१५ पुष २०७८, बिहीबार १२:२० – Page 6 – Nagarikabhiyan : National News

मौसममा सुधार, आन्तरिक उडान नियमित

काठमाडौं । पश्चिमी न्यून चापिय प्रणाली र भारतको विहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको प्रभाव आज पनि देशका केही स्थानमा देखिएको छ । यद्यपि, बुधबारको तुलनामा आज मौसममा धेरै सुधार भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर बिहीबार आंशिकदेखि सामान्य बदली रहि केही स्थानमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको केही स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने महाशाखाले जनाएको छ । यसैगरी, काठमाडौंं उपत्यकामा दिउँसोदेखि घाम लाग्ने महाशाखाले जनाएको छ । अहिले उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्राी सेल्सियस रहेको छ ।

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज आन्तरिक उडान भइरहेको जनाएको छ । बिहीबार मौसममा क्रमिक सुधार भइरहेकाले काठमाडौंबाट हुने आन्तरिक उडान नियमित भइरहेको कार्यालयका कर्मचारीले जानकारी दिए ।

बुधबार प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुनुपर्ने १३० वटा दुईतर्फी उडान स्थगत भएको थियो । आन्तरिक उडान गर्दै आएका नौ वटा वायुसेवाले बुधबारका लागि २७२ वटा उडान गर्ने तालिका बुझाएका थिए । तर, प्रतिकूल मौसमका कारण वायुसेवाले बुधबार साँझ अबेरसम्म १४२ वटा मात्रै उडान गरे भने १३० वटा उडान रद्द गरेको थियो ।

माओवादी महाधिवेशन : पाँचाैँ दिनको बन्दसत्र जारी, १४ समूहले आफ्नाे निष्कर्ष सुनाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बिहीबार पाँचौँ दिनको बन्दसत्र सुरु भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि मंगलबार २५ वटा समूहमा छलफल भएको थियो । बुधबारबाट समूहगत छलफलको निष्कर्ष प्रस्तुत भइरहेको छ । बुधबार ११ वटा समूहले आ–आफ्नो निष्कर्ष प्रस्तुत गरेका थिए भने बाँकी १४ समूहले बिहीबार प्रस्तुत गर्नेछन् ।

जारी बन्दसत्रमा बाँकी समूहका नेताले आ–आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने क्रम सुरु भइसकेको छ ।  प्रतिवेदनमाथि उठेका जिज्ञास र प्रश्नको बिहीबारै अध्यक्ष प्रचण्डले जवाफ दिने बताइएको छ ।  गत आइतबारबाट सुरु भएको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

राष्ट्रिय महिला लिग १५ माघबाट

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले  १५ माघबाट राष्ट्रिय महिला लिग आयोजना गर्ने भएको छ । महिला विभाग प्रमुख हरि खड्काले १५ माघबाट लिग सुरु भई पहिलाे राउण्ड सकिने र १५ दिनको विश्रामपछि दोस्रो चरणको खेल हुने जानकारी गराए ।

‘१५ माघबाट सुरु भएर लिगको पहिलो चरणको खेल सकिनेछ । पहिलो चरण सकिएपछि १५ दिन विश्राम दिएर दोस्रो चरणको लिग गर्नेछौं,’ खड्काले न्युज कारखानासँग भने ।

यसपटक एन्फाले महिला लिगमा आठ क्लब सहभागी हुने जनाएको छ । गत वर्ष खेलेका ६ टोली र उपमेयर कप महिला लिग छनोटबाट आएका दुई टोलीबीच लिग हुने खड्काले बताए ।

लिगमा विभागीय टोलीहरू एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र यसपटक छनोट भएका धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिका छन् ।

गत जेठमा सम्मन्न लिगमा एन्फाले सहभागी टोलीलाई चार विदेशी खेलाडी खेलाउने पाउने नियम बनाएको थियो । फागुनमा समापन भएको लिगमा एपीएफले १० अंकको अग्रतासहित उपाधि कब्जा गरेको थियो ।

कर्मचारी आवास गृहमा एकै परिवारका चार जनाको मृत्यु

राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालको कर्मचारी आवासमा गृहमा एकाघर चार जनाको मृत्यु र अन्य तीन जनाको उपचार भइरहेको छ । अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार मृत्युहुनेमा धनप्रसाद सहित उनकी बहिनी अन्दाजी २२ वर्षीया कोली, तीन महिनाका छोरा इप्सन भट्टराई र सासू अन्दाजी ५५ वर्षीया कोपिला छन् ।

