१३ मंसिर २०७८, सोमबार १५:५० – Page 5 – Nagarikabhiyan : National News

अमेरिकामा कोरोनाको पाँचौँ लहर आउन सक्छः डा. फौची

अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फौचीले अमेरिकामा कोरोनाभाइरसको पाँचौँ लहर देखा पर्न सक्ने चेतावनी दिएका छन् ।

वरिष्ठ संक्रामक रोग विशेषज्ञ फौचीले सीबीएस न्युजको फेस द नेसन कार्यक्रममा कुरा गर्दै ओमिक्रोन भेरिएन्टका कारण पाँचौँ लहरको सम्भावना रहेको बताएका हुन् ।

अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यक्तिको संख्या धेरै भएको र बुस्टर डोज पनि लगाइरहेकाले त्यसको खतरालाई रोक्न सक्ने सम्भावना रहेको उनको भनाइ छ । हामीकहाँ पाँचौँ लहर आउन सक्ने सम्भावना रहेको छ, अन्तर्वार्ताका क्रममा उनले भने, पाँचौँ लहर वा संक्रमण बढ्नेः नबढ्ने कुरा हामीले आउँदा केही हप्ता वा महिनामा कस्तो कदम चाल्छौँ भन्नेमा निर्भर रहन्छ ।

उनले अझै पनि ६ करोड २० लाख अमेरिकी नागरिकले खोप लगाउन बाँकी रहेको र उनीहरूलाई तत्काल खोपको व्यवस्था गरिनुपर्ने बताएका छन् । उनले खोप लगाइसकेकालाई बुस्टर डोज र ५–११ उमेरसमूहकालाई खोप अभियानमा तीव्रता दिएमा संक्रमणलाई न्यूनीकरण गर्न सकिने बताएका छन् ।

अमेरिकामा कोरोना संक्रमणबाट ७ लाख ७६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने झन्डै ५ करोडलाई संक्रमण भइसकेको छ । डा. फौचीले विगतमा भएका राम्रा र नराम्रा कुराको मूल्यांकन गर्दै अगाडि बढ्नुपर्ने पनि बताएका छन् ।

विगतमा अमेरिकाले महामारी नियन्त्रणमा राजनीतिकरण गरेकै कारणले ठूलो मूल्य चुकाउनुपरेको पनि उनको भनाइ छ । दक्षिण अफ्रिकामा गत मंगलबार नयाँ भेरिएन्ट ‘बी.१.१.५२९’ पुष्टि भएको थियो । उक्त भेरिएन्टलाई विश्व स्वास्थ्य संगठनले ओमिक्रोन नाम दिएको छ ।

अमेरिका, इजरायल, श्रीलंका, नेदरल्यान्ड्स र बेलायतले नयाँ भेरियन्ट देखिएका अफ्रिकी मुलुकसँगको हवाई सम्पर्कमा रोक लगाएका छन् । यसरी रोक लगाउने मुलुकको संख्या क्रमशस् बढ्दो छ ।

नेपालले पनि आइतबार अफ्रिकी मुलुकबाट आउने यात्रुको प्रवेशमा अर्को सूचना जारी नभएसम्म रोक लगाउने निर्णय गरेको छ ।

उम्मेदवारीकाे पहिलो सूची सार्वजनिक, अब दाबी विरोधको समय सुरु

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनका केन्द्रीय नेतृत्वमा आउने आकांक्षी उम्मेदवारको पहिलो सूची सूचना पार्टीमा टाँसिएकाे छ ।

उम्मेदवारी दर्ता सकिएको झन्डै ४ घन्टापछि महाधिवेशनस्थलमा केन्द्रीय निर्वाचन समितिले पहिलो चरणको उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।

पहिलो सूची सार्वजनिक गरेसँगै उम्मेदवारमाथि उजुरी, दाबी विरोधलगायतका प्रक्रिया सुरु हुनेछ भने उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने प्रक्रिया सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।

धामी–झाक्रीलाई एकदिने तालिम

तेह्रथुम ।  तेह्रथुममा धामी झाक्रीलाई एकदिने तालिम दिइएको छ ।
आफूसँग झारफुक गर्न आउने विरामीलाई झारफुक गरेपछि अस्पताल पठाउनु पर्छ भनेर एकदिने तालिम दिएको आयोजक आँखा तथा कान उपचार केन्द्र तेह्रथुमले जनाएको छ । विराटनगर आँखा अस्पताल विराटनगरको सहकार्यमा सञ्चालित तालिममा ४० जना धामी झाक्रीको सहभागिता रहेको थियो ।

