१५ पुष २०७८, बिहीबार १६:१६ – Page 4 – Nagarikabhiyan : National News

चिसोसँगै वर्षकै उच्च विद्युत खपत, १७ सय मेगावाट पुग्याे

काठमाडौं । मंगलबार देखिको मौसम वदलीसँगै ह्वात्तै बडेको चिसोका कारण विद्युत खपत वर्षकै उच्चतहमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङक अनुसार विद्युत खपत एक हजार छ सय ९९ मेगावाट पुगेको छ ।

प्रभावकारी विद्युत वितरण हुन सकेको भए विद्युत खपत अझ बृद्धि भएर एक हजार सात सय ५० मेगावाटसम्म पुग्ने प्राधिकरण प्रवक्ता सुरेशबहादुर भटट्राईले बताउनुभयो । पुराना संरचना र चिसोसँगै विद्युत वितरण प्रभावकारी नहुदाँ धेरैजसो स्थानमा विद्युत कटौती भएको उनले बताए।

बुधबारको विद्युतमाग वर्षकै उच्च हो । माग बढी हँुदा प्राधिकरणको वितरण संरचनाले समेत नधानेर ट्रान्फर्मर पड्किने समस्या, क्षमताले नधान्दा तारमा आगो लाग्ने, भूमिगत वितरण लाइनलाई सञ्चालन गर्न नसक्दा ग्राहकलाई भनेअनुसार विद्युत आपूर्ति गर्न नसकेको प्रवक्ता भटट्राईको बताए । प्राधिकरणले विद्युत खपतलाई बृद्धि गर्न विभिन्न रणनीतिहरु अपनाउन शुरु गरेसँगै वितरणलाई प्रभावकारी बनाउने लागि परेको उनले बताए ।

चिसोका कारण तातो बनाउने विद्युतीय सामाग्री प्रयोगको दर धेरै बृद्धि भएको पाइएको छ । वितरणलाई प्रभावकारी बनाउन प्राधिकरणको पुरानो संरचना पुनःनिर्माण, भुमिगत संरचना तत्काल सञ्चालन गर्ने, सडकले अवरुद्ध गरेको निर्माण कार्यलाई तत्काल समन्वय गरी काम अघि बडाउने, लगाइएको ठेक्का कोभिड–१९ ले ढिलाइ भए पनि तत्काल काम सम्पन्न गर्न ताकेता गर्ने जस्ता काम अघि बडाइएको प्राधिकरणले जनाएको छ ।

वितरणका लागि सव–स्टेशन निर्माणलाई तिव्रता दिएसँगै प्रशारण लाइन विस्तारपनि द्रूतगतिमा भएकाले आउने वर्षदेखि विद्युत खपतको दर एक हजार आठ सय मेगावाट माथि पु¥याउने लक्ष्य राखेको प्राधिकरणले जनाएको छ । खपत बृद्धिसँगै आन्तरिक उत्पादनले अपुग भएको विद्युत हिउँदमा भारतबाट आयत गरी पूर्ति गर्दे आएको जनाएको छ । हाल भारतबाट ६५० मेगावाटसम्म विद्युत आपूर्ति गर्नु परेको प्राधिकरणको तथ्याङ्क छ ।

ग्लोबल छनोटका लागि ३० खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाउने, कप्तानमा सन्दीप नै रहने

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दसानायके ग्लोबल छनोटका लागि प्रारम्भिक छनोटका ३० खेलाडी बोलाउने बताएका छन् । बिहीबार क्रिकेट संघ (क्यान)ले आयाेजना गरेको पत्रकार सम्मेलनमा पुबुदुले ३० खेलाडी बोलाउने र नाम आजै बेलुकी वा भोलि बिहान सार्बजनिक गर्ने बताएका छन् ।

उनले आफ्नो ध्यान अभ्यास खेलमा केन्द्रित हुने पनि बताएका छन् । क्यानले नियुक्त गरेको कप्तान परिवर्तन नहुने पनि उनले साे क्रममा जानकारी दिए । यसअघि क्यानले  कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्तसहित कारबाही गरेको थियो । त्यसपछि सन्दीप लामिछानेलाई क्यानले कप्तानकाे जिम्मेवारी दिएकाे छ । ‘कप्तान परिवर्तन हुने छैन । किन कि याे सबै क्यानकाे अधिकार क्षेत्र हाे,’ पुबुदुले भने ।

तत्कालिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले भदौमा राजीनामा गरेपछि रिक्त पदमा नियुक्त भएका दसानायके प्रशिक्षण सम्हाल्न नेपाल आइपुगेका हुन् । क्यानको २५ मंसिरकाे बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेको हाे।

यसअघि नेपालले सन् २०११ देखि २०१५ सम्म पुबुदुको प्रशिक्षणमा खेलेको थियो । नेपालले डिभिजन चार र तीनको उपाधि जित्दा पुबुदुले नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए ।

पालिकाकै कारण विद्यालय शिक्षकविहीन भएकाे आराेप, अध्यक्ष भन्छन्-अनावश्यक राजनीति गरियो

अर्घाखाँची ।  एक महिनादेखि स्थानीय विद्यालय शिक्षकविहीन भएको भन्दै अर्घाखाँची मालारानी गाउँपालिका-१ का अभिभावकहरूले प्रमुख जिल्ला अधिकारीलाई गुहारेका छन् ।

मालारानी गाउँपालिका-९ गोखुङ्गा, कालुकादीपस्थित महादेव आधारभुत विद्यालय एक महिनादेखि शिक्षकविहीन बनेकाे र तत्काल शिक्षककाे व्यवस्थापन गर्न स्थानीय दलका प्रतिनिधिसहित विद्यालय व्यवस्थापन समितिले प्रमुख जिल्ला अधिकारी समक्ष हारगुहार गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर विकसहितका सदस्यहरूले विद्यालयको लेटरप्याडमै निवेदन लेखेर प्रजिअलाई शिक्षक खोजिदिन अनुरोध गरेका हुन् ।

एउटा मात्रै दरबन्दी भएको र विद्यालयले आवश्यक प्रक्रिया पूरा गरी नियुक्त गरेका शिक्षकलाई विद्यालय व्यवस्थापन समितिको सहमतिविनै हाजिर भएको ४५ दिनभित्रै अन्यत्र सरुवा गरी पालिकाले विद्यालयलाई शिक्षकविहीन बनाएकाे माओवादी केन्द्रका पालिका अध्यक्ष एवं स्थानीय अगुवा पदम क्षेत्रीले आराेप लगाए ।  १२ पुसमा प्रजिअलाई शिक्षक खोजिदिन आग्रह गरेको र १३ पुसमा पालिकामा डेलिगेसन गए सुनुवाई नभएको क्षेत्रीले बताए । ‘शिक्षक सरुवा‍‍ हुन दुई पक्षको सहमति चाहिन्थ्यो तर दुई पक्षको सहमतिविना पालिकाले जबर्जस्ती सरुवा गरेको छ, ‘ क्षेत्रीले भने ।