खाँडाचक्र नगरपालिका–६ कालीकोट निवासी उनीहरु एउटै कोठामा सुतेका बताइएको छ । चिसोमा कोइला बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । चार जनाको मृत्यु भएपनि अन्य तीन जना अचेत अवस्थामा फेला परेका थिए । ती मध्ये एक जनाको होस खुलेपनि दुई जना अझै अचेत अवस्थामै रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । आज बिहान करिब ६ बजेतिर कोठामा गएर अन्य कर्मचारीले हेर्दा चार जना मृतास्थामा फेला परेका थिए । धनप्रसाद सहित उक्त निवासमा सात जना थिए । घटनाबारे जानकारी पाउनासाथ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र प्रहरी उपरीक्षक अधिकारीको टोली घटनास्थल पुगेको थियो । प्रजिअ खत्रीले घटनास्थल हेर्दा निसास्सिएर मृत्यु भएको आशङ्का गरिएपनि विस्तृत कुरा शव परीक्षण रिपोर्टले बताउने जानकारी दिए ।- रासस

नेपालगञ्जमा आईसीपी निर्माणमा ढिलाइ : १६ वर्षमा २० प्रतिशत काम

नेपालगञ्ज । नेपालगञ्ज नाकामा निर्माण भइरहेको एकीकृत भन्सार जाँच चौकी ९आईसीपी०को निर्माण कार्य १६ वर्षमा २० प्रतिशत मात्र भएको छ । सन् २००५ मा नेपाल भारत सरकारबीच एकै पटक विराटनगर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवा नाकामा आईसीपी निर्माणको सम्झौता गरिएको थियो । तर, विराटनगर र वीरगञ्जमा निर्माण पूरा भइसकेको छ भने नेपालगञ्जको आईसीपी निर्माणमा ढिलाइ भएको छ ।

नेपाल भारत सीमा नजिकै नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरमा आईसीपी निर्माणको काम भइरहेको हो । गत वर्ष दुई वर्षमा पूरा गर्ने गरी भारतको राजदीप कन्स्ट्रक्सन कम्पनीले एक अर्ब ४७ करोड भारतीय रुपियाँमा निर्माण ठेक्का लिएको थियो ।
ठेक्का अवधिको आधा समय बितिसक्दा पनि २० प्रतिशत मात्रै काम हुनुले उद्योगी व्यवसायीमा चिन्ता बढेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलबाहिद मन्सुरीले बताए ।

उहाँले आईसीपीको निर्माणसँग बाँकेका मात्र नभई समग्र पश्चिम नेपालका उद्योगी व्यवसायीको भविष्य र आशा गाँसिएको जनाउँदै पटकपटक दबाब दिए पनि कामले गति लिन नसकेको गुनासो गरे । १६ वर्षअघि भएको सम्झौताको कार्यान्वयन गत वर्षदेखि मात्रै सुरु भएको जनाउँदै नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले त्यसयता पनि विभिन्न बहानामा काम सुस्त भएको बताए।

ठेकेदार कम्पनी राजदीप कन्स्ट्रक्सनका इन्जिनियर नितिन कुमारले अहिलेसम्म २० प्रतिशत काम सम्पन्न भएको जनाउँदै कोरोना महामारी र विभिन्न चाडपर्वले गर्दा काम पटकपटक रोकिए पनि दुई महिनायता तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण स्थलमा अहिले भवन लगायतका पूर्वाधार तयार भइरहेका छन् । उक्त स्थानमा दुई हजार दुई सय मिटर लम्बाइ र ६० मिटर चौडाइमा आईसीपीको एप्रोच रोड निर्माण भइरहेको छ ।

आईसीपी निर्माणका लागि आवश्यक पर्ने सामान आयातमा ठेकेदार कम्पनीलाई कुनै राजस्व र भन्सार महसुल नलाग्ने दुई देशबीचको सहमतिअनुसार सामान ल्याउने काम निरन्तर भइरहेको सहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ । सो कार्यालयका इन्जिनियर होमनाथ भुसालले ठेकेदार कम्पनीलाई आवश्यक पर्ने स्थानीय स्तरको निर्माण सामग्री ढुङ्गा, गिट्टी, बालुवामा आफूहरूले सहजीकरण गरिरहेको बताए ।-गोरखापत्र

उपभोक्ताको नजरमा मारुती सिमेन्ट जहिल्यै ‘नम्बर वान’