उनीहरूलाई आँखा र दृष्टिसम्न्धी समस्याहरूको बारेमा आँखा तथा कान उपचार केन्द्र तेह्रथुमका इन्चार्ज श्यामकला लिम्वुले जानकारी गराउँदै झारफुक गरेपछि तुरुन्त आँखा अस्पताल वा नजिकैको स्वास्थ्य संस्थामा पठाउनुपर्ने बताए । कार्यक्रममा सहभागी धामीझाँक्रीहरूले आफूहरूले अबदेखि झारफुक गरिसकेपछि तुरुन्त अस्पताल पठाउने बताएका थिए ।

 

मोरङ कांग्रेस सभापतिका लागि पुनः मतदान हुने

विराटनगर ।  नेपाली कांग्रेस मोरङको सभापतिमा पुनः मतदान हुने भएको छ ।
आइतबार सम्पन्न निर्वाचनमा तीनजना उमेदवारमध्ये कसैले पनि आवश्यक मत ल्याउन नसकेपछि पुनः मतदान हुने भएको हो । सभापतिका उम्मेदवारहरू डिगबहादुर लिम्बू, दिलीप गच्छदार र यदुकुमार विष्टमध्ये कसैले पनि मतदानको ५१ प्रतिशत मत हासिल गर्न नसकेका कारण पुनः मतदान गर्नुपरेको मोरङका सहायक निर्वाचन अधिकृत गणेश भुजेलले जानकारी दिए । मतदान केन्द्र परिवर्तन गर्नुपर्ने भएकाले निर्वाचन कहिले हुने भन्ने टुंगो भइनसकेको अधिृकत भुजेलले बताए ।

आइतबार निर्वाचन सम्पन्न भएलगत्तै जिल्ला पार्टी कार्यालय मोरङमा मतगणना गरिएको थियो । कुल ३ हजार ४ सय १४ मत खसेकोमा सभापतिका लागि ३ हजार ३ सय ६० मत परेको थियो । सभापतिमा लिम्बूले १ हजार ५ सय ४४, गच्छदारले १ हजार १ सय ६६ र विष्टले ५ सय ६३ मत पाउनुभएको थियो । जिल्लामा कुल मतदाता संख्या ३ हजार ५ सय १७ भए पनि आइतबार सम्पन्न निर्वाचनमा १ सय मत कम खसेको थियो । १ सय ४७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

सोमबार पनि सेयर बजार घट्ने क्रम रोकिएन

विराटनगर ।  साताको दोस्रो दिन सोमबार पनि सेयर बजार नेप्से परिसुचक दोहोरो अंकले घटेको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिका लागि ल्याएको त्रैमासिक समीक्षा पछि आइतबार ८० अंकले घटेको बजार सोमबार पनि दोहोरो अंकले घटेको हो । शेयर कारोबार मापक नेप्से परिसूचक २१ दशमलव ५१ अंकले घटेर २ हजार ९ सय २९ दशमलव ९७ अंकमा झरेकोमा छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ९२ अंकले घटेको छ ।
सोमबार नेप्सेपरिसूचकसँगै कारोबार रकममा समेत सुस्तता देखिएको छ । आइतबार ६ अर्बको शेयर किनबेच भएकोमा सोमबार मुस्किकले ४ अर्ब पुगेको छ । परिसूचक तथा कारोबार रकम घटे पनि सोमबार हाइड्रोपावर र म्युचुअल फण्डको समूका रहेका धेरै कम्पनीहरुको शेयर मूल्य घटेन । यी दुइ समूहका अधिकांश कम्पनीहरु झिनों अंकले बढ्दा समूहगत सवइनडेक्स पनि दुबैको सकारात्मक देखिएको छ ।

परीक्षा बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा दाबी गर्दै १५ जनाले दरखास्त दिएका छन् । बोर्डको अध्यक्ष सिफारिस समितिले कात्तिक २५ गते दरखास्त आह्वान गरेको थियो ।

