१६ पुष २०७८, शुक्रबार १०:५६ – Page 3 – Nagarikabhiyan : National News

तराईमा बाक्लाे हुस्सु, कुन विमानस्थलको भिजिबिलिटी कति ?

काठमाडौं । बाक्लो हुस्सुका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र तराईका विमानस्थलमा भिजिबिलिटी निकै घटेको छ । भिजिबिलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान बिहानैदेखि डप्प छन् ।

त्रिभुवन विमानस्थलमा बिहान भिजिबिलिटी घटेर १ सय मिटरमा झरेको थियो । अहिले भिजिबिलिटी केही बढे पनि अझै उडान सूचारु हुन सकेको छैन ।

विमानस्थल कार्यालयका अनुसार सामान्यतयाः उडान र  अवतरणका लागि भिजिबिलिटी ३ हजार मिटर चाहिन्छ । तर, काठमाडौं मात्र होइन तराईका विमानस्थलको भिजिबिलिटी पनि निकै घटेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सिमरा  र भैरहवा विमानस्थलमा भिजिबिलिटी १०० मिटरम झरेको छ । त्यस्तै, धनगढी र नेपालगन्ज विमानस्थलमा ५ सय मिटर मात्र भिजिबिलिटी छ । विराटनगरमा ६ सय मिटर र जनकपुरमा ८ सय मिटर मात्र भिजिबिलिटी रहेको महाशाखाको तथ्यांक छ ।यद्यपि, दिउँसो भने कुहिरो र हुस्सु हट्दै जाने आँकलन गरिएको छ ।

हिमपातले सडक तीन दिनदेखि अवरुद्ध, हिउँ पन्छाउन सुरक्षाकर्मी परिचालन

लमजुङ । मनाङमा हिमपातले अवरुद्ध सडक सुचारु गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । मंगलबारदेखि परेको हिमपातले जिल्लाका विभिन्न क्षेत्रका सडक अवरुद्ध भएका हुन् ।

हिमपातले चामे गाउँपालिका-१ तिमाङदेखि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङसार सम्मको सडक अवरुद्ध बनेको छ । बेँसीसहर चामे सडकको धारापानी दानाक्युदेखि चासेसम्मको सडक पनि अवरुद्ध छ ।

सदरमुकाम चामे वरपरको सडक भने सुरक्षाकर्मीले बिहीबार खुलाएका छन् । चामेको बजार क्षेत्रमा अबरुद्ध सडक सुरक्षाकर्मी परिचालन गरेर खुला गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

हिउँ पन्छाएपछि पैदल हिँड्न सहज भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काले बताए । खड्काका अनुसार सवारी सुचारु गर्ने गरि हिउँ पन्छाउन अझै केहीदिन लाग्नेछ ।

मनाङमा बिहान बेलुकाको तापक्रम माइनस ७ डिग्री पुग्ने गरेको छ । -न्युज कारखाना

काठमाडाैंकाे भिजिबिलिटी १०० मिटरमा झर्‍याे, त्रिभुवन विमानस्थलमा उडान ठप्प

काठमाडाैं । काठमाडाैंमा बाक्लाे हुस्सुका कारण भिजिबिलिटी अर्थात् पारदर्शीता ह्वात्तै घटेकाे छ ।

भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेका छैनन् । सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भए पनि १ सय मिटरमा झरेपछि विमान अवतरण पनि हुन सकेका छैनन् ।

त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक तथा बाह्य उडान हुन नसकेकाे हाे । कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुईवटा विमान सिमरामाथिको आकाशमा फन्को लगाइरहेकाे टर्मिन कार्यालयले जानकारी दिएकाे छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानैबाट देशभर बाक्लाे हुस्सु र कुहिराे लागेकाे छ । पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रकाे प्रभावका कारण पनि हुस्सु लागेकाे हाे ।

माओवादी महाधिवेशनमा उठेको केन्द्रीय उत्पादन ब्रिगेडको संरचना, के-के हुनुपर्छ ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा प्रमुखताका साथ उठेको विषय हो, केन्द्रीय उत्पादन ब्रिगेड । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि समूहगत छलफलमा उत्पादन ब्रिगेडको विषय सुझावका रुपमा उठेको हो ।

उपत्यका समन्वय प्रदेश समितिले आफ्नो सुझावमा आत्मनिर्भर अर्थतन्त्र  निर्माणको लागि नेपाली भूमिमा उत्पादित कच्चा पदार्थ, नेपाली जनशक्ति र नेपाली मौलिकताको कला र सीपमा प्रविधिको प्रयोग गरेर नेपाली ब्रान्ड उत्पादन र वितरण गर्नु उत्पादन ब्रिगेडको प्रमुख उद्देश्य हुनुपर्ने उल्लेख गरेकाे छ ।

उत्पादन ब्रिगेडबाट हुने उत्पादन र वितरणको क्रममा दलाल पुँजीवाद र त्यसका प्रतिनिधिहरुसंग आयातित निम्नगुणस्तरीय वस्तु, बजारिकरणका क्रमममा संघर्षको अवस्था शिर्जना हुने र आर्थिक क्रान्तिको संखघोष गर्दै सडक संघर्ष प्रधान भएर आउने सुझावमा उल्लेख छ ।

सुझावमा उत्पादन ब्रिगेड निर्माण, संरचना, उत्पादन कोष,  उत्पादन, वितरण तथा बजारीकरण, कानुन निर्माण र  ब्रिगेड संचालनसम्बन्धी नीति कस्तो हुनुपर्छ भनेर उल्लेख पनि गरिएको छ ।

१. संरचना 
क. केन्द्रीय उत्पादन ब्रिगेड :  ठूला तथा मझौला उद्योग, कागज, छाला जुता, कृषि प्रशोधन केन्द्र,जलवद्युत आयोजना शिक्षण अस्पताल, वहुप्राविधिक महाविद्यालय, इलेक्ट्रोनिक यन्त्र उपकरण उत्पादन कम्पनी, मोटर उत्पादन कम्पनी, पानी प्रशोधन, निर्यातमुखी अन्न र फलफूलमा आधारित मदिरात तथा गैर मदिराजन्य पेय पदार्थ उत्पादन ।