देवानगंज । विदेशी सिमेन्टको दबदबा रहेको अवस्थामा विगत १५ वर्षअगाडि अन्तर्राष्ट्रिय निर्भरतालाई विश्राम दिने सोचका साथ उत्पादन सुरु भएको मारुती सिमेन्टले उपभोक्तामा सन्तुष्टि प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको छ । स्थापनाकालदेखि कै विश्वासिलो ब्रान्डका रूपमा परिचित मारुती सिमेन्टले स–साना संरचना निर्माणदेखि ठुला–ठुला परियोजनासम्म उपभोक्ताको भरोसा जित्दै आएको छ । निजीस्तरको पहिलो सबैभन्दा ठुलो ओपिसी सिमेन्ट उत्पादक मारुती सिमेन्ट नेपाल गुणस्तर विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै सर्वशक्तिशाली ५३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हो । यसैले पनि नेपालमै पहिलोपटक ग्रेड सिमेन्टको उत्पादन सुरु गर्ने मारुती सिमेन्ट राष्ट्रिय गौरवका परियोजनाहरूमा निर्विरोध प्रयोग हुँदै आइरहेको छ ।

नेपालकै सर्वोत्कृष्ट चुनढुङ्गा खानीबाट उत्पादित उक्त सिमेन्ट सानो संरचनादेखि ठुला हाइड्रोपावरसम्ममा प्रयोग हुँदै आइरहेको छ । ठुला–ठुला परियोजनाहरू पुल, बाँध, उद्योग, घर, बाटोघाटो निर्माणमा प्रयोग हुँदै यो सिमेन्ट उपभोक्ताहरूमा निकै लोकप्रिय छ । आजका दिनमा पनि उपभोक्ताका माझ यो सिमेन्ट कम्पनी एक विश्वसनीय कम्पनीको रूपमा स्थापित छ ।

आफ्नो उत्पादनको १५ वर्षदेखि नै सिमेन्टको गुणस्तरमा कहिल्यै ह्रास आउन नदिएकै कारण पनि बजारमा मारुती सिमेन्ट लोकप्रिय बन्दै गएको हो । विभिन्न सर्वेक्षणमा पनि मारुती सिमेन्टको प्रयोगकर्ताहरू अन्य सिमेन्ट प्रयोगकर्ताको तुलनामा विश्वसनीय भई प्रयोग गरिररहेको पाइएको छ । मारुती सिमेन्ट ‘नम्बर वान’ मारुती सिमेन्टले आफूलाई सधैँ नम्बर वान भएको दाबी गर्छ । यो उसको दाबीमात्र होइन, उपभोक्ताको बोली हो । बजारमा उपभोक्ताले मारुती सिमेन्टलाई सोही उपनामले चिन्छन् ।

मारुती सिमेन्ट उत्पादन सुुरु भएयता नै बेच्न थालेका गरिमाज इन्टरप्राइजेज, काठमाडौँका सञ्चालक श्यामभगत खड्का उपभोक्ताकै बोली बोल्ने बताउँदै मारुती सिमेन्टलाई नम्बर वानको दर्जा दिन्छन् । उपभोक्ताले कहिल्यै पनि गुणस्तरको मामलामा गुनासो नगरेको बताउँछन् । ‘१५ वर्ष नै भयो मैले मारुती सिमेन्ट बेच्न थालको,’ उनी भन्छन्, ‘तर अहिलेसम्म उपभोक्ताले कुनै कम्प्लेन गरेका छैनन् ।