दरखास्त दिने अन्तिम म्याद बिहीबारसम्म थियो । अध्यक्षका लागि शिक्षा तथा परीक्षाको क्षेत्रमा १२ वर्षको अनुभव भएका र कुनै पनि राजनीतिक दलको सदस्य नभएको व्यक्तिले दरखास्त दिन पाउने कानुनी व्यवस्था छ । शिक्षा क्षेत्रको अनुभव भने पनि प्राध्यापनमा १२ वर्ष बिताएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

दरखास्त दिने व्यक्तिले बोर्डको नेतृत्व गर्नेसम्बन्धी अवधारणापत्र र चार वर्षको व्यावसायिक कार्ययोजना पनि पेस गरेका छन् । बोर्ड अध्यक्षका लागि उमेरको हदबन्दी छैन । प्राप्त दरखास्तलाई मन्त्रालयले लोकसेवा आयोगमा पठाएको छ ।

बोर्ड अध्यक्ष छनोटका लागि लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार आयोग अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा प्राध्यापक डा. लेखनाथ शर्मा र मीना गुरुङ सदस्य रहेको समिति गठन भएको थियो ।

सिफारिस समितिका सदस्य प्राध्यापक डा. लेखनाथ शर्माले दरखास्त दिनेहरूको अवधारणापत्र र कार्ययोजनाको समेत मूल्याङ्कन गरेर छनोटका लागि एक जनाको नाम सरकारलाई बुझाउने नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपतिसमेत रहनुभएका बताउनुभयो ।

उदयपुरमा चिकित्सक नहुँदा अस्पताल सञ्चालनमा समस्या

उदयपुर ।  तीन लाख ५० हजार उदयपुरवासीको साझा अस्पतालका रुपमा रहेकोे जिल्ला अस्पतालमा लामो समयदेखि चिकित्सकको दरबन्दी पूर्ति नहुँदा अस्पताल सञ्चालनमा समस्या हुँदै आएको छ । पचास श्यया क्षमताको अस्पतालमा १३ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि

जिल्ला अस्पतालमा उपचारका लागि आउने विभिन्न रोगीको चाप दिनदिनै बढ्दै गरे पनि  सम्बन्धित रोगको विशेषज्ञको अभावमा  उपचारमा असर परेकोे अस्पतालका कर्मचारी बताउँछन् ।

तेह्र जनाको दरबन्दीमध्ये अहिले एक स्त्रीरोगसम्बन्धी र एक जनरल फिजिसियन र एक मेडिकल अधिकृतमात्र रहेकाले सोचेजस्तो उपचार हुन नसकेको जिल्ला अस्पतालका प्रमुख तथा मेडिकल अधिकृत जीवनारायण मण्डलले बताए ।

अस्पतालमा अधिकांश चिकित्सकसहित  एनेस्थेसियाको पनि दरबन्दी खाली रहेको उहाँको भनाइ थियो  “उपचारका लागि धेरै बिरामी आउने गर्नुहुन्छ, यहाँ विद्यमान जनशक्तिले भ्याउन सकेको छैन,  अन्य विषयगत चिकित्सक नहुँदा सम्बन्धित रोगका बिरामी जिल्ला बाहिर पठाउन बाध्य छौँ”, मेडिकल अधिकृत मण्डलले भने ।

अस्पतालमा दरबन्दीअनुसारको जनशक्तिको अभावका कारण नै जिल्लावासीले सोचेजस्तो सेवा पाउन नसक्नुको मुख्य कारण रहेको उहाँको  धारणा थियो ।दरबन्दी पूरा गर्न अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासनले नै पहल गर्न नसकेको आरोप स्थानीयवासी रमेश दाहालको आरोप  थियो ।

अहिले एकस्थायी मेडिकल अधिकृतसहित अन्य दुई अस्थायी मेडिकल अधिकृतबाट अस्पताल सञ्चालन हुँदै आएको छ ।

दुई वर्षअघि स्वास्थ्य विभागले  रु एक करोडमा खरिद गरेर पठाएको दुई वटा भेन्टिलेटर पनि एनेस्थेशिया चिकित्सककोे अभावमा सञ्चालन हुन नसक्दा भेन्टिलेटर थन्किएर बसेको अस्पताल विकास समितिका सदस्य महेश रोकाले बताउनुभयो ।अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक खड्ग परियारले  आफूहरुले पटकपटक सम्बन्धित निकायमा चिकित्सक र अन्य कर्मचारीको दरबन्दी पूरा गरिदिन अनुरोध गर्दै आएको दुई वर्ष बितिसके पनि सुनुवाइ नभएको गुनासो गरे।

