतको निकै चहलपहल बढेको थियो ।

उनका अनुसार कोरोना महामारीका कारण होटल–व्यवसाय धरासायी हुँदा धुलिखेलका चार होटल बन्द भएका छन् । “होटल निर्माणको ब्याज तथा घर भाडासमेत सतर्न नसक्दा धुलिखेलका होटल बन्द हुनुपर्यो, नयाँ व्यवसायी यो पेशामा आउन डराइरहएको छन्”, उनले भने । २० कोठा क्षमता रहेको उनको होटलमा स्वास्थ्य मापदण्ड अनपाई पाहुनालाई सेवा प्रदान गर्दै आइएको छ ।

पर्यटकीयस्थल धुलिखेलमा ठूलासाना गरी करिब ६० होटलमा एक हजार बेड क्षमता छन् । काभ्रेपलाञ्चोकस्थित धुलिखेलको होटल–पर्यटनमा मात्रै करिब रु ५० अर्बको लगानी रहेको सङ्घले जनायो । यहाँ करिब तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । गत चैतमा दोस्रो लहर सुरु भएसँगै वैशाख अन्तिम सातासम्म धुलिखेलका होटलमा बुकिङ रद्द भएका थिए । जेठ, असार र साउनमा होटल ठप्पै रह्यो । कोरोनाको जोखिमपछि हाल पुनः असोज महिनादेखि बामे सर्दै गरेका होटल बन्द हुने हो कि भन्ने चिन्ताले सताउने गरेको गुनासो आउन थालेको हानका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले बताए ।

“तेस्रो लहरको कोरोना आउने र सावधानी अपनाउनुपर्ने सूचना सरकारी पक्षबाटै आउन थालेपछि होटल व्यवसायी निकै तनावमा छन्, होटल व्यवसाय चौपट हुने भयो, व्यवसायी टाट पल्टने भए । हालसम्म त आन्तरिक पर्यटक बढ्दै छन्, तर पछिल्लो दिनमा कोरोना सङ्क्रमण बढ्दै गएपछि विदेशी पाहुनाको चहलपहल घट्दै गएको छ ।”

यही वर्षको कोरोना कहरपछि आन्तरिक एवं बाह्य पर्यटकबाट आत्मनिर्भरतातर्फ लागेको धुलिखेलको होटल–पर्यटन कोरोनाको दोस्रो लहरले निकै प्रभावित बनाएको देखिन्छ । कोभिड–१९ का कारण पर्यटन क्षेत्रले बेहोरिरहेको क्षति न्यूनीकरण गर्दै पूरानै लयमा फर्काउन गत वर्ष होटल व्यवसायीले विशेष तीन प्याकेजकोसमेत घोषणा गरेका थिए । “स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ पर्यटन क्षेत्रले ब्यहोर्नुपरेको क्षति न्यूनीकरणलाई प्याकेजले पर्यटकको सेवामा विशेष प्याकेजसहित तल्लीन भएका थियौँ, दोस्रो लहरले पुनःथल्याइदियो, अब तेस्रोले के गर्छ यसै भन्न सकिन्नँ”, उनले गुनासो गरे ।

सङ्घले यसअघि ‘कल्चर एण्ड नेचर’, ‘फिलिङ सुरपरम्यान’ र ‘तीनधारे झरना’लगायत विशेष प्याकेज सञ्चालन गर्ने योजना अघि सारेको थियो । साथै जीपलाइनिङ, हाइकिङ र हजार सिंढी चढ्दै देवीस्थानमा रहेको कालीदेवीको दर्शन तथा शान्ति वनस्थित बुद्ध मूर्तिको अवलोकन प्याकेजमा अनिवार्य गराइएको थियो । सङ्घले पुनःप्याकेजका कार्यक्रम ल्याएर व्यवसाय उकास्ने प्रयत्नमा लाग्ने योजना बनाइरहँदा तेस्रो लहरको प्रक्षेपणले व्यवसायी चिन्तित भएको सैँजु बताउँछन् । उनी भन्छन्, “हाल पाहुनाको चाहनामा जीपलाइनिङ, नमोबुद्ध तथा जिल्लाकै पर्यटकीय स्थान घुमाउन सकेका छौँ, यो पनि बन्द नहोस् भन्ने चाहन्छौँ ।”

धुलिखेल राजधानीबाट नजिकको पर्यटकीयस्थलसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको अलावा काठमाडौँ, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रमसमेत हुने गर्दथे । पर्यटकीयस्थल धुलिखेल सङ्घीय राजधानी काठमाडाँैबाट करिब ३० किलोमिटरको दूरीमा अवस्थित छ । -रासस