हामीले उपभोक्ताकै बोली बोल्ने हो, उहाँहरूको नजरमा मारुती सिमेन्ट नम्बर वान हो ।’ यस्तै, नेपाल हार्डवेयर एन्ड सप्लायर्स प्रालि, ललितपुरका सञ्चालक रमेश गौतम १८ वर्षदेखि निर्माण सामग्री बिक्री गर्दै आइरहेका छन् । तर जब उनीसँग मारुती सिमेन्ट ठोक्किएको छ, तबदेखि उनले सो सिमेन्ट नै बढी बिक्री गरिरहेका छन् । ‘ब्यापारमा ‘पुस सेल’ र ‘पुल सेल’ भन्ने दुई नियम हुन्छ । ग्राहकले मारुती सिमेन्ट नै चाहिन्छ भन्दै हामीकहाँ आउने भएका कारण पुल सेल गरिरहेका छौँ’, उनी भन्छन्, ‘हामीले लामो समयदेखि सिमेन्ट धेरै बेच्यौँ । तर मारुतीमा हालसम्म कुनै कम्प्लेन नआएका कारण यो नै हाम्रो प्राथमिकतामा पर्छ ।’ २०६७ सालदेखि नै निरन्तर रूपमा मारुती सिमेन्ट प्रयोग गर्न थालेका उपभोक्ता दिपेन्द्रराज भण्डारी आफ्नो रोजाइमा सन्तुष्ट छन् । उनी भन्छन्, ‘११ वर्ष भएछ मैले मारुती सिमेन्ट प्रयोग गर्न थालेको, पटक–पटक संरचना निर्माणमा प्रयोग गरेँ । अहिले पनि म घर बनाउँदैछु र मारुती सिमेन्ट नै प्रयोग गरिरहेको छु । म सन्तुष्ट छु मारुती सिमेन्ट रोजेकोमा ।’

लमजुङको पकेट क्षेत्रमै मासियो सुन्तला

लमजुङ । सुन्तला घारीले हराभरा बेँसीशहर नगरपालिका-११ स्याउतगाउँ अहिले उराठ लाग्दो छ । ६ वर्ष अगाडि एक सिजनको सुन्तलाबाट वार्षिक ६ लाखसम्म कमाउने स्याउतका सुरेश पाण्डेलाई अहिले त्यो कहानी जस्तो लाग्न थालेको छ । उनको सुन्तलाबारी अहिले बाँझोबारीको रूपमा परिणत भएको छ । उनी मात्र होइन पुरै गाउँलेको व्यथा एउटै छ । १० वर्ष पहिला खुसी र नगद कमाउने बगैँचा अहिले ऋण बाेकाएर गएको छ ।

अर्का किसान एवमं शिक्षक गणेश बाबु पन्तको पनि ब्यथा उस्तै छ । २०/२५ वटा बोटले ४०/४५ हजार आम्दानी दिएपछि जोसिएर २०५६ सालमा करिब १२ रोपनी जग्गामा ३०० बोट सुन्तला, २० बोट मौसम र १० बोट कागती रोपेर हराभरा बनाएर लाखौँ आम्दानी गर्ने सपना देखेका उनले उल्टै ६ लाख ऋण बाेके ।

सुन्तला रोपेका किसान पन्तको जग्गा अहिले धानबारीमा परिणत भएको छ । एक खेपको पनि आम्दानी लिन नपाई सुन्तलाको बोट मरेको उनको भनाइ छ । धान, कोदो, मकैजस्ता बाली फल्ने झण्डै ७ रोपनी खेत मासेर सुन्तला खेती गर्दै आएका स्याउतका रजमुर्ती पन्तको उनको बगैंचामा सुन्तलाका बोटहरू मरेर सखाप भएका छन् । उनी मात्र होइन स्याउतकै सुरेशबाबु पाण्डेले भने घर नजिकैको सुन्तला बगान हेर्दा बिरक्त लाग्छ ।

कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीका अनुसार पतेरो, कत्लेकिरा लगायतका किराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाईन(उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाईरस जस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिंचाईको व्यवस्था, बिरुवा छनौटमा कृषकले ध्यान नदिँदा सुन्तलाको बगैंचा मासिने क्रम बढेको हो ।

केहि वर्षअगाडि जिल्लामा एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा सुन्तला खेती हुने गरे पनि गत वर्ष ३०२ हेक्टर क्षेत्रफलमा सुन्तला खेति गरिएको थियो यस वर्ष झन् घटेर २२५ हेक्टर क्षेक्रफलमा मात्र सुन्तला खेती हुने गरेको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।

साविकको जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचिकृत गरेको साविक चितिको स्याउत, तार्कुको गहते, भोर्लेटारको लामासोती, करापुटारको बेतिनी, उदीपुरको धिमिरे, गाउँशहर, भोटेओडार लगायतका क्षेत्रमा रोग लागेर सुन्तलाका बोट मर्दै गएपछि बगैंचा मासिँदै गएको हो ।

चिसो बढेपछि विद्यालय एक हप्ताका लागि बन्द

बनेपा । बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसाले अन्य स्वास्थ्य समस्या हुने देखिएको हुँदा यही पुस २१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको जनाएको हो ।