पहाडी छिमेकी जिल्ला खोटाङबाट समेत यहाँ ठूलो सङ्ख्यामा बिरामी आउने गरेकामा अहिले  आवश्यक जनशक्ति नहुँदा बिरामीलाई  अन्यत्र लानु परेको परेको त्रियुगा नगरपालिका– ३ मोतिगडाका दुर्गाप्रसाद भट्टराईले  बताए ।

कांग्रेस प्रदेश अधिवेशन सर्‍यो

काठमाडौं। नेपाली कांग्रेसले प्रदेश अधिवेशनको मिति दुईदिन सारेको छ। तयारी नपुगेको भन्दै प्रदेश अधिवेशन सार्ने निर्णय भएको हो।

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन १९ क्षेत्रमा बाँकी रहेको र कतिपय जिल्लामा जिल्ला अधिवेशन नै बाँकी रहेको छ।
यही मंसिर १६ र १७ मा प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेकोमा दुई दिन अधिवेशन सार्ने निर्णय भएको हो।
आज बालुवाटारमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच भएको छलफलपछि प्रदेश अधिवेशन सार्ने निर्णय भएको हो।

अब यही मंसिर १८ र १९ गते प्रदेश अधिवेशन तोकिएको छ। मंसिर १७ मै उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका बनाउने सहमति पनि भएको छ। प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू मतदाता हुन्छन्। कांग्रेसले यही मंसिर २४ गतेदेखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्दैछ।

ईसीडी शिक्षकलाई पालिकाले अनिवार्य तलब दिनुपर्ने, नदिनेलाई कानून बनाएर कारबाही गरिने : शिक्षामन्त्री

सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताएका छन् । प्रेस सेन्टर बागलुङद्वारा आयोजित पत्रकार भेटघाटमा उनले सार्वजनिक शिक्षा सुधारका लागि ३१ बुँदे शिक्षा सुधार योजना अघि सारेको जानकारी दिए ।

“हाम्रो जोड सार्वजनिक शिक्षालाई सुधार गर्ने निजीलाई सर्वसुलभ बनाउने भन्नेमा छ, १७ थरि शिक्षकका ३७ थरि माग सम्बोधनका लागि समिति गठन गरिएको छ”, उनले भने, “शिक्षा क्षेत्रमा आमूल सुधार गर्दै अघि बढ्नुपर्दछ, अबको समय प्राविधिको युग हो, प्रविधिको उच्चतम प्रयोग गर्दै महामारीमा समेत शैक्षिक सत्र खेर नजाने गरी पठनपाठन गर्ने सरकारको योजना रहेको छ ।”

उनले दलहरु आन्तरिक निर्वाचनमा केन्द्रित भइसकेकाले मुलुक निर्वाचनमा जान लागेको बताउँदै सरकारको व्ययभार कम गर्न तिनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने आफ्नो तर्क रहेको बताए । राजनीतिक दलहरु आगामी स्थानीय, प्रदेश र सङ्घको निर्वाचनको तयारीमा केन्द्रित भएको उनको भनाइ छ ।

स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री पौडेलले शिक्षकका लागि शिक्षक अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढेको, त्रिचन्द्र क्याम्पस सुधार गर्न थालेको, दरबन्दी मिलान भइरहेको र पढ्दै कमाउँदै अभियानलाई अगाडि बढाएको जानकारी दिए ।

उनले सञ्चारकर्मीका जिज्ञासामा बालविकास सहजकर्ताहरूलाई केही पालिकाले सरकारले तोकेको तलब नदिएको गुनासोमा पालिकाले अनिवार्य दिनुपर्ने बताउंदै नदिने पालिकालाई कानून नै बनाएर कारबाही गरिने बताए।