तर, क्षेत्रीको आरोप पालिका अध्यक्ष बालकृष्ण आचार्यले सिधैँ इकार गरेका छन् । ‘राजनीतिक आस्थाका आधारमा खेल्न खोज्दा साथीहरूले विवेक पुर्‍याउनु भएन ।’ न्यूज कारखानासँग अध्यक्ष आचार्यले भने, ‘पालिका भित्रको शैक्षिक गुणस्तर कायम गर्न हामी प्रतिबद्ध छौं । आज सार्वजनिक बिदा भैहाल्यो भोलि दुवै विद्यालयमा शिक्षक हाजिर हुनुहुनेछ ।’ उनले स्थानीयलाई भ्रममा पार्न खाेजेकाे बताए ।  ‘शिक्षा जस्तो पवित्र क्षेत्रमा राजनीति नगरिनुपर्थ्याे ,’ आचार्यले भने  ‘दुवै विद्यालय पुगेर सबैकाे सहमतिमा शिक्षक हाजिर गर्ने र शैक्षिक गतिविधि बढाउने गरी सहमति गरिसकेका छौं ।’-हरिप्रसाद भुसाल/न्युज कारखाना

पीएम कपलाई टी-२० फर्म्याटमा लैजान क्यानको प्रस्ताव

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रधानमन्त्री कप (पीएम) एक दिवसीय क्रिकेटलाई टी-२० फर्म्याटमा गर्न प्रस्ताव गरेको छ । बिहीबार आयाेजित पत्रकार सम्मेलनमा क्यानका म्यानेजर विनोद दासले यसअघि हुँदै आएको ५० ओभरको खेललाई २० ओभरमा झार्न प्रस्ताव गरेको बताएका हुन् ।

‘हामी ग्लोबल छनोटमा टी-२० खेल खेल्दैछौँ । त्यसलाई सहयोग हुन्छ भनेर एकदिवसीयलाई टी-२० मा लैजान आग्रह गरेका हौँ। उहाँहरू सकारात्मक हुनुहुन्छ ।’ दासले भने । बर्सेनि आयोजना हुने पीएकपलाई राखेपले आर्थिक सहयोग गर्दै आएको छ । म्यानेजर दासले यो निर्णय चाडै सार्वजनिक हुने समेत बताए ।

बिहीबार नै क्यानले प्रशिक्षण पुबुदु दासानायकेलाई सार्वजनिक गरेको छ ।  क्यानले आयाेजना गरेको पत्रकार सम्मेलनमार्फत पुबुदुले ३० खेलाडी ग्लोबल छनोटको लागि सुरुवाती प्रशिक्षणमा  बोलाउने र नाम आजै बेलुकी वा भोलि बिहानसम्म सार्वजनिक गरिने बताए ।

हाम्रा पुर्खाका कारण नेपालीले गर्व गरेका छन्ः पूर्वयुवराज पारस

काठमाडौं  ।  पूर्वयुवराज पारस साहले आफ्ना पुर्खाहरुका कारण अहिले सबै जनाले नेपाली भनेर गर्व गर्न पाएको बताएका छन् । सार्वभौमसत्ता, धार्मिक पहिचान र संस्कृतिको संरक्षण गर्दै नेपालको परिकल्पना र रक्षा गरेकोमा पारसले आफ्ना पूर्खाहरुप्रति सम्मानसमेत व्यक्त गरेका छन् ।

जीवनमा आफूले महत्वपूर्ण र जीवन नै परिवर्तन हुने घटनाहरुको साक्षी बनेको बताउँदै पारसले आफ्नो फेसबुक पोस्टमा आफू वयस्क भएको र धेरै कुरा सिकेको बताएका छन् ।

बिहीबार ५०औं जन्म दिन मनाएका पारसले जीवन जिउने क्रममा आफूले आफ्ना सहकर्मीबारे जान्ने अवसर पाएको र प्रत्यक्ष रुपमा सांस्कृतिक विविधतावारे अनुभव गरेको उल्लेख गरेका छन् ।

जटिल परिस्थितिको समयमा पनि आफूले पाएको निस्वार्थ प्रेम सच्चा नेपाली भावना भएको उनले बताएका छन् ।

परिवार र शुभचिन्तकहरुको निरन्तरको सहयोगका कारण अरुको उत्थान गर्न सजिलो भएको र त्यसले आगामी पुस्ताका लागि अझै स्थिर र समतामूलक नेपाल बनाउन सहयोग गर्ने पारसले बताएका छन् ।

अष्ट्रेलियाको पुरानो संसद् भवनमा आगलागी

सिड्नी । अष्ट्रेलियाको पुरानो संसद् भवनको अगाडिको प्रवेशद्वारमा बिहीबार आगलागी भएको छ ।

स्थानीय समय अनुसार बिहान ११ः३० बजे (००३० जिएमटि) फायर फाइटरहरूलाई घटनास्थलमा बोलाइएको थियो।

स्थानीय मिडियाको भिडियो फुटेजले भवनको अगाडि प्रदर्शनकारीहरू देखाएको छ तर गार्डियन अष्ट्रेलियाका अनुसार आगलागीको कारण भने पुष्टि भएको छैन।

अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार पुरानो संसद् भवन जहाँ अहिले अष्ट्रेलियाली लोकतन्त्रको संग्रहालय रहेको छ ।

प्रचण्डमा व्यक्तिवादी समस्या रहेको लेखनाथ न्यौपानेको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन यतिबेला काठमाडौंमा चलिरहेको छ ।

११ पुसबाट शुरू भएको महाधिवेशन केही दिन अझै लम्बिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको २१ औं शताब्दिमा समाजवादको नेपाली बाटो शीर्षकको राजनैतिक दस्तावेजमाथि यतिबेला सुझावहरु दिने क्रम चलिरहेको छ ।

२५ समूह गठन गरी सोमबारबाट समूहगत छलफल शुरू भएको थियो । बुधबारबाट नेताहरुले सुझाव दिन शुरू गरेका छन् ।

बुधबार ११ समूहले सुझाव दिए भने बाँकीले विहिबार दिइरहेका छन् । महाधिवेशन पुस २० गतेसम्म नै पुग्न सक्ने नेताहरुले बताएका छन् ।

प्रचण्डले प्रस्तुत गरेको सो प्रतिवेदनमा राम कार्की र लेखनाथ न्यौपानेले फरक मत राखेका छन् ।

फरक मत राख्दै नेता न्यौपानेले अध्यक्ष प्रचण्डमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको आरोप लगाएका छन् ।

उनले भनेका छन्, मुख्यतः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ। तपाईंका प्राय सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रिय समितिको निर्णय भन्ने कतै सुनिदैन। सुनिन्छ त म, मेरो, मेलै, प्रचण्डले मात्र।

उनले तत्कालीन नेकपाकालमा केपी ओलीलाई लेखेको पत्रको उदाहरण दिँदै प्रचण्डको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको उल्लेख गरेका छन्। उनले भनेका छन्, हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको बा प्रवृत्ति देखिएको छ। तपाई आफै स(शरीर उपस्थित भएको ठाँउमा तपाईंका लस्करै तस्बिर राख्न कसले निर्देशन दिएको हो ?