ख. प्रदेश उत्पादन ब्रिगेड : मझौला उद्योग, जलवद्युत आयोजना, मुलत : कृषि तथा पर्यटन, बजारीकरण, स्वास्थ्य संस्था, शिक्षण संस्था, चिस्यानकेन्द्र, पानी प्रशोधन अन्न र फलफूलमा आधारित मदिरात तथा गैर मदिराजन्य पेय पदार्थ  उत्पादन र अवैध रुपमा  घर घरमा उत्पादन भइरहेको मानवजीवनको लागि घातक मदिरा उत्पादन नियन्त्रण ।

ग. जिल्ला उत्पादन ब्रिगेड : साना  जलवद्युत आयोजना, स्थानीय तहको कच्चा पदार्थ, कला र सीपमा आधारित कृषि, छाला जुता,  भाडाकुडालगायत प्रविधिमा आधारित साना तथा मझौला उद्योग, अन्न र फलफूलमा आधारित मदिरा तथा गैर मदिराजन्य पेय पदार्थ प्रशोधन उद्योग, स्थानीय अन्नमा आधारित फास्टफुड उद्योग आादि ।

घ. पालिका उत्पादन ब्रिगेड : पालिका तहको कच्चा पदार्थ, कला र सीपमा आधारित साना तथा मझौला उद्योग र  सामाजवादी परम्परामा आधारित सामूहिक फर्म व्यवस्थाको शुरुवात गर्ने । जस्तै: कृषि उत्पादन र वितरण, कृषि, छाला जुता, सिलाइ कटाइ, होजियारी आदि ।

ङ. वडा उत्पादन इकाइ : समाजवादी परम्परामा आधारित सामूहिक फर्म व्यवस्थाको शुरुवात गर्ने । जस्तैस्कृषि उत्पादन र वितरण, कृषि, छाला जुता, सिलाइ कटाइ, हाेजियारी आदि।

२. उत्पादन कोष
क. केन्द्रीय उत्पादन  कोष : देशभरिका संगठित  सदस्यहरुको अनिवार्य आर्थिक  सहभागिता , साधारण सदश्य तथा आम जनता र राष्ट्रिय पुजिपति वर्गको स्वेच्छिक सहभागिता रहने ।

ख.  प्रदेश उत्पादन कोष : प्रदेश भरिका संगठित  सदस्यको अनिवार्य आर्थिक  सहभागिता , साधारण सदश्य तथा आम जनता र तत तत प्रदेशभरिका  राष्ट्रिय पुँजीपति वर्गको स्वेच्छिक सहभागिता रहने ।

ग. जिल्ला उत्पादन कोष : जिल्लाभरिका संगठित  सदस्यहरुको अनिवार्य आर्थिक  सहभागिता , साधारण सदश्य तथा आम जनता र तत तत जिल्लाका राष्ट्रिय पुँजीपति वर्गको स्वेच्छिक सहभागिता रहने ।

घ. पालिका उत्पादन कोष : पालिका भरिका संगठित  सदस्यहरुको अनिवार्य आर्थिक  सहभागिता , साधारण सदश्य तथा आम जनता र तत तत पालिका भरिका राष्ट्रिय पुँजीपति वर्गको स्वेच्छिक सहभागिता रहने ।

३. उत्पादन व्रिगेड स्थापना र संचालनसम्बन्धी कानुन 
क. नेपालको  सम्विधानले  व्यवस्था गरेको निजी,  सहकारी र सरकारी तीन तहको आर्थिक सहभागिता सहित  उद्योग स्थापना तथा उत्पादन गर्ने कामको लागि वर्तमान सहकारी ऐन बाधक रहेकाले  उत्पादन व्रिगेड स्थापना र संचालन सम्वन्धि कानुन नेपाली  नागरिक र तिनै तहको  सरकारको संयुक्त साझेदारीमा केन्द्रिय उत्पादन  कोष,  प्रदेश उत्पादन कोष, जिल्ला उत्पादन कोष, पालिका उत्पादन कोष स्थापना र सन्चालन गर्न सक्ने व्यवस्था गरि सहकारी ऐनमा संशोधन  कार्य अगाडि बढाउनु पर्छ ।

४. वितरण तथा बजारिकरण योजना
क.  नेपाली उत्पादन ब्रिगेडबाट उत्पादित वस्तुको उपभोगको प्राथमिकिकरण गरि राज्यका सार्वजनिक  निकायमा अनिवार्य उपभोगको कानुनी व्यवस्था गर्ने ।
ख. पार्टीका सबै तहबाट सदस्यलाई अनिवार्य  राष्ट्रिय उत्पादन उपभोग गर्न प्रेरित गर्ने र आम जनतालाई ‘राष्ट्रियता र आत्मनिर्भरताका लागि राष्ट्रिय उत्पादन  उपभोग जागरण अभियान’ सञ्चालन गर्ने  ।

५. निर्यात प्रवर्द्धनसम्बन्धी नीति र योजना : चरेस खेतीको सीमा निर्धारण गरि प्रशोधन केन्द्रबाट प्रशोधित गरी, मदिराजन्य पेय, चरेश तथा अन्य जडिबुटीजन्य वस्तु निर्यात गर्न कानुनी व्यवस्था गर्ने ।

लुम्बिनी प्रदेशले ४३६ कर्मचारी करारमा माग्यो, कुन जिल्लामा कति ?

