१३ मंसिर २०७८, सोमबार १२:२३ – Page 7 – Nagarikabhiyan : National News

गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव पुस १५ देखि सुरु

बागलुङ । गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव’ आगामी पुस १५ देखि २६ गतेसम्म गलकोट नगरपालिका–६ मजुवा फाँटमा हुने भएको छ । ‘ड्रिम टिम गलकोट’को आयोजनामा हुने महोत्सवको तयारी अगाडि बढाइएको संस्थाका अध्यक्ष रुपक पाण्डेले बताउनुभयो ।

१२ दिनसम्म चल्ने महोत्सवमा खुला भलिबल प्रतियोगिता, गलकोट डान्स आइडल–२०७८, रत्यौली, माछा छोप्ने (हत्केला खेल्ने), दौड, ब्याडमिन्टन, टेबुलटेनिसलगायत प्रतियोगिता हुनेछन् ।

महोत्सवमा मौलिक कला, संस्कृतिको प्रदर्शन, रमाइलो मेला र साङ्गीतिक कार्यक्रम पनि हुने उहाँले जानकारी दिनुभयो । “महोत्सव सफल पार्न स्थानीय प्रशासन, राजनीतिक दल, सङ्घसंस्थादेखि सबै पक्षसँग समन्वय गरिरहेका छौँ”, उनले भने ।

कोरोना सङ्क्रमण मत्थर भएको र दुई वर्षदेखि गलकोटमा खेल, कला र मनोरञ्जनका गतिविधि नभएकाले महोत्सव आयोजना गरिएको ड्रिम टिम गलकोटले जनाएको छ । महोत्सवबाट खेल, कला, संस्कृतिसँगै व्यापार प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास आयोजकको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारको साङ्गीतिक प्रस्तुति पनि रहने जनाइएको छ । यसअघि पनि गलकोट उद्योग वाणिज्य सङ्घ, गलकोट घुम्टे पर्यटन विकास केन्द्रलगायतका सङ्घसंस्थाले गलकोटमा मेला, महोत्सवको आयोजना गर्दै आएका थिए । कोरोना महामारीका कारण दुई वर्षदेखि त्यस्ता कार्यक्रम रोकिन पुगेका थिए ।

अहिले कोरोना सङ्क्रमण दर न्यून रहेको र कोरोनाविरुद्ध खोपको पहुँच पनि बढ्दै गएकाले सार्वजनिक समारोह, मेला तथा महोत्सव हुन थालेका हुन् । गत हप्ता बडिगाड गाउँपालिकामा परम्परागत न्वागी मेलाको आयोजना गरिएको थियो । त्यसअघि ताराखोला गाउँपालिकामा भुस पोल्ने पर्व, हरिबोधनी एकादशी मेलालगायत कार्यक्रम भएका थिए । जनस्वास्थ्यकर्मीले भने कोरोनाको जोखिम कामयै रहेकाले भिडभाडजन्य गतिविधि गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न नहिच्किचाउन सचेत गराउँदै आएका छन् ।

ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्ने बारेमा अनुसन्धान हुँदैछ : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ ।विश्व स्वास्थ्य संगठनले उक्त भाइरस मानिसबाट मानिसमा सजिलै सर्छ या यसले मानिसको स्वास्थ्यमा के कति मात्रामा क्षति गर्छ भन्ने विषयमा अनुसन्धान जारी रहेको र अहिले नै यसको खतरना स्वरुपका बारेमा स्पष्ट नभएको आइतबार जनाएको छ ।

दक्षिण अफ्रिकाको धेरै जनसंख्या रहेको प्रान्त खाउतेङमा हालैमात्र यो कोरोना भाइरसको यो नयाँ भेरिएन्ट देखिएको बताइएको छ । त्यहाँ गएको दुई साता यताका परीक्षणहरुमा यो भेरिएन्टको विकास भएको बताइएको छ । त्यसपछि यो भाइरस दक्षिण अफ्रिकाका अन्य प्रान्तमा पनि देखिएको छ । ओमिक्रोनलाई यसअघिको डेल्टा भाइरसभन्दा पनि खतरनाक र चिन्ताजनक भेरिएन्ट भनिएको छ । प्रारम्भिक प्रमाणहरूले उक्त भेरिएन्टमा यसअघिका भाइरसहरुमा भन्दा पनि संक्रमणको जोखिम उच्च रहेको बताइएको छ ।