सडक दुर्घटनामा ९ जनाको मृत्यु

सान्टियागो । मध्य चिलीको ओुहिगिन्स क्षेत्रको प्युमो शहरमा भएको सडक दुर्घटनामा नौ जनाको मृत्यु हुनाका साथै दुई जना गम्भीर घाइते भएको चिली सरकारले बुधबार जानकारी दिएको छ।ओुहिगिन्स क्षेत्रका अधिकारी रिकार्डो गुजम्यानका अनुसार ठूलो ट्रक र मजदुर बोकेको भ्यान ठोक्किदा उक्त दुर्घटना भएको हो । दुर्घटनास्थल नजिकैको रान्कागुवा अस्पतालमा सार्दा अर्का एक घाइतेको मृत्यु भएको बताइएको छ । घटनास्थलमा पुग्दा करिब ११ जना घाइते थिए। हामीले घटनास्थलमा आठ जनाको मृत्यु भएको र तीन जनाको अवस्था गम्भीर रहेको , प्युमो फायर ब्रिगेडका कप्तान लुइस मालडोनाडोले जानकारी दिएका छन् । चिलीको श्रम निर्देशनालयले घटनाको छानबिन गर्ने जानकारी दिएको छ। -रासस

आठाैँ पटक थपिएकाे म्यादमा सकियाे सोलु कोरिडोर प्रसारण लाइन

उदयपुर । साढे तीन वर्षदेखि अवरुद्ध राष्ट्रिय गौरवको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित स्थानीयवासीले एलाइन्मेन्ट परिवर्तन गर्न माग गर्दै साढे तीन वर्षदेखि अवरुद्ध पार्दै आएकोमा आयाेजनाले उनीहरूकाे माग सम्बोधन गरेपछि रोकिएको काम पूरा भएकाे हाे ।

प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा गत २० माघ ०७६ देखि व्यवसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत आयोजनाको २३.५ मेगावाट विद्युतमध्ये ४.५ मेगावाटबाहेक सबै खेर गइरहेको थियाे ।

सोलुखुम्बुको तिङ्लादेखि सिराहाको मिर्चैयासम्म आयोजनाको कुल लम्बाइ ८९.५ किलोमिटर प्रसारण लाइनमा पर्ने ३०२ वटा टावर र तार तान्ने काम सम्पन्न भएको हो । आठौ पटक थपिएको म्याद सकिन दुई दिनअघि निर्माण सम्पन्न भएको हो । पछिल्लो पटक थपिएको म्याद ३१ डिसेम्बर २०२१ मा सकिँदैछ । टावर निर्माण, तार तान्ने काम सम्पन्न भएपछि अब तारमुनि पर्ने रुखहरू काट्ने काम भई रहेको आयोजना निर्माण कम्पनीका सम्पर्क अधिकृत दीपक गौतमले जानकारी दिए । रुख काट्ने काम करिब एक सातामा सक्ने लक्ष्य लिएको सम्पर्क अधिकृत गौतमको भनाइ छ । आगामी जनवरीभित्र सबै काम सम्पन्न गरी व्यवसायीक रुपमा लाइन प्रसारण गरिने योजना रहेको उनकाे भनाइ छ ।

सोलु करिडोर १३२ केभी डबल सर्किट आयोजना २५ सेप्टेम्बर २०१६ मा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भइ काम सुरू गरेको थियाे । आयोजनाको काम ३१ डिसेम्बर ०२१ मा सक्ने गरी आठौँ पटक म्याद थप गरेको थियो । कटारी नगरपालिका-४ मरुवा, सिम्ले, बर्मझियाका २३ घर परिवारले प्रसारण लाइनको एलाइन्टमेन्ट परिर्वतनको माग्दै अवरोध गरेका थिए । उनीहरूले एलाइन्टमेन्ट परिर्वतन हुन नसके ०७५ सालमा निर्धारण भएकाे मुआब्जा पुन: मुल्याङकन गर्न माग गरेका थियो । तीन वर्षअघि प्रतिकठ्ठा २० लाखका दर मुल्याङ्कन गरेमा अहिले नगरपालिकाले सिफारिस गरेको प्रतिकठ्ठा ५० लाख अनुसार मुआब्जा हुनु पर्ने माग गर्दै आएको थियो ।