काठमाडौं । लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठूलो संख्यामा करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ ।

मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४३६ कर्मचारी करार सेवामा भर्ना गर्न लागेको हो । त्यसका लागि शुक्रबार दरखास्त आह्वान गरिएको छ । १५ दिनभित्र आवेदन दिन भनिएको छ ।

मन्त्रालयले प्रदेशका सबैजसो जिल्लामा नायक प्राविधि सहायक र नायव पशु सेवा प्राविधिकका लागि विज्ञापन आह्वान गरेको हो ।

कोभिडका कारण लकडाउन गरिएको सहरमा खाद्यन्न अभाव

बेइजिङ । कोभिडका कारण यसै साता लकडाउन घोषणा गरिएको चीनको पश्चिमी क्षेत्रमा अवस्थित सियान सहरमा खाद्यन्न अभाव भएको छ । सियानमा खाद्यन्न र अन्य अत्यावश्यक सामानको हाहाकार भएको त्यहाँका वासिन्दाले गुनासो गर्न थालेका छन् । सन् २०१९ को ३१ डिसेम्बरमा सर्वप्रथम वुहानमा कोभिड देखिपछि चीनले संक्रमण रोक्न विभिन्न उपाय अवलम्बन गर्दै आएको छ ।

लकडाउनका कारण आफूहरुले पर्याप्त खाद्यन्न नपाएको सियानका स्थानीयले बताएको  अन्तर्राष्ट्रिय सञ्चार मध्यामहरुले जनाएका छन् । स्थानीय प्रशासनका केही व्यक्तिले निकै थोरै परिमाणमा खाद्य सामाग्री दिने गरेको सो सहरकी वासिन्दा आदा झाओले गुनासो गरेकी छिन् ।

आफूले दुई दिनदेखि खानेकुरा नपाएको अर्की स्थानीय महिलाले गुनासो गरेकी छिन् । ‘हाम्रो समुदायमा अत्यावश्यक सामाग्रीको वितरणबारे केही जानाकारी दिइएको छैन । हामीले कसरी संग्रह गर्न सक्छौं , ?’ उनले प्रश्न गरिन् ।

१ करोड २० लाख जनसंख्या भएको सियानमा अत्यावश्यक आपूर्तिमा पर्याप्त पहुँच भएको त्यहाँको वाणिज्य मन्त्रालयले दाबी गरेको छ । त्यस्तै, बेइजिङले सियानमा खाद्यन्न अभाव नभएको जनाउँदै आएको छ ।- एजेन्सी

किशोरीमा रक्तअल्पता हटाउन सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै

कञ्चनपुर । किशोरीहरूमा रक्तअल्पता हटाउन जिल्लामा सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमअन्तर्गत विद्यालयमै किशोरीलाई आइरन र फोलिक एसिड खुवाउन थालिएपछि रक्तअल्पताको समस्या हट्दै गएको छ । विद्यालय पढ्ने उमेरका १५ देखि १९ वर्षका किशोरीमा रक्तअल्पताको समस्या अधिक देखिने गरेको छ । स्वास्थ्य कार्यालयका अनुसार ३० देखि ४४ प्रतिशत विद्यालय पढ्ने उमेरका किशोरीमा रक्तअल्पताको समस्या रहेको छ ।

“किशोरीहरूलाई आइरन र फोलिक एसिड खुवाउने कार्यक्रम सञ्चालन भएपछि रक्तअल्पता भएका किशोरीमा एकाग्रता र विद्यालयका गतिविधिमा भाग लिन थालेका छन्”, शुक्लाफाँटा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भने, “रक्तअल्पताकै कारण थकान महसुस गर्दै आएका किशोरीमा थकानको समस्या हटेर गएको छ, छालामा चमक देखापरेको छ, महिनावारीमा नियमियतता भएको पाइएको छ ।”

उनका अनुसार विद्यालयमा पढ्नेलाई विद्यालयमार्फत र विद्यालयको पहुँचभन्दा बाहिर रहेका किशोरीलाई महिला स्वास्थ्य स्वयंसेविकाले आइरन र फोलिक एसिड खुवाउने गरेका छन् । एक सर्वेक्षणानुसार नेपालका ३२ प्रतिशत किशोरी किशोरमा न्यून पोषणको समस्या छ । एक्काइस प्रतिशत किशोरी र ११ प्रतिशत किशोरमा रक्तअल्पताको समस्या छ ।

यी उमेर समूहका ४८ प्रतिशत किशोर र ४३ प्रतिशत किशोरीले न्यूनतम खाद्य विविधता भएको आहार दैनिक खाइरहेका छन् । हाल रक्तअल्पताको समस्यामा भने केही कमी आएको स्वास्थ्यकर्मी बताउँछन् । किशोरीमा कुपोषणको समस्या देखिनु जीवनचक्रममा आधारित पोषणका हिसाबले अत्यन्तै गम्भीर समस्या भएको स्वास्थ्यकर्मी हरि नाथ बताउँछन् । उनका अनुसार साप्ताहिकरूपमा आइरन तथा फोलिक एसिड वितरण प्रणालीलाई विश्व स्वासथ्य सङ्गठनले सिफारिस गरेअनुसार खुवाउने गरिन्छ ।

आइरन र फोलिक एसिड वितरणका लागि आइरन ६० मिलीग्राम र फोलिक एसिड ४०० माइक्रोग्राम मिलीग्राम साप्ताहिक खुवाउनुपर्ने हुन्छ । तीन÷तीन महिनाको अन्तरालमा हरेक हप्ता एक मात्रा गरी तीन महिना आइरन र फोलिक एसिड खुवाउनुपर्ने हुन्छ । खुवाउने अवधि १३ हप्ता खुवाएपछि १३ हप्ता नखुवाउने र फेरि १३ हप्ता खुवाउने, १३ हप्ता नखुवाउने यसरी वर्षभरिमा २६ हप्तामा २६ चक्की खुवाउने गरिन्छ ।

कार्यक्रमअन्तर्गत सेवा प्रदायकले किशोरीलाई आइरन फोलिक एसिड चक्की खुवाउनाका साथै तोकिएको समयमा मात्रामा जुकाको औषधिसमेत खुवाइँदै आएको स्वास्थ्यकर्मी नाथ बताउनुहुन्छ । किशोरीलाई आइरनयुक्त खानेकुरासँगै आवश्यक पोषणका बारेमा परामर्श सेवासमेत दिइने गरिएको छ । प्रत्येक वर्ष साउन र माघ महिनाको पहिलो हप्ताबाट किशोरीलाई आइरन र फोलिक एसिड खुवाइने गरिन्छ ।