सुनिल सेट्टीका छोरा अहानको डेब्यु फिल्म ‘तडप’को ट्रेलर रिलिज

काठमाडौं । बलिउड अभिनेता सुनिल सेट्टीका छोरा अहान सेट्टीको डेब्यु चलचित्र ‘तडप’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्र साउथको सुपरहिट चलचित्र ‘आरएक्स १००’को रिमेक हो ।

चलचित्रमा अहानका साथमा तारा सुतारियाको मुख्य भूमिका रहेको छ । यसअघि नै ‘तडप’का चार गीत भने रिलिज भइसकेका छन् ।

ट्रेलरमा अहान एक्सन अवतारमा देखिएका छन् । एक्सनका लागि उनले निक्कै मिहिनेत गरेको देखिन्छ । तारा उनकी प्रेमिकाको भूमिकामा छिन् ।

फक्स स्टार स्टुडियोको प्रस्तुतिमा यो चलचित्रलाई साजिद नाडियाडवालाले निर्माण गरेका हुन् । ‘तडप’लाई मिलन लुथरियाले निर्देशन गरेका छन् । यो चलचित्र डिसेम्बर ३ बाट सिनेमा हलमा प्रदर्शन हुनेछ ।

विश्व स्मार्ट फोन बजारमा मन्दी, एप्पल दोश्रो स्थानमा उक्लियो

चिनियाँ स्मार्ट फोन ब्राण्ड साओमीलाई पछि पार्दै एप्पल सबैभन्दा धेरै बिक्रि हुने स्मार्ट फोनको सूचीमा दोश्रो स्थानमा उक्लिएको छ ।

सन् २०२१ को तेश्रो त्रैमासिकमा विश्व बजारमा बिक्री भएका स्मार्ट फोनको संख्याको आधारमा एप्पलले साओमीलाई पछि पारेको छ । पहिलो स्थानमा भने सामसुङले आफूलाई कायमै राख्न सफल भएको छ ।

गार्टनरले सार्वजनिक गरेको रिपोर्ट अनुसार सामसुङ विश्व स्मार्ट फोन बजारमा २०।२ प्रतिशत बजार हिस्सासहित पहिलो स्थानमा छ । यद्यपि गत वर्षको सोही अवधिको तुलनामा सामसुङको बजार पकड १।९ प्रतिशतले खस्किएको रिपोर्टमा उल्लेख छ ।

तेश्रो त्रैमासिकमा विश्व स्मार्ट फोन बजारमा स्मार्ट फोनको बिक्रीमा ६।८ प्रतिशतको मन्दी देखिएको छ । स्मार्ट फोन बिक्रिमा देखिएको मन्दीको मूख्य कारण स्मार्ट फोनको उत्पादनमा आएको गिरावट हो ।

खासगरी स्मार्ट फोनका पाटपुर्जाको अभावका कारण स्मार्ट फोन कम्पनीहरूको आफ्नो उत्पादन कार्यतालिका नै अवरुद्ध हुँदै आएको छ ।

गार्टनरका निर्देशक भन्छन्(स्मार्ट फोनको उच्च मागका बाबजुत प्रडक्टहरूको लञ्चिङमा ढिलाइ, आपूर्ति तालिकामा सुस्तपना तथा अपर्याप्त सामानहरूका कारण स्मार्ट फोनको बिक्री घटेको हो ।

आपूर्ति अवरोधले प्रिमियम स्मार्ट फोनको तुलनामा आधारभूत तथा युटिलिटी स्मार्ट फोनहरूको उत्पादन कार्यतालिकामा ठूलो प्रभाव पारेको छ ।

तथापि समग्र बजार हिस्सामा गिरावटका बाबजुत नम्बर वान ब्राण्ड सामसुङको प्रिमियम स्मार्ट फोनको माग उच्च रह्यो । खासगरी यस अवधिमा सामसुङको फोल्डेबल स्मार्ट फोनलाई प्रयोगकर्ताले निकै रुचाएको पाइएको छ ।

विश्व स्मार्ट फोन बजारमा अमेरिकी कम्पनी एप्पल दोश्रो स्थानमा उक्लिँदा १४।२ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ । चिनियाँ स्मार्ट फोनलाई पछि पार्दै एक स्थान माथि उक्लिएको एप्पलका आइफोनको मागमा पनि उल्लेख्य वृद्धि देखिएको छ ।