डब्लूएचओले दक्षिण अफ्रिकामा यो नयाँ भेरिएन्ट भेटिएको भनिएको सो प्रान्तमा कोरोना भाइरसका कारण मानिसहरु भर्ना हुनेहरु बढिरहेको पाइएको बताइएको छ तर पनि यो नयाँ भेरिएन्ट के कति मात्रामा बढी घातक छ भन्ने बारेमा भने अझै अनुसन्धान भइनसकेको जनाएको छ । यो महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको यस भाइरसबारे गत बुधवार विश्व स्वास्थ्य संगठनलाई जानकारी गराइएको थियो ।

सो भेरिएन्ट केही दिनमै विश्वका कैयौँ देशमा फैलिइसहेको बताइएको छ । बेलायतमा पनि यो नयाँ भेरिएन्ट देखिएको बताइएको थियो । त्यस्तै आइतबार यो भेरिएन्ट क्यानाडामा पनि देखिएको बताइएको छ ।-सिन्ह्वा

जाजरकोट बस दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट उपचारका लागि नेपालगन्ज लगियो

जाजरकोट- नेपालगन्जदेखि राडिबजार आउँदै गरेको ना६ख २७५७ नम्बरको रात्रि बस जाजरकोटमा राति दुई बजे दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । कुशे-९ जाजरकोटकी १८ वर्षीया अनिला नेपाली र आठबिसकोट ५ रुकुम पश्चिमकी २४ वर्षीया सन्ध्या मल्ल शाहीको मृत्यु भएको छ । २९ जना घाइतेको उद्धार गरिएको थियो ।

बस दुर्घटनाका गम्भीर घाइते ६ जनालाई हेलिकप्टरबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको हो ।

दुर्घटनामा बेहोस भएका उनीहरूलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था छ । तीन जनाको अहिलेसम्म होस खुल्न सकेको छैन । कुशे-९ जाजरकोटका देवीसरा नेपाली, उनका श्रीमान् वीरबहादुर नेपाली र छोरा प्रचण्ड नेपालीलाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको हो । श्रीमान-श्रीमती दुवैको अवस्था चिन्ताजनक छ ।

त्यस्तै, नलगाड-४ कि आस्था वलीको अवस्था पनि गम्भीर छ । उनलाई पनि नेपालगञ्ज लगिएको छ। आठविसकोट-५ का शरद शाही र आठवीसकोट-४ रुकुम पश्चिमकी धर्मी मल्ललाई पनि हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको हो ।

उनीहरू सबैको अवस्था गम्भीर छ । त्यस्तै बिपना परियार, वर्षा परियार, अभिसेक परियार, दत्ते नेपाली, शेरबहादुर खत्री, मोहन खत्री, संगिता बुढा र काली बोहरालाई गाडीबाट नेपालगञ्ज पठाइएको छ । पाँच जना सामान्य उपचारपछि घर फर्किएका छन् । नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । एक जनाको चौरजहारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रसूति व्यथा लागेपछि साइकलमा हुँइकिएर अस्पताल पुगिन् यी सांसद

वेलिंगटन । प्रसूति व्यथा लागेका महिलाहरु सामान्यतया केही दिनदेखि अस्पतालमा भर्ना हुन्छन् । सुत्केरीपूर्व नै महिलाको स्वास्थ्य र पेटको वच्चाको अवस्था हेरेर प्रसूति वार्डमा उपचार हुन्छ । तर, न्युजिल्यान्डकी एक सांसद भने प्रसूति बेथा लागेपछि साइकल चढेर अस्पताल पुगेकी छन् ।

अस्पताल पुगेको एक घन्टा नबित्दै उनले शिशु जन्माएकी छिन् । ‘सुत्केरी बेथा लागेको बेला साइकल चलाएर अस्पताल जाने मैले कुनै योजना गरेकी थिइन, तर त्यही भयो,’  ग्रीन पार्टीकी सांसद जुली एनी जेन्टरले आफ्नो फेसबुक पेजमा लेखेकी छिन् ।

पार्टीको यातायात मामिला प्रवक्तासमेत रहेकी उनी प्रसूति व्यथा लागेपछि साइकलमा चढेर अस्पताल गएको पहिलो पटक भने होइन । तीन वर्षअघि मन्त्री हुँदा पनि उनी गर्भवती भएकी थिइन् र सुत्केरी व्यथा लागेपछि साइकलमा नै अस्पताल हुइकिएकी थिइन् । अस्पतालको एउटा कार पार्कमा उनले पतिसँगको फोटो फेसबुकमा सेयर गरेकी छिन् ।

साइकल चढेर अस्पताल जाने निर्णयले आफूलाई कुनै लाज नलागेको उनले बताइन् । उनी साइकल अभियन्ता पनि हुन् । वातावरण स्वच्छ र सफा राख्न पेट्रोल तथा डिजेलमा चल्ने गाडीको सट्टा साइकल चलाउनु पर्ने उनको जोड छ ।