किशोरावस्थामा आइरन र फोलिक एसिडको महत्व किन हुन्छ र यसको कमी भएमा स्वास्थ्य तथा पोषणमा के–कस्ता हानी हुन सक्छन् त्यसबारेमा समेत जानकारी दिइने गरिन्छ । चक्कीको प्रयोगसँगै टुसा उम्रेको गेडागुडी, हरियो सागपात, दूध, फलफूल र मासुको प्रयोग गर्नुपर्छ भन्ने चेतनाको विकास गराउन जनचेतना दिने कार्यसमेत हुँदै आएको छ । त्यसको प्रभावका कारण रक्तअल्पताको समस्यामा केही कमी आउन थालेको स्वास्थ्यकर्मीको भनाइ छ ।-रासस

चीनको वुहान सहरमा पहिलो पटक कोभिड देखिएको त्यो दिन

आज ३१ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

नाइजेरियामा कु
सन् १९८३ मा नाइजेरियामा कु भएको थियो । ३१ डिसेम्बरमा सेनाले सिहु सागरी नेतृत्वको सरकारलाई अपदस्थ गरी तत्कालिन मेजर जनरल मुहमदु बुहारीलाई राष्ट्रपतिमा नियुक्त गरेको थियो ।

चीनको वुहानमा सबैभन्दा पहिला कोभिड देखिएको दिन
सन् २०१९ को ३१ डिसेम्बरमा चीनको वुहानमा भाइरल निमोनियाजस्तै ज्वरो देखिएको थियो, जसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड १९ नाम दिएको थियो । विभिन्न भेरियन्टमा देखिएको कोभिड विश्वव्यापी महामारी बनेको छ । कोभिडका कारण अहिलेसम्म विश्वमा ५३ लाख ७० हजारको ज्यान गएको छ । विभिन्न देशमा कोभिडका विभिन्न लहर देखिएका छन् । बेलायत र फ्रान्समा क्रमशः चौंथो र पाँचौं लहर देखिएका छन् । कोभिडका कारण पछिल्लो समय युरोप र अमेरिका नराम्रोसँग प्रभावित छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण महामारीले झन बिकराल रुप लिएको विज्ञहरुले बताएका छन् ।

पानामा क्यानल  हस्तान्तरण
लामो समयदेखि आफ्नो नियन्त्रणमा रहेको पानामा नहर सन् १९९९ मा अमेरिकाले औपचारिक रुपमा पानामालाई हस्तान्तरण गरेको थियो ।

सौर्यमन्डलमा त्यो दुर्लभ घटना
सन् २००९ को ३१ डिसेम्बरमा एउटा दुर्लभ घटना भएको थियो । सो दिन ब्लु मुन र चन्द्र ग्रहण एकै दिन परेको थियो । सौर्यमन्डलमा अव त्यस्तै दुर्लभ क्षण सन् २०२८ को नयाँ वर्षको पूर्वसन्ध्यामा देख्न पाइनेछ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

काठमाडाैंं । आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।

नेपाली कांग्रेसले पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउँदै आएकाे छ । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्छ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, लौहपुरुष गणेशमान सिंहलगायत नेताहरु मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

बीपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

मेलमिलाप नीति अझै सान्दर्भिक र औचित्यपूर्ण

काठमाडौँ, पुस १६ गते । नेपालको राजनीतिक ‘कोर्स’ बदल्ने ऐतिहासिक दिन थियो, वि.सं. २०३३ पुस १६ गते । त्यस दिन नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय मेलमिलाप नीति लिएर भारतबाट स्वदेश फर्किनुभएको थियो ।
नेपाली काँग्रेसले हरेक वर्ष पुस १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ । निर्वासनमा रहेका बेला दक्षिण एसियाको बदलिँदो राजनीतिक घटनाक्रमका कारण देशको राष्ट्रियतामाथि खतरा देखेपछि उहाँ स्वदेश फर्किनुभएको थियो । बीपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै नेताहरूले अब उक्त नीतिअनुसार देश विकास र समृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रियता र लोकतन्त्रका लागि ज्यानको बाजी लगाउनुभएका बीपीको मेलमिलाप नीति अझै सान्दर्भिक र औचित्यपूर्ण रहेको प्रभावशाली नेताहरूले बताउनुभयो । काँग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले संविधानको रक्षा र लोकतन्त्रलाई सुदृढ बनाउनका लागि बीपीले देखाउनुभएको बाटोबाटै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “२०३३ सालतिर दक्षिण एसियामा बङ्गलादेशको उदय, सिक्किमको भारतमा विलयजस्ता राजनीतिक सङ्कटबाट बीपीले नेपाली राष्ट्रियतामाथि खतरा देखेर एकता र मेलमिलापको नीति लिएर नेपाल फर्किनुभएको थियो ।”

उहाँका अनुसार बीपीको त्यही कदमले २०३६ सालमा जनमत सङ्ग्रह भएको थियो । उहाँले भन्नुभयो, “मेरो जीवनभन्दा नेपाल राष्ट्र ठूलो हो भनेर बीपी स्वदेश फर्किनुभयो । राष्ट्रियताका सवालमा हामी राजासँग मिल्छौँ तर प्रजातन्त्रले मात्रै राष्ट्रियता सुदृढ हुनसक्छ भन्ने प्रस्ट धारणा थियो । बीपी स्वदेश फर्किएपछि जनमत सङ्ग्रह र २०४६ सालको प्रजातान्त्रिक आन्दोलन सफल भएको होे ।”

सहमहामन्त्री मन्सुरले २०४६ सालमा देशका प्रमुख राजनीतिक दलहरू एकजुट भएर प्रजातन्त्रका लागि लडेको स्मरण गर्दै यो कार्यगत एकताको आधार तयार गर्ने काम बीपीले गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बीपीलाई थाहा थियो–राष्ट्रियताका पक्षमा सबै दल एक छन् । लोकतन्त्र बलियो भयो भने राष्ट्रियता बलियो हुन्छ । त्यही नीतिमा अहिले पनि काँग्रेस अघि बढ्दै छ । र, सबै राजनीतिक दललाई मिलाएर लाने सवालमा बीपीको मेलमिलाप नीति कहीँ न कहीँ कार्यान्वयन भइरहेको छ ।”