यस्तो छ उनले दिएको फरक मतको पूर्णपाठ

 

फरक मत
हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौं महाधिवेशन (पुष ११–१५, ०७८) मा अध्यक्ष कमरेड प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि निम्न विषयमा म लेखनाथ न्यौपाने फरक मत राख्दछु।

१. महाधिवेशनको अर्थ, मूल्य र गुरुत्व जुन हुन्छ त्यो अनुसार विषय र नीतिको कोणबाट यो प्रतिवेदन, प्रतिवेदनको समग्र तहमा संगठित छैन। विचार, दृष्टिकोण र दिशामा सातौं महाधिवेशनको प्रतिवेदनभन्दा पछाडि फर्किएको यो प्रतिवेदनले आजका भित्री र बाहिरी समस्याहरुको हल दिन सक्दैन।कि अध्यक्ष कमरेडले लेख्नुभएको हुनाले जस्तो भएपनि प्रतिवेदनकै स्तरमा आएको छ भन्नुपर्‍यो कि त सम्मेलनको तयारीको अन्तिम क्षणमा महाधिवेशन भन्ने निर्णयको परिणाम भन्नु पर्यो। नत्रयो प्रतिवेदनलेमहाधिवेशनको गरिमा र ओज बोक्दैन।

२. यो प्रतिवेदन माथिमाथि उडान गरेको तर जमिनमा खुट्टा टेकेको छैन। जमिनमा खुट्टा टेकाउनको लागि नेपाली समाजको आजको चरित्र अथवा अन्तरविरोधहरु, वर्गहरुवीचको सम्बन्ध र संघर्ष, उत्पादन प्रणाली, उत्पादनका साधनमाथिको स्वामित्व र वितरण प्रणालीबारे अनिवार्य विश्लेषण हुनुपर्छ। त्यसैगरी तीब्र रुपमा भइरहेको आन्तरिक बसाई सराई र यसले उत्पादन र राजनीतिक आन्दोलनमा पारेको दोहोरो नकारात्मक प्रभाव, विश्व श्रम बजारमा जाने नेपाली जनशक्ति र यसले पैसासँगै राजनीतिक धारणा एवं मतदानमा परिरहेको प्रभाव, विदेश पढ्न जाने विद्यार्थीहरुको बढ्दो संख्या र राम्रो जीवनको खोजीमा विश्वका विभिन्न देशमा जाने नेपाली युवाहरुको एक मात्र लक्ष्य, देशभित्र रहेका किसान, श्रमिक, अति गरिबीको रेखामुनी (२३ प्रतिशत) र गरिबीको रेखामुनी (५६ प्रतिशत) एवं हामीले भन्ने गरेको सर्वहारा वर्गको आकार र अवस्था आदिबारे खोज, अध्ययन र निष्कर्ष विना न प्रतिवेदन जमिनमा टेकेको हुन्छ न त प्रतिवेदनको शीर्षक ‘समाजवादको नेपाली बाटो’लाई सही सिद्ध गर्न सकिन्छ।

३. यो प्रतिवेदनले वाम बाटो समातेको छैन। दक्षिणपन्थी संशोधनवादीदिशा सोझिएको प्रतिवेदन माओवादी कम्युनिस्ट पार्टीको महाधिवेशनको प्रतिवेदन कसरी हुन्छ?पहिलो, शान्तिपूर्ण प्रतिस्पर्धाबाट आजसम्म दुनियाँमा न कतै समाजवाद आएको थियो, न आउने सम्भावना नै छ। उहिल्यै १९५६ मा वदनाम भएको ख्रुश्चोवी लाइन अनुसार जनवादी कान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादको आधार निर्माण भन्ने विषय गम्भीर सैद्धान्तिक विचलन हो। तत्काल वा कार्यनीतिक रुपमा शान्तिपूर्ण प्रतिस्पर्धालाई अबलम्बन गर्ने हदसम्म ठिक मान्न सकिन्छ तर शान्तिपूर्ण प्रतिस्पर्धाबाट नै वैज्ञाजिक समाजवादको आधार निर्माण गर्ने धारणा दक्षिणपन्थ नै हुन आउँछ। दोस्रो, माक्र्सवादको रक्षा सिर्जनात्मक प्रयोग र थप विकास गर्ने उद्देश्यबाट चिप्लिएर प्रतिवेदनको धेरै ठाउँमा ‘प्रयोग र परिमार्जन’ भनिनु माक्र्सवाद विस्तारै छोड्दै जाने दक्षिणपन्थ हो। तेस्रो, कार्यशैली र संस्कृतिमा हामी जे भन्छौं त्यो गर्दैनौं र जे गछौं त्यो भन्न सक्दैनौं। यो कार्यशैली संस्कृतिमा देखिने अर्को दक्षिणपन्थ हो।

०४८ मंसिरमा सम्पन्न नेकपा (एकता केन्द्र) को एकता महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनको नेपाली कम्युनिस्ट आन्दोलनका आधारभूत समस्याहरु उपशीर्षकको ४ नं. बुँदाहेर्दा प्रमाणित हुन्छ। त्यहाँ भनिएको छ “भनाइ र गराइमा एकरुपताको अभाव तथा सिङ्गो कम्युनिस्ट आन्दोलनकै साँस्कृतिक र नैतिक मूल्यमान्यताको नितान्त दयनीय अवस्थाको रोगका कारणले हामी ग्रसित छौं। हामीले जतिसुकै क्रान्तिकारी कुरा गरे पनि यदि त्यो हाम्रो दैनिक व्यवहार र आचरणसँग गाँसिएको छैन भने त्यो सिर्फ लफ्फाजी मात्र हुन जान्छ। नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि काम गरेर पनि नेतृत्वमा कम्युनिस्ट नैतिकता र आचरणको चिन्ताजनक हदसम्म अभाव पाइन्छ। सामान्यतः कार्यकर्ता र जनतामा नयाँ संस्कृति, नैतिक मूल्यमान्यता नेतृत्वबाट नै प्रसारित हुने कुरा हो। तर हाम्रो आन्दोलनको नेतृत्वको जीवनशैली, व्यक्तिगत आचरण र दिनचर्या सामन्ती र वुर्जवाहरुको भन्दा खासै फरक पाइँदैन। अझ कतिपय अर्थमा त त्यो जस्तो कि भन्ने गरिन्छ ‘बुर्जुवा मानवतावादी’ को भन्दा पनि तल रहने गरेको छ।

बोलीको ठेगाना नहुने, निम्न स्तरको झुटो बोल्ने, आर्थिक हिनामिना गर्ने, भ्रष्ट यौन आचरण प्रदर्शन गर्ने, आफ्ना निम्ति विशेष सुबिधाको माग गर्ने, संगठनमा जालझेल र षड्यन्त्र गरेर नेता बनिरहने, तानाशाही र उदारवादी बन्ने, संगठनलाई आफ्नो व्यक्तिगत पेवा वा सम्पत्ति सम्झने, बाहिर सर्वहारा आदर्शको कुरा गर्ने, भित्र लुकिछिपी जस्तोसुकै भ्रष्ट काम पनि गर्न पछि नपर्ने जस्ता नितान्त सामन्ती र बुर्जुवा नैतिकता हाम्रो आन्दोलनको नेतृत्वमा छरपस्टै देखापर्ने गरेका छन्। जबसम्म आन्दोलनको नेतृत्व यस किसिमका घातक र व्यक्तिवादी प्रवृत्तिबाट मुक्त हुँदैन, तबसम्म जनताको क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने र समाजलाई बदल्ने भन्ने कुरा ढाँट कुरा र ‘दिन काट्ने र काल पर्खने’ काम सिवाय केही हुँदैन।

गतकालमा पार्टीमा अनावश्यक टुटफुट पार्ने, गुटबन्दी र षड्यन्त्र गर्ने कामको मूलमा नेतृत्वको सामन्ती र बुर्जुवा चिन्तनपद्धति र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहने गरेका छन्। पार्टीले यो प्रश्नलाई पूर्ण गम्भीरताकासाथ लिएर समाधानका उपायहरुको खोजी गर्ने पर्दछ। अन्यथा ‘घुमिफिरी रुम्जाटार भनेझैं’ हामी पनि संशोधनवादकै खाडलमा जाकिने कुरामा शंका रहन्न।”
पार्टी सानो हुँदा, सत्तामा नहुदा एवं स्रोत र साधनमा कमजोर हुँदाका समस्या त त्यति डरलाग्दा थिए भने आज ति तिनै चीजमा डुबेको बेला समास्या हजार गुणा नकार रुपमा बढेका छन्। जिम्मा क–कसले लिने हो?