न्युजिल्यान्डमा यसअघि अन्य बहालवाला सांसदलाई सन्तान लाभ भएको थियो । सन् १९८३ मा एक जना सांसद दुधे बच्चा लिएर संसद भवन पुगेकी थिइन् । त्यस्तै, सन् २०१८ मा जसिन्डा आर्डनले प्रधानमन्त्री हुँदा नै बच्चा जन्माएकी थिइन् । उनले दुधे बच्चा बोकेर संसद भवनमा पनि पुगेकी थिइन् ।-एजेन्सी

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवसहित पाँचजना पदाधिकारी निर्विरोध

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्ष केपी ओलीसमेत आन्तरिक प्रतिस्पर्धामा भिडिरहनु परेका बेला पाँचजना पदाधिकारी भने निर्विरोध निर्वाचित हुने भएका छन् ।

बिहान १० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समयमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा उम्मेदारी दर्ता नपरेपछि पाँच पदाधिकारी निर्विरोध निर्वाचित हुने भएका हुन् ।

निर्विरोध निर्वाचित हुनेहरूमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन् । अध्यक्ष केपी ओलीले सोमबार बिहान प्रस्ताव गरेको पदाधिकारीको सूचीमा अन्यको उम्मेदवारी दर्ता भए पनि वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा अन्यको दाबी नपरेपछि स्वतः निर्विरोध भएका हुन् ।

१०औं महाधिवेशनबाट पाँचजना विजय हुने निश्चित प्रायः हुन भए पनि औपचारिक पमा घोषणा भने निर्वाचन आयोगले गरिसकेको छैन ।

फिल्महलमै फ्यानले पटाका पड्काएपछि सलमानको आपत्ति, फ्यानहरुको भिडियो सेयर गर्दै सलमानले दिए यस्तो प्रतिक्रिया

काठमाडौं

भाइजानलाई पर्दामा हेर्नको लागि ठूलो संख्यामा फ्यानहरू सिनेमा घर पुगेका छन् र विभिन्न तरिकाले आफ्नो उत्साह व्यक्त गरिरहेका छन् ।

यसैबीच, सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ जसमा सलमानको फिल्म हेरेर फ्यानले थिएटरभित्र पटाका पडकाएर खुशी व्यक्त गरेका छन् ।

यसलाई खुसी मनाउने तरिका भन्न सकिन्छ तर सलमान खानले सामाजिक सञ्जालमार्फत यसो गर्ने फ्यानलाई समझाउन खोजेका छन् । आफ्नो इन्स्टाग्राम ह्यान्डलबाट भाइरल भिडियो सेयर गर्दै उनले स्पष्ट लेखेका छन् कि थिएटर भित्र पटाका फाड्ने जस्ता काम नगर्नुहोस्, किनकि यसको परिणाम धेरै खतरनाक हुन सक्छ।

उनले लेखेका छन्, ‘सम्पूर्ण फ्यानलाई मेरो अनुरोध छ कि हलभित्र पटाका नउठाउनुहोला, यो अत्यन्तै खतरनाक सावित हुन सक्छ, जसले तपाईको र अरुको ज्यान जोखिममा पार्न सक्छ । दर्शकलाई पटाका बोक्न नदिन सिनेमा हल सञ्चालकहरुलाई पनि अनुरोध गर्दछु । प्रवेशद्वारमा नै सुरक्षा जाँच गरेर तिनीहरूलाई त्यसो गर्नबाट रोक्नुहोस्।’

अन्त्यमा सलमानले लेखेका छन्- ‘जसरी भए पनि फिल्मको मजा लिनुहोस्, रमाइलो गर्नुहोस् तर कृपया त्यस्ता कार्यहरू नगर्नुहोस्। सबै फ्यानहरुलाई मेरो यो अनुरोध छ। धन्यवाद।’

। सलमान खानको फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’ले भारतका सिनेमा हलमा धुम मच्चाइ रहेको छ ।

सलमान खानको फिल्म ‘एन्टिम’ उनको आफ्नै प्रोडक्सन कम्पनीले निर्माण गरेको हो, जसलाई उनका ज्वाइँ आयुष शर्माले निर्देशन गरेका हुन् । फिल्मको कथालाई दर्शकले रुचाएका छन् तर कमजोर मार्केटिङ र कमजोर पीआरका कारण यसको ओपनिङ अपेक्षाभन्दा कम भएको छ ।

फिल्मले रिलिजको पहिलो दिन करिब ५ करोड ५० लाख कलेक्सन गरेको छ । योसँगै यो सलमान खानको करियरको पछिल्लो १० वर्षमा सबैभन्दा कम ओपनिङ गर्ने पहिलो फिल्म बनेको छ ।

 