वर्षौंदेखिको राजनीतिक लडाइँ अब सकिएको बताउँदै मन्सुरले अब देशको मालिक जनता भएको र अब समृद्धिको यात्रा प्रारम्भ भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले पनि बीपीकै मेलमिलाप नीतिअनुसार देशका सबै राजनीतिक दलसँग सहकार्य गर्दै अघि बढ्नुभएको मन्सुरको भनाइ छ । उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनका लागि सभापतिले गठबन्धन सरकारको नेतृत्व गर्नुभएको छ । सबैलाई मिलाएर अघि बढ्दै हुनुहुन्छ ।”

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अहिले पनि सबै राजनीतिक दलबीच मेलमिलाप आवश्यक रहेको बताउनुभयो । बीपीको मेलमिलाप नीति र सबै राजनीतिक दलबीच सहकार्य गरेर मात्रै राजनीति आन्दोलन सफल हुनसक्ने सचेतताकै कारण २०४६ सालमा प्रजातन्त्र पुनः स्थापना भएको उहाँले बताउनुभयो । उहाँले अब देश निर्माणको काममा सबै दलबीच सहकार्यको खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “समृद्धि र रूपान्तरणको काम बाँकी छ । यसका लागि दलहरू एक्लाएक्लै गएर हुँदैन । सहकार्य र राष्ट्रिय एकतामार्फत जनतालाई खुसी र सुखी बनाउने दिशामा अघि बढ्नैपर्छ ।”

व्यवस्था परिवर्तनपछि साझा एजेन्डाका साथ अघि नबढेकै कारण सुशासन कायम गर्न नसकेको उपाध्यक्ष शाक्यको धारणा छ । उहाँले भन्नुभयो, “त्यसैले बीपीको मेलमिलाप नीतिअनुसार सबै दल मिलेर आर्थिक, सामाजिक रूपान्तरणका लागि अघि बढ्नुपर्छ । संविधानले व्यवस्था गरेअनुसार समाजवादको लक्ष्य प्राप्त गर्नका लागि पनि सबै दलबीच सहकार्य जरुरी छ ।”

काँग्रेस केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले बीपीको त्याग र बलिदानलाई फाइदा–बेफाइदाका रूपमा लिन नहुने बताउनुभयो । बीपीसँगै कयौँ आन्दोलनमा सहभागी हुनुभएका उहाँले अलि फरक विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बीपीको मेलमिलाप नीतिको औचित्य अहिले पनि छ तर कतिपयले फाइदा र बेफाइदामा बीपीको नीतिलाई प्रयोग गरेका छन् । त्यसो हुनु हुँदैन । कतिपय नेताले पार्टी छोडेका छन् । अब यस्तो नहोस् ।”

केन्द्रीय सदस्य रञ्जितले तत्कालीन परिवेशमा बीपी निर्वासनमा जान नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “बीपी निर्वासनमा नगएको भए कार्यकर्ताले यति धेरै दुःख पाउने थिएनन् । किसुनजी, गणेशमानजी जस्तै देशमै बसेर मेलमिलापको नीति लिएर अघि बढ्नुपथ्र्यो ।”

आज २०७८ पुस १६ गते शुक्रबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोजगारीको लागि आजको दिन राम्रो छ, बैदेशिक यात्रा हुने सम्भावना छ, रोकियका कामहरु बन्ने छन्, आजको शुभ अंक ५ रहेको छ ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ, प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ, प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह)

चोटपटक को सम्भावना छ, झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, पारिवारिक जीवन सामान्य रहने छ,आर्थिक समस्या पर्ने छ, आजको शुभ अंक ४ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

टाढाको यात्रा सम्भावना छ, वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,प्रेम गर्ने हरुको लागि आजको दिन शुभ हुनेछ, शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ, आजको शुभ अंक ४ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको समय सामान्य छ, विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,विश्वासको वातावरण बन्नेछ, आजको शुभ अंक ८ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ, गणेश भगवानको पुजा गर्नाले आजको दिन शुभ हुन्छ,पारीवारिक सहयोग बढ्ने छ, आजको शुभ अंक ५ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

बोलीमा विचार पुराउनु होला,महत्वपूर्ण काममा ध्यान दिनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको दिन तेती राम्रो छैन, आजको शुभ अंक ४ रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ, सहयोगीहरूले काममा साथ दिनेछन्,मानसम्मानमा बृद्धि हुनेछ, आजको शुभ अंक १० रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज कुनै अप्रत्याशित काम बन्ने योग छ,चोटपटकको सम्भावना छ, पारिवारिक जीवनमा मतभेत रहनेछ, मेलमिलापको भावना राम्रो हुनेछ,समय राम्रो छ, आजको शुभ अंक ७ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,पारिवारिक किचलो हुनेछ, बोलीमा विचार गर्नु होला,चोटपटकको सम्भावना छ,यात्रा घातक बन्न सक्छ, आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

पारिवारिक जमघटमा मन रमाउनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला, मानसम्मानमा बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,शुभ कुराको संकेत मिल्नेछ, आजको शुभ अंक २ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

श्रमबाट प्रशस्त धन लाभ हुनेछ,पठन–पाठनमा प्रगति हुनेछ, देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ, रोजगारीमा सफलता मिल्ने छ, आजको शुभ अंक २ रहेको छ ।

तपाईको दिन शुभ रहोस् ।

सरोकार बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा सम्पन्न 

 