४. बनिबनाउ वुर्जुवा राज्यसत्ता अन्तर्गत हामी सरकारमा गएर समाजवादको आधार निर्माण गर्ने तरिका मौलिक होइन बरु माक्र्सवाद विरोधी हो। पहिलो, हाम्रै अनुभव छ कि जनयुद्धबाट आएर पहिलो चुनावमै त्यत्रो तागतसहित हाम्रै नेतृत्वमा सरकार बन्दा समेत जाबो एउटा सेनापति र पशुपतिको भट्ट फेर्न सकेनौं।

दोस्रो, चुनावबाट अएको भेनेजुयलाका चावेज जो कम्युनिस्ट होइनन् वामपन्थी मात्र थिए उनले १९९८ मा निर्वाचित भएपछि पहिलो घोषणामा २२ हजार अमेरिकी सेनालाई २४ घण्टाभित्र भेनेजुयला छाड्ने आदेश दिए र अमेरिकासँगको सैन्य सम्बन्ध अन्त्यको घोषणा गरे। अन्मुनियम र तेलमा भएको वैैदेशिक लगानीको अन्त्यको घोषणा गर्दैै राष्ट्रियकरण गरे र भूमिसुधार लागुगरेर जमिन्दारहरुको जमिन किसानहरुलाई वितरण गरे तर सैन्य रणनीति अन्तर्गतको एमसीसी परियोजनाप्रति हाम्रो लसपस र अस्वीकार्यको स्पष्ट धरणा नआउनु साथै माओवादी कम्युनिस्टहरुको नेतृत्वमा बनेका सरकारहरुले एक पटक पनि औपचारिक रुपमा कुख्यात सुगौली सन्धीलगायत अन्य असमान सन्धीबारे चुसम्म नबोल्नुजनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने सन्दर्भसँग बाँझिन्छ।

आगामी दिनमा सरकारमा गएर जनवादी क्रान्तिका बाँकी कार्यभार र समाजवादी आन्दोलनको नेतृत्व गर्ने सैद्धान्तिक र व्यवहारिक धरातल हाम्रो आजको राजनीति लाइनले सुरक्षित गर्दैन।

५. ०६३ पछि हम्रो नेतृत्वमा ३ वटा सरकार बने साथै त्यस अतिरिक्त प्राय सबै सरकारमा हामी सहभागी छौं। एउटै पात्र पटकौं मन्त्री बनेको छ, उनीहरुको न पारदर्शिता र कार्यसम्पादनहितको मूल्याङ्कन छ, न त गणना गर्न लायक जनताले अनुभूत हुनेगरी गुणात्मक कुनै काम नै भयो? हाम्रै नेतृत्वमा प्रादेशिक सरकार छन्। तिनीहरुले अरु पार्टीले नेतृत्व गरेको सरकारभन्दा भन्दा फरक के काम गरे? स्थानीय सरकार हामीले जितेको ठाउँमा एउटा नमूना पालिका सरकार कतै छ? यसको निर्मम समिक्षा नगरी सरकारदेखि सरकारसम्मको गोलचक्करले हामीलाई बदनाम मात्र बनाउँछ।

जसरी सन् १९५९ को क्युवाली क्रान्तिभन्दा अघि सरकारमा गएका कम्युनिस्ट नेताहरुले गरेको भ्रष्टाचारले कम्युनिस्ट भन्ने शब्द नै घृणाको प्रयाय बनेको थियो। त्यसकारण त्यहाँ कम्युनिस्टको नाममा क्रान्ति गरिएन। बरु क्रान्ति सम्पन्न भएपछि फिडेलहरुले आफू कम्युनिस्ट भएको सार्वजनिक गरे। हाम्रो तर्फबाट मन्त्री भएकाहरुको कुरा छाडौं, मन्त्रीका अधिकांश पिएहरुको मात्र सम्पत्ति छानबिन गर्ने हो भने बदनामीको डरलाग्दो चित्र देखापर्दछ। यसलाई पूराका पूरा सच्याइएन भने सरकारमा गएर समाजवादको आधार निर्माण गर्ने कुरा काल्पनिकमात्र होइन, बदनामीको माध्यम हुनेछ।

६. हाम्रो आन्दोलन ओरालो लाग्नाको र जनतासँगको सम्बन्ध कमजोर हुनाको मुख्यकारण पार्टीका नेताहरुको अपारदर्शी आर्थिक जीवन हो। हामीमाथि भ्रष्टाचार, कमिसन, घुसमार्फत अकुत सम्पत्ति थोपरेको गम्भीर आरोप छ। हाम्रो जीवनशैली र परिवार एवं) नातागोताको फूर्ती हेर्दा अर्थमोह होइन भन्ने ठाउँ छैन।

सम्पत्तिमाथिको निजी स्वामित्वको अन्त्य गर्दै समाजवादी र साम्यवादी समाज निर्माण गर्ने चेतना र आन्दोलन सीमित नेताहरुको वर्ग उत्थानमा गएर बदनाम हुने कुरो कसरी सहन सकिन्छ। त्यसकारण हाम्रा नेताहरु, जनप्रतिनिधिहरु र लाभको पदमा गएका सदस्यहरुको सम्पत्ति छानविन गर्न तत्काल पार्टीभित्र समिति बनाऔं। आन्दोलनको अख्तियारी दुरुपयोग गरेर सम्पत्ति थोपर्ने नेताहरुलाई पार्टीबाट कारवाही गर्ने आँट गरौं। अनि बल्ल समाजवादबारे छलफल गर्न सक्ने धरातल बन्छ।

७. एकातिर हामीले दलाल पँुजीवाद विरुद्ध लड्ने कुरा गरेका छौं भने अर्कोतिर दलाल पूँजीवादको घोडा चडेर दौडिरहेको उदार पुँजीवादी शक्तिसँग रणनीतिक मोर्चा बनाएर अघि बढ्ने प्रगोग र घोषणामा छौं। यसलाई सैद्धान्तिक र व्यवहारिक रुपमा सच्याएनौं भने हामी पनि दलाल पँुजीवादको घोडसवार बन्नुको बिकल्प छैन।

सायद यही कारण प्रतिवेदनले हाम्रो समाजको वर्ग विश्लेषण गर्न चाहेन र कुन कुन राजनीतिक शक्तिले कुन वर्गको हितमा काम गरिरहेको भनेर विषय प्रवेश गर्न आवश्यक ठानेन। जुन वर्गसँग लडेर जित्नु छ, त्यही वर्गलाई मित्रशक्ति बनाउने व्यवहारले हाम्रो कार्यनीति, कार्यनीतिले रणनीतिलाई पुयाउने योगदान र वैज्ञानिक समाजवादको आधार निर्माणको पहल अघि होइन पछाडि फर्कन्छ साथैयसले वर्ग संघर्षलाई अस्वीकार गर्दछ।