दोलखामा जर्मनी नागरिकको सहयोगमा अस्पताल निर्माण हुने, स्थानीय जनता निकै खुसी

दोलखा । दोलखाको विगु गाउँपालिका–५ चिलखाको लोटिङमा सुविधासम्पन्न अस्पताल निर्माण हुने भएको छ ।

हेल्थ नेपाल नामक संस्थामार्फत जर्मनी नागरिक र  स्वास्थ्यकर्मीहरुको टोलीबाट अस्पताल निर्माणका लागि आर्थिक सहयोग जुट्ने बताइएको छ । अस्पताल चत्रलेश्वरी सामुदायिक स्वस्थ्य केन्द्र मातहत सञ्चालन हुने केन्द्रका अध्यक्ष प्रवीण खड्काले जानकारी दिनुभयो । उनका अनुसार उक्त भवनमा विभिन्न सुविधासम्पन्न मेसिन औजारहरु हुनाका साथै २१ कोठाको भवन हुनेछ । यो भवनको डिजाइन जर्मनका इञ्जिनीयर टोलीले नै गर्ने उनले बताए । भवन निर्माणका लागि रु तीन करोड ८७ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

हाल जर्मनमा बस्दै आउनुभएका छिरिङ शेर्पा र उस्की श्रीमती जर्मनी नागरिक चिकित्सक सोफिया तथा चिकित्सक क्लाउसको अग्रसरतामा उक्त भवन निर्माण गरिने केन्द्रका अध्यक्ष खड्काले बताए  । उनका अनुसार अस्पतालका लागि आवश्यक पर्ने करिब साढे ६ रोपनी जग्गा उक्त संस्थाको नाममा ल्याइने छ । यसका लागि दुई रोपनी इको हिमाल र आधा रापनी जेनी खड्कले दान दिएको उनले बताए ।

बाँकी जग्गा २९ जना दाताबाट सङ्कलन गरिएको रकमबाट स्थानीय व्यक्तिहरुसँग खरिद गरिएको अध्यक्ष खड्काको भनाइ छ । अस्पताल निर्माण भएपछि जिल्लाका उत्तरी क्षेत्रका विगु गाउँपालिकाको वडा नं ५, ६, ७, ८ का १० हजारभन्दा बढी जनसङ्ख्या लाभान्वित हुने गाउँ पालिकाको स्वास्थ्य संयोजक ईश्वर खड्काले बताए । जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले जिल्लाको निकै विकट क्षेत्रमा यस प्रकारको अस्पताल निर्माण हुनु भनेको स्थानीय जनताका लागि निकै ठूलो र खुसीको विषय भएको बताए ।

“अस्पतालको निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोगमा हातेमालो गर्नु स्थानीय सरकारको गहन जिम्मेवारी र दायित्व हो”, उनले भने, “स्थानीयस्तरमा यस प्रकारको अस्पताल तथा स्वस्थ्य क्षेत्रको विकास हुदैँ जाँदा मात्रै आफ्नो सरकार घरदैलोमा आएको स्थानीयवासीमा भान हुन्छ । ” सदरमुकाम चरिकोटबाट ४४ किलोमिटर उत्तरतर्फ सो अस्पताल निर्माण हुने बताइएको छ ।

काठमाडौँमा ढाका वस्तुको प्रदर्शनी पुससम्म

काठमाडौँ । नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी सङ्घले आगामी पुस २ देखि ४ गतेसम्म नयाँ बानेश्वरमा ढाका कपडा तथा हाते तानबाट उत्पादित विविध वस्तुको प्रदर्शनी गर्ने भएको छ ।

ढाकाका मौलिक उत्पादनलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको प्रदर्शनीमा ४० बिक्री कक्ष राखिने छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका संयोजक रमेश श्रेष्ठले परापूर्वकालदेखि नै ढाका कपडा उद्योग सञ्चालनमा रहेको बताउँदै यसबाट उत्पादित सामग्री तथा सिर्जना हुने रोजगारीले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उल्लेख गरे ।

उनका अनुसार प्रदर्शनीमा विभिन्न स्थानका व्यवसायीलाई यस क्षेत्रमा भएका विकास तथा समस्याबारे एकापसमा अन्तरक्र्रिया गरी प्रोत्साहन गर्ने वातावरण व्यवस्थापन गरिनेछ ।

यस क्षेत्रका स्वदेशी उत्पादन वृद्धि गरी विदेशबाट हुने आयात न्यूनीकरण गर्ने र मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रचार गर्ने लक्ष्यका साथ प्रदर्शनी राखिएको छ । मुलुकमा करिब ५० हजार ढाका व्यवसायी छन् । प्रदर्शनीका क्रममा व्यवसायीको राष्ट्रिय भेला पनि गरिनेछ ।