सुनसरीको हरिनगर गाउँपालिका(२ स्थित भुटाहा बजारमा रहेको सरोकार बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन प्रमुख अतिथी सुनसरी क्षेत्र नम्बर ४ ९ख० बाट निर्वाचित १ नम्बर प्रदेश सांसद माननिय हाजि ताहिर अन्सारी, विशिष्ट अथिति हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले संयुक्त रुपमा उद्वाटन गरेका थिए। सरोकारका आठौं वार्षिक साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति अन्सारीले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने वताए। उनले सहकारीहरुले अव ठूलो परिणामको नतिजा दिनका लागि मर्ज गर्नु पर्नेआवश्यकता रहेको पनि विचार व्यक्त गरे। त्यसैगरि सधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका विशिष्ट अथिति एवम् हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । सहकारीले महिलाहरुाई एक ठाउँमा उभ्याउन सफल भएको बताउदै महिला दिदीबहिनीहरुलाई सक्षम बन्नुको साथै पैसाको बचत गर्ने बानीको विकास भएको उहाँले बताउनुभयो । साथै अगामि दिनमा सहकारीमा चाहिने सहयोग र साथ रहिरहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो। तयस्तै सधारण सभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष मोजम्मील हकले ’एकका लागि सवै र सवैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भइ व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समून्नतिको लागि गरिने एकतबाद्ध प्रयास नै सहकारी हो । सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । सहकारीले महिलाहरु एक ठाउँमा उभ्याउन सफल भएको बताउदै महिला दिदीबहिनीहरुलाई सक्षम बन्नुको साथै पैसाको बचत गर्ने बानीको विकास गरेको उनले बताए । साथै अगामि दिनमा आफुबाट हुने सहयोग र साथ हमेशा रहिरहने शियर धनीहरुलाई प्रतिबद्धता समेत ब्यक्त गरेका थिए । हकले समूहमा बस्ने, सामूहिक रुपमा काम गर्ने र सुख दुःखमा एक अर्कालाई सहयोग गर्ने परिपाटीबाट सहकारीताको भावना प्रकट भएर आज महिलाको ठुलो साथि सहकारी भएको छ। आफुले चाहेको बखत पैसा जम्मा गर्न पाइने र आवश्यकता अनुसार निकाल्न पाउने भएकोले सहकारी हरेक व्यक्तिको लागि आवश्यक छ। हकले समुदायमा छरिएर रहेको पुँजी, सिप,ज्ञान र सिर्जनालाई एकत्रित गरेर उत्पादनको, बिकासको र स्वयम् रोजगारको काममा लगाउनु पर्ने बताए । सहकारीलाई अगाडी बढाउन एकजना ब्यक्तिको मात्र नभएर सबै सदस्यहरुको उत्तिकै भूमिका रहने बताउँदै हकले सबै सदस्यहरु मिलेर अगाडी बढ्न आग्रह गरेका छन् । त्यस्तै , यस सहकारी संस्थालाई नमुना सहकारीको रुपमा अगाडी बढाउन सके स्वावलम्बि र आर्थिक रुपमा अगाडी बढ्न सकिने उनको भनाई छ । सरोकार बचत तथा ऋण सहकारी संस्थाले हरिनगर(१ स्थित भुटाहामा रहेको सुनसरी ट्रेड कन्सर्न नामक पेट्रोल पम्प पुर्ण रुपमा खरिद गरि संस्थाको स्वामित्व राखी संचालन गर्दै आइरहेको छ। सरोकारको पहिलो शाखा हरिनगर(७ घुस्कीमा पनि संचालन रहेको छ। घुस्की शाखाले आफ्नो जग्गा खरिद गरेर भवन बनाउने तयारीमा रहेको हकले बताए । त्यसैगरी अर्को शाखा इनरुवा(१० बबिया पोखरि चौकमा संचालन रहेको छन् । त्यस्तै संस्थाले तेस्रो शाखा भुटाहाको पेट्रोल पम्पमा संचालन गरेको छन् । संस्थाका अध्यक्ष मोजम्मील हकको सभापतित्वमा सम्पन्न सभामा संस्थाका लेखासंयोजक विनोद कुमार शर्माले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७७ ०७८ मा २ करोड ६३लाख ४२ हजार ६ सय रुपैंया शेयर पूँजी तथा २३ करोड ८१ लाख ८३ हजार ८ सय ७२ रुपैंया बचत संकलन गरेको संस्थाका अध्यक्ष मोजम्मील हकले जानकारी दिए। त्यसैगरी २२ करोड ७८ लाख ४६ हजार ४ सय २ रुपैंया कर्जा लगानी गरी १६ लाख खुद आम्दानी गरेको जानकारी दिए। संस्थाले यस अर्थिक वर्षमा ३२ करोड रुपैंयाको कूल कारोवार गरेको उनले जनाएको छ । सधारण सभाको अवसरमा संस्थाले प्रमुख अतिथि र विशिष्ट अथिति लगायत एक दर्जन शियर सदस्यहरुलाई सम्मान गरेको छन् । कार्यक्रममा स्वागत मन्तव्य सरोकार बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष सलामुद्दीन अन्सारीले राखेका थिए। कार्यक्रममा प्रमुख अथिति सुनसरी क्षेत्र नम्बर ४ ९ख० बाट निर्वाचित १ नम्बर प्रदेश सांसद माननिय हाजि ताहिर अन्सारी, बिशेष अतिथी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी,संस्थाका सदस्य अकिल अन्सारी अर्को सदस्य अकिल अहमद सिद्दिकी लगायतले शुभकामना मन्तव्य राखेका थिए। आजै सरोरकाले भुटाहामा रहेका आफ्नो मुख्य कार्यालयको उद्घाटन गर्दै पहिलो तल्ला सारिएको छ। साथै एटीएम सेवा पनि संचालनमा ल्याएको छन् । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न दलका नेता तथा कार्यकर्ता, सुरक्षाकर्मी, संचारकर्मी, समाजसेवी लगायतको हजारौंको संख्यामा शेयर सदस्यहरुको उपस्थित रहेको थियो ।