तीन करोड मुआब्जा वितरण
आयोजनाले उदयपुरको कटारी नगरपालिका वडा नम्वर २, ३, ४ र ५ को मरुवा, सिम्ले, बर्मझियाका बासिन्दाको अवरोधपछि प्रभावित क्षेत्रका नम्बरी र ऐलानी जग्गाको छुट्टाछुट्टै मूल्य निर्धारण गरिएको छ । सरकारले सो क्षेत्रका स्थानीयवासीलाई मुआब्जा वितरणका लागि चार करोड ५० लाख रुपैयाँ रकम निकासा गरेकामा हालसम्म तीन करोड रुपैयाँ मुआब्जाबापत भुक्तानी दिई सकेकाे आयोजनाका सम्पर्क व्यक्ति गौतमले बताए । आयोजनाको निर्माण खर्च करिब दुई अर्ब ५० करोड रुपैयाँ पुग्ने गौतमको भनाइ छ ।

सहिद स्मारक ए डिभिजन लिग : सातौँ चरणका खेल भोलिबाट

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको सातौँ चरणका खेल भोलिबाट सुरू हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगकाे सातौँ चरणका खेलहरू शुक्रबार सुरू भई सोमबार समाप्त हुनेछन् ।

याे चरणमा दुई स्थानमा खेलहरू हुनेछन् । ६ खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र  एक खेल पोखरा रंगशालामा हुने आयोजककाे भनाइ छ । शुक्रबार काठमाडौंमा दुई खेल हुनेछन् । मध्यान्न १ बजे हुने पहिलो खेलमा विभागीय टाेलीहरू एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दैछन् । पौने ५ बजेकाे खेलमा भने फ्रेण्ड्स र न्युरोड टिम एनआरटी आमनेसामने हुनेछन् ।

यस्तै, शनिबार तीन खेल हुनेछ । १ बजे र पौने ५ बजे काठमाडौंमा दुई खेल हुँदा दिउँसो २ बजे पोखरामा घरेलु टोली मनाङ मर्स्याङ्दी क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)को चुनौती लिनेछ । काठमाडौंमा थ्री स्टार र जावलाखेल युथ भिड्दा दोस्रो खेलमा संकटा क्लब र च्यासल युथ क्लब आपसमा भिड्नेछन् ।

तेस्रो दिन एक मात्रै खेल हुनेछ । पाैने ५ बजे सुरू हुने खेलमा नेपाल पुलिस क्लबले मछिन्द्र फुटबल क्लबलाई रोक्ने प्रयास गर्नेछ । सातौँ चरणको अन्तिम दिन दिउँसो १ बजे सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्नेछन् । जारी लिगको छैटौं चरणको खेल समाप्त हुँदा १४ अंकसहित मछिन्द्र शीर्षस्थानमा छ । १३ अंक बनाएको मनाङ दोस्रो स्थानमा रहँदा १२ अंकको संकटा तेस्रो स्थानमा छ भने १० अंकको आर्मीे तेस्रो स्थानमा छ ।

समान ८ अंक बनाएको सातदोबाटो र हिमालयन शेर्पा क्रमशः पाँचौ र छैटौँ स्थानमा रहँदा समान सात अंकका थ्रीस्टार, एनआरटी र जावलाखेल क्रमशः साँतौबाट नवाैँसम्ममा छन् । यता, ६ अंकको पुलिस दशौँ स्थानमा रहँदा समान ५ अंकका एपीएफ र बीबीसी क्रमशः ११औँ र १२ औँ स्थानमा छन् । चार अंकको च्यासल र तीन अंकको फ्रेण्ड्स रेलिगेसन जोनमा छन् ।

सातौँ चरणमा शीर्षस्थानमा रहने टोली एएफसी कप-२०२२ को छनोटको लागि स्थान बनाउनेछ ।

लागूऔषध सेवन अभियोगमा र्‍यापर ‘लाउरे’ पक्राउ

काठमाडौं । चर्चित -यापर आशिष राना अर्थात् ‘लाउरे’ पक्राउ परेका छन्। लागूऔषध सेवनको अभियोगमा कास्की प्रहरीले उनीसहित ४ जनालाई पक्राउ गरेको हो ।

कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार लाउरेबाट लागूऔषध बरामद भएको छैन तर, सेवन गरेको अभियोगमा नियन्त्रणमा लिइएको हो । लाउरे चर्चित रियालिटी शो हिमालय रोडिजका निर्णायकसमेत हुन् ।