जब वर्ग विश्लेषण र वर्ग संघर्षमा हामी मौन वा निष्कृय हुन्छौं तब पार्टीमा अन्तरसंघर्ष विहीन मान्छेहरुको झुण्ड मात्र बाँक रहन्छ। अन्तरसंघर्ष विहीन पार्टी मृत् पार्टी हुन्छ, जुन माओवादी हुनै सक्दैन।

८. दलाल पुँजीवादविरुद्ध लड्ने पार्टीले सबभन्दा पहिला त्यो प्रवृत्तिबाट मुक्त संगठन, नेता–कार्यकर्ता निर्माण गर्नैपर्छ। पसिना बगााएर वा उत्पादनसँग जोडिएका श्रमशील नेता–कार्यकर्ता समाजवादका खास आधार हुन्।

श्रम नगर्ने वा उत्पादनसँग नजोडिएका नेता–कार्यकर्ताको सघनता जब पार्टीमा देखापर्दछ तब त्यहाँ दलाल पुँजीले हैकम चलाउँछ। विना पसिना, उत्पादनसँगको विना सहकार्य दैनिक लाखौं गरिने हाम्रा नेता–कार्यकताहरुको खर्चको स्रोत के हो? हामीमाथि विरोधीले आक्रमण गर्ने हतियार यही हो।

यसकारण दलाल पँजीसँगको हाम्रो हितैषी सम्बन्धलाई व्यवहारिक अन्त्यको घोषणा, उद्योग/व्यापारबाट सम्पत्ति कमाएको तप्कालाई पार्टी समर्थक समूहमा झार्ने कार्यक्रम र विचौलीया धन्दाबाट सम्पत्तिवाल बनेको वर्गलाई पार्टीबाट निकाल्ने दृढताले मात्र हामी माक्र्सवादी बन्न सक्छौं। आधारभूत वर्ग धरातलमा हाम्रो आन्दोलनले खुट्टा टेक्छ। यसरी मात्र दलाल पँजीवादका विरुद्ध लड्ने कार्यनीति कार्यान्वयन गर्ने ठाउँमा उभिने नैतिकता राख्दछौं।

९. एमालेसँगको एकता सबै कोणबाट सही थियो भन्ने विषय प्रतिवेदनमा उल्लेख गर्ने कुरो समग्रतामा सही छैन। एमालेसँगको चुनावी तामलमेल र कार्यगत मोर्चासम्मलाई सही मान्न सकिन्छ तर शान्तिपूर्ण संसदवादमा डुबेको, उदारवादी अर्थतन्त्रको घोडा चढ्ने र ओली जस्तो दक्षिणपन्थी विचारको नेतृत्वसँग छापामार तरिकाले गरिएको एकता सैद्धान्तिक र प्रक्रियागत हिसाबले गम्भीर गल्ती थियो।

त्यस्तो पँजीवादी पार्टीसँग एकता गरेर समाजवादको तयारी भन्ने आँट आजसम्म बिना संकोच गरिरहेका छौं? यो दक्षिणपन्थ होइन? अदालतले दुई पार्टीलाई अलग बनाएपछि ओली त जान्थे गए तर ओलीलाई हामीले कारवाही गरेपछि बनाइएका अध्यक्षसहितको समूह पेरिसडाँडाबाट लुरुलुरु धुम्बराही जाने कुराले एकतालाई सही थियो भनेर पुष्टि गर्छ? त्यसकारण त्यो गल्ती सामान्य उदारवादी कार्यशैलीमा मात्र सीमित थिएन,यसमा कमरेड प्रचण्डभित्र विकास भइरहेको व्यक्तिवादी अराजकता र संसदवादी रुझान पनि जिम्मेवार छ।

१०. हामी सबै मुख्यतःः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ। तपाईका प्राय सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रिय समितिको निर्णय भन्ने कतै सुनिदैन। सुनिन्छ त म, मेरो, मेलै, प्रचण्डले मात्र। यसको एउटा उदाहरण तपाईले नेकपा कालमा केपी ओलीलाई लेखेको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको छ भने हामी भन्ने एक ठाउँमा मात्र।

हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको बा प्रवृत्ति देखिएको छ। तपाई आफै श- शरीर उपस्थित भएको ठाँउमा तपाईका लस्करै तस्बिर राख्न कसले निर्देशन दिएको हो? कमरेड अध्यक्ष, त्यो ठाउँमा दिलबहादुर वा सुरेश वाग्ले अथवा सहिदहरुको तस्बिर राखेको भए हाम्रो संस्कृति कति सुसंगत हुन्थ्यो होला?

भारतमा थपिए १३ हजार १५४ जना नयाँ सङ्क्रमित

नयाँदिल्ली । भारतमा थप १३ हजार १५४ जना कोरोना भाइरस संक्रमित थपिएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ९६१ जना ओमिक्रोन भेरियन्टका रहेका छन् ।

यसैसँगै भारतमा कूल कोरोना सङ्क्रमित संख्या तीन करोड ४८ लाख २२ हजार ४० पुगेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

सोही अवधिमा थप २६८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८० हजार ८६० पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ८२ हजार ४०२ जना रहेका छन् । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.२४ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा भारतमा सात हजार ४८६ जना कोरोनाबाट मुक्तभएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४२ लाख ५८ हजार ७७८ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् ।

भारतमा कोरोना भाइरस निको हुने दर ९८। ३८ प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।

भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६७ करोड ६४ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ जनवरी १६ सन् २०२१ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयदेखि हालसम्म एक अर्व ४३ करोड १६ लाख भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।

नोरा फतेहीलाई कोरोना संक्रमण, भनिन्–‘सचेत रहनुहोला’

काठमाडौं । बलिउड अभिनेत्री नोरा फतेहीलाई पनि कोरोना संक्रमण भएको छ । चर्चित डान्सरसमेत रहेकी नोरा फतेहीले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएकी हुन् । कोरोना पुष्टि भएसँगै नोराले आफ्नो स्वास्थ्य अवस्था निकै खराब भएको बताएकी छन् ।

यस्तो छ नोराको पोष्ट

सोसल मिडिया इन्स्टाग्राम स्टोरीमा नोराले भनेकी छन्, ‘अहिले म दूर्भाग्यबस कोरोनासँग लडिरहेको छु । म डाक्टरको सल्लाह अनुसार क्वारेन्टाइनमा छु । स्वस्थ्य रहनुहोला, सबैले मास्क लगाउनुहोला ।’

उनले थप भनेकी छन्, ‘यो चाँडो भन्दा चाँडो फैलिने र सबैलाई विभिन्न तरिकाले असर गरिरहेको हुन्छ । सचेत रहनुहोला संक्रमण सबैलाई हुनसक्छ । म अहिले निको भइरहरेको छु । आफ्नो स्वास्थ्य भन्दा अरु केही महत्वपूर्ण हुदैन ।’

गीतको प्रमोशनमा व्यस्त थिइन् नोरा

गायक गुरु रन्धावाको नयाँ गीत ‘डान्स मेरी रानी’को भिडियोमा नोरा फतेही फिचर्ड छन् । गीत रिलिज भएदेखि नै नोरा र गुरुले यसको निरन्तर प्रचार–प्रसार गर्दै आएका छन् ।

उक्त गीतको चर्चा सर्वत्र भइरहेको छ । यो गीतको भिडियो रिलिज हुनेबित्तिकै युट्युबमा पनि हिट भइसकेको छ ।

माओवादी महाधिवेशन : बिहीबार कसले के भने ?