जाडो बढेका कारण अहिलेलाई विद्यालय बन्द गरेर पुस २२ गतेदेखि मात्रै विद्यालय सञ्चालन गर्न नगरपालिकाले नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई आग्रह गरेको हो । कतिपय विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको भए पनि उक्त परीक्षा विद्यालय खुलेपछि निरन्तरता दिई सञ्चालन गर्ने व्यवस्था मिलाउनसमेत सबै विद्यालयलाई नगरपालिकाको १४ गतेको निर्णयअनुसार अनुरोध गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले बताए। -रासस

हिमपातले अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा अवरुद्ध, जनजीवन कष्टकर

सिमकोट । बुधबार बिहानदेखि हुम्लामा भारी हिमपात हुँदा हिमाली जिल्ला हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा अवरुद्ध भएको छ ।

नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका तारा, सिता, समिटए एयरको उडान प्रभावित भएको हो । हवाई उडान नहुँदा दैनिक उपभोग्य वस्तु, खाद्यान्न, तरकारी, बजार व्यवसायीहरुको सामाग्री ढुवानी नसकेको हो ।

भारी हिमपातले सात गाउँपालिका रहेको हुम्ला जिल्ला सदरमुकाम सिमकोट सहित जिल्लाभरको जनजीवन प्रभावित भएको छ । बुधबार बिहानदेखि लगातार परेको हिमपातले हुम्ला जिल्लाका डाँडाकाडा सेताम्या भएको छ ।

उत्तरी नाम्खाको जनजीवन प्रभावित
हिमाली जिल्लाको हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको जनजिवन प्रभाबित मात्र नभई पशु चरी चराउनमा समेत समस्या भएको छ । लिमी,मुचु यारीका स्थानीय वासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ ।

नाम्खा गाउँपालिकाको लिमि, मुचु, लगायतका क्षेत्रमा ४ फिट हिउँ जमेको यारीका स्थानीय सुनाम तामाङले बताए ।

मुचुका खोलामा पानी जमेको छ । ‘नाम्खा गाउँ बाटो घाटो सबैतिरको पानी समेत जमेर पूरै ठोस भएको छ । जाडेले घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा जमेका छन्’ तामाङले भने ।

बुधबार बिहनदेखि निरन्तर रुपमा परेको हिमपातले हुम्ला जिल्ला सदरमुककाम सिमकोटमा झण्डै दुई फिट हिउँ जमेको छ । तापक्रम तापक्रम माइनस १२ डिग्री भन्दा तल झरेको छ । अत्याधिक चिसो र हिमपात भैरहेका कारण बिहानै देखि चहलपहल हुने गाउँहरु समेत सुनसान जस्तै देखिएका छन् । निरन्तर रुपमा हिउँसँगैको अत्याधिक जाडोले सिमकोट आसपासको जनजीवन निकै प्रभावित बनाएको हुम्लाका सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए ।

सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी बुधबार दिनभर काम गर्न थप समस्या बनाएको छ । जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राही भीड आज नभए पनि हिमपात र चिसोले काम गर्न समस्या भएको कर्मचारीहरुले बताए ।

व्यवसाय सञ्चालन आगोको साहारा
सिमकोटमा रहेका व्यवसायीहरुले आगोको साहारामा व्यवसाय सञ्चालन गरिरहेका छन् । आगो ताप्दै पसल व्यवसाय गरिरहेको व्यवसायी रतन सुनारले बताए। पसलहरुमा ग्राहकहरु कम उपस्थित भएपनि शरिरलाई न्यानो बनाई राख्नका लागि आगोको सहायताले दिन कटाएका सुनारले बताए ।

पानी र हिमपातसँगै हुम्ला जिल्ला भरीको सबै सामुदायिक तथा निजी विद्यालय बुधबार दिन बन्द रहे । गएरातिदेखि परेको हिमपातले स-साना बालबालिका विद्यालय जान नसक्नुका साथै ठूला बालबालिका विद्यालय पुग्न सकेपनि चिसोले समस्या बनाएपछि विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको हो । सिमकोटमा रहेका सामुदायिक विद्यालयहरुमा यतिबेला अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ ।- सुरेस परियार/न्यूज कारखाना