सकियो एमाले उम्मेदवारी दर्ताको समय, अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं । नेकपा (एमाले)को पदाधिकारी, केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता मनोनयको समय समय सकिएको छ ।
उम्मेदवारी दर्ता समय सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशनको तयारी गरिएको छ ।

सोमबार बिहान ८ बजेदेखि १० बजेसम्मका लागि तोकिएको समयमा विभिन्न पदमा आकांक्षीहरूले उम्मेदवारी दर्ता गराएका छन् ।अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा ओलीबाहेकेका समूहबाट घनश्याम भुसालले उम्मेदवारी दिएका छन् । एमाले दशौं महाधिवेशन निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर उजुरी आह्वानको तयारी गरेको छ ।

  नेपाली काङ्ग्रेसको सुनसरी सभापतिमा केदार भण्डारी निर्वाचित

इनरुवा ।  नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट सुनसरी सभापति केदार भण्डारी निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार सभापतिमा भण्डारीले १४२२ मत ल्याई निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी सञ्जयप्रसाद श्रेष्ठले १३०९ मत ल्याई पराजित भएका छन् ।

यसै गरी उपसभापतिमा १३३५ मत ल्याई नगेशचन्द्र राई र १३१२ मत ल्याई पंकजकुमार महतो निर्वाचित भएका छन् उनीहरूका प्रतिद्वन्द्वी गफार मिया अन्सारीले १२९७ मत र महेश दत्तले ११६६ मत ल्याई पराजित भएका छन् ।

त्यसै गरी सचिव पदमा १४६७ मत ल्याई विरेन्द्रकुमार साह र १२२९ मत ल्याई माधवकुमार घिसिङ निर्वाचित भएका छन् भने उनीहरूका प्रतिद्वन्द्वी रन्जेश भट्टराईले १२२८ र प्रमोद पोखरेलले १०९२ मत ल्याई पराजित भएका छन् । त्यस्तै सहसचिव पदमा गणेश सुब्बाले १३०५ र मनिषकुमार रायले ११७७ मत ल्याई निर्वाचित भएका छन् ।

९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, के हो ट्रेजरी बिल ? बोलकबोल कहिले ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिर १४ गते ९ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले ९१ दिन र १८२ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ३ अर्ब १३ करोडरुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल फागुन १७ गते परिपक्व हुनेछ।

यसैगरी राष्ट्र बैंकले १८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ। यो ट्रेजरी बिल २०७९ साल जेठ १७ गते परिपक्व हुनेछ।

ट्रेजरी बिलको भोलि मंसिर १३ दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

के हो ट्रेजरी बिल ?

मुद्रा बजारको एक प्रमुख उपकरणका रूपमा रहेको ट्रेजरी एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन मुलुकको केन्द्रीय बैंकले प्रयोग गर्ने अल्पकालीन सरकारी ऋणपत्र हो । बैंकले प्रमिसरी नोटको रूपमा सर्वप्रथम विसं २०१८ मा वार्षिक एक प्रतिशत ब्याजदरमा रु ७० लाख मूल्यमा ९० दिने ट्रेजरी बिल निष्काशन गरिएको थियो । बोलकबोल प्रक्रियाबाट २०४५ मङ्सिर १० देखि निष्काशन हुँदै आएको यो ऋणपत्र २०४८ पुसदेखि हरेक साता र २०७२ असारदेखि प्रविधिमा आधारित भई अनलाइनमार्फत नियमित जारी हुँदै आएको छ ।

यस्तो ऋणपत्रलाई परिपक्व हुनुअगाडि रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिन्छ । सर्वसाधारणले यस्ता ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन सक्छन् । नेपालमा केन्द्रीय बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमका ट्रेजरी जारी गर्ने गर्दछ ।

ई–पासपोर्टको लागि अनलाइन आवेदन दिन कठिनाई, यस्ता छन् कारण

काठमाडौँ । सेवाग्राहीले विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि अनलाइन आवेदन दिन निकै कठिन र झन्झटिलो रहेको गुनासो गरेका

सेवाग्राहीले अहिले राहदानीका लागि अनलाइन आवेदन दिन समय पाउन निकै कठिन भइरहेको गुनासो गरेका छन्। अहिले विद्युतीय राहदानीका लागि आवेदन दिन विभागको वेबसाइट nepalpassport.gov.np मा गएर मिति र समय बुकिङ गर्नुपर्ने हुन्छ। जसले छिटो फर्म भरेर बुकिङ गर्न सक्यो, उसको पालो पहिला आउँछ।