काठमाडौ । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्य चलिरहेको छ ।

गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमाथि मंगलबार २५ समूहमा छलफल भएको छ भने बुधबारबाट समूहगत छलफलको निष्कर्ष प्रस्तुत भइरहेको छ ।

बुधबार ११ वटा समूहले निष्कर्ष सुनाइसकेका छन् भने बाँकी १४ वटाले बिहीबार प्रस्तुत गर्ने कार्य चलिरहेको छ ।

बिहीबार आफ्नो समूहको निष्कर्ष सुनाउँदै कसले के भने ?

जगत सिम्खडा, नेता उपत्यका विशेष प्रदेश समूह 

प्रतिवेदनको शीर्षक समयाअनुकुल भएन कि ! परिवर्तन गरेर ‘समाजवादी क्रान्तिको नेपाली बाटो’ राख्न उपयुक्त हुन्छ भन्ने लाग्छ । हाम्रो छलफलमा प्रचण्ड पथलाई ब्यूँत्याउनु पर्ने सुझाव आएको छ ।

गोपाल शर्मा, नेता समूह १३ 

हालै सम्पन्न जबस संगठनहरूमा नेतृत्व र पदाधिकारीविहीन बनाएर राजनीतिमा राम्रो सन्देश गएको छैन ।  महाधिवेशनमा पनि यो स्थिति पैदा हुनुहुँदैन । माथिल्लो तहका कमजोरीले तल्लो तहमा देखिएको उत्साहलाई  समेत कमजोर बनाइएको छ । महाधिवेशनबाटै पदाधिकारी चयन गरिनुपर्छ । पार्टी अध्यक्ष प्रचण्ड तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय कमिटी घोषणा गर्ने मनस्थितिमा रहेको भन्ने बाहिर आइरहेको छ । यसलाई पनि ख्याल गरिनुपर्छ । साथसाथै कार्यसम्पादनअनुसार नेताहरूको जिम्मेवारी निर्धारण हुनपर्ने निष्कर्ष हाम्रो समूहको छ ।

प्रचण्डपथमा के गल्ती थियो र छोडियो ? छोड्नु गल्ती थियो भन्ने हो भने संश्लेषण गरेर किन अगाडि नबढाउने ? अब जे आएको छ, यसलाई प्रचण्ड विचारधाराको रुपमा अघि बढाइनुपर्ने उपयुक्त देख्छु । प्रचण्डपथलाई ब्यूँत्याइए पश्चगमन हुन्छ भनेर राजनीतिक प्रतिवेदनमा प्रस्तुत गरिनु आफैंमा विरोधाभासपूर्ण धारणा हो । यसमा संशोधन आवश्यक छ ।

श्रीकृष्ण अधिकारी,  नेता सम्पर्क समन्वय विशेष प्रदेश कमिटी 

अहिले परिस्थिति बदलिएको छ । अहिले प्रचण्डको दस्तावेज आएको छ। यो अग्रगामी मात्रै छैन अबको कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्नेगरी आएको छ । अब यसलाई प्रचण्ड विचारधारा भनेर जाउँ । प्रचण्ड विचारधाराको नेतृत्वमा बृहत कम्युनिस्ट एकताको आह्वान गरौँ । यसले मात्र माओवादीलाई पुनर्जीवन दिन्छ ।

अध्यक्षको राजनीतिक प्रतिवेदनले यथास्थितिको निरन्तरतामा क्रमभङ्ग गरेको छ । प्रतिवेदनले बुर्जुवा व्यवस्थाविरुद्ध प्रहार गरेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट मञ्च निर्माणमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेछ । यो हाम्रो निष्कर्ष हो । र प्रतिवेदनमा त्रिदेशीय रणनीतिक साझेदारीबारे विश्लेषण आवश्यक छ ।

असमान सन्धि पुनरावलोकन गर्ने तथा कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा प्रकाशनको स्वामित्व पार्टीले लिनुपर्ने छ । अन्य राजनीतिक दलहरूलाई हेर्ने दृष्टिकोण पनि प्रस्ट पार्न आवश्यक छ ।

साथसाथै प्रचण्डको दस्तावेजमा भारतीय विस्तारवाद, हिन्दु अतिवादले नेपालमा पारेको असर उल्लेख गर्न आवश्यक छ यो हाम्रो जोडदार माग हो ।

जातकै कारण जसको दुग्धजन्य पदार्थ बजारमा बिक्दैनन्

कञ्चनपुर । नाम सोध्दा सहजै गौरसिंह भनेका उनी त्यसपछि एकछिन अड्किए, अनि अलि दबेको स्वरमा भने, ‘सार्की हो ।’ शुक्लाफाँटा नगरपालिका– ४ आसापुरका सार्कीले भैँसीको ध्यू बिक्रीका लागि बजार घुम्दै हिँडेपनि बिक्री गर्न सकेनन् । त्यसको कारण एउटै हो, उनको जात ।

“म सार्की हुँ भन्ने थाहा पाएका कतिपय मानिसहरु आउँदै–आउँदैनन्, कति आएपनि खरिद नगरी फर्कन्छन्”, थर लुकाउनुको व्यथाबारे गौरसिंहले सुनाए, “त्यसैले सकेसम्म मेरो जात भन्दिनँ । व्यापार भएन भने मैले कसरी परिवार पाल्नु ?” राम्रोसँग तताएको भैँसीको शुद्ध दुई किलो ध्यू बेच्नका लागि झलारी बजारमा निकै घुमे तर दलित भएका कारण बिक्री गर्न सकिएन उनले बताए  । “होटेल, पसल, डेरीमा लगे पनि बिक्री भएन”, उनले भने, “सबै जनाले ध्यू चाहिदैन भनेर फर्काए ।” झलारी बजारमा सबैले दलित समुदायको व्यक्ति भनेर चिनेका भएर खरिद नगरेको उनको भनाइ छ । नचिनेको बजार महेन्द्रनगर पु-याएर मुस्किलले ध्यू बिक्री गरेको उनले बताए ।

डेरी सञ्चालक भने सबै समुदायको विभेदरहित तरिकाले दूध राख्दै आएको उनको भनाइ छ । दलित भएकै आधारमा दुग्धजन्य पदार्थ खरिद नगरिएको होइन । खपतनै कम भएपछि कसरी राख्ने डेरी सञ्चालक बताउँछन् । “भैँसीको दूध बिक्रीका लागि बजारमा लगेपनि कसैले खरिद गर्दैनन्”, पदम दमाइँले भने, “डेरी सञ्चालकलेसमेत व्यक्ति हेरेर दूध खरिद गर्ने गरेका छन् । दलित समुदायका व्यक्तिले दूध बिक्रीका लागि ल्याए खपत कम छ । चाहिदैन भन्छन् । दलित समुदाय बाहेकका व्यक्तिले दूध ल्याए सहज रुपमा राख्ने गरिन्छ ।”