मनाङमा भेँडीगाेठ गएका एक जना सम्पर्कविहीन, हिमपहिरोमा परेकाे आशंका

लमजुङ । मनाङमा एक जना सम्पर्कविहीन भएका छन् । गोठबाट घर फर्किने क्रममा नासो गाउँपालिका-४ वडारगाउँका ५५ वर्षीय आच्यो गुरुङ सम्पर्कविहीन भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काका अनुसार गुरुङसँगै तीन जना गाउँमाथिको लुम्रुचोकस्थित भेँडीगोठ गएका थिए । बुधबार बिहान गोठ गएका उनीहरु फर्कने क्रममा दिउँसो १ बजेबाट फेम्रो जङ्गलबाट  गुरुङ बेपत्ता भएका हुन् ।

डिएसपी खड्काका अनुसार गुरुङसँग रहेका दुई जनाले प्रहरीलाई खबर गरेका थिए  । मनाङमा सोमबारदेखि निरन्तर हिमपात भएकाले घर फर्किने बेलामा हिउँ परिरहेकाले हिमपहिरोमा परेको प्रहरीको अनुमान  छ ।  बेपत्ता गुरुङको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

मनाङमा भेँडीगाेठ गएका एक जना सम्पर्कविहीन, हिमपहिरोमा परेकाे आशंका

लमजुङ । मनाङमा एक जना सम्पर्कविहीन भएका छन् । गोठबाट घर फर्किने क्रममा नासो गाउँपालिका-४ वडारगाउँका ५५ वर्षीय आच्यो गुरुङ सम्पर्कविहीन भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काका अनुसार गुरुङसँगै तीन जना गाउँमाथिको लुम्रुचोकस्थित भेँडीगोठ गएका थिए । बुधबार बिहान गोठ गएका उनीहरु फर्कने क्रममा दिउँसो १ बजेबाट फेम्रो जङ्गलबाट  गुरुङ बेपत्ता भएका हुन् ।

डिएसपी खड्काका अनुसार गुरुङसँग रहेका दुई जनाले प्रहरीलाई खबर गरेका थिए  । मनाङमा सोमबारदेखि निरन्तर हिमपात भएकाले घर फर्किने बेलामा हिउँ परिरहेकाले हिमपहिरोमा परेको प्रहरीको अनुमान  छ ।  बेपत्ता गुरुङको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

बाँकेको सरकारी मेडिकल स्टोरमा निसास्सिएर एकै परिवारका चार जनाकाे मृत्यु

सुर्खेत । बाँकेको नेपालगञ्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखा मेडिकल स्टोरको क्वार्टरमा निसास्सिएर चार जनाकाे ज्यान गएकाे छ ।

नेपालगञ्ज उपमहानगरपालिका-१० मा रहेको भेरी अस्पतालमा कार्यरत कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका कालिकोट खाँडाचक्र नगरपालिका-६ का २४ वर्षीय धनप्रसाद भट्टराईसहित चार जना स्टाेरकाे क्वार्टरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

भट्टराईको सात जनाकाे परिवार सुतेकाे थियाे । सुतेकै ठाउँमा चार जना मृत भेटिएसँगै अन्य तीन जना बेहोस रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बुधबार राति खाना खाएर सुतेका सातमध्ये चारजना मृत भेटिएका हुन् भने बेहोस रहेका तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

२३ वर्षीय धनप्रसाद भट्टराई, उनका तीन महिने छोरा इप्सन भट्टराई, ४५ वर्षीया आमा कोपिला भट्टराई र २१ वर्षीय बहिनी नन्दकली भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सँगै सुतेकी धनप्रसादी २४ वर्षीया श्रीमती सुशीला भट्टराई, जेठो छोरा तीन वर्षीय दिवस भट्टराई र १८ वर्षीय भाइ नरेन्द्र भट्टराई भने बेहोस अवस्थामा भेटिएपछि उनीहरुलाई भेरी अस्पताल लगिएको एसपी श्यामकृष्ण अधिकारीले बताए ।

बुधबार देशभर वर्षा हुँदा चिसाे बढेकाे थियाे । राति कोइला बालेर सुतेकाे र निसास्सिएर मृत्यु भएको हुन सक्ने एसपी अधिकारीले बताए ।

रसुवा भन्सारमा मंसिर महिनामा लक्ष्यभन्दा ८८ प्रतिशत बढी राजस्व संकलन

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले मंसिर महिनामा लक्ष्यको ८८.39 प्रतिशतभ राजस्व संकलन गरेको छ । भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार मंसिरमा ५४ करोड ७१ लाख १९ हजार राजस्व संकलनकाे लक्ष्य रहेकामा १ अर्ब ३ करोड ६ लाख ९७ हजार राजस्व संकलन भएकाे हाे । जुन मंसिर महिनामा राखिएको लक्ष्यको तुलनामा ४८ करोड ३५ लाख ७८ हजार  राजस्व बढी संकलन भएको हो ।