दैनिक सयौँ सेवाग्राहीले विद्युतीय राहदानीका लागि अनलाइन मार्फत् समय बुकिङ गर्न चाहेका छन्। तर विभागले चाहीँ प्राविधिक कारण देखाउँदै हरेक दिन एक सय भन्दा कम संख्यामा राहदानीका लागि बुकिङ खुला गरिरहेको छ।

जसका कारण सेवाग्राहीलाई असहज भइरहेको छ। हाल सेवाग्राहीले अनलाइन मार्फत् १५ दिनपछिका लागि समय बुकिङ गर्न सक्छन्।  राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले दुई साताभित्र अनलाइन बुकिङ आवेदन सहज हुने बताए।

‘अबको दुई साताभित्र अनलाइन बुकिङमार्फत् राहदानीका लागि आवेदन दिने काम सहज बनाउँदैछौँ। त्यसका लागि हामी लागिपरेका छौँ,’ अर्यालले नेपालखबरसँग भने। अर्यालले १५ दिनपछि दैनिक तीन सय सेवाग्राहीको अनलाइन आवेदन दिनसक्ने व्यवस्था गरिने बताए। उनले मंसिर १५ गतेपछि अनलाइन बुकिङ संख्या उल्लेख्य रुपमा बढ्ने दाबी गरे।

छन्। तर, परराष्ट्र मन्त्रालयअन्र्तगतको केन्द्रीय राहदानी विभागले ती गुनासो सम्बोधनका लागि ठोस कदम चाल्न सकेको छैन।

विभागले मंसिर १ गतेदेखि अत्याधुनिक विद्युतीय राहदानी जारी गर्न थालेको थियो। विद्युतीय राहदानी त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट मात्र जारी भइरहेको छ।

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाबाट पनि ई–पासपोर्ट दिइने 
विभागका महानिर्देशक अर्यालले आगामी बुधबारदेखि ललितपुर जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी वितरण गर्ने काम थाल्न लागिएको बताए। त्यसैगरी मंसिर तेश्रो साताबाट काठमाडौँ र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट पनि विद्युतीय राहदानी वितरण गर्ने काम सुरु गर्ने तयारी रहेको उनले बताए।

विभागले ग्लोबल टेन्डरमार्फत् छनोट गरी फ्रान्सेली कम्पनी आइडेमियासँग २० लाख प्रति विद्युतीय राहदानी बुकलेट छपाइका लागि सम्झौता गरेको थियो। जसमध्ये ९ लाख प्रति चाँडै नेपाल ल्याउने विभागको तयारी छ।

ई–पासपोर्टका लागि कसरी आवेदन दिने? 
विभागको वेबसाइटमा गएर विद्युतीय राहदानीको लागि निवेदन Apply for ePassport भन्ने बटन थिची प्रिइनरोलमेन्ट पोर्टल मार्फत फारम भरी तोकिएका सक्कल कागजात अपलोड गर्नुपर्नेछ।

विभागले प्रिइनरोल गर्नुअघि सेवाग्राहीले आफ्ना सक्कल कागजपत्र जस्तैः नागरिकताको प्रमाणपत्र, पुरानो मेसिन रिडेबल राहदानी लिएको भए त्यसको फोटो भएको पृष्ठ, शैक्षिक प्रमाणपत्र अनुसार उमेर फरक परेको भए सक्कल शैक्षिक प्रमाणपत्र स्क्यान गरेर तयारी अवस्थामा राख्न अनुरोध गरेको छ।

राष्ट्रिय परिचयपत्र अनिवार्य 
१६ वर्षमाथिका र नेपालमा निवेदन दिने सेवाग्राहीहरुका हकमा राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर अनिवार्य रुपमा आवश्यक पर्ने विभागले जनाएको छ। देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमा निवेदन दिई तुरुन्त राष्ट्रिय परिचयपत्र नम्बर लिन सकिने हुनाले राष्ट्रिय परिचयपत्र लिन समेत बिभागले आग्रह गरेको छ।

विद्युतीय राहदानी उपत्यकाबाहिरबाट तत्काल वितरण नहुने 
उपत्यका बाहिरबाट भने तत्काल विद्युतीय राहदानी वितरण नहुने राहदानी विभागले जनाएको छ। त्यस्तै उपत्यका बाहिरबाट पनि विद्युतीय राहदानीको आवेदन दिने समेत सम्भव नरहेको विभागका महानिर्देशक अर्यालले बताए।

मोबाइलबाट राहदानीका लागि फोटो नखिच्न आग्रह 
विभागले मोबाइल वा क्यामेराले खिचेको तस्विरको साइज ठूलो हुने, नमिलेको हुने तथा अनावश्यक ब्याकग्राउन्ड आएको हुन सक्ने हुनाले स्क्यानरको प्रयोग गरेर सक्कल कागजजात नै स्क्यान गर्न आग्रह गरेको छ। नागरिकताको अगाडि र पछाडि छुट्टाछुट्टै स्क्यान गर्न विभागले आग्रह गरेको छ।