अन्तरक्रिया कार्यक्रम सम्पन्न नागरिकमैत्री काम गर्न प्रतिवद्ध

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजनामा स्थानीय सरकार र अन्य निकायसंग शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विहीबार भोक्राहा नरसिंह गाउँपालिका ६ चिरौलीमा रहेको होटेल लोटस आयोजित कार्यक्रमका सरोकारबालाहरुले शैक्षिक र स्वास्थ्य गुणस्तरमा जोड दिएका छन् । कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले गाउँका नागरिकलाई मानवअधिकारको प्रत्याभूति हुने गरी काम गर्न स्थानीय सरकार प्रयासरत रहेको बताउनुभयो । वहाँले आफ्नो पालिकाको स्रोत र साधनले भ्याएसम्म नागरिकमैत्री काम गरेको र त्यसमा शिक्षा, स्वास्थ्य, खाध्य र आबाश अधिकारको पक्षमा पनि काम गरेको बताउनुभयो ।
यादवले यहाँका सेवा प्रदायक निकायहरूले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारप्रति जिम्मेवार रहेको समेत बताउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विगत तीन वर्षदेखी गर्दै आएको कार्यक्रमले विकासमा समेत रचनात्मक सुझाव दिएको र सोही अनुसार यती अवधीमा दुई वटा विद्यालयलाई माध्यमिक तहमा स्तोरोन्नती गरेको, साविकको दुई स्वास्थ्य चौकी रहेकोमा अहिले आठ वटै वडामा तीन वर्षदेखी आधारभुत स्वास्थ्य केन्द्र सचालन गर्नुका साथै एम्बुलेन्स नपुग्ने गाउँगाउँमा कालोपत्रे गर्ने काम भएको बताउनुभयो ।
यादवले कृषिमा प्राविकिको व्यवस्था गरि कृषकहरुको क्षमता विकास र मौसमी तथा बेमौसमी खेतीमा सहयोग र पशुपालक किसानका लागि नरसिंह तथा भोक्राहा दुवै खण्डमा पशु प्राविधकको सेवा प्रवाह भईरहेको जानकारी दिनुभयो ।
अध्यक्ष यादवले सरकारको कार्यक्रम अनुसार दुई सय बढी परिवारको फुसको छानो हटाई जस्तापत्ता लगाउने कार्यमा गत वर्ष सहयोग गरेको बताउनुभयो । गउँपाकिलामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा तीन वर्ष अघि गरेको प्रतिवद्धाहरु प्रयः सबै पुरा गरेको बताउनुभयो । वहाँले आफु सहित सेवाप्रदायक निकायका प्रतिनिधिहरूले आफ्नो क्षेत्रबाट सबै काम गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
इन्सेककी बागमती कट्टेलले कार्यक्रममा शिक्षा, स्वास्थ्य र खाध्यमा सबैको पहुच र गुणस्तर कायम हुनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिका शिक्षा शाखाका प्रमुख रमेशचन्द्र तिमिल्सिनाले सरकारको लगानि शिक्षामा भए अनुसारको प्रतिफल नआउनुमा सरोकारबालाहरु समेत जिम्मेबार रहेकाले आ आफ्नो ठाउँबाट योगादन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा मानव अधिकार समूहका सचिव बेलाल अंसारीले शैक्षिक गुणस्तरका लागि विद्यालय नियमित संचालन हुनुपर्ने, विधार्थी र शिक्षक नियमित हुनुपर्ने, विषयगत शिक्षकको व्यवस्था, अभिभावक शिक्षा आवश्यक रहेको बताउनुभयो ।

भोक्राहा नरसिंह गाउँपालिका–७ का वडाध्यक्ष रामचन्द्र यादवले गाउँबासीको अधिकारको प्रत्याभूति गराउन अधिकतम प्रयास गरिरहेको बताउनुभयो । स्वास्थ्यकर्मीहरुले ८ ओटै वडामा स्वास्थ्य संस्था स्थापना गरी सेवा प्रवाह गरिरहेको र सरकारले ल्याएको स्वास्थ्य विमालाई प्रभावकारी बनाउन अधिकारकर्मी तथा सर्वसाधारणको सहयोगको अपेक्षा गरेका छन् ।
शिक्षा शाखाका पूर्व प्रमुख तथा श्री आधारभुत विद्यालयका प्रधानाध्यापक मनोजकुमार मेहताले विद्यालयहरु नियमित पठकपाठन भएपनि विषयगत शिक्षकको अभावमा काम गर्नुपरेको बताउनुभयो ।
कृषि तथा सहकारी शाखाका सिताराम मेहताले समयमै विउविजन र मलको उपलव्धताका लागि समुदायमै विउ उत्पादन तथा जैविक मल बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । मेहताले मलको समस्या राष्ट्रिय स्तरकै समस्या भएकाले सम्बोधन गर्न नसकेको तर पहल प्रयास जारी राखेको बताउनुभयो । नागरिक अधिकारका सवाल प्रस्तुत गर्दै मानव अधिकार समूह भोक्राहा नरसिंहका अध्यक्ष ममता उराँवाले कोभिड विरूद्धको खोपको व्यवस्थापन गर्नुपर्ने, स्वास्थ्य संस्था औषधी सहज उपलब्धता हुनुपर्ने, कडा खालका रोगको औषधि सहज उपलब्धता हुनुपर्नेमा जोड दिनुभयो ।
यसैगरी, सहकारीकर्मी राजेन्द्र मेहताले स्वास्थ्य संस्थामा निशुल्क पाइने ३५ प्रकारका औषधि उपलब्ध हुनुपर्ने, सबै वडाहरूमा दक्ष कृषि प्राविधिकहरूको व्यवस्था गर्नुपर्ने, सिजन अनुसार मल विउ उपलब्ध गराउनु पर्ने, कृषिकहरूलाई अनुदान र तालिमको व्यवस्था गर्नुपर्ने, सबै नागरिकहरूलाई सुरक्षित आवास, सुकुम्वासी, भूमिहिनहरूको आवासको व्यवस्थापन गरिनुपर्नेमा जोड दिनुभयो ।
मानव अधिकार समूहकी पुनम साहले स्वास्थ्य चौकिमा प्रयाप्त औषधिको अभाव रहेको, सरकारी सुविधा समयमा नपाएको, स्वास्थ्यमा ध्यान दिई बजार अनुगमन प्रभावकारी बताउनुपर्ने सुझाव दिनुभयो ।
स्थानीय सरकारका जनप्रतिनिधि तथा सम्बन्धित निकायका सरोकारवाला वडा अध्यक्ष, वडा सदस्य, मानव अधिकार समूहका पदाधिकारी, बाल अधिकार चेतना समूहका पदाधिकारी, स्वयम्सेविका, शिक्षा, स्वास्थ्य, कृषिसँग सम्बन्धित सरकारी प्रतिनिधि,नागरिक समाज र सञ्चार माध्यमलगायतको सहभागितामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका ३ नम्बर वडा अध्यक्ष सुकदेव यादव, ६ नम्बर वडा अध्यक्ष राजेश्वर प्रसाद साह, ७ नम्बर वडा अध्यक्ष रामचन्द्र यादव र ८ नम्बर वडा अध्यक्ष हातिम अंसारी, प्रधानाध्यापक जितेन्द्र साह, किसान बच्चालाल यादव सहितका सरोकारबालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रम मानव अधिकार समूहका अध्यक्ष ममता उराँवको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन इन्सेक प्रतिनिधि जयकष्ण यादवले गर्नुभएको थियो ।