गत वर्ष मंसिर महिनामा ३६ करोड ९८ लाख ०८ हजार राजस्व संकलन भएकाे थियो ।  गत वर्षको तुलनामा यो वर्ष ६६ करोड ८ लाख ८९ हजार बढी राजस्व संकलन भएको छ ।  रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्त शुल्क भ्याट लगायतका शुल्क बापत भन्सार असुली गर्ने गर्छ ।

कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको व्यापार प्रभावित भएको दुई वर्ष पुग्न लागेको छ । यसको असर भन्सार राजस्व संकलनमा पनि देखिएको छ । रसुवा भन्सार कार्यालयले गएको वर्ष वार्षिक लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको थिएन ।

चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपाल तर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिक लगायतका सामाग्री भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामाग्री जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुल्ला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ ।

अमेरिकामा कोभिड संक्रमितको संख्या बढेको बढ्यै, दैनिक १२ सयको मृत्यु

न्युयोर्क । अमेरिकामा कोभिडका नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा कोभिड संक्रमण डरलाग्दो ढंगले फैलिएको छ ।

मंगलबारसम्म पछिल्लो एक सातामा औषतमा दुई लाख ६५ हजार ४२७ जनामा संक्रमण देखिएको छ । घरबाट गरिएका परीक्षण समावेश नगरिएकाले तथ्यांकमा उल्लेख गरिएको भन्दा बढी संक्रमित हुन सक्ने विज्ञहरुले बताएका छन् ।

अहिले पनि अमेरिकामा संक्रमणका कारण औषतमा दैनिक १२ सयको मृत्यु हुने गरेको छ । संक्रमण बढ्नुमा नयाँ भेरियन्ट ओमिक्रोन भाइरसलाई मुख्य जिम्मेवार मानिएको छ । ओमिक्रोनका कारण अमेरिकामा अस्पताल जाने विरामीको संख्या न्यून भए पनि यसको संक्रमण दर भने तीव्र छ ।-एजेन्सी

केरुङमा बाक्लो हिमपातपछि नेपाल आयात हुने सामान लोड हुन सकेन

रसुवा । चीनको केरुङमा बाक्लो हिमपातका कारण नेपाल सामान आयातमा प्रभावित भएको छ । मंगलबार साँझदेखिको हिमपातका कारण नेपाल ल्याउन चीनको केरुङस्थित गोदाममा राखिएको सामान लोड हुन नसकेको व्यवसायीले बताएका छन् ।

केरुङमा करिब ३ फिटभन्दा बढी हिउँ परेको बताइएको व्यवसायी पुरुषोत्तम पौडेलले बताए । ‘पहिलेको भन्दा धेरै हिउँ परेको छ, अहिले सामान लोड गर्ने स्थिति छैन भन्ने खबर आएकाे छ,’ उनले भने ।

हिमपातका कारण सामान लोड भएर नेपाल आउन लागेका चिनियाँ कन्टेनरसमेत केरुङमै रोकिएको पौडेलले बताए । ‘सामान लोड भएर बसेका गाडि केरुङबाट रसुवागढी आउन सकेको छैन, हिमपात भइरहेकाले लोड हुन सकेको छैन भनेर जानकारी  आएको छ, उनले भने, हिउँ छ, यातायात अवरुद्ध भएको छ भनिएको छ, अब कति दिन लाग्छ भन्ने यकीन छैन ।’

अर्का व्यवसायी शारदाप्रसाद पराजुलीका अनुसार हिमपातका कारण अबको केहि दिन नेपाल सामान आयातमा प्रभावित हुने देखिएको छ ।

चिनियाँ पक्षले दैनिक बिहान ९ कन्टेनर र साँझ २ कन्टेनर गरी दैनिक ९ वटा कन्टेनर मार्फत रसुवागढीसम्म सामान निर्यात गर्दै आएकाे थियो । मंगलबार बेलुका नै नाकाको सीमा पारी पुगेक ७ कन्टेनरले बुधबार बिहान रसुवागढीसम्म सामान ल्याएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख रामप्रसाद मैनालीले बताए । ‘बुधबार बिहान ७ चिनियाँ कन्टेनरमार्फत सामान आयात भएको छ, बेलुकी दुई कन्टेनर आउने गर्थ्याे, तर बुधबार भने आएन्, चिनिया पक्षले हामीलाई केही जानकारी गराएको छैन,’ उनले भने  ।

किन विवादित बन्यो भारतमा राखिएको रोनाल्डोको सालिक ?