‘करिब ३०० डीपीआई (डट पर इन्च) र ४०० केबी भन्दा कम हुने गरेर स्क्यान गर्यो भने साइज मिल्छ। धेरै नै कालो खालको डकुमेन्ट छ भने सोभन्दा कम डीपीआई गरेर स्क्यान गर्न सकिन्छ। फोटोकपीबाट स्क्यान गरेको कागजात मान्य हुने छैन,’ विभागले एक सूचना जारी गर्र्दै भनेको छ।

आफूले नागरिकता लिएको वा बसाइसराइ गरेको जिल्ला, राहदानी विभाग र विदेशस्थित कूटनीतिक नियोगमा राहदानीको लागि निवेदन दिन सकिने विभागले जनाएको छ।

फारम भरिसकेपछि मिति समय र निवेदन दिने ठाउँ छनोट गर्नुपर्नेछ। भरिसकेको फारम प्रिन्ट गर्दा आफूले बुक गरेको मिति र समय त्यसैमा प्रिन्ट हुने विभागले जनाएको छ।

आफूले बुक गरेको मिति र समयमा त्रिपुरेश्वरस्थित राहदानी विभाग वा तोकिएका जिल्ला प्रशासन कार्यालयहरु तथा विदेशस्थित नियोगमा जानु पर्दछ। तोकिएको मिति र समयमा गएमा धेरै लाइन बस्न तथा कुर्न नपर्ने विभागले जनाएको छ।

अनलाइनमार्फत् मिति र समय बुक नगरी जाने सेवाग्राहीहरुको हकमा निवेदन लिन नसकिने विभागले जनाएको छ। फर्म भर्दा जन्म मिति, नाम आदि विवरण दोहोर्याइ हेरेर कुनै गल्ती नगर्न विभागले आग्रह गरेको छ।

‘आफूले गलत विवरण राखेर फारम भरेमा र राहदानी पुनः बनाउनु परेमा राहदानी नियमावलीअनुसार थप दस्तुर लाग्ने हुन्छ। अतः फारम भर्ने भराउने कार्य गर्दा विशेष सावधानी अपनाउनु हुन अनुरोध छ,’ विभागले सूचनामा भनेको छ।

पुस पहिलो साता उपत्यका बाहिरबाट विद्युतीय राहदानीको लागि निवेदन लिन सुरु गर्ने तयारी रहेको विभागले जनाएको छ।

विद्युतीय राहदानी जारी भइसके पनि जरुरी परेको अवस्थामा कारण र प्रमाणसहित आएमा विभागले अहिले पनि मेसिन रिडेबल राहदानीको लागि निवेदन दिन सकिने बताएको छ। जरुरी परेको छैन भने केही दिन धैर्य गर्न विभागले आग्रह गरेको छ।

झापामा बस दुर्घटना हुदाँ १ जनाको मृत्यु २३ घाइते

झापा । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा कनकाई–७ का १६ वर्षीय उत्सव पौडेलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते भएकामध्ये ११ जनाको विर्तामोडस्थित बिएण्डसी अस्पताल र १२ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

घटनाबारे दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गङ्गालाल हृदयरोग केन्द्र बाँसबारी अस्पतालमा पनि पीसीआर परीक्षण शुल्क रु १०००

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि शहीद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा गरिने पीसीआर परीक्षण शुल्क अन्य सरकारी अस्पतालसरह रु एक हजार कायम गरिएको छ ।

सरकारी र निजी स्वास्थ्य संस्थामा पीसीआर परीक्षणबापत लिइएको शुल्कमा एकरुपता कायम गर्न र उक्त अस्पतालमा पनि अन्य सरकारी अस्पतालमा सरह शुल्क निर्धारण गर्न निर्देशन दिएपछि सोमबारबाट सो व्यवस्था कार्यान्वयनमा आएको हो ।

गङ्गालाल अस्पताल सञ्चालक समितिको अध्यक्षका हैसियतले मन्त्री खतिवडाले सो अस्पतालमा पीसीआर परीक्षण शुल्क रु एक हजार ७०० लिँदै आएकामा  एकरुपता नभएको भन्दै सुलभ मूल्य कायम गर्न निर्देशन दिएको थियो ।