खासगरी यस अवधिमा एप्पलका फाइभ जी फोनको बिक्रि उच्च देखिएको छ । एप्पलले फाइभ जी आइफोनको बिक्री बढाउनका लागि अनलाइन च्यानल तथा बिक्री कार्यक्रमहरूको पुनर्संरचना गर्ने काम गरिरहेको गार्टनरले जनाएको छ ।

विश्व स्र्माफोन बजारमा तेश्रो स्थानमा रहेको साओमीको बजार हिस्सा १३ प्रतिशत कायम भएको छ । पछिल्लो समय सामओमीले युरोप तथा मध्यपूर्वमा आफ्नो बजार विस्तारका लागि अनलाइनमा च्यानलमा केन्द्रित रणनीति अख्तियार गर्नुका साथै तत् तत् क्षेत्रका टेलिकम सेवा प्रदायकहरूसँग साझेदारी गर्ने कोसिस गरिरहेको छ । जसका कारण साओमीले गत वर्षभन्दा आफ्नो बजार हिस्सा १ प्रतिशतले बढाउन सफल भएको छ ।

अन्य टप फाइभ स्मार्ट फोनहरुमा चिनियाँ ब्राण्ड भिभो र ओप्पो रहेका छन् । भिभोले गत वर्षको सोही अवधिको तुलनामा आफ्नो बजार हिस्सा २।४ प्रतिशतले वृद्धि गरेको छ भने ओप्पोले १।७ प्रतिशत वृद्धि गर्न सफल भएको छ । एजेन्सी

एमाले महाधिवेशन लम्बियो, खाना खर्च कसले ब्यहोर्छ ?

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ । महाधिवेशन सुरु हुनुअघि नै एमालेले सौराहाका होटेलमा ३५ सय बेड बुकिङ गरेको थियो ।

सम्झाैताअनुसार प्रतिनिधिलाई होटेलले तीन छाक खाना खुवाउने थियो । खाना र बेडको लागि एमालेले होटल व्यवसायीसँग एक करोड ९० लाख रुपैयाँमा सम्झौता गरेका थिए । ११ र १२ मंसिरमा सकिने भनिएको महाधिवेशनको बन्दसत्र भने लम्बिएको छ । अध्यक्षलगायत केही पदमा चुनाव हुने निश्चित भएको छ । निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गरिसके पनि मतदान सुरु भएको छैन ।

बन्दसत्र लम्बिएपछि एमालेले थप एक दिन खाना खुवाउन व्यवसायीहरूलाई आग्रह गरेको छ । आज (साेमबार) दिउँसो र बेलुकाको खाना, भोलि (बिहीबार) बिहानको ब्रेकफास्ट र बेडको व्यवस्था गर्नेगरी अर्काे सम्झौता भएको क्षेत्रीय होटल व्यवसायी संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले बताए ।

थप एक दिन खाना र बेडको लागि करिब ६५ लाख रुपैयाँमा सम्झौता भएको उनले बताए । ‘थप एक दिन खाना र बेडको व्यवस्था गर्नेगरी पार्टीसँग हाम्रो सम्झौता भएको छ,’ उनले भने । बन्दसत्र लम्बिएपछि केही प्रतिनिधिहरू भने फर्किसकेका छन् ।’

विवाह पञ्चमीको तयारी तीव्र, साताव्यापीरुपमा विवाह पञ्चमी महोत्सव मनाइने

जनकपुर । हिन्दू धर्मावलम्बीको आस्थासँग जोडिएको सीताराम विवाह पञ्चमी महोत्सवका लागि तयारी तीव्र पारिएको छ । यसवर्ष पनि यही मङ्सिर १७ देखि २२ गतेसम्म साताव्यापी सीताराम विवाह पञ्चमी मनाउन लागिएको हो । महोत्सव नजिकिँदै गर्दा अबेर रातिसम्म पाल लगाउनेदेखि मूलद्वार सजावटमा कामदार व्यस्त देखिन्छन् ।

मिथिलाको उत्सवमध्ये विवाह पञ्चमीलाई महामहोत्सवका रुपमा भव्यताका साथ मनाउने गरिन्छ । त्रेतायुगमा भगवान् राम सीता विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी मनाउँदै आइएको छ । महामहोत्सव तयारीका लागि दिनरात जानकी मन्दिर प्रशासन लागिपरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए ।