काठमाडौँ । पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको नयाँ सालिकका कारण भारतीयहरूबीच विवाद भएको छ। त्यस प्रतिमालाई भारतको पश्चिमी गोवा राज्यमा राखिएको छ जहाँ फुटबल लोकप्रिय छ।

त्यहाँका अधिकारीहरूले उक्त मूर्तिका स्थानीय युवाका लागि प्रेरणाको स्रोत बन्ने आशा गरेका छन्। तर, कुनै बेला पोर्चुगलको उपनिवेश रहेको गोवा स्वतन्त्र भएको ६० वर्ष भयो। भारतको अन्य भूभाग ब्रिटिश शासनबाट स्वतन्त्र भएको १४ वर्षपछि मात्रै गोवा स्वतन्त्र भएको थियो।

भारतको राष्ट्रिय फुटबल समूहमा पूर्व तथा वर्तमान खेलाडीहरू गोवाकै हुन्। त्यसैले आलोचकहरूले स्थानीय खेलाडीहरूको सम्मान गरिनु पर्ने बताउँदै आएका छन्। ‘रोनाल्डोको मूर्ति खडा भएको सुनेर निकै निराश छु। समीर नाइक र ब्रुनो काउटिन्होजस्ता हाम्रा आफ्नै खेलाडीहरूप्रति गर्व गर्न सिक्नुपर्छ,’ गोवाका स्थानीय बासिन्दा आईएएनएस समाचार एजेन्सीसँग भनेका छन्।

टाइम्स अफ इन्डिया पत्रिकाका अनुसार प्रतिमा अनावरणको क्रममा केही मानिसले कालो झन्डा फहराउँदै विरोध जनाएका थिए। पोर्चुगलको फुटबल टोली गोवामा लोकप्रिय छ र यसको औपनिवेशिक विगतका कारण धेरै स्थानीयका नातेदारहरू पोर्चुगलमा छन्। तर, भारतका केही मानिसहरूले गोवा पोर्चुगलबाट स्वतन्त्र भएको ६० औँ वार्षिकोत्सवमै रोनाल्डोको मूर्ति स्थापना गर्नु अपमानजनक भएको महसुस गरेका छन्।

‘यसै वर्ष पोर्चुगल फुटबल खेलाडीको मूर्ति खडा गर्नु अपमानजनक काम हो। हामी यस कार्यको भर्त्सना गर्छौँ,’ आईएनएसले दक्षिणपन्थी कार्यकर्ता गुरु शिरोदकरलाई उद्धृत गरेको छ। उनले गोवामा रहेका थुप्रै स्वतन्त्रता लडाकुहरूको समेत अपमान भएको बताएका छन्।

सत्तारुढ भारतीय जनता पार्टी भाजपाका स्थानीय सांसद माइकल लोबोले मूर्तिसहित तस्बिर ट्वीट गर्दै भनेका छन्, ‘हाम्रै युवाहरूको अनुरोधमा यो राखिएको हो। यो उनीहरूको फुटबल यात्रालाई अझ उचाइमा पुर्‍याउन प्रेरित गर्न स्थापना गरिएको हो।’

भारतमा क्रिकेट लोकप्रिय भए पनि केरला, गोवा, पश्चिम बङ्गाल र उत्तर-पूर्वी राज्यहरूमा फुटबल पनि लोकप्रिय छ। हाल म्यानचेस्टर युनाइटेडबाट खेल्ने रोनाल्डोका धेरै भारतीय प्रशंसक छन्। र फुटबलमा उनी उत्कृष्ट खेलाडीहरूमध्ये एक मानिन्छन्। ३६ वर्षीय फरवार्ड खेलाडीले मूर्ति विवादबारे सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन्।

उनको प्रतिमामाथि विवाद उत्पन्न भएको यो पहिलो पटक भने होइन। सन् २०१७ मा पनि पोर्चुगलस्थित मडेइरा एयरपोर्टमा राखिएको उनको अर्धकदको मूर्ति सामाजिक सञ्जालमा हाँसोको विषय बनेको थियो। उक्त प्रतिमामाथि व्यङ्ग्य गर्दै धेरै मिम बनेका थिए। चर्को आलोचना पछि त्यसलाई प्रतिस्थापन गरिएको थियो। -बीबीसी