अहिले केन्द्रीय प्रयोगशाला टेकु, वीर, सिभिललगायतका सरकारी अस्पतालमा रु एक हजार कायम छ भने विदेश जानेका लागि त्रिभुवन विमानस्थल परिसरमै निजी संस्थाले रु एक हजार २०० लिइरहेका छन् ।
स्वास्थ्य मन्त्रीको निर्देशन र अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीको तत्परतापछि आवश्यक प्रक्रिया पूरा गरी सोमबारबाटै लागू हुने गरी रु एक हजारमै पीसीआर परीक्षण शुल्क तोकिएको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ ।

मुटुको शल्यक्रिया गर्ने बिरामीको पीसीआर गर्दा शुल्क रु एक हजार मात्र लिन मिल्ने गरी विलिङ र सफ्टवेयर प्रणाली सोमबारबाटै कार्यान्वयनमा आएको र यसले सर्वसाधारणलाई राहत पुगेको स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए ।

सरकारी अस्पतालमा इमर्जेन्सी सेवा निःशुल्क, सर्वसाधरणको सहज पहुँच र सेवा सुविधा पारदर्शी गर्ने सम्बन्धमा पनि छिट्टै निर्णय हुने उहाँले बताउनुभयो । मन्त्रालयका सचिव डा रोशन पोखरेलले अस्पतालका निर्देशक डा अधिकारीलाई स्वास्थ्यमन्त्री खतिवडाको निर्देशन तत्काल कार्यान्वयन गरी नागरिकप्रति उत्तरदायी बन्न तथा पीसीआर परिक्षण शुल्क रु एक हजार कायम निर्देशन दिएको छ ।

भोलिदेखि नेपालमा प्राणी विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन हुने

 विराटनगर । विश्वव्यापी रुपान्तरणका सवालमा हिमालयन जैविक विविधता भन्ने मूल नाराका साथ नेपालमा जैविक विविधता सम्बन्धी तीन दिवसीय अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनको आयोजना हुने भएको छ।

त्रिभुवन विश्वविद्यालय, प्राणी शास्त्र केन्द्रीय विभाग र यसको भूतपूर्व विद्यार्थी समाजले आयोजना गर्ने यो सम्मेलन भर्चुअल माध्यमबाट मंसिर १३ देखि सुरु हुने छ ।

उक्त सम्मेलनमा नेपाल लगायत स्वीजरल्याण्ड, जर्मनी, संयुक्त राज्य अमेरिका, फ्रान्स, चीन, क्यानाडा लगायतका देशका जीव वैज्ञानिकहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

क्षेत्रीय अखण्डताको संरक्षण गर्न आवश्यक : सभामुख सापकाेटा

काठमाडौं, १३ मंसिर
सभामुख अग्निप्रसाद सापकोटाले विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाका कारण असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि यथावत रहेको बताएका छन् ।

स्पेनमा भएको असंलग्न आन्दोलनको सञ्जाल (नाम) को बैठकलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तलाई कायम राख्ने, राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्ने, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने सन्दर्भमा पनि यसको आवश्यकता औंल्याएका हुन् ।

‘विश्वका विकासशील देश निरन्तर रुपमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा समानताको मैदाननबाट बञ्चित छन् । यी चुनौति रहँदासम्म असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूले शान्ति, न्याय र विकासका लागि आवाज उठाइरहने छन् । नतिजाका लागि हाम्रा संसदहरूले त्यसतर्फको राष्ट्रिय प्रयासहरूलाई सहयोग र प्रोत्साहन जारी राख्नेछन्,’ सभामुख सापकाेटाले भने ।

सभामुख सापकोटाले संसदीय ऐक्यबद्धता र अनुभवको आदान प्रदानले असंलग्न आन्दोलनका सिद्धान्त र आदर्शलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे । ‘नेपालमा असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो । शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पञ्चशील, बुद्धको शिक्षामा आधारित छन् । नेपालको संघीय संसद लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक हो । जनताले आफ्नो अधिकारको रक्षा र विकासको उपभोगका लागि संसदमा आशा राखेका छन् । नेपालको संसद समझदारी र सहयोग अभिवृद्धि गर्न र हाम्रो समयका ज्वलन्त मुद्दाहरूलाई सम्बोधन गर्न प्रतिबद्ध छ,’ उनले भने ।

सभामुख सापकोटाले आइतबार स्पेनको म्याड्रिडमा जारी अन्तर व्यबस्थापिका संघ आईपीयूको १४३औँ सभालाई सम्बोधन गर्दै शासनको सबैभन्दा मनपर्ने स्वरूपको रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौती रहित नरहेको तर्फ विश्व समुदायको ध्यानाकर्षण गराए ।

आईपीयू सम्मेलनमा सहभागि हुन यहि मंसिर आठ गते स्पेन प्रस्थान गरेका सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल यहि मंसिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।