मन्दिर प्राङ्गणमा कार्यक्रमका लागि मञ्च बनाउनेदेखि जानकी मन्दिर तथा मुलद्वार सजाउने कार्य अहिले भइरहेको उल्लेख गर्दै उनले प्रत्येक साँझ मन्दिर परिसरमा मङ्गल गीत तथा झाँकीसमेत हुने गरेको बताए । विवाह पञ्चमीका दिन भारतको अयोध्याबाट आउने सन्त महन्थसहितको जन्तीको स्वागतका लागि पन्डाल, स्वागत द्वार निर्माणलगायत कार्यसमेत भइरहेको छ ।

अघिल्लो वर्ष विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण विवाह पञ्चमी औपचारिकतामा मात्र सीमित थियो । त्यसैले यसवर्ष भव्यरुपमा विवाह पञ्चमी मनाउन विभिन्न १९ वटा समिति एवं उपसमितिसमेत गठन गरिएको जनाइएको छ । महोत्सवका लागि शान्तिसुरक्षाको व्यवस्था, प्रचारप्रसार, सवारी साधन व्यवस्थापन, अयोध्याबाट आउने जन्तीको स्वागत, विद्युत् आपूर्ति, बजार व्यवस्थापनलगायत समिति गठन गरिएको छ ।

भगवान् रामको जन्मभूमि अयोध्याबाट हरेक पाँच वर्षमा सीता नगरी जनकपुरमा विशेष जन्ती आउने प्रचलन छ । त्यसैले यसपटक औपचारिकरुपमा जन्ती नआए पनि साधुसन्त र ठूला महन्थ जन्तीकैरुपमा आउने उनको भनाइ थियो। विवाह पञ्चमीमा सहभागी हुन ठूलो सङ्ख्यामा मानिस आउने भएकाले जताततै फोहर बढ्ने हुँदा सरसफाइमा ध्यान दिन र शौचालयको व्यवस्था मिलाउन जनकपुर उपमहानगरपालिकासँग आग्रह गरिएकोे महन्थ वैष्णबले बताए । फोहर र शौचालय व्यवस्थापनमा उपमहानगरपालिका र जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्लेसमेत ध्यान नदिने गरेको गुनासो गर्दै उनले आफ्नै छोरीको बिहे ठानेर सबैले सहयोगमा चासो दिनुपर्ने आवश्यकता औँल्याए ।

महन्थ वैष्णबले प्रदेश सरकारले चाहे केही सरसफाइ र शौचालय व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । विवाह पञ्चमी महोत्सवअन्तर्गत मङ्सिर १७ गते जनकपुर नगर दर्शन, १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर र २२ गते शुभविवाह तथा २३ गते रामकलेवा कार्यक्रम तय गरिएको छ । -रासस

एमाले महाधिवेशन : कार्यकारी भूमिकाबाट बिदा मागे लालबाबु पण्डितले

काठमाडौं । एमालेका पूर्वउपाध्यक्ष लालबाबु पण्डितले कार्यकारी भूमिकाबाट बिदा मागेका छन् । एमालेको १०औं महाधिवेशनमा निवर्तमान अध्यक्ष केपी ओलीले प्रस्तावित गरेको सूचीमा पण्डित पदाधिकारीको सूचीमा समेटिएनन् । उनी खुला केन्द्रीय सदस्यमा प्रस्तावित छन् ।

आइतबारसम्म पनि पण्डितले आफूले उपाध्यक्षमा दाबी नछाड्ने बताउँदै आएका थिए । यद्यपि सर्वसम्मत नेतृत्व चयन भएमा आफूले कुनै पनि पद नछाड्ने उनको भनाइ थियो ।

ओलीले जारी गरेको सूचीमा पदाधिकारीमा नपरेपछि पण्डितले सोमबार बिहान सामाजिक सञ्जालमार्फत कार्यकारी भूमिकाबाट बिदा मागेका हुन् ।

नवौं महाधिवेशनमा उनी उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यसबेला उनी माधवकुमार नेपाल समूहबाट निर्वाचित भए पनि नेकपाको विवादका बेला उनले माधव नेपाललाई छाडेर ओलीलाई साथ दिएका थिए ।