दलित समुदायलाई समाजमा हेर्ने दृष्टीकोणमा फरक नआउँदा अझै थिचोमिचो सहनु परेको उनको भनाइ छ । “दलित समुदायले पालेका गाईभैँसी खरिद गरेर कथित उपल्लो जातका व्यक्तिले लगेमा त्यसकै दूध दुहेर खान्छन् । तर दुहेर दूध बजारमा बिक्री गर्न लगे बिक्री हुदैन”, उनले भने, “दलित समुदाय शिक्षामा अगाडि नहुँदा र आर्थिक रुपमा सम्पन्न नहुँदाको परिणाम भोग्दै आएका छौं ।” गलत कुरीतिका कारण गरिबलाई गुजारा चलाउन समेत मुस्किल रहेको उनले दुःखेसो छ ।

“समाजले अझै समान व्यवहार गर्दैन, खोइ के भनुम्”, पदम दमाइँले बोल्दाबोल्दै रोकिए । समाज परिवर्तन भयो भनियो तर दलित भएकै कारण गौरसिंहहरूले भोगेका अथाह पीडाले कहिल्यै राज्य सञ्चालक गर्नेहरूलाई छोएन, न मर्दापर्दा काम लाग्ने भनिएका छिमेकीले नै कहिल्यै सम्मानको अनुभूति र आभास दिलाए । कथित तल्लो जात भएकै कारण गौरसिंहहरूले भोगेका पीडाहरू बाहिर आउँदैनन्, आए पनि सबैलाई सामान्य लाग्न थालेको छ । उनले भने, “म आफू कसैलाई भेदभाव गर्दिनँ, अरूले गर्छन् भने केही छैन ।”

अहिले पनि लगभग त्यस्तै छ, नयाँ पुस्ताले त खासै भेदभाव गर्दैनन्, पुराना मान्छेहरूको सोच र व्यवहार फेरिएको छैन पदम दमाइँले भने । जातीय भेद्भाव तथा छुवाछुत (कसूर र सजाय) ऐन २०६८ अनुसार कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, उत्पत्ति, जातजाती, वंश, समुदाय, पेशा वा व्यवसायका आधारमा छुवाछुत गर्न पाइदैन । यस्तो भेद्भावजन्य कार्य गरे कानुन बमोजिम दण्डनीय हुने व्यवस्था छ । जातीय रुपमा छुवाछुत गर्नेलाई रु २५ हजारदेखि रु एक लाखसम्म जरिवाना र एक महिनासम्म कैदको व्यवस्था समेत गरेको छ  ।

राष्ट्रिय हलियामुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले दलित समुदायले उत्पादन गरेको दूध बजारमा बिक्री नहुनु मानव अधिकारको चरम उल्लङ्घन भएको बताए । “मानव भएर मर्यादित रुपम बाच्न आवश्यकपर्ने सबै प्रकारका अधिकारको ग्यारेण्टी हुनुपर्छ”, उनले भने, “कानुन बनाएर मात्रै हुँदैन । कार्यान्वयन गरिनुपर्छ । पेशा व्यवसायलाई मर्यादित रुपमा गर्न नपाउँदासम्म मानव अधिकारको प्रत्याभूत हुनसक्दैन ।” जीवनको निम्त नभइ नहुने गाँस, बास, कपास र विकासको निम्त नभइ नहुने शिक्षा, स्वास्थ्य र रोजगार संरक्षणका लागि नभइ नहुने शान्ति सुरक्षा र समानता नै मानव अधिकार भएको उनको भनाइ छ ।

दलित समुदायमाथि पेशा व्यवसाय अपनाएकै आधारमा हुने विभेद्, दलित समुदायका बालिबालिकाले उच्च शिक्षाका लागि सहरमा पढन जाँदा दलित भएकै कारण डेरा नपाउने समस्यासमेत मानव अधिकारको उल्लङ्घन भएको उनको बुझाइ छ । “संविधानले दलित समुदायलाई सम्मानजनक रुपमा समाजमा बस्न पाउने अधिकारको ग्यारेण्टी गरेको छ”, उनले भने, “यसलाई कार्यान्वयन गर्नुपर्ने आजको चुनौती छ । रुढीवादी समाजका कारण दलित समुदाय वर्षौदेखि अधिकारबाट वञ्चित भएका छन् । अब यसप्रति सबै सचेत हुनुपर्छ ।”

नेपाल छुवाछूतमुक्त घोषणा भएको, संविधानको प्रस्तावनामै जातीय भेदभाव गर्न नपाइने उल्लेख गरिएको, जातीय भेदभाव तथा छुवाछूत (कसुर तथा सजाय) ऐन, २०६८ आएको पदम दमाइँलाई थाहा छ । सँगै के पनि थाहा छ भने कानुन त बनाइयो तर त्यसको प्रभावकारी कार्यान्वयनमा राज्यले चासो देखाएन, दलितमाथि अन्याय भइरह्यो, दोषीले छुटकारा पाइरहे । तपाईं त यसवारे जानकार हुनुहुन्छ । छुवाछूत कसरी अन्त्य होला ? भन्ने प्रश्न गर्दा पदमले भने, “मानिसले मानिसलाई प्रेम गर्न सिकाउनुपर्छ, भेदभाव आफैं हराएर जान्छ ।”-रासस

भारतमा थप १३ हजार १५४ जना कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट थप १३ हजार १५४ सङ्क्रमित केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ९६१ जना ओमिक्रोन भेरियन्टका रहेका छन् । यसैसँगै भारतमा कूल कोरोना सङ्क्रमित संख्या तीन करोड ४८ लाख २२ हजार ४० पुगेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । सोही अवधिमा थप २६८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८० हजार ८६० पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ८२ हजार ४०२ जना रहेका छन् । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.२४ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा भारतमा सात हजार ४८६ जना कोरोनाबाट मुक्तभएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४२ लाख ५८ हजार ७७८ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.३८ प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।

भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६७ करोड ६४ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ जनवरी १६ सन् २०२१ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ४३ करोड १६ लाख भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ । -रासस

गान्धीलाई गाली गर्ने र गोड्सेलाई स्यालुट ठाेक्ने कालीचरणविरुद्ध मुद्दा

नयाँ दिल्ली । भारतमा महात्मा गान्धीको अपमान गर्ने र उनका हत्यारा नाथुराम गोड्सेको प्रशंसा गरेको आरोपमा पक्राउ परेका एक हिन्दुवादी नेतामाथि प्रहरी मुद्दा चलाएको छ । सन्त कालीचरण महाराजलाई बिहीबार चलाएको हो ।

अभिव्यक्तिमार्फत समुदायहरुबीच दश्मनी प्रबर्द्धन गरेको कालीचरणमाथि आरोप लागेको छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा कालीचरणले भनेका छन्, ‘मोहनदास करमचन्द गान्धीले देश ध्वस्त पारेका थिए । गान्धीका हत्यारा नाथुराम गोड्सेलाई स्यालुट छ ।’

रायपुरमा धर्म ससंदलाई सम्बोधन गर्दै उनले मुस्लिमहरूलाई पनि होच्याएका थिए । मुस्लिमको उद्देश्य राजनीतिमार्फत देश कब्जा गर्नु भएको उनको भनाइ थियो । हिन्दु धर्म रक्षाका लागि कट्टर हिन्दुवादी नेताहरूलाई निर्वाचित गर्न उनले माग गरेका थिए ।