चीनमा ३८ दिनको शिशुलाई कोभिड, हटस्पट बन्यो सियान सहर

बेइजिङ ।  चीनमा ३८ दिनको एक शिशुलाई पनि कोभिड संक्रमण पुष्टि भएको छ । पछिल्लो समय कोभिडको मुख्य केन्द्रबिन्दु बनेको देशको उत्तरपश्चिम क्षेत्रस्थित सियान सहरका शिशुलाई संक्रमण भएको हो ।

पछिल्लो २४ घन्टामा सियानमा एकैदिन १७५ जनामा कोभिड देखिएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार सियान सहरमा संक्रमित हुनेहरुमध्ये ३८ दिनका शिशु सबैभन्दा कम उमेरका हुन् । त्यस्तै, ८५ वर्षीय एक बृद्धा पनि संक्रमित भएका छन् ।

सियानमा लगातार तेस्रो दिन एक सय भन्दाबढी संक्रमित भेटिएका छन् । संक्रमण बढेसँगै सियान सहरमा यात्रा प्रतिबन्ध लगाइएको छ भने कोभिड परीक्षण तीव्र पारिएको छ ।-एजेन्सी

बालविवाह न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम

उदयपुर । उदयपुरको कटारी नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले उपप्रमुख भीमकुमारी राउतको नेतृत्वमा माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई बालविवाह न्यूनीकरणसम्बन्धी स्टिकर वितरण गर्ने अभियान सुरु गरिएको हो ।

इलाका प्रहरी कार्यालय कटारीको समन्वयमा उपप्रमुख राउतले नगर क्षेत्रको माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सचेतनामूलक स्टिकर वितरण गरेकी थिइन् । नगरभित्र बालविवाहको दरमा कमी नआएपछि अभियानकै रूपमा नमुना कामको सुरुवात गरेको उपप्रमुख राउतले बताइन् ।

बालबिवाह न्यूनीकरणका लागि विभिन्न कार्यक्रमअन्तर्गत पहिलो चरणमा विद्यार्थीहरूलाई स्टिकर वितरण तथा सचेतनामूलक पर्चा टाँस गर्ने कार्यक्रम सुरु गरिएको उनको भनाइ छ । उपप्रमुख राउतका अनुसार सार्वजाक स्थानमा होडिङ बोर्ड निर्माण गर्ने तथा अन्य कार्यक्रम सञ्चालन गरिने छ । नगरपालिकाको १४ वटै वडामा अभियान चलाइने योजना रहेको उनले जानकारी दिइन् ।

आफ्ना लागि बनाइदिएकाे बस्तीमा बस्न मानेनन् मुसहर समुदाय

सुनसरी । तस्बिरमा देखिएको संरचना इटहरी उपमहानगरले वटा नम्बर १६ मा तयार गरेको मुसहर समुदायको बस्ती हो । यो बस्तीमा खानेपानी, ट्वाइलेट, चिल्ड्रेन पार्क, सामुदायिक भवन र दिनाभद्रिको मन्दिरसमेत निर्माण गरिएको छ । करिब एक करोड २३ लाख खर्च गरेर यी १५ वटा संरचना तयार गरेको हो ।

बहुबर्षीय सडकअन्तर्गत सडक आसपास छाप्रो हालेर बसेका इटहरी-१७ का मुसहर घरपरिवारलाई व्यवस्थित गर्न स्थानीय सरकारले यो बस्ती निर्माण गरेको हो । नेपाल सरकारको तराई मधेस समृद्धि कार्यक्रमको ९० प्रतिशत र इटहरी उपमहानगरको १० प्रतिशत लगानीमा तयार गरिएको थियो । तर यी संरचना दुई वर्षदेखि खाली छन् ।

निर्माण कार्य सके पनि मुसहर समुदायका परिवार यहाँ बस्न मानेका छैनन् । मुसहर समुदायका काम गर्ने महिला, पुरुषलाई उपमहानगरले साइकलसमेत वितरण गर्ने तयारी गरेको थियो । स्थानीय सरकारले नसोधी घर बनाएको तथा काम गर्ने कम्पनीसम्म पुग्न टाढा हुने भन्दै उनीहरू यहाँ जान मानेका छैनन् ।