पुराना कपडाको डस्ना बनाएर दिन कै २० हजार आम्दानी

सप्तरी । बारा कलैयाका साह आलमलाई यतिबेला डस्ना बनाउन भ्याइ नभ्याइ छ। उनी डस्ना बनाउन भनेर आसपासका जिल्लाहरू पर्सा, सप्तरी, सिराहसम्मै पुग्छन् । डस्ना बनाएबापत पाउने पारिश्रमिकका कारण उनी घरभन्नदा निकै टाढा टाढासम्म पुग्छन् ।

उनका अनुसार डस्ना मात्रै बनाउँदा पनि दैनिक १५ देखि २० हजार रूपैयाँसम्म आम्दानी हुन्छ । उनले पुरान‍ो काम नलाग्ने लुगालाई मेसिनले पेलेर कपास जस्बतो बनाई आधा घण्टामा डस्ना तयार गर्दै आएका छन् । उनले भने, झयो काममा कमाई हुने भनेको जाडो महिनामा त हो । जहाँ बढी हाम्रो माग हुन्छ, त्यहाँ पुग्छौं । १५ देखि २० किलोसम्मको डस्ना राम्रै हुने उनको भनाइ रहेको छ। मेसिनमा कपडा पेल्न पाँचदेखि १० मिनेट र डस्ना बनाउँन २० देखि २५ मिनेट लाग्ने साहले बताए । उनले थपे, एउटा डस्ना बनाउन जम्मा ३० देखि ३५ मिनेट लाग्छ।

सर्वसाधारणले जम्मा गरेको पैसा बैंक म्यानेजरले मिटरब्याजमा लगाएपछि…

काठमाडौं । बचतकर्ताले जम्मा गरेको रकम बैंकका म्यानेजरले मिटर ब्याजमा लगाउने गरेको खुलेपछि पाँच जना पक्राउ परेका छन् ।

सिन्धुविकास बैंक, दोलालघाट शाखाका निमित्त म्यानेजर सुमन खरेल र कर्मचारी रामकृष्ण श्रेष्ठले बैंकमा जम्मा गरेको रकम मिटरब्याजमा लगाएको खुलेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

ब्यूरोका निर्देशक धिरजप्रताप सिंहका अनुसार बैंकका दुई कर्मचारीसँगै रकम लिने व्यवसायी विमल खत्री, वीरेन्द्र खत्री र निरञ्जन श्रेष्ठ पनि पक्राउ परेका छन् । ‘पक्राउ परेका पाँचै जनालाई हिरासतमा राखेर बैंकिङ कसूरमा अनुसन्धान गरिरहेका छौं’ प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिंहले भने ।

उनका अनुसार खरेल र श्रेष्ठले उनीहरुलाई दुई करोड ४७ लाख ९० हजार ८५५ रुपैयाँ ऋण दिएको पाइएको छ । तर रकम दिएको बैंकको अभिलेखमा उल्लेख थिएन । अनुसन्धान अधिकृतहरुले मिटरब्याजमा रकम दिएको हुनसक्ने आशंका गरेका छन् ।

यसरी खुल्यो पोल

ब्यूरोका प्रवक्ता श्यामकुमार महतोको अनुसार बैंकमा भएको जम्मा रकम हरेक महिनाको अन्तिममा अध्यावधिक हुने गर्छ । केन्द्रीय शाखाले अन्य शाखाहरुले राखेको रकम जाँच गर्ने वेला दोलालघाट शाखामा साढे दुई करोड रुपैयाँ कम देखियो ।

‘त्यसपछि केन्द्रीय शाखाले नै छानविन गरेर अनुसन्धानका लागि ब्यूरोलाई जाहेरी दिएको थियो’ महतोले अनलाइनखबरसँग भने, ‘त्यो पैसा कहाँ भयो भनेर हेर्दा व्यवसायीलाई कर्मचारीले भल्टबाट निकालेर दिएको देखियो ।’

एक अनुसन्धान अधिकृतका अनुसार कति ब्याजमा उनीहरुले रकम लगाएका थिए भन्ने खुलेको छैन । उनी भन्छन्, ‘अरुवेला पनि रकम दिने गरेको देखिन्छ तर यसपटक व्यवसायीले एक महीनामा पनि फिर्ता नगर्दा समस्या भएको जस्तो देखिएको छ ।’

थप अनुसन्धान जारी छ ।