यसैबीच, महाराष्ट्रमा सत्तारुढ कंग्रेसको राज्य एकाइका अध्यक्ष मोहन मार्कमले कालीचरणलाई राज्यद्रोहको मुद्दा लगाउनुपर्ने बताएका छन् ।

कानून नबन्दा ‘गेटा मेडिकल कलेज’ सञ्चालनमा ढिलाइ

 

सुदूरपश्चिम। ऐन कानून बनाउन भइरहेको ढिलाइले कैलालीको ‘गेटा मेडिकल कलेज’लाई कुन प्रारुपमा सञ्चालन गर्ने भन्नेमा अन्योल सिर्जना भएको छ ।

ऐनको अभावमा कलेजलाई कुन प्रारुपमा सञ्चालन भन्नेमा टुङ्गो लाग्न नसकेर अन्योल देखिएको कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए । ‘कसैबाट पनि ऐन कानून बनाउन ‘लबिङ’ भएको नदेखिँदा जनताले अपेक्षा गरेको समयभित्रै कलेज सञ्चालन हुने अवस्था देखिँदैन’, उनले भने, ‘ऐन ल्याउने कुरा सरकार र संसद्सँग जोडिएकाले त्यसका लागि अहिलेसम्म पहल भएको देखिएको छैन।’

गत वर्ष दुईपटक विघटन भई पुनःस्थापित प्रतिनिधिसभाले हाल पनि निर्वाधरुपमा काम गर्न नसकिरहेका अवस्थामा कलेज सञ्चालनका लागि चाहिने कानून निर्माणको विषय ओझेलमा परेको जनाइएको छ ।

उनले अहिलेसम्म कलेज सञ्चालनसम्बन्धी विधेयकको मस्यौदासम्म पनि तयार हुन नसकेको अवस्थामा कलेज सञ्चालन हुन अझै डेढ दुई वर्ष पर्खिनुपर्ने देखिएको बताए । कलेजलाई एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान, मेडिकल कलेज वा विश्वविद्यालयमध्ये कुनै एक प्रारुपमा सञ्चालन गर्न सकिने बताइएको छ । ऐन कानून बनिसकेपछि पनि कलेजमा स्वास्थ्यसम्बन्धी उपकरण र प्राविधिक जनशक्ति लगायतको व्यवस्थापन जस्ता काम गर्न समय लाग्ने देखिएको छ ।

सरकारको प्राथमिकता प्राप्त आयोजना गेटा मेडिकल कलेज निर्माणस्थलमा निर्माण गर्नुपर्ने ३६ भन्दाबढी भवन संरचनामध्ये २९ वटाको निर्माण पूरा भइसकेको छ । थप केही संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

अस्पताल, कलेज, छात्राबास, आवास भवनका अलावा अक्सिजन प्लान्ट, कुरुवा घर, लास घर, जस्ता संरचनाको निर्माण पूरा भइसकेको छ । भवनमा फर्निचर, पानी, विद्युतीकरण र फोहर व्यवस्थापनको काम भइरहेको छ ।

कलेज निर्माणका लागि सरकारले छुट्याएको ५१ दशमलव आठ हेक्टर जग्गामा रहेका रुख कटानीका लागि भएको ढिलाइ लगायतका कारणले सुरुको अवस्थामा कलेज निर्माणसम्बन्धी पूर्वाधारको निर्माणको काम अघि बढाउन ढिलाइ भएको थियो ।

कलेजको भोगाधिकारमा रहेको जग्गामध्ये झण्डै छ बिघा जग्गामा मुक्तकमैया परिवारको बसोबास छ । मुक्तकमैयालाई अन्यत्र पुनःस्थापना गरी उक्त जग्गामा मेडिकल कलेजको ट्रमा सेन्टर बनाउने योजना छ । तर उनीहरुलाई अन्यत्र पुनःस्थापना गराउनसमेत पहल नहुँदा ट्रमा सेन्टरको योजना अलपत्र परेको छ ।

कलेजका संरचनाको निर्माण पूरा भएसँगै आफ्नै गाउँठाउँमा मेडिकल शिक्षा अध्ययन गर्न पाउने आशा भने स्थानीयवासीमा जागेको छ । स्थानीय तीर्थराज ओझाले कलेज सञ्चालन हुन सकेमा आफ्नै ठाउँमा मेडिकल शिक्षा पढ्न चाहने स्थानीयवासीको सपना पूरा हुने भई मेडिकल शिक्षामै ठूलो फड्को मार्ने बताए ।

‘यसले मेडिकल पढ्नेमात्र नभई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नमा समेत योगदान पुर्‍याउने आशा छ’, ओझाले भने, ‘कलेज सञ्चालनमा आउँदा यस क्षेत्रको आर्थिक गतिविधि र रोजगारी सिर्जनामा समेत ठूलो टेवा पुग्नेछ।’

नेपालमा छात्रवृत्ति पाउने सीमित व्यक्तिले मात्र मेडिकल शिक्षा पढ्न पाउने गरेका छन् । कतिपय व्यक्ति आफ्नै खर्चमा मेडिकल पढ्न विदेश जानुपर्ने बाध्यता छ । मेडिकल कलेज निर्माण सुरु गरिँदा रु आठ अर्ब ३४ करोड लागत अनुमान रहेको थियो ।

यो आयोजनाको गुरुयोजना अध्यावधिक हुँदा निर्माणको लागत अनुमान बढ्ने जनाइएको छ । अहिलेसम्म भौतिक संरचना निर्माणमा रु चार अर्ब ५० करोड खर्च भइसकेको छ ।

सुरुका वर्षमा कलेजका संरचना निर्माणको प्रक्रिया अघि बढाउँदा उत्पन्न बाधा अवरोध र देखिएको झन्झटिलो प्रक्रियाका कारण कलेज स्थापना हुने नहुनेमा अन्योल देखिएको पनि थियो । सरकारले विसं २०६६ मा कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो ।

भौतिक संरचना निर्माणको काम भने विसं २०७४ देखि मात्र सुरु भएको थियो । यो कलेज ६०० श्ययाको निर्माण गर्ने लक्ष्य छ । कलेजका अस्पताल भवन लगायतका संरचनाको निर्माणमा शर्मा राजेन्द्र कुमार कम्पनी, लुम्बिनी कुमार केएस् र रविना कन्ट्रक्सन प्राली संलग्न छन् ।

माओवादी महाधिवेशन लम्बियो, आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने

काठमाडौं । माओवादी केन्द्रको आठौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन कार्यतालिका प्रकाशन गरिने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सकेर निष्कर्ष सुनाइसकेपछि निर्वाचन कार्यतालिका प्रकाशज गर्ने तयारी भएको हो । मतदाता नामावली पनि भ्याएसम्म आजै सार्वजनिक गर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उम्मेदवारी दर्ता र मतदान घोषणा शुक्रबार हुनेछ । यस आधारमा माओवादी केन्द्रको महाधिवेशन थप दुई दिन लम्बिने भएको छ ।
माओवादीमा दुई सय ९९ केन्द्रीय सदस्य चयन हुनेछ । जसमा पुरानो दोहोर्याएर नयाँ थप्ने तयारी भएको प्रवक्ता कृष्ण महराले जानकारी दिए ।

माओवादी केन्द्रको महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्र चयन हुनेछ । पदाधिकारी भने पछि चयन गरिने नेताहरूले बताएका छन् ।