आफ्नो बाउबाजे यहीँ जन्मेर यहीँ मृत्यु भएको भन्दै बाउबाजे बसेको ठाउँ छाड्न नमानेको स्थानीय हेलनदेवी ऋषिले बताइन् । उनले आफूहरूलाई सरकारले घर निर्माण गर्नुअघि सल्लाह नगरेकोसमेत बताइन् । उनले गाईवस्तु जस्तो जतिबेला पनि आफ्नो ठाउँ छोड्न नसक्ने, अहिले बसेकै ठाउँमा व्यवस्थित गर्नसमेत आग्रह गरिन् ।

त्यस्तै भुटिऋषि देव पनि आफ्नो परिवार नयाँ घरमा जान नमानेको बताउँछिन् । सबै छोरा मान्छे सागर फिड्स कम्पनीमा ज्यालादारमा काम गर्ने भएकाले नयाँ घरबाट टाढा र अपायक भएको उनकाे भनाइ छ । उनले सडकले ओगट्ने क्षेत्रबाट बचेको जग्गामा छाप्रो हालेर बस्ने तर सरकारले बनाएको नयाँ घरमा नजाने तर्क गरिन् ।

‘हामी यो ठाउँका ३० देखि ४० जना महिला पुरुष सागर फिड्समा काम गर्छौ । यहाँबाट नजिक पर्छ, तर नयाँ घरबाट दुई किलोमिटर टाढा पर्छ,’ चम्रु ऋषिदेवले भने, ‘सरकारले साइकल दिन्छु भनेको छ तर साइकलले राति महिलालाई घर जान समस्या पर्छ । कहिले साइकल बिग्रिन्छ । हामी यहाँबाट जाँदैनौं ।’ स्थानीय सरकारले घर निर्माणभन्दा पनि सुरुमै सल्लाह मागेको भए केही उपाय लगाउन सकिने तर अन्तिम अवस्थामा जानकारी गराएकाे नयाँ ठाउँमा जान नसकिने चम्रुको भनाइ छ ।

करोडौँ खर्च गरेर निर्माण गरेको संरचनामा मुसहर समुदाय नै बस्न नमानेपछि स्थानीय सरकारको बहुवर्षे सडकसमेत अन्योलमा परेको छ । सडक किनारामा बसेका मुसहरलाई नयाँ बस्तीमा सार्ने योजना फेल भएपछि सडक विस्तार कसरी गर्ने र ती संरचनालाई कसरी व्यवस्थित गर्ने भन्ने इटहरी उपमहानरपालिका अलमलमा छ ।

मुसहर बस्तीको परिवार बस्न नमानेपछि वडा नम्बर १६ का अध्यक्ष दीपनारायण चौधरीको संयोजकत्वमा तीन सदस्यीय टोलीसमेत बनाएको छ । उक्त टोलीले तयार गरेको प्रतिवेदनका आधारमा इटहरीभित्रका अति विपन्न तथा लक्षित समुदायका परिवारलाई राख्ने तयारी भएको इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले जानकारी दिए । उनले जुन वर्गका स्थानीयको घर छैन, उनीहरूलाई लगेर राख्ने तयारी भइरहेकोसमेत बताए ।-प्रकाश तिम्सिना/न्युज कारखाना

सिभिल सहकारी ठगीका मुख्य आरोपी पूर्वसांसद इच्छाराज तामाङ जेल चलान

काठमाडौँ । सिभिल सहकारी ठगीका मुख्य आरोपी पूर्वसांसद इच्छाराज तामाङ जेल चलान भएका छन् ।

तामाङसहित वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पनि पुर्पक्षका लागि जेल चलान भएका हुन् । सङ्गठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाण्डौले झण्डै तीन हप्ता लामो थुनछेक बहसपछि उनीहरूलाई जेल चलानको आदेश दिएको हो ।

सीआईबीले पक्राउ गरेका १२ जनामध्ये अदालतले नौ जनालाई धरौटीमा छाड्ने तथा एक जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।

पक्राउ परेका हरिहर प्रसाद लामिछानेसँग ५० लाख, विजय विक्रम शाहसँग १५ लाख, भगवान बहादुर सिंह डङ्गोलसँग १० लाख, एलिना तुलाधर, मायोनानी महर्जन, बुद्धराज तामाङ र कौस्तुभ केतन ढुङ्गानासँग प्रतिव्यक्ति पाँच÷पाँच लाख तथा शङ्करप्रसाद पाठकसँग दुई लाख ५० हजार र राकेश महर्जनसँग ५० हजार रुपैयाँ धरौटी माग गरिएको छ ।

सहकारीका कार्यालय सहयोगी सङ्गीत श्रेष्ठ साधारण तारेखमा छुटेका छन् ।