नेकपा एमाले भोक्राहा नरसिंह सहसचिबमा रमेश यादव चयन

सुनसरीमा नेकपा एमालेको जिल्ला सम्मेलनको तयारी भएको बेला भोक्राहा नरसिंह गाउँपालिका एमाले गाउँकमितिले ३७ जना जिल्ला प्रतिनिधि छनौट गरेको छ । नेकपा एमाले भोक्राहा नरसिंह गाउँ कमिटिको पूर्ण बैठकले सबै भन्दा बढी १ नम्बर वडाबाट ११ जना र कम ६ नम्बर वडामा १ जना सहित कुल ३७ जना जिल्ला प्रतिनिधि छनौट गरेको हो । त्यसैगरी गाउँ कमिटि सहसचिबमा रमेश कुमार यादव र विशनाथ कर्णलाई चयन गरेको जनाएको छ । युवा संघका अध्यक्ष समेत रहेका यादवले सहसचिब जिम्मेबारी पाउनुभएको छ । यहाँ नौ सय जना संगठित सदस्य भएकाले त्यसमा प्रति २५ जनामा एक जनाका दरले ३७ जना जिल्ला प्रतिनिधि छनौट गरेको एमाले भोक्राहा नरसिंह गाउँ कमिटिका अध्यक्ष रामकुमार मेहताले जानकारी दिनुभयो । एमाले भोक्राहा नरसिंह गाउँ कमिटिको पूर्ण बैठकमा सचिव हातिम अंसारी, रमेश यादव सहित सदस्यहरुको उपस्थिती रहेको थियो ।

धितोपत्र बोर्ड अध्यक्षका लागि पुनःआवेदन

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तका लागि दोस्रो पटक सूचना प्रकाशन गरेको छ ।अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले आज एक सूचना प्रकाशन गर्दै सो पदका आवेदन माग गरेको हो ।

अर्थ मन्त्रालयअन्तर्गतको बोर्डले यसअघि गत कात्तिक ११ गते एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन खुला गरेको थियो । यसअघि खुला गरिएको आवेदनलाई रद्द गर्दै पुनः दोस्रो सूचना प्रकाशन गरिएको हो ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गानालाई सरकारले बर्खास्त गरेपछि लामो समयदेखि बोर्ड अध्यक्षविहीन रहेको छ । रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भन्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई १५ दिनभित्र (पुस २९ गतेसम्म) आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

१५ दिनभित्र इच्छुक आवेदकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सिंहदरबारमा गोप्य खामबन्दी आवेदन दिन सक्नेछन् ।

अध्यक्ष पदका लागि आवेदन दिन धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको, कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार व्यवस्थापन, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको र धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा बमोजिम अयोग्य नरहेको हुनुपर्नेछ ।

यस्तै, आवेदकले आवेदन दिने अवधिभित्र ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको समेत हुनुपर्ने सूचनामा उल्लेख छ ।

यसअघिको आवेदन रद्ध

बोर्डमा अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले गत कात्तिक ११ गते जारी गरिएको आवेदन रद्ध गरिएको जनाएको छ । सूचना अनुसार यसअघि आवेदन दर्ता गरेका आवेदकले पुनःअध्यक्ष पदका लागि आवेदन दर्ता गराउनुपर्नेछ ।

यसअघि ११ जनाले अध्यक्ष पदका लागि आवेदन दर्ता गराएका थिए । जसमा बोर्डका कार्यकारी निर्देशन निरग गिरी र उपकार्यकारी निर्देशक डा नवराज अधिकारीले समेत आवेदन बुझाउनुभएको थियो ।

यस्तै, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा गोपाल भट्ट, कर्मचारी सञ्चयकोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, नेप्सेका पूर्वसीईओ सीताराम थपलिया र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंले पनि बोर्डको अध्यक्षका लागि आवेदन पेश गरेका थिए ।

त्यसैगरी, डा केशवप्रसाद श्रेष्ठ, अनिल पौडेल, रमेश हमाल, जीवन अमगाई र कृष्ण आचार्यले बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका बोर्डले जनाएको छ ।

सूचना अनुसार यसअघि आवेदन दिएका आवेदकले दोस्रो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन फिर्ता लिन सक्नेछन् । सो पदको आवेदनका लागि रु तीन हजार शुल्क तोकिएको छ ।

बारामा तीन अर्ब ५४ करोडको अगहनी धान उत्पादन

कलैया । बारामा किसानले यसवर्ष रु तीन अर्ब ५३ करोड ९४ लाख बराबरको एक लाख ४१ हजार ५७७ मेट्रिकटन अगहनी धान उत्पादन गरेका छन् । उत्पादित धान व्यापारीले प्रति क्विन्टल रु दुई हजार ५०० का दरले खरिद गरेका छन् । अगहनी धान उत्पादनमा गत वर्षको तुलनामा ५० प्रतिशतले कमी आएको कृषि ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो । यस वर्ष किसानले सोना मन्सुली, सावित्री, स्वर्णसवा १, सवा मन्सुली, राधा ११ र राधा ९ जातका धान ३४ हजार ११५ हेक्टरमा लगाएका थिए ।

बाली विकास अधिकृत राजकरण साहका अनुसार आर्थिक वर्ष २०७७/७८ मा किसानले अगहनी धान ३४ हजार १६५ हेक्टर क्षेत्रफलमा लगाएका थिए । प्रति हेक्टर चार दशमलव २५ मेट्रिक टनका दरले एक लाख ४५ हजार २०१ मेट्रिक टन धान उत्पादन भएको